दोहन र दाउपेचको चपेटामा कालीगण्डकी

हामी नदी प्रणालीमा कालीगण्डकीको गरिमा र महिमा विशिष्ट छ । तिब्बती सीमाबाट बग्दै आउने कालीगण्डकी केवल समुद्र छुन बग्दैन । बग्दै–बग्दै मध्य–तराई सुक्खा हुनबाट बचाउँछ, आफूमै आश्रित तटीय क्षेत्रका लाखौं जीवनलाई बाँच्न सहज बनाउँछ ।

भाद्र २१, २०८२

आरके अदीप्त गिरी

Kaligandaki in the grip of exploitation and exploitation

What you should know

विश्वकै नदी सभ्यतामा एक सर्वश्रेष्ठ नदी प्रणाली हो– गण्डकी । सप्तगण्डकी, कालीगण्डकी, श्री कृष्ण–गण्डकीका नामले परिचित यो नदीे तिब्बती पठारबाट बग्दै–बग्दै आएको हो । तिब्बती पठारको पश्चिमतर्फको नुप्छु खोला र पूर्वीतर्फ सर्छु खोला मिसिएर गण्डकी उत्पत्ति भएको हो ।

८ सय १४ किलोमिटर लामो पौराणिक, ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको कालीगण्डकी नदी वैदिक सनातनीहरूको धार्मिक क्षेत्र पनि हो । जैविक विविधता र जीवनदायिनी शक्तिका कारण यो नदीको विशेष महत्त्व छ । यही नदीको तटीय क्षेत्रमा सयौं बस्ती र धाम छन् । पौराणिक ग्रन्थहरूमा भगवान् विष्णुलाई शालिग्रामका रूपमा लिइने गरिन्छ । यो नदी क्षेत्र नित्य स्नानदेखि पूजापाठ, दाहसंस्कार, तर्पण र श्राद्घका लागि पवित्र मानिन्छ ।

प्राचीन धर्मग्रन्थहरूमा उल्लेख गरिएको र हिन्दु एवम् बौद्ध समुदायहरूले समान रूपमा सम्मान गर्ने यो सबैभन्दा पवित्र नदीमध्ये एक हो भन्ने विश्वास छ । यो नदी सभ्यताको जननी मात्रै होइन, जीवन पनि हो । गण्डक सभ्याताभित्रको विभिन्न संस्कृति, गण्डकी प्रदेशवासीको आस्था र जीवन ‘कालीगण्डकी नदी’ सँग जोडिएको छ ।

तर, यस्तो महत्त्वपूर्ण नदीमा केही विनाशकारी परियोजनाहरू अघि सारिएको छ, जसले कालीगण्डकी नदीको जलाधार क्षेत्रमा पाइने ३०० ताल, ३० प्रजातिका किरा, ११० प्रजातिका चरा र अन्य जैविक जीवनलाई खतरामा पारेको छ । जलविद्युत् उत्पादन र विकासका नाममा प्रकृति र मानव सभ्यतामाथि हुने यस गम्भीर अपराधलाई हामी चुपचाप सहन सक्छौं ? भावी पुस्ताका लागि यो एक गम्भीर प्रश्न हो ।

कालीगण्डकी नदी प्रणाली

भौगोलिक रूपरेखाअनुसार, यो नदी हिमालयबाट बगेर पहाडका साँघुरा खोंच हुँदै झरेर मैदानी क्षेत्रमा फैलिँदै जान्छ । नेपालका नदी प्रणालीमा कालीगण्डकी नदीको गरिमा र महिमा विशेष र वैभवपूर्ण छ । तिब्बतको सीमाबाट बग्दै आउने कालीगण्डकी केवल समुद्र छुन बग्दैन । आफू बग्दै गर्दा तल्लो तटीय क्षेत्रको पर्यावरणलाई सन्तुलित गर्नु, मध्य–तराईलाई सुक्खा हुनबाट बचाउनु, कालीगण्डकीमै आश्रय लिएर हजारौं वर्षदेखि बाँचिरहेका तटीय क्षेत्रका लाखौं जीवनलाई बाँच्न सहज बनाउनु कालीगण्डकीका जिम्मेवारी हुन् ।

Kaligandaki in the grip of exploitation and exploitation

प्राचीनकालदेखि नै व्यापारिक केन्द्रका रूपमा ‘कालीगण्डकी ट्रेड रुट’ स्थापित छ । मुक्तिनाथ र जोमसोम जानेका लागि पनि यो रुट प्रचलित छ । थाकखोला ‘साल्ट रुट’ का लागि पनि यो प्रख्यात व्यापारिक करिडोर हो । भोट जाने मुख्य मार्गका लागि पनि यो रुट परिचित छ । कालीगण्डकी करिडोर लोकमार्ग निर्माण भएपछि सुनौलीदेखि चीनसम्म जोड्ने ९४ सय ३४ किमि मार्ग पनि स्थापति हुनेछ ।

विश्वमै मानव सभ्यताको विकास ठूला–ठूला नदी किनारबाटै सुरु भएका हुन् । इरान आसपासको ट्रिगिस र युफ्रेटस होस् या चीनको ह्वाङ्–हो वा पाकिस्तानको सिन्धुघाँटी सभ्यता नदीबाटै सुरु भएका हुन् । ठीक त्यसैगरी आर्य संस्कृति र वैदिक सभ्यतासँग जोडिएको ‘कालीगण्डकी सभ्यता’ नेपालको पुरानो सभ्यता हो ।

कालीगण्डकीको जलाधार क्षेत्रमा ८ हजार मिटरभन्दा अग्ला तीन वटा हिमालय पर्वत शृंखला धवलागिरि, अन्नपूर्ण र मनास्लु छन् भने ८ हजारदेखि ६ हजार मिटरसम्मका दुई दर्जनभन्दा धेरै हिमशिखर छन् । कालीगण्डकीको जलाधार क्षेत्रमा मुस्ताङ, म्याग्दी, पर्वत, बागलुङ, स्याङ्जा, गुल्मी, पाल्पा, तनहुँ, पश्चिम नवलपरासी र पूर्वी नवलपरासी गरी १० जिल्ला छन् । सप्तगण्डकी नदी प्रणालीका नामले समेत चिनिने कालीगण्डकीका ६ वटा मुख्य सहायक नदीहरूमा त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, मादी, सेती र दरौंदी पर्छन् ।

यस नदीको तटीय क्षेत्रमा १५ लाखभन्दा बढी मानिस बसोबास गर्छन् । ८१४ किलोमिटर लम्बाइ र झन्डै ५०० किलोमिटरको भाग नेपालमा तथा ३०० किलोमिटर भारत हुँदै गंगामा पुगेर समाहित हुने कालीगण्डकी बंगालको खाडीमा पुग्छ ।

कालीगण्डकी नदी नेपालका तीन मुख्य नदी प्रणालीमा पनि ठूलो मानिन्छ । संसारकै गहिरो (२५२० मिटर) रुप्से अन्धगल्छी पनि यहीं पर्छ । ठूला चट्टान, गेग्रान, बलौटे माटो, कंक्रिट, बालुवाको एकदमै ठूलो खानीको क्षेत्र पनि भएकाले यसका वैज्ञानिक एवं आर्थिक अध्ययनका पाटा थुप्रै छन् । धेरै तटीय इलाकामा विभिन्न धाम, घाट र तीर्थस्थल छन् । आर्यसंस्कृति र वैदिक सभ्यतासँग जोडिएको कालीगण्डकी सभ्यता नेपालको निकै पुरानो सभ्यता हो । यसको नशा सोझै वैदिककाल र पारिस्थितिक प्रणालीसँग जोडिएको छ ।

कालीगण्डकीको धार्मिक महिमा र शालग्राम शिला

कालीगण्डकी नदीको गर्भगृहमा पाइने सबै शिला शालग्राम शिला हुन् । विश्व समुदायमा पाइने शिलाभन्दा विशिष्ट विशेषता र क्षमता भएको प्रमुख शालग्राम शिला नै हो । पुराणहरूका अनुसार, अहिलेको मानव अस्तुलाई सो शालग्रामसँग साक्षात्कार गराउनु पितृ तर्पण सार्थक पनि हुनु हो भन्ने आस्था राख्नेले सामुद्रिक जीव अनुवंश सुरु भएको एउटा अवशेष मान्दछन् ।

Kaligandaki in the grip of exploitation and exploitation

शालिग्राममा पाइने जीवाशेष डाइनोसर–कालमै लोप हुन पुगेका तिनै जीवको हो भनेर सन् १९८८ मा डलहाउस विश्वविद्यालयले अनुसन्धान गरेर प्रतिवेदन ‘ग्राडस्टाइन एट अल– १९८०’ सार्वजनिक गरिसकेको छ । शालिग्रामलाई अर्चावतार मानेर पूजा गर्ने प्रचलन करिब २००० वर्ष अगाडिदेखि चलेको अनुमान इतिहासकार डा. जगदीशचन्द्र रेग्मीको छ । लिपिबद्ध वेद, पुराणभन्दा हिमालय जेठो, हिमालयभन्दा कालीगण्डकी जेठो र कालीगण्डकीभन्दा शालग्राम जेठो भनी प्रमाणित गर्न पर्याप्त आधार तयार भएका छन् । यिनै शालग्राम शिला यहाँ कौडीको भाउमा गिट्टी–चोकरमा परिणत भएका छन् ।

कालीगण्डकीको अवैध दोहन र डाइभर्सन

कालीगण्डकीमा स्वार्थ समूहले क्रसर उद्योग चलाइरहेको छ । यो सम्पदा सभ्यतामाथिको अपराध हो । यिनले वातावरण प्रभाव मूल्यांकनका कुनै मापदण्ड तय गरेका छैनन् । एकाध व्यक्तिको पहुँच स्वार्थ र दादागिरीमा सिंगो नदी कब्जा गरिएको छ । स्थानीय तहले पनि ठेक्का लगाउने र मनपरी गर्ने ठाडो हस्तक्षेप भइरहेको छ । प्रकृति, परम्परा, सम्पत्ति, सभ्यता मासेर हामीले कस्तो विकास र समृद्धि भोलिका पुस्तालाई दिने ?

गण्डकीको जलाधार, वैदिक सनातनीले पुज्ने पुण्य सर्वोच्च नदीले अनेक भूमण्डलीय संकटको सामना गर्नुपरेको छ । यहाँको जीवन, जलचर, थलचरले बेहोरिरहेका सास्ती संकटको ढोकामै छ । उनीहरूमाथि घोर शोषण भएको छ । विकासका लागि पूर्वाधार चाहिन्छ, त्यसमा विवाद भएन । तर, संरचना कसरी बनाउने ? त्यसमा वातावरणीय, हावापानी, माटो र जनधनको सुरक्षाका उपायको प्रबन्ध कसरी गर्ने ? निर्माण सामग्रीको स्रोत कसरी पत्ता लगाउने ? त्यो महत्त्वपूर्ण हो । नदी प्रणालीबारे हामीकहाँ अस्पष्टता र विश्वासको संकट छ । पर्यावरणीय चिन्तनको कमी छ ।

कालीगण्डकीको भौगोलिक रूपरेखाअनुसार यो नदी पहाडका साँघुरा खोंचबाट झरेर मैदानी क्षेत्रमा फैलिँदै जान्छ । नदीहरूले आफ्नो मार्ग खोज्न जानेका हुन्छन् । बाँधले जैविकता, समाज, पर्यावरण, जल संस्कृतिमा आधारित परम्परागत अर्थ व्यवस्था सबैलाई क्षति पुर्‍याउँछ । नदीलाई प्राकृतिक रूप नछाडी किन अतिक्रमण गरिन्छ ? यसबाट कसलाई लाभ छ ? संसारमै प्रख्यात साता दिनको ‘कालीगण्डकी जलयात्रा’ पूर्णतया विस्थापित छ ।

Kaligandaki in the grip of exploitation and exploitation

विकास, संरक्षण, पर्यावरणीय संकट, जैविक विविधताको ह्रास, जलचर प्रजातिहरूको विलोपीकरणमा समुचित उपयोग र दिगोपनका क्षेत्रमा हामीले त्यति ध्यान पुर्‍याउन सकेका छैनौं । नदी प्रणाली दुई गुणाले खलबलिएको छ । जलाधार क्षेत्रको कुरा गर्दा १ हजार २५ हिमनदी भएको जलाधार क्षेत्र गण्डकी नदी प्रणालीलाई हामी मास्ने क्रममा छौं । गौंडा गौंडामा रहेका कला–संस्कृति, सभ्यता, गरिमा, पवित्र स्थलहरू लोप हुँदै गएका छन् । नदी संसाधन हुन्, जसको उपयोग कसरी गर्नेबारे न्यून हेक्का पनि नभएका स्थानीय शासकहरू छन् ।

हालै कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गत कालीगण्डकी नदीको पानी डाइभर्सन गर्ने सरकारको निर्णयविरुद्धको रिट खारेजीसम्बन्धी सर्वोच्च अदालतको निर्णय अत्यन्तै खेदजनक छ । कालीगण्डकी डाइभर्सनका लागि अहिलेसम्म निर्माण अनुमति र वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट उपलब्ध छैन । यसरी बिनातयारी र मूल्यांकनका परियोजनामा सरकारको हस्तक्षेप, कालीगण्डकी नदी र यसका आसपासका क्षेत्रका जीवजीवनको दीर्घकालीन हक र भविष्यको अस्तित्वमा गम्भीर प्रश्न खडा गरेको छ ।

कालीगण्डकी सभ्यताको एउटा विशाल खण्डमा जैविक विविधतामा संकट निम्त्याउने, विभिन्न समुदायको जीविकोपार्जन र संस्कृतिमा गम्भीर असर पार्ने कामहरू भइरहेका छन् । यसले आगतमा ठूलो भूभागमा जलसंकट निम्त्याउने र सम्पदा क्षेत्र विनाश गर्ने छ, जसले सम्पूर्ण नदी प्रणाली र त्यसमा आश्रित समुदायहरूको जीवनमा गम्भीर संकट निम्त्याएको छ ।

यस्तो गम्भीर विषयलाई उपेक्षा गरी सिंगो नदीलाई अर्कोतर्फ मोड्ने विभिन्न खालका परियोजना अघि बढाउनु गण्डकीवासीको आस्था र संस्कृतिमाथि खेलबाड हो । यति मात्रै नभई यस नदीमा आश्रित अठार मगरात, माझी, बोटे, थारू, धिमाललगायत दर्जनौं समुदायका लाखौं मानिसको जीविकोपार्जनमाथिको आक्रमण हो भन्ने सत्य हामी बिर्सिएका छौं ।

कालीगण्डकी संस्कृति, सभ्यता र संरक्षणको बहस

नदीको प्राकृतिक स्रोत मूलतः ढुंगा, शिला, गिट्टी, बालुवाको अधिक दोहनले कालीगण्डकी नदी क्षतविक्षत बन्दै गएको छ । नदीमाथि जथाभावी उत्खनन गर्ने, मलमूत्र, फोहोरमैला विसर्जन गर्ने, ढलनलको सोझो मिलान गर्ने, सार्वजनिक जग्गा अतिक्रमण, वन फँडानी र बालुवा तस्करहरूको नाजायज तस्करी धन्दा बर्सेनि बढ्दो छ । सयौंको संख्यामा खोलिएका क्रसर उद्योगका कारण नदी दिन प्रतिदिन मरिरहेको छ । यसप्रति कसैको ध्यान गएको छैन ।

कालीगण्डकी दोहनसँगै यहाँ कालीगण्डकी करिडोरअन्तर्गत आसपासका खोल्साखोल्सी, वनजंगल, चौर, ढिस्काढिस्की, सम्पदा क्षेत्र साथै सार्वजनिक स्कुल क्षेत्र आदिको समेत दोहन भएको छ । जताततै डाँडा पहाडहरू विरूप बनेका छन् । आम नागरिकस्तर र राजनीतिक पार्टीहरूका तर्फबाट कालीगण्डकीको पर्यावरण र संरक्षणका लागि नीति बन्न सकेन, राजनीतिको सिद्धान्त बन्न सकेन, कालीको चीत्कार सुन्ने कोही भएन । कालीगण्डकी कहिल्यै राष्ट्रिय मूल मुद्दा बन्न सकेन ।

कालीगण्डकीको जलाधार नचलाऊ

पर्यावरणले मानव जीवनसँग मात्र अर्थ राख्दैन । जल, थल, वायु, अग्नि, आकाश यी पञ्चतत्त्वसँग प्रत्यक्ष जोडिएको हुनाले पर्यावरण अर्थात् चौतर्फी फैलिएको आवरण हाम्रा लागि भन्दा पनि पृथ्वीको पारिस्थितिक सन्तुलनका लागि महत्त्वपूर्ण छ । त्यसैले विकास रोज्नुभन्दा पहिले पर्यावरण रोज्नुपर्ने अहिलेको टड्कारो आवश्यकता हो ।

Kaligandaki in the grip of exploitation and exploitation

कालीगण्डकीको पौराणिक महिमा र मानवीय सभ्यतासँग जोडिएको गौरवशाली इतिहास नाश हुने तरिकाले जथाभावी दोहन गर्ने र यसको प्राकृतिक मार्गलाई डाइभर्ट गर्ने, बाँध बाँध्नेजस्ता गतिविधिलाई राज्यले कठोरताका साथ नियन्त्रण गर्नुपर्छ ।

आज कालीगण्डकी बहाव क्षेत्रमा वैध–अवैध गरी सयभन्दा बढी क्रसरहरू चलिरहेका छन् । तीन सयभन्दा धेरै फिरफिरे उद्योगहरू छन् । दर्ताबिना सञ्चालित क्रसर उद्योगले नदीजन्य पदार्थ उत्खनन गर्ने, प्रशोधन गर्ने र क्रसिङ गर्ने काम गर्दै आएका छन् । यी क्रसर उद्योग आन्तरिक राजस्व कार्यालयको अभिलेखमा पनि छैनन् । यसले देखाउँछ– कालीगण्डकी दोहनको जालो कत्रो छ ?

कालीगण्डकी नदी दोहन, डाइभर्सन, बाँधभित्रको खास यथार्थ र कालीगण्डकी सभ्यता र स्थानीय जनजीवनबारे बेग्लै भ्रम फैलाइएको छ । जनसाधारणमा यस नदी प्रणालीबारे अस्पष्टता र विश्वासको संकट छ । त्यसैले तटीय क्षेत्रका जनता झूटो मनोविज्ञानमा बाँचिरहेका छन् ।

कालीगण्डकी संरक्षणमा अझै पनि सचेत इमानदार पहल भएन भने हामी ढिलो भइसक्नेछौं । कालीगण्डकीलाई अस्तित्व संकटबाट बचाउन हामीले थालेको अभियान सबैको साझा होस् भन्ने छ । कालीगण्डकी नदी हाम्रो जीवनको स्रोत हो । नदीको शाश्वत महत्त्व जनजनले बुझौं । र, यसको संरक्षणका लागि सबैले आवाज उठाऔं । कालीगण्डकी सभ्यता बचाऔं ।

आरके

Link copied successfully