ज्ञानको केन्द्र : दुर्गालक्ष्मी

सुदूरपश्चिममै सबैभन्दा बढी विद्यार्थीले पढ्ने विद्यालय हो कैलालीको अत्तरियास्थित दुर्गालक्ष्मी मावि । कक्षा ११ र १२ पढ्न सुदूरपश्चिमका नौवटै जिल्लाबाट विद्यार्थी आउँछन् । 

पुस २६, २०८२

अर्जुन शाह

Center of Knowledge: Durga Lakshmi

What you should know

धनगढी — कैलालीको अत्तरियास्थित मुख्य बजारको छेवैमा १३ वटा आकर्षक भवन पूर्वाधारमा २ हजार ८ सयभन्दा बढी विद्यार्थी अध्ययनरत सरकारी शैक्षिक संस्था उभिएको छ । विद्यालय १६ हजार १३०.८६ वर्गमिटरमा फैलिएको छ । विद्यालयको पर्खाल बाहिर लेखिएको छ, ‘मेरो दुर्गालक्ष्मी, मेरो गौरव’ ।

सुदूरपश्चिमकै सानका रूपमा स्थापित छ दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालय । भौतिक पूर्वाधार पनि व्यवस्थित छन् । पर्याप्त शिक्षक छन् । यो विद्यालय विद्यार्थीको पहिलो रोजाइ बन्दै आएको छ । यो उचाइ प्राप्तिका लागि दुर्गालक्ष्मीले लामो र संघर्षपूर्ण यात्रा पार गरेको छ । 

करिब ५२ वर्षअघि बालबालिकाले घरघरबाट ल्याएका बोरा बिछ्याएर खुला चौरमा एक शिक्षकको भरमा यो विद्यालय सुरु गरिएको थियो । तराईको जिल्ला भए पनि त्यतिबेला अत्तरिया शिक्षाको दृष्टिले निकै पछाडि थियो । विद्यालय स्थापनामा ढिलाइ गरे विद्यमान अशिक्षा र चेतनास्तर झन्झन् कमजोर हुने स्थानीयको महसुसले दुर्गालक्ष्मी स्थापनाको जग कोरिएको थियो । बाल दिवसको अवसर पारेर ४ भदौ ०३० मा यो विद्यालय स्थापना गरिएको अभिलेख छ ।

विद्यालयका संस्थापक प्रधानाध्यापक कृष्णभक्त पनेरुले प्रारम्भिक दिनबारे स्मारिकामा लेखेका छन् ‘अत्तरियामा बसोबास रहेका मेरा भिनाजु जयप्रसाद पाण्डेले एक दिन यहाँका अगुवा नरबहादुर कडायत र भीमबहादुर कडायतसँग भेट गराउनुभयो । उहाँहरू तीनै जनाले अत्तरियामा विद्यालय अनिवार्य रहेको भन्दै मलाई सहयोग गर्न आग्रह गरेपछि विद्यालय स्थापना गर्न छलफल सुरु भएको थियो ।’

डडेलधुरामा बसोबास गरिरहेका पनेरु त्यसबेला भारतबाट अध्ययन पूरा गरेर भर्खरै फर्किएका थिए । विद्यालय स्थापना गर्ने सल्लाहपछि गाउँलेले स्थानीय मुखिया चन्द्रभान कडायतको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन गरेर विद्यालय स्थापनाको प्रक्रिया अघि बढाए । त्यस क्रममा विद्यालयको नाम राखियो ‘श्री दुर्गालक्ष्मी लोअर प्राइमरी स्कुल’ । 

संस्थापक प्रअ पनेरुका अनुसार त्यसबेला खुला चौरमै कक्षा सञ्चालन गर्नुपर्ने अवस्था थियो । विद्यार्थी घरबाट बोरा बोकेर आउँथे, लेख्नका लागि सिलेट र खरी पनि उनीहरू आफैंले ल्याउनुपर्थ्यो । पहिलो वर्ष जम्मा २५ विद्यार्थी भर्ना भएका थिए । उनीहरूको सिकाइ स्तर हेरेर कक्षा १, २ र ३ मा राखिएको थियो । तर तीनवटै कक्षा एउटै शिक्षक (प्रधानाध्यापक पनि) रहेका पनेरुले सम्हाल्नुपर्ने बाध्यता थियो ।

सीमित साधनस्रोतबीच पनि प्रमुख सरोकारवालाले शिक्षाप्रतिको प्रतिबद्धता कमजोर हुन दिएनन् । स्थानीय समुदायको सक्रियता र निरन्तर प्रयासका कारण विद्यालय अघि बढ्यो । 

समयको गतिसँगै अत्तरिया बजार विस्तार हुँदै गयो । जनसंख्या बढ्दै जाँदा शिक्षाप्रतिको चेतना पनि क्रमशः गहिरिँदै गयो । त्यही परिवर्तनसँगै दुर्गालक्ष्मीले पनि आफ्नो स्वरूप र स्तर विस्तार गर्दै लग्यो । कक्षा थपिए, भवन बने, शिक्षक संख्या बढ्यो र विद्यालयको शैक्षिक हैसियत पनि उठ्दै गयो । 

०४९ सालमा कक्षा ६ सञ्चालन सुरु भएको यस विद्यालय ०५२ मा पहिलोपटक एसएलसीमा सहभागी भयो । ०६१ मा विद्यालयलाई ‘प्लस टु’ मा स्तरोन्नति गरियो । 

आज दुर्गालक्ष्मी सुदूरपश्चिममै धेरै विद्यार्थी संख्या भएका विद्यालयमध्ये पर्छ । हाल विद्यार्थी संख्या २ हजार ८ सय ५२ छ । कक्षा ११ र १२ मा कानुन, व्यवस्थापन, मानविकी, शिक्षा, विज्ञान, कम्प्युटर, इन्जिनियरिङ विधामा अध्यापन हुन्छ । यस विद्यालयमा कक्षा ११ र १२ पढ्न सुदूरपश्चिमका नौवटै जिल्लाबाट विद्यार्थी आउँछन् ।

‘आधारभूत तहदेखि नै विज्ञान र गणित विषयलाई फोकस गरिरहेका छौं । कक्षा ११ र १२ मा इन्जिनियरिङ र विज्ञानलाई अझ बढी प्राथमिकता दिइरहेका छौं,’ व्यवस्थापन समितिका अध्यक्ष हरि भट्टराईले भने । 

गत शैक्षिक सत्रमा कक्षा ५ को नगरस्तरीय परीक्षामा यस विद्यालयका ९४ प्रतिशत विद्यार्थी उत्तीर्ण भए । कक्षा ८ मा ७१.३८ प्रतिशत र एसईईमा ५५.८१ प्रतिशत उत्तीर्ण भए । कक्षा १२ को उत्तीर्ण प्रतिशत ३९.९५ रहेको विद्यालयको अभिलेखमा छ ।

यहाँ अध्ययन गरेका विद्यार्थीले चिकित्सा शिक्षा, इन्जिनियरिङलगायत अध्ययनका लागि छात्रवृत्तिको कोटामा नाम निकाल्न सकेकाले पनि विद्यालयको महिमा बढेको प्रधानाध्यापक वीरबहादुर महरा बताउँछन् । ०८० को एसईईमा यसै विद्यालयकी छात्राले ४ जीपीए ल्याएकी थिइन् । 

विद्यालय अभिभावक संघका अध्यक्ष सुरतबहादुर विष्टका विचारमा विद्यालयमा कक्षाकोठा सफा, विद्यार्थीको नियमितता, प्रतिबद्ध शिक्षक तथा नियमित अध्यापन सकारात्मक पक्ष हुन् ।

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully