अमृतालाई इमरोज त्यतिखेरदेखि नै प्रेम गर्थे, जतिखेर उनी र साहिर लुदियानभी प्ल्याटोनिक प्रेमको उत्कर्षमा थिए ।
What you should know
सन् १९३० तिरको घटना हो । रोमानियाली लेखक तथा दार्शनिक मिर्चा एलियाड भारतको कलकत्तामा थिए– अग्रज दार्शनिक सुरेन्द्रनाथ दासगुप्ताको निजी निवासमा शिष्यका रूपमा । दासगुप्ताकी किशोरी छोरी मैतेयी देवी र एलियाडबीच बिस्तारै प्रेम बढ्दै गयो । यसको सुइँको पाएपछि दासगुप्ताले एलियाडलाई घरबाट निकालिछाडे ।
छोटो यो सम्बन्ध र एलियाडले बुझेको कलकत्ताको समाज/संस्कृतिलाई आख्यानमा ढालेर उनले लेखे ‘बंगाल नाइटस्’ । सम्बन्धको संकुचित बुझाइमा आपत्ति थियो मैत्रेयी देवीको । एलियाडले चित्रण गरेको दैहिक प्रेमको सर्वोच्चतामा उनको विमति रह्यो । भारतीय संस्कृति र पृष्ठभूमिमा एलियाडको प्रत्युत्तर उपन्यासबाटै दिइन् मैत्रेयी देवीले ‘न हन्नयते’ (अर्थात् यो कहिल्यै मर्दैन) मार्फत ।
व्यापक फलकमा समेटिएका यी दुई आख्यान भावना र विचार विनिमयका यादगार अभिव्यक्ति बनेर राम्रै चर्चामा रहलान् । साथै विगतका विभिन्न समयमा सक्रिय स्रष्टा जोडीबीचका पत्र आदानप्रदान पनि उत्तिकै चर्चाको विषय बनेका छन् हरबखत ।
सन् २०२३ को अन्त्यतिर बितेका भारतीय चित्रकार इमरोजले उसरी नै प्रेम र सम्बन्धको माथिल्लो मानक पेस गरेका छन् । इमरोज अमृतालाई त्यतिखेरदेखि मन पराउँथे, उनको ख्याल राख्थे, जतिखेर अमृता र कवि/गीतकार साहिर लुदियानभी प्ल्याटोनिक प्रेमको उत्कर्षमा थिए । अमृताको संस्मरण ‘रसिदी टिकट’ साहिरसँगका उनका घनिष्ट पाटाहरू खुलस्त पार्ने दस्ताबेज बनेको छ । अमृताको प्रेमको दोस्रो अध्यायको सग्लो तस्बिर देख्न पाइन्छ ‘खतोंका सफरनामा’ मा । अमृता चिट्ठीहरूमा इमरोजलाई यस नामको अलावा इमा, इमु, इमवा, जिती आदि नामले सम्बोधन गर्छिन् । अनि इमरोज पनि अमृताबाहेक माजा, ऐमी, जोरवी, आशी आदि उपनामबाट अमृतालाई बोलाउँछन् ।
एकार्काबाट टाढा रहँदाका छटपटी, उदासी र रिक्तता उनीहरूका लागि अभिव्यक्तिका नयाँ खुराक बन्थे । एक पत्रमा अमृता लेख्छिन्, ‘तुम्हारी फूल जैसी चिठी मिली । वफाकी खुशबु आई और मैने इस खुशबु के कितने ही लम्बे घुँट भरे ।’ त्यही छटपटीको अभिव्यक्तिमा इमरोजको कलम यसरी चल्छ, ‘घर आकर तुमसे बातें करने लगा, कभी अपने कमरे में बैठकर, कभी तुम्हारे कमरे में खडे होकर ।’ सँगसँगै साहित्य, संगीत, सिनेमा र कलासम्बन्धी विविध गतिविधि साटासाट गर्छन् उनीहरू पत्रमार्फत ।
अर्को चिट्ठीमा अमृता लेख्छिन्, ‘अकेलापन और गाढा हो गया है, विल्कुल रोमन एम्पायर की तरह । एच. जी. वेल्स लिखता है– रोमन एम्पायर बढ्ता गया अल्फ्रेड नोवेलकी तरह और फिर एक ही बार में कोल्याप्स हो गया ।’ एउटी विवाहित महिलाका पछाडि लागेर जीवन निरर्थक बनायो भन्ने आरोप इमरोजमाथि लगाउने कैयौं थिए । किताबमा समावेश इमरोजको यो उद्गार त्यसैको प्रतिवादमा लेखेझैं लाग्छ : ‘तु मेरी समाज, और मै तेरा समाज । इससे ज्यादा और कोई नही समाज ।’
फ्रान्सका दार्शनिकद्वय सिमोन डु बुभ्वा र जा पल सार्त्रले दशकौं पहिले लिभिङ टुगेदर सम्बन्धमा रहेर सिर्जनात्मक सहकार्य जारी राखे । यसरी नै जैविक आवश्यकता पूरा गर्ने, तर बिहे नगर्ने अनि सन्तानसमेत नजन्माउने अजीव सहमतिमा सँगै रहे । यहाँसम्म कि उनीहरू त आ–आफ्ना रोजाइका अन्य साथीहरूसँगको सान्निध्य र सम्बन्धमा पनि सहज र उदार थिए । उनीहरूबीचको पत्राचार सिलसिलेवार छैन । वुभ्वाले सार्त्रलाई लेखेको एक पत्रांश यस्तो छ, ‘म तिमीलाई माया गर्छु अनि भेट्ने तीव्र चाहनामा छु । तिम्रो मलाई कति धेरै जरुरी छ ! तिमी नभएको भए म एकदमै व्यर्थको मान्छे हुने थिएँ । मेरो प्यारो पुड्के मान्छे, तिमी धेरै राम्रो छौ क्या ! म तिमीलाई पूरै उमंगले चुम्बन गर्छु ।’
अर्को पत्रमा वुभ्वा लेख्छिन्, ‘कतै जाँदा र कसैलाई भेट्दा खुसी हुन्छु म । लगत्तै निराशाले छोप्छ मलाई किनकि ती भेटबाट पाउने आनन्द केवल तिमीले मात्र दिन सक्छौ । मेरो माया, तिमीबिना त म छियाछिया हुन्छु । सारा संसारमा केवल तिमी नै छौ, जसलाई म अधिक महत्त्व दिन्छु ।’ जवाफी पत्रमा सार्त्र वुभ्वालाई लेख्छन्, ‘म तिमीलाई बेहद प्रेम गर्छु । तर, म यो दोहोर्याउन्नँ किनकि मलाई यो शब्दसँग झोक चल्छ । तर, मेरी मायालु फूल ! स्वीकार तिमी–तिम्रा साना गालामा मेरो तर्फबाट कोमल चुम्बन ।’
दैहिक प्रेममै आशक्त थिए सार्त्र । कुरूप युवती जतिसुकै बौद्धिक भए पनि उनको प्राथमिकतामा नरहेको स्विकारेका छन् उनले । यही आशय छ यो पत्रमा पनि, ‘म अझै तिमीप्रति प्रतिबद्घ छु । तिमी मेरो नजिकै भएको महसुस हुन्छ ।....सम्पूर्ण सामर्थ्यले म तिमीलाई माया गर्छु । दिनभर कैयौं चोटि भद्र चाहनाले भरिन्छु म– तिम्रो छेउ रहने अनि तिम्रा नरम गालामा चुम्बन गर्ने । म तिमीलाई औधी प्रेम गर्छु ।’ फेरि अर्कोमा सार्त्रको कपट झल्किन्छ यसरी, ‘हामीबीच अत्यावश्यक प्रेम छ तर अन्य सम्भावित बाह्य प्रेम सम्बन्धहरू अनुभव गर्नु पनि उपयुक्त सोच हुनेछ ।’
सम्बन्धको स्वच्छन्दताले क्रमशः वुभ्वालाई सहज बन्न दिएन । सार्त्र वुभ्वामार्फत नयाँनयाँ युवतीहरूसँग नजिकिन्थे र समय काट्थे । त्यसैको धङघङी देखिन्छ वुभ्वाको यो उत्तरमा, ‘हामी अडिग रहेसम्म हाम्रो प्रेमसम्बन्ध कायम रह्यो । तर, बाहिरी मान्छेहरूसँग जब हाम्रो भेटघाट बढ्न थाल्यो, सम्बन्ध उस्तै रहेन ।’
समलिङ्गी सम्बन्धमा पनि थिइन् वुभ्वा कुनै समय । पछि अमेरिकी उपन्यासकार नेल्सन एल्ग्रेनको प्रेममा परिन् । पेरिस र सिकागोबीचको भौतिक दूरी मेटाउने माध्यम केवल प्रेमपत्रहरू नै थिए । वुभ्वाले एल्ग्रेनलाई लेखेको एक पत्रको अंश, ‘मलाई चाइने एक मात्र चीज तिमी नै हौ । नेल्सन, मेरो मनमुटुमा केवल तिमी मात्रै छौ । हरेक मिनेटमा लिने निःश्वासमा तिमी नै तिमी छौ । मेरो अर्को कुनै उद्देश्य पनि छैन न त छ कुनै चाहना नै । तिमीबाहेक कुनै आशा वा कामना केही छैन ।’
केही वर्ष मात्र चल्यो वुभ्वा र एल्ग्रेनबीचको सम्बन्ध । सार्त्रका अनेक बाह्य सम्बन्धबाट पीडित वुभ्वाले एल्ग्रेनप्रति निकै गहिरो प्रेमभाव प्रकट गरेजस्तो लाग्छ । एल्ग्रेनले दिएको औंठी वुभ्वाले सधैं लगाइरहिन् । त्यही औंठीसँगै उनी सार्त्रको चिहानछेउ समाधिस्थ रहिन् । यसरी यो अनौठो प्रेमको अध्यायको अन्त्य भयो ।
रसियाली प्रतिरोधी महिला समूह हो– ‘पुसी रायट’ । यसै समूहकी सदस्य नाद्या भ्लादिमिर पुटिनको दमनकारी नीतिका विरुद्घ प्रतिरोध आन्दोलनमा होमिन् । लगत्तै समातिइन् र जेल परिन् । स्लाभोइ जिजेक स्लोभेनियाका विख्यात दार्शनिक हुन् । प्रेमिका नाद्या जेल पर्दा उनीहरूबीच भएको पत्राचार संग्रह हो, ‘कमरेडली ग्रिटिङ्स’ ।
नाद्याको मनोबल बढाउन र उनलाई प्रतिरोधमा जोडिराख्न जिजेकले भरमग्दुर चेष्टा गरेका छन् । त्यसका अतिरिक्त यो तत्कालीन समयको निरंकुशताविरुद्घको संयुक्त प्रतिकार पनि हो । पुँजीवाद, जेलजीवन, उदार लोकतन्त्र अनि दर्शनमा केन्द्रित छन् अधिकतर यी संवाद । पुँजीवाद र अन्य व्यवस्थाका पनि हरेक विसंगतिमाथि निरन्तर दार्शनिक प्रहार गरिरहने जिजेकको वडो नरमभाव र नाद्याप्रतिको कोमल प्रेम अभिव्यक्त हुन्छ यस संग्रहमा । यसमा जिजेक दार्शनिकभन्दा एक संवेदनशील मानव प्रतीत हुन्छन् ।
जिजेक पत्रमा लेख्छन्, ‘मलाई राम्रै थाहा छ दमनकारी शक्तिका सामु हामी कमजोर मानवप्राणी हौं । त्यसैले पनि दुःखी र आक्रोशित छु यतिखेर ।’ यसै पत्रको पुछारमा उनी थप्छन्, ‘नास्तिक हुँ म तर पनि तिम्रा लागि प्रार्थना गर्छु । कामना गर्छु– तिमीलाई जेलभित्र पढ्न र शान्त वातावरणमा सोच्न केही समय मिलोस् ।’ प्रत्युत्तरमा नाद्या लेख्छिन्, ‘निर्बन्ध सृजनशीलता,बेलगाम आर्थिक वृद्धि अनि विविधता आधुनिक पुँजीवादका देन हुन् भनी तिमी/हामीलाई विश्वास दिलाउन खोजिँदै छ । लाखौं मान्छेहरू प्रभुत्वशालीका दास बनिरहेको लुकाइरहेछ अहिलेको पुँजीवादले ।’
फेरि थप्छिन् उनी, ‘म साँच्चिकै अभावग्रस्त अवस्थामा छु । तर तिमी सैद्धान्तिक आडम्बर जोडेर मेरो चिन्ता गर्न छोड ।’ जेलबाट मुक्त भएपछि उनले लेखेकी छन्, ‘जेलभित्र रहँदा विषयको विस्तार गर्ने कुरालाई एकदमै अर्थपूर्ण किसिमले सोच्न पाएँ ।’
मेक्सिकोका चित्रकार जोडी फ्रिदा काहलो र डिएगो रिभेराबीचका प्रेमप्रसंग पनि सम्झनामा आउँछ यतिखेर । चिठीमा प्रेमको प्रकटीकरण गर्न पनि रंग र चित्रकलाकै व्याकरण प्रयोग गर्थिन् फ्रिदा । यो पत्र हेरौं, ‘म तिम्रो चित्र कोर्न चाहन्छु तर छैन कुनै रंग । छन् धेरै रंग तर मेरो गाढा प्रेमको स्पष्ट स्वरूप व्यक्त गर्ने रंग कहीं छैन ।’ अर्को एक पत्रमा यस्तो लेखिएको छ, ‘तिम्रा आँखाहरू मेरा मांसपिण्डभित्रका हरित तरबार हुन् । अँध्यारोमा होस् वा उज्यालोमा, तिम्रै आवाज गुन्जन्छ । तिमी आफूभित्र रंग समाहित गर्ने अक्जोक्रोम हौ अनि म चाहिँ अरूलाई रंग दिने क्रोमोफोर ।’
फ्रिदाको प्रेम शरीर र वासनामा संकुचित थिएन । त्यसैले त दार्शनिक भावको अनुगुन्जन पाइन्छ उनका पत्रमा, ‘प्रेम, कोमलभाव अथवा अनुराग मात्र कहाँ हो र हाम्रो सम्बन्ध ? यो त सम्पूर्ण जीवन हो । ....हामी दुईबीच एउटै संसार छ । अनि एउटा पहाडले अर्को पहाडको भित्री पाटो बुझ्न सक्छ ।’
फ्रिदाको रिभेराप्रति असाध्यै माया थियो, तर उनी जीवित रहँदासम्म रिभेराले त्यसको कदर गर्न सकेनन् । पत्रको जवाफ पठाउने त कुरै भएन । तर, फ्रिदाको मृत्युपछि भने उनी धेरै पछुताए, व्यथित भए । आत्मवृत्तान्तमा उनी स्विकार्छन्, ‘धेरै ढिला भयो । बल्ल अनुभूत हुँदै छ– मेरो जीवनको महत्त्वपूर्ण पाटो भनेको उनीप्रतिको प्रेम हो । अर्को मौका मिल्थ्यो भने उनीप्रति म विल्कुल फरक व्यवहार गर्थें । आफू हुर्केको परिवेशको उपज न हो हरेक पुरुष । कुनै नैतिकता कायम राख्न सकिनँ मैले । जता जता शारीरिक आनन्द भेटें, त्यतै लहसिएँ म । म गलत थिएँ । माया जसलाई गर्थे, बिनाकारण उसैलाई तड्पाउन खोज्थें । मेरो यो भयानक अवगुणबाट सबैभन्दा बढी प्रताडित बनिन् मेरी फ्रिदा ।’
नेपाली साहित्यमा पनि हालै भित्रिएको छ एउटा प्रेमपत्रको सँगालो– ‘भावलिपि’ । गीतकार/लेखक भावेश भुमरी र उनकी प्रेमिका (पछि पत्नी) प्रणिता चामलिङबीचको लामो पत्राचारको संग्रह हो यो । त्यतिखेर काठमाडौंमा गीत/कविता लेखनमा संघर्षरत भावेश र दार्जिलिङ–निवासी प्रणिताबीचको यो पत्राचारले पारस्परिक प्रेम र भावुतासँगै विगतका सामाजिक, राजनीतिक परिवेश पनि धेरथोर बुझाउँछ । तत्कालीन समयका साहित्यिक तथा सांगीतिक परिवेश झल्काउँछन् भावेशका चिट्ठीले । अर्कोतर्फ प्रणिताका चिठी तत्कालीन दार्जिलिङ चियाउने माध्यम बनेका छन् । भावेश घरिघरि इत्रिन, छिल्लिन खोजेको भान हुन्छ उनका चिठीमा । तर, प्रणिताको सौम्यताले चिट्ठीका विषय र व्यहोरा काव्यिक अनि सामाजिक पक्षमा मोडिन्छन् ।
भूगोलका विभिन्न कुनामा र विविध परिवेशमा हुर्केका माथि उल्लेखित स्रष्टा जोडीहरूका अन्तरंग पत्राचारले जीवनका अनेक पाटा, चाहना प्रकट गर्ने आ–आफ्ना बान्की, सोचाइका अनेक कोण, सामाजिक मान्यता र तिनको उल्लंघन तथा विद्रोहलाई थोरै सतहमा ल्याएका छन् । भियतनामी भिक्षु तथा शान्ति अभियन्ता टिक नाट हानको भनाइमा ‘अन्तरदृष्टि, समझदारी अनि करुणाभावले भरिएका चिठी नै सही प्रेमपत्र ठहरिन्छन् ।’ कुन स्तरका रहे यी रैवारहरू ? पर्गेल्ने पालो पाठकवृन्दको !
