आखिर सबको गन्तव्य एक : गंगा

गंगाका किनार साम्राज्यहरूको उदय र पतनका साक्षी हुन् । लाखौंका निम्ति गंगा नदी मात्रै होइन देवी हुन्, आध्यात्मिक पुनर्जन्मको प्रतीक ।

भाद्र २१, २०८२

शैलीका छेत्री

After all, everyone's destination is one: Ganga

What you should know

नदी पृथ्वीको मुटुको धड्कन हो, जो जीवन अनि तरल ऊर्जाले धड्किन्छ । नदी बगिरहन्छ, रोकिँदैन । यो प्रकृतिको नियन्त्रण गर्न नसकिने गतिशील शक्ति हो, जसले स्वतन्त्रताको बोध गराउँछ । त्यसैले हो, नदीको तरल गति हाम्रो जीवनको लयजस्तै छ– सधैं परिवर्तनशील, तर अनन्त रूपमा स्थिर ।

बौद्ध–ग्रन्थ भन्छ, ‘वर्षाका थोपाहरू पहाडमा खसेर खोल्साखोल्सी हुँदै नदीमा परिणत हुन्छ ।’ त्यसैले पानी आदिम आमा हो, जसको गर्भमा जीवन पलाउँछ । यसको गहिराइबाट अस्तित्व फुट्छ र यसको सारमै जीवन छ । तर, यही पानी रौद्र पनि बन्छ बेलाबेला ।

भारतमा धेरै नदी छन्, तर गंगा नदीको आफ्नै विशिष्टता छ । गंगा भारतको राष्ट्रिय नदी अनि जीवन सिँच्ने, महत्त्वपूर्ण जलस्रोत । हिन्दु मान्यतामा– गंगा नदीलाई भगवान् विष्णुको तरल स्वरूपको शुद्धतम रूप मानिन्छ । गंगा नदीमाथि विमर्श गर्दा मलाई आमले हत्केलाभरि गंगाको जल राखेर मसिनो स्वरमा फुसफुसाएको त्यो प्राचीन स्तोत्रको सम्झना हुन्छ– हे नदी, ऋषि जहनुकी पुत्री/ तिमी पुण्यात्माहरूको उद्धार गर्छ्यौ/तर, उनीहरू आफ्नै सत्कर्मद्वारा उद्धार हुन्छन्/...तिमी आफ्नै काखमा मरेका मानिसलाई समेट्छ्यौ/हे भागीरथी, तिमी सबैभन्दा करुणामयी माता हौ (संस्कृतबाट नेपालीमा रूपान्तरित) ।’

यो स्तोत्र शताब्दीऔंदेखि बंगालको मौखिक परम्पराको हिस्सा हो । तर, प्रिय पाठक ! तपाईंलाई थाहा छ ? यो गंगा स्तोत्र कसले लेखेका हन् ? उत्तर पढेपछि, एकक्षण तपाईं चकित बन्नुहुन्छ । यो कुनै ब्राह्मण वा हिन्दुले होइन, तेह्रौं शताब्दीका एक लेखक ‘दराफ खान गाजी’ ले लेखेका हुन् । र, चाखलाग्दो कुरा, प्रसिद्ध बंगाली भाषाशास्त्री कुमार चट्टोपाध्यायले ‘दराफ खान गाजी’ लाई ‘जफर खान गाजी’ भनेर चिनाएका थिए ।

तिनै गाजी, जो भारतमा इस्लाम धर्मको पहिलो चरणको विस्तारका निम्ति बंगालबाट क्रूर सैनिक अभियान चलाएकाले इतिहासमा बदनाम छन् । जो होस्, हामी त्यही गंगा स्तोत्र सुन्दै हुर्कियौं । मलाई थाहा छ, आमाले घरमा पूजास्थलमा सधैं गाइरहने गंगा स्तोत्रसित अभिमन्त्रित त्यो गंगाको पानी, उनले ‘वाराणसी’ को तीर्थयात्राबाट प्लास्टिकको ठूलो बोतलमा भरेर ल्याएकी थिइन् । र, त्यो उनको गंगाप्रतिको आस्थाको अति प्रिय स्वरूप थियो । ‘वाराणसी’ भन्नेबित्तिकै आमाको आँखा सूर्यको किरण पर्दा गंगाको पानी स्वर्णिम आभासित प्रज्वलित बनेझैं भक्तिरसको उज्यालो जितमा बल्थ्यो । आज म त्यही उज्यालो र न्यानो आभालाई उनको निधनपछि पनि बडो सम्झिने गर्छु ।

म त्यस क्षणलाई पुनः आभास गर्ने चाहमा आमाको प्रिय सहर वाराणसी अनि आध्यात्मिक शक्तिका साथ सहरको मुटुमा बगिरहने उही गंगा नदीलाई एकचोटि अनुभव गर्न तड्पिइरहेको थिएँ । भौगोलिक संरचनाअनुसार, बनारसको (वाराणसी) गंगा नदी विशिष्ट अर्धचन्द्राकार आकार लिएर बनारस सहर वरिपरि बग्छ, जसलाई हिन्दु मान्यतामा महादेवको जटामा सजिएको चन्द्रमासित तुलना गरिन्छ भने कतै ‘ॐ’ कार ध्वनिको साक्षात् स्वरूप मानिन्छ ।

जे होस्, जीवनमा एक पटक बनारस हेर्ने चाहना थियो । त्यसैले मनभरि हजारौं प्रश्नको बोझ लिएर म उही गंगा नदी अनुभव गर्न, देव दीपावलीका दिन बनारस पुगें । सूर्यास्तलगत्तै निम्तिएको झम्के साँझको समय थियो त्यो । गंगा नदीमा अवस्थित घाट अनि नदी किनारहरू लाखौं दियोको उज्यालोमा जीवन्त देखिन्थे । मानौं त्यो कुनै सिपालु चित्रकारको दिव्य सौन्दर्य–क्यानभास हो । गंगा नदीको सतह पग्लिएको सुनजस्तै चम्किरहेको थियो, दियोको उज्यालोमा नदीको पानी चम्किन्थ्यो । प्राचीन सहर बनारसको वास्तुकला त्यो सुनौलो प्रकाशमा अझ मनमोहक लाग्थ्यो ।

मलाई लाग्छ, पानी र प्रकाशको यस्तो अन्तर्क्रिया एक आध्यात्मिक रूपान्तरणको जिउँदो प्रतीक हो । आखिर उज्यालोले नै त आत्माको प्रकाशलाई पनि प्रतिनिधित्व गर्छ । देव दीपावलीको त्यो पावन पर्वमा गंगा नदीका छालहरूसित लाखौं दियो नाचिरहेझैं देखिन्थे । मानौं प्रत्येक दियोको उज्यालोले आत्माको अनन्त यात्राका रहस्यहरू फुसफुसाइरहेका छन् । उहिल्यै आमा भन्नुहुन्थ्यो, ‘गंगाको निरन्तर प्रवाहले जीवन र पुनर्जन्मको चक्रलाई मूर्तरूप दिन्छ ।’

खोइ के भन्नु ! त्यो दिन मणिकर्णिका घाटमा उभिँदा लाखौं दियोको टिमटिमाइरहेको प्रकाशमा मेरी आमाका शब्दहरू प्रतिध्वनि भइरहेजस्तो मलाई लागेथ्यो । ज्वलन्त दियोहरूले भनिरहेका थिए, ‘जीवन एक ज्योति हो, उज्यालो बल्छ, त्यसपछि निभ्छ र केवल अनन्तकालमा पुनः प्रज्वलित हुन्छ ।’ त्यस क्षण मेरो हत्केलामा गंगाको पानी र हृदयभरि मेरी आमाका शब्दहरू मात्रै बाँकी थिए । मैले आँखा बन्द गरें र मौनतामा मबाट हराएको आमाको त्यो प्रेमलाई पुनः अनुभव गर्ने कोसिस गरिरहें ।

आमा अनन्तमा बिलाएको दुई वर्षपछि पनि मभित्रको पीडा बाँकी नै थिएछ । कुन्नि किन मन आमाको प्रतिबिम्बलाई केवल एकचोटि हेर्ने अकल्पनीय चाहमा तड्पिइरहेको थियो । त्यसैले गहिरिएर मैले गंगामा प्रवाहित पानीलाई एकटक हेरिरहें, तर त्यहाँ आमाको प्रतिबिम्बचाहिँ देखिनँ ।

तर, त्यस दिनदेखि गंगा नदीलाई जगत् आमाका रूपमा बुझ्न सकें, जसले अनगिन्ती आत्मालाई मुक्तितर्फ लैजान्छिन् । त्यस क्षण पछि नै हो, मैले गंगाको पवित्र पानीमा उभिएर थाहा पाएँ– मृत्यु अन्त्य होइन तर एक परिवर्तन चक्र हो, जहाँ आत्माको यात्रा जारी रहन्छ, स्वअस्तित्वको खोजीमा अपार–निरन्तर–नदीसरह ।

०००

बनारस गंगा नदीको पश्चिमी किनारस्थित एक प्राचीन सहर, जो ६.४ किलोमिटरभन्दा बढी फैलिएको छ । यहाँ गंगा नदीले तीव्र घुमाउरो घुमाइ लिन्छ, जसले सहर अनि नदीलाई अर्ध–गोलाकार आकार दिन्छ । भनिन्छ– यो आकार प्रायशः शिव देवताको जटामा सजिएको अर्धचन्द्रमा जस्तै छ । विश्वास गरिन्छ, गंगा नदीको पानीले समस्त भौतिक फोहोर र नैतिक पापहरू धोइदिने ताकत राख्छ, त्यसैले होला धेरै बंगाली हिन्दु नदीछेउ मृत्यु नहुनु ठूलो दुर्भाग्य ठान्छन् ।

After all, everyone's destination is one: Ganga

उनीहरू सुन्दर मृत्युका निम्ति नदीको किनारमा कम्तीमा तीन रात बिताउँछन्, नाभिसम्मै पानीमा डुबेर लगातार ‘गंगा नै विष्णुप, गंगा नै ब्रह्म’ जपिरहन्छन् । सन् १८२० को दशकको कुरा हो यो, जतिखेर सूर्य ग्रहणलाई मानिस ‘राहु ग्रहले सूर्यलाई निलेको ठान्थे’ र त्यो प्रक्रिया विफल पार्ने विश्वासमा सूर्यको मन्त्र जपसँगै गंगा नदीमा चुर्लुम्मै डुब्नुलाई भक्तिमार्गको श्रेष्ठ अवस्था सम्झिन्थे ।

यस्तै, विश्वासको साक्षी बन्न लेखक एल्डस हक्सले एक दिन बनारस पुगेछन् । उनले सूर्यग्रहणजस्तो भौगोलिक घटनामा अन्धविश्वासको रंगमा रमेको भारत देखेपछि, निबन्ध ‘बनारस’ मा भारतीय मान्यताको धज्जी उडाए । तर, हक्सलेलाई गंगा नदीको सौन्दर्यले यस्तो मोहित पार्‍यो, उनले गंगामाथि लेखे– सांस्कृतिक तथा आध्यात्मिक महत्त्वको नदी । उनले गंगा नदीमाथि धेरै आलेख लेखे ।

७ औं शताब्दीको भारतलाई चाइनिज यात्री जुआनजाङको आँखाबाट ‘द ग्रेट टाङ रेकर्ड्स’ मा पढ्न सकिन्छ । पुरातन भारतमा जुआनजाङले मानिसहरू गंगा नदीमा डुबेर आत्मदाह गरेको देखे । त्यो थियो– जन्मभरि थुप्रिएको पाप मेटाएर नयाँ र सुन्दर जन्मको परिकल्पनाले गाँजिएको पुरातन भारतको मानसिकता, जो समयसित बदलिँदै गयो ।

अस्ट्रियाली मूलका हिन्दु भिक्षु र भारतीय संस्कृति एवम् भाषाका ज्ञानी स्वामी अगेहानन्द भारतीको कथा पनि यस्तै रोचक छ । लियोपोल्ड फिसर दशनामी संन्यासी हिन्दु भिक्षु बन्न अस्ट्रियाबाट भारतको पुरातन सहर वाराणसी आए, स्वामी विश्विनन्दद्वारा उनको धार्मिक अनुष्ठान गरियो । त्यस समय मणिकर्णिका घाटमा (वाराणसीको ८० घाटमध्ये एक प्रमुख घाट) एक युवती र उसकी मृत शिशुको चिता जलिरहेको थियो ।

गुरुले त्यही चितामा लियोपोल्ड फिसरको दीक्षा–वेदी सजाए । आकाशतिर काला अनि सेता तील छर्किंदै फिसरको ‘अन्त्येष्टि’ कर्मको मन्त्रोच्चारणमा वातावरण गुन्जियो । गुरुले फिसरका शरीरका प्रमुख सात इन्द्रियमा त्यो चिताको खरानी दलिदिए, फिसरलाई गंगा नदीमा डुबुल्की लिन लगाइयो । अबउसो गंगाको गर्भबाट निस्किएका फिसर स्वामी अगेहानन्द भारती थिए, जसले नूतन कायालाई गेरुवा वस्त्रमा सधैंका निम्ति ढाके ।

After all, everyone's destination is one: Ganga

गंगा नदीको पौराणिक र सांस्कृतिक महत्त्व बुझ्ने हो भने पल्लव वंशको शिलाखण्ड मूर्ति ‘गंगा अवतरण’ (जो महाबलीपुरम् तमिलनाडुमा बनेको छ) हेर्नुपर्छ । शास्त्रीय नृत्य ‘भरतनाट्यम’ अनि ‘ओडिसी’ पनि गंगा नदीको पौराणिक कथाबाटै प्रेरित छ भनिन्छ । इतिहासदेखि नै गंगाको किनार हजारौं जीवन, सभ्यता अनि संस्कृति फस्टाउने बाटो बन्यो । गंगाको पानीले युगौंदेखि लाखौं प्राणीको तिर्खा मात्रै मेटिएन, यसले कृषि र उद्योगलाई पनि असाध्यै सहयोग गरिरह्यो ।

यस्तै सन्दर्भमा मिल्दोजुल्दो कथा मुहम्मद बिन तुगलकको छ । मुहम्मद बिन तुगलकले आफ्नो राजधानीलाई दिल्लीबाट दौलताबाद (देवगिरी) सारेपछि उनलाई उत्तरी उपत्यकाबाट धेरै दिन लगाएर भए पनि गंगाकै ‘मीठो’ पानी पिलाइन्थ्यो । उस्तै थियो मुगल सम्राट् अकबरको सोख, जसलाई गंगाको पानीले मात्रै तृप्ति दिन्थ्यो । इतिहास साक्षी छ– जफर खान गाजीले त्रिवेणी तीर्थ र सप्तग्राम बन्दरगाह हत्याएपछि इस्लाम धर्मको प्रचारका निम्ति त्यहाँका प्राचीन मन्दिर ध्वस्त पारेर भव्य मस्जिद निर्माण गरे । तर, गंगाको पानीले गाजीको क्रूर मानसिकतालाई यसरी पखाल्यो कि अन्त्यमा गाजी सुफी साधु बने । संस्कृत भाषा सिकेर जफर खान गाजी हिन्दु र मुस्लिमको साझा संस्कृति प्रस्तुत गर्ने ज्वलन्त उदाहरण बने ।

जान्नेहरू भन्छन्– गंगाको पानीमा उल्लेखनीय आत्मशुद्धि गुण छ । गंगाको पानीमा जीवन बोल्छ र यो जीवनको सारले भरिएको छ । वैज्ञानिक खोज छ– गंगाको पानीमा कम बी.ओ.डी.(जैव रासायनिक अक्सिजनको माग) र उच्च डी.ओ.(घुलनशील अक्सिजन) छ, यो पानीमा लाभदायक सूक्ष्मजीवहरू (ब्याक्टेरियोकेज ः ब्याक्टेरिया मार्ने लाभदायक भाइरस) छन्, जसले पानीको शुद्धता कायम राख्न अथक प्रयास गर्छन् । नदी बग्दै जाँदा, यसको तीव्र गतिको हलचलले पानीलाई वायुमय बनाउँछ र गंगाको पानीमा जीवनदायी अक्सिजन भर्छ । विज्ञान बाहिर पनि गंगाको रहस्य कायमै छ । यो हो– प्रकृतिको चमत्कार र मानवताको श्रद्धाको प्रमाण ।

गंगा नदीका घाटहरू मानिसका निम्ति अन्तिम विश्रामस्थल पनि हो, जहाँ चिताहरू जल्छन् र एउटा जीवन्त कथाको अवशेष खरानीका रूपमा परिणत हुन्छ । त्यही अन्तिम अवशेष गंगाले आमासरह पानीको सतहरूपी वक्षस्थलमा अँगाल्दै, अनन्ततिर विलीन गराइदिन्छिन् । जब नश्वर अवशेषहरू गंगाको पानीमा विलीन हुन्छन्, ती पृथ्वीसँग एक हुन्छन् । र, माटोबाट जन्मेका हाम्रा शरीर माटोमै फर्किन्छ, अनन्तः प्रवाहमा विलय हुन्छ ।

हिन्दु मान्यता छ– गंगा किनारमा मृत्यु हुनुले मोक्षको ढोका खोल्छ । त्यही मोक्ष, जसलाई निर्वाण प्राप्तिपछि बुद्धले ‘निर्वाण’ भने । र, त्यो नै पुनर्जन्मको चक्रबाट मुक्ति दिने एक मात्रै बाटो थियो ।

हिन्दु धर्म–ग्रन्थमा लेखिएका मान्यताले भन्छन्– गंगाको पानीमा पुनर्जीवित पार्ने शक्ति छ । लाग्छ, आफ्नै गतिमा निरन्तर बग्दै जाँदा, यसले आफू बगेका किनाराभरि आध्यात्मिक ज्ञान नवीकरण अनि मुक्ति खोजिरहेका अतृप्त प्राणीका निम्ति आशा र सपना पनि बोकेर बगिरहेको छ ।

नदी मानव अस्तित्वको गहन र जटिल प्रकृतिलाई प्रतिबिम्बित गर्ने त्यो माध्यम हो, जहाँबाट अनगन्ती जीवनले प्रेरणा अनि रूपान्तरणको शक्ति पाएको हुन्छ ।

प्रकृतिलाई ईश्वर मान्ने हो भने गंगा पुजनीय छिन् । गंगा–पूजा भारतीय उपमहाद्वीपको विविध सांस्कृतिक परिदृश्यमा सदियौंदेखि कायम रहेको एक स्थायी विशेषता हो, जहाँ गंगालाई देवीका रूपमा पुजिन्छ । गंगाको स्थायी निवास उच्च हिमालयको हिमानी (ग्लेसियर), जो गर्वाल हिमालय (उत्तराखण्ड) मा छ भन्ने विश्वास गरिन्छ । गंगाको त्यो शिर समुद्री सतहदेखि २० हजार फिट उचाइमा छ । त्यहाँबाट गंगोत्री बग्दै–बग्दै गहिरो खोल्सामा हराउँछ । तीर्थयात्रीहरू त्यही विशाल हिमनदी हेर्न पहाडको चढाइ गर्छन्, जो अत्यन्तै कठिन छ ।

After all, everyone's destination is one: Ganga

झाडीहरू र अस्तव्यस्त बाटो हुँदै त्यो पुरानो ग्लेसियर उपत्यका पुगिन्छ, जहाँको बाटो एकदमै साँघुरो र डरलाग्दो देखापर्छ । चट्टानछेउ हुँदै गइरहेको अप्ठेरो बाटो हिँडेपछि हिउँले ढाकिएको बाटो भेटिन्छ, जहाँ हिँड्दै जाँदा खुट्टाहरू हिउँमा एकाएक गाडिन्छन् । त्यो गर्वाल हिमालय पुग्दा यात्रीले हिमाली फूल, झार र पर्खालजस्ता चट्टानी बनावटले सजिएको स्वर्णमय संसार भेट्छन्, जहाँ पवित्र नदीको अवतरण हुन्छ । त्यसैले गंगा केवल नदी होइन, एक दार्शनिक सीमारेखा पनि हो, जसको शुद्धतम् पानीले मानवतालाई आध्यात्मिक, सांस्कृतिक अनि भौतिक पोषण दिइरहेको छ ।

२५२५ किलोमिटर लामो नदी गंगाका उद्गम बुझ्ने हो भने हामीले हिमालयस्थित ग्लेसियर बुझ्नुपर्ने हुन्छ । पहिलो गंगोत्री अनि सन्तोपत ।

गंगोत्री हिमानीमा एउटा खोल्सा छ– गोमुख, जहाँबाट हिउँ पग्लिएर भागीरथी नदीको उद्गम हुन्छ । भागीरथी नदीको गति बडो वेगपूर्ण हुन्छ, जुन खतलिङ्ग हिमानीबाट उद्गम नदी भिलांगना मिलेपछि झन् भयंकर बन्छ । भागीरथी नदीको यस्तो विकराल चाल देखेर उत्तराखण्डका लोककथामा नदीलाई ‘सासू’ उपनाम दिइएको छ ।

उही बद्रीनाथ मन्दिरछेउको संतोपत हिमानीबाट हिउँ पग्लिएर जन्मन्छ– विष्णुगंगा नदी । उत्तराखण्डको कामेत हिमालबाट पग्लिएको हिउँबाट उद्गम अर्को नदी धौलीगंगा विष्णुगंगा अर्थात् विष्णुप्रयाग नदीमा आएर मिल्छ । दुई नदीको गहिराइ एकै भएकाले अबउसो नदीको नामकरण हुन जान्छ– अलकनंदा ।

अलकनंदाको चाल छ– बडो शान्त । उत्तराखण्डको लोक–कथामा अलकनंदाको उपनाम छ– ‘बुहारी’ ।

लोक–कथाले बताउँछ– बडो भयंकर वेगसित पहाडको बाटो हिँड्दै आएको ‘सासू’ अर्थात् भागीरथी नदी र ‘बुहारी’ अर्थात् अलकनंदाको शान्त स्वभावले ‘देवप्रयाग’ मा आएपछि एकअर्कालाई स्विकार्छन् । अबउसो यी दुई नदीको संगमपछि बग्ने नदीलाई नाम दिइन्छ– ‘गंगा’, जसको कथा भारतको बंगाल खाडीमा आएर मात्रै अन्त्य हुन्छ ।

जब नदी समुद्रमा विलय हुन्छ, उसले आफ्नो व्यक्तिगत नाम अनि पहिचान गुमाउँछ । समग्र जीवन–यात्रा सकिएपछि आफ्नो अस्तित्व गुमाउँदै मानिस पनि ब्रह्माण्डमा एकाकार हुन्छ ।

‘रामायण’ का लेखक वाल्मीकिले गंगा नदीको पानीलाई पवित्र र मृत शरीरको अन्तिम गन्तव्य भएको बताए । गंगालाई ‘पृथ्वीको काखमा चम्किने एक उज्यालो माला, जसले स्वर्गतर्फको बाटो देखाउने प्रकाशको काम गर्छ’ भनेर सम्बोधन गरे । गंगा आफ्नो गर्भगृहमा प्राचीन कथा र किंवदन्ती बोकेर बग्छ । ऋषि जहनुले आफ्नो आश्रमलाई गंगाको अशान्त पानीबाट बचाउन सम्पूर्ण नदी पिए भन्ने पौराणिक कथा छ । भगवान् शिवको जटामा बाँधिएर पृथ्वीमा जीवन र मुक्ति ल्याउन शान्त बगिरहेको गंगा, शान्तनुको प्रेम र भीष्मको भाग्योदय ! कथैकथाहरू बोकेर अनन्तकालदेखि बगिरहेकै छ– गंगा ।

गंगाका किनार साम्राज्यहरूको उदय र पतनका साक्षी हुन् । लाखौंका निम्ति गंगा नदी मात्रै होइन देवी हुन्, आध्यात्मिक पुनर्जन्मको प्रतीक । उसको प्रवाहमा विगत र वर्तमान बग्छ ।

जवाहरलाल नेहरूले विख्यात पुस्तक ‘डिस्कभरी अफ् इन्डिया’ मा लेखेका छन्, ‘गंगाको कथा वास्तवमै भारतको सभ्यता र संस्कृतिको कथा हो ।’ नेहरूले अन्तिमकालमा बाल्यकालको घर (अलाहाबाद) नजिकै गंगामा आफ्नो अस्थी विसर्जन गरियोस् भन्ने इच्छा व्यक्त गरेका थिए ।

After all, everyone's destination is one: Ganga

गंगा नदीमा सिँचाइ र बाढी नियन्त्रणका लागि बनाइएका दुई विवादास्पद बाँधले नदीको प्रवाह अवरुद्ध भएको छ । एक हो ‘फरक्का बाँध’, जो भारतबाट बंगलादेश प्रवेश गर्ने गंगाको पूर्व शाखामा बनाइएको छ । गंगाको पानी बाँडफाँटको विवादका कारण भारत र बंगलादेशबीच दशकौंदेखि तनाव छ । गंगाको पानी, जो पहिले शुद्ध अनि निर्मल कहलाउँथ्यो, अहिले प्रदूषणको विषाक्तपनमा निस्सासिएको छ । औद्योगिक फोहोर अनि ढल प्रणालीका विषाक्त मलले यसको प्रवाहलाई मलिन तुल्याएको छ । यसरी गंगा मानवीय र औद्योगिक प्रदूषणको भार बोकेर कहिलेसम्म बाँच्न सक्छ ?

अब भारतका १३ नदीहरू पूर्ण रूपमा सुकिसकेका छन् । भारतका लोप हुँदै गइरहेका नदीहरू, जुन पहिले जीवनले भरिएका थिए, अब बिर्सिएको कथाजस्तो बनिसकेका छन् । भारतका अधिकांश जनताको प्रिय नदीको शारीरिक मृत्यु सोच्नै नसक्ने विषय हो । अब प्रिय जलमार्गहरूको पुनरुत्थान, नवीकरण र पुनर्जीवनबारे गम्भीर विमर्श हुनुपर्छ ।

शैलीका छेत्री

Link copied successfully