विचार-विद्रोहमा प्रेम याचना 

प्रेमको स्वरूपमा लेखिएका जीवन दर्शनले भरिएका यी गतिला कविताले जिन्दगीको उत्तरार्द्धतर्फ उन्मुख व्यक्तिलाई मात्र होइन हर उमेर समूहका पाठकलाई गम्भीर बनाउँछ ।

कार्तिक १६, २०८२

मणि लोहनी

Begging for love in a rebellion of thought

मेरा लागि प्रेम बडो मायावी विषय हो । निकै चासो र रहरको विषय । ‘परास्त प्रेम’ लेख्दा होस् या ‘मलामी साँझ’ को तयारी गर्दा मैले प्रेम र सम्बन्धलाई आधारभूमि बनाएँ ।  

प्रेम के हो ? यो प्रश्न सदिऔंदेखि नै अनुत्तरित छ । कसैले पनि नबुझेको र सबैको रहर भएको विषय हो– प्रेम । जसरी अमूर्त चित्रकला हेरेपछि प्रत्येकले आ–आफ्नै परिभाषा दिन्छन्, त्यस्तै भिन्नभिन्न अनुभूतिमा प्रेम जीवित छ । मलाई थाहा छ, प्रेम स्वयंमा त्यो ऊर्जा हो, जो एक व्यक्तिको इच्छामा न सिर्जना गर्न सकिन्छ, न नष्ट नै । तर प्रेमको यो ऊर्जा एक मुटुदेखि अर्को मुटुसम्म प्रसारचाहिँ गर्न सकिन्छ ।

त्यसैले मानव–प्रेम बडो जटिल र रहस्यमय अनुभूतिको विषय हो । र मेरो लेखनको प्रिय खुराक । प्रेम निकै शक्तिशाली हुन्छ । त्यही भएर त गालिबले ‘आतिस’, तोल्सतोयले ‘अन्ना कारेनिना’, विलियम गोल्डम्यानले ‘द प्रिन्सेस ब्राइड’ अनि शेक्सपियरले ‘रोमियो–जुलियट’ लेखे । 

विज्ञानअनुसार, जतिखेर हामी आत्मीय र प्रिय मानिसको वरिपरि हुन्छौं, हाम्रो मस्तिष्क स्नायुबाट ‘डोपामिन’ र ‘नोरइपिनेफ्रिन’ नामक हर्मोन उत्पादन भइरहेको हुन्छ । ती हर्मोनहरूले मानिसमा आनन्द, स्नायु उत्तेजना अनि उत्साहको भावना निम्त्याउँछ । त्यही क्षण त्यहाँ ‘सेरोटोनिन’ (खुसीको अनुभूति दिलाउने हर्मोन) प्रवाह हुन्छ र त्यसले मोह भावनालाई सक्रिय बनाउँछ ।

मेरो कवि साथी ठाकुर बेलवासे अहिले त्यही क्षण अर्थात् सेरोटोनिन हर्मोन प्रवाहको अवस्थामा छन् । र त उनले लेखे– चोटहरुको उत्सव । प्रेममा मात्र सम्भव छ— दुःख र चोटलाई उत्सवजसरी मनाउन । र, आनन्द लिन । 

ठाकुरका कवितामाथि मेरो टिप्पणी या प्रतिक्रिया सहज विषय होइन । म उनको कविता कर्मको साक्षी र सहयात्री दुवै हुँ । त्यसो त  धेरैलाई लाग्न सक्छ– इमानदार भएर के लेख्न सक्लान् र मणिले, ठाकुर र उनका कविताका बारेमा ? सामान्य अर्थमा हेर्ने हो भने यो आंशका गलत होइन । ठाकुर मेरो साथी जो परे । 

पछिल्लो तीस वर्षदेखि कवि ठाकुर र म सँगै छौं । एक साथ कविता लेखिरहेछौं । कवितासम्बन्धी विभिन्न काम सँगै गरिरहेका छौं । हाम्रो मित्रताको बीस वर्षको अवसर पारेर हामीले ‘हामी’ नाम दिएर दुई कविको संयुक्त कविता वाचनको सभा नै गर्‍यौं । पछि त्यसलाई सर्वनाम र लुनकरणदास साहित्य कलामन्दिरले मासिक रुपमा नियमित ‘हामी’ नाम दिएर कविता वाचनको शृंखला नै चलायो । साहित्यिक वृत्तमा हामी दुईको मित्रताको अनेक चर्चा र किस्साहरु चलिरहन्छन् । 

विज्ञानका निम्ति प्रेम ‘सेरोटोनिन’ (खुसीको अनुभूति दिलाउने हर्मोन), ‘टेस्टोस्टेरोन’, ‘डोपामिन’ (आनन्द अनुभूति दिलाउने हर्मोन), नोरइपिनेफ्रिन हर्मोनको चलखेल हो । र, जिन्दगीका निम्ति सिंगो समाजलाई सद्भावले समेट्न प्रेम अनिवार्य छ । हुन पनि प्रेममा हुनु भनेको मानिसका निम्ति प्रकृतिमा जीवित रहने प्रमुख बाटोलाई पछ्याउनु हो । 

‘चोटहरुको उत्सव’ भित्रका अधिकांश कविता प्रेम र जीवनका पेरिफेरीमै घुमेका छन् । कविताहरूमा ‘तिमी’ मुख्य पात्र भएर ‘म’चाहिँ सहायक पात्र भएको भेटिन्छ । यहाँ भएका कविताहरूले एउटा विशाल आख्यानको आभास दिन्छ । लाग्छ,  ‘तिमी’ भन्ने प्रेमको ठूलो पहाड हो र त्यही पहाड वरिपरि घुमेर म पात्रले अनेकन अनुभूति गरिरहेछ । सँगसँगै पाठकलाई पनि घुमाइरहेछ प्रेमको विशाल पहाड ।

सुरुमा नै के भनिहालौं भने चोटहरुको उत्सव ठाकुरका प्रेम कविताहरुको संग्रह हो । यसअघि उनका तीन कृति प्रकाशित छन्– सागरको वरिपरि मनहरुको समारोह, त्रासमा ईश्वर, अचानक यो साँझ । यो भने विशुद्ध प्रेम कविताहरुको किताब हो । 

प्रेम कविता लेख्नु भनेको जोखिम मोल्नु नै हो । त्यसमा पनि समसामयिक राजनीतिमाथि व्यंग गर्न खप्पिस कवि जो ईश्वरसाग पटकपटक मान्छेका पक्षमा वकालत गरिरहेका छन् । उनले प्रेम कविताको छुट्टै किताब तयार पार्नु ठूलै कुरा हो । त्यसो त पूर्ववत् विचारको विद्रोह यसमा नभएको होइन । प्रेमका विविध अनुहार उजिल्याउन उद्यत कविले विद्रोही स्वभावलाई गुमाएका छैनन् । 

कवि ठाकुर मलाई अक्सर भन्छन्- ‘प्रेम र सम्बन्धका मामिलामा तँ माहिर छस् ।’ 

म हाँसेर टारिदिन्छु । त्यसो त मानिससँगका सम्वन्धलाई लामो समय जोगाइराख्न उनी कम खप्पिस छैनन् । जनसम्पर्ककै कुरा गर्ने हो भने मेरो भन्दा चौब्बर बढी उनका साथी र शुभचिन्तक छन् । उनी सेलिब्रिटी नै हुन् । एक समय उनको फ्यान क्लब नै खुलेको थियो । ठाकुरको फोटो छापिएको टिसर्ट लगाएर मानिसहरुले बानेश्वरमा जुलुस निकाल्दा छेउमै उभिएर म निकै रमाएको थिएँ । 

ठाकुरको कविताकर्म मलाई मन पर्छ । पचास सालभन्दा अघि लेखककविलाई आम मानिसबीच परिचित बनाउन पोस्टर र पोस्टकार्ड छापेर विद्यालय र पुस्तकालयमा लगेर ठाकुरले जुन काम गरे । त्यो साहित्यको श्रीवृद्धिमा निकै लगनका साथ गरिएको काम हो ।   

मेरो लेखनको ठाकुर असल प्रशंसक र शुभचिन्तक हुन् । मेरा कथा-कविता दुवैलाई उनले खुब परख गर्छन् । म उनको कविताको फ्यान नै हुँ । भयंकर र डरलाग्दा शब्दमा उनी जीवनका सत्य र दर्शन प्रस्तुत गर्छन् । अझ कवितामाथिको उनको समर्पण र नयाँ शिल्पका कविताका कारण म लोभिएको छु । मैले उनका कवितामाथि प्रकाशनअघि गरेका टिप्पणीहरुलाई ठाकुरले सहर्ष स्वीकार्ने गरेका छन् । हामीले हरेक किताब निकाल्नुअघि एकअर्काका प्रतिक्रिया लिने गरेका छौं । 

रमाइलो त के भने साहित्यिक वृत्तमा जति हाम्रो मित्रताको चर्चा हुन्छ हामी त्यति नै एकअर्काका आलोचक हौं । म कति ठाउँमा सच्चिएको छु भने ठाकुरकै कारण हो । ठाकुर धेरै ठाउँमा असल बन्दै हिँडेका छन् भने मेरै सल्लाह र सुझावले हो । हामी दुई एकअर्काको असल आलोचक छौं र आफ्ना गल्तीहरुलाई सच्याउँदै हिँड्न पाएका छौं । सानो भाग्यले यस्तो मिल्दैन । 

कविता लेखनमा चाहिँ हामी दुवै एकसाथ सहभागी छौं । एउटै समयमा सँगै कविता लेख्नु । सँगै चर्चामा रहनु । र सँगै अघि बढ्नु चानचुने कुरा होइन । एउटै उमेरसमूहको हुनु र उही समयमा कविता लेख्नुका कारण हामी दुईबीच नपत्याउँदो किसिमले प्रतिस्पर्धा छ पनि । तर मैले उनलाई जित्नुछैन । उनी ममाथि विजय खोज्दैनन् । एकअर्काको सफलतामा हामी आफू स्वयंभन्दा बढी खुसी हुन्छौं ।

उनको र मेरो कविता लेखनको शैली फरक छ । एकअर्कालाई ‘रोस्ट’ गर्नुपर्‍यो भने हामी निकै हौसिन्छौं । तर एकअर्काको सम्मानका खातिर जो कोहीसँग भिड्न पनि रोकिँदैनौं । मेरो अघि ठाकुरको र ठाकुरको अघि मेरो अपमान जो कोहीले गरे पनि हामी सहँदैनौं । तत्काल प्रतिवाद गरिहाल्छौं । मैले सुरुमै भनेँ, ठाकुर र मेरो मित्रताका अनेक किस्सा छन् । पछि कुनै सन्दर्भमा लेखौंला । अहिले भने कवि ठाकुरको नयाँ किताब चोटहरुको उत्सवमाथि लेख्नेछु । 

दस वर्षअघि छापिने तयारी भएको यो किताव भर्खरै बजारमा आएको छ । त्यति नै खेर छापिएको भए यस किताबको नाम ‘सपना कार्की म खुसी छु’ हुन्थ्यो । त्यसताका ठाकुर प्रेमका अनियमिततामा अलमलिएका थिए । प्रेमका आकर्षण-विकर्षणले ग्रस्त तर सम्बल भएर अघि बढ्नुपर्ने उनको करिअर । पचास वर्षको हाराहारीमा आएर लेखिएका प्रेमकविताले बोक्ने दर्शन र लिने आयतन कमजोर हुन सक्दैन तर पाठकले त्यसलाई ग्रहण गर्ने विषयमा भने हामी कठोर बन्नैपर्छ । 

यसमा केही गतिला कविता छन् । प्रेमको स्वरुपमा लेखिएका जीवन दर्शनले भरिएका ती गतिला कविताले जिन्दगीको उत्तरार्द्धतर्फ उन्मुख व्यक्तिलाई मात्र होइन हर उमेर समूहका पाठकलाई गम्भीर बनाउँछ । 

दुःखको बेला सबैलाई यस्तै हुन्छ 

जस्तो तिमीलाई भएको छ 

दुःखमा सुकेको पातले पनि लखेट्छ

आफ्नै अनुहारले आफैलाई विश्वास गर्दैन 

(आफ्नो मान्छे, पृ.२९)

त्यसो त यही किताबमा छ ‘मैले तिमीलाई प्रेम गरेको प्रमाणित गर्नु छ’ भन्ने कविता । जसमा कविले भौतिक सुखसयलका हर वस्तु खरिदका लागि आग्रह गर्छन् र आफूले माया गरेको दाबी गर्दै विश्वास जित्न चाहन्छन् । तर यहाँनेर यी अनुभवी कविले के बिर्सिन्छन् भने मायाका लागि भौतिक वस्तु होइन, मनको आनन्द नै काफी छ । र त्यो बाहिरी वस्तुबाट मिल्दैन । 

प्रियतमा 

तिम्रा आवश्यकताहरु अरु सम्झ

मैले तिमीलाई प्रेम गरेको प्रमाणित गर्नुछ

अनि हिँड्नुछ 

प्रेमको विराट रुप खोज्न । 

उनले नबुझेकै त कसरी भन्नु ? बरु मलाई के लाग्छ भने कवि ठाकुरले प्रेमका नाममा बढ्दै गएको भौतिक सुखसयलको चाहना र त्यसमा व्याप्त बेथितिमाथि पो लेखेका हुन् कि ! अथवा साँच्चिकै कवि प्रेमको विराट् स्वरुप पो खोजिरहेका छन् कि ! 

ठाकुर समकालीन नेपाली कविता लेखनमा अब्बल कविका रुपमा परिचित छन् । उनी पाठकको अन्तरमन छुन कवितामार्फत तिखो प्रहार गर्दछन् । मन उद्वेलित बनाउँछन् । शरीर झंकृत गराउँछन् । जिन्दगी बाँच्ने क्रममा के भोग्दैन मान्छेले ? आफैले देखेका सपनाहरूमा मान्छे एक्लो बन्छ । कति सपना र चाहनाले उदासी थप्छ । जिन्दगी बोझिल बनाउँछ । जिन्दगीमा आफ्नैहरुबाट आउँछ दुःख र पीडा । हजार अभावका बीच आफ्नै आत्मविश्वासमा जसरी अगाडि बढिन्छ, त्यसबेला प्राप्त खुसी नै बेग्लै । रमाइलो त के भने मेरो सिर्जनामाथि पनि मित्रकविले कविता लेखेका छन् । 

‘स्वास्नीमान्छेहरु 

सम्बन्धका पाठशाला हुन्’

कवि मणि लोहनीले 

यो उद्घोष गरेका दिन 

म पहिलो पटक तिम्रो ढोकामा थिएँ 

(सम्बन्धका पाठशाला, पृ. ४२)

ठाकुरका कविताले मानव विश्वासका लागि प्रेमको शक्तिलाई सर्वथा माथि राखेका छन् । ‘चोटहरूको उत्सव’ मा ३८ कविता छन् । कविताभित्र स्नेहका गुम्फन छन् । गरिबीले थलिएको भुइँमान्छेको प्रेम पनि उनले छाडेका छैनन् । यी कविताहरूमा प्रेमका चोट वा स्नेहका चोट प्रशस्त उतारिएका छन् ।

कविताप्रतिको प्रेमले ‘चोटहरुको उत्सव’माथि यति लेखेँ । तर मलाई के थाहा छ भने सबै पाठक मजस्ता सहज हुन्नन् । र उनीहरुले प्रेमको विविधतामाथि कविको एकतर्फी बुझाइ र एउटै किताबभित्रका कवितामा बाझिएका विचार र उक्तिबारे पटकपटक प्रश्न गर्न सक्नेछन् ।

मणि लोहनी

Link copied successfully