पिताहरूको संघर्ष, त्याग र लडाइँ आफैंमा प्रेमको अनुपम संग्रहालय हो । त्यसलाई शब्दमा पूर्ण हुने गरी वर्णन गर्न सकिन्न, केवल अनुभूत गर्न सकिन्छ ।
What you should know
काठमाडौँ — हरेक वीर्यवान् पुरुष बाबु बन्न सक्छ । तर सबै जना पिता हुन सक्दैनन् । नियोकर्टेक्स दिमाग सबैभन्दा फराकिलो हुनाले मान्छे अरू प्राणीभन्दा विवेकी र बुद्धिमान हुन्छ । विवेक, करुणा र प्रेम नभए जीवनको एक मात्र उद्देश्य सम्भोग गर्ने, सन्तान जन्माउने र मर्ने अरू प्राणीभन्दा मान्छे फरक हुँदैन । भागीरथी श्रेष्ठको कथा ‘अवसान’ मा अपांगता भएकी छोरीको सुरक्षा र स्याहारमा बाबुले आफ्नो सम्पूर्ण समय समर्पण गर्छ । धृतराष्ट्रको पुत्रमोहले भने महाभारत युद्धमा नरसंहार मच्चाउँछ ।
नारायण ढकालका उपन्यासहरूमा पनि बाबुको भूमिकासम्बन्धी प्रसंगहरू बारम्बार आउँछन् । खगेन्द्र संग्रौलाले आफ्ना रूढिवादी पिताबारे थुप्रै निबन्धमा चर्चा गरेका छन् । तर पिताको भूमिका सम्बन्धमा सम्भवतः सबैभन्दा लोकप्रिय नेपाली कृति बुद्धिसागरको उपन्यास ‘कर्णाली ब्लुज’ हो । पितासम्बन्धी आफ्ना अनेक संस्मरणलाई केही हास्य, केही मार्मिकता थपथाप गरेर उनले चार सय पृष्ठको उपन्यास लेखे, जसको नायक फेल भएको छोरालाई स्कुलको हेडमास्टरसग कुरा मिलाएर पास गराउनसमेत पछि पर्दैन ।
पिता टेक्ने जमिन र समाउने हाँगा दुवै हो । ऊ रहुन्जेल सन्तान आफ्नो धरातलबाट कहिल्यै भासिँदैन । तर यो सम्बन्ध रगतको नातामा सीमित हुँदैन । मोपासाँको कथा ‘साइमन्स पापा’ मा बालक साइमन बाबु नहुँदा स्कुलमा अनेक लाञ्छना, अपमान र यातना भोग्न बाध्य हुन्छ । यस्तो अपमान सहन नसकेर एक दिन ऊ समुद्रमा फाल हानेर आत्महत्या गर्न खोज्छ । उसलाई फिलिप नामक युवा मजदुरले बचाउँछ । त्यसपछि सधैं फिलिप नै साइमनका लागि बाबुझैं सुरक्षाको ढाल बनेर उभिन्छ । साइमन र फिलिप असल साथी बन्छन् । बाबु र छोरा पनि साथी बन्न सक्छन् । छोराकै खुसीका लागि उच्च घरानाकी एकल महिला लाँ ब्लासेट फिलिपसँग बिहे गर्न राजी हुन्छे ।
मोपासाँकै कथा 'द फादर’ मा भने एक निम्न वर्गीय प्रेमी आफ्नी गर्भवती प्रेमिकासँग छुट्टिन्छ । केटीको बिहे धनाढ्य युवकसँग हुन्छ । पछि पूर्वप्रेमी आफ्नो छोरालाई एक झलक देख्न सधैं तडपिएर प्रेमिकाको घरछेउ उभिइरहन्छ ।
भित्तरियो डेसिकाको फिल्म ‘उम्बर्टो डे’ मा वृद्ध उम्बर्टोका आफ्नै सन्तान छैनन् । तर, घरबेटीकी कामदार युवती मारिया र फुच्चे कुकुर फ्लाइक उसका दुःखका असल साथी हुन् । उम्बर्टो र मारिया दुवै दुखिया छन् । इटालीले दिने पेन्सनले उम्बर्टोलाई हातमुख जोर्न र डेरा भाडा तिर्नै पुग्दैन । क्रूर घरबेटी एन्टोनियो केही दिनभित्रै बाँकी भाडा नतिरे निकाल्ने धम्की दिन्छे । सत्तरी नाघेको बिरामी वृद्ध अब कता जानु ? उता मारियाको आफ्नै दुःख छ । पेटमा बसेको तीन महिनाको गर्भ दुई प्रेमीमध्ये कसको हो, उसलाई थाहा छैन । गर्भ स्वीकार्न दुवै प्रेमी तयार छैनन् । जब मालिक्नीले यो थाहा पाउँछे, मारिया पनि निकालिन्छे ।
उम्बर्टो र मारिया दुवै एकअर्कालाई सान्त्वना दिन्छन् । वर्गीय प्रेम भनेको यही हो । तनावले उम्बर्टो बिरामी पर्छ । अस्पतालबाट फर्कंदा घरबेटीले उसको कोठा भत्काएर ठूलो बैठक बनाइरहेकी हुन्छ । आत्मसम्मानमाथि प्रहार खप्न नसकी मारियासँग बिदा लिएर त्यसै रात ऊ डेरा छाडेर निस्कन्छ । केही उपाय नलागेपछि रेलको लिकमा बसेर आत्महत्या गर्न खोज्दा वृद्धलाई उसकै फुच्चे कुकुरले बचाउँछ ।
खासमा डेसिकाले यो फिल्म उनकै पिता उम्बर्टो डेसिकालाई समर्पण गरेर बनाएका हुन् । संसारकै दुई महान् फिल्मकार इंगमार बर्गम्यान र मार्टिन स्कोर्सिसले यसलाई ‘संसारकै सर्वाधिक प्रिय सिनेमा’ को कोटीमा राखेका छन् । कताकता यस फिल्ममा म आफ्नै बाको संघर्ष र मजबुरीको जीवन्त झाँकी भेट्छु । मेरा बाको जीवन आफैंमा बाध्यता, विपत्ति, धैर्य, दुर्घटना, प्रतिदानरहित प्रेम र संघर्षको अनुपम संग्रहालय थियो । त्यसमाथि मैले ‘बेग्लै मान्छे’ शीर्षकमा कथा लेखेको छु ।
म्याक्सिम गोर्कीको एउटा हृदयविदारक कथा छ– कोल्युसा । संवेदनशील बालक कोल्युसाको बाबु भर्खर जेलबाट छुटेर आएको हुन्छ । आमा उसको बाबुकै कारण जीवन बर्बाद भएको ठान्छे । बाबुप्रति आमाले देखाएको असह्य अवहेलना र ताडना देखेर ऊ दिक्दार हुन्छ । उसलाई लाग्छ, चरम गरिबीकै कारण बाबुले यो अवहेलना खप्नुपरेको हो । आफ्नो मृत्युको क्षतिपूर्तिबापत परिवारले पैसा पाउँछ भन्ने थाहा पाएर कोल्युसा जमिनदारको बग्गीमुनि किचिन जान्छ । अस्पतालको शय्यामा ऊ आमासँग जमिनदारबाट पैसा लिएर ‘बाका लागि यो किनिदिनू, ऊ किनिदिनू’ भनी अनेक फर्माइस गरेर मर्छ ।
उदय प्रकाशको लामो कथा ‘तिरिछ’ मा पिताको हत्या सम्बन्धमा एक किशोरको वर्णनले संवेदनशील पाठकलाई कायल पार्छ । गाउँको स्कुलका पूर्वहेडमास्टर रामस्वरथ प्रसाद अदालतको पेसी भ्याउन सहर जान्छ । अघिल्लो दिन उसलाई विषालु छेपारोले टोकेको हुन्छ । विष झार्न भनी वैद्यले धतुरोको बीउको काँडापानी खुवाएपछि उसको बेहाल सुरु हुन्छ । उसलाई बान्ता हुन्छ । सहर पुगेपछि अचाक्ली तिर्खा लाग्छ । उसलाई अदालत जाने बाटो थाहा हुँदैन । जहाँ–जहाँ सोधपुछ गर्छ, उसलाई पागल ठानेर चौकीदार, प्रहरी र आवारा केटाहरूले कुटपिट गर्छन् । एउटा केटाले फलामको रडले हिर्काउँछ । सोधखोज हुँदा भनिन्छ, पानीट्यांकीमा विष मिसाउँदै गरेको पाकिस्तानी जासुसमाथि कुटपिट हुँदै छ । बेलुकी सवा ६ बजेतिर उसको मृत्यु हुन्छ । पोस्टमार्टम रिपोर्टअनुसार उसको हड्डी थुप्रै ठाउँमा भाँचिएको र दायाँ आँखा पूरै फुटेको थियो । उसको मृत्यु मानसिक आघात र अत्यधिक रक्तस्रावका कारण भएको हुन्छ ।
नोबेल साहित्य पुरस्कार विजेता मिखाइल सोलोखोबको कथा ‘बर्थमार्क’ बाबु–छोरा सम्बन्धको अर्को महान् कथा हो । रुसको अक्टोबर क्रान्तिपछि गृहयुद्धताका सोलोखोब दोन क्षेत्रमा लामो समय रसदसम्बन्धी कामदार रहे । त्यस क्रममा उनले सर्वसाधारणले भोग्नुपरेको जीवन संघर्षलाई नढाँटी, अत्यन्त जीवन्त, इमानदार र सानदार चित्रण गरे । लडाइँका क्रममा अनुभवी लडाकु एवं डाकु आतामान र युवा कम्युनिस्ट लडाकु निकोलाईबीच सांघातिक युद्ध हुन्छ । तरबार युद्धमा आतामानले निकोलाईको हत्या गर्छ । मृतकको बुट खोसेर लिन खोज्दा उसको खुट्टाको तल्लो भागमा परेवाको फुल जत्रो कोठी देखेर आतामानको अभिमान गर्लामगुर्लुम ढल्छ । मारिएको युवक आफ्नै छोरो भन्ने थाहा पाएपछि चरम वेदना र पश्चातापको दहमा डुबेर आतामान आफ्नै मुखमा गोली दाग्छ ।
मजिद मजिदीको फिल्म ‘द फादर’ मा सौतेलो बाबु र झड्केलो छोराबीच द्वन्द्व र प्रेमको उच्च मानवीय कथा छ । सौतेलो बाबुप्रति किशोर मेहरुल्ला चरम घृणा प्रकट गर्छ । ऊ सौतेलो बाबुको रिभल्भर चोरेर सहर भाग्छ । सहरबाट फर्कने क्रममा दुवै बाबुछोरा मरुभूमिमा फस्छन् । मरुभूमिको प्रचण्ड भुमरीबाट सौतेलो बाबुलाई बचाउन अन्ततः मेहरुल्ला आफ्नै ज्यानको बाजी लगाउँछ ।
महेश भट्टको फिल्म ‘सारांश’ मा अमेरिकामा छोरो मारिएपछि आत्महत्या गर्ने सोचमा पुगेका दम्पती एक गर्भवती युवतीको लडाइमा साथ दिनुमा जीवनको सार्थकता भेट्छन् । भट्टकै अर्को फिल्म ‘ड्याडी’ मा छोरीको निःसर्त प्रेमले एक बाबु पुनः सार्थक जीवनतर्फ फर्कन्छ ।
पिताहरूको संघर्ष, त्याग र लडाइँ आफैंमा प्रेमको अनुपम संग्रहालय हो । त्यसलाई शब्दमा पूर्ण हुने गरी वर्णन गर्न सकिन्न, केवल अनुभूत गर्न सकिन्छ । डेसिकाको फिल्म ‘बाइसाइकल थिभ्स’ हेरौं अथवा मजिद मजिदीको ‘चिल्ड्रेन अफ हेभन,’ ‘कलर अफ प्याराडाइज,’ रोबर्ट मुलिगनको ‘टु किल अ मकिङ बर्ड’, फ्रान्सिस फोर्ड कपोलाको ‘गडफादर’, गाब्रिलय मुसिनोको ‘द परसुट अफ ह्यापिनेस’ अथवा भारतीय फिल्म ‘दंगाल’, इभान तुर्गेेनेभको 'फादर एन्ड सन्स' । यी सिनेमा र साहित्यिक कृति हाम्रा आँखाले प्रत्यक्ष देख्ने बाबुहरूको सतही भूमिकाभन्दा चेतनाले देख्ने सिर्जनात्मक प्रतिवादहरू हुन् ।
