हामी नदी प्रणालीमा कालीगण्डकीको गरिमा र महिमा विशिष्ट छ । तिब्बती सीमाबाट बग्दै आउने कालीगण्डकी केवल समुद्र छुन बग्दैन । बग्दै–बग्दै मध्य–तराई सुक्खा हुनबाट बचाउँछ, आफूमै आश्रित तटीय क्षेत्रका लाखौं जीवनलाई बाँच्न सहज बनाउँछ ।
What you should know
विश्वकै नदी सभ्यतामा एक सर्वश्रेष्ठ नदी प्रणाली हो– गण्डकी । सप्तगण्डकी, कालीगण्डकी, श्री कृष्ण–गण्डकीका नामले परिचित यो नदीे तिब्बती पठारबाट बग्दै–बग्दै आएको हो । तिब्बती पठारको पश्चिमतर्फको नुप्छु खोला र पूर्वीतर्फ सर्छु खोला मिसिएर गण्डकी उत्पत्ति भएको हो ।
८ सय १४ किलोमिटर लामो पौराणिक, ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको कालीगण्डकी नदी वैदिक सनातनीहरूको धार्मिक क्षेत्र पनि हो । जैविक विविधता र जीवनदायिनी शक्तिका कारण यो नदीको विशेष महत्त्व छ । यही नदीको तटीय क्षेत्रमा सयौं बस्ती र धाम छन् । पौराणिक ग्रन्थहरूमा भगवान् विष्णुलाई शालिग्रामका रूपमा लिइने गरिन्छ । यो नदी क्षेत्र नित्य स्नानदेखि पूजापाठ, दाहसंस्कार, तर्पण र श्राद्घका लागि पवित्र मानिन्छ ।
प्राचीन धर्मग्रन्थहरूमा उल्लेख गरिएको र हिन्दु एवम् बौद्ध समुदायहरूले समान रूपमा सम्मान गर्ने यो सबैभन्दा पवित्र नदीमध्ये एक हो भन्ने विश्वास छ । यो नदी सभ्यताको जननी मात्रै होइन, जीवन पनि हो । गण्डक सभ्याताभित्रको विभिन्न संस्कृति, गण्डकी प्रदेशवासीको आस्था र जीवन ‘कालीगण्डकी नदी’ सँग जोडिएको छ ।
तर, यस्तो महत्त्वपूर्ण नदीमा केही विनाशकारी परियोजनाहरू अघि सारिएको छ, जसले कालीगण्डकी नदीको जलाधार क्षेत्रमा पाइने ३०० ताल, ३० प्रजातिका किरा, ११० प्रजातिका चरा र अन्य जैविक जीवनलाई खतरामा पारेको छ । जलविद्युत् उत्पादन र विकासका नाममा प्रकृति र मानव सभ्यतामाथि हुने यस गम्भीर अपराधलाई हामी चुपचाप सहन सक्छौं ? भावी पुस्ताका लागि यो एक गम्भीर प्रश्न हो ।
कालीगण्डकी नदी प्रणाली
भौगोलिक रूपरेखाअनुसार, यो नदी हिमालयबाट बगेर पहाडका साँघुरा खोंच हुँदै झरेर मैदानी क्षेत्रमा फैलिँदै जान्छ । नेपालका नदी प्रणालीमा कालीगण्डकी नदीको गरिमा र महिमा विशेष र वैभवपूर्ण छ । तिब्बतको सीमाबाट बग्दै आउने कालीगण्डकी केवल समुद्र छुन बग्दैन । आफू बग्दै गर्दा तल्लो तटीय क्षेत्रको पर्यावरणलाई सन्तुलित गर्नु, मध्य–तराईलाई सुक्खा हुनबाट बचाउनु, कालीगण्डकीमै आश्रय लिएर हजारौं वर्षदेखि बाँचिरहेका तटीय क्षेत्रका लाखौं जीवनलाई बाँच्न सहज बनाउनु कालीगण्डकीका जिम्मेवारी हुन् ।
प्राचीनकालदेखि नै व्यापारिक केन्द्रका रूपमा ‘कालीगण्डकी ट्रेड रुट’ स्थापित छ । मुक्तिनाथ र जोमसोम जानेका लागि पनि यो रुट प्रचलित छ । थाकखोला ‘साल्ट रुट’ का लागि पनि यो प्रख्यात व्यापारिक करिडोर हो । भोट जाने मुख्य मार्गका लागि पनि यो रुट परिचित छ । कालीगण्डकी करिडोर लोकमार्ग निर्माण भएपछि सुनौलीदेखि चीनसम्म जोड्ने ९४ सय ३४ किमि मार्ग पनि स्थापति हुनेछ ।
विश्वमै मानव सभ्यताको विकास ठूला–ठूला नदी किनारबाटै सुरु भएका हुन् । इरान आसपासको ट्रिगिस र युफ्रेटस होस् या चीनको ह्वाङ्–हो वा पाकिस्तानको सिन्धुघाँटी सभ्यता नदीबाटै सुरु भएका हुन् । ठीक त्यसैगरी आर्य संस्कृति र वैदिक सभ्यतासँग जोडिएको ‘कालीगण्डकी सभ्यता’ नेपालको पुरानो सभ्यता हो ।
कालीगण्डकीको जलाधार क्षेत्रमा ८ हजार मिटरभन्दा अग्ला तीन वटा हिमालय पर्वत शृंखला धवलागिरि, अन्नपूर्ण र मनास्लु छन् भने ८ हजारदेखि ६ हजार मिटरसम्मका दुई दर्जनभन्दा धेरै हिमशिखर छन् । कालीगण्डकीको जलाधार क्षेत्रमा मुस्ताङ, म्याग्दी, पर्वत, बागलुङ, स्याङ्जा, गुल्मी, पाल्पा, तनहुँ, पश्चिम नवलपरासी र पूर्वी नवलपरासी गरी १० जिल्ला छन् । सप्तगण्डकी नदी प्रणालीका नामले समेत चिनिने कालीगण्डकीका ६ वटा मुख्य सहायक नदीहरूमा त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, मादी, सेती र दरौंदी पर्छन् ।
यस नदीको तटीय क्षेत्रमा १५ लाखभन्दा बढी मानिस बसोबास गर्छन् । ८१४ किलोमिटर लम्बाइ र झन्डै ५०० किलोमिटरको भाग नेपालमा तथा ३०० किलोमिटर भारत हुँदै गंगामा पुगेर समाहित हुने कालीगण्डकी बंगालको खाडीमा पुग्छ ।
कालीगण्डकी नदी नेपालका तीन मुख्य नदी प्रणालीमा पनि ठूलो मानिन्छ । संसारकै गहिरो (२५२० मिटर) रुप्से अन्धगल्छी पनि यहीं पर्छ । ठूला चट्टान, गेग्रान, बलौटे माटो, कंक्रिट, बालुवाको एकदमै ठूलो खानीको क्षेत्र पनि भएकाले यसका वैज्ञानिक एवं आर्थिक अध्ययनका पाटा थुप्रै छन् । धेरै तटीय इलाकामा विभिन्न धाम, घाट र तीर्थस्थल छन् । आर्यसंस्कृति र वैदिक सभ्यतासँग जोडिएको कालीगण्डकी सभ्यता नेपालको निकै पुरानो सभ्यता हो । यसको नशा सोझै वैदिककाल र पारिस्थितिक प्रणालीसँग जोडिएको छ ।
कालीगण्डकीको धार्मिक महिमा र शालग्राम शिला
कालीगण्डकी नदीको गर्भगृहमा पाइने सबै शिला शालग्राम शिला हुन् । विश्व समुदायमा पाइने शिलाभन्दा विशिष्ट विशेषता र क्षमता भएको प्रमुख शालग्राम शिला नै हो । पुराणहरूका अनुसार, अहिलेको मानव अस्तुलाई सो शालग्रामसँग साक्षात्कार गराउनु पितृ तर्पण सार्थक पनि हुनु हो भन्ने आस्था राख्नेले सामुद्रिक जीव अनुवंश सुरु भएको एउटा अवशेष मान्दछन् ।
शालिग्राममा पाइने जीवाशेष डाइनोसर–कालमै लोप हुन पुगेका तिनै जीवको हो भनेर सन् १९८८ मा डलहाउस विश्वविद्यालयले अनुसन्धान गरेर प्रतिवेदन ‘ग्राडस्टाइन एट अल– १९८०’ सार्वजनिक गरिसकेको छ । शालिग्रामलाई अर्चावतार मानेर पूजा गर्ने प्रचलन करिब २००० वर्ष अगाडिदेखि चलेको अनुमान इतिहासकार डा. जगदीशचन्द्र रेग्मीको छ । लिपिबद्ध वेद, पुराणभन्दा हिमालय जेठो, हिमालयभन्दा कालीगण्डकी जेठो र कालीगण्डकीभन्दा शालग्राम जेठो भनी प्रमाणित गर्न पर्याप्त आधार तयार भएका छन् । यिनै शालग्राम शिला यहाँ कौडीको भाउमा गिट्टी–चोकरमा परिणत भएका छन् ।
कालीगण्डकीको अवैध दोहन र डाइभर्सन
कालीगण्डकीमा स्वार्थ समूहले क्रसर उद्योग चलाइरहेको छ । यो सम्पदा सभ्यतामाथिको अपराध हो । यिनले वातावरण प्रभाव मूल्यांकनका कुनै मापदण्ड तय गरेका छैनन् । एकाध व्यक्तिको पहुँच स्वार्थ र दादागिरीमा सिंगो नदी कब्जा गरिएको छ । स्थानीय तहले पनि ठेक्का लगाउने र मनपरी गर्ने ठाडो हस्तक्षेप भइरहेको छ । प्रकृति, परम्परा, सम्पत्ति, सभ्यता मासेर हामीले कस्तो विकास र समृद्धि भोलिका पुस्तालाई दिने ?
गण्डकीको जलाधार, वैदिक सनातनीले पुज्ने पुण्य सर्वोच्च नदीले अनेक भूमण्डलीय संकटको सामना गर्नुपरेको छ । यहाँको जीवन, जलचर, थलचरले बेहोरिरहेका सास्ती संकटको ढोकामै छ । उनीहरूमाथि घोर शोषण भएको छ । विकासका लागि पूर्वाधार चाहिन्छ, त्यसमा विवाद भएन । तर, संरचना कसरी बनाउने ? त्यसमा वातावरणीय, हावापानी, माटो र जनधनको सुरक्षाका उपायको प्रबन्ध कसरी गर्ने ? निर्माण सामग्रीको स्रोत कसरी पत्ता लगाउने ? त्यो महत्त्वपूर्ण हो । नदी प्रणालीबारे हामीकहाँ अस्पष्टता र विश्वासको संकट छ । पर्यावरणीय चिन्तनको कमी छ ।
कालीगण्डकीको भौगोलिक रूपरेखाअनुसार यो नदी पहाडका साँघुरा खोंचबाट झरेर मैदानी क्षेत्रमा फैलिँदै जान्छ । नदीहरूले आफ्नो मार्ग खोज्न जानेका हुन्छन् । बाँधले जैविकता, समाज, पर्यावरण, जल संस्कृतिमा आधारित परम्परागत अर्थ व्यवस्था सबैलाई क्षति पुर्याउँछ । नदीलाई प्राकृतिक रूप नछाडी किन अतिक्रमण गरिन्छ ? यसबाट कसलाई लाभ छ ? संसारमै प्रख्यात साता दिनको ‘कालीगण्डकी जलयात्रा’ पूर्णतया विस्थापित छ ।
विकास, संरक्षण, पर्यावरणीय संकट, जैविक विविधताको ह्रास, जलचर प्रजातिहरूको विलोपीकरणमा समुचित उपयोग र दिगोपनका क्षेत्रमा हामीले त्यति ध्यान पुर्याउन सकेका छैनौं । नदी प्रणाली दुई गुणाले खलबलिएको छ । जलाधार क्षेत्रको कुरा गर्दा १ हजार २५ हिमनदी भएको जलाधार क्षेत्र गण्डकी नदी प्रणालीलाई हामी मास्ने क्रममा छौं । गौंडा गौंडामा रहेका कला–संस्कृति, सभ्यता, गरिमा, पवित्र स्थलहरू लोप हुँदै गएका छन् । नदी संसाधन हुन्, जसको उपयोग कसरी गर्नेबारे न्यून हेक्का पनि नभएका स्थानीय शासकहरू छन् ।
हालै कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गत कालीगण्डकी नदीको पानी डाइभर्सन गर्ने सरकारको निर्णयविरुद्धको रिट खारेजीसम्बन्धी सर्वोच्च अदालतको निर्णय अत्यन्तै खेदजनक छ । कालीगण्डकी डाइभर्सनका लागि अहिलेसम्म निर्माण अनुमति र वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट उपलब्ध छैन । यसरी बिनातयारी र मूल्यांकनका परियोजनामा सरकारको हस्तक्षेप, कालीगण्डकी नदी र यसका आसपासका क्षेत्रका जीवजीवनको दीर्घकालीन हक र भविष्यको अस्तित्वमा गम्भीर प्रश्न खडा गरेको छ ।
कालीगण्डकी सभ्यताको एउटा विशाल खण्डमा जैविक विविधतामा संकट निम्त्याउने, विभिन्न समुदायको जीविकोपार्जन र संस्कृतिमा गम्भीर असर पार्ने कामहरू भइरहेका छन् । यसले आगतमा ठूलो भूभागमा जलसंकट निम्त्याउने र सम्पदा क्षेत्र विनाश गर्ने छ, जसले सम्पूर्ण नदी प्रणाली र त्यसमा आश्रित समुदायहरूको जीवनमा गम्भीर संकट निम्त्याएको छ ।
यस्तो गम्भीर विषयलाई उपेक्षा गरी सिंगो नदीलाई अर्कोतर्फ मोड्ने विभिन्न खालका परियोजना अघि बढाउनु गण्डकीवासीको आस्था र संस्कृतिमाथि खेलबाड हो । यति मात्रै नभई यस नदीमा आश्रित अठार मगरात, माझी, बोटे, थारू, धिमाललगायत दर्जनौं समुदायका लाखौं मानिसको जीविकोपार्जनमाथिको आक्रमण हो भन्ने सत्य हामी बिर्सिएका छौं ।
कालीगण्डकी संस्कृति, सभ्यता र संरक्षणको बहस
नदीको प्राकृतिक स्रोत मूलतः ढुंगा, शिला, गिट्टी, बालुवाको अधिक दोहनले कालीगण्डकी नदी क्षतविक्षत बन्दै गएको छ । नदीमाथि जथाभावी उत्खनन गर्ने, मलमूत्र, फोहोरमैला विसर्जन गर्ने, ढलनलको सोझो मिलान गर्ने, सार्वजनिक जग्गा अतिक्रमण, वन फँडानी र बालुवा तस्करहरूको नाजायज तस्करी धन्दा बर्सेनि बढ्दो छ । सयौंको संख्यामा खोलिएका क्रसर उद्योगका कारण नदी दिन प्रतिदिन मरिरहेको छ । यसप्रति कसैको ध्यान गएको छैन ।
कालीगण्डकी दोहनसँगै यहाँ कालीगण्डकी करिडोरअन्तर्गत आसपासका खोल्साखोल्सी, वनजंगल, चौर, ढिस्काढिस्की, सम्पदा क्षेत्र साथै सार्वजनिक स्कुल क्षेत्र आदिको समेत दोहन भएको छ । जताततै डाँडा पहाडहरू विरूप बनेका छन् । आम नागरिकस्तर र राजनीतिक पार्टीहरूका तर्फबाट कालीगण्डकीको पर्यावरण र संरक्षणका लागि नीति बन्न सकेन, राजनीतिको सिद्धान्त बन्न सकेन, कालीको चीत्कार सुन्ने कोही भएन । कालीगण्डकी कहिल्यै राष्ट्रिय मूल मुद्दा बन्न सकेन ।
कालीगण्डकीको जलाधार नचलाऊ
पर्यावरणले मानव जीवनसँग मात्र अर्थ राख्दैन । जल, थल, वायु, अग्नि, आकाश यी पञ्चतत्त्वसँग प्रत्यक्ष जोडिएको हुनाले पर्यावरण अर्थात् चौतर्फी फैलिएको आवरण हाम्रा लागि भन्दा पनि पृथ्वीको पारिस्थितिक सन्तुलनका लागि महत्त्वपूर्ण छ । त्यसैले विकास रोज्नुभन्दा पहिले पर्यावरण रोज्नुपर्ने अहिलेको टड्कारो आवश्यकता हो ।
कालीगण्डकीको पौराणिक महिमा र मानवीय सभ्यतासँग जोडिएको गौरवशाली इतिहास नाश हुने तरिकाले जथाभावी दोहन गर्ने र यसको प्राकृतिक मार्गलाई डाइभर्ट गर्ने, बाँध बाँध्नेजस्ता गतिविधिलाई राज्यले कठोरताका साथ नियन्त्रण गर्नुपर्छ ।
आज कालीगण्डकी बहाव क्षेत्रमा वैध–अवैध गरी सयभन्दा बढी क्रसरहरू चलिरहेका छन् । तीन सयभन्दा धेरै फिरफिरे उद्योगहरू छन् । दर्ताबिना सञ्चालित क्रसर उद्योगले नदीजन्य पदार्थ उत्खनन गर्ने, प्रशोधन गर्ने र क्रसिङ गर्ने काम गर्दै आएका छन् । यी क्रसर उद्योग आन्तरिक राजस्व कार्यालयको अभिलेखमा पनि छैनन् । यसले देखाउँछ– कालीगण्डकी दोहनको जालो कत्रो छ ?
कालीगण्डकी नदी दोहन, डाइभर्सन, बाँधभित्रको खास यथार्थ र कालीगण्डकी सभ्यता र स्थानीय जनजीवनबारे बेग्लै भ्रम फैलाइएको छ । जनसाधारणमा यस नदी प्रणालीबारे अस्पष्टता र विश्वासको संकट छ । त्यसैले तटीय क्षेत्रका जनता झूटो मनोविज्ञानमा बाँचिरहेका छन् ।
कालीगण्डकी संरक्षणमा अझै पनि सचेत इमानदार पहल भएन भने हामी ढिलो भइसक्नेछौं । कालीगण्डकीलाई अस्तित्व संकटबाट बचाउन हामीले थालेको अभियान सबैको साझा होस् भन्ने छ । कालीगण्डकी नदी हाम्रो जीवनको स्रोत हो । नदीको शाश्वत महत्त्व जनजनले बुझौं । र, यसको संरक्षणका लागि सबैले आवाज उठाऔं । कालीगण्डकी सभ्यता बचाऔं ।
