रियल हिरो त बुबा नै

मेरो भविष्य र खुसीका लागि बुबाले दुःखकष्ट, संघर्ष गर्नुभयो, गहना बेच्नुभयो, ऋण लिनुभयो, मजदुरी गर्नुभयो, अपमान सहनुभयो । एउटा असल अभिभावकले जे गर्नुपर्थ्यो, त्यो सबै गर्नुभयो ।

भाद्र ६, २०८२

स्मृति हरिजन

The real hero is the father

What you should know

काठमाडौँ — सानैदेखि अभाव, पीडा र गरिबीमा हुर्किएँ । पढ्न–लेख्नलाई पुस्तक, कापी र कलम नै जुटाउन संघर्ष गर्नुपर्थ्यो । मीठो–मसिनो खाने लाउने, घुम्न जाने कुरा त सपना जस्तै थियो । साँझ–बिहानको चुलोचौको गर्न नै बुबालाई निकै संघर्ष थियो ।

म जान्ने भएदेखि गरिबी र उत्पीडनले डाक्टर बन्ने सपना पूरा हुन्छ कि हुन्न भनेर सधैं तनाव र चिन्तामा हुन्थें । बुबा सन्तराम हरिजनले इँटाभट्टामा ज्याला मजदुरी गरेर, ट्युसन पढाएर र ऋण काढेर मेरो पढाइ अगाडि बढाउने वातावरण बनाइदिनुभयो । मलाई डाक्टर बनाउने रियल हिरो बुबा नै हो । बुबाको संघर्षको कथा सुनेर, मिहिनेत र आत्मविश्वास देखेर नै म आज यहाँसम्म आइपुगेकी हुँ ।

मेरो घर कृष्णनगर नगरपालिका–९ बहादुरगन्जमा हो । ५ कात्तिक २०५६ मा म जन्मिएकी हुँ । म अभावै अभावमा हुर्किएर ‘डाक्टर’ बनेपछि चर्चा चुलिएको हो । देशकै चमार समुदायबाट पहिलो महिला डाक्टरका रूपमा चिनिन पाउँदा गर्वले छाती चौडा हुन्छ । नेपाल मेडिकल काउन्सिल (एनएमसी) को ७२ औं लाइसेन्स परीक्षा पनि उत्तीर्ण भइसके । गत जेठमा सञ्चालित परीक्षाबाट उत्तीर्ण भएकी हुँ । अहिले म एनएमसी लाइसेन्स नम्बर लिनका लागि फाराम भरेर बसेकी छु । एनएमसी नम्बर पाएपछि सरकारले खटाउने अस्पतालमा दुई वर्षका लागि बन्डिङ सेवा गर्न जाने तयारीमा छु ।

मलाई हुर्काउन, पढाउन बुबाले ठूलो संघर्ष गर्नुभएको छ । बुबाले प्राथमिक कक्षा (१ देखि ५) पढ्दा सामाजिक भेदभाव सामना गर्नुपर्‍यो रे । उहाँले महेन्द्र प्राविमा पढ्न जाँदा बस्न छुट्टै बोरा लिएर जानुपर्ने, अलग्गै बस्नुपर्ने र पानी पिउँदा माथिल्लो जातकाले गाग्रीबाट अञ्जुलीमा पानी खन्याइदिएपछि पिउन पाउनेजस्ता छुवाछूत र विभेद सहनुपर्‍यो । तर सबै कुरा सहेर बुबाले आफ्नो अध्ययनलाई निरन्तरता दिनुभयो ।
गरिबीको यस्तो हद थियो कि बुबा स्कुल पढ्न जाँदा जाडोमा स्वेटर हुँदैनथ्यो रे । हाफ सर्ट लगाएर जानुहुन्थ्यो रे ।

गरिबी र विपन्नता भए पनि बुबाले पढाइ छाड्नुभएन । बहादुरगन्जको श्रीराम गोरखा माविबाट ०३९ सालमा एसएलसी दिनुभयो, परीक्षाको सेन्टर टपसहित प्रथम श्रेणीमा उत्तीर्ण हुनुभयो । बाहिर पढ्न जान सक्ने क्षमता थिएन । नजिकको सीमावर्ती भारतको उत्तरप्रदेशस्थित सोहरतगढको शिवपति इन्टरकलेजबाट प्रथम श्रेणी आईएस्सी उत्तीर्ण गर्नुभयो । बुबा पढ्न मिहिनेती र लगनशील हुनुहुन्थ्यो । अंग्रेजी, गणित र विज्ञान विषयमा राम्रो ज्ञान थियो । विद्यार्थी ट्युसन पढ्न निकै आकर्षित हुन्थे । उहाँले दाङको गढवामा सरकारी विद्यालयमा पढाउनुभयो । पछि काठमाडौं गएर तयारी गरेर असइमा नाम निकाल्नुभयो । वडा प्रहरी कार्यालय, कमलपोखरीबाट जागिर सुरु गर्नुभयो ।

बुबाको कमान्डमा रहेको टोलीले २०४५ मा बलात्कार घटनामा एक जनालाई पक्राउ गरेको थियो रे । ती त व्यक्ति प्रहरी उच्च अधिकारीका आफन्त रहेछन् । त्यसपछि बुबालाई तीन हजार घूस लिएको भनेर बर्खास्त गरियो रे । बुबा निर्दोष हुनुहुन्थ्यो तर शक्तिशालीसँग लड्न सक्ने समार्थ्य भएन । त्यही भएर बर्खास्तमा पर्नुभयो । यस्तो घटना नभएको भए बुबा आज प्रहरीको उपल्लो दर्जामा पुग्नुहुन्थ्यो । हामीले अभाव र पीडा गुज्रनुपर्दैनथ्यो ।

हजुरबुबा घर बनाउने मिस्त्री काम गर्नर्हुन्थ्यो । जग्गा खासै थिएन । बुबाले दाङ र काठमाडौंमा स्कुल, ट्युसन पढाएर जोहो गरेको पैसाले केही जग्गा किन्नुभयो । पछि विवाह हुन्छ कि हुँदैन भनेर बुबाको ५ वर्षकै उमेरमा विवाह गरिएको रहेछ ।

हामी छोराछोरी हुर्कंदै गयौं । दुःख, पीडा अभाव र उत्पीडनले आक्रान्त बुबाले छोराछोरीलाई राम्ररी पढाउने संकल्प गर्नुभयो । बुबाले पढेकै बहादुरगन्जको श्रीराम गोरखा माविमा हामी तीन छोरी र एक छोरा भर्ना भयौं । परिवारका तीन छोराछोरी छात्रवृत्तिमा नाम निकाल्दै अघि बढिरहेका छौं । यो बुबाको संघर्षको कथा र प्रेरणा एवं उहाँले सिकाएको अनुशासनका कारण सम्भव भएको हो ।The real hero is the father

हजुरबुबा बिरामी भइरहने, बुबा असइको जागिरबाट बर्खास्त भएको अवस्था थियो । छोराछोरीलाई पढाउन खर्चको जोहो गर्नुपर्दा बुबाले अध्ययनलाई निरन्तरता दिन सक्नुभएन । आईएस्सी उत्तीर्णपछि रोकिनुपर्‍यो । सबैभन्दा सस्तो क्याम्पस खोजेर लगनखेलको मछिन्द्र क्याम्पसमा बीकममा भर्ना त हुनुभयो तर पैसा नभएर पढ्न सक्नुभएन । जेठी दिदी रञ्जनाले कक्षा १० सम्म मात्रै पढिन् । भाइ सन्दीप हरिजन छात्रवृत्तिमै भारतको प्रतिष्ठित प्राविधिक संस्थान नेसनल इन्स्टिच्युट अफ टेक्नोलोजी (एनआईटी), राउकेला ओडिसामा स्नातक तहको कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङको छैटौं सेमेस्टर अध्ययन गरिरहेका छन् । २३ वर्षे सन्दीपले भारतीय दूतावासको छात्रवृत्ति पाएर त्यहाँ पढिरहेका हुन् । माइली दिदी सिर्जना बेलायतमा एमएस्सी अध्ययन गरिरहेकी छन् । उनी पनि आंशिक छात्रवृत्ति पाएर त्यहाँ पुगेकी हुन् ।

हाम्रो समुदायमा कक्षा ८ उत्तीर्ण गर्नु पनि असाध्यै कठिन छ । माथिल्लो कक्षामा पढ्न लागेपछि रोक्ने प्रयास हुन्छ । मलाई पनि आफन्तले बुबासँग त्यो कुरा धेरै पटक गरेको सुनेकी थिएँ तर बुबाले इन्कार गरिदिनुभयो । ०७२ सालमा गाउँकै विद्यालयबाट प्रथम श्रेणीमा एसएलसी सकेर मैले काठमाडौंको पेन्टागन कलेजबाट बायोलोजीमा प्लस टु सकें । त्यसपछि एमबीबीएसको शैक्षिक यात्रा अघि बढ्यो । प्लस टु छात्रवृत्ति पाएर पढेकी थिएँ । ४०/४५ लाख तिरेर मलाई एमबीबीएस पढाउन सक्ने हैसियत मेरो बुबाको थिएन । सबै सम्पत्ति बेच्दा पनि पुग्दैन थियो । फेरि म मात्रै थिइनँ पढ्ने, दिदी र भाइ पनि पढिरहेका थिए ।

बुबाले धेरै ठाउँ चहार्नुभयो, साथीभाइसँग सरसहयोग माग्नुभयो । त्यहीबीच कसैबाट बुबाले विश्वविद्यालय अनुदान आयोगले छात्रवृत्ति दिन्छ भन्ने सुन्नुभयो । सोधखोज गर्नुभयो । म पनि हतारहतार एमबीबीएस तयारी कक्षाका लागि नेम इन्स्टिच्युटमा भर्ना भएँ । तर त्यहाँ बुझाउन मासिक ट्युसन शुल्क ३५/४० हजार नहुँदा बुबालाई निकै सकस भयो । कता–कताबाट जोहो गरेर ल्याउनुहुन्थ्यो । पैसा दिन आउँदा उहाँको अनुहारमा पीडा र दुःख झल्केको देख्थें । मलाई गाह्रो हुन्थ्यो ।

२०७६ सालमा एमबीबीएस प्रवेश परीक्षामा उत्तीर्ण भएँ । प्रवेश परीक्षा उत्तीर्ण गरेको दिन बुबाको अनुहारमा खुसीको आँसु छचल्किएको थियो । तर त्यसपछि बुबाको कष्टकर दिन सुरु भयो । एमबीबीएस अध्ययनका लागि पैसा नलाग्ने भए पनि छात्रावास, पाठ्यपुस्तक र परीक्षा शुल्कलगायत अध्ययन सामग्रीका लागि खर्च जुटाउनुपर्थ्यो । छात्रावास शुल्क मात्रै वार्षिक एक लाख बुझाउनुपर्थ्यो । पाठ्यपुस्तकका लागि वर्षको ५० हजार र अन्य खर्च ५/७ हजार हुन्थ्यो । ठूली दिदीलाई बेलायत पठाउँदा र मेरा लागि मात्रै बुबाले जग्गा धितोमा राखेर करिब ३० लाख ऋण लिनुभयो । महिनाकै ३५ हजार ब्याज बुझाउनुपर्छ । साथीभाइसँग पनि ५/७ लाख रुपैयाँ ऋण लिनुभएको छ । उहाँले छोराछोरीमाथि लगानी गर्नुभएको छ ।

सरकारको छात्रवृत्तिमा जानकी मेडिकल कलेज, जनकपुरबाट एमबीबीएस उत्तीर्ण गर्दाको क्षण अविस्मरणीय छ । यसको सबै श्रेय बुबालाई दिन्छु । देशकै चमार समुदायबाट पहिलो महिला डाक्टरका रूपमा चिनिन पाउँदा गर्वले छाती चौडा हुन्छ । उत्साहित र उत्तिकै भावुक बनेकी छु । मेरा लागि यो अध्ययनका रूपमा मात्रै थियो होला तर मेरो बुबाका लागि स्वाभिमान र आत्मसम्मान थियो ।

मेरो भविष्य र खुसीका लागि बुबाले दुःखकष्ट, संघर्ष गर्नुभयो, गहना बेच्नुभयो, ऋण लिनुभयो, मजदुरी गर्नुभयो, अपमान सहनुभयो । एउटा असल अभिभावकले जे गर्नुपर्थ्यो, त्यो सबै गर्नुभयो, कुनै कसर बाँकी राख्नुभएन । एउटा असल अभिभावकले पेट काटेर गरेको दुःखजिलोको सम्मान जति गरे पनि कम हुन्छ । म बुबाप्रति सदैव कृतज्ञ रहनेछु । चमार, डोम, मुसहर र बादी समुदायकी पहिलो महिला डाक्टर बनाउने बुबाप्रति सलाम छ । मैले बुबालाई नआत्तिन भनेकी छु । अब एक/दुई वर्षमा हामी तीनै जना सबै कमाउने हुन्छौं, ऋण सबै तिर्छौं भन्दा बुबाको मन गद्गद् भएको पाएकी छु ।

जातीय छुवाछूत तथा भेदभावका कारण बहिष्करणमा परेको चमार समुदायकी म अनेक बाधा–व्यवधान चिर्दै चिकित्सक बनेकी छु । यो उपलब्धि केवल मेरो व्यक्तिगत सफलता होइन, समाजमा गढेको विभेदलाई शिक्षाको माध्यमबाट फाल्न सकिन्छ भन्ने उदाहरण पनि हो । दलित त्यसमा पनि मधेशी दलित महिला, जो दोहोरो उत्पीडनमा छन्, बाँच्नकै लागि संघर्ष गर्नुपर्ने अवस्था छ, त्यस्तो समुदायबाट चिकित्सक बन्ने विरलै हुन्छन् । त्यसमध्येकी एक हुन पाउनु मेरा लागि खुसीको कुरा हो । मेरो धोको अझै सकिएको छैन । गाइनोकोलोजीमा एमडी गर्ने सपना छ । ग्रामीण महिला पुरुष डाक्टरसँग आफ्नो समस्या खुलस्त भन्न सक्दैनन् । त्यसका लागि पनि प्रसूति विशेषज्ञ बन्ने मेरो इच्छा छ ।

(चमार जातिकै पहिलो महिला डाक्टर स्मृतिसँग कान्तिपुर संवाददाता मनोज पौडेलले गरेको कुराकानी)

स्मृतिबारे ईकान्तिपुरमा यसअघि प्रकाशित यो सामाग्री पनि पढनुहोस : 

स्मृति हरिजन चमार बनिन् डाक्टर

स्मृति हरिजन स्मृति हरिजन चमार समुदायबाट सम्भवतः पहिलो महिला डाक्टर हुन् ।

Link copied successfully