मार्सल आर्ट्सका रोलमोडल

उसुकी निमा घर्तीमगर, करातेकी एरिका गुरुङ र पारा तेक्वान्दोकी पलेशा गोवर्धनले नेपाललाई महìवपूर्ण पदकहरू दिलाएका छन्, नेपाली खेलकुदका ‘रोलमोडल’ यी खेलाडीको संघर्ष–कथा र सफलता प्रेरणादायी छ 

श्रावण १०, २०८२

ध्रुव तुलाधर

Martial Arts Role Models

What you should know

लगातार १२ औं र १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा उसुबाट स्वर्ण पदक, एसियन युनिभर्सिटी उसु च्याम्पियनसिप–२०२४ मा कांस्य र सातौंदेखि नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक । उसु खेलाडी निमा घर्तीमगरको सफलताको छोटो परिचय हो यो । १६ वर्ष पुग्दा नपुग्दै दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेपछि उनी नेपाली खेलकुदमा चिनिन थालिन् । 

सन् २०१६ मा भारतको गुवाहाटी र सिलोङमा १२ औं साग आयोजना भएको थियो । उसुको प्रतिस्पर्धा सिलोङमा थियो । सागमा भाग लिइरहेका कुनै पनि खेलका नेपाली खेलाडीबाट स्वर्ण पदक आइरहेको थिएन । प्रतियोगिता सुरु भएको साता दिन बितिसकेको थियो । तर, उसुको पहिलो दिनको प्रतिस्पर्धामै निमाले आयोजक भारतीय खेलाडीमाथि हाबी हुँदै स्वर्ण जितेर देशमा खुसीको बहार ल्याइदिइन् ।

निमाले थाउलुको नान छ्वान अलराउन्ड विधामा पदक जितेकी थिइन् । जसमा वेपन (तरबार) बोकेर कलात्मक प्रस्तुति दिइन् । निमाबाहेक त्यो सागमा १–१ स्वर्ण फुटबल र जुडो खेलले मात्र जितेका थिए, अन्तिम दिनमा । 

उसुसँगको आफ्नो छोटो साइनो र पहिलो अन्तर्राष्ट्रिय सहभागितामै स्वर्ण जित्नुमा निमाको दृढ विश्वास र संघर्षको कथा लुकेको छ । त्यसको दुई वर्षअघि नै उनी इन्चोन एसियाली खेलकुद २०१४ को छनोटमा परेकी थिइन् । तर आफ्नो विधा समावेश नभएकाले उनी दक्षिण कोरिया जान पाइनन् । लुम्बिनी च्याम्पियनसिपमा पदक जितेकीले उनी एसियाड छनोटमा परेकी थिइन् ।

एसियाड छनोट उनको जीवनमा एकदमै बिर्सन नसकिने पल हो । छनोटअघि उनी राष्ट्र्रिय टिममा थिइनन् । लुम्बिनीमा पदक जितेका खेलाडीलाई इन्चोनको क्याम्पमा राखिने भएपछि उनी पनि परिन् । अर्को पटक स्वर्ण जित्छु भन्ने अठोटसाथ प्रशिक्षणमा केन्द्रित भइन् । तर, ट्रेनिङकै क्रममा मिडिया सुटलाई जम्प गर्दा लडेर उनको देब्रे हात ‘फ्याक्चर’ भयो ।

एक महिनापछि एसियाडको अन्तिम छनोट थियो । त्यसमा जसरी नि आफूले गोल्ड मेडल जित्नुपर्छ भन्ने ‘माइन्डसेट’ मा थिइन् निमा । प्लास्टर गरेको हातमा धेरै भार नपारी ट्रेनिङलाई निरन्तरता दिइरहिन् । छनोट खेल्न प्लास्टर खोल्नुपर्ने भयो ।

डाक्टरले बलियो भइसकेको छैन, प्लास्टर अझै केही समय राख्नुपर्छ भनेर सुझाए । तर, निमालाई जसरी पनि खेल्नु थियो । प्लास्टर निकाल्ने जुक्ति लगाइन् । प्लास्टर निकाल्दिनू भनेर आफ्नै बुवासँग जिद्दी गर्न थालिन् । छोरीको जिद्दी बुवाले नकार्न सकेनन् र बाध्य भएर प्लास्टर खोलिदिए । अन्ततः उनले छनोट जितेरै छाडिन् । जे गर्छु र जे जित्छु भनेकी थिइन्, उनले त्यो गरिन् र सफलता पनि पाइन् ।

तर, त्यति बेला निमामा खुसीसँगै निराशा पनि थपियो । अन्तिम समयमा उनको खेल्ने कोटा नभएको भन्दै निमालाई इन्चोन लगिएन । त्यो क्षण आफ्ना लागि चरम निराशा भएको निमा सुनाउँछिन् । उनी उसु नै नखेल्ने स्थितिमा पुगेकी थिइन् ।

अहिले सम्झिन्छिन्, ‘म त जति बेला पनि रोइरहने, खाना खान पनि मन नलाग्ने । पढाइमा त मनै जाँदैनथ्यो । सानै थिएँ, कुरा पनि बुझ्दिनथें । मेरो अवस्था देखेर बाबा–ममीलाई पनि टेन्सन भयो । उहाँहरूले मलाई के गरेर खुसी हुन्छ, त्यही गर्दै ‘मोटिभेट’ गर्न थाल्नुभयो । तिमी त सानै छ्यौ, यसपालि खेल्न पाएनौं त के भयो, अर्को पटक जान पाउँछ्यौं । अहिले नै गिभअप नगर, फेरि चान्स आइहाल्छ भन्दै हौसला दिइरहनुभयो । गुरुहरूबाट पनि सपोर्ट पाएँ । त्यहींबाट बिस्तारै आफूलाई सम्हाल्दै लगें । अझै दृढ बनें र प्रशिक्षण कायमै राखें ।’

त्यही दृढ आत्मविश्वासले १२ औं सागमा स्वर्ण जित्न सकेको निमाको ठम्याइ छ । सागमा स्वर्ण जितेर फर्केपछि मात्र उनले एसईई दिएकी थिइन् । त्यतिबेला पारिवारिक साथ र हौसला नभएको भए आफू यो फिल्डबाटै हराइसक्ने ठान्छिन् उनी । त्यसयता निमाले दुई एसियाड (जकार्ता र हाङचाउ) खेलिसकिन् भने १३ औं सागमा फेरि अर्को स्वर्ण जितिन् । अहिले अर्को वर्ष जापानमा हुने एसियाड तयारीमा जुटिरहेकी छन् । २५ वर्षीया निमा भन्छिन्, ‘एसियाडमा पदक जित्ने गरी बेस्ट प्रदर्शन दिने सपना बरकरार छ । त्यसपछि खेलाडी जीवनकै बारेमा सोच्नुपर्छ होला ।’

रोल्पाको माधीचौरमा २०५६ सालमा जन्मेकी निमाको खेलकुदसँगको साइनो पनि गजब छ । उनी जन्मँदा देश माओवादी द्वन्द्वको चपेटामा थियो । द्वन्द्वको उर्वरभूमि बनिरहेको थियो रोल्पा । उनका बुवा मन्सुर घर्तीमगर राजनीतिक सुझबुझ र पूर्वसरकारी जागिरे भएकाले छोराछोरीको भविष्यप्रति सहज देखिए । त्यसपछि सबै परिवार रोल्पा छाड्दै राजधानी काठमाडौंतिर हान्निए ।

त्यतिबेला निमा त ३ वर्षकी मात्र थिइन् । उनको परिवार राजधानी आएर ललितपुरको टीकाथली (चाङ्गाथली) मा सानोतिनो व्यवसाय गरेर बस्यो । बुवालाई आफ्ना सन्तान ‘सेल्फ डिफेन्स’ गर्न सक्ने होऊन् भन्ने थियो, त्यसैले छोराछोरीलाई जुडो खेलतिर लगाइदिए । सानैमा निमा पनि दाजुसँगै जुडो सिक्न जान्थिन् । तर, आफू बस्ने नजिकै अर्को खेलको ट्रेनिङमा आफूजस्तै बालबालिका रमाइरहेका देख्थिन् ।

निमा त्यतातिर लोभिइन् । त्यो यही उसु खेल थियो । जुन निन्जा उसु क्वानमा सिकाइन्थ्यो । जहाँ तत्कालीन राष्ट्रिय खेलाडी नीराजन आले मगरले स–साना बालबालिकालाई उसु सिकाउँथे । निमाको उसुको पहिलो गुरु नै नीराजन थिए । निमाले फाइट (सान्डा) विधा खेल्थिन् । तर, निमालाई थाउलु विधा (काता) मा उपयुक्त हुने देखेर गुरुले त्यतैतिर मोडिदिए । अहिले उनी त्यसमै पारंगत भइन् ।

नेपाली खेलाडीले जुन कुनै खेल खेल्छु भन्नु त्यो सोखमात्र होला । तर ती खेलका लागि चाहिने अत्यावश्यक सामग्री किनेर आफूलाई अभ्यस्त पार्न सक्नु नेपाली खेलाडीको ठूलो संघर्ष र चुनौती पनि हो । उनीहरूलाई सुरुआती कालमा ती सबै आफैंले व्यवस्था गर्नुपर्ने बाध्यता हुन्छ । जुत्तादेखि पोसाकसम्म किन्नुपर्छ । खेल्न चाहिने महँगा ‘इक्युपमेन्ट’ त टाढाको कुरा ।

त्यसका लागि आर्थिक पाटो मुख्य समस्याका रूपमा देखा पर्छ । त्यसमा परिवारको साथ अत्यावश्यक रहन्छ । निमाले पनि त्यो आर्थिक पाटोसँग संघर्ष गरेकी छन् । ट्रेनिङमै थुप्रै वेपन (तरबार) भाँचेकी छन् । एउटैको ६–७ हजार पर्ने वेपन भाँचिरहँदा किन्दिनुपर्ने झन्झटबाट परिवार आजित नबनेको होइन । खेलको मुख्य हतियार नै त्यही भएपछि चाहिहाल्यो । कति पटक त टेप बेरेर पनि खेलिन् । आर्थिक स्थिति बलियो नभए पनि बाआमाले जसरी नि रकम जोहो गरिदिएर सामान किनेको क्षण निमाको मानपटलमा ताजै छ । 

नेपाली खेलाडीहरूले माथिल्लो स्तरमा आइपुग्न धेरै संघर्ष गर्नुपर्ने निमाको अनुभव छ । नेपाली खेलकुद एकेडेमिक संरचनामा नभएकाले व्यक्तिगत प्रयासमा अगाडि बढ्नुपर्ने बाध्यता उनले बुझेकी छन् । धेरैजसो खेलका खेलाडी आफ्नो सोख र लक्ष्यमा पुग्न व्यक्तिगत लगानी गरेर अगाडि बढिरहेका हुन्छन् ।

सफलता पायो भने मात्र राज्यको नजरमा पर्छन् । नत्र, हराएरै जान्छन् । व्यक्तिगत रूपमा पढाइ र खेल एकसाथ अगाडि बढाउँदा निमाले पनि थुप्रै तीतामीठा अनुभव सँगालेकी छन् । राष्ट्रिय टोलीमा पर्दा प्रशिक्षणमा जानु कि स्कुल जानु हुन्थ्यो । दिनदिनै समय मिलाउन नै उनलाई गाह्रो पर्थ्यो । स्कुलमा ढिला पुग्यो सरको गाली सहनुपर्थ्यो भने ट्र्रेनिङ छुट्यो गुरुको । डाइट खाने समय त कता हो, कता ।

उनी सुनाउँछिन्, ‘सरहरूले समेत खेलेर केही हुन्न, पढाइमा जोड देऊ भन्नुहुन्थ्यो । तर मैले एउटा काँधमा बुक ब्याग र अर्कोमा ट्रेनिङ ब्याग बोकेर भए पनि पढाइ र प्रशिक्षणलाई निरन्तरता दिइरहें । सर र गुरुहरूको गाली खाए पनि आफ्नै लागि हो भन्दै अगाडि बढिरहें ।’

अरू धेरै मुलुकका खेलाडी सानैदेखि एकेडेमिक संरचनाबाट अगाडि बढिरहेका हुन्छन् । उनीहरू पढ्ने, खाने, बस्ने, सुत्ने, उठ्ने, ट्रेनिङ गर्ने सबै सेड्युलअनुसार चल्छन् । प्रशिक्षणदेखि प्रविधिसम्म सुसज्जित तिनै खेलाडीसँग प्रतिस्पर्धा गरेर जुन कुनै पदक जित्नु भनेको नेपाली खेलाडीको ठूलो उपलब्धि र गौरवको कुरा पनि हो ।

यस्तै गौरव दिलाउने खेलाडी हुन्, करातेकी एरिका गुरुङ । निमा सागबाट उदाएकी खेलाडी थिइन् भने एरिका एसियाडबाट । चीनको हाङचाउ एसियाली खेलकुद २०२३ मा एरिकाले ऐतिहासिक रजत पदक जितेकी थिइन् । त्यो कुमिते (फाइट) विधामा हो । यो सफलता दुई वर्षअघिको मात्र हो । एरिकाको पनि पहिलो ठूलो अन्तर्राष्ट्रिय खेलकुद सहभागिता थियो त्यो । एसियाड खेल्नु दुई साताअघि एरिकाले इन्डोनेसियामा वर्ल्ड सितोरियो कराते च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी थिइन् । त्यही स्वर्ण बोकेर उनी त्यतैबाट चीन पुगेकी थिइन् ।

इन्डोनेसियामा सुरु भएको एरिकाको पदक यात्रा निरन्तर छ । पछिल्ला दुई वर्षमा सहभागिता जनाएका १–२ बाहेक सबै प्रतियोगितामा उनले पदक जितेकी छन् । उनले नेपाली करातेका लागि अमूल्य पदकहरू दिलाएकी छन् । जुन करातेले यसअघि कहिल्यै जित्न सकेको थिएन । त्यसैले आफ्नो माउ संस्था नेपाल कराते महासंघबाट एरिकाले ‘हिमालयन वारियर’ को उपाधि पाएकी छन् ।

एरिकाको स्थायी घर निमाको जस्तो टाढा होइन, उपत्यकाको सामीप्यमा रहेको धादिङको उत्तरी क्षेत्र लाहुरे गाउँ (मधुवन) मा पर्छ । तत्कालीन साङ्कोस गाविस–८ को मधुवन अहिले सदरमुकाम धादिङबेंसी रहेको नीलकण्ठ नगरपालिका–१३ भित्र पर्छ । दशकयता भने सडक यातायातले छोएको यो गाउँ पुग्न पहिले सदरमुकामबाट घण्टौं हिँड्नुपर्थ्यो । विद्यालय जान पनि जंगलको बाटो घण्टौं हिॅड्नुपर्ने अवस्था थियो । दुई दशकअघिको त्यही अवस्थाका कारण राजधानी छिरेका गुरुङ दम्पती (विनोद र रत्न) छोरीहरूको शिक्षादीक्षा र भविष्य उज्ज्वल पार्न राजधानीमै अल्मलिए । उनीहरू बालाजुस्थित नेपालटारमा बस्छन् ।

एरिकाको कराते प्रवेश आमाको इच्छा पूरा गर्नका लागि थियो । कराते सिकेपछि आफ्नो प्रतिरक्षा गर्न सक्छिन् भन्ने आमा रत्नले बुझेकी थिइन् । बुवा ट्रेकिङका क्रममा महिनौं दिन घरबाहिर हुन्थे । त्यसैले आमा चाहन्थिन् छोरीहरू निडर बनून् । कक्षा ७ मा पढ्दादेखि एरिकाले कराते खेल्न थालिन् । उनी पढेको स्कुलमै नीरज महर्जनले कराते सिकाउँथे । एक दिन, दुई दिन हुँदै करातेप्रति लगाव र माया बढिरहेको एरिकाले पत्तै पाइनन् । स्कुलमा मात्र सिकेर भएन, उनी मनमैंजु डोजोमै गएर सिक्न थालिन् । त्यहाँ पनि नीरजले नै सिकाउँथे । 

डोजोमा धैरै खेलाडीसँग घुलमिल हुन थालेपछि करातेलाई दोस्रो परिवारको रूपमा अँगाल्दै एरिका अगाडि बढिन् । प्रतियोगिता खेल्न थालिन्, उपत्यकाव्यापी हुँदै राष्ट्रिय प्रतियोगितासम्म पुगिन् । आठौं राष्ट्रिय खेलकुदमा तेस्रो भएपछि उनको वास्तविक कराते यात्रा सुरु भयो । यही दौरान गुरु नीरज परिवारसहित बिदेसिए । त्यसपछि एरिका अलमलमा परिन् । आफ्नो कराते यात्रा सकियो भन्ने सोच्न थालिन् । यो सफलतासम्म आइपुग्न रहेछ किन रोकिन्थ्यो र एरिकाको यात्रा । नीरजले डोजोकै सिनियर खेलाडी सन्तोषलाई टिम बनाएर फेरि ट्रेनिङ अगाडि बढाउन लगाए । 

एरिका स्कुल सकेर प्लस टु पढिरहेकी थिइन्, ट्रेनिङ पनि गरेकी थिइन् । प्लस टु सिध्याएपछि उनलाई निर्णय लिन एकदमै गाह्रो भयो । स्पोर्ट्समा लागेर जोखिम लिने कि पढाइप्रति नै पूरा केन्द्रित हुने ? यो प्रश्नले एरिकालाई धेरै सतायो । किनकि नेपाली खेलकुदबाट सफल बनेका खेलाडीको संख्या धेरै कम रहेको उनलाई थाहा थियो । दोधारमा परिन् । तर परिवारले पढाइ र खेलकुद सँगै अगाडि बढाउन सक्छौं भनेर ढाडस पाएपछि एरिकामा पनि आत्मविश्वास बढ्यो, करातेमै दृढनिश्चयी बनिरहिन् । 

सानो डोजोबाट सुरु भएको एरिकाको कराते यात्रा अहिले विश्व च्याम्पियनसिपसम्म पुगिसकेको छ । आधा दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय पदक जितिसकेकी छन् । उचित प्रशिक्षण र अवसर पाए नेपाली खेलाडीले पनि छोटो समयमै अन्तर्राष्ट्रिय मञ्चमा देशको गौरव बढाउन सक्छन् भने उदाहरण बनेकी छन् एरिका । नेपाली खेलाडीले मुख्यतः अन्तर्राष्ट्रिय एक्सपोजर नपाउनु हो । तर एरिकाले एसियाडमा पदक जितेपछि निरन्तर एकपछि अर्को अवसर पाइरहिन् । उनी भन्छिन्, ‘हाम्रो ट्रेनिङ सबै राम्रो हुन्छ, तर अन्तर्राष्ट्रिय एक्सपोजर कम हुन्छ, त्यसले गर्दा हाम्रो प्रदर्शन नै कमजोर हुन जान्छ । मैले जति एक्सपोजर पाएँ, त्यसले मेरो प्रदर्शन पनि खारिँदै आयो ।’ 

राष्ट्रिय टोलीका प्रशिक्षक कुशल श्रेष्ठले आफूलगायत टिमका खेलाडीका लागि अन्तर्राष्ट्रियस्तरमा आउने चुनौती सामना गर्दै ‘स्टेप बाई स्टेप’ अघि बढ्न सारथिको भूमिका खेल्नुले आफ्नो यात्रा ऊर्जावान् बनेको एरिका महसुस गर्छिन् । २०२६ को जापान एसियाडमा स्वर्णको लक्ष्य बनाएकी एरिका हरेक प्रतियोगितामा आफ्नो उत्कृष्ट प्रदर्शन दिने अठोटमा हुन्छिन्, कहिल्यै हार खाँदिनन्, त्यसैले उनको खेल लोभलाग्दो हुने गरेको प्रशिक्षक बताउँछन् ।

निमा र एरिकाभन्दा पनि उच्च सफलतामा पुगेकी खेलाडी हुन् मार्सल आर्ट्सकै पलेशा गोवर्धन । उनी फरक क्षमताको प्रतिनिधित्व गर्दै पारालिम्पिकमा पदक जित्ने नेपालकी एकमात्र खेलाडी हुन् । पलेशाले पेरिस पारालिम्पिक २०२४ मा पारा तेक्वान्दोबाट कांस्य पदक जितेकी थिइन् ।

ओलम्पिक संरचनामा नेपालले जितेको यो पहिलो र ऐतिहासिक पदक थियो । त्यसअघि चौथो पारा एसियाली खेलकुद (हाङचाउ, चीन) मा पनि पलेशाले कांस्य नै जितेकी थिइन् । त्यो पनि नेपालले पारा एसियालीमा जितेको पहिलो पदक थियो ।

जन्मँदै बायाँ हातको नाडीदेखि तलको भाग नभएकी पलेशाले जावलाखेलस्थित डीएभी स्कुलमा पढ्दाताका तेक्वान्दो सुरु गरिन् । स्कुलमा अतिरिक्त क्रियाकलापको रूपमा मार्सल आर्ट्स खेलाइन्थ्यो । नाच्ने, गाउने र आर्ट गर्नमा पहिलोदेखि नै पोख्त थिइन् । मार्सल आर्ट्समा पनि खेल्छु भनेर उनी त्यता आकर्षित भइन् । १० वर्षको उमेरदेखि सुरु पलेशाको तेक्वान्दो यात्रामा दर्जन बढी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता रहिसक्यो । जहाँबाट उनी खाली हात फर्कने गरेकी छैनन् । पेरिसमा खेल्नु चार वर्षअघि नै टोकियो पारालिम्पिकमै उनी पदक नजिक पुगेकी थिइन् । तेक्वान्दो के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौल समूहकी प्रतिस्पर्धी हुन् ।

नेपाली खेलकुदकी ‘रोलमोडल’ बनेकी पलेशाको संघर्षको यात्रा भने फरक छ । पलेशा काठमाडौं बागबजारकी स्थायी बासिन्दा हुन् । फरक रूपमा जन्मिएकी छोरीलाई आमाबुवा (मनिता र प्रदीप) ले कहिल्यै त्यो कमजोरीको आभाष हुन दिएनन् । उनीहरूले फरक रूपमा जन्मिएका बच्चाबारे नानाथरी कुरा काट्ने समाजको बानीसँग लडेका छन्, थुप्रै सामाजिक अवहेलना झेलेका छन् र नकारात्मक कुराहरू पनि सुनेका छन् । 

पलेशाको तेक्वान्दो करिअरमा बुवा प्रदीपको योगदान उनको जत्तिकै उच्च छ । प्रदीप पर्दा पछाडिका नायक हुन् । उनको प्रेरणादायी अभिभावकत्व नहुँदो हो त पलेशाको तेक्वान्दो यात्रा यसरी अघि बढ्दैनथ्यो होला । प्रदीपले पलेशाकै करिअरका लागि भनेर आफ्नो लोभलाग्दो जागिर नै छाडेका छन् । 

तीन दिदीबहिनीमा माहिली पलेशा बाल्यावस्थादेखि नै एकदमै मिहिनेती र शान्त स्वभावकी थिइन् । कम बोल्ने बानी थियो । तर, जे गर्छु भन्थिन्, त्यो गरेरै छाड्ने स्वभाव थियो । कक्षा ५ मा हुँदा अतिरिक्त विषयअन्तर्गत मार्सल आर्ट्स रोजेकी हुन् ।

बुवाले पनि सुरुमा आत्मरक्षाका लागि पलेशालाई तेक्वान्दो खेल्न भनेर प्रेरित गरेका थिए । स्कुलका प्रशिक्षकले पलेशाको तेक्वान्दोमा राम्रो सम्भावना रहेको सुझाएपछि प्रदीपले तेक्वान्दो डोजाङमै भर्ना गरिदिएका थिए । तेक्वान्दो खेल्न थालेको तीन वर्षमै पलेशा राष्ट्रियस्तरमा पुगेकी थिइन् । सन् २०१७ मा १३ वर्षको उमेरमै पलेशाले राष्ट्रिय टोलीबाट पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप दक्षिण कोरियामा खेलेकी थिइन् । 

पलेशा अहिले चीनमा आर्किटेक्ट इन्जिनियरिङ पढिरहेकी छन् । उनको लक्ष्य पारालिम्पिकमा कांस्यभन्दा माथिको पदक जित्नु हो । उनी आफूजस्तै फरक क्षमता भएकाहरूलाई जहिल्यै भन्छिन्, ‘अपांगता भएकाहरूले हीनताबोध त्यागेर आफूले आफैंप्रति गर्व गर्नुपर्छ । आफू अरूजस्तो किन भइनँ भनेर हीनताबोध गर्नुभन्दा आफू जस्तो छ, त्यसमै खुसी हुन सिक्नुपर्छ । तबमात्र आफ्नो लक्ष्यमा पुग्न सकिन्छ ।’

ध्रुव तुलाधर तुलाधर दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका छन् । उनी हाल कान्तिपुर दैनिकको खेलकुद ब्युरोमा कार्यरत छन् ।

Link copied successfully