रातको समयमा फुर्सद मिलाएर पढ्न आउने पाको उमेरका विद्यार्थीका लागि खुलेको नारायणी माविले स्थापनाको ६ दशक नाघ्दै गर्दा ठूलो छलाङ मारेको छ, समय मिलाएर पढ्न जाने होइन, गुणस्तरीय नतिजाका लागि रोजेर–खोजेर विद्यार्थी पढ्न जाने विद्यालयमा रूपान्तरित भएको छ
What you should know
चितवन — कक्षा सुरु हुने घण्टी बज्ने बेला हुँदै थियो, आदित्य पौडेल प्रधानाध्यापक रामशरण दुवाडीको कार्यकक्षमा साथीसहित प्रवेश गरे । भरतपुरको नारायणी नमुना माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्ने आदित्यको जन्मदिन रहेछ ।
‘मेरो जन्म दिन हो’ भन्दै प्रधानाध्यापकको कार्यकक्षमा गएका पौडेलले शुभकामना पाए । साथै उनले केही नगद विद्यालयको कोषमा जम्मा पनि गरे । ‘विद्यार्थीलाई जन्मदिन र अन्य उत्सवमा हुने फजुल खर्च कटौती गरौं भनेर सामान्य तरिकाले जन्मदिनमा शुभकामना दिने र उनीहरूले जे जति सक्छन्, त्यहीअनुसार नगद सहयोग लिएर कोषमा राखेका छौं,’ प्रधानाध्यापक दुवाडीले भने ।
गत वर्ष स्थापना भएको ‘जन्मोत्सव तथा खुसीयाली कोष’ले विद्यालयका शैक्षिक क्रियाकलापलाई मद्दत गर्ने उद्देश्य राखेको दुवाडीको भनाइ छ ।
‘नारायणी नमुना मावि चितवनमा मावि तहको अध्ययनका लागि धेरैले रोज्ने विद्यालयभित्र पर्नुमा यस्तै खाले विद्यार्थी र शिक्षामैत्री सानादेखि ठूला तर गहकिला कार्यक्रमको योगदान छ,’ उनी भन्छन् । चितवन जिल्लाभित्रै परे पनि इच्छाकामना गाउँपालिका–३ बारबाङ खोला आडको मृगस्थली गाउँ सदरमुकाम भरतपुरबाट निकै पर लगभग ६० किलोमिटर उत्तरपुर्वी पहाडी खोचमा छ ।
पृथ्वी राजमार्ग आडको कुरिनघाटदेखि अढाई किलोमिटर दक्षिण पहाडतर्फ लाग्दा पुगिने यो गाउँका शैलेश पौडेल अहिले पोखरा मणिपाल मेडिकल कलेजमा एमबीबीएस पढ्छन् । उनले एमबीबीएस पढ्न सुरु गरेको साढे तीन वर्ष भयो । तर यसअघि नै गाउँ छाडेर शैलेशले भरतपुर बसेर कक्षा १२ को पढाइ पूरा गरेका थिए । गाउँसम्म कक्षा ७ पढेपछि । त्यसपछि १२ सम्म उनले नारायणी माविमा पढे ।
‘नारायणी माविमा राम्रो पढाइ हुन्छ, निजी स्कुलको जस्तो खर्च नलागे पनि पढाइ निजीको भन्दा पनि राम्रो छ भन्ने सुनेको थिएँ । मेरा बाबुनानीहरूले पनि त्यही सुन्दै आएका थिए । १२ पढेपछि छोरो डाक्टर पढ्ने हो भन्थे । त्यसैले उपयुक्त होला भनेर नारायणी मावि रोज्यौं,’ शैलेशका बुबा शिव पौडेलले भने । पौडेल परिवारको छनोट सही ठहरियो । शैलेशले एमबीबीएस पढ्न छात्रवृत्तिमै नाम निकाले ।
नारायणी मावि त्यसै यहाँसम्म पुगेको भने हैन । यसको सुरुवात सुस्त थियो । बीचमा यात्रा नै अवरुद्ध हुने हो कि भन्ने आशंका हुने गरी नतिजा आउन थाल्यो । तर खस्केको नतिजालाई उठाउने अभिभारा बोकेका अभिभावक, विद्यार्थी र शिक्षकहरूको मिहिनेतले विद्यालय नमुना बनेर उदाएको हो । २०३८ सालको एसएलसी परीक्षामा शून्यमा पुगेको यो विद्यालय २० वर्षभित्रै जिल्लामा पहिलो बन्यो ।
नारायणी माविको जन्म रात्रि स्कुलका रूपमा भएको हो । औलो रोग उन्मूलनसँगै २०१३ सालपछि चितवनमा बस्ती विस्तार हुन लाग्यो । विद्यालय पनि खुल्न थाले । कक्षा १० उत्तीर्ण नभएका तर सरकारी कार्यालयमा तल्लो तहमा कार्यरत कर्मचारीलाई कक्षा ९ र १० पढाएर एसएलसी पास हुने अवसर दिने उद्देश्यले नारायणी मावि खुल्यो । यसमा पढाइ पूरा गर्न नसकेकाहरू पनि जोडिँदै गए ।
६ जेठ २०२० मा रात्रि माविका रूपमा पढाइ सुरु गर्दा स्कुलको आफ्नै जग्गा र भवन थिएन । यसको संस्थापक अध्यक्ष इन्द्रप्रसाद पौडेल र प्रधानध्यापक थिए प्रेमकुमार श्रेष्ठ । प्रौढ या युवा विद्यार्थी आउने, दिउँसो काम गरेर पढ्न आउने, पढ्दा थाकेको हुने भएका कारण विद्यालयले आशा गरेअनुसार नतिजा दिन नसकेको पूर्वप्रधानाध्यापक पूर्णप्रसाद दवाडी सम्झन्छन् ।
५४ जनाले एसएलसी दिएका बेला २०३८ को नतिजामा कोही पनि उत्तीर्ण भएनन् । त्यसपछि विद्यालयको भविष्यलाई लिएर चिन्ता सुरु भयो । २०४१ देखि विद्यालय १०–४ बजेसम्म सञ्चालन हुन थाल्यो । २०४९ देखि विद्यालयलाई व्यवस्थित रूपमा अगाडि बढाउन सामूहिक प्रयत्न सुरु भएको उनको भनाइ छ ।
२०५७ को एसएलसीमा यो विद्यालय सामुदायिकतर्फ चितवनको पहिलो भयो । एसएलसीको नतिजा लगातार पाँच वर्षसम्म ९० प्रतिशत पार भएको, विद्यार्थी संख्याका आधारमा शिक्षक अनुपात मिलेको, कक्षाकोठा पर्याप्त भएको, पढाइमा सूचना प्रविधिको प्रयोग भएको जस्ता १५१ सूचक पूरा गरेको आधारमा शिक्षा विभागअन्तर्गतको तत्कालीन हेटौंडाको क्षेत्रीय शिक्षा निर्देशनालयले नारायणी माविलाई २०७० मा नमुना विद्यालय कायम गरेको हो ।
त्यसको एक वर्षअघि विद्यालयले अंग्रेजी माध्यममा पढाइ सुरु गरेको थियो । ‘सरकारी स्कुलको पढाइ मन नपरेर स्थानीयले छोराछोरी पढाउन निजी बोर्डिङ स्कुल रोज्न थाले । हामीले पनि अंग्रेजी पढाउने योजना बनायौं । अभिभावकलाई सहयोग गर्न आह्वान गर्यौं,’ विद्यालयका पूर्वप्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका वर्तमान अध्यक्ष टेकबहादुर थापाले भने ।
‘पर्याप्त शिक्षक प्रबन्ध गर्न सरकारी दरबन्दी नभए पनि निजी स्रोतको खर्च बेहोर्न अभिभावक सहयोग गर्न तयार भए,’ थापाले भने, ‘तपाईंहरूले सहयोग गरे हामी उत्कृष्ट नतिजा दिन्छौं भनेर अभिभावकसँग गरेको वाचा पूरा गरेका कारणले नारायणी मावि नमुना बनेको हो ।’
बालविकासदेखि १२ कक्षासम्म पढाइ हुने विद्यालयमा ३ हजार ३ सय ३४ विद्यार्थी छन् । १ सय ३२ शिक्षक र २१ कर्मचारी छन् । अन्नपूर्ण, धौलागिरि, माछापुच्छ्रे, सगरमाथा गरी तीन ब्लक छन् । थप एउटा कञ्चनजंघा ब्लक निर्माणाधीन छ । खेलकुदमा पनि विद्यालयले राम्रो गर्दै आएको प्रधानाध्यापक रामशरण दुवाडीले बताए । ‘पढाइमा विद्यार्थीलाई कसरी सघाउने भन्ने हाम्रो विशेष ध्याउन्न रहने गर्छ,’ उनले भने । कक्षा शिक्षकले महिनामा एक पटक अभिभावकलाई भेटेकै हुन्छन् । अभिभावकले दिने सुझाव कक्षा शिक्षकले विद्यालय प्रशासनमा राख्छन् ।
विद्यालयको कक्षा ८ मा २०७९, २०८० र २०८१ मा लगभग ९७ प्रतिशत र लगातार ९९ प्रतिशत हाराहारीमा नतिजा ल्याएको दुवाडीले जनाए । एसईईमा पनि पछिल्लो तीन वर्षमा क्रमशः शतप्रतिशत, ८८ प्रतिशत र ९९ प्रतिशत उत्तीर्ण भए ।
विद्यालयमा हरेक विषयको विषयगत समिति छ । समितिले विद्यार्थी र शिक्षक दुवैको लक्ष्य निर्धारण गर्ने, त्यसअनुसारका नतिजा ल्याउन आवश्यक सहयोग र सुधारको प्रबन्ध गर्ने काम गर्छ । ‘हिजोको नतिजा के थियो, आज के भयो, भोलि के गर्ने भन्ने योजना नै बनाएर काम गर्छौं,’ दुवाडीले भने ।
विद्यालयमा कक्षा ११ र १२ ले प्रयोग गर्ने पुस्तकालय छ । अन्य कक्षाका लागि हरेक भवनको एउटा कोठामा मिनी लाइब्रेरी छ । कक्षा १०, ११ र १२ मा स्मार्टबोर्डबाट पढाइ हुन्छ । प्रोजेक्टरबाट २०६७ सालबाटै कक्षा ८, ९ र १० लाई पढाउँदै आएको दुवाडीले बताए ।
होस्टेल बनाउने योजना रहे पनि कार्यान्वयनमा आएको छैन । दृष्टिविहीन विद्यार्थीका लागि भने ३० जना अट्ने छात्रावास छ । विद्यार्थीले प्रयोग गर्ने १ सय ३५ सहित विद्यालयमा १ सय ६५ कम्प्युटर छन् । १ सय ६२ वटा सीसीटीभी क्यामेराले विद्यालयको निगरानी गरिरहेको हुन्छ । पाँच वटा स्कुल बस छन् । तर यो अपर्याप्त छ । विद्यालयले अंग्रेजी माध्यमबाट पढाउन सुरु गरेपछि निजी स्कुलबाट समेत विद्यार्थी आउन थाले । अहिले विद्यालयले कक्षा ७ भन्दा माथि नयाँ भर्ना लिँदैन । ७ कक्षामा अहिले आठ सेक्सन छन् ।
रातमा फुर्सद मिलाएर पढ्न आउने पाको उमेरका विद्यार्थीका लागि खुलेको नारायणी माविले स्थापनाको ६ दशक नाघ्दै गर्दा ठूलो छलाङ मारेको छ । समय मिलाएर पढ्न जाने होइन, गुणस्तरीय नतिजाका लागि रोजेर खोजेर पढ्न जाने विद्यालयमा रूपान्तरित भएको छ । ‘यसका लागि शिक्षकको बलियो टिमवर्क, अभिभावकको सहयोग, विद्यार्थीको लगन र प्रअको प्रभावकारी योजनाले काम गरेको हो,’ पूर्वप्रधानाध्यापक दवाडीले भने ।
सफलतामा लम्किरहेको विद्यालयका चुनौती पनि कम छैनन् । ‘सरकारले निःशुल्क शिक्षा भनेको छ । विद्यालयलाई राम्रो बनाउन हामीले अभिभावकसँग सहयोग लिई रहनुपरेको छ,’ पूर्वप्रधानाध्यापक पूर्णप्रसाद दवाडीले भने । विद्यालयमा सरकारी स्रोतबाट ५७ जनासहित १ सय ३२ जना शिक्षक र २१ कर्मचारी छन् । अपुग रकमका लागि शैक्षिक सुधार सहयोग भनेर विद्यालयले अभिभावकबाट पैसा लिँदै आएको छ ।
वर्षको सानो कक्षाका विद्यार्थीले १५/१६ सय रुपैयाँ र माथिल्लो कक्षामा पढ्नेले सात/आठ हजार रुपैयाँ यसका लागि तिर्दै आएका छन् ।
