ओहो कति चिसो हुनुभएको बुबा ! शरीरको तातोजति जम्मै हामीलाई दिएर बुबा हिउँभन्दा चिसो हुनुभएको थियो । बुबालाई हेर्न भनेर गएको भाइ बेहोस भएर त्यही अस्पतालभित्र स्लाइन चढाइरहेको थियो । जानेहरूले केही लैजाँदैनन् भन्थे, होइन रहेछ । बुवाले ममीको चुरा, पोते, सिन्दूर सबै लिएर जानुभयो ।
What you should know
काठमाडौँ — ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् ।उर्वारुकमिव बन्धनान्मृत्योर्मुक्षीय माऽमृतात् ।।
पद्मासनमा बसेर मन्त्र जपिरहेथें म । उनी अर्को कोठामा बसेर हनुमान चालिसा पढिरहेथिन् । छोरो घरी म भएको कोठामा आउँथ्यो त कहिले मामु भएको कोठामा पुग्थ्यो र सोध्थ्यो के भयो बाबा ? के भयो मामु ? के भयो बुबालाई ? हामी उत्तरविहीन भएर एकोहोरो मन्त्र जपिरहेका थियौं । भाइ डाँको छोडेर रोइरहेको थियो । भाइ रोएको तरिकाले अनुमान लगाइसकेको थिएँ कि केही अप्रीय घटना घटिसकेको छ ।
एकैछिनमा गाउँबाट सन्तोष भाइको फोन आयो र उसले बुबा बेहोस हुनुभएको र एम्बुलेन्सबाट सुन्दरबजारको नमुना हस्पिटलमा लाँदै गरेको खबर सुनायो । सन्तोषको कुराले मनमा आशा पलायो । सोचें, सुन्दरबजारमा देखाएर बुबालाई काठमाडौं नै ल्याउने भएपछि यहीं कुरौं भनेर उनले जाऔं कि जाऔं भनेर कर गर्दा पनि रोके ।
अत्यन्तै आत्तिएको थिएँ म । कञ्चटबाट पसिना तरतर चुहिरहेको थियो । के गर्ने, के नगर्ने कुनै अत्तोपत्तो थिएन । थियो त केवल सन्तोषको फोनको प्रतीक्षा ।
तल भाइ अत्यधिक रोइरहेको थियो । माइल्दाइ (ठूलोबुबाको छोरा) लाई फोन गरेर बोलाएँ । दाइ तुरुन्तै आइपुग्नुभयो । त्यसपछि मात्र तल झरेर भाइलाई भेट्ने आँट आयो तर म भर्याङमै अचेत भएछु । दाइले उठाएपछि इन्तु न चिन्तु भएर बसें । एकैछिनमा ठुल्दाइ (ठूलोबुबाको छोरा), कान्छो अंकल, अन्टी आइपुग्नुभयो र रुन थाल्नुभयो ।
एकैछिनमा साइँलो अंकल लगायत सबै भेला हुनुभयो तर कसैले पनि बुबा नरहनुभएको कुरा भनेनन् । सबैका आँखा र हाउभाउले भने बुबा नरहनुभएको विवरण बताइरहेका थिए । नभनेरै कति कुरा सबिस्तार वर्णन हुने रहेछन् । सन्तोषको फोन मात्र थियो आशा तर घरभरि निराशाको यति ठूलो पर्खाल लागेको थियो कि सन्तोषको फोनको सन्तोषको नेटवर्क छिर्नै सकेन ।
यतिबेलासम्म रातको ११ बजिसकेको थियो । अनिश भाइ माइक्रो खोजिरहेको थियो । एकैछिनमा माइक्रो आयो । छ वर्ष र पाँच वर्षका नाबालक च्यापेर हामी १८ जना १ बजे राति कीर्तिपुरबाट गाउँका लागि गाडी चढ्यौं ।
पृथ्वी बनेको गाडी पीडाको ग्रहसँग ठोक्किएर आकाशमण्डलबाट खस्न लागेको जस्तो गरी हुइँकिरहेको थियो । साउनको महिना आँसुको अतिवृष्टिले मुटुमा पहिरो गएको थियो । गाडीमा १८ जना थियौं तर सबै एक्लाएक्लै । एक्लोपनसँग गफ गर्न बुबासँगका अतीतहरू याद बनेर सम्झनाको दैलो ढकढक्याइरहेका थिए । बुबा कहिले खेताला, कहिले आर्मी, कहिले चुनाव जितेको नेता त कहिले जिन्दगीदेखि निराश भएर आउनुहुन्थ्यो । सम्झनाले छुँदा मात्र रहेछन्, सम्झनालाई छुन सकिँदो रहेनछ ।
आर्मीको जागिर छोडेर गाउँ जानुभएको बुबाले वडाध्यक्ष, किसान संघको सभापति, व्यवस्थापन समिति अध्यक्ष, जिल्ला कार्यसमिति सदस्य, रेडक्रसलगायत विभिन्न सामाजिक पदमा रहेर आफ्नो जीवनका तीसौं वर्ष बिताउनुभयो ।
बुबाको आर्मीको जागिरले हामीलाई खेत दिएको थियो । शिक्षा दिएको थियो । घर दिएको थियो । तर, बुबाको राजनीतिले हामीलाई कहिल्यै केही दिएन । दियो त जहिल्यै दुःख, डर, आतंक र अभाव । बुबाको राजनीतिले बुबालाई पनि केही दिएन सायद । दियो त दुःख, डर र आतंक । ‘पैसाको राजनीति गर्नु हुँदैन, राजनीति त समाजसेवा हो,’ उहाँ भन्नुहुन्थ्यो । द्वन्द्वपीडित भएको बेला सरकारले दिएको रकम पनि अरूले नै खाए भन्नुहुन्थ्यो बुबा । तर हामीले आजसम्म पनि खोजी गरेका छैनौं ।
जनआन्दोलनमा तत्कालीन जनमुक्ति सेनाले जहाँ भेट्यो त्यहीं हत्या गर्ने भनेर आउँदा बार्दलीमा सुत्नुभएको बुबालाई ममीको सारी, पेटिकोट र साहसले छेकेको थियो । तर यस पटक आफ्नै काखमा सुताएर सुनपानी खुवाउनुभएकी आमाले त्यतिबेलाको जस्तो गरेर काललाई फिर्ता पठाउन सक्नुभएन । बोकेको भारी नबिसाइकन बुबालाई काखमा राख्नुभएकी आमाका लागि घाँसको भारी कपास बन्यो सायद ।
गाडी त्यही बाटो गएको थियो जुन बाटो दसैं मनाउन हामी यसैगरी गाडी रिजर्भ गरेर जाने गर्थ्यौं पहिले । घर पुग्दा बुबाका आँखामा सन्तान देख्दाको खुसी प्रस्टै देखिन्थ्यो । दसैं खिल बनेर खुब घोच्न आइरहेको थियो । घरमा जुन ठूलो खसी छ त्यही काटेर आफैंले पकाएर चाख्न दिई दिई भुटेको मासु थालमा राखेर ‘ल सबैले यही थालबाट खाने’ भनेर खाइसकेपछि ‘अब झोल हालेर कुइनाबाट चुहिने गरी खानुपर्छ’ भन्नुहुन्थ्यो बुबा ।
अब कसले पर्खिन्छ हामीलाई दसैं आयो भनेर । अब कसले देला हामीलाई त्यसरी पकाएर । ‘तेरो साइज नापेर ल्याए जुत्ता, कोट, पाइन्ट, सर्ट ट्याक्कै मिल्छ’ भन्नुहुन्थ्यो । संसारमा मेरो साइज मिल्ने बुबाभन्दा अर्को कोही थिएन । ओहो खुसीका यादले पनि सियो तताएर मुटुमा रोपेभन्दा ज्यादा डस्दारहेछन् ।
भूत कालले अँगालो हालेपछि वर्तमान र भविष्य काल कहिल्यै नआउने गरी बुबाको जीवनबाट भागेका थिए । रिसाएरै किन नहोस् रिसाउनका लागि बुबा हुनुहुन्थ्यो । अब त रिसाउन पनि नपाउने गरी जानुभयो बुबा ।
गाडी गाउँतिर अगाडि बढिरहेको थियो । अरूबेला भएको भए जति गाउँको नजिक पुग्यो उति उल्लासको लिंगेपिङ मच्चिन्थ्यो । यतिबेला भने गाडी जतिजति गाउँ नजिक पुग्छ मच्चिएको लिंगे पिङको पोयो चुँडिएको जस्तो गरेर मनका डोरीहरू चुँडिइरहेका थिए । मनमा गहिरो पीडाले बास गरेपछि उज्यालो, अँध्यारो भन्ने केही थाहा हुँदो रहेनछ । आँखा खुल्लै भएपछि रातको पनि केही लाग्दो रहेनछ । मनको अँध्यारोले निलेपछि दिनको पनि केही नलाग्दो रहेछ ।
बिहान रिमरिम उज्यालो हुँदा अर्चल धारामा पुगेको थियो गाडी । गोडा, मन, दिमाग भन्दै थिए, ‘टायर पन्चर भएर या कसैले अप्रिल फुल सेलिब्रेसन गरिदिए नि हुन्थ्यो ।’
सानो छँदा बुबाले किनिदिएको जिन्सको ज्याकेट र पेन्ट लगाएर बुबाको चोरी औंला समातेर खिचेको फोटो हृदयको दैलोमा आएर टक्क उभियो र मलाई एकतमासले हेर्न थाल्यो । तत्कालै आँखाको बाढीले मनको बगैंचा उजाड बगरमा परिणत गरिदियो । बुबाले दसैंमा टीका लगाइदिएर मनमनै दिएको आशिष हृदयको पहाडमा ठोक्किएर परकम्पित भइरह्यो । घरबाट निस्कने बेला खर्च छ ? भनेर सोध्नुभएको सम्झनाले हृदयको खलोमा कोदो चुटेजस्तो गरी चुटिरह्यो । अब कसले सोध्छ मलाई खर्च छ ? कसले देला मनमनै आशिष ?
सोच्दा सोच्दै गाडी नमुना हस्पिटल सुन्दरबजार पुग्यो । पुग्नासाथ कान्छो अंकलले ‘रुने हैन है ता रोइस् भने ममीको हालत के होला’ भन्नुभयो ? झसंग भए ! पहिरोमाथि अर्को पहिरो खसेर नदी थुनिए जस्तो गरेर मभित्र पीडाको ठूलो ताल बन्न पुग्यो । ममीलाई ‘म छु नि नरुनु !’ भन्न पर्खिरहेको थिएँ । एकैछिनमा ममी आइपुग्नुभयो । सोचेथें ममी बेहोस हुनुहुन्छ होला, कसरी सम्हाल्ने तर उल्टै म रोएँ भने यी सन्तान के गर्लान् भनेर ममीले बिछोडको ठूलो महासागर आफूभित्र थाम्नुभएको रहेछ । आमा हुन साँच्चै सजिलो रहेनछ ।
ममीलाई देख्नासाथ गएर अटोमै अँगाले । ममीले ‘भाइ कहाँ छ ? त्यसलाई नरो भन्’ भन्नुभयो । पुनः झसंग भएँ र भाइलाई थुम्थुम्याउन पुगें । यति गर्दा गर्दै बुबाको पार्थिव शरीरलाई पहेँलो कपडाले ढाकेर राखिसकिएको थियो । माइल्दाइलाई बुबा भएको ठाउँमा लगिदिन भनें कोही एक जनाले ‘सक्छौ हेर्न ?’ भने ।
अचम्म लाग्यो आफ्नो बुबालाई हेर्न पनि नसक्ने ? आफैंले आफैंलाई प्रश्न गरें । माइल्दाइले ‘सक्छ किन नसक्नु’ भन्नुभयो । बुबाको अनुहार र गोडाबाट कपडा हटाएर बुबालाई चुमें र ढोगें । ओहो कति चिसो हुनुभएको बुबा ! शरीरको तातोजति जम्मै हामीलाई दिएर बुबा हिउँभन्दा चिसो हुनुभएको थियो । बुबालाई हेर्न भनेर गएको भाइ बेहोस भएर त्यही अस्पतालभित्र स्लाइन चढाइरहेको थियो । बुबाको आडैमा बसेर म ममीलाई हेरिरहेको थिएँ । हर निमेष सँगै बसेर सुख, दुःख, झगडा र अत्यन्तै प्रेम गरेका बुबाममी आज एक्लिनुभएको थियो । ममीका आँखामा एक्लोपनले डेरा जमाएको थियो ।
एकैछिनमा घाटमा लैजाने बेला भएछ । घाँस काटेर आएर भैंसी दुहुन बाल्टी लिएर निस्कनुभएको बुबा पिँढीबाट यस्सो लड्दा कसरी यस्तो हुन सक्छ ? यथार्थ मान्न खोजिरहेकै थिएन मन । लाभा लिएर घुम्ने बेला ममीले आफ्नो गलाको पोते झिकेर बुबालाई चढाउँदै अन्तिम पटक ‘राम्रोसँग जाऊ’ भन्नुभएको थियो । यो वाक्य संसारमा आजसम्म बोलिएको प्रेमिल वाक्य थियो । बुबा पात भएर हात हल्लाइरहनुभएको थियो । सोचें, जानेहरूले केही लैजाँदैनन् भन्थे, होइन रहेछ । बुबाले ममीको चुरा, पोते, सिन्दूर सबै लिएर जानुभयो ।
मर्स्याङ्दी नदीको चिसो पानी नजिकै बुबालाई राखिएको थियो । आफन्त आउने क्रम जारी नै थियो । सबै आए तर बुबा आउनुभएन । महेन्द्र हजुरबुबाले मेरो कपाल खौरिँदै हुनुहुन्थ्यो, मैले बुबाको देहावसान भएको बिर्सिएछु र ‘पख्नु त बुबा बोल्नुभए जस्तो लाग्यो’ भनेछु । कान्छो अंकल र भिनाजुले ‘के भन्छ ?’ भनेपछि झसंग भएँ ।
बुबालाई दागबत्ती दिन हातमा मुखाग्नि लिएर घुमिरहेका थियौं, भाइ र म । तीन पटक घुमेपछि जब बुबाको मुखमा आगो राखें, मैले अन्तिम पटक थुनिएको नदीले पहाड फोरेर हामफाले झैं मनको घुक्कलाई आँसुको नदीले फोडेर चिच्याएँ– बुबा... ।
तेह्र दिनसम्म धेरै मान्छे आए । बुबा आउनुभएन । साँझ पर्नै लाग्दा डाँडाको बाटो भएर बुबा टुप्लुक्क आइपुग्नुहुन्छ जस्तो मात्र लाग्यो । को झर्ला अब मेरो घरको बाटो भएर चिहानपाटाबाट ? को उक्लेला मेरो घरको बाटो भएर बेंसीबाट ? के गएको मान्छे फर्किंदैन ?
अब ‘काठमाडौंमा सधैं बस्ने गरी कहिले आउने ?’ भन्दा ‘अझै बीस वर्ष आउन्न अनि आउँछु’ भन्ने ‘ए बुबा ! बीस वर्षपछि आउनु ल म कुरिरहन्छु ... ।’
बुबा नभएको मान्छे टुहुरोसिबाय केही हुँदो रहेनछ ! हार्दिक श्रद्धाञ्जली बुबा !
