तिमी कहिले मखमली, कहिले सांसारिक

चालीस नलागुन्जेल जीवन बुझ्नभन्दा भोग्न मजा लाग्थ्यो, अहिले भोग्नभन्दा बुझ्न मजा लाग्छ । जीवन उही हो, उमेरका छालहरू फरक–फरक हुन्छन् । किनारहरू बन्दै भत्कँदै र भत्कँदै बन्दै गरिरहेका हुन्छन् । 

भाद्र १४, २०८२

अमर न्याैपाने

You are sometimes velvety, sometimes mundane

What you should know

प्रिय झरी (प्रतीक्षा) ! तिमी बारबार भन्थ्यौ, ‘मलाई प्रेमपत्र लेख्नु न ।’ एक दिन यसै फ्यास्स भनिदिएँ, ‘के भनेर लेखूँ ?’ ‘ठेलीका ठेली लेख्नीलाई दुई–चार पाना लेख्न आउन्न ?’‘मसँग नरिसाऊ न, ‘अनि मोबाइल देखाउँदै भन्थें, ‘बरु योसँग रिसाऊ ।’‘योसँग त किन रिसाउनु ? यसैले गर्दा मन लागेको बेला बोल्न पाइन्छ ।’

‘यसैले त हो, चिठी लेख्न नदेको । चिठीको जमानामा खबर पुग्न हप्तौं लाग्थ्यो, अहिले त नम्बर डायल गर्‍यो, बोल्यो । चिठी लेख्ने धैर्य नै यसले खाइदियो र फ्याँकिदियो । अझ अनुहार हेर्दै पनि बोल्न पाइन्छ । मन र वाइफाई दुवैको कनेक्सन भने चाहिन्छ ।’

‘तैपनि, कागजमा हातले लेखेको कुरा पढ्नुको मजा अर्कै हुन्छ । हातले लेखेको अक्षरमा मुटुको कनेक्सन हुन्छ । मुटुबाट आएको रगतले औंलामा बसेर कलमलाई हृदयको कुरा भन्न लगाउँछ ।’

मैले फुर्क्याउने शैलीमा तर सत्य भनें, ‘मीठो कुरा भन्यौं । मेरो मन र जीवन नै तिम्रा लागि प्रेमपत्र भइसक्यो अब । 

तिमी मेरो मन पढ, जीवन पढ । एकैछिनमा पढेर सकिने प्रेमपत्रभन्दा जति पढे पनि नसकिने प्रेमपत्र पढ । मन र जीवन जस्तो लामो, महत्त्वपूर्ण र ठूलो प्रेमपत्र अरू के हुन सक्छ र ? मलाई तिमी हरेक दिन, हरेक घडी, हरेक पल पढ । प्रत्येक पलका पत्रमा तिमीले फरकफरक अनुभूति गर्नेछौ । मेरा पाइलाहरूले जीवन लेख्दै जाँदा आफूलाई मात्र होइन, तिमीलाई पनि लेखिरहेको हुन्छु । त्यो पनि पढ । म पनि तिमीलाई यसरी नै पढ्छु, पढ्दै छु । अहिले त हामी एकअर्कालाई यसरी नै पढ्ने र बुझ्ने जीवनसाथी ।’ 

मेरो कुरा तिमीलाई गुलियो लाग्यो तर मन परेन र भन्यौ, ‘उहाँ भने लेखक रे ! दुई–चार पानाका लागि पनि... !’

‘यी पुस्तकहरूमा तिमी पनि त छौ, जसरी म छु । अब आउने किताबहरू पनि हाम्रो जीवनांश हुनेछ ।’

तर, तिम्रो चित्त नबुझेपछि मैले भनें, ‘कुनै दिन सरप्राइज दिन्छु ।’

०००

धेरैजसो समय तिम्रो र हाम्रो सन्तानका बारेमा नै केही न केही सोचिरहेको हुन्छु । तिमीलाई थाहा छ, म तत्काल खुल्दिनँ । मेरो एउटा सीमा छ– कुनै पनि कुरालाई केही समय आफूभित्रै लुकाउने, लुकाएरै पकाउने, भर्सिन दिने, अलिअलि सेलाउने अनि मनतातो भएपछि मात्र पस्कने । कहिलेकाहीं चिसो पनि हुन्छ । तर, तिमी हतारिन्छौ, कर गर्छ्यौ– लागेको कुरा तत्काल भनोस्, तत्काल निर्णय दिओस्, तत्काल प्रतिक्रिया दियोस् ।

यस सवालमा म तिमीभित्र अनेक मानिस देख्छु :

कहिले केटाकेटी देख्छु केटाकेटीकी आमा भइसकेर पनि पनि तिमी बेलाबेला केटाकेटी हुन्छ्यौ । छुकछुके, चञ्चले अनि एकदमै काँचा, तर अबोध लाग्ने कुरा गर्छ्यौ । त्यति बेला लाग्छ, तिमी र म गाईभैंसी हेर्दै बारीको डिलमा माटोका डल्लाहरू जोड्दै घर बनाउँदै छौं, माटोकै भात पकाइ खेलिरहेका छौं, पातलाई कहिले पैसा कहिले पात्र बनाइरहेका छौं । त्यो बेला तिमी आफ्नो उमेर बिर्सेर केटाकेटी भएकी हुन्छ्यौ ।

तिम्रो मन छिनछिनमा चन्द्रमा भन्दा चाँडै बदलिएको कहिले मोह भावमा कहिले अमोह भावमा हेर्छु र त्यसलाई आत्मसात् गर्ने प्रयत्न गर्छु । चन्द्रमाको शीतलता र चञ्चलताले म मोहमा पर्छु र त्यो मोहलाई मह बनाउने प्रयत्न गर्छु, जसरी मौरीले फूलको रसबाट मह बनाउँछ । 

यसरी मह बनाउने क्षमता मसँग भन्दा तिमीसँग धेरै छ । त्यही मह हामी कहिले पानीमा, कहिले दूधमा मिसाएर एकअर्काको मनलाई खुवाउँछौं । यसले हाम्रो मनलाई स्वस्थ बनाउँछ ।तन स्वस्थ हुनु जत्तिकै मन स्वस्थ हुन जरुरी छ । तन र मन स्वस्थ भए जीवन स्वस्थ बन्छ ।

तिमीलाई कहिले अमोह भावमा हेर्छु– सानासाना कुरामा पनि ठूलो रिस उठेको, ठूलाठूला कुरामा पनि सानो रिस उठेको । साना कुराले उठेको रिस सानै कुराले थुचुक्कै बसेको । समुद्रको लहरझैं उठ्छ र त्यही लहरझैं बस्छ । यसरी चाँडैचाँडै तिम्रो रिस उठबस गरिरहँदा एकैछिनमा थाकेको हेरिरहन्छु ।

कहिले प्रौढ देख्छु लाग्छ, एक निवृत्त प्राध्यापक मेरो अगाडि छन् । उनले पूर्वीय र पाश्चात्य साहित्य तथा दर्शनका बारेमा मलाई प्रवचन दिन उभिएकी छन् । उभिन गाह्रो भएर फेरि कुर्सीमा बसेकी छन् । त्यहाँ पनि बस्न नसकेपछि ओछ्यानमै पल्टिएर प्रवचन दिन थाल्छिन् । त्यसपछि केही समयमा नै प्रौढपन उत्रिन्छ अनि कि केटाकेटी जस्तै भइदिन्छ्यौ कि आफ्नै उमेर जस्तै ।

कहिले साधिका देख्छु मानूँ उनी एकाएक सन्तसाधिका भइन् । उनले सूक्ष्म दृष्टि लगाएर सारा सृष्टिको रहस्यबोध गर्दै छिन् । अध्यात्म, आकाश, आत्मा, कैवल्य जस्ता रहस्यमय र गहिरा विषयमा प्रवचन दिँदै छिन् ।

केही समयमा नै फेरि आफ्नै उमेरमा फर्केर मखमली हुन्छ्यौ र सांसारिक हुन्छ्यौ । कहिलेकाहीं त अभिनय जस्तै लाग्ने तिम्रा यी भूमिकाहरू देखेर त्यसलाई सूक्ष्म अनुभूति गर्ने प्रयत्न गर्छु । यो स्वाभाविक लाग्छ, हामी जस्तो चिन्तन गर्छौं त्यस्तै हुन्छौं । तर, सबैभन्दा बढी आफ्नै उमेर र अनुभव जस्तै हुन्छौं । 

000

माथि साधिकाको कुरा गरें । कहिले तिमी काम, क्रोध, लोभ, मोह, मायालाई केलाएर अलगअलग बनाउँछ्यौ, कहिले एकै ठाउँमा मिसेर ध्यानसँग जोड्छ्यौ । साधनासँग जोड्छ्यौ । तर, तिमी यसमा पनि धेरैबेर टिक्न सक्दिनौ र फेरि केटाकेटी हुन्छ्यौ । मलाई त्यही केटाकेटीपन मन पर्छ । केटाकेटीहरूले गरेका गल्ती पनि मीठा हुन्छन्, नमिलेका शब्द र वाक्यहरू पनि गुलिया हुन्छन् ।

प्रेमपत्र लेख्न बसेको छु, फेरि ध्यानमै मेरो ध्यान गयो । दुई महिनाअघि जीवन विज्ञानको ध्यानमा बस्दा धेरै आकाश र त्यहाँ चम्किरहेको तारा जस्तो मनलाई शान्ति दिने ज्योति कल्पिएँ र तिमीलाई सम्झिएँ । तिमीलाई पनि ल्याउने थिएँ । बाबु सानो भएकाले वात्सल्य जस्तो ठूलो ध्यान अरू हुँदैन भनें ।

म पनि लेखन मात्र होइन, आफ्ना हरकर्मलाई ध्यानसँग जोड्ने प्रयास गर्छु । तिम्रो जोडाइ र मेरो जोडाइको जोड नै हाम्रो जीवन हो । ध्यान हो ।

000

मुख्यतः आफूभित्रको भाव अनि यसले निर्माण गरेका स्वभावका कारण होला, मखमलीबाट क्रमशः उमेर बैजनी हुँदै जाँदा अचेल लाग्छ– माया, प्रेम, सम्बन्ध, सृष्टि जस्ता तत्त्वलाई अध्यात्म र दर्शनसँग जोडेर हेरुँ । चालीस नलागुन्जेल जीवन बुझ्नभन्दा भोग्न मजा लाग्थ्यो, अहिले भोग्नभन्दा बुझ्न मजा लाग्छ । तर यी कुरा हाम्रो हातमा हुँदैनन् । 

जीवन उही हो, उमेरका छालहरू फरकफरक हुन्छन् । किनारहरू बन्दै भत्कँदै र भत्कादै बन्दै गरिरहेका हुन्छन् । 

000

तिमीलाई प्रकृति मन पर्छ । करालो परेको पहाड, जो पूर्वतिर फर्किएको होस् । उत्तरतिरको हिमाल पनि देखियोस्, दक्षिणतिरको घाम पनि लागोस् । आफ्नै जमिनमा कतै ढुंगाको कापबाट पानीको मूल फुटोस् । घर ढुंगा, माटो र काठको होस्, छानो खर या बाबियोको होस् । 

अहिले काठमाडौंमा बस्छौं । यहाँ रुखभन्दा अग्ला घर छन्, गाउँमा घरभन्दा अग्ला रुख हुन्छन् । सहरमा घरहरूले रुखलाई घाम छेकिदिन्छन् र तिनलाई भोकै पारिदिन्छन् । गाउँमा रुखहरूले घर छेकिदिन्छन् र चर्को घामबाट छानो अनि भित्ताहरूलाई जोगाउँछन् ।

तर, मन पराएर मात्र कहाँ हुन्छ र ? मलाई पनि त्यस्तै मन पर्छ । फेरि तिमी व्यवहारतिर फर्किन्छ्यौ र भन्छ्यौ, ‘पढाइ यतै छ, कमाइ यतै छ, काम यतै छ, मुकाम यतै छ । तर बुढेसकाल त गाउँमै बिताउने हो ।’

– तिमी बूढी हुँदा तिमी बस्ने भनेको गाउँ सहर भइसक्यो भने ?

– अर्को गाउँमा बस्ने नि ।

– अर्को गाउँ पूरै बस्ती उठेर वन भइदियो भने ?

– गाउँ त रुखबिरुवा र खेतीपातीले कविता लेख्ने ठाउँ हो । अर्को गाउँ वन भए पनि त्यसकै आडमा अर्को गाउँ हुन्छ । त्यहीं बस्नुपर्छ, हामी ।

कल्पना गर्न सजिलो छ । कल्पनालाई कर्म बनाउन र कर्मलाई परिणाम बनाउन धेरै मिहिनेत गर्नुपर्छ । 

You are sometimes velvety, sometimes mundane000

कतै यात्रामा जाँदा होस् या एकान्तमा बस्दा होस् तिमीले भनेकामध्ये मनमा आइरहने एउटा कुरा छ, ‘स्कुल पढ्दादेखिको मेरो सपना थियो । मेरो जीवनसाथी लेखक होस् । उनी लेखिरहून् म हेरिरहूँ । उनी पात्रसँग खेलून् म उनीसँग खेलूँ, लेख्दालेख्दै उनले मतिर आँखा उठाऊन् । त्यो बेला हाम्रा आँखा जुधून् । त्यही बेला म उनका आँखामा डुबूँ र मनमा पुगूँ । 

खुब पौडी खेलूँ । र, किनारमा बसेर त्यही पोखरीमा आफ्नो अनुहार हेरुँ ।’

यो र यस्तै प्रकारका कुरा सुन्दा मनमा एउटा प्रश्न उठ्छ– के लेखान्त हुन्छ ?

कहिलेकाहीं हाम्रो भेटका बारेमा सोच्छु– कसले गरायो ? कसरी भयो ?

फेरि सोच्छु, नदी र समुद्रको भेट कसरी भयो ? 

लेख्नुपर्ने कुरा धेरै छन्, तर पत्रिकामा शब्दको सीमा छ । म पनि के भएको होला, मैले नलेखे पनि तिमीलाई सबै थाहा छ ।

थाहा भएर हो या दिक्क लागेर हो, अचेल त ‘चिठी लेख’ नभनेको पनि धेरै भयो । कताकता फेरि ‘एक पटक लेख’ भने हुन्थ्यो जस्तो लागिरहेको थियो । यस्तै बेला ‘कोसेली’ संयोजक दीपक सापकोटाले ‘कोसेलीका लागि लेख्नु न’ भनेपछि लेख्दै छु । तर, तिम्रै लागि तिम्रै नाममा लेख्दै छु । यो पत्र तिमी सँगसँगै या तिम्रो अघिपछि अरू धेरैले पढ्नेछन् । कस्तो अनौठो प्रेमपत्र !

अब छोडिदेऊ यस्तो प्रेमपत्र पढ्ने भोक । कुनै दिन किताबै लेखूँला । बरु मैले केही दिनदेखि एउटा महत्त्वपूर्ण कुरा महसुस गरेको छु– सुनाउँछु ल ।

डा. नवराज केसीले आफ्नो नयाँ पुस्तक ‘स्वस्पर्श’ (पृष्ठ १५९/१६०) मा लेखेका छन्– मेरा जेनेटिक्सका गुरु 

भन्नुहुन्थ्यो, ‘मात्र एउटा डीएनएभित्र पनि सय इन्साइक्लोपिडिया या पुस्तक बराबरको ज्ञान हुन्छ रे ।‘ एउटा मानिस जन्मिँदै आफूभित्र कति पुस्तक, कति पुस्तकालय र कति विद्यालय बोकेर आउँछ होला ?

हामीले थुप्रै बाहिरी पुस्तक पढ्यौं । हामीले जन्मिँदै डीएनएमा लिएर आएका सयौं पुस्तकालयका हजारौं पुस्तकबारे केही थाहा पाएका छैनौं । अब ती पुस्तक पढ्नुपर्छ । तर, कसरी पढ्ने होला ? 

यो कुरा कि ध्यानीलाई थाहा होला कि ज्ञानीलाई कि स्वयं लेखकलाई थाहा होला । नभए लेखकका जेनेटिक्सका गुरुलाई थाहा होला । 

जे होस्, हामीले अब हाम्रो डीएनएमा भएका सयौं पुस्तकालयका हजारौं पुस्तकमध्ये दुई–चार वटा भए पनि पढ्नुपर्छ । बाहिरका विद्यालय र विश्वविद्यालय त पढ्यौं, अब हाम्रो डीएनएमा भएका विद्यालय र विश्वविद्यालयमा पढ्नुपर्छ । ती विद्यालय र पुस्तक प्रेमपत्रभन्दा धेरै महत्त्वपूर्ण हुनेछन् ।

पत्रिकामा यसप्रकारको प्रेमपत्र पढेर कस्तो लाग्यो झरी ?

यसको प्रतिक्रिया पत्रिकामा नै दिन्छ्यौ कि प्रत्यक्ष ?

— तिम्रो जीवनसाथी, अमर

अमर न्याैपाने नेपाल प्रज्ञा-प्रतिष्ठानको प्राज्ञ अमर न्याैपाने मदन पुरस्कार विजेता साहित्यकार हुन् । उनकाे सेतो धर्ती, पानीको घाम, करोडौं कस्तुरी लगायतका पुस्तक प्रकाशित छन् ।

Link copied successfully