खप्तड : अनुपम भूदृश्य

असार–साउनमा भुइँफूलको रंगीचंगीले यहााका मैदानहरू बुट्टेदार तन्ना ओछ्याएजस्ता हुन्छन् । जाडोयाममा हिउाको सेतो बर्को ओढेको खप्तडको स्वरूप स्वप्निल लाग्छ ।

कार्तिक १५, २०८२

वसन्तप्रताप सिंह

Khaptad: A unique landscape

जागिरका सिलसिलामा पपुवा न्युगिनीमा बस्दै आएकी भैरहवाकी नम्रता बोगटी र उनका श्रीमान् मिलन खड्का असोज अन्तिम साता खप्तड पुगे । पहिलो पटक खप्तड हिँडेकी नम्रतालाई लेकको बाटो हिँडेर जान गाह्रो हुन्छ होला भन्ने लागेको रहेछ । ‘तर शान्त ठाउँ, जंगलको बाटोमा चराहरूका गीत सुन्दै, हिमालका लहरहरू हेर्दै खप्तड पुगेको थाहै भएन,’ उनले भनिन् ।

हरियाली पाटनको विशालता, शरीरमा चिसो हावाको स्पर्स र फूलैफूलको सुगन्ध एकै पटक महसुस गरेको क्षणलाई शब्दले व्यक्त गर्न नसकिने नम्रता बताउँछिन् । ‘केही घण्टाको उकालो बाटो छिचोलेर पाटन पुग्दा शरीर र मन एकै पटक रिफ्रेस भएको महसुस गरें । त्यहाँको वातावरणमा आफैं हराएजस्तो, मीठो शान्तिको अनुभव कसरी व्याख्या गर्ने ?’ उनले भनिन्, ‘कामको तनाव, भीडभाड र दौडधुपको जिन्दगीलाई पुनर्ताजगी दिन वर्षमा एक पटक पुग्नै पर्ने ठाउँ रहेछ खप्तड ।’

दसैंतिहारको छेको पारेर घुम्न आएका नम्रता दम्पती जस्तै थुप्रै पदयात्री, पर्यटक र तीर्थयात्री शान्ति, ध्यान, आनन्द र मौनता खोज्दै वर्षभरि नै खप्तड आइरहेका हुन्छन् । कोही भूस्वर्गको नामले प्रख्यात खप्तडका पाटन, झोती, घाँसे मैदान र बोटबिरुवाको सौन्दर्यसँग उमंग साट्न आइपुग्छन् । कोही मृग, कालिज, डाँफेजस्ता चराचुरुंगी र जंगली जनावरले स्वच्छन्द रूपमा गर्ने क्रीडा हेरेर उत्साहित हुन्छन् । कोही यहाँका रंगीचंगी फूल, जडीबुटी र जैविक विविधताको अध्ययन गर्न आइपुग्छन् त कोही धार्मिक आस्था र आध्यात्मिक आनन्दको खोजीमा । उनीहरू खप्तडको दिव्यताअघि नतमस्तक नभई फर्किंदैनन् ।

फागुनदेखि असोजसम्म फूलैफूलले सजिएका गलैंचाजस्ता खप्तडका फराकिला पाटन (घाँसे मैदान) मा बसेर आँखै अगाडि टल्किने सेताम्मे हिमशृंखलाको दृश्यपान गर्न पाइन्छ । मौसम सफा भएका बेला यहाँबाट अपी, सैपाल, राक्सेलगायतका हिमशृंखला देखिन्छन् । खप्तडबाट बडिमालिका क्षेत्रको पनि दर्शन गर्न सकिन्छ ।

Khaptad: A unique landscape

वर्षायाममा यहाँको अस्थिर मौसम, घाम र कुहिरोको लुकामारी अनि पाटनभरि चरिरहेका सयौं घोडाको उछलकुद हेर्नलायक हुन्छ । यहाँबाट थरीथरीका जंगली जनावरहरू देख्न सकिन्छ । राष्ट्रिय निकुञ्जका अनुसार, यहाँ ३८२ प्रजातिका वनस्पति, २८७ प्रजातिका पन्छी, २३ प्रजातिका स्तनधारी, १७ सरिसृप र ६ प्रजातिका उभयचर पाइन्छन् । कस्तूरी मृग, भालु, बँदेल, चितुवा, ब्वाँसो, कालो भालुजस्ता जनावर यहाँ संरक्षित छन् ।

बझाङ, बाजुरा, डोटी र अछामको संगम स्थलका रूपमा रहेको खप्तड पुग्ने पदमार्गको यात्रा रोमाञ्चक हुन्छ । हरियाली वातावरणसँग एकाकार हुँदै खप्तड उक्लिनुको मजा नै बेग्लै हुन्छ । फूल फुल्ने मौसममा बाटैभरि रंगीचंगी दृश्य देखिन्छन् । खप्तड प्रवेश गर्नुअघि भेटिने गाउँमा मौलिक वास्तुकलाको संयोजनसहित ढुंगाका छाना भएका घरहरू, खेतबारीमा मेलापातमा व्यस्त किसान र गोठालाहरूको दृश्यले ग्रामीण जनजीवनको अनुभूत गराउँछन् ।Khaptad: A unique landscape

सुदूरपश्चिमको मुख्य पर्यटकीय गन्तव्य रहेको खप्तड जसरी प्रकृतिले भरिपूर्ण छ, यसबारेका मिथक पनि उति नै चाखलाग्दा र रमाइला छन् । खप्तडसँग जोडिएका अनगिन्ती लोककथा र पौराणिक मिथकहरूले यस ठाउँलाई आस्थाको केन्द्र बनाएका छन् । स्कन्दपुराणमा खप्तडलाई ‘खेचराद्री’ पर्वत भनिएको छ । यस क्षेत्रमा देवीदेवता र सिद्धहरूले गगनचरीको भेष धारण गरी रमण गर्ने गरेको विभिन्न पौराणिक र वैदिक ग्रन्थहरूमा उल्लेख छ । परापूर्व कालमा बाटो बिराएर जंगलमा हराएका गोठालाहरूलाई मानवका रूपमा आएका देवीहरूले उद्धार गरेको, अप्सराहरूको समूह पाटनमा रमाउँदै गरेको दृश्य देखेको लगायत खप्तडसँग जोडिएका थुप्रै मिथक र किंवदन्ती छन् ।

प्रचलित किंवदन्तीअनुसार कुरु क्षेत्रको युद्धपछि वंश हत्याको पापमोचनका लागि भगवान् शिवको दर्शन गर्न पाण्डवहरू खप्तड पुगेका थिए । राँगाको भेष धारण गरी सयौं भैंसी र राँगाका बथानमा खप्तडमा वन विहार गरिरहेका शिव को हुन् भनेर चिन्न उनीहरूलाई मुस्किल पर्‍यो । नारदमुनिको सल्लाहअनुसार खप्तडको केदारढुंगा नजिकै राँगाभैंसी हिँड्ने गल्छी जस्तो बाटोलाई टाङ मुनि पारेर भीम उभिन्छन् । बथानका धेरै राँगा र भैंसी उनको टाङमुनिबाट छिरेर गए पनि राँगाको भेषमा भएका शिव फरक्क फर्किएर भाग्न खोज्दै गर्दा भीमले उनको सिङ समात्छन् । आफूलाई चिनेको थाहा पाएर शिव त्यहाँबाट अलप भई भारतको केदारनाथ पुगेको र भीमको हातमा सिङ मात्रै बाँकी रहेको किंवदन्ती छ । त्यही सिङ नै केदारढुंगाका रूपमा रहेको जनविश्वासका आधारमा विशाल पाटनको बीचमा अवस्थित अनौठो आकृतिको ढुंगाको पूजा गर्ने चलन छ ।

Khaptad: A unique landscape

खप्तडमा परापूर्वकालमा भारतको गुजरातबाट समेत गोठालाहरूले भैंसी चराउन ल्याउने गरेको अर्को किंवदन्ती पनि अनौठो खालको छ । प्रत्येक बर्खायाममा गुजरातबाट आउने गोठालाहरूलाई गुजर भनिन्थ्यो । उनीहरूका भैंसीलाई गुजरी । किंवदन्तीअनुसार कुनै एक बर्खामा यहाँका बासिन्दाले गुजरको एउटा भैंसी चोरेर लुकाएपछि गुजरातका गोठालाहरू भैंसी लिएर आउन छोडे । अहिले बझाङलगायत सुदूरपश्चिमका पहाडी जिल्लामा पाइने ठूलो शरीर भएका दुधालु गुजरी जातका भैंसी त्यहीँ लुकाएको भैंसीबाट फैलिएको विश्वाससमेत गरिन्छ ।

खप्तडलाई स्थानीयले देवभूमिका रूपमा सम्मान गर्छन् । हिन्दु धर्मावलम्बीका लागि यो क्षेत्र पवित्र तीर्थ हो । यहाँको त्रिवेणी धाममा गंगा, यमुना र सरस्वती नदीको संगमस्थल छ । प्रत्येक वर्ष गंगा दशहरामा यहाँ ठूलो मेला लाग्छ । हजारौं तीर्थयात्री स्नान गर्न, पूजा गर्न र मोक्षको कामना गर्न खप्तड पुग्ने गर्छन् ।

Khaptad: A unique landscape

समुद्री सतहबाट करिब १२ हजार फिट उचाइमा रहेको खप्तड सहस्रलिंग धार्मिक आस्था राख्नेहरूको अर्को केन्द्र हो । तीन चुचुरो भएको विशालकाय ढुंगा, जसलाई भगवान् शिव, पार्वती र गणेशको प्रतीकका रूपमा पुज्ने गरिन्छ । वरिपरि शिवलिंग आकारका सयौं ढुंगा रहेकाले यस ठाउँको नाम सहस्रलिंग रहेको हो । विभिन्न धार्मिक ग्रन्थहरूमा यसको महत्त्व काशी विश्वनाथ जत्तिकै रहेको उल्लेख छ ।

पाँच दशकसम्म खप्तडलाई तपस्थली बनाएका प्राकृतिक चिकित्सा र अध्यात्मका साधक खप्तड बाबाका कृति, उनले यस क्षेत्रमा गरेका गतिविधि उनको दीर्घ जीवनको रहस्य जस्ता विषयले खप्तडको महिमालाई अर्को उचाइमा पुर्‍याएको छ । लामो समय एलोपेथिक चिकित्सक रहेका खप्तड बाबाले यस स्थानलाई आयुर्वेद, योग र ध्यानको थलो बनाएका थिए । यही क्रममा उनले जीवनका पाँच दशक बिताएका थिए । उनले यही अलौकिक थलोमा ११६ वर्षको उमेरमा देह त्याग गरेका थिए । खप्तड बाबाको औसतभन्दा लामो आयुलाई लिएर स्थानीयले खप्तडलाई प्राकृतिक चिकित्सालयका रूपमा विश्वाससमेत गर्छन् । खप्तड बाबाको सेवामा लामो समय बिताएका बझाङ खप्तड छान्नाका बल रावल भन्छन्, ‘खप्तड बाबा भन्नुहुन्थ्यो कि मानव शरीरको उपचार जडीबुटीले मात्रै होइन, प्रकृतिको प्रेमले पनि हुन्छ । खप्तड बाबाको दीर्घ जीवनको रहस्य सायद प्रकृतिप्रतिको प्रेम अनि यहाँको स्वच्छ वातावरण पो हो कि ?’

खप्तड बाबाले यहीं बसेर विचार विज्ञान, स्वास्थ्य विज्ञान, धर्म विज्ञान, म र मेरो कर्तव्य, नारी धर्म र पुरुष धर्मजस्ता दार्शनिक पुस्तकहरू लेखेका थिए । बाबाले ‘सञ्जीवनी बुटी’ फेला पारेको स्थानीयको विश्वास छ । उनका बारेमा थुप्रै मिथक र सिद्धि प्रदर्शन गरेका कथाहरू यस क्षेत्रमा छन् । निगालोको डाँठ खुट्टामा बिझेर घाइते भएको बाघ बाबाले तपस्या गर्दै गरेको ठाउँमा आएको, बाबाले त्यो झिकेर बाघको खुट्टामा औषधि लगाइदिएको, त्यस घटनाको केही महिनापछि बाबा घाममा सुतेका बेला उक्त बाघ आएर बाबाको खुट्टा चाटेको यहाँका बासिन्दा सुनाउँछन् ।

अनुपम भूदृश्य, दुर्लभ पर्यावरण भएको खप्तड सांस्कृतिक थलोसमेत हो । यहाँ खप्तड बाबाको कुटी, केदारढुंगा, माईकाथान, नागढुंगा र खापर दह छन् । यी सबै यहाँका पर्यटकीय र सांस्कृतिक सम्पदा हुन् । यी स्थानमा धर्म, संस्कृति, मिथक र जनविश्वास मिसिएका छन् ।

खप्तडको अर्को आकर्षण खप्तड दह छ, जसको उद्गम र निकास आजसम्म पत्ता लागेको छैन । हरेक मौसममा दुई रङको हुने यहाँको पानी पनि रहस्यमयी छ । आधा दह सेतो र पारदर्शी, आधा धमिलो र खैरो देखिन्छ । यसै दहको उत्तरपट्टि तेह्रौं शताब्दीमा बनेको जगन्नाथ मन्दिर छ । यस मन्दिरका पुजारी सार्की जातिका हुन्छन् । अहिले पनि जातकै आधारमा छोइछिटोको चलन रहेकामा यहाँको मन्दिरमा सार्की जातिका पुजारी हुनुले खप्तड एउटा धार्मिक सहिष्णुताको थलोसमेत बन्न पुगेको देखाउँछ ।

अहिले पर्यटनको केन्द्र बनेको खप्तडका पाटनहरूमा चार दशक अघिसम्म बर्सातमा गोठाला र गाईबस्तु मात्रै हुन्थे भने अरू बेला फाट्टफुट्ट सिकारी भेटिन्थे । अहिले अवस्था बदलिएको छ । बाह्रैमास खप्तड घुम्न देश/विदेशका मानिस यहाँ आउने गर्छन् । खप्तडको फेदी लोखाडामा बस्ने ८२ वर्षीय जय रावल भन्छन्, ‘पहिला हाम्रो भैंसी खर्क थियो । अहिले यहाँ संसारका मान्छे आउँछन् । फोटो खिच्छन् । खप्तडले हामीलाई पनि चिनाएको छ ।’

रावलले खप्तड विश्वलाई चिनाउन खप्तड स्वामीको ठूलो योगदान रहेको बताए । खप्तड स्वामीको पहलमा २०४२ सालमा खप्तड राष्ट्रिय निकुञ्ज स्थापना भएको थियो । स्वामीलाई भेट्न देशका विभिन्न ठाउँबाट खप्तड आउनेहरूले यस क्षेत्रलाई प्रचारमा ल्याएको उनले बताए ।

अहिले खप्तड धार्मिक र आध्यात्मिक क्षेत्रमा आस्थावान मात्रै नभएर, देश/विदेशका विद्यार्थी, साहित्यकार, कलाकार, पत्रकार, विभिन्न पेसा व्यवसायमा संलग्नहरूको एक पटक घुम्नै पर्ने गन्तव्यको सूचीमा खप्तड पर्ने गरेको छ । चार–पाँच वर्षका बालबालिकादेखि ९५ वर्षसम्मका वृद्धवृद्धा पनि खप्तड घुम्न आउने गरेको स्थानीय बताउँछन् ।

खप्तडमा पर्यटकको आवतजावतले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन टेवा पुर्‍याएको छ । यहाँका उत्पादनहरूले बजारसमेत पाएका छन् । खप्तड वरिपरिका गाउँमा रहेका होमस्टेहरूले रैथाने परिकारको स्वादबाट पर्यटकको स्वागत गर्छन् । कोही पथप्रदर्शक भएर र घोडा सवार गराएर केही हदसम्म स्वरोजगार भएका छन् ।

खप्तड राष्ट्रिय निकुञ्जका अनुसार खप्तड घुम्न फागुनदेखि कात्तिकसम्म पर्यटक आउँछन् । यसरी आउनेहरू अधिकांश आन्तरिक पर्यटक हुन्छन् । आर्थिक वर्ष २०८१/०८२ मा २ हजार ८ सय १० पर्यटक खप्तड पुगेको निकुञ्जको तथ्यांकले देखाउँछ । जसमा भारत, जापान, युरोप र अमेरिकालगायत देशका ४० जना छन् । गंगा दशहरा र जनैपूर्णिमाजस्ता पर्वको अवसरमा भने सयौंको संख्यामा पर्यटक पुग्ने गर्छन् । यसको रेकर्ड निकुञ्जसँग हुँदैन ।

यहाँको प्रकृति, संस्कृति, भूदृश्यको सुन्दरता र मौलिक जनजीवनको तुलनामा खप्तड पुग्नेहरूको संख्या भने न्यून भएको पर्यटन क्षेत्रका जानकारहरू बताउँछन् । खप्तडमा पर्याप्त पूर्वाधारको अभाव र प्रचारप्रसारको कमीका कारण थोरै पर्यटक आउने गरेको नेपालका पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा सक्रिय पत्रकार अमृत भादगाउँले बताउँछन् । ‘खप्तडमा अहिलेको प्रमुख चुनौती भनेको पूर्वाधार र प्रचारको कमी हो । तर यो प्राकृतिक, सांस्कृतिक र धार्मिक तवरले यति लोभलाग्दो छ कि जो पहिलो पटक खप्तड आएको छ ऊ सधैं यहाँ आइरहन रुचाउँछ,’ उनी भन्छन् ।

कसरी पुग्ने खप्तड ?

खप्तड पदयात्रा आफैंमा रोमाञ्चक छ । खप्तड पुग्ने हरेक यात्री यो बुझ्छन् कि यात्रा हिँड्ने कुरा मात्रै होइन, महसुस गर्ने अवसर पनि हो । त्यहाँको प्रत्येक श्वासको हावा, बास्ना र प्रत्येक दृश्यले फरक अनुभव दिने गरेको यात्रीहरूको अनुभव छ ।

बस यात्रा, हवाई यात्रा र पैदल यात्रा गरेर खप्तड पुग्न सकिन्छ । बस यात्रा गरेर काठमाडौं–धनगढी ६८० किलोमिटरको दूरी पार गर्न करिब २० घण्टा लाग्छ । एक घण्टाको हवाई यात्रामा धनगढी पुगेपछि केही घण्टा गाडीको यात्रा गरेर बझाङ, बाजुरा, डोटी वा अछाम हुँदै खप्तड पुग्न सकिन्छ । बझाङ, अछाम र बाजुरामा धनगढीबाट हवाई सेवा पनि उपलब्ध छ । यो नियमित नभएकाले धनगढीबाट गाडीको यात्रा नै भरपर्दो हुन्छ ।

बझाङ हुँदै जाने रुट सबैभन्दा छोटो पर्छ । चैनपुरदेखि मेल्तडी (खप्तडछान्ना गाउँपालिका) सम्म एक घण्टाको सडक यात्रा, त्यसपछि करिब चार घण्टाको पैदल यात्रा गर्नुपर्छ । बझाङकै थलारा गाउँपालिका भएर पनि खप्तड प्रवेश गर्न सकिन्छ । डोटीबाट जानेले सिलगढी–झिग्राना हुँदै डेढ घण्टा जिप यात्रा र त्यसपछि करिब आठ घण्टा पैदल यात्रा गर्नुपर्छ । बाजुराको खप्तड छेडेदह गाउँपालिकाको लसके (७ घण्टा) र काँडा (५ घण्टा) हुँदै खप्तड प्रवेश गर्ने दुई वटा बाटा छन् । अछामको नैनीबाट पनि खप्तड पुग्ने सुविधायुक्त बाटो छ । त्यहाँबाट करिब आठ घण्टा पैदलमा खप्तड पुगिन्छ ।

कहाँ बस्ने र कहिले घुम्ने ?

खप्तडमा नेपाली सेनाको ब्यारेक नजिकै गेस्ट हाउसहरू बनाइएका छन् । डोटीबाट आउनेका लागि झिग्राना र खप्तड ब्यारेकको बीचमा रहेको ठाउँ बिचपानीमा पनि गेस्ट हाउस सञ्चालनमा छ । खप्तडको प्रवेश बिन्दुका रूपमा रहेको बझाङको खप्तडछान्नाको मेल्तडी र लोखाडा, डोटीको झिग्राना, अछामको नैनी र बाजुराको लसके र काँडामा सुविधायुक्त होमस्टेहरू छन्, जहाँ स्थानीय स्वादका परिकार र मौलिक जनजीवनको अनुभव लिन सकिन्छ ।

खप्तड घुम्ने सबैभन्दा उपयुक्त मौसम फागुनदेखि कात्तिकसम्म हो । वसन्तमा गुराँसलगायत रूख र बुट्यानमा फुल्ने फूलहरूले पाटनहरू रंगिन्छन् । असार–साउनमा भुइँफूलको रंगीचंगीले यहाँका मैदानहरू बुट्टेदार तन्ना ओछ्याएजस्ता हुन्छन् । हिउँदमा हिउँको सेतो बर्को ओढेको खप्तडको स्वरूप स्वप्निल लाग्छ । हिउँदयाममा यहाँ पुग्नेले जाडो भने सहन सक्नुपर्ने हुन्छ ।

कति खर्च लाग्छ ?

काठमाडौंदेखि खप्तड घुम्न आउनेका लागि दुई दिन खप्तडमा बाससमेत बस्ने हो भने अधिकतम एक साताको समय छुट्याउनुपर्ने हुन्छ । हवाई जहाजमा धनगढी आउने हो भने चारदेखि पाँच दिनमा खप्तड घुमेर काठमाडौं फर्किन सकिन्छ । स्थानीय गाडी भाडा, होटल बास र खाना खर्चसहित हवाईजहाजमा आउनेले २० देखि २५ हजार र बसमार्फत आउनेले ७ देखि १० हजार रुपैयाँमा खप्तड घुम्न सक्छन् । स्थानीय उत्पादनहरू कोसेलीका रूपमा लैजाने सोच छ भने त्यहीअनुसार थप रकम साथमा लैजानुपर्ने हुन्छ ।

वसन्तप्रताप सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Link copied successfully