पाइलटको जीवनरेखा हो– नदी । तिनलाई नदीले नै मार्ग देखाउँछ । ती पहाड हेर्दै नदीसँगै उड्छन्, तालमेल मिलाउँदै सुरक्षित मार्ग खोज्छन् ।
What you should know
सुर्खेतबाट कार्गो बोकेर हुम्ला पुगेको मकालु एयरको सिंगल इन्जिनयुक्त सेस्ना क्याराभान विमान रित्तै फर्किंदै थियो । सिमकोट विमानस्थल टावरले ‘क्लियर टु टेकअफ’ भनी अनुमति दिएपछि को–पाइलट प्रशान्त शाहले रित्तो जहाज सुर्खेतका लागि उडाए ।उनको छेवैमा थिए– क्याप्टेन सांगे लामा । दिउँसो पौने ४ बजेको थियो । सिमकोटको मौसम सफा थियो । ९ हजार ५ सय फिट उचाइको धावनमार्गबाट उडेको सेस्ना क्याराभान रित्तो भएकाले दुवै पाइलटलाई कार्गो वा यात्रु हुँदाजस्तो ‘अतिरिक्त तनाव’ थिएन।
दुवै पाइलटको उमेर ३० को आसपास । आकाश र बादल उनीहरूको घरजस्तै । त्यस दिनका लागि त्यो चौथो उडान थियो । उडान सुरु भएको जम्मा चार–पाँच मिनेट मात्रै भएको थियो । जहाज सिमकोट विमानस्थलबाट १८ किलोमिटर वर दक्षिणमा ११ हजार ५ सय फिट उचाइमा उक्लिँदै थियो । एकाएक भ्याट्टै इन्जिन फेल भयो । घुमिरहेको जहाजको एक मात्रै पखेटा (सिंगल इन्जिन) स्थिर भयो । जहाज अब उक्लिने होइन, तलतिर झर्न थाल्यो ।
जहाजको कमान्ड फटाफट क्याप्टेन सांगेले आफ्नो नियन्त्रणमा लिए । को–पाइलट प्रशान्तलाई बाहिर हेरेर मद्दत गर्न भने, ज्यान जोगाउनु पहिलो जिम्मेवारी भयो । ‘कता जाने ?,’ नआत्तिकनै क्याल्कुलेट गर्न थाले, ‘उडानलाई सुर्खेतसम्म निरन्तरता दिन नसकिने भयो । इन्जिन बन्द हुनुअघिको गतिले सिमकोट विमानस्थलमा फर्किन त सकिन्थ्यो तर जहाज फर्किहाले पनि ९ हजार ५ सय फिटभन्दा तल झर्ने क्रम सुरु भइसकेकाले धावनमार्गमा टेक्न सक्ने अवस्था नहुने भयो । अब कर्णाली नदीमा फोर्स ल्यान्डिङ गर्नुपर्ने एक मात्रै विकल्प बाँकी रह्यो ।’
जहाज तल झर्दै थियो । सिमकोट विमानस्थलमा फर्कने प्रयास असम्भव भएपछि इन्जिनबिनाको जहाजलाई चट्टान, खोंच, पहाड र अग्ला रूखबाट जोगाउँदै उनीहरूले कर्णालीमा फोर्स ल्यान्डिङ गर्ने निर्णय लिए । इन्जिनको आयल सिस्टममा खराबी आएकाले अगाडिको भागबाट छरपस्ट भएको तेलका बाछिटाले ककपिटको सिसा फोहोर भइसकेको थियो ।
नदीलाई नै जीवनरेखा मानेर सेस्ना क्याराभान सिमकोट विमानस्थलमुनि भएर उत्तरतर्फ उड्यो । तर, पाइलटहरूले फोहोर ककपिटको सिसाबाट अगाडि राम्ररी देख्न सकिरहेका थिएनन् । ‘हेर है खाली बगर कतै छैन ?’ जहाजको नियन्त्रण सम्हालेका क्याप्टेन सांगेले प्रशान्तलाई भनिरहे । केही सेकेन्डको अन्तरालमा क्याप्टेनले बडेमानका ढुंगा नभएको कर्णाली नदीको खाली बहावमा जहाज झार्ने प्रयास गरे तर सकेनन् । पहिलो प्रयास असफल भएपछि ‘फेरि ट्राई गर्छु,’ भनेर क्याप्टेनले दोस्रो प्रयासमा केही माथि जहाजको पछाडिको भागले पानी छोए । पानीको वेग र जहाजको शक्तिको विपरीत बलले ब्रेकको काम गर्यो । केही क्षणपछि जहाज पानीमाथि छड्के परेर अवतरण हुँदै डुब्यो ।
त्यहाँ अवतरण गराउनुअघि नै दुवैले ‘पानीमा जहाज तैरिएसँगै ढोका खुलोस्’ भनेर लक तानिसकेका थिए । जब जहाजको अगाडिको भागबाट पानी भित्र पस्यो तब ढोका खुल्यो । सबैभन्दा पहिले प्रशान्त उफ्रिए, त्यसपछि सांगे । १२ करोडको जहाज पानीमै डुब्यो । कर्णालीमा जहाज डुबाएर पौडी काट्दै दुवै पाइलट बाँच्न सफल भए ।
२०७२, चैत २६ मा भएको यो घटना नदीमाथि फोर्स ल्यान्डिङको नेपालको पहिलो घटना थियो । घटना देशैभर समाचार शीर्षक बन्यो– नदीले पाइलटलाई जोगायो । सन् २००९ मा न्युयोर्क अमेरिकाको हडसन नदीमा भएको यूएस एयरवेजको दुर्घटनासँग पनि यो घटना तुलना गरियो । उक्त घटनामा पनि सबै १ सय ५५ यात्रु र चालकदलका सदस्य बाँच्न सफल भएका थिए ।
यति बेला नेपाल वायु सेवा निगमको न्यारोबडी जहाज उडाउने तयारीमा छन्– प्रशान्त । उनका अनुसार, क्याप्टेन सांगे भने अहिले अमेरिकामा बोइङ– ७६७ कार्गो विमान उडाइरहेका छन् ।
त्यस बेला ‘यदि नदी नजिकै नभएको भए के हुन्थ्यो होला ?’ सायद दुःखद खबर ! किनकि त्यो दुर्घटनाभन्दा डेढ महिनाअघि (२०७२ फागुन १४) ९ यात्रु बोकेर नेपालगन्जबाट जुम्लाका लागि उडेको ‘एयर काष्ठमण्डप’ को सिंगल इन्जिनयुक्त जहाज कालीकोटको चिलखायामा इन्जिनकै समस्याका कारण बारीमा फोर्स ल्यान्डिङ गराउँदा पाइलट दिनेश न्यौपाने र सन्तोष रानाले ज्यान गुमाएका थिए । त्यो दुर्घटनाको अनुसन्धानमा संलग्न पाइलटका अनुसार, बारीको डिलमा जहाजको अगाडिको भाग नठोक्किएको भए वा खोलामा ‘फोर्स ल्यान्डिङ’ गरेको भए यो दुर्घटनामा क्याप्टेन र को–पाइलट पनि जोगिन सक्थे ।
नेपालमा ५५ वटा विमानस्थल छन्, ५२ आन्तरिक र तीन अन्तर्राष्ट्रिय । यीमध्ये १३ वटा कच्ची धावनमार्ग छन् भने २८ वटा कालोपत्र । तर, सबै विमानस्थल सक्रिय छैनन्, ९ वटा बन्द छन् । टीकापुर, कांगेलडाँडा, मेघौली र कमल बजारजस्ता ठाउँमा धावनमार्ग त छन् तर जहाज उड्दैनन् । नेपाल वायु सेवा निगमको ३७ वर्ष जहाज उडाएर हालै अवकाशप्राप्त पाइलट रवीन्द्र शेरचन भन्छन्, ‘तराईबाहेक हाम्रो हिमाली र दुर्गम भेगका ९० प्रतिशत विमानस्थल खोलाको छेउमा छन् । हामी खोलासँगै उड्छौं, नदी र पहाड हेरेर । तालमेल मिलाएर सुरक्षित मार्ग खोज्छौं ।’
नेपाल नागरिक उड्डयन प्राधिकरणका उपप्रबन्धक (एटीसी) ज्ञानेन्द्र भुल भन्छन्, ‘यात्रुलाई लाग्दो हो, जहाज र पाइलट भए उडान भइहाल्छ । तर, एउटा सुरक्षित उडान हुन आधारभूत प्रणाली, कम्युनिकेसन, नेभिगेसन, मौसम जानकारी, सुरक्षा सबै तत्त्व मिल्नुपर्छ । हिमाली उडानमा पाइलटहरू एयर ट्राफिकसँग संवाद नगरी, मार्गनिर्देशनबिना, नदीको पठारभित्र कडा हिमालबीचबाट वर्षौंदेखि उड्दै आइरहेका छन् । आधुनिक उपकरण छैनन् । वर्षौंदेखि साना जहाज, हेलिकोप्टर खोला, पर्वत, पोखरी र वनका प्राकृतिक ल्यान्डमार्कहरूमा भरोसा गरेर एक बिन्दुबाट अर्को बिन्दु हुँदै गन्तव्यमा पुग्ने/फर्किने गर्दै आइरहेका छन् ।’
हेलिकोप्टर पाइलट विवेक खड्का भन्छन्, ‘हामी उड्डयनकर्मीको जीवनरेखा नदी हो । आँधी, हिउँ, वर्षाले सडक बाटो बन्द भइहाले दार्चुला, मुस्ताङ, ताप्लेजुङ पुग्न नदीबिना असम्भव हुन्छ । हामी नदीको मुड, बहाव सबै चिन्दछौं । नदीले हामीलाई मार्ग देखाउँछ । हामी त्यसैलाई फलो गर्छौं ।’
काठमाडौं कुलेश्वरका ८१ वर्षीय क्याप्टेन बीएम अमात्य (जसले २०२३ सालमा शाही नेपाल वायु सेवा निगमको डकोटा विमान उडानबाट पाइलट पेसा सुरु गरेका थिए) सम्झिन्छन्, ‘पहिले घाँसे मैदानमा जहाज लैजाँदा न हवाई अड्डा हुन्थ्यो, न टावर । एटीसी पनि पर्याप्त थिएनन् । न हावाको गति नाप्ने यन्त्र नै । विमान र एटीसीबीच कुनै सञ्चार थिएन ।’
त्यस्तो अवस्थामा नदीहरूले जहाजलाई स्थिति, उचाइ, गति मिलाउन सहयोग गरे । पूर्वाधार नभएका गाउँहरूमा जहाज लैजान नदीको ठूलो भूमिका रह्यो । ‘आज पनि त्यही अवस्था छ । हिमालमा उड्दा पाइलटहरूले कर्णाली, तिला, सेती, महाकाली, दूधकोशी, सुनकोशी, अरुण, तमोर नदीहरूमाथि उड्नुपर्छ । यी नदीहरूबिना दुर्गम आकाशमा साना जहाज र हेलिकोप्टरको यात्रा असम्भव हुन्छ । नदी नै हाम्रो मार्गनिर्देशक र जीवनरेखा हो,’ अमात्य थप्छन् ।
साना विमान र हेलिकोप्टर प्रेसराइज्ड नभएकाले १२ हजार ५ सय फिटभन्दा माथि उड्न सक्दैनन्, त्यहाँ अक्सिजन पाइँदैन । त्यसैले जहाजहरू नेपालका अग्ला हिमाल र पर्वतमाथि भएर उड्नुभन्दा नदीहरू पछ्याउन सहज मान्छन् । पाइलटहरू खोला तरेर, डाँडा काटेर उपत्यका प्रवेश गर्छन् । ती डाँडाहरूलाई उनीहरूले आफ्नै भाषा र अनुभवअनुसार नाम दिएका छन् । जस्तो हुम्लामा ‘भर्जिन पास’, लुक्लामा ‘लामजुरा पास’, सिमराको बागमती नदीको दुईतिरका पहाडबीचको गल्छी ‘सिमरा पास’, पूर्वतिर सिन्धुली र जनकपुर अनि जुम्ला र ढोरपाटनतिरको मार्गमा ‘ह्विस्की पास’, ‘ढोरपाटन पास’ ! यी सबै पाइलटहरूको जीवनरेखा बनिसकेका छन् ।
‘उडानमा पाइलटहरू नदी हेर्छन् । खोला कुन दिशा तर्छ, कुन डाँडामाथि काटेर जान सकिन्छ भनेर आँखा–आँखा मिलाएर योजना बनाउँछन्,’ २२ हजार घण्टा आकाशमा बिताएका वरिष्ठ क्याप्टेन फिजुनाथ नेपाली भन्छन्, ‘जहाज कति उचाइमा राख्ने, गति कति राख्ने, कुन बिन्दुमा ट्विस्ट लिनुपर्ने भनेर सबै कुरा नेपाली पाइलटहरूमा ज्ञान बनिसकेको छ, अनुभवबाट ।’
नदी पछ्याउँदै फिजुनाथ पनि थुप्रै पटक निगमको टुइनअटर, सीता एयरको डोर्नियर लिएर नेपालका कुनाकन्दरा पुगे, सयौं उडान गरे । तर, पश्चिममा जाँदा उनलाई कर्णाली र सेती नदीले कतिपय समयमा झुक्याइदिएको सम्झिन्छन् । ‘डोटीबाट बगेर आउने सेती र बाजुराबाट बगेर आउने बूढीगंगा एकैसाथ कर्णालीमा मिसिन्छन् । म केही पटक साँफे जानुपर्ने, डोटी पुगेको छु । डोटी जानुपर्ने, साँफेबगर उत्रिएको छु ।’
