किचकवधदेखि कचनकवलसम्म

पूर्वका चोक, बजार र सहरका नामसँग स्थानीय इतिहास, बसाइँसराइ र जीवनशैली जोडिएको हुन्छ, खासगरी पुछारमा ‘बारे’ र ‘बारी’ जोडिएका दर्जनौं ठाउँका नाम छन्

माघ १०, २०८२

पर्वत पोर्तेल

From Kichakvadh to Kachanakaval

What you should know

विराटनगर — समाजमा महिलाको बोली, लवाइखवाइ र चालचलनलाई लिएर टीकाटिप्पणी हुनु कुनै नौलो होइन । ‘त्यसरी हिँड्न मिल्दैन’, ‘त्यो कस्तो लुगा लगाकी’, ‘यस्तो बोल्ने केटी ठीक हुँदैनन्’ महिलामाथि लगाइने यस्ता आरोप हामीले देख्दै, सुन्दै आएका छौं ।

तर, ५० को दशकमा झापामा एउटा यस्तो घटना घट्यो, जहाँ यही स्त्रीद्वेषी चिन्तनले महिलामाथि टिप्पणी मात्रै गरेन, ठाउँको नाम नै बदलिदियो । झापाको चारआली हुँदै मेची राजमार्ग यात्रा गर्नेहरूका लागि ‘हापेन चोक’ कुनै नौलो नाम होइन । बस कन्डक्टरदेखि स्थानीय व्यापारीसम्म, सबैले सहजै उच्चारण गर्ने यो नाम वास्तवमा ‘हाफ प्यान्ट चोक’ को अपभ्रंश हो ।

तर यो नाम भाषिक दुर्घटना होइन, यो एक महिलामाथि केन्द्रित सामाजिक दृष्टिकोणको परिणाम हो । ‘हापेन चोक’ र बिना लिम्बू ढुंगानाबीचको सम्बन्ध संयोग होइन । सम्बन्ध मात्र होइन, यो चोकको नाम रहनुको एक मात्र कारण नै बिना हुन् ।

केही दशकअघि, बर्ने चिया बगान क्षेत्र अहिले जस्तो व्यस्त चोक थिएन । राजमार्ग विस्तार हुँदै थियो, चोक वरपर चियापसल र साना पसलहरू थपिँदै थिए । त्यही ठाउँमा बिना प्रायः हाफ पाइन्ट लगाएर ओहोरदोहोर गरिरहन्थिन् ।

From Kichakvadh to Kachanakaval

आजको सन्दर्भमा हाफ पाइन्ट लगाउनु सामान्य लाग्न सक्छ । तर, त्यो समयको ग्रामीण–अर्धसहरी समाजमा, महिलाले घुँडा देखिने लुगा लगाउनु ‘असामान्य’ मात्र होइन, ‘अस्विकार्य’ मानिन्थ्यो । बिनाको हिँडाइ, लवाइखवाइ र आत्मविश्वास समाजले रुचाएन । चोकमा भेटघाट गर्ने पुरुषहरू भन्न थाले— ‘त्यो हाफ प्यान्ट लगाएर हिँड्ने केटी बस्ने चोक ।’बिस्तारै त्यो वाक्य छोटिँदै गयो, हाफ प्यान्ट चोक ।

अन्ततः हापेन चोक नाम बस्यो । बिनाको नाम हरायो, तर उनको शरीर र पहिरनबाट बनेको उपनाम अहिले स्थानको पहिचान बन्यो ।

 From Kichakvadh to Kachanakaval

पूर्वका चोक, बजार र सहरका नामहरूसँग स्थानीय इतिहास, बसाइँसराइ र जीवनशैली जोडिएको हुन्छ । खासगरी पुछारमा ‘बारे’ र ‘बारी’ जोडिएका दर्जनौं ठाउँका नाम छन् । हापेन चोकको मुन्तिरै पर्छ बुधबारे बजार ।

२०२१ सालमा पहिलो पटक भूमि सुधारको अभ्यास भएको ऐतिहासिक ठाउँ हो बुधबारे । चुरे पहाडको फेदीमा बसेको यो बजारमा मुख्यतः पहाडी समुदायको बाक्लो बसोबास छ । २००७ सालको क्रान्ति र त्यसपछि उत्पन्न परिस्थितिसँग यो ठाउँको सोझो साइनो छ ।

‘२०२८ साल : झापा विद्रोह’ नामक पुस्तकका अनुसार पूर्वको लिम्बूवान् मानिने तेह्रथुमको आइराई क्षेत्रबाट विस्थापितलाई कहाँ राख्ने भन्ने बहस भएको थियो । त्यसपछि चुरे पहाडसँगै जोडिएको घना जंगल मासेर विस्थापितलाई सारियो । त्यही ठाउँ पछि बुधबारे बजार बनेको हो ।

‘घना जंगल फँडानी गरी व्यवस्थित बस्ती विकासको थालनी पनि यही ठाउँबाट भएको थियो,’ लेखक निरोज कट्टेल भन्छन् । नरेन्द्रनाथ बास्तोलाको ‘पूर्वाञ्चलमा सात सालको क्रान्ति’ पुस्तकमा पनि यसबारे चर्चा गरिएको छ । बुधबार हटिया लाग्न थालेपछि यो ठाउँ कालान्तरमा ‘बुधबारे’ कहलिएको ८० वर्षीय हरिप्रसाद उप्रेती सम्झन्छन् । ‘हटिया लाग्ने बार नै यहाँको नाम बन्यो,’ उनी भन्छन् ।

From Kichakvadh to Kachanakaval

यस्तै कथा शनिश्चरे बजारको पनि छ । शनिबार हटिया लाग्ने भएकाले ‘शनिश्चरे’ नाम रहन गएको हो । यहाँका रैथाने लेखक कृष्ण बरालका अनुसार पछि ‘सन्सरे’ बजार शब्द अपभ्रंश हुँदै जनजिब्रोमा शनिश्चरे बनेको हो । झापाकै पुरानो हाटबजारमध्ये एक मानिने यो ठाउँ २००० सालतिरै बसिसकेको थियो । उनका अनुसार तत्कालीन मेची अञ्चलका पहाडी जिल्लाबाट यो क्षेत्रमा हाट बजारका लागि झर्थे । यो विनियमको मुख्य थलो थियो । ‘पहाडबाट घ्यु, तरकारी, बाख्राहरू बेच्न ल्याइन्थे,’ बराल भन्छन्, ‘यताबाट नुन, मट्टीतेल, चामल, गहुँ बोकेर जान्थे ।’

दिवंगत कांग्रेस नेता केशवकुमार बुढाथोकीले आफ्नो आत्मसंस्मरण ‘आफ्नो आफ्नो सगरमाथा’ मा उल्लेख गरेअनुसार सुरुमा यहाँ उनकी हजुर आमाले हाट बजारको थालनी गरेकी थिइन् । त्यही बजार कालान्तरणमा पूर्वी पहाडको ‘लाइफ लाइन’ बन्यो ।

पूर्वमा ‘बारी’ जोडिएका नामहरूको कथा झनै रोचक छ । इलाममा जौबारी, दानाबारी छ । झापामा धुलाबारी, खुदुनाबारी, फुहातबारी, हल्दीबारी, घेराबारी, मेथिबारी । मोरङमा आमबारी, बेलबारी, केराबारी । सुनसरीमा भान्टाबारी र संखुवासभामा खाँदबारी ।

यहाँ ‘बारी’ शब्द दुई अर्थमा प्रयोग भएको पाइन्छ । पहाडमा बारी भनेको खेतीयोग्य जमिन हो । तर तराई–मधेशमा ‘बारी’ को अर्थ गाउँको रूपमा प्रयोग भएको पाइन्छ । मेची पारि बंग्ला भाषीहरू घरलाई ‘बाडी’ भन्छन् । त्यसको प्रभाव पनि वारि परेको देखिन्छ । राजवंशीहरू तिम्रो गाउँ कता ? भनेर सोध्दा ‘तोर बाडी कुने ?’ भन्छन् ।

From Kichakvadh to Kachanakaval

राजवंशी, थारू, चौधरी, सन्थाल, गनगाई धिमाल, मेचे समुदायको पहिचान झल्कने नाम अहिले हराउँदै गएको झापाका अगुवा पत्रकार इन्द्रसिंह राजवंशी बताउँछन् । ‘हाम्रो पहिचान झल्कने ठाउँका नाम बिगारेर पहाडे समुदायले आफू अनुकूल बनाएको देखिन्छ,’ राजवंशी भन्छन्, ‘हाम्रो पहिचान अहिले संकटमा छ ।’

कांग्रेस नेता गोपालकुमार बस्नेतको पुस्तक ‘आफ्नो सेरोफेरो’ मा उल्लेख गरिएअनुसार झापा, मोरङ र सुनसरी कुनै समय राजवंशी, थारू, सन्थाल, धिमाल र मेचेहरूको एकछत्र थियो । तर, २०१६ सालमा औलो उन्मूलन भएपछि पहाडबाट बसाइँ सरेर तराई झर्ने क्रम तीव्र भयो । पहाडबाट बसाइँ सरी आएपछि यहाँका आदिवासीको जमिन खोसिने क्रम सुरु भयो । सँगै उनले आफ्नो भाषामा राखेका चोक, बजार, हटियाका नाम पनि बिगार्न थालियो ।

‘पहाडबाट झरेका समुदायले हाम्रा ठाउँका नाम उच्चारणमा फेरबदल गर्दै ‘बाडी’ लाई ‘बारी’ भनी बिगारिदिए,’ इतिहासका अध्येता पात्र धिमाल भन्छन् । धुलाबारी ‘धुला’ नाम गरेका राजवंशी जमिनदार (देउनियाँ) को गाउँका रूपमा विकसित भएको एकाथरी बुझाइ छ । अर्काथरीको दाबी के छ भने ‘धुला’ नाम गरेका धिमालको नाममा यो ठाउँको नाम रहन गएको जनश्रुति छ ।

धुलाको अर्थ धुलो हो । धेरै धुलो उड्ने गाउँका रूपमा त्यो समयमा यो ठाउँको नाम धुलाबारी राखिएको भन्नेहरू पनि छन् । तर, अध्येता धिमालको दाबी छ, ‘यो ठाउँको नाममा धिमाल पहिचान पाइन्छ ।’ पुहाँतुवाडी भने पञ्चायतकालमा राष्ट्रिय पञ्चायत सदस्य बनेका थारू समुदायका पुहाँतु चौधरीको गाउँका रूपमा ‘पुहाँतुबाडी’ राखिएको नाम हो, अहिले यो ठाउँलाई पुहातुबारी भनिन्छ ।

आमबारी, बेलबारी जस्ता नाम ती क्षेत्रमा आँप र बेल धेरै फल्ने गाउँका रूपमा प्रयोग हुन थालेको हो । केराबारी, जौबारी, दानाबारी, बाँसबारी पनि पहाडी समुदायले खेतीपातीका आधारमा जुराएका नाम हुन् । झापाको हल्दीबारी बेसार फल्ने गाउँका रूपमा विकसित भएको हो ।

संखुवासभाको सदरमुकाम खाँदबारीको नाम किरात भाषासँग जोडिएको छ । ‘खुन्दाबारी’, ‘खाँडपोखरी’ र किरात भाषाको शब्द ‘खाभरी’ बाट विकसित भएको मानिन्छ । किंवदन्तीअनुसार आजको खाँदबारी बजार रहेको स्थानमा पहिले ठूलो पोखरी थियो । जनसंख्या बढ्दै जाँदा पोखरी पुरियो, तर नाम बाँकी रह्यो ।

From Kichakvadh to Kachanakaval

विराटनगर, पौराणिक कालका विराट राजाको नामबाट बनेको जनविश्वास छ । १९७० सालसम्म यो ठाउँको नाम ‘गोग्राहा’ थियो । यो राजवंशी भाषाबाटै बनेको नाम हो । मोरङ दौडाहाका क्रममा केशरशमशेर जबराले भेडियारी क्षेत्रमा भेटिएको विराट राजाको दरबारका भग्नावशेष अवलोकन गरेपछि १९७६ मा गोग्राहाको नाम परिवर्तन गरी विराटनगर राखिएको हो ।

१९७१ मा बडाहाकिम जितबहादुर खत्रीले रंगेलीबाट विराटनगरमा जिल्ला सदरमुकाम (तत्कालीन गौडा) सारेपछि यहाँ सहरको विकास हुन थालेको विराटनगरका अगुवा दिनेश श्रेष्ठले जनाए ।

यस्तै महाभारतकालीन ऐतिहासिक महत्त्वको स्थान छ झापामा किच्चकवध । पाण्डवहरू विराट राजाको दरबारमा बस्दा विराटनगरका सेनापति किच्चकले द्रौपदीमाथि दुर्व्यवहार गर्ने प्रयास गरेको र द्रौपदीले भीमसेनलाई गुहार गरेपछि भीमले राति किच्चकलाई दरबारको नृत्यशालामा बोलाई वध गरेको किंवदन्ती छ । त्यो नृत्यशाला अहिलेको भद्रपुर–३ भएका कारण त्यो ठाउँकै नाम किच्चकवध राखिएको स्थानीयको भनाइ छ ।

From Kichakvadh to Kachanakaval

झापाको कचनकवल नेपालकै होचो भूभाग हो । ‘केचना’ बाट कचनकवल भएको हो । केचनाको अर्थ राजवंशी भाषामा होचो र दलदले जमिन भन्ने रहेको यो पालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए । कचनकवल नामको इतिहास पल्टाउँदा यो ठाउँ पनि महाभारतकालीन इतिहाससँग जोडिन्छ ।

महाभारत कालमा विराट राजाका गाईबस्तु चराउने मुख्य क्षेत्र यही रहेको किंवदन्ती छ । ‘केचना’ शब्दबाट अपभ्रंश हुँदै कचनकवल नाम रहन गएको विश्वास गरिन्छ । यो क्षेत्र आदिवासी राजवंशी, गनगाई, ताजपुरिया र मुस्लिम समुदायको आदिम थलो हो ।

तिब्बतसँगको सीमावर्ती हिमाली गाउँको नाम वालुङचुङ गोला (ओलाङचुङ गोला)। कञ्चनजंघा संरक्षण क्षेत्रभित्र अवस्थित एक ऐतिहासिक गाउँको नाम वन्यजन्तुको नामबाट राखिएको भनाइ छ ।

स्थानीय भाषाअनुसार वालुङ मा ‘वा’ ले रातो फ्याउरो जनाउँछ भने ‘लुङ’ को अर्थ ठाउँ हुन्छ । यसरी वालुङचुङको अर्थ रातो फ्याउरो पाइने ठाउँ भन्ने बुझिन्छ । ‘वालुङचुङ नै पछि अपभ्रंश भई ओलाङचुङगोला भएको हो,’ त्यो क्षेत्रका वडाध्यक्ष छेतेन शेर्पा लामाले भने ।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully