अनेकन स्वरूपका बा

तिमी त ठ्याक्कै बा जस्तै रै’छौ भन्दा मलाई खुसी लाग्छ । तर कतिपयले मलाई कला क्षेत्रमा आफ्नो शैली नल्याएको र बाकै शैली पछ्याएको भन्छन् । तर सधैं मेरो जवाफ हुन्छ– मैले आफूभित्र कहीं न कतै बापन हुर्काइरहेको छु । जुन मबाट पर जानै सक्दैन ।

भाद्र ७, २०८२

यमन श्रेष्ठ

Many types of Baa

What you should know

‘परिवार’ संस्थाको जब जग बस्यो, त्यस केन्द्रका दुई स्तम्भ बा र आमामाथि साहित्य, पुराण वा सिनेमामा अनेकन् कहानी लेखिए, जहाँ ती पवित्र र अद्वितीय, संवेदनशील र कोमल रूपमा चित्रित छन् । समाजको फेरिँदो अर्थ–राजनीतिक व्यवस्था, सामाजिक–सांस्कृतिक परम्पराले पारिवारिक सम्बन्धलाई पनि प्रभावित पारिरहेको हुन्छ ।

त्यो प्रभावकै बहावमा बदलिन्छ– बा र सन्तानको सम्बन्ध । उहिलेका पिताहरू सन्तानका निम्ति उकुसमुकुस, यथास्थिति र परम्पराका प्रतीक थिए ! तर, अहिले सामाजिक दृश्य फेरिएको छ । बाहरू अहिले शासकबाट साथी बनेका छन् । त्यो सम्बन्ध अब संवाद, मित्रता र सहयात्राको भर्‍याङ चढिरहेको छ । कुशे औंसी (बुबाको मुख हेर्ने दिन) को साइतमा ‘कोसेली’ ले पिता र सन्तानका सम्बन्धका आयाममाथि विमर्श गर्ने कोसिस गरेको छ ।

मेरा बा मदनकृष्ण श्रेष्ठबारे सोच्दा वा लेख्न बस्दा सधैं मेरो दिमागमा बाको भव्य चित्र मात्रै आउँछ । धेरैभन्दा धेरै मान्छेको माया पाएको, सम्मान र हार्दिकता मात्रै पाएको । बालाई मैले सधैं चर्चित व्यक्तिका रूपमा मात्रै पाएँ । बाले केही कुरा जान्दैनन् वा बालाई केही कुरा थाहा छैन वा बाको पनि सीमा छ भन्ने कुरा मलाई कहिल्यै लागेन ।

बाको भव्य छायाछविमा म हुर्किएको हुँ । त्यसैले स्कुले जीवनमै मेरो दिमागमा थियो, मेरा बा चर्चित मान्छे हुन्, त्यसैले म सधैं अनुशासनमा बस्नुपर्छ । आज्ञाकारी हुनुपर्छ । बाकै ख्यातिका कारण म कहिल्यै अल्लारे हुन पाइनँ । बाको सार्वजनिक छविका कारण पनि म सधैं आज्ञाकारी छोरा बन्नुपर्छ भनेर हुर्किएँ । म आफैं छोरीको बा भइसकें तर पनि मेरो ख्यालमा एउटै कुरा आउँछ, ‘बाको अघि जान्ने हुनुहुँदैन ।’ मलाई सानो छँदा सधैं लाग्थ्यो, बाजस्तो हुन पाए पो ! अहिले पनि त्यस्तै लाग्छ ।

बा हजुरबासँग सधैं डराउनुहुन्थ्यो रे । हजुरबाले बालाई गाली गरिराख्नुहुन्थ्यो रे । त्यो पञ्चायतकालको समय थियो । त्यही भएर शासन व्यवस्था जस्तै हजुरबा पनि कठोर हुनुभएको होला । तर मेरा बा आफ्ना बा जस्ता थिएनन् । प्रजातन्त्रकाल भएकाले होला बा पनि प्रजातान्त्रिक हुनुहुन्थ्यो । सायद बालाई आफ्नो बा जस्तो हुनु थिएन ।

पहिले म बासँग डराउँथें । अहिले म बासँग सतर्क हुन्छु । पहिले म बासँग जिद्धि पनि गर्थें । अहिले म बाको अनुहारमा देखिने भाव देखेर त्यसको व्याख्या गर्न खोज्छु । त्यसलाई अर्थ्याउन खोज्छु । पहिले म बासँग लुसुक्क पर्थें, अहिले भने म बेलाबखत आफूलाई बाको पनि बा भएजस्तो ठान्छु । कहिलेकाहीं समयसँगै म पनि बाको साथी भएजस्तो लाग्छ ।

Many types of Baa

बालाई मैले धेरै स्वरूपहरूमा बुझेको छु । उमेर सँगसँगै बाका बारेमा मेरा फरक–फरक बुझाइहरू निर्माण हुँदै गएका छन् । पहिले–पहिले बा जति ठूलो संसारमा कोही छैन जस्तो लाग्थ्यो । अहिले पनि यस्तै लाग्छ । पहिले–पहिले बाले सबै कुरा जित्नुहुन्छ जस्तो लाग्थ्यो । अहिले बाले अरूलाई खुसी पार्न र अरूलाई जिताउन बेलाबेला आफैंसँग हार्नुहुन्छ जस्तो लाग्छ । आफूसँग तर्क भए पनि कुनै परिस्थितिमा पनि जित्नअघि नसर्ने बाको बानी मलाई सधैं मन पर्दैन । त्यसैले बाका सबै खाले हारहरू मलाई मन पर्दैनन् । तर यो कुरा म बालाई भन्न सक्दिनँ । उमेरको उकालो चढेसँगै बाले आफूभित्र धेरैभन्दा धेरै संवेदना, करुणा र समभाव हुर्काइरहनुभएजस्तो लाग्छ ।

एउटा मान्छेलाई पूर्णरूपमा बुझ्न भावना, संवेदना र अभिव्यक्ति तीनै तहबाट बुझ्नुपर्छ । मैले बालाई सबै स्वरूपमा बुझ्न सधैंसधैं प्रयत्न गर्छु । कहिले सक्छु, कहिले सक्दिनँ । कहिलेकाहीं बा छोराछोरीलाई दुःख हुन्छ भनेर आफ्ना स–साना रहरहरू पनि लुकाउनुहुन्छ जस्तो लाग्छ ।

मान्छेहरूले तिमी त ठ्याक्कै बा जस्तै रै’छौ भन्यो भने मलाई खुसी लाग्छ । तर कतिपयले मलाई कला क्षेत्रमा आफ्नो शैली नल्याएको र बाकै शैली पछ्याएको भन्छन् । तर उनीहरूलाई सधैं मेरो जवाफ हुन्छ– मैले आफूभित्र कहीं न कतै बापन हुर्काइरहेको छु । जुन मबाट पर जानै सक्दैन । बाकै छत्रछायामा हुर्केपछि बाको शैली मभित्र आउनु कुनै नयाँ कुरा पनि त रहेन । बाकै व्यक्तित्वका कारण म फरक खाले छोरा हुन पाएँ । संसारका कमै छोराहरू म जस्तो हुन पाउँछन् । किनकि मेरो बालाई अरू धेरै मान्छेले आदार र प्रेमपूर्वक बा मान्छन् । बा म नहुँदा पनि उत्तिकै मायाले घेरिनुभएको हुन्छ । बालाई धेरैले भनेको सुन्छु, तपाईं त कस्तो आफ्नै बा जस्तो लाग्छ । यस्तो सुन्न पाउने कति छोराहरू संसारमा होलान् ।

बासँगै कतै गएका बेला बासँग कुरा गर्दै अरूले भन्छन्, उहाँ तपाईंको पुत्र ? त्यतिबेला म हत्त न पत्त एक कदम अघि सरेर भन्छु, पुत्र हैन सुपुत्र । बासँग सधैं सँगै भएर पनि होला अनि उहाँका हरभावहरूलाई नजिकबाट देखेकाले होला, म उहाँसँग सारै निकट छु जस्तो लाग्छ । २५ वर्षको उमेरमा बा छोडेर अमेरिका पुगें । तर १३ वर्ष नहुँदै बाकै गुँडमा आइपुगें । अझै परिपक्व भएर घर फर्केपछि मैले बालाई अझै नजिकबाट महसुस गर्न थालें ।

Many types of Baa

अरूका बा ‘रिटायर्ड’ हुन्छन् । तर मेरा बालाई मैले कामविहीन वा बेकामे कहिल्यै देखेको छैन । अरूका बा अफिस जान्छन्, आउँछन् तर मैले बालाई सधैं कामहरूबाटै घेरिएको देख्छु । जति उमेरको सिँढी चढे पनि बाको काम कहिल्यै सकिएको देखिन्न । रिटायर्ड हुने उमेरमा पनि बा नयाँनयाँ काम पो सिकिरहेको देख्छु । बेलाबेला बा चरा जस्तै लाग्छ । जसरी चराहरू साँझ परेपछि मात्रै घर फर्किन्छन् नि त्यस्तै । अक्सर बा पनि साँझ नढल्की घर फर्किनुहुन्न । बा भन्नुहुन्छ, ‘अँध्यारो नभई त के घर जाने ?’ बा सधैं आफैंसँग प्रतिस्पर्धा गरिरहेको देख्छु । म ५० वर्षको भएँ, बा ७५ वर्षको हुनुभयो । हिजोआज त बेलाबेला लाग्छ कतै म पो बाभन्दा छिटो बूढो हुन लागे कि क्या हो ?

बा आफ्नै स्वास्थ्य जटिलतासँग जुधिराख्नुभएको छ । ‘पार्किन्सन’ छ, अरू उमेरजन्य स्वास्थ्य जटिलता पनि हुने नै भए । तर पनि बा कहिल्यै थाकेजस्तो देख्दिनँ । यो वर्ष मात्रै बा तीन वटा फिल्ममा काम गर्ने गरी अनुबन्धित हुनुभयो । बाको गीत रेकर्ड पनि चलिरहेकै छ । गीत लेख्ने र के के सिर्जनामा मग्न हुने बाको बानी घटेकै छैन ।

Many types of Baa

सधैं बाकै वरिपरि भएर हो कि सधैं व्यस्त भइराख्ने बाको स्वभावले हो, मलाई बा सधैं एउटै उमेरमा अडिराख्नुभएजस्तो लाग्छ । पछिल्ला एकाध वर्षयता मात्रै मलाई बा बूढो हुनुभयो कि भन्ने लाग्न थालेको छ । त्यसभन्दा अघि त बा सधैं उस्तै लाग्थ्यो । बालाई कतिपयले भनेको सुन्छु, तपाईं त अझै पनि कति जवान ? त्यस्तो बेला बाले ठट्टाको शैलीमा भन्नुहुन्छ, म जवान भएर के गर्नु ? घरमा छोरा छिप्पिसक्यो ।

मेरा लागि बा साथीजस्तै हुनुहुन्छ । तर केही कुरा हुन्छन्, ती म तत्कालै बालाई भन्दिनँ । कतिपय कुरा हुन्छन्, बालाई मन पर्दैनन् । कतिपय कुरा हुन्छन्, बाको चित्त दुख्छ कि भनेर सोच्छु । कति कुरा भने बालाई कतिबेला भन्दा उपयुक्त हुन्छ भनेर विचार पनि गर्छु । बेलाबेला बाले ‘बा पना’ पनि देखाउनुहुन्छ । बाले बेलाबेला तैंले के जानेको छस् र भनेजस्तो पनि गर्नुहुन्छ । एकचोटि कुरैकुरामा मैले बालाई भनें– बा अब तपाईंले पनि मेरो कुरा सुन्नुपर्छ । म पनि त अब ४८ वर्ष लागिसकें । मैले पनि केही कुरा सिकिसकें । केही अनुभव गरिसकें । त्यसैले घर व्यवहारका कुरामा मेरो भावना पनि सुन्नुस् ।’ मेरो कुरा सुनेर बाले केही भन्नुभएन । सायद मनमा पो लिनुभयो कि ! तर यसो सोचीसम्झी ल्याउँदा धेरैजसो समय त मेरा बा साथीजस्तै हुनुहुन्छ । तर त्यसो भन्दैमा मैले बालाई सबै कुरा सिकाउने भन्ने पनि त होइन नि ।

बालाई सधैं भव्य स्वरूपमा स्विकार्ने भएर होला, म बासँग खासै तर्क बजाउँदिनँ । मैले बालाई यति नजिकबाट बुझेको छु, त्यसैले मलाई कहिल्यै पनि बालाई जित्नु नै छैन । बालाई मैले उचाइमा भने जितिसकेको छु । बा ५.८ इन्चको हुनुहुन्छ, म भने ५.११ इन्चको छु । चार इन्च उचाइले जिते पनि यो मैले चाहेर भएको होइन । बाको सफलता र संघर्ष दुवै बुझेकाले पनि मलाई यस्तो लागेको हुनुपर्छ । बालाई सधैं खुला किताबजस्तो देखेकाले पनि यस्तो भएको हुनुपर्छ । मैले बालाई व्यवहारबाट, स्वभावबाट मात्रै नभएर उहाँका गीत, संगीत, अभिनय र अनेक सिर्जनाबाट पनि बुझेको छु । त्यसैले पनि बाबारे मेरो बेग्लै बुझाइ भएको हुनुपर्छ ।

Many types of Baa

बाका केही स्वभाव मलाई मन पर्दैनन् । बेलाबेला बा बढी संवदेनशील नभइदिए हुन्थ्यो भन्ने लाग्छ । बा सधैं अरूकै चिन्तामा कुद्न छाडेर आफ्नो पनि ख्याल गरिदिए हुन्थ्यो जस्तो लाग्छ । आफ्नो स्वास्थ्यको जटिलताबारे पनि बुझिदिए हुन्थ्यो जस्तो लाग्छ । आमाको मृत्युअघिका बा र त्यसपछिका बा मलाई केही फरक लाग्छ । आमा बितेपछि बा पहिलेभन्दा अलिक बढी भावुक देखिन थाल्नुभएको हो कि भन्ने लाग्छ । बालाई सकभर एक्लै हुन दिन्नँ । तर पनि एक्लोपना उहाँभित्र कतै हुर्किरहेको छ कि भनेर बारम्बार सतर्क हुन्छु । बासँग कति धेरै अनुभूतिहरू हुर्किरहेका होलान्, ती कुरा उहाँ आमासँग बाहेक अरूसँग सायदै साट्न सक्नुहुन्न होला । त्यसैले पनि उहाँ भावुक हुनुभएको हो कि भन्ने लाग्छ ।

बालाई मैले विभिन्न स्वरूपमा देखें र भोगें । बाका धेरै स्वरूप छन् । तीमध्ये केही खास छन् ।

विद्रोही बा : बाले समाजको चल्तीको चलन भनेर कुरीतिहरूलाई कहिल्यै पछ्याउनु भएन । बरु बाले सधैंसधैं विद्रोह गर्नुभयो । परम्परागत नेवारी घरमा हुर्केर पनि बाले हजुरबासँग विद्रोह गरेर अन्तरजातीय बिहे गर्नुभयो । पञ्चायती शासन व्यवस्थाका विरुद्ध लड्नुभयो । राजाका अलोकतान्त्रिक कदमविरुद्ध लड्नुभयो । २०६२–६३ को लोकतान्त्रिक आन्दोलनमा बा अग्रमोर्चामा देखिनुभयो । यो सबै देख्दा बा विद्रोही हुनुहुन्थ्यो भन्ने लाग्छ । बाले महिलालाई हेलाँहोचो गर्ने, जातका आधारमा छुवाछूत गर्ने जस्ता कुरीतिको विरुद्धमा पनि सधैं लड्नुभयो ।

Many types of Baa

रिसाहा बा : बा बेलाबेला रिसाउनुहुन्थ्यो । तर अहिले त बा रिसाएको पनि हत्तपत्त थाहा हुन्नँ । सायद रिसलाई आफूभित्रै छिपाउनुहुन्छ कि ? म सानो छँदा बा रिसाउनुहुन्थ्यो । सुनेको थिएँ, हजुरबा त झन् बाभन्दा कति हो कति धेरै रिसाउनुहुन्थ्यो । म ७ वर्षतिर हुँदाको कुरा हो, बा भोज खान घरबाट चिरिच्याट्ट परेर निस्कनुभएको थियो । म र बैनी पनि बासँगै जाने भनेर सताउन थाल्यौं । उहाँको पछिपछि गर्न थाल्यौं । हामीले धेरै नै हैरान पारेपछि बाको रिसको पारो चढ्यो । बाले बहिनीलाई ट्याप्प टिपेर खाटमा हुर्राइदिनुभयो । अनि क्रोधित भएर मतिर हेर्नुभयो । म त्यसैत्यसै लुगलुग भएँ । म भागेर घरको छतमा पुगें । बाले पक्कै केही त गर्नुहुन्छ भन्ने डरमा छत (एक तलामाथि) बाट हाम्फालें । बा हेरेको हेर्‍यै हुनुभयो ।

बा त्यसरी नै रिसाएको अर्को घटना पनि छ । म ६ कक्षामा पढ्थें । एक दिन बाले मेरो ड्रएरमा चुरोट देख्नुभयो । त्यसपछि के हुनेवाला थियो मैले अनुमान गरिसकेको थिएँ । तर अनुमान गरेभन्दा फरक कुरा भयो । बाले बेस्सरी गाली गर्दै भन्नुभयो– तँ मदनकृष्णको छोरा भएर पनि यति सस्तो चुरोट खाने ? खान्छस् भने ५५५ चुरोट खाँ । यति भनेर बाले मेरो मुखमा चुरोट कोचिदिनुभयो । म चुपचाप बसें ।

Many types of Baa

बा रिसाएको अर्को पनि घटना छ । म ३ कक्षामा पढ्दाको कुरा हो, म घरबाट स्कुल जान निस्कन्थें, तर साथीहरूसँग लागेर कताकता डुलिहिँड्थे । स्कुल सकिने बेलामा भने असल विद्यार्थी जसरी घर पुग्थें । यसरी लगालग म २७ दिनसम्म स्कुलमा गयल भएँ । यो कुरा थाहा पाएर २८ औं दिनमा बा स्कुल पुग्नुभो । सबै विद्यार्थीका अघि बाले मलाई कुट्नुभो । म चुपचाप बसें ।

संवेदनशील बा : हुर्किंदै गएपछि मैले बुझ्दै गएँ बाभित्र अर्को संवेदनशील बा पनि छ । त्यही संवदेनाका कारण बा बेलाबेला रुनुहुन्छ । आमाको मृत्युका बेला बा भित्रभित्रै धेरै रुनुभएको थियो । तर हाम्रोअघि भने उहाँले रोएको धेरै देखाउनुभएन । मलाई अमेरिका छाडेर फर्किने बेलामा पनि बा रुनुभएको थियो । हुर्के/बढेको छोरा संसार देख्न र बुझ्न निस्किँदा पनि बा किन रुनुभयो होला भनेर मैले सोचें । तर बाहरू किन रुन्छन् भनेर मैले बिस्तारै बुझ्दै छु । न्युयोर्कस्थित विमानस्थलभित्र मलाई छोडेर बा र किरणकृष्ण केसी अंकल एयरपोर्टबाट निस्कनुभएछ । अनि विमानस्थलकै बाथरुममा छिरेर ह्वा ह्वा गरेर रुनुभएछ । बहिनी सरानाको बिहेमा पनि बा रुनुभएको थियो । तर सरानाले नै जिस्काउन थालेपछि बाको रुवाइ हरायो ।

खटुवा बा : बा सधैं खटिराख्ने मान्छे । काम त उहाँको रगतमै बगिरहेजस्तो लाग्छ । केही न केही गर्नैपर्ने । कोही न कोहीसँग संवादमा भइराख्ने । केही न केही कुरा मनमा खेलाएर हिँडिराख्ने । फुर्सद भयो भने पनि गीत गुनगुनाउने, एउटै गीतलाई अनेकन लयमा कसरी गाउन सकिन्छ भनेर अभ्यास गरिराख्ने । यस्तो लाग्छ मेरा बा जस्तो खट्ने बा अरूका छैनन् ।

बालाई मैले विभिन्न स्वरूपहरूमा बुझे पनि खासमा उहाँ संवदेनशील र भावुक मान्छे हो । भावुक भएरै उहाँ गीत/संगीत र अभिनयमा आफूलाई अनेकन पात्रहरूमार्फत बाँचिराख्नुभएको छ । बा जस्तो त म कहिल्यै हुन सक्दिनँ । तर मेरी छोरीका निम्ति म सधैं बाजस्तै संवेदनशील र मानवीय गुणहरूले भरिएको बा हुन सकुँ ।

यमन श्रेष्ठ कलाकार हुन् ।

Link copied successfully