हाँडीगाउँको गहनापोखरी वर्षैभरि शान्त रहन्छ । तर, वैशाखको सातौं दिन रथहरू आउँछन्, बाजा बज्छ र मानिसको भीडले पोखरी किनार रंगिन्छ ।
What you should know
काठमाडौँ — जनजिब्रोमा ‘हाँडीगाउँ’ ले हमेसा एउटा पदावली सधैं बोकी हिँड्छ– कहीँ नभएको जात्रा । संस्कृतिविद्हरूको मतमा दुई हजार वर्षदेखि हाँडीगाउँमा चलिआएको जात्रालाई जनाउन यो उखानको प्राचीन जन्म भएको हो । यो दुई हजार वर्षमा समयले ठूलो फन्को मारेको छ । बस्तीहरू फेरिए, युग बदलियो र जात्रा मनाउनेहरू लाखौंलाख आए र हराए । तर, उखान ? यो रैथाने भएर बिल्कुल उहीका उही स्वरूपमा बस्दै आएको छ ।
पहिलेको राजधानीको भव्य प्रवेशद्वार, पुरातन स्तम्भ र यस बस्तीको धरोहर मानिने ढुंगे बाटोहरू सबै–सबै अस्तित्वविहीन भए । र पनि, हाँडीगाउँको ‘कहीँ नभएको जात्रा’ नयाँ वर्षमा जहिल्यै लागिरहन्छ । एक हिसाबले हाँडीगाउँको जात्रा नै त्यो समयको स्मृति हो, जसले हजारौं वर्ष पुरानो नगर–अभिव्यक्ति पुनः प्रकाशित गरेको छ ।
त्यसैले ‘कहीं नभएको जात्रा हाँडीगाउँमा’ एउटा उखान मात्रै नभएर यो त्यस पुरातन सहरलाई सम्झाइराख्ने मन्त्र पनि हो, जसले इतिहास र मिथकलाई एकै धागोमा बुनेर मानिसहरूको कण्ठमा कण्ठस्थ हुने गरी बास गरेको छ ।
यस्तो लाग्छ, हाँडीगाउँको गल्लीमा समयले आफ्ना पाइला टेकेर अमर कथाहरू छाडेको छ । यो कथा हो– भाट र भटेनीको, तिनका इमानको, दुःखको र तिनका बच्चालाई चिलले उडाएको हृदयविदारक क्षणको । यो कथा गहनापोखरीको किनारमा हराएको सुनको लट्ठीको पनि हो, टुँडालदेवीको काखमा पुगेको हारगुहारको पनि हो । र, हो– लिच्छविकालदेखि चल्दै आएको गहना खोज्ने जात्राको रहस्यको पनि । यस्तो लाग्छ, हाँडीगाउँले आफ्नो स्वरूप जति बदले पनि यो कथा भने बाँचिरहनेछ, जस्तोसुकै युग आए पनि र जस्तोसुकै आँधीले हल्लाए पनि ।
हाँडीगाउँ जानुभएको छ भने तपाईंले एउटा शान्त पोखरी पनि पक्कै देख्नुभएकै छ । यसको नाम हो गहनापोखरी, जसलाई हाँडीगाउँको मुटु भने पनि हुन्छ । वर्षैभरि आकाशको शान्त प्रतिबिम्ब बोकेर यो पोखरी शान्त रहन्छ । तर, वैशाखको सातौं दिन भने बडो उत्सवका साथ पोखरी चलमलाउँछ । यहाँ रथहरू आउँछन्, बाजा बज्छ र मानिसहरूको भीडले पोखरीको किनार रंगिन्छ । यो गहना खोज्ने दिन हो । यो हराएको सुन फर्कने दिन हो । यो मरेको बच्चा ब्युँतने दिन हो ! छैन त रमाइलो ? छ त यस्तो जात्रा हाँडीगाउँभन्दा पर कतै ?
पोखरीको किनारमा उभिएर हेर्दा, लाग्छ– यसको पानीले मात्र होइन, कथाले पनि गहिराइ बोकेको छ । लिच्छविकालको यो कथामा राजाको शिलालेख पनि भेटिन्छ, जहाँ उनले आफ्ना रैतीहरूलाई भनेका थिए, ‘जात्रा मनाऊ, हजार पण देऊ, बिजोर लुगा–गहना चढाऊ र तामाका बाइस घडा लिएर जाऊ ।’
त्यो शिलालेख आज पनि मौन रूपले बाचाल छ, हाँडीगाउँको डबलीमा, फलामे जालीभित्र कैद भएर । तर, यो कथाको प्राण शिलालेखमा मात्र होइन, दुई प्राचीन दम्पती भाट र भटेनीको आँसुमा छ । तिनको मनको धुकधुकीमा छ । तिनको बच्चाको मुस्कानमा छ, जुन चिलले उडाएर लग्यो, तर टुँडालदेवीले फर्काइदिइन् । धन्य टुँडालदेवी !
कथा भन्छ– धेरै पहिले हाँडीगाउँको एउटा कुनामा, माटोको सानो झुपडीमा, भाट र भटेनी नामका दम्पती बस्थे । तिनीहरू ब्राह्मण थिए, तर गरिबीले तिनको जीवनलाई कठोर बनाएको थियो । तिनका हातमा वेदका श्लोकहरू थिए, तर पेटमा अन्न थिएन । तिनका मनमा इमान थियो, तर जीवनमा सुख थिएन ।
भाटका आँखामा सधैं एउटा सपना झल्किन्थ्यो समृद्धि र सुखको । अनि उनी भटेनीलाई भन्थे, ‘हाम्रो इमानले एक दिन हामीलाई सुक्ख दिनेछ ।’ यो सुनेर सायद भटेनी मुस्कुराउँथिन् र तिनको चमकले झुपडी उज्यालो हुन्थ्यो । अनि तिनी किञ्चित परिहासका साथ भाटलाई सोध्ने गर्थिन्, ‘ठीक छ, पछि त सुक्ख आउला, तर, आज हाम्रो पेटले के खाने ?’
यसरी, तिनीहरूको जीवन एउटा सानो दियोको ज्योतिजस्तो थियो– कमजोर, तर अटल । तिनीहरू प्रत्येक दिन टुँडालदेवीको मन्दिरमा गएर प्रार्थना गर्थे । भटेनी थिइन्– टुँडालदेवीकी छोरी, जो आमाको काखमा टाउको राखेर भन्थिन्, ‘आमा, हामीलाई किन यति दुःख ?’ टुँडालदेवीको मूर्तिमा करुणा झल्किन्थ्यो, तर शब्दमा ती मौन रहन्थिन् ।
एक दिन, तिनको झुपडीमा एउटा धनी महाजन आए । उनको अनुहारमा तीर्थ–यात्राको उत्साह थियो, तर मनमा आफ्नो सम्पत्तिको चिन्ता । उनले सारा धन बेचेर सुन किने र त्यो सुनलाई काठको लट्ठीमा लुकाए । उनले भाट र भटेनीलाई त्यो लट्ठी जिम्मा लगाए र भने, ‘मेरो सम्पत्ति तिमीहरूको इमानमा छ । म तीर्थबाट फर्केपछि यो लिनेछु ।’
भाट र भटेनीले त्यो लट्ठी झुपडीको कुनामा राखे, मानौं त्यो तिनीहरूको इमानको प्रतीक थियो । महाजन तीर्थतिर लागे र हाँडीगाउँमा समय बग्न थाल्यो । वर्षहरू बिते । महाजन गएको एघार वर्ष पुग्यो । भाट र भटेनीको जीवनमा एउटा सानो आशा पलायो– तिनीहरूको बच्चा जन्मियो । सानो झुपडीमा बच्चाको पहिलो रुवाइले तिनको मन उज्यालो भयो । तर, गरिबीले तिनलाई छोडेन । बच्चालाई तेल घस्ने पैसा थिएन, पोसिलो खुवाउन खाना थिएन । भटेनीे बच्चाको टीठलाग्दो अनुहार हेरेर रुन्थिन् । भाटको मनमा इमान र आवश्यकताको लडाइँ चलिरहेथ्यो । एक रात भटेनीलाई तिनले भने, ‘महाजन गएको एघार वर्ष भयो । उनी अब फर्कंदैनन् सायद । हामी यो लट्ठीको सुन बेचेर बच्चालाई बचाऔं ।’ भटेनीको मन धुकधुकायो ।
उनले सोधिन्, ‘हाम्रो इमान के हुन्छ अनि ?’ भाटले आँखा झुकाएर भने, ‘इमानले हामीलाई बचाएन, तर यो सुनले हाम्रो बच्चालाई बचाउन सक्छ ।’ त, तिनीहरूले लट्ठीबाट सुन निकाले । तिनका हात काँपिरहेका थिए, मानौं जीउबाट आत्मा निक्लिरहेको थियो । तर, बच्चाको मुस्कानले तिनलाई सान्त्वना दियो । तिनीहरूले सुन बेचे र बच्चालाई तेल घसे । बच्चाको अनुहारमा पहिलो पटक रंग आयो । र, तिनको अनुहारबाट इमानको पाइन झरेकाले त्यो फुङ्ग थियो ।
तर, भाग्यको खेल कस्तो ! ठीक बाह्रौं वर्षमा, महाजन फर्किए । उनको अनुहारमा तीर्थको शान्ति थियो, तर आँखामा आफ्नो सम्पत्तिको आशक्ति । उनले भाट र भटेनीलाई सोधे, ‘मेरो लट्ठी कहाँ छ ? कहाँ छ मेरो सुन ?’ भाटको मन भारी भयो । उनले झूट बोल्न खोजे, ‘लट्ठी त कीराले खाइदियो ।’
महाजन रिसले रातो भए । उनले चिच्याएर ‘तिम्रो बच्चालाई चिलले खाओस्’ भनेर श्राप दिए । त्यही पल, तिनीहरूको बच्चा, जसलाई तेल घसेर घाममा सुताइएको थियो, आकाशबाट भुर्रर आएको चिलले टपक्क टिपेर लग्यो । भटेनी चिच्याइन्, भाट रोए । तिनको संसार अँध्यारो भयो ।
महाजनले उभिएर हेरे र क्रोधले भने, ‘तिमीहरूले मेरो विश्वास तोड्यौ । तिमीहरूको इमान झूटो थियो । अब तिमीहरूले धर्तीमा कहिल्यै टेक्न पाउने छैनौ ।’ भाट र भटेनी, बच्चालाई गुमाएर महाजनको श्रापले थलिए । तिनीहरूको मनमा पश्चातापको आगो बल्यो । तिनीहरू टुँडालदेवीको मन्दिरतिर दौडिए, जहाँ भटेनीकी आमा बस्थिन् ।
भटेनी आमाको काखमा टाउको राखेर रोइन् र भनिन्, ‘आमा, हाम्रो बच्चा गयो । हाम्रो इमान गयो । यो हामीलाई के भयो ?’
टुँडालदेवीले भनिन्, ‘मेरी छोरी, सत्य बोल्नु सधैं सजिलो हुँदैन । तर, सत्यले मात्रै तिमीलाई मुक्ति दिन्छ ।’ उनले सुझाइन्, ‘महाजनलाई भन, सुन हरायो । म त्यो गहना फर्काइदिन्छु ।’ भटेनी र भाट, टुँडालदेवीको सुझाव लिएर महाजनकहाँ गए । तिनीहरूले भने, ‘हाम्रो गल्ती भयो । वास्तवमा सुन हराएको थियो । तर, टुँडालदेवीले त्यो फर्काइदिनुहुनेछ ।’ महाजनले पत्याएनन्, तर टुँडालदेवीको नामले उनको मनमा शान्ति आयो । उनले भने, ‘ठीक छ, गहना फर्कियो भने म तिमीहरूलाई क्षमा दिनेछु ।’ तर, नभन्दै पोखरीमा गहना भेटियो । धन्य टुँडालदेवी !
र, महाजनको श्रापबाट भाट–भटेनी मुक्त भए । अनि तिनको बच्चाले नयाँ जीवन पायो ।
यही कथाको सम्झनामा हरेक वर्ष पोखरीमा रथहरू तानिन्छन् र गहना खोजिन्छ । यसै हुनाले त्यस पोखरीलाई गहनापोखरी भनिएको हो । जात्राको पहिलो वर्ष कस्तो भयो होला ? अनुमान के गर्न सकिन्छ भने वैशाखको सातौं दिन, गहनापोखरीमा रथहरू आए । भाट, भटेनी र तिनको बच्चाको मूर्ति, टुँडालदेवीको मन्दिरबाट ल्याइयो । तिनका लुगा फुकालिए, रंगरोगन गरियो र बाजा बजाउँदै मुर्दा बोकेजस्तै टुँडालदेवीको मन्दिरमा लगियो । टुँडालदेवीको मन्दिरमा भाट र भटेनीलाई आकाशमा झुन्ड्याइयो, जस्तो कि महाजनको श्रापले तिनलाई धर्तीबाट टाढा राखेको होस् । तिनलाई गहना र लुगा चढाइयो ।
हाँडीगाउँका मानिसहरू खर्पनमा बाइस तामाका घडा बोकेर टुँडालदेवीको पूजा गर्न गए । र, तिनीहरूले प्रार्थना गरे, ‘हे टुँडालदेवी, हाम्रो गहना फर्काइदेऊ । हाम्रो बच्चालाई बचाइदेऊ ।’ त्यसपछि रथहरू गहनापोखरीमा ल्याइए । पोखरीमा रथहरू जुधाइए । पानीको छालले रथलाई छोयो र मानिसहरू चिच्याए, ‘गहना भेटियो !’ रथ मन्दिर फर्कियो । बच्चाको मूर्तिलाई सजधज गरियो । लाग्यो, बच्चा ब्युँतियो । भाट र भटेनीको आँसुमा मुस्कान मिसियो !
यसरी एउटा कथा र एउटा जात्रा यहाँ सकिन्छ । तर, यो जात्रा केवल रथ र गहनाको कथा होइन, इमानको कथा हो, पश्चातापको कथा हो, क्षमाको कथा हो । इमान भएन भने, यो गएपछि पश्चाताप गरिएन भने र पश्चाताप गरेपछि पनि कसैले क्षमा दिएन भने जीवन कति क्रूर र श्रापित हुँदो हो ? यो गहिरो दर्शन भन्नका लागि हाम्रा पुर्खाले यो कथा हालेका होलान् । संस्कृतको महिमा नै यहीं छ कि, दर्शन र गुढ कुरालाई यसले जीवनमा उत्सव, रंग र संगीत दिएर वर्षमा एक पटक सबैलाई भेला गराइदिन्छ । जस्तो कि, हाँडीगाउँको जात्राले गरिरहेकै छ ।
संस्कृतिविद्हरूका अनुसार हाँडीगाउँलाई किराँतकालमा अन्डीपृंग भनिन्थ्यो, लिच्छविकालमा चाहिँ अन्डीग्राम । यही नाम अपभ्रंश हुँदै अहिलेको हाँडीगाउँ बनेको हो रे ! कुरा जेसुकै होस्, यो केवल माटो र ढुंगाको गाउँ होइन । यो कथाहरूको गाउँ हो । यो जात्राहरूको गाउँ हो । र हो, इमान र आशाको गाउँ ।
गहनापोखरीको किनारमा उभिएर, जब रथ जुध्छ, लाग्छ– यो केवल रथको लडाइँ होइन, जीवनको लडाइँ हो, इमान र लोभको लडाइँ हो, पश्चाताप र क्षमाको लडाइँ हो । कस्तो गहिरो प्रतीक बोकेको छ हाँडीगाउँको जात्राले ! यस्तो प्रतीक कहाँ बोकेको छ त अरूगाउँको जात्राले ?
भाट र भटेनी, तिनीहरू केवल कथाका पात्र होइनन् । तिनीहरू प्रत्येक मनुष्यको मनको अन्तरद्वन्द्व हुन् । एक मनले हामी इमानी छौं, एक मनले छौं लोभी । एक मनले हामी पाप गर्छौं र अर्को मनले गर्छौं पश्चाताप । त्यसैले भाट र भटेनीको गल्ती, हाम्रो गल्ती हो । तिनीहरूको पश्चाताप, हाम्रो पश्चाताप हो । तिनीहरूको बच्चा, हाम्रो आशा हो । टुँडालदेवी केवल देवी होइनन्, हाम्रो मनको करुणा हुन्, आमाको काख हुन्, जसले हामीलाई गल्ती गर्दा पनि माफ गर्छिन् ।
