हिमालदेखि तराईसम्मै फैलिएको गण्डकी प्रदेशका गाउँ, टोल, नदी र पहाडका नाममा यहाँका आदिम बासिन्दाको भाषा, संस्कृति र इतिहास गुन्जिरहेको छ । गण्डकी क्षेत्रका स्थान–नामहरू केलाउँदा मगर सभ्यताको गहिरो पदचाप भेटिन्छ ।
What you should know
पोखरा — पहाडका घुम्तीहरू पार गर्दा भूगोल मात्रै बदलिँदैन, भूगोलले बोकेका संकथन र स्मृति पनि बदलिन्छन् । गण्डकी प्रदेशका कतिपय बस्ती पुग्दा लाग्छ, त्यहाँका ढुंगा–माटोले आफ्नै नामको एउटा लामो कथा सुनाइरहेका छन् ।
विशेषगरी बागलुङको आकाशमुनि उभिँदा यहाँको नामकरणको रोचक किंवदन्तीले हामीलाई इतिहासको एउटा अनौठो गल्छीमा पुर्याउँछ । बागलुङ नाम कसरी रहन गयो भन्ने सन्दर्भमा एउटा किंवदन्ती बाघसँग जोडिएको छ ।
भनिन्छ, कुनै समय यो क्षेत्र बाघहरूको ‘ताँती’ वा ‘लस्कर’ लाग्ने ठाउँ थियो । खस भाषामा ‘बाघ’ र ‘लुङ’ (लस्कर) मिलेर ‘बाघलुङ’ हुँदै यो ‘बागलुङ’ बनेको जनश्रुति छ । संस्कृतमा ‘व्याघ्रलुञ’ (बाघ मार्ने कार्य) बाट यसको व्युत्पत्ति भएको मान्नेहरू पनि छन्, जसले मगर जातिका बलिया युवाहरूले मानव जीवनलाई त्रसित बनाउने बाघहरूको संहार गरेको कथा बोल्छ ।
तर, भाषाविद् र स्थानीय जानकारहरू यसलाई अलि फरक ढंगले पनि व्याख्या गर्छन् । मगर भाषामा ‘वागु’ को अर्थ केही उठेको भाग र ‘लुङ’ को अर्थ मैदान वा समथर भूभाग हुन्छ । बागलुङको भौगोलिक बनावट ठ्याक्कै त्यस्तै छ– कतै अग्ला थुम्का, त कतै सम्म परेका फाँटहरू । त्यसैले, यो नाम बाघको डरभन्दा पनि भूगोलको सुन्दरतासँग बढी नजिक देखिन्छ ।
हिमालदेखि तराईसम्मै फैलिएको गण्डकी प्रदेशका गाउँ, टोल, नदी र पहाडहरूका नामभित्र यहाँका आदिम बासिन्दाहरूको भाषा, संस्कृति र इतिहास गुन्जिरहेको छ ।
गण्डकी क्षेत्रका स्थान–नामहरू केलाउँदा मगर सभ्यताको गहिरो पदचाप भेटिन्छ । मगर समुदायको बाहुल्य रहेका ठाउँहरूमा ‘बाङ’ शब्द प्रायः जोडिएर आउँछ, जसको अर्थ ‘चौर’ वा ‘समथर ठाउँ’ हुन्छ । बागलुङको ढोरपाटनस्थित ‘बोबाङ’ यसैको एउटा जीवन्त उदाहरण हो ।
गण्डकी प्रदेशको नामकरणले नै रोचक इतिहास बोकेको छ । मगर भाषाको ‘गनडी’ शब्दबाट संस्कृत भाषाको ‘गण्डकी’ शब्द बनेको मानिन्छ । मगर भाषामा हरियो सागलाई ‘गान’ अथवा ‘गन’ भनिन्छ । त्यसकारण सागजस्तो हरियो वर्णको पानी भएको नदीलाई मगर भाषामा ‘गनडी’ भनियो र यसैबाट ‘गण्डी–गण्डी’ र ‘गण्डिका’ हुँदै ‘गण्डकी’ शब्दको संरचना भएको हो ।
अर्कोतर्फ, हिमवत्खण्डमा उल्लेखअनुसार, विष्णुको ‘गण्ड’ अर्थात् गालाबाट पसिनाको रूपमा बगेर आएको नदी हुनाले गण्डकी नाम पर्न गएको किंवदन्ती पनि प्रचलित छ । यी दुवै व्युत्पत्तिले यहाँको सांस्कृतिक विविधतालाई नै झल्काउँछ– एउटा मगर समुदायको आदिवासी परम्परा र अर्को हिन्दु पौराणिक मान्यताको संगम ।
मगर भाषामा पानी वा नदीलाई ‘डी’ वा ‘दी’ भनिन्छ । यसैले गण्डकी प्रदेशभर बग्ने नदीहरूका नाममा यो प्रत्यय जोडिएको पाइन्छ । मादी, मोदी, मर्स्याङ्दी, म्याग्दी, मर्दी, मिर्दी, सुरौंदी, सिङ्दी, पाउदी, लुब्दी, दोर्दी, ज्याग्दी, खुदी, छाङछाङदी, चुदी, याम्दी, स्याङखुदी, पार्दी, दरौंदी जस्ता नामहरू मगर भाषाकै देन हुन् । तनहुँको छाब्दी खोलाको नाम पनि मगर भाषाबाट आएको हो । ‘छाप’ भनेको ‘थलो’ र ‘दी’ भनेको नदी हुन्छ । यसरी नदीहरूका नाममा नै यहाँको मौलिक भाषिक सम्पदा सुरक्षित छ ।
समाजशास्त्री विष्णुकुमार सिङ्जालीका अनुसार, स्याङ्जा जिल्लाको नामकरण पनि मगर भाषासँग गहिरो सम्बन्ध राख्छ । मगर भाषामा ‘जा’ भन्नाले सन्तान अर्थ लाग्छ । यसलाई आधार मान्ने हो भने मगर भाषामा ‘सिङ्’ को अर्थ काठ र ‘ज्याहाके’ को अर्थ कुद्नु अर्थात् काठे कलाको काम गर्नु भन्ने हुन्छ । ‘त्यस आधारमा काठका कालिगडहरूको सन्तान सिङ्जाली वा सिङ्जापट्टिहरूको मगर थर बनेको हुन सक्छ,’ उनी भन्छन्, ‘सिँजाली मगरहरूको ठूलो बस्ती भएकाले उनीहरूकै थरबाट अपभ्रंश भएर यस जिल्लाको नाम स्याङ्जा हुन गएको देखिन्छ ।’
किल्ला, बजार र बस्तीहरूको नाम
मुस्ताङको जोमसोम र चराङ जस्ता ठाउँका नामहरू तिब्बती भाषाबाट आएका हुन् । तिब्बती भाषामा ‘जोंग’ भनेको किल्ला र ‘साम्बा’ भनेको ‘नयाँ’ हुन्छ । नयाँ किल्ला बनाइएको ठाउँ हुनाले ‘जोंगसाम्बा’ नाम रहन गएको र कालान्तरमा अपभ्रंश भई जोमसोम हुन गएको हो । लमजुङको नामकरण पनि किल्लाहरूकै बलमा भएको हो ।
कास्कीको नामकरण पनि रोचक छ । कास्कीकोट कास्की डाँडामा बनाइएको किल्ला हुनाले कास्कीकोट नाम रहन गयो । अर्कोतर्फ, कश्यप ऋषिले त्यस डाँडामा तपस्या गरेको भूमि हुनाले ‘काश्यपी क्षेत्र’ भनिएको र कालान्तरमा भाषाको हेरफेरले क्रमशः काशकी क्षेत्र, कासकी क्षेत्र र कास्की क्षेत्र भई पछि संक्षेपमा कास्की भनिएको हुनुपर्छ भन्ने मान्यता छ ।
गोरखाको नामकरणमा पनि विविध मत छन् । नेपाली भाषाको ‘खर्क’ अर्थात् घाँस शब्दबाट क्रमशः गर्ख, गर्खा हुँदै गोरखा रहन गएको भन्ने धारणा छ । संस्कृतभाषाको ‘गोरक्षा’ अर्थात् गाईको रक्षा गर्ने देश भन्ने अर्थमा गोरक्षाको अपभ्रंश भई गोरखा भएको हो भन्ने पनि भनिन्छ । योगी गोरखनाथको नामबाट ठाउँको नाम गोरखा भएको तर्क पनि अध्येता कृष्णप्रकाश श्रेष्ठले आफ्नो पुस्तक ‘स्थान–नामकोश’ मा उल्लेख गरेका छन् ।
स्थान–नामले त्यस क्षेत्रमा बसोबास गर्ने समुदायको जीवनशैली, पेसा र सांस्कृतिक पहिचान प्रतिबिम्बित गर्छ । बागलुङको ढोरपाटनको नामकरण पनि स्थानीय जीवनशैलीसँग जोडिएको छ । लेकाली खर्कहरूलाई ढोर भनिन्छ । लेक क्षेत्रमा धेरैजसो घरपालुवा पशु बर्खा याममा ढोर पुर्याइन्छन् । त्यहाँ गाईगोठ, भैंसीगोठ, भेडागोठ हुन्छन् । लेकाली खर्कलाई ढोर र पहाडमा समथर परेको ठाउँलाई पाटन भनिन्छ । यी दुवै शब्दको संयोगबाट ढोरपाटन नाम रहन गएको हो । यद्यपि, बोबाङ नाम मेटाएर ढोरपाटन राखिएकोमा मगर समुदायले आपत्ति पनि जनाउँदै आएका छन् ।
नदीका संगममा पानी नलाग्ने अग्लो, तर निकै सम्म परेको फाँटलाई ‘टार’ भनिन्छ । जस्तै गोरखाको पालुङटार, लमजुङका भोर्लेटार, करापुटार जस्ता नामहरू पाइन्छन् । अहिले पनि स्याङ्जाको आलमदेवीमा त्यहाँका मगरहरू, नेपालका पूर्व राजखलकहरू, ठकुरीहरू एकै ठाउँमा कुल पूजा गर्छन् । त्यहाँ मगर पुजारी छन् । यसले स्थान–नामले मात्र होइन, सांस्कृतिक अभ्यास र धार्मिक परम्पराले पनि समुदायलाई जोडेको देखाउँछ ।
स्थान–नामहरू कसरी रहन्छन् ? कहिले रह्यो ? किन रहन्छ ? यी प्रश्नहरूको जवाफ किंवदन्ती, भाषा र जातजातिको पहिचानमा लुकेको हुन्छ । म्याग्दीको गलेश्वरको नामकरणमा दुईवटा किंवदन्ती छन् । पहिलो, गलेगोरुलाई यहाँ एक जोडी रातासेता ध्वजा बाँधिदिँदा त्यो गोरु हलोमा सरासर हिँड्ने गरेकाले गलेश्वर भनिएको हो । दोस्रो किंवदन्ती अनुसार, शिवले सतीदेवीको लासलाई काँधमा राखेर डुलाउँदै यहाँ आइपुग्दा सतीदेवीको गलो खसेको ठाउँमा महादेवको उत्पत्ति भएकाले गलेश्वर रहन गएको मानिन्छ ।
पर्वतको कुस्माको नाम पनि किंवदन्तीसँग जोडिएको छ । सुन्दर कुसुमहरू अर्थात् फूलहरूले ढकमक्क भएको देखेर मुक्तिनाथ जाने एक योगीले कुसुम नामकरण गरेको स्थान अपभ्रंश भई कुस्मा भनिन थालेको मानिन्छ ।
बागलुङको गलकोट राजनीतिक इतिहाससँग जोडिएको छ । गोलाकार राजा डिम्ब राजा भनेर चिनिने दिलीपबम मल्लका कान्छा छोराले कोटघर बनाएकाले यसको नाउँ गोलोकोट रहेको र पछि अपभ्रंश भई गलकोट हुन गएको भनाइ छ ।
लमजुङको गाउँसहर र बेंसीसहरको नामकरण पनि राजनीतिक इतिहाससँग जोडिएको छ । लमजुङ राजाको राजधानी भएको हुनाले गाउँसहर नाम रहन गएको हो । यो डाँडामा लमजुङ राज्य नेपाल अधिराज्यमा समावेश गराइनुअघि राजा बस्ने दरबार अहिले पनि छ । लमजुङ राज्यका राजा हिउँदमा लमजुङ दरबारबाट तल बेंसीमा बस्न जाने गरेकाले यो ठाउँलाई बेंसीसहर भनिएको हो ।
स्थान–नामहरूको परिवर्तन कुनै साधारण प्रक्रिया होइन । यसले एक समुदायको इतिहास, भाषा र पहिचानलाई नै प्रभावित पार्छ । लामो समयदेखि आदिवासी जनजातिहरूको इतिहासलाई गुमनाम पार्न त्यस्ता स्थान–नामहरू परिवर्तन गर्ने प्रयास पनि हुँदै आइरहेका छन् ।
‘मगर स्थान–नाम’ पुस्तकका लेखक समेत रहेका विष्णुकुमार सिङ्जाली मगर बसाइँसराइ तीव्र हुँदा गाउँको नाम नै परिवर्तन हुँदै गएको बताउँछन् । ‘बोल्न सक्ने, आवाज उठाउन सक्ने मान्छे छैनन् । नाम परिवर्तन हुँदै जाँदा आदिवासीत्व गुम्दै जान्छ,’ उनी भन्छन्, ‘विज्ञान, प्रविधिको विकासले पनि भाषा, संस्कृति सिध्याउँदै गएको छ ।’
गण्डकी प्रदेशका स्थान–नामहरूको सबैभन्दा ठूलो विशेषता यसले बहुसांस्कृतिक र बहुभाषिकतालाई दस्तावेज गरेको छ । यहाँका नामहरूमा मगर, गुरुङ, थकाली, तिब्बती, संस्कृत र नेपाली भाषाहरूको प्रभाव देख्न सकिन्छ ।
एउटै ठाउँका विभिन्न व्युत्पत्तिहरू पनि यहाँको सांस्कृतिक विविधताको प्रमाण हो । बागलुङ, गोरखा, कास्की जस्ता ठाउँका नामहरूमा मगर भाषा, खस भाषा र संस्कृत भाषाको समान प्रभाव देख्न सकिन्छ । यसले विभिन्न समुदाय यहाँ सँगसँगै बसोबास गर्दै आएको र एक–अर्काको संस्कृति आत्मसात् गर्दै गएको संकेत गर्छ ।
स्थान–नामहरूले भौगोलिक विशेषता पनि बोक्छन् । मुस्ताङको चराङको नाम तिब्बती भाषामा ‘चापलुङ संस्त्राङ’ भनेको भालेको सिउरबाट आएको हो । एक गहिरो, कहालीलाग्दो खाडीबाट उठेको भालेको सिउरजस्तो अग्लो पहाड हुनाले चापलुङ संस्त्राङ नाम रहन गएको र पछि अपभ्रंश भई चराङ हुन गएको हो । यस पहाडको टुप्पोमा पाँचतले किल्ला भएको यो बस्ती अवस्थित छ । पोखरी नै पोखरी भएको स्थान भएकाले पोखरा भनिएको बताइन्छ । पोखराभित्र पनि पाटन र गौंडा जोडिएका थुप्रै बस्ती छन् ।
गण्डकी प्रदेशका स्थान–नामहरू केवल भौगोलिक पहिचानका लागि होइनन्, यी हाम्रो सांस्कृतिक सम्पदा, भाषिक विविधता र ऐतिहासिक विरासतको जीवन्त दस्तावेज हुन् । मगर, गुरुङ, थकाली र अन्य समुदायको भाषामा अर्थ लाग्ने यी नामहरूले हजारौं वर्षदेखि यहाँ बसोबास गर्दै आएका आदिवासी समुदायहरूको उपस्थिति र योगदानलाई प्रमाणित गर्छन् ।
तर, यी नामहरू खतरामा छन् । भाषा गुमाउनु, बसाइँसराइ र राजनीतिक हस्तक्षेपले यी नामहरू परिवर्तन हुँदै गइरहेका छन् । आईएलओ सन्धिअनुसार पनि आदिवासी भाषा र संस्कृतिको सुरक्षणका उपायहरू अपनाउनुपर्ने आवश्यकता छ । नामको यो उत्खननले हामीलाई एउटै कुरा सिकाउँछ– जहाँ नाम रहन्छ, त्यहाँ मात्रै इतिहास सुरक्षित रहन्छ ।
