एसईई २०७९ र २०८० को नतिजामा यो विद्यालय पोखरा महानगर तथा कास्की जिल्लामा सर्वोत्कृष्ट भई शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेश, शिक्षा विकास तथा समन्वय इकाइ कास्की, जिल्ला समन्वय समिति कास्कीबाट सम्मानित भएको थियो ।
What you should know
पोखरा — गान्धीवादी शिक्षामा आधारित विद्यालय खोल्न तत्कालीन सरकारको प्रतिनिधि भएर २००३ तिर भक्तपुरका शिक्षक ज्ञानमान डंगोल पोखरा आए । पोखराको विन्ध्यवासिनी मन्दिर वरपर उनी विद्यालय चलाउन चाहन्थे । तर देवशमशेरका पालामा खुलेको संस्कृत भाषा पाठशाला रहेका कारण स्थानीयले अर्को विद्यालय स्थापना हुन दिएनन् ।
एक वर्षसम्म पोखराभरि डुल्दा पनि डंगोलले विद्यालय राख्ने ठाउँ पाएनन् । क्षयरोगबाट ग्रसित भएपछि उनी काठमाडौंको बाटो लागे ।
पोखराको उत्तरी भेगमा रहेको बाटुलेचौरबाट फर्किंदै गरेका डंगोललाई पण्डित मुक्तिनाथ शर्माले भेटे । डंगोलले विद्यालय खोल्न ठाउँ नपाएको गुनासो गरेपछि बनारसबाट पढेर आएका शर्माले पोखराले पाएको विद्यालयको कोटा फर्किएर जाओस् भन्ने उद्देश्यले ठाउँ खोज्ने वाचा गरे ।
२००४ भदौको पहिलो साता मुक्तिनाथ शर्माले शिक्षाको तालिम लिएर पोखरामै उक्त विद्यालय सञ्चालन गर्ने गरी नियुक्ति पाए । बाटुलेचौरका शर्माले १२ भदौ २००४ मा संस्थापक प्रधानाध्यापक भएर २३ विद्यार्थीबाट विन्ध्यवासिनी आधार स्कुल स्थापना गरे ।
पण्डित मुक्तिराम शर्मा उनै क्रान्तिकारी योद्धा थिए, जसले ब्राह्मणलाई वर्जित गरिएको हलो जोत्ने काम २००१ मा आफैंले गरेर छुवाछूतविरुद्ध विद्रोह गरेका थिए । २००७ को राणाविरोधी आन्दोलनमा पोखराको नेतृत्व उनैले गरेका थिए, जसका कारण १७ जेठ २००७ मा उनले प्रधानाध्यापकको जिम्मेवारी छोडेर भारत पस्नुपरेको थियो ।
मंसिर २००९ मा विद्यालय कास्कीका चौबिसे अन्तिम राजा सिद्धिनारायण शाहको दरबारको भग्नावशेष भएको सार्वजनिक जमिनमा सर्यो । ६५ हात लामो खरको छाना भएको टहरो बनाएर पढाइ थालियो । विद्यालयले २०१८ मा निमावि, २०२१ मा मावि, २०५८ बाट साविकको उच्च मावि सुरु गर्यो । २०६६ मा अंग्रेजी माध्यमको पठनपाठन सुरु भयो । विद्यालयको असल अभ्यासको सिकाइ केन्द्र बनेको यो विद्यालयले यतिखेर आहान नै पाएको छ– विद्यालय हेर्न विन्ध्यवासिनी मावि जानू ।
२०७९ मा ६ वर्ष लगाएर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेको विद्यालय कार्यसम्पादन परीक्षणमा विन्ध्यवासिनी मावि देशभरमै पहिलो भएको थियो । २०८० मा नेपाल सरकारको शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले सर्वेक्षण गर्दा गण्डकी प्रदेशमा पहिलो र नेपालभरिमा दोस्रो भएको थियो ।
एसईई २०७९ र २०८० को नतिजामा यो विद्यालय पोखरा महानगर तथा कास्की जिल्लामा सर्वोत्कृष्ट भई शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेश, शिक्षा विकास तथा समन्वय इकाइ कास्की, जिल्ला समन्वय समिति कास्कीबाट सम्मानित भएको थियो ।
२०८१ को कक्षा ८ को आधारभूत तहको परीक्षामा उत्तीर्ण प्रतिशतका आधारमा पोखरा महानगरमा पहिलो भइसकेको छ । यो विद्यालय एसईई २०७९ को नतिजामा कास्की जिल्ला सर्वोत्कृष्ट भएको थियो । एसईई २०८१ मा यस विद्यालयका सहज घिमिरेले ४ जीपीए ल्याए ।
प्रविधिको प्रयोगमा देशैभरिका सामुदायिक विद्यालयमध्ये उत्कृष्ट ३ मा परेर गत वर्ष आईसीटी अवार्ड पाएको थियो । विद्यालयको असल अभ्यास सिकाइबारे जानकारी लिन २०८१ मा मात्रै देशभरका २ सय ५९ विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी विन्ध्यवासिनी मावि पुगेका छन् ।
विद्यालयले नारा नै बनाएको छ, ‘गुणस्तरीय शिक्षाका लागि अनुशासन र समर्पण’ । विद्यालयले कक्षागत र तहगत रूपमा अभिभावक भेला गर्छ । वक्ता बोलाएर विद्यार्थी र अभिभावकलाई उत्प्रेरणा जगाउने कार्यक्रम गर्छ । विद्यालयले प्रांगणमा विद्यार्थी, अभिभावक र शिक्षक तथा कर्मचारीका लागि छुट्टाछुट्टै आचारसंहिता (नेपाली र अंग्रेजीमा) टाँसेको छ ।
अभिभावकले पूरा गर्नुपर्ने जिम्मेवारी उल्लेख गरिएको आचारसंहिता विद्यार्थीको घरैमा पुर्याइन्छ । अतिरिक्त क्रियाकलाप, सूचना तथा सञ्चार प्रविधि, अनुशासन, तहगत इन्चार्ज तोकिएको छ ।
विद्यालयले वर्षमा एकपल्ट शिक्षक टोली विद्यार्थीको घरघर पठाउँछ । बच्चाले घरमा अध्ययनमा कति समय खर्चिन्छन्, पढ्ने सुविधा के–कस्तो छ, अभिभावकका के समस्या छन्, बच्चाले ध्यान दिएर पढ्छन् कि पढ्दैनन्, परिवारको आर्थिक अवस्था, बच्चाको संगतबारे अभिभावकलाई छुट्टै सोधिन्छ । प्रअ कृष्णप्रसाद आचार्य विद्यार्थीसँग मात्रै सोधेर यथार्थ नबुझिने बताउँछन् ।
विद्यालयमा ९७ शिक्षक–कर्मचारी कार्यरत छन् । प्रारम्भिक बालविकासदेखि १२ कक्षासम्म १ हजार ४ सय ९७ विद्यार्थी अध्ययनरत छन् । कक्षा ११ र १२ मा व्यवस्थापन र विज्ञान विषयमा पढाइ हुन्छ । २०६६ देखि नै विद्यालयले अंग्रेजी माध्यममा पढाइरहेको छ । कक्षा ४ देखि कम्प्युटर विज्ञानको पढाइ हुन्छ ।
व्यवस्थापन समितिका अध्यक्ष सन्दीप थापा कर्तव्यनिष्ठ शिक्षक, कर्मचारी, मर्यादित र अनुशासित विद्यार्थी, जिम्मेवार अभिभावक नै विद्यालयको सफलताको कारक मान्छन् । ‘शिक्षक, कर्मचारीलाई पुरस्कार र दण्डको व्यवस्था, आचारसंहिता र कार्यविधिले जिम्मेवार बनाएको छ । विद्यालयभित्र राजनीतिलाई निषेध गरेका छौं,’ उनी भन्छन् ।
प्रधानाध्यापक आचार्य विद्यालयको सफलतामा मुख्यतः शिक्षकको समर्पण र पेसाप्रति इमानदारी, विद्यार्थीको अनुशासन र अभिभावकको सक्रियताले महत्त्वपूर्ण भूमिका खेल्ने बताउँछन् । हरेक परीक्षामा नतिजा विश्लेषण गरिन्छ । कमजोर विद्यार्थीलाई सम्बन्धित तहका इन्चार्जले परामर्श दिन्छन् ।
अतिरिक्त कक्षा, स्मरण शक्ति वृद्धि तालिम दिइन्छ । ‘विद्यार्थीले के–केमा सुधार गर्नुपर्छ भन्नेमा अभिभावकलाई बोलाएर कक्षा शिक्षकले परामर्श गर्छन्,’ प्रधानाध्यापक आचार्यले भने, ‘अभिभावक र विद्यार्थीलाई पढाइमा सुधार गर्न प्रतिबद्ध बनाइन्छ ।’ विद्यालयले दक्षिण कोरियाको नर्थ लन्डन कलिजियट स्कुलसँग भगिनी सम्बन्ध कायम गरेको छ ।
गणितको सिकाइ उपलब्धि वृद्धिमा विशेष ध्यान दिँदै गत वर्षबाट ‘मिसन गणित’ लागू गरी कक्षा २–५ सम्म ‘अबाकस’ गणित र ४ देखि ९ सम्म निरन्तर रूपमा गणित विषयको एक अतिरिक्त कक्षा सञ्चालन गरिएको छ । विद्यालयमा छात्रवृत्ति अक्षयकोष १८ वटा छन् ।
कक्षाकोठामा मल्टिमिडिया प्रोजेक्टर, स्मार्ट बोर्ड, ई–पुस्तकालय, स्मार्ट टीभीसहितको गणित प्रयोगशाला, स्मार्ट बोर्डसहितको कम्प्युटर प्रयोगशाला व्यवस्था गरिएको छ । बालविकासका विद्यार्थीलाई विद्यालयले आफैं पकाएर खुवाउँछ ।
