नगरकोटीलाई 'यदाकदा'को रिहर्सल घाटमा गर्न मन थियो । उनी सोच्छन्- जीवनको सबैभन्दा ठूलो सत्य र सबैभन्दा गहिरो मौनता घाटमै भेटिन्छ । त्यसैले घाटको शान्तिलाई सहरको बीचमा ल्याएर, एस्प्रेसोको कडापनमा कविताको मिठास घोलेर नगरकोटीले काठमाडौंलाई एउटा नयाँ ‘अनुभव’ पस्किँदै छन् ।
What you should know
काठमाडौँ — शिशिरका यी बर्फिला दिन, त्यसमाथि झन् उपत्यकाको सिरेटोमय साँझ ! यस्तै कुनै फ्रोजन साँझमा राष्ट्रिय सभागृह आसपास तान्त्रिक गल्लीबाट बसाइँ सरिआएका खैरा, काला र निला बिराला भेटिन सक्छन् ।
गौशालानजिकै कसैको काँधमा बसेर बटरस्कच खाइरहेको बाँदरले तपाईंलाई एकोहोरो हेरिरहन सक्छ । निदाएर उठेकी अनिद्रा चकलेट सावर लिएर तपाईंको झ्यालसम्म आइपुग्न सक्छे र तपाईंलाई मोहनी लगाउन सक्छे । तपाईंले पिइरहेको चुरोट ननिभ्ने जिद्दी गर्न सक्छ । एस्ट्रेले विद्रोह गर्न सक्छ । त्यसो भएको खण्डमा तपाईं नअत्तालिनुस्, सिधै राष्ट्रिय सभागृह पुग्नुस् ! किनभने ती सब कुरामा तन्त्रविद्या भरेका कुमार नगरकोटी कविताका ऋचाले सभागृहको चारकुना बाँधिरहेका भेटिनेछन् । संगीतको सुरसप्तकमा जीवनको मन्त्र फुकिरहेका देखिनेछन्, त्यो साँझ छिट्टै आउन सक्छ ।
नेपाली साहित्यलाई एउटा भिन्नै स्वाद र शैली उपहार दिएका कुमार नगरकोटी खासमा एक जोगी हुन् । ओठमा मालबोरो, हत्केलामा ‘डबल सट एस्प्रेसो’ र हृदयमा कविता बोकेका यी लेखक डिसेम्बर २५ को साँझ प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहको मञ्चमा तपाईंको प्रतीक्षामा रहनेछन् । यदाकदा हुने यस्तो कार्यक्रमलाई ‘यदाकदा : एन इभिनिङ अफ म्युजिकल पोएट्री’ नाम दिइएको छ ।
पुस १० मा राजधानीको राष्ट्रिय सभागृहमा आफ्नै विशिष्ट अदा–स्टाइलमा संगीतसँगै कविता गुनगुनाइरहेका भेटिनेछन्, नगरकोटी । आयोजक संस्था कम्युनिकेट टेक्नोलोजी प्रालिले भनेको छ– त्यो कार्यक्रममा नगरकोटीलाई युवा संगीतकार अनुप तिमिल्सिनाले समधुर साथ दिनेछन् अनि नगरकोटीले आफ्ना नयाँ–पुराना कविता र रोचक प्रसंग सुनाउनेछन् । साथै ‘कहिलेकाहीँ घरमा हुन्छु...’, 'खर्पनमा बोकी हिँड्छु...’ लगायत गीत आफ्नै अन्दाजमा गाउनेछन् ।
एक छन् नगरकोटी, जो नेपाली साहित्यमा प्रयोगधर्मी–शिल्प रुचाउँछन् । उनका ‘मोक्षान्तः काठमाण्डू फिभर’, ‘अक्षरगन्ज’, ‘फोसिल’, ‘मिस्टिका’, ‘जोगियाना’, ‘कोमा : अ पोलिटिकल सेक्स’, ‘बाथटब’, ‘कल्पग्रन्थ’ किताबहरू पढ्नुभयो भने तपाईं ढुक्क हुनुहुनेछ– नगरकोटी ‘स्टाइलिस स्टाइल’का लागि त खतरै मनुवा हुन् । र, राष्ट्रिय सभागृहमा कुनै कविको एकल कविता वाचन हुन लागेको यो खबर सम्भवतः पहिलो पटक सुनियो । निकै वर्षअघि एक साँझ उनैको मुखारविन्दबाट सुनेको एक कविता मस्तिष्कगारमा ओहोरदोहोर गरिरहन्छ :
आमा ! म जन्मूँ कि नजन्मूँ ?
म एक भ्रुण
तिम्रो पाठेघरमा गर्भरत ।
जन्मन बाँकी छु
आमा !
म जन्मूँ कि नजन्मूँ ?
म आरोपित भइसकेको छु
यो अन्तरिक्षजस्तो
तिम्रो पवित्र पाठेघरमा
तिमीले सायद आफ्नो मासिक धर्ममा आएको अनियमितताबारे महसुस गरिसकेकी छौ र सम्भवतः कुनै सफा लुगा लगाउने दाह्री–जुँगा पालेको भद्र पुरुषको कानमा साउती गर्दै भनेकी छौ :
‘म तपाईंको बच्चाको
आमा बन्न लागेकी छु ।’
तर, आमा !
म दुविधामा छु
म जन्मूँ कि नजन्मूँ ?
सीटी–स्क्यान गरेर हेर्यौ भने
एक्स–रे प्लेटमा
तिमी मलाई एक डल्लो मांसपिण्ड
फर्टिलाइज हुँदै गइरहेको
ब्ल्याक एन्ड ह्वाइट काव्यिक चित्र देख्नेछौ
म यही पाठेघरको शून्य अन्तरिक्षमा विकसित हुँदै जानेछु
घाँस झैं उम्रनेछु
एक निराकार अवस्थाबाट
अंकुरित हुनेछु
बदामको बिरुवा झैं
आमा !
मेरो सम्भावित जन्म
तिम्रो सुन्दर सिर्जनात्मक उपलब्धि हुनेछ
तिम्रो सुन्दर रचनात्मक अभिव्यक्ति हुनेछ
तर जन्मनुअघि मेरा केही बालप्रश्नहरू छन् । बाल जिज्ञासाहरू छन् । आमा, तिमीले पढ्ने पुस्तकहरू किन यति प्रदूषित छन् ? मलाई गर्भमै प्रदूषित पार्दै छन् ती बकवासहरूले । तिमीले लिने श्वास जो म ग्रहण गरिरहेछु– त्यसमा किन यति धेरै विकिरण एवं विकारहरू छन् ? के त्यहाँ स्वच्छ श्वासको सम्भावना छैन ? तिम्रो सामूहिक चेतना जुन म क्रमशः ग्रहण गर्दै छु त्यसमा किन यति धेरै अस्वस्थता, गरिमाहीनता एवं भ्रष्टताहरू व्याप्त छन् ? मैले अझै देखिनसकेको त्यो प्रदेशमा के हिंसा व्याप्त छ ? घृणा, भोक एवं युद्ध व्याप्त छन् ? तिम्रो संसार प्रदूषणमुक्त क्षेत्र हो कि होइन ? अस्तित्व अभीशप्तपूर्ण छ कि आशीर्वादपूर्ण ! मजस्ता नजन्मेका असंख्य जीवनहरू तिम्रो संसारमा जन्मनु अब उचित छ कि छैन आमा ?)
जे होस्
केही समयपश्चात्
आमा !
तिम्रो पेटभित्र म
माउसुली झैं चलमलाउन थाल्नेछु ।
म एक दुर्बल सम्भावना मात्र हुँ
हुनु/नहुनुको
म एक आकस्मिक अवसर मात्र हुँ
छु/छैनको
म एक अमूर्त संयोग मात्र हुँ
हो/होइनको
यो आदिम पाठेघरमा
सदा एउटा सनातन प्रारब्ध
क्रियाशील भइरहन्छ
जहाँ एक टुक्रा शुक्रकीटबाट
अचम्मलाग्दो गरी मान्छेको मोडल तयार हुन्छ
यो अस्तित्वको यस्तो प्रारम्भिक चरण हो
जहाँ कसैसित आफ्नो जन्मको
एकाधिकार घोषणा–पत्र हुँदैन
अनि यो नाट्यशालाको त्यस्तो गुप्त नेपथ्य पनि हो
जहाँ आ–आफ्नो मुकुन्डो छानेर
चरित्र–अभिनेताहरू मञ्चमा पदार्पण गर्न
व्यग्र रहन्छन्
उत्सुक रहन्छन्
यो प्राचीन पाठेघर
हरेक मानिसको प्रथम
निर्वासन–गृह हो जहाँ उसको
अन्तरिम भविष्य
निर्माण हुन्छ ।
निर्वाण हुन्छ ।
म एक भ्रुण
तिम्रो पाठेघरमा गर्भरत ।
जन्मन बाँकी छु
आमा !
म जन्मूँ कि नजन्मूँ ?
---
यो कविता–श्रवणको साँझ नगरकोटीले भनेका थिए, ‘फ्र्यांक्ली स्पिकिङ, म ज्ञानी/गुनी मान्छे होइन । आमालाई अझै के मिठो भ्रम छ, म ज्ञानी मुन्छे हुँ भन्ने । किनभने म कविता लेख्छु । मेरी आमाका निम्ति कविता लेख्ने मान्छे कवि हैन, बरु ज्ञानी मुन्छे हो ।’
०००
नगरकोटीका लागि कविता अक्षरहरूको संयोजन मात्रै होइन, एउटा ‘सिजोफ्रेनिक’ यात्रा हो, जहाँ यथार्थ र स्वप्नबीचको रेखा धमिलो हुन्छ । उनका शब्द कहिले पशुपतिका घण्टीजस्ता चञ्चल भइदिन्छन् त कहिले बागमतीको किनारमा जलिरहेको चिताको धुवाँजस्तै दार्शनिक ।
फेरि ‘काव्य–संन्ध्या’ मै पसौं । ‘यदाकदा’ को रिहर्सल २१ दिनदेखि शिल्पी थिएटरमा चलिरहेको छ । पुसको चिसो शनिबार ५ गते नगरकोटीले सूचना दिए- उनको नयाँ कविता ‘बोहेमियन खानाबदोश’ नगरकोटीले शिल्पीको मञ्चमा होइन, आर्यघाटमा रिहर्सल गरेका हुन् । ‘हामीले घाटमा यलम्बर बाजासँग बोहेमियन खानाबदोश गुनगुनायौं, जीवन र मृत्युबीच बसेर’, नगरकोटीले सुनाए, ‘कहिलेकाहीँ कविता सुन्ने मात्रै होइन, मनले गुनगुनाउने पनि हुन्छ ।’ र, आयोजक उत्साहित छ– कविता कन्सर्टको टिकट ईसेवा र थुप्रै डिजिटल प्लेटफर्ममार्फत बिक्री भइरहेको छ ।
‘नगरकोटीको कन्सर्टमा कविता, संगीत र साँझ एक–अर्कासँग छायाजसरी भेटिनेछन् । नगरकोटी कविता भएर उभिनेछन्, अनुप तिमिल्सिना धुन भएर बग्नेछन् र हामीले आफैंलाई भेट्नेछौं,’ यो संगीत, साँझ र छायाको कुराचाहिँ आयोजक संस्थाका मिडिया प्रमुख राजन गोदार सुनाएका । यी गोदारको पवित्र प्रस्ताव छ, ‘आजको जीवन रुटिनमा यति व्यस्त छ कि अस्तित्व नै अस्तव्यस्त बनेको छ । ‘यदाकदा’ यही अस्तव्यस्ततामा एकछिनको टेक्ने ढुंगो हो, अस्तव्यस्त जीवनलाई हल्का टेको हो । यदाकदा भनेको बीच–बीचमा नहुनु हो । बीच–बीचमा मौन हुनु हो । बीच–बीचमा आफैंबाट छुट्टी लिनु हो । कहिल्यै नमेटिने तृष्णाको धपेडीमा कति दौडिने ? अस्तित्वलाई कहिलेसम्म ओभरटाइममा राख्ने ? यो कुनै प्रश्न होइन, बरु एक साँझ कविता र संगीत सँगसँगै बसूँ भन्ने प्रस्ताव हो ।’
नगरकोटीको क्यानभास र शब्दको जादु
कविता विधामा एक इतिहास बन्न गइरहेको साँझ नगरकोटीका औंलाहरूले मार्क्सको घोषणापत्र पढिरहेको कसैलाई काउकुती लगाइदिन सक्छन् वा मार्क्सकै घोषणापत्र ओढेको अर्को कसैलाई कुरीकुरी गर्न पनि सक्छन् । सम्भाव्यताको परिधि नाघेर तपाईंको कान्छीऔंला समाती ती कविता सपनाको बुई चढी पञ्चतत्वमा लीन हुन पनि सक्छन् । खैर, ती कविताको यात्रामा सहयात्री हुन तपाईंले ईसेवामार्फत टिकट काट्नुपर्ने हुन्छ । के थाहा, तपाईंले काटेको टिकटको सिट नगरकोटी सम्मुख पो पर्छ कि !
नगरकोटीका लागि कविता केवल अक्षरहरूको संयोजन होइन, यो त एउटा ‘सिजोफ्रेनिक’ यात्रा हो, जहाँ यथार्थ र स्वप्नबीचको रेखा धमिलो हुन्छ । उनका शब्द कहिले पशुपतिका घण्टीजस्ता चञ्चल भइदिन्छन् त कहिले बागमतीको किनारमा जलिरहेको चिताको धुवाँजस्तै दार्शनिक । ‘कविता संन्ध्या’ को साँझ उनले आफ्ना ती ‘मूत/अमूर्त’ कल्पनाहरूलाई संगीतको लेपन लगाएर दर्शकमाझ पस्कनेछन्, जसले चेतनाको नयाँ ढोका उघार्नेछ ।
शब्दको तन्त्र र संगीतको मन्त्र
कालो र रातो पहिरनमा अक्सर भेटिने नगरकोटी जब मञ्चमा उभिनेछन्, त्यहाँ केवल कविता वाचन हुनेछैन, बरु शब्दहरूको एउटा ‘सिम्फोनी’ बग्नेछ । नगरकोटीका कवितामा केवल शब्द हुँदैनन्, त्यहाँ घाटको मौनता हुन्छ र हुन्छ— स्वैरकल्पनाको एउटा अद्भुत संसार । उनका कविताले कहिले राजनीतिक विसंगतिमाथि तिखो व्यंग्य कस्छन् त कहिले सामाजिक कुरूपतालाई नंग्याउँछन् । तर, यसपटक उनका यी ‘तीक्ष्ण’ शब्दलाई संगीतको सुमधुर जलप लगाइनेछ । त्यसकारण राष्ट्रिय सभागृहमा हुने यस्तो शैलीको यो पहिलो कार्यक्रम हो । हो, यो एक इतिहास ।
फेरि भनौं— यो इतिहास निर्माणमा नगरकोटीको शब्दलाई काँध थाप्न आइपुग्नेछन्, युवा संगीत साधक अनुप तिमिल्सिना । नगरकोटीको लेखनीमा पाइने ‘स्वैरकाल्पनिक सौन्दर्य’ लाई अनुपले ध्वनिको माध्यमबाट एउटा आकार दिनेछन् । जहाँ शब्द सकिन्छन्, त्यहाँबाट अनुपको धुन सुर हुनेछ र जहाँ धुन हराउँछ, त्यहाँबाट नगरकोटीको तन्त्र सुर हुनेछ । त्यसैले यो शब्द र संगीतको संयोजनले तन्त्र र मन्त्र फलाउने साँझ हो ।
कोलाहलभित्रको एउटा ‘पज’
हामी एउटा यस्तो युगमा बाँचिरहेका छौं, जहाँ कोलाहल नै जीवनको पर्याय बनेको छ । बिहानदेखि बेलुकीसम्मको दौडधुप, प्रविधिको दासता र मानसिक थकान । ‘यदाकदा’ ले दर्शक र श्रोतालाई त्यही कोलाहलबाट केही क्षणका लागि ‘विश्राम’ दिने उद्देश्य राखेको छ । नगरकोटीको वाचन र अनुप तिमिल्सिनाको संगीत संयोजनले राष्ट्रिय सभागृहलाई एउटा यस्तो ध्यानकेन्द्रमा बदल्नेछ, जहाँ तपाईंले पराकाया प्रवेशको अनुभूति गर्नुहुनेछ । थाकेको, दौडिएको र पिल्सिएको जिन्दगीलाई एउटा ‘पज’ आवश्यक पनि त छ । त्यो ‘पज’ भने बडा गतिशील हुन सक्छ ।
यो पजभित्र तपाईंले आफ्नै श्वासको लय सुन्नुहुनेछ । तपाईंले बिर्सिसकेको बाल्यकालको कुनै एउटा धमिलो याद वा भविष्यको कुनै एउटा अनौठो डर नगरकोटीको गलाबाट निस्कने ‘मेटालिक’ आवाजसँगै ठोक्किएर तपाईंको अगाडि आउन सक्छ । यो केवल कार्यक्रम होइन, यो त आफैभित्रको एउटा गहिरो ‘मेडिटेसन’ हो ।
लेखनको स्वाभिमान र पाठकको प्रेम
यो एउटा कार्यक्रम मात्रै होइन, बरु एउटा गम्भीर प्रश्न हो । नेपाली समाजमा अझै पनि एउटा भ्रम छ— ‘लेखेर मात्र बाँच्न सकिँदैन ।’ किन सकिँदैन ? नेपाली भाषीमाथिको यो प्रश्न हो । एउटा लेखक आफ्नो सिर्जनाकै बलमा भव्य मञ्चमा स्वाभिमानका साथ उभिन्छ र चिया पिलाएर कविता सुनाउने समाजमा उसलाई सुन्न टिकट काटेर साहित्यानुरागी उपस्थित हुन्छन् । यो आफैमा अद्भुत विषय हो ।
साथै, यो कार्यक्रम नेपाली पाठकका लागि एउटा परीक्षा पनि हो । हामीले हाम्रै भाषा–साहित्यलाई कति प्रेम गर्छौं ? के हामी हाम्रा सर्जकका सिर्जनालाई उत्सवका रूपमा मनाउन तयार छौं ? हाम्रा सर्जकका सिर्जना कहिल्यै संस्कृति बन्लान् ? डिसेम्बर २५ (पुस १०) को साँझले यी प्रश्नहरूको उत्तर दिनेछ । यी कार्यक्रमका आयोजकमध्ये एक राजन गोदारको विचार हुन् ।
संगीतको सिम्फोनी र शिशिरका कविता
त्यो साँझ समयको एउटा हिस्सा मात्रै हुनेछैन, बरु एउटा ‘ध्वनि–उत्सव’ हुनेछ । विश्व सिनेमाका अनौठा र मसिना आयामका पारखी नगरकोटीको मानसपटलमा एउटा सिनेमाले गहिरो छाप छोडेको छ— ‘साउन्ड अफ नोइज’, जहाँ अस्पतालका स्टेथेस्कोपदेखि बैंकका नोटका छनछनाहटसम्मले एउटा अर्ग्यानिक धुनको सृष्टि गर्छन्, जहाँ बिजुलीको नांगो तारमा दौडिरहेको करेन्टले पनि एउटा अनौठो ताल पिट्छ । ठ्याक्कै त्यही प्रयोगवादी र विद्रोही चेतलाई आत्मसात गर्दै युवा सगीतकर्मी अनुप तिमिल्सिना त्यो साँझ संगीत भर्नेछन् ।
अनुपले पस्कने संगीत कुनै परम्परागत राग वा प्रचलित ढर्राको बन्दी हुनेछैन । त्यहाँ हार्मोनियमको शास्त्रीय गाम्भीर्यभन्दा बढी जीवनका कच्चा आवाजको छनछनाहट हुनेछ । जब उनले ‘यदाकदा’ को मञ्चमा ध्वनिका नयाँ रङ भर्नेछन्, तब दर्शकले सुन्नेछन्– शून्यताभित्रको संगीत र कोलाहलभित्रको लय । त्यो साँझ संगीत र कविता एकअर्काका आगालोमा नृत्य गर्नेछन् ।
संगीत जब कानबाट छिरेर आत्मासम्म पुग्छ, तब त्यो केवल ध्वनि रहँदैन, त्यो त कविता बन्छ । त्यसैले अनुपको त्यो सांगीतिक प्रयोग वास्तवमा शब्दविहीन कविताको एउटा संग्रह हुनेछ । नगरकोटीका कल्पना जस्तै अमूर्त, तर भावनामा निकै सग्लो । त्यो ‘यदाकदा’ को साँझले हामीलाई सिकाउनेछ— संगीत हाम्रै वरिपरि छ, मात्र हामीले सुन्न बिर्सेका छौं । त्यो साँझको हरेक धुन आफैमा एउटा पूर्ण कविता हुनेछ ।
उपसंहार
नगरकोटीलाई त्यो कार्यक्रमको रिहर्सल घाटमा गर्न मन थियो । उनलाई लाग्छ, जीवनको सबैभन्दा ठूलो सत्य र सबैभन्दा गहिरो मौनता घाटमै भेटिन्छ । त्यसैले घाटको शान्तिलाई सहरको बीचमा ल्याएर, एस्प्रेसोको कडापनमा कविताको मिठास घोलेर नगरकोटीले काठमाडौंलाई एउटा नयाँ ‘अनुभव’ पस्किँदै छन् ।
डिसेम्बर २५ को ‘काव्य’ साँझ, जब क्यालेन्डर हेर्दा तपाईंले क्रिसमस लेखिएको पाउनुहुनेछ, राष्ट्रिय सभागृहमा भने शब्द र ध्वनिको एउटा अर्को ‘पवित्र’ उत्सव मनाइनेछ । यदि तपाईं पनि शब्दहरूको त्यो जादुमयी र स्वैरकल्पनावादी संसारमा डुब्न चाहनुहुन्छ भने, ‘यदाकदा’ सांगीतिक साँझ तपाईंको प्रतीक्षामा छ । त्यो साँझ सभागृहमा कविता वाचन मात्रै हुनेछैन, शब्दले संगीतको पखेटा लगाएर उड्नेछन् र दर्शकको हृदयमा सायद एउटा नमेटिने ‘फिंगरप्रिन्ट’ छाडेर जानेछन् । कविताका फिंगरप्रिन्ट । अझ भन्दा फ्रोजन कविताका फिंगरप्रिन्ट ।
