जंगबहादुरले अंग्रेजलाई फकाएर राप्ती–कालीको मधेश लिएका थिए । अघि अंग्रेजले र पछि भारतले टनकपुरको महाकाली पूर्वको जग्गा लिँदा नेपाललाई राम्रैसँग चेपुवामा पारेको थियो ।
२०८२ साल, भदौ २१ गते अर्थात् आजकै बिहानको कल्पना गरौं । टिंकर, हिमालय पर्वत पार गर्ने भन्ज्याङ ! कैलाश पर्वतभन्दा सिधै १०० किलोमिटर जति दक्षिण र समुद्र सतहबाट ५,२५८ मिटर सिधा उँभो । नेपाल–चीन सीमा पिलर नं. १ । (यसभन्दा पश्चिममा त्रिदेशीय सिमानाको पिलर राख्न बाँकी छ ।) यस भन्ज्याङको टुप्पोमा परेको पानी र हिउँले टिंकर खोला अनि काली नदी हुँदै महासागरसम्मको यात्रा यहीँ सुरु गर्छन् ।
पूर्वपश्चिम पसारिएका अग्ला डाँडाका तरेली हेर्न दिक्क लागेजस्तो गरी हान्निएर ओरालो झर्छ टिंकर । भेडाका बथानलाई चरनमा छोडिराखेर, पहिरोले थुनेको आफ्नो बाटो खन्दै अघि बढ्नुपर्छ उसले ।
टिंकर तल झर्दै जाँदा उसले देख्ने आकाश साँघुरिँदै जान्छ र पहिरोले बिगारेका पाखा बढ्दै जान्छन् । टिंकर खोलामा पानी थपिँदै जान्छ । अनि टिंकरले आफू हिँडेको खोंचभन्दा निकै माथि आफ्नै नाम बोकेको गाउँ टिंकर देख्छ । पहिलो पटक स्थायी मानव बस्तीसँग संगत गर्न पाउँछ । यसअघि त उसले अस्थायी भेडी गोठ र भेडा मात्रै देखेको थियो ।
नङमाथि मासु छैन, टिंकरमाथि गाउँ छैन ।
थोरैबेर खुला ठाउँ र अलिकति साँघुरा चेपबाट हिँडेपछि टिंकर फराकिलो ठाउँमा आइपुग्छ । भोजपत्रजस्ता ठूला लेकाली रूखलाई भेटुन्जेलमा उसको किनार फराकिलो भइसकेको हुन्छ । अनि काली नदीको किनारमा बसेको गाउँ छांग्रु कटेपछि ऊ पश्चिमबाट बगिआएको काली नदीमा बिलिन्छ ।
कालीको यात्रा उसकै मुहानबाट सुरु गर्नुपर्ने हो तर त्यो नक्सामा मात्रै नेपालीको अधीनमा छ । त्यसैले जोतभोग र घुमघाम गर्न नपाएको ठाउँमा हिँडेको कालीको बयान कसरी गर्नु भनेर यो यात्रा टिंकरबाट थाल्नुपरेको हो ।
काली–उद्गमको यो सिमाना विवादमा भारतीयहरू भन्छन्, ‘अहिले नेपालले दाबी गरेको ठाउँ गोरा साबहरूले उहिल्यै लिएका हुन् । छांग्रु गाउँमाथि पनि साबहरूले आँखा लगाएका थिए ।’
अर्थात् अहिले भारतीयहरूले पनि आँखा लगाएका छन् ।
हामी नेपालीहरू भन्छौं, अर्काको देशको भूभागमा आँखा लगाउने रीत दुनियाँ चलिआएको छ । त्यस्ता भूभाग ‘आफ्नो’ बनाउने केही उपाय छन्– लडाइँ गरेर त्यस भूभागका धनीलाई हराउनु, कुनै उपायले खुसी पार्नु, फकाउनु, धम्क्याएर वा त्यस्तै परिस्थिति सिर्जना गरेर त्यो ठाउँ आफूलाई सुम्पने बनाउनु ।
कालीवारि र पारिका यी भूभाग नेपालले ती भूभागका धनीलाई लडाइँमा हराएर आफ्नो बनाएको थियो । अंग्रेजले नेपाललाई त्यसै गरेको थियो । जंगबहादुरले अंग्रेजलाई फकाएर राप्ती–कालीको मधेश लिएका थिए । अघि अंग्रेजले र पछि भारतले टनकपुरको महाकाली पूर्वको जग्गा लिँदा नेपाललाई राम्रैसँग चेपुवामा पारेको थियो । तर, यी उपायले कुनै ठाउँ कब्जा गर्दा या त त्यस ठाउँका धनीलाई मासिदिइन्थ्यो या त राजी नभए पनि ‘मेरा राजीखुसीले जमिन तिमीलाई दिएँ’ भनी राजीनामाको कागज बनाइन्थ्यो । सुगौली सन्धि, शारदा सन्धि, टनकपुर सन्धि यस्तै कागज हुन् ।
कालीको शिर मन पराएर लिएका हौ भने यस्तै कागज देखाऊ न त ।
यस्ता विवाद मानिसलाई गर्न छाडिदिएर हो अथवा विवाद भएको कुरा थाहा नपाएझैं गरेर अथवा यस्ता विवादलाई केटाकेटीको व्यर्थको झगडा हो भन्ने ठानेर काली निरन्तर ओरालो लाग्छ ।
शौका जातिका यी दुई गाउँ छांग्रु र टिंकरलाई छाडेर भिरालोमा अघि बढेपछि काली सेतो फिँज निकालेर हिँड्छ ।
पारि भारततिर मोटर बाटो आइपुग्यो । वारि नेपालतिर पनि घस्रँदै–घस्रँदै उँभो आउँदै छ बाटो । यहाँ पहिरो कति शक्तिशाली छ भने २७ वर्ष पहिले माल्पा गाउँमा गएको पहिरोले २०० जना मानिसलाई एकै चिहान बनायो । कालीका दुवै किनारका पहिरो देख्दा लाग्छ– यस्ता ठाउँमा बाटो बनाउने रहर व्यर्थमा गरे मान्छेले ।
बर्खामा यहाँ बाटो बिग्रँदैन, नामोनिसान नरहीकन बगेर जान्छ ।
काली गंगाको कालो पाणी, काली गंगाको कालो पाणी
कैलो कैलो छैलो छैलो, कैलो कैलो छैलो छैलो ।
यो जुन्याली रातमे, हाय जुन्याली रातमे
नाखमे कि फुली सुआ पंछी बनूँ उडयोलो, रात यो जुन्याली ।।
(भावार्थः यो जुनेली रातमा काली गंगाको पानी ओरालो झर्दा कस्तो कालो–कालो, धमिलो–धमिलो देखिँदै छ । तिम्रो नाकको फुली कति सुन्दर लाग्दै छ ।)
यस कुमाउनी गीतले देखाउँछ– आफ्नी प्रेमिकाको रूपको वर्णन गर्न पनि यहाँका मानिसलाई काली नदी नभई हुँदैन ।
आफ्ना दायाँबायाँ बसेका धार्चुला र दार्चुलालाई कहिलेकाहीँ काटेर आफ्नो रिस पोख्छ कालीले ।
अलि तलतिर जौलजीवीमा पश्चिमबाट आउने गोरी नदी उत्तरबाट आएकी काली नदीसँग मिल्छ । गोरी नाउँ छाडिदिन्छ । अलि माथि कालीमा हाम फालेको धौली (सेती) नदीले पनि त्यसै गरेको थियो ।
अरूका लागि कालीले (दुई देशलाई) छुट्याउँछ तर यहाँका मानिसका विचारमा यो मिलन गराउने नदी हो । जौलजीवीको अर्थ मिलन गराउने ठाउँ अर्थात् दोभान हो । नदीको मात्र दोभान होइन यो, दुई देशका मानिसका भाका, संस्कृति र मानिसको पनि मिलन गराउने ठाउँ हो । यहाँ बर्सेनि लाग्ने मेलामा काली वारिपारिका पाखाका कुमाउनी र नेपाली यी दुवै भाषाका गीतमा मिलेर नाच्छन्, रमाउँछन् ।
जौलजीवीनेर काली वारिपारि वनराजी बस्छन् । काठका भाँडा बनाउँछन्, मह काढ्ने र माछा मार्ने गर्छन् । तर, नेपालको जनगणनामा त्यस ठाउँमा वनराजी देखिएका छैनन् ।
पूर्वबाट गएको चमेलिया अथवा चौलानी (जस्तो सेतो) नदी पनि कालीमा घुस्रिन्छ । यसको शिर बझाङ र दार्चुलाको पानीढलो सातलेक हो । त्यस लेकको पश्चिम पाखाको पानी लड्दै—लड्दै बैतडीको केही भाग छिचोलेर अपि हिमाल र खण्डेश्वरी लेक हुँदै आएको चौलानी खोलामा मिसिन्छ । यसले आफ्ना साथमा जडीबुटीको रस, मह बनाउँदा मौरीले निकालेको भुनभुनाहट र ठाडा खोलाको अदम्य उत्साह बोकेर आएको छ ।
यसको उद्गमस्थल सातलेकबाट पश्चिम दार्चुलातिर लाग्दा खण्डेश्वरी पाटन आउँछ । यहाँको ३ हजार ५ सय मिटरभन्दा माथिको लेकमा यार्चागुम्बु, जटामसी, वन लसुन, कुटकीजस्ता बहुमूल्य जडीबुटीहरू पाइन्छन् । अलि तल्तिर गुच्ची च्याउ, सतुवा, सेतकचिनी, डालेचुक आदि ।
लेकालीहरू वैशाखको अन्तिमदेखि असारसम्मै यार्चागुम्बु खोज्न घर छाडेर लेक लाग्छन् । भनिन्छ, यही एउटा जडीबुटीले हिमाली भेगका बासिन्दालाई आधा वर्षसम्म पाल्छ ।
खण्डेश्वरीबाट नजिकको गाउँ छेती हो । भनाइ नै छ– नङमाथि मासु छैन, सेतीमाथि गाउँ छैन ।
लटिनाथबाट चौलानीको किनारै किनार तल झर्दा भेटिन्छ गन्ना गाउँ । यहाँ उखु प्रशस्तै पाइन्छ । एउटा उखु खाएर अर्को उखु टेक्दै हिँडे केही छिनलाई भोक र तिर्खाबाट राहत मिल्छ । यो ठाउँ रिट्ठा र चिउरीका लागि निकै उर्वर छ । चिउरी भएपछि मह हुने नै भयो । यहाँको रिट्ठा काठमाडौं हुँदै अन्तर्राष्ट्रिय बजारमा पुग्न थालेको केही समय भयो ।
सहरको पैसा गाउँ ल्याउने राम्रो उपाय हो– जडीबुटी, रिट्ठा, चिउरी र महको व्यापार । तर, बारीमा फलेको रिट्ठामा पनि सरकारले राजस्व लिने गर्यो । यसरी यहाँका मानिस को–कोसँग, कति पटक लड्नु भनेर निराश भएका बेला विदेशमा काम गर्न पाइने अवसर खुल्यो । त्यसपछि धेरै विदेश हिँडे । अप्ठ्यारा नीति–नियमसँग जुधेर खेतीकिसानी गर्नेहरू घट्दै गए ।
महाकालीपारिको दुःख पनि उस्तै हो । त्यसैले उतातिरका मानिसले यस्तो भनाइ बनाए– पहाडको पानी र पहाडको जवानी पहाडका लागि कहिल्यै पनि काममा आउँदैनन् । आफ्नो भाषणमा यही भनाइ मिसाएर भारतका प्रधानमन्त्री मोदीले केही वर्षपहिले नेपालीहरूको ताली खाएका थिए ।
चमेलियासम्म आइपुग्दा तीन वटा सेती मिलेर कालीको तागत थपेका छन् । यहाँनेर अथवा जहाँ भए पनि कालीको पानी अञ्जुलीमा उठाएर हेर्दा कालीमा दुई खालको पानी भेटिन्छ– हिउँदमा अरब सागरबाट आएर हिउँ वा पानीका रूपमा बर्सिएको पानी र बर्खामा बंगालको खाडीबाट आएर परेको पानी । तर, यी दुई खालका पानी यसरी घुलमिल गरेका छन् कि यी दुई थरीका हुन् भन्ने कुरा हाम्रा आँखालाई थाहै हुँदैन । मानिस मात्रै हो मिल्ने मिजास कम भएको ।
दिक्कलाग्दो गरी धेरै वटा घुम्ती पार गरेर अझ तल्तिर आइपुग्दा पञ्चेश्वरमा कालीलाई थुनेर पानी र बिजुली उपयोग गर्न नेपाल र भारत मिलेजस्तो देखिएर महाकाली सन्धि गरेको धेरै भयो । तर, उनीहरूको यो मिलन काम गर्न होइन कुरा गर्न मात्र भएको छ ।
हुन त, त्यस्तो काम नहुँदा राम्रै भएको छ– कालीले बाँधिनु, थुनिनु र बिजुली निकाल्ने मेसिनमा पेलिनुपरेको छैन ।
तर, पहाडबाट मधेश झर्नेबित्तिकै कालीलाई बाँधिइयो आजभन्दा १०० वर्षअघि । त्यसका पाता फर्काएर अंग्रेजले पानी पश्चिम लगे । त्यतिबेला उनीहरूले यस नदीमा नेपालको हक लाग्दैन भनेझैं ठाने । थोरै पानीमा हकदाबी गर्न नेपालका चिफ इन्जिनियर साबलाई त्यतिबेला कम्ती गाह्रो भएको थिएन । नेपालले चार हजार एकड जमिन भारतलाई दियो र यहाँनेर नेपालको सिमाना काली नदीबाट पूर्व सर्यो ।
जंगबहादुरले ल्याएको जमिन चन्द्रशमशेरले गुमाए ।
अंग्रेजले कालीलाई थुनेको ६० वर्ष जतिपछि उसका उत्तराधिकारीले अंग्रेजले काली थुनेको ठाउँभन्दा अलि मास्तिर, ब्रह्मदेव मण्डीको ठीक मुन्तिर उसैगरी नदी थुने । त्यतिबेला पनि उनीहरूले यस नदीमा नेपालीको हक लाग्दैन भनी बलमिच्याइँ गरेर चुपचाप काम अघि बढाए । पछि आफ्नो हकदाबी गर्न नेपालले निकै कष्ट गर्नुपर्यो । यतिबेला पनि अलिकति जमिन नेपालले गुमायो ।
भारतलाई त्योभन्दा बढी फाइदा पुर्याउने महाकाली सन्धि गर्नचाहिँ नेपालीहरू भारतीयभन्दा चारबित्ता अघि सरेर लागे ।
गड्डाचौकीबाट ओरालो झरेपछि सिमानाका खम्बा कालीपारि सरे । नयाँ मुलुक पाएर नेपालको सिमाना राप्ती नदीबाट काली पुगेका बेलामा हालको गड्डाचौकीभन्दा तल कालीका दुई वटा धार थिए । सानो धार पूर्वबाट बगेको थियो । ठूलो धार पश्चिमबाट । त्यसैले यहाँ नेपाल र ब्रिटिस भारतले पश्चिमी धारलाई काली नदी मानेका थिए ।
पहाडमा खुम्चिएर बग्नुपरेको पीरले होला, मधेशमा झरेपछि काली नदी उत्ताउलिएर बग्छ । कहिले दायाँ हान्निएर कहिले बायाँ । नेपालको सिमाना मधेशमा काली पुगेका बेला यताका १६५ वर्षमा कालीको ठूलो धार पूर्व सर्यो । दोधारा र चाँदनीजस्ता नेपाली गाउँ कालीको पानी पारि पुगे । बाँकी मानिसलाई यसो भन्ने निहुँ भयो– कालीपारि पनि नेपाल छ ।
दोधारा कटेर नेपालको पश्चिमी सिमाना टुंगिएपछि फर्केर पूर्वतिर लागेर बग्छ काली । यतिन्जेल सिमानामा हिँडेकाले हामी अलिअलि हिन्दी बुझ्ने–बोल्ने भइसकेका थियौं । त्यसैले हामीले हिन्दी/उर्दू साहित्यमा प्रचलित एउटा पंक्तिबाट सवालजवाफ गर्यौं ः
ये लौटेंगे कब तक, कहाँ जा रहे हैँ ? (जाने कहाँ हो र फर्कने कहिले ?)
नदीबाट आवाज आयो ः
यहाँ काटकर जिन्दगीका सजाय/जहाँ से चले थेँ वहीँ जा रहा हुँ । (अर्थात् काटेर यहाँ जिन्दगीको सजाय/हिँडे म उतै जता थिएँ पहिले ।)
कुरा बुझियो, यो आफू जताबाट आएको थियो त्यतै अर्थात् बंगालको खाडी र अरब सागरतिर जाँदै छ । उसले नबताएको तर हामीलाई थाहा भएको कुरा के हो भने, उँधौली यात्रामा पैदल हिँडेको काली केही समय विश्राम गर्छ र हिउँदमा मेघको वस्त्र धारण गरेर अरब सागरबाट र बर्खामा बंगालको खाडीबाट वायुपंखी घोडा चढेर लिपुलेक, टिंकर र सातलेक वरपर प्यारासुटबाट अवतरण गर्छ, डाँडापाखामा तितरबितर हुन्छ । अनि बिस्तारै भेला भएर फेरि उसैगरी समुद्रतिर लाग्छ । किनकि उसले यसो नगरे सृष्टि बाँझिन्छ ।
