सुगम संगीतमा सुमधुर स्वर भर्ने रामकृष्णको जीवन देखिँदा जति सरल-सहज लाग्छ, हामीले नदेखेको उनको जीवन वियोगै वियोगले भरिएको छ ।
What you should know
'स्वर्ग खोज्दा आमा देख्छु, ईश्वर खोज्दा बाबा भेट्छु...'यो गीत सुन्दा तपाईं गीतको अर्थ खोजिरहनुभएको होला । शब्द-शब्द खुट्याइरहनुभएको होला । तर, गायक रामकृष्ण ढकालले इन्द्रनारायण चोङ्बाङको शब्दमा स्वर मात्र भरेका छैनन् । यसमा आफ्नै जीवनको अर्थ पनि खोजिरहेका छन् । जहाँ जोडिन आइपुग्छन्, सात वर्षको बालखा रामकृष्णलाई छाडेर बेपत्ता भएका शिवप्रसाद ढकाल ।
सुगम संगीतमा सुमधुर स्वर भर्ने रामकृष्णको जीवन देखिँदा जति सरल-सहज लाग्छ, हामीले नदेखेको उनको जीवन वियोगै वियोगले भरिएको छ ।
उनी भरखरै बासँग आफ्ना कुरा सुनाउन सक्ने भएका थिए । बाले जिस्काउँदा फुरुंग पर्थे । काँधेकुरी लगाउँदा सबैभन्दा शिखरमा पुगेको अनुभव गर्थे ।
अकस्मात्, बा परिवारै छाडेर कता पुगे कता । रामकृष्णलाई भने आमाको संघर्ष मात्रै याद छ । कुनामा घोप्टिएर सुँक्कसुँक्क गरिरहेकी आमा उनी बिर्सन सक्दैनन् ।
आज रामकृष्णसँग सबै कुरा छ । तर सबै भएर पनि केही नभएजस्तो अनुभव गर्छन् । ‘सानै उमेरमा बुबाको साथ गुमाएँ,’ पितास्मरणमा उनी विगत कोट्याउँछन्, 'बाको खास माया र शिक्षादीक्षा महसुस गर्ने बेलैमा उहाँ एकाएक हराउनुभयो ।'
बाले घर छाडेको ४०/४२ वर्ष भयो । उनी जीवित छन् कि छैनन्, रामकृष्णलाई त्यो पनि थाहा छैन । तर प्रत्येक दिन उनी बा कतैबाट फर्किन्छन् कि भन्ने आशाको दियो बालेर बसिरहेका छन् । ‘बुबाले म सानो हुँदै घर छाड्नुभएको हो । उहाँको खोजीका लागि मुमा (आमा) ले धेरै संघर्ष गर्नुभयो,' उनी सुनाउँछन्, 'टेलिभिजनमा सूचना पनि निकाल्नुभयो तर उहाँ भेट्टिनुभएन ।'
बुबाले म सानो हुँदै घर छाड्नुभएको हो । मुमाले टेलिभिजनमा सूचना पनि निकाल्नुभयो तर उहाँ भेट्टिनुभएन बाको अनुपस्थितिमा उनको बाल्यकाल अभावैअभावमा बित्यो । उनका बा मात्रै हराएका थिएनन्, बासँगै उनको गुनासो पोख्ने ठाउँ हराएको थियो । आवश्यकता देखाउने थलो हराएको थियो । विगत सम्झिँदै रामकृष्णले सुनाए, ‘बुबाको जिम्मेवारी पनि मुमामाथि थपिएपछि धेरै रहर र इच्छा पनि नसुनाई बस्थेँ ।’
समयले घाउ पुर्दै लग्यो । सानैदेखि गायनमा रुचि राख्ने उनका गीतलाई कसैले रुचाए र गायनमा पोख्त बनाए । त्यसपछिका उनको जीवनले बिस्तारै लय समात्न थाल्यो । बाका धेरै कुरा स्मरण गर्न नसके पनि अनुहार, चालचलन र केही व्यवहार रामकृष्णको स्मृतिमा अझै ताजै छन् । कुनै छोराले बासँग खेलेको वा चलेको देख्दा उनी खेतका डिलमा बसेर अम्खोराबाट पानी पिइरहेका बा सम्झिन्छन् । रामे... भन्दै बोलाइरहेका बाको आवाज सुन्छन् । ‘उ: बेला अहिले जस्तो बासँग धेरै खेल्ने-डुल्ने समय पनि हुँदैन थियो । धेरै समय उहाँ खेतबारीमै बिताउनुहुन्थ्यो,’ उनी भन्छन्, ‘उहाँले खेतबारीमा काम गरेको, सानो छँदा बोलाएको क्षणहरू आज पनि उत्तिकै ताजा लाग्छन् ।’
बा हराएका चार दशकभन्दा लामा दिनहरुमा उनमा आशा अझै छ । त्यसैले त धर्म संस्कारअनुसार बाको बिदाइ गरेका छैनन् । आमा-बा सम्बन्धित उनले अनेक गीत गाएका छन् । उनलाई लाग्छ- मेरा आवाजलाई बाले कतै बसेर सुनिरहनुभएको पो छ कि !
बा पर्खिरहेका सरोज
रामकृष्णले जस्तै सानै उमेरमा बाको साथ गुमाएका पात्र हुन्– सरोज केसी । अभिनेता तथा चलचित्र निर्माता केसीलाई ९ वर्षको उमेरमा बाले छाडेर गएका थिए । अहिले उनी ३५ वर्षका भए ।
सानो छँदा घरमा हुने झगडा अझै सरोजको स्मरणमा छ । त्यही कहलले आमा–बुबालाई अलग बनायो । आमा-बामात्रै छुट्टिएनन् । आफैले पनि अभिभावकत्व गुमाए । ‘घर झगडाले नै आमा–बुबा छुट्टिए । आमाले मलाई गुल्मी लगेर छाड्नुभयो । त्यसपछि उहाँहरूसँगकै सम्बन्ध पनि छुट्यो,’ विगत सम्झिँदै सरोजले भने, ‘गाउँमा आमा–बुबाविहीन भएर बस्न खुबै गाह्रो भयो ।’
काठमाडौंको सहरी परिवेशमा बाल्यकाल बिताएका सरोजका लागि अभावले भरिएको गाउँ कष्टकर भयो । त्यहीमाथि बा–आमा उनीसँगै थिएनन् । आमाले गाउँमा छाडेर गएको केही दिनपछि बा फर्किएर आएको उनलाई मधुरो सम्झना छ । तर उनले त्यो एक रात पनि बासँग बिताउन पाएनन् । ‘त्यस रात बुबाले हातमा १० रुपैयाँको नोट राख्दै राम्रोसँग पढेस् है भनेर जानुभयो,’ भावुक हुँदै सुरोजले सुनाए, ‘त्यो नै बुबासँगको अन्तिम भेट रह्यो । त्यसपछि उहाँ कहिल्यै फर्किनुभएन ।’
सरोजसँग बुबाको अथाह सम्झना छ । तर त्यो नोट उनीसँग छैन । ‘बुबा फर्किनुहुन्न भन्ने थाहा भएको भए त्यो दस रुपैयाँ म खर्च गर्ने थिइनँ,' उनी थकथकाउँछन्, 'आज उहाँको स्मरणमा मसँग केही पनि छैन ।’
बाल्यकालमा अरु साथीहरुलाई बाले माया गरेको देख्दा सरोजलाई आफ्नो बाको अभाव खड्किन्थ्यो । बासँगै उनले धेरै कुरा गुमाएका थिए । जसले जे अह्राए पनि ‘हस्’ भन्नुभन्दा उनीसँग कुनै विकल्प थिएन । ‘गाउँमा अभाव त सबैका लागि उत्तिकै हो । अभावका बीच पनि ठूलोबुबाहरुले माया गर्नुहुन्थ्यो तर आफ्नै बुबाआमा भएजस्तो त कहाँ हुने रहेछ र,’ सरोज ती दिन सम्झिन्छन्, 'कति कुरा भन्ने ठाउँ थिएनन् । कति रहर यसै मरे होलान् । घुर्की लगाउने ठाउँ थिएन । कति आवश्यकता थिए होला तर कोसँग माग्न जाने ?'
बा बेपत्ता भए पनि आमा कहाँ छिन् भन्ने सरोजलाई थाहा थियो । ९ कक्षा पास गरेपछि आमालाई भेट्न उनी काठमाडौं आए । तर आमाले उनलाई चिन्न अस्वीकार गरिदिइन् ।
‘पहिल्यैदेखि काम गर्ने घरमा आमा भेटिन्छ भन्ने आशाले हजुरबासँग भत्ताको पैसा लिएर भेट्न काठमाडौं आएको थिएँ । तर आमाले तिमी मेरो छोरा हो भन्ने आधार के छ ? भनेर प्रमाण मागेको दिन यो संसार नै पल्टियो जस्तो महसुस भएको थियो,’ भक्कानिएका सरोज सम्हालिए, ‘हुन त मान्छेको आ–आफ्नै बाध्यता हुन्छ । उहाँले अर्कै विवाह गरेका कारण समस्या हुन्छ कि भन्ने डरले मलाई त्यसो गर्नुभएको रहेछ । अहिले आएर थाहाँ पाएँ ।’
१० कक्षा सकेर उनी बटौली झरे । त्यसपछि बाको अभावले उनलाई झनै पिरोल्न थाल्यो । बटौलीका चिसा फुटपाथमा सुत्नुपर्दा उनी बासँग गुनासो गर्न चाहन्थे तर सुनिदिने बा थिएनन् । ‘गाउँ छाडेर सहरमा पढ्ने रहरले बटौली झरेको थिएँ । कति रात फुटपाथमा एउटा बोराको भरमा बिताएँ । त्यति बेला बुबाको खुबै याद आउँथ्यो,’ सरोजले सुनाए, ‘एउटा पाउरोटी र चियाको भरमा दुई/चार दिन बिताउँदाका ती दिन सम्झँदा त बुबाप्रति गुनासो गर्न मन लाग्छ ।'
बटौलीबाट काठमाडौं आएका उनले होटलमा भाडा माझ्न थाले । साहुले कराउँदा होस् या होटलका ग्राहकले थर्काउँदा, उनी प्रत्येक समय आफ्ना बालाई सम्झिन्थे ।
बाको अभावले सरोजलाई जति पीडा दिलायो, उत्तिकै बलियो बन्न पनि सिकायो । बाको अनुपस्थितिले बाल्यकालदेखि नै उनी आत्मनिर्भर बन्न थाले । बटौलीका सडकमा रात बिताउँदा होस् या बर्खायाममा टहराभित्र छाना चुहिँदा, अनुभवले नै उनलाई दरिलो बनाउँदै गयो । आफैले लेखन र अभिनय गरेको फिल्म 'थ्री मंकी' मा उनले आफ्ना भोगाइ पनि समेटेका छन् ।
मातृत्व र अभिभावकत्वको अभावले उनी कठोर बन्दै गए । ‘हुन त मैले केही गर्न सकेको छैन । तर पनि अभावमा हुर्किएकै कारण आज यत्तिको बन्न सकेको जस्तो लाग्छ,’ सरोजले सुनाए, ‘बुबाआमाको प्रेमले पुलपुलिन पाएको भए सायद यत्तिको पनि हुन्न थिएँ होला ।’
युद्धले लुटेको अभिभावकत्व
२०५९ सालतिर माओवादी-राज्य सशस्त्र युद्ध उत्कर्षमा थियो । असार ३१ गते १२ जना माओवादी छापामारको हत्या भएको खबर आयो । त्यहीमध्येका २ जना थिए प्रतीक कार्कीका बा–आमा ।
बा–आमाको हत्या हुँदा उनी ३ वर्षका थिए । प्रतीकलाई आफ्ना बा–आमाबारे त्यति स्मरण छैन । तर अभिभावकत्व अभावबारे उनलाई धेरै थाहा छ । ‘सानै थिएँ । बुवा–आमा रहनुभएन भन्ने खबर आयो । सानै भएकाले सबै सम्झना त छैन,’ प्रतीकले सुनाए, ‘तर उहाँहरुको अनुपस्थितिले निम्त्याएका अभावका सँगाला भने धेरै छन् ।’
बा–आमालाई गुमाएपछिको बाल्यकाल उनले हजुरआमासँग बिताए । पछि ठूलोबुबाको सहयोगमा अध्ययनका लागि खोटाङको दिक्तेल गए । त्यहाँ उनले जीवनका धेरै पाटा देखे, भोगे- उज्यालो कम अँध्यारो बढी ।
कसैले बुबासँग हात समातेर हिँड्दा पनि प्रतीक आफ्नै बुबालाई सम्झिन्थे । ‘अभिभावक नहुनुको पीडा मलाई मात्र होइन हर सन्तानलाई हुन्छ । तर त्यसबाट पनि आफूले के सिक्ने भन्ने महत्वपूर्ण रहेछ,’ उनी भन्छन् ।
दिक्तेलमा १० कक्षासम्मको अध्ययन सकेपछि प्रतीक काठमाडौं आए । भूगोल फेरियो, पीडा फेरिएन । तर समयसँगै उनले पाठ पनि सिक्दै गए । ‘सानोमा जति पीडा हुन्थ्यो, ठूलो भएपछि त्यो बिस्तारै घट्दै जाने रहेछ । विकल्पहरु खोजिने रहेछ,’ प्रतीकले भने, ‘जीवनको सत्यलाई स्वीकार्नुपर्छ भन्ने महसुस भएर पनि हुन सक्छ, अहिले दुखाइ खासै बल्झिँदैनन् । कठोर भइसकेँ जस्तो लाग्छ ।’
तर पनि कुनै न कुनै मोडमा बाको अभाव नखड्किने कहाँ हो र ! कुनै निर्णय लिनुपर्दा बाको सल्लाह भए कस्तो हुन्थ्यो होला भन्ने उनलाई लागिरहन्छ । ‘जतिसुकै पर हुन्छु भने पनि हाम्रो सामाजिक संरचना र जिम्मेवारीले उहाँहरुको अभाव भइरहने रहेछ,’ प्रतीक भन्छन् । प्रतीक ३ वर्षदेखि वकालत पेसामा छन् ।
‘गुनासो सुन्ने कोही नभएर पनि होला, अहिले त गुनासो गर्न पनि मन लाग्दैन,’ भावुक बनेका प्रतीकले कठोर हुँदै भने, ‘हुन त केही भइसकेको छेन । तर पनि अझै धेरै अगाडि जानुपर्नेछ । उहाँहरुको बलिदानको अर्थ प्रस्ट्याउनुछ ।’
