अनेक बोधिसत्वहरूको गुण समावेश गरी बनाइएका, मैत्री, करुणा, मुदिता र उपेक्षा राख्दै आएका तथा अहंकार र अविद्या नाश गर्ने ज्ञान दिइरहेका पद्मपाणि भएकै कारणले पनि मत्स्येन्द्रनाथको मुहार रातो भएको मान्यता छ ।
What you should know
ललितपुर — अन्न र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ बनाउन थालेको उनले ६० वर्ष बित्यो । ९ वर्षको कलिलो उमेरमै बाजे चन्द्रबहादुर बाराहीसँग पछि लागेर रथ बनाउन सिके । अनि २०५३ मा सहायक नाइके बने, २०५९ पछि मुख्य नाइके छन्– पाटनका ६९ वर्षीय दिलकुमार बाराही । मत्स्येन्द्रनाथको रथ बनाउनु निकै कठिन मानिन्छ । त्रयोदश भुवनको प्रतीक स्वरूप १३ तला बनाउनुपर्छ । किला ठोक्न मिल्दैन, काठको चुकुल बनाउनुपर्छ । डोरीले बाध्न मिल्दैन, बेतको प्रयोग गर्नुपर्छ ।
अझ रोचक त के छ भने मत्स्येन्द्रनाथलाई भारत असमको कामरूपकामाख्या पर्वतबाट नेपाल ल्याउन भूमिका खेलेका काठमाडौंका महातान्त्रिक बन्धुदत्त आचाजुले जुन विधिबाट रथ बनाएका थिए, अहिले पनि त्यही विधिअनुसार बनाइन्छ । बाराही गुठीका नाइके दिलकुमारका अनुसार रथलाई ३२ लक्षणयुक्त बनाउनुपर्छ । रथको टुप्पोमा स्वयम्भूबाट अभिताभ बुद्ध र क्वाबहाल (गोल्डेन टेम्पल) बाट ल्याइएको बज्रसत्वको मूर्ति राखिन्छ । रथ यात्राको क्रममा विघ्नबाधा नहोस् भनेर ‘घःमा’ को अग्रभागमा हयग्रीव भैरवको मूर्ति राखिन्छ । रथमुनि बीचमा राखिने लामो काठ ‘घःमा’ हो ।
रथका चार पाङ्ग्रालाई चार भैरवको प्रतीकका रूपमा मानिएको छ । चार भैरवमा हरिसिद्धि, हयग्रीव, लुप्त संहार, लुभुको नन्दकुण्ड हुन् । रथ तान्दा नढल्कियोस् भनेर दायाँबायाँ ‘जंगल’ अर्थात् डोरीले तान्ने गरिन्छ । दायाँ जंगललाई बासुकी नागराजा र बायाँलाई शेषनागका रूपमा मानिन्छ । रथको टुप्पोमा सबै प्राणीको रक्षा गर्न लोकेश्वरको षडक्षरी मन्त्र ‘ऊ मणि पद्मे हुँ’ लेखिएको ध्वजा फहराइन्छ । रथको मुनि बीचमा राखिने लामो काठ ‘घःमा’ कर्कोटक नागराजाको प्रतीक मानिन्छ ।
करुणामय लोकेश्वरले सम्पूर्ण प्राणीको उद्धार गरिरहेको भावना दर्शाउन रथको खटमा शुभचिह्न श्रीवत्स पुण्डरीक, ध्वज, कलश, चमर, मत्स्य युगम, छत्र राखिन्छ । ३२ लक्षणयुक्त भएकै कारण मत्स्येन्द्रनाथको रथ जसले हेर्दछ, उसको मन करुणाको भावनाले ओतप्रोत हुने जनविश्वास छ ।
बाराही गुठी नाइके दिलकुमार भन्छन्, ‘रथ बनाउन दीक्षा लिनुपर्छ । मनपरी गर्न मिल्दैन ।’ यस्तै केही कारणले २०५० मा रथ यात्राका क्रममा तीन पटकसम्म घःमाः भाँच्चिएको र गुठीका परिवारसमेत गरेर लगातार
९ जना गुठियारको मृत्यु भएको उनी सम्झन्छन् । रथमा बाराहीले काठको, ञवाले बेत, बोसीले रूख काट्ने, कुमालेले भाँडाकुँडा, कौले फलाम, चित्रकारले पाङ्ग्रालगायत रथमा रंगाउने, नेकुले सुनको कोदालो प्रयोग गरेर स्वयम्भूबाट ल्याएको माटोबाट मत्स्येन्द्रनाथको मूर्ति बनाउने/सिंगार्ने गर्छन् ।
विसात गुठीले निरीक्षण गर्छ । यो जिम्मा शाह राजा गीर्वाणयुद्धको पालादेखि गुठी अड्डालाई दिइएको हो । अहिले भने गुठी संस्थानले हेर्छ । रथमा तोरण राख्ने काम पाटन महाबौद्धका लुसा गुठीले गर्छ । ‘धःकूः’ गुठीले पाङ्ग्रामा ब्रेक, ‘से से बाज्या’ ले रथ तान्दा आज्ञा दिने र पानेजु अर्थात् पुजारीले मत्स्येन्द्रनाथको कर्मकाण्ड गर्छन् ।
मत्स्येन्द्रनाथको कर्मकाण्ड गर्ने ३१ जना पानेजु (पुजारी) छन् । प्रत्येकको १५ दिनमा पालो आउँछ । अहिले बुङमतीका ५९ वर्षीय मानिकराज शाक्यको पालो छ । पुजारी बनिसकेपछि कठोर नियम पालना गर्नुपर्छ ।
कसैले छुन मिल्दैन । भोटो र जामा बाहेक अन्य पोसाक लगाउन निषेध छ । केरा, अदुवा, भात, सानो केराउ, घ्यू, चाकु, दूध, तेलबाहेक अन्य खान निषेध छ । वर्षभरि मत्स्येन्द्रनाथसँग सम्बन्धित ४५ र भैरवनाथ गुठी बुङमतीसँग सम्बन्धित ४२ पर्व चलाउनुपर्छ । दैनिक गुरु बन्धुदत्त आचार्य, राजा नरेनद्रदेव, ललित रथचक्रद्वारा रचित स्तोत्र पाठ गर्नुपर्छ ।
०००
नेपालमा १२ वर्षसम्म अनिकाल परेकाले वृष्टि गराउन ४५८ सालमा भक्तपुरका राजा नरेन्द्रदेव, कान्तिपुरका तान्त्रिक बन्धुदत्त आचाजु र रथचक्र भनिने ललितपुरका ललित ज्यापू (तन्डुकार) ले भारत आसामको कामरूपकामाख्या पर्वतबाट मस्त्येन्द्रनाथ ल्याएको लोककथन छ । गोपालराज वंशावलीमा उल्लेख भएअनुसार तान्त्रिक बन्धुदत्तले तारण राखी मोहनी लगाई भमरारूपी बालक लोकनाथलाई कलशमा साधना गरी नेपाल ल्याएका थिए । वैशाख शुक्ल प्रतिपदादेखि सुरु हुने रथ यात्रा भने राजा वरदेवले ६५० सालमा मात्र चलाएको बताइन्छ । वरदेव राजा भएपछि मत्स्येन्द्रनाथको रूप कलशबाट मूर्तिमा परिणत गरी कलश त्यसै मूर्तिको गर्भमा राखेर साक्षात् गरिएको थियो । मत्स्येन्द्रनाथको रथ जात्रा चलाउनुअघि पाटन ढलाछें टोलको लोकेश्वर, स्वथ टोलको नारायण र टंगलको मीननाथको रथ यात्रा हुन्थ्यो । मीननाथबाहेक अन्य सबै एउटै रथमा गाभी लोकनाथको तान्ने प्रचलन राजा वरदेवले बसालेका थिए ।
मत्स्येन्द्रनाथको रातो मुहार
दूध जत्तिकै श्वेतवर्ण मत्स्येन्द्रनाथको मुहार किन रातो भयो त ? ३२ पानेजु संघका अध्यक्ष यज्ञरत्न शाक्य भन्छन्, ‘देह छोडेर पुनः देह धारणा गरिरहेका मत्स्येन्द्रनाथका लागि रात र दिन समान भएकै कारणले पनि मुहार रातो भएको हो ।’ अनेक बोधिसत्वहरुको गुण समावेश गरी बनाइएको र मैत्री, करुणा, मुदिता र उपेक्षा राख्दै आएका करुणाका खानी भएकाले तथा अहंकार र अविद्या नाश गर्ने ज्ञान दिइरहेका पद्मपाणी भएकै कारणले पनि मत्स्येन्द्रनाथको मुहार रातो भएको शाक्यले बताए ।
‘स्वर्ग, मर्त्य र नर्क तीनै लोकका प्राणीलाई सदा समान रुपमा करुणा राख्दै उद्धार गरिरहेकोले मत्स्येन्द्रनाथको मुहार रातो हुन्छ,’ शाक्यले थपे, ‘उदाउँदो सूर्यको रङ पनि रातो हुन्छ । यहाँ सूर्य र मत्स्येन्द्रनाथको नाम, दर्शन र कामको एकरूपता देखाउन खोजेको हो । पञ्चबुद्धमध्ये अभिताभ तथागत शिरमा रहेको प्रभावले पनि मत्स्येन्द्रनाथको मुहार रातो भएको हो ।’
धर्मचित्त भएका र कर्ममा व्यस्त हुनेहरूका मुहार स्वाभाविक रूपमा रातो हुने उनी बताउँछन् । शाक्यका अनुसार मनुष्य भएर जन्म लिएपछि रोग, व्याधि, वृद्धावस्था र मृत्युको भयबाट, असुर रूपमा जन्म भएमा हत्या, हिंसा, डर, त्रास, आतंकको भयबाट मुक्त हुन सकिँदैन । पशुका रूपमा जन्मिए पनि एकले अर्कोलाई आहार बनाउने भय रहिरहन्छ । प्रेत भएर जन्मिए पनि खान र पिउन नपाएर अतृप्त आत्मा भइरहने सम्भावना रहन्छ ।
नरकमा जन्मिए तातो, चिसो सहन नसकी कष्टपूर्ण जीवनयापन गर्नुपर्ने भय रहने पानेजु संघका अध्यक्ष शाक्यले भने, ‘यी सबै भयबाट मुक्त गराउन सम्पूर्ण प्राणीलाई निर्वाण मार्गमा पठाइसकेपछि मात्र मत्स्येन्द्रनाथको मुहार दूधझैं सेतो हुने जनविश्वास छ ।’ मत्स्येन्द्रनाथ माटोबाट बनाएको मुखौटाबाहेक अन्य भाग धातुको छ । मत्स्येन्द्रनाथको आकृति बनाउने श्रय विद्वान् ‘सुनयश्री मिश्र’ लाई दिइएको छ । ब्रह्माचार्य पालना गरेका मिश्र राजा वरदेवको पालामा ललितारण्य भनिने वन फँडानी गरी यम्पी महाविहार बनाएर बसेका थिए ।
करुणामय लोकेश्वरलाई नेवारहरू बुंगद्यो भन्छन् । दबिएको नाक, शिरमा रत्नमुकुट, निधारमा टिका, कानमा रत्न जडित गहनाले सुसज्जित छ । घाँटीमा कर्कोटक नागको रत्नमाला, हातमा चुरा बाला र खुट्टामा कल्लीले सुशोभित छ, दाहिने हात वरद मुद्रा र बायाँ हातमा कमलको फूल लिएको छ । मस्त्येन्द्रनाथलाई वैष्णवीहरूले विष्णु, शैवहरूले शिव, शाक्तहरूले शक्ति, सौरहरूले सूर्य, ब्राह्मणहरूले लोकेश्वर र बौद्धहरूले करुणामय, अभिताभ बुद्ध र पद्मपाणि बुंगमलेकिश्वरका रूपमा पुजिन्छ ।
०००
मत्स्येन्द्रनाथ उत्पत्ति सम्बन्धमा आशाकाजी बज्राचार्यद्वारा नेपाल भाषामा लिखित ‘बुंग द्यो नेपालले हःगु खँ’ वंशावलीमा उल्लेखअनुसार लिच्छविकालमा भक्तपुरमा गुणकामदेवको बत्तीस लक्षणले युक्त छोरी गुणलक्ष्मी थिइन् । गुणलक्ष्मी सानी छँदा रुने कराउने र कसैले फकाए पनि नमान्ने अनि स्यालसँग बिहे गरिदिनुपर्यो भन्दा चुप लाग्ने गर्थिन् । गुणलक्ष्मी तरुनी भइन् । नारायणसँग विवाह गरेको सपना देखिन् । त्यतिबेलादेखि दरबारमा ‘रूपक’ नाम गरेको सेतो स्याल कराउन आउन थाले । दैनिक स्याल कराउन आएपछि गुणकामदेवले ज्योतिषीलाई देखाउँदा शुभसंकेत भएको बताए । गुणकामदेवले ‘रूपक’ लाई दरबारमा बोलाएपछि उनले गुणलक्ष्मीलाई सानैमा स्यालसँग विवाह गरिदिने भनेकाले विवाहका लागि आएको सुनाए । स्यालसँग विवाह गरिदिनेबारे कसैले नमान्दा सत्यवादी राजा अप्ठ्यारोमा परे ।
राजकुमारी स्यालसँग बिहे गर्न राजी भएपछि विवाह भयो । भरियालाई दाइजो बोकाएर रूपक स्यालसँग छोरीलाई पठाए । गुफाभित्र सुनको दरबारमा विराजमान नारायणका रूप देखेर आश्चर्य चकित परेका भरियाले राजालाई सबै जाहेर गरे । छोरीको दरबारमा पुगेका गुणकामदेव नारायणसँग आफ्नी छोरी देखेर हर्षको सीमा रहेन । नारायणले राजालाई बरदान माग्न भने । राजाले प्रजाको हितका लागि अन्नबाली मागे । अन्न बाली लगाउँदा धानभित्र चामल लागेन । राजाले चामल राखिदिन फेरि वरदान मागे । यो काम करुणामयले मात्र गर्न सक्ने र यक्षणीको गर्भबाट करुणामयको जन्म भइसकेको छ । करुणामयलाई नेपाल ल्याउन अष्टमीमा व्रत बस्नु भनी नारायण अन्तरध्यान भए । अष्टमीको व्रत बसेको कारण गुणकामदेवलाई नरेन्द्रदेव पुत्र लाभ भयो । नरेन्द्रदेवको शासनकालमा नेपालमा १२ वर्षसम्म खडेरी पर्यो । अनेक शान्ति स्वस्ति गर्दा पनि वर्षा भएन । तान्त्रिक शान्तिकराचार्यले दिव्यदृष्टिले हेर्दा करुणामयको शिष्य गोरखनाथ पशुपति मृगस्थलीमा नौ नागमाथि बसेर ध्यान गरेकाले अनावृष्टि भएको थाहा पाए । लोकनाथ नेपालमा आएपछि गुरुको दर्शन गर्न गोरखनाथ उठ्ने अनि जलवृष्टि हुने सल्लाह दिए । राजा नरेन्द्रदेव शान्तिकराचार्यले शिष्य बन्धुदत्त र ललित ज्यापूलाई भरिया लिएर ४४६ मा कामरूपकामाख्यामा प्रस्थान गरे । अनेक दुखकष्ट सहेर १२ वर्ष लगाएर मत्स्येन्द्रनाथलाई नेपाल ल्याएको लोक कथन छ ।
रथ यात्रा
याः भनेको यात्रा/जात्रा हो । मत्स्येन्द्रनाथको रथ पुल्चोकबाट तानेर गाःबहाल पुगेपछि गाःबाः याः, सुन्धारा पुगेपछि नुगः याः र लगनखेल पुगेपछि लगः या भनी ‘भूजयाः’ जात्रा र जावलाखेल पुगेपछि ‘ज्याः भूजयाः’ जात्रा मनाइन्छ । पाटनको मुख्यभित्री बस्तीभित्र मनाइने मुख्य जात्रा भूजयाः अर्थात् नरिवल जात्रा हो । यस दिन ललितपुर महानगरपालिकाले सार्वजनिक बिदा दिने गरेको छ । ‘भू’ को अर्थ थाल अथवा जमिन हो । ‘जयाः’ को अर्थ थालभरि जमिनमा उब्जनी भएका वस्तु भन्ने बुझिन्छ । मत्स्येन्द्रनाथका ज्योतिषी कीर्तिमदन जोशी भन्छन्, ‘भूजयाः भनेको थालभरि जमिनमा उब्जनी भएका अन्न, मकै, गहुँ फुलफूललगायत धुपबत्ती राखेर मत्स्येन्द्रनाथलाई चढाउनु हो ।’
मत्स्येन्द्रनाथले गर्दा वर्षा भएकाले धर्तीमा उब्जनी हुने वस्तु राखेर सम्मान गरेको जोशी बताउँछन् । भूजयाः जात्रामा मत्स्येन्द्रनाथको पूजाअर्चना गरेर रथको टुप्पोबाट नरिवलका साथै योमरी र ल्होंचामरी (नेवारहरूले धान्यपूणिर्मामा पकाइने एक प्रकारका रोटी) ले अभिषेक गराइन्छ । यसरी खसालिएको नरिवल प्राप्त गर्ने व्यक्तिलाई मत्स्येन्द्रनाथजस्तै ३२ लक्षणयुक्त पुत्र लाभ हुने जनविश्वास छ । नरिवल खसालेको भोलिपल्ट ‘क्याकः मिसायाः भूजयाः’ भनी महिलाले मात्र रथ तानेर जात्रा गर्ने परम्परा छ । पुल्चोकदेखि गाःबहालसम्मको रथयात्रा स्वर्गलोकको भ्रमण तुल्य मानिन्छ । पहिलो चरणको जात्रा मत्स्येन्द्रनाथलाई नेपाल ल्याउन भूमिका खेलेका काठमाडौंका तान्त्रिक बन्धुदत्त आचाजुको स्मरणमा चलाएको जोशी सुनाउँछन् ।
गाःबहालदेखि सुन्धारासम्मको यात्रा राजा नरेन्द्रदेवको सम्झनामा चलाइएको मानिन्छ । यस यात्रालाई मर्त्यलोक भ्रमण तुल्य मानिन्छ । राजा श्रीनिवास मल्लको पालामा १७१८ सालदेखि मंगलबजारबाट सुन्धारामा लैजान थालेको हो । सुन्धारादेखि लगनखेलसम्मको यात्रालाई पाताल लोकको भ्रमण तुल्य र रथचक्र भनिने ललित ज्यापूको नाममा चलाइएको मानिन्छ ।
रथ लगनखेल पुगेपछि त्यहाँ रहेको मत्स्येन्द्रनाथको आमा भनिने डोलामाजुको मन्दिरलाई तीन पटक परिक्रमा गराइन्छ । त्यस दिन राति महाबलि पूजा गरिन्छ । साइत जुरेको दिन रथलाई थती टोलको चार दोबाटोबाट तानेर जावलाखेल पुर्याइन्छ । त्यसको चार दिनपछि भोटो जात्रा गरिन्छ । मत्स्येन्द्रनाथको रथ सँगसँगै जटाधारी लोकेश्वर नामबाट प्रसिद्ध मीननाथको रथलाई पनि जात्रा गर्दै नगर परिक्रमा गरिन्छ । चरा बसेको बिहारको देवता भएकाले मीननाथ ‘चक्वा द्यो’ को नाममा प्रसिद्ध छ ।
प्रत्येक जात्राको अघिल्लो दिन ‘छ्याला बूः’ अनिवार्य मनाइन्छ । जोशीका अनुसार मत्स्येन्द्रनाथलाई नेपाल ल्याउँदा सँगै यक्ष गण पनि आए । ‘छ्याला भनेको पोलेको मासु र बूः को अर्थ थाल हो । छ्याला बूः भनेको पोलेको मासु थालमा राखेर भूतप्रेत, पिसाच, गन्धर्व, किन्नरलाई भोजन गराउने र पन्छाउने दिन हो,’ जोशीले भने ।
पहिला रथ यात्राका बेला झैझगडा र पाङ्ग्राले थिचेर मृत्यु हुने गर्दथ्यो । दुर्घटना हुनेक्रम नरोकिएपछि ज्यापू समाज यलले करिब २५ वर्षदेखि जात्राको व्यवस्थापन गर्दै आइरहेको छ । ज्यापू समाजका अध्यक्ष सन्तमान महर्जनले रथ यात्राका क्रममा करिब ३–४ सय जना युवायुवती स्वयंसेवकका रूपमा खटाउने गरेको बताए । समाजले समस्याहरू आइपरेमा सरकारी निकाय र गुठियारबीच समन्वयको पनि भूमिका खेल्दै आइरहेको छ । १२ वर्षमा एक पटक बुङगमतीमा रथ निर्माण गरी यात्रा गर्ने परम्परा छ । बुङमती र पाटनको जावलाखेलमा भोटो देखाउने गरिन्छ ।
भोटो जात्रा
नागमणि, माणिक्य, हिरामोती आदि बहुमूल्य वस्तु जडित प्राचीन भोटो पचिम्हिचाः (कपडाको थैली) मा शिल गरेर राखिएको हुन्छ । गुठी संस्थान ललितपुर शाखा कार्यालय प्रमुखले सबैका सामु शिल जाँचपछि मुचुल्का तोडेर देखाइन्छ । किंवदन्तीअनुसार भोटो कर्कोटक नाग राजाको हो । नागराजाकी श्रीमतीको धेरै उपचार पछि पनि आँखाको रोग निको हुँदैन । नागराजा नागरानीको उपचार गराउन ब्राह्मण भेषमा वैद्य खोज्दै आउँछन् । मत्स्येन्द्रनाथका ज्योतिषी जोशी भन्छन्, ‘भक्तपुरका एक जना किसानसँग भेट हुन्छ । ती ज्यापूलाई आँखाको उपचार गर्ने वैद्य ठान्छ र श्रीमतीको उपचार गरिदिन अनुरोध गर्छन् ।’
‘ज्यापू आफू वैद्य नभए तापनि ब्राह्मणको आग्रहअनुरूप उपचार गर्न जान्छ,’ उनी सुनाउँछन्, ‘टौदहको किनारामा पुगेपछि ब्राह्मणले नागका रूप धारणा गरी दहभित्रको दरबारमा लैजान्छ । दरबारमा देवताका रूपमा विराजमान नागराज र रानीलाई देख्दा आफू वैद्य नभएकोमा ज्यापू डराउँछ ।’ ज्यापूले गुरु भैषज्य तथागतलाई सम्झन्छ । अनि दाँया कानको पछाडिको मैलो माडी गोलो पारी पानीमा मिसाई नागरानीको आँखामा हालिदिन्छ । नभन्दै रोग निको हुन्छ । अनि नागराजा खुसीले आफूले लगाएको रत्नमय भोटो ज्यापूलाई दिन्छ ।
ज्योतिषी जोशी सुनाउँछन्, ‘ज्यापूले खेतमा भोटो फुकालेर काम गरिरहेको बेलामा भूतले चोरेर लगे । भूतले भोटो लगाएर मानिसको भेषमा जावलाखेलमा मत्स्येन्द्रनाथको जात्रा हेर्न आए । भोटोका मालिक ज्यापू र मानिस भेषधारी भूतका बीचमा भोटोको विषयमा लिएर विवाद पर्यो । जात्रा हेर्न मानव रूपमा आएका ककोर्टक नागराजाले पनि देख्छ । अन्तमा भूत, ज्यापू र कर्कोटक नागराजा तीनैको सहमतिमा करुणामयलाई चढाइन्छ । यो कुरा सुनेर ललितपुरका तत्कालीन राजा वरदेव पनि त्यहाँ उपस्थित हुन्छ ।
मनुष्य रूपी कर्कोटक नागराजाले त्यहाँ उपस्थित राजाप्रजा सबैका सामु नागलोकबाट ल्याइएको सुवर्णमय हिरा, रत्न जडित भोटो हरेक वर्ष जात्राको दिन राजाको सवारी भएपछि देखाउनु भनी आज्ञा हुन्छ । जसअनुसार हरेक वर्ष चल्दै आएको ऐतिहासिक लोककथन छ । भोटो देखाउँदा रथको चारै दिशामा तीनपल्ट देखाउँछ । पहिलो पटक देव, मनुष्य र नागलोक, दोस्रो पटक राजा नरेन्द्रदेव, बन्धुदत्त आचाजु, ललित रथचक्र र कर्कोटक नागराजको सम्झाना र तेस्रो पटक भूत, किसान वैद्य, लोकजन र यक्षलोकलाई लक्षित गरेर देखाउने गरेको मत्स्येन्द्रनाथका ज्योतिषी जोशी बताउँछन् । नागमणि जडित भोटोको दर्शन गर्नाले अग्नि, जल, अकालमा मृत्यु हुने जस्ता अष्टभयबाट मुक्त मिल्ने विश्वास छ । पानेजु संघका अध्यक्ष शाक्य भन्छन्, ‘सुनेअनुसार भोटो राजा त्रिभुवनको पालामा चोरी भएको थियो । महेन्द्र राजा भएका बेला बेलायत हेरेर फर्केको पनि भनिन्छ ।’
मत्स्येन्द्रनाथको महास्नान
मत्स्येन्द्र्रनाथको न्हवँ अर्थात् महास्नान भनेकै मत्स्येन्द्रनाथको मृत्युवरण हो । महास्नानको मध्यरातमा मत्स्येन्द्र्रनाथको मूर्तिलाई सेतो कपडाले छोपी सिः बाजा (नेवार समुदायमा शवयात्रामा बजाइने एक प्रकारको बाजा) बजाउँदै तःबहालमा लगी मन्दिरको पिँढीमा राखिन्छ । मत्स्येन्द्रनाथको महास्नान भनेकै एक दिन सबैजना मर्नुपर्छ साथै लोप, मोह, रिस राग, क्रोध, अहंकार त्याग्नुपर्छ भन्ने सन्देश दिन खोजेको पानेजु संघका अध्यक्ष शाक्य बताउँछन् ।
महास्नानपछि मूर्तिमा कलेवर फेर्ने, रङरोगन गर्ने गरिन्छ । बौद्ध परम्पराअनुसार प्राणप्रतिष्ठा गराई पुरुष र नारी दुवैलाई गरिने जातकर्म, नामकर्म, अन्नप्रासन, उपनयन, चूडाकर्म, इही (बेल विवाह) र गुफा राख्ने दसकर्म गराइन्छ । मत्स्येन्द्रनाथ बहुरूपी भएकाले पुरुष र महिलामा गरिने दुवै कर्म गरिन्छ । रथको पछाडि ‘भुजि ख्वा द्यः’ (रक्तवर्ण बोधिसत्व) स्थापना गरिन्छ । यसलाई शिवको प्रतिकका रूपमा पनि मानिन्छ । लोकेश्वर बन्न बोधिचर्या मार्गमा हिँडेका व्यक्ति भएकाले सम्मान स्वरूप शोभायात्रामा सहभागी गराएको पानेजु संघका अध्यक्ष शाक्य बताउँछन् । मत्स्येन्द्रनाथलाई सूर्य दक्षिणीय हुँदा बुङमती र उत्तरणीय हुँदा पाटनमा राख्ने चलन छ ।
