नारायणगोपालको प्रेमपत्र पेमलालाई : सधैं-सधैं झ्यालमा बसेर तिमीलाई सम्झन्छु

‘जिन्दगीमा मैले न घरमा सुख दिएँ, न तिमीलाई । मेरो आमाबाबु र तिमी दुवै ठीकै त छन्, मूर्ख त मै भएँ, सबै कुरा चाहिने मलाई मात्र रहेछ । अन्तमा म जहिले पनि असफल हुन्छु, मेरो जीवन नै असफलताको प्रतीकजस्तो लाग्छ ।’

भाद्र १४, २०८२

नारायण गोपाल

Narayangopal's love letter to Pemla: Always sitting at the window, I miss you

What you should know

प्रिय पेमू !समयमै चिठी पाएछु यसपालि अनि सल्लाह पनि पाएँ पत्रद्वारा नै, दुवैका लागि थुप्रै धन्यवाद ! अनि बारबराको कथाका लागि पनि धेरै–धेरै धन्यवाद सुनाइदिने ल ! के राम्रो कथा नि लै लै, म त दंग परेँ जी, नोबेल पुरस्कार मैले दिएर हुने भए त दिने थिएँ ।

यसपालि केवल धन्यवाद दिएर मात्रै चुप लागेँ तर कुनै दिन भेट भयो भने मिठाई खुवाउँछु भनेर सुनाइदिनू ल ! 

अहिले पनि पानी पर्दै छ । त्यसैले मेरो मन चिठी लेख्नमा ध्यानै गएको छैन । मुडबिना केही काम गर्न सक्तिनँ म, एउटा कुरा लेख्न खोज्छु, अर्को कुराले छोइहाल्छ । पानी बिस्तारै पर्दै छ । तिमीले त देखेको छैन मेरो कोठा, एकदम टपमा छ र टाढा–टाढासम्म देख्न सक्छु । यो पत्र लेख्दै झ्यालबाट स्वयम्भू भगवान्को डाँडातिर हेर्दै छु । शान्तिहरूसँग गएको थियौ तिमी त्यहाँ, म गइनँ हगि ? अनि हामी आनन्दकुटी जाँदा तिमी जान मानेन हगि ? यसरी हामी दुवै त्यहाँ पुगेर पनि कहिल्यै पुगेनौँ । झ्यालबाट स्वयम्भू डाँडा हेरेर यी सब याद आइरहेछ मलाई । पानी परेको हुनाले अलिक धमिलो देखेको छ । 

यसरी नै म सधैँ–सधैँ झ्यालमा बसेर टाढा–टाढाको दृश्य हेर्दै तिमीलाई सम्झन्छु । तिम्रो औधी माया लागेर आउँछ मलाई त्यस बखत । सबै छोडेर तिम्रोमा आउन मन लाग्छ, एकैछिन रमाइला रमाइला बात मार्न । तर, परिस्थितिले मलाई त्यसो गर्न दिँदैन अनि म विवश भइदिन्छु, आफैँदेखि रिस उठ्छ, मेरो, मभित्रका सबै रंगीन भावहरू चकनाचुर भइदिन्छ, समस्त वातावरण नै विषाक्त भइदिन्छ । सायद जीवनभर नै मैले अब यो रोगबाट छुटकारा पाउँदिनँ होला ।

‘म यहाँ रोएकी छु धेरै–धेरै । तर म जान्दछु... हाम्रो मिलन हुन नसके तापनि हामीभित्रको माया कहिल्यै मर्दैन । हाम्रो हृदयको मिलनलाई संसारको कुनै शक्तिले छुट्याऊन सत्तैन । टाढै रहेर पनि त हामी दिनहुँ भेट्छौँ प्रत्येक बिहान, प्रत्येक साँझ र प्रत्येक रात । ...एकक्षण ...पनि त झुल्न सत्तैनौँ एक–अर्कालाई, तब हाम्रो प्रीति मर्छ कहाँ ? हाम्रो मायालाई कसले छुट्याउन सक्ला र ? संसारको अघि हाम्रो मिलन नहोला तर हाम्रो आत्माको विवाह त नक्खुको पवित्र किनारमा नक्खु साक्षी राखी गरेको होइन हामीले ?’

अघिल्लो पातामा लेखेको तिम्रो वाक्यहरू म दोहोर्‍याइ–दोहोर्‍याइ पढ्छु अनि लाग्छ, उसो भए के साँच्चै हामी जिन्दगीभर यत्तिकै बस्ने ? म छक्कै परिरहेछु हाम्रो जीवनदेखि । पेमू ! म के भनूँ, कसरी जवाब दिऊँ तिम्रो भावनाको वाक्यहरूलाई । तिमी नै भन, म के गरूँ, कस्तो जवाब मैले दिनुपर्छ ।

Narayangopal's love letter to Pemla: Always sitting at the window, I miss you

Narayangopal's love letter to Pemla: Always sitting at the window, I miss you

एकातिर म आमाबाबाहरूलाई सन्तोष राख्न चाहन्छु, उनीहरूलाई कम्ता सम्झाइनँ मैले तर के गरूँ म हारेको छु । अर्कोतिर तिमी छौ, कसरी सम्झाऊँ तिमीलाई । तिमीलाई त मेरा आमाबाबाहरूको मलाई भन्दा ज्यादा सुर्ता रहेछ । उनीहरूको लागि तिम्ले जसरी आज त्याग र धैर्यको कुरा लेखेर पठायौ, त्यसदेखि म बिलकुल स्तब्ध भएको छु । म घरमा झगडा गर्छु तिम्रो लागि अनि तिमीबाट यस्तो जवाब पाउँछु कि म किंकर्तव्यविमूढ हुन्छु । तिम्रो महान् आदर्शका लागि मसँग कुनै उत्तर छैन । घरमा पनि छोराको भलाइका लागि उनीहरूले राम्रै भनेको होला ।

छोराछोरीमाथि आमाबाबुको कत्रो स्नेह, ममता र कस्तो माया गरेको ! अनि छोराको भलाइका लागि उनीहरूले जहिले पनि राम्रै सोच्छ, काम गर्छ रे ! अनि तिमी ! तिमी कति महान् छौ । तिम्रो महान् आदर्श सीता, सावित्री र दमयन्तीको भन्दा केही कम छैन । बीचमा त म परेको छु पेमू ! जिन्दगीमा मैले न घरमा सुख दिएँ, न तिमीलाई । मेरो आमाबाबु र तिमी दुवै ठीकै त छन्, मूर्ख त मै भएँ, सबै कुरा चाहिने मलाई मात्र रहेछ र म यताउता लागिरहन्छु । अन्तमा म जहिले पनि असफल हुन्छु, मेरो जीवन नै असफलताको प्रतीकजस्तो लाग्छ ।

अब जे हुनु भैहाल्यो, भूल मेरो नै भो । म जान्दछु, मेरा कमजोरीहरू । भूल मबाट अब दोहरिने छैन । म घरमा केही कुरा माग्दिनँ न तिमीसँग केही सल्लाह वा सहयोग । अबदेखि म एक्लो भएछु, घर पनि छिट्टै छाडिदिन्छु, म जान्छु कतै गाउँतिर । तिमीलाई म बिर्सिन सक्तिनँ, तिम्रा सम्झना, यादगार, चिनो आदि सबै–सबै मसँग हुनेछ, सदैव सदैव । हो, केही दिन मलाई असह्य हुन्छ, पीर हुन्छ, जीवन खल्लो भएर आउँछ अथवा छोटकरीमा... केही दिन मलाई बाँच्न गाह्रो पर्नेछ । तिमीलाई त ठीकै छ, तिमी मेरो सम्झनामा पनि जीवन बिताउन सक्छौ । म कमजोर छु, ममा त्यत्रो धैर्य कहाँ छ र ? ममा त्यत्रो साहस कहाँ छ र ?

पेमू ! दोष त सबैले मलाई नै दिन्छन्, तिमी के भन्छौ ? वर्षौंदेखि मैले रंगीन सपना देख्दै आएको थिएँ । मेरो सपना पूरा गर्नकोलागि म आमाबाबु, घर, साथीसंगी सबै–सबै छोड्नसमेत तयार थिएँ, कुनै पनि शक्तिसँग सङ्घर्ष गर्ने मेरोमा पूरा ताकत थियो तर... तर मैले अब हार खाएको छु सबै–सबैदेखि, निराश भएको छु म, सबै–सबैदेखि, आफैँदेखि । सबैले मलाई चिनेनन् वा मैले कसैलाई चिन्न सकिनँ, म बुझ्दिनँ । मेरो ठाउँमा तिमी भएको भए ? तिम्रो ठाउँमा म भए ! म आफ्ना भावनाहरूलाई व्यावहारिक ढंगबाट पोख्थेँ होला । खैर छोडिदिऔँ यी सब गन्थनलाई । अब अलिक लेख्छु ल, बोर नमान्ने है !

तिमी जस्तै ‘टिचरको काम गर गाउँमा’ भनेर एक जना साथीले भनेको थियो अस्ति नै ! पेमू ! म जाऊँ ? सबैदेखि टाढा भइदिन्छु म । मेरो गीतहरू नयाँ बज्दैन, त्यतिमात्र हो । यहाँ बसेर पनि के गर्नु र ?

‘इमराज’ राम्रो लाग्यो ? बिचरा राजकुमार देखेर साह्रो माया लाग्छ हगी ? पुतलीसडककोमा म जाने छैन, अब कहिल्यै । नि...अस्ति नै त्यही मसँग नक्सामा बस्ने सुधाले डाकी पठाएर म गएको थिएँ, तिम्रो विमला दी थिएन । सुधासँग भेटघाट गरेर फर्कें । तीन–चार दिनपछि प्रेमध्वजले मलाई भन्यो । विमला घरमा नभएको बेलामा म नआउनू रे ! कम्ता रिस उठेन, मुखसुन्डी विमलासँग । सायद उसलाई डर लाग्यो होला, म देखेर । कारण अस्ति पेमलासँग पनि निकै... अब सुधासँग पनि सुरु भनेर । जेहोस् म गएको छैन, तिमी पनि धन्दा नमान्नू ।

कति लेख्नु, लेख्ने कुरा त थुप्रै छन् । तर... भैहाल्यो ।

उही तिम्रो ! 

Narayangopal's love letter to Pemla: Always sitting at the window, I miss you

Narayangopal's love letter to Pemla: Always sitting at the window, I miss you

Narayangopal's love letter to Pemla: Always sitting at the window, I miss you


Narayangopal's love letter to Pemla: Always sitting at the window, I miss you(दीपक केसीको संकलन एवम् भूपेन्द्र खड्काको सम्पादनमा शीघ्र प्रकाशन हुन लागेको नारायणगोपाल र पेमला लामाका प्रेमपत्र, डायरी र संस्मरणहरूको पुस्तक ‘चुपचाप मन पराएँ’ मा संगृहीत नारायणगोपालले पेमलालाई लेखेको अप्रकाशित चिठी)

नारायण गोपाल

Link copied successfully