सुदूर गन्तव्यको दौडमा ‘गोल्डेन गर्ल्स’

एथलेटिक्सका मीरा राई, राजपुरा पछाई र सन्तोषी श्रेष्ठको संघर्ष र सफलताको उडान अन्य खेलाडीभन्दा फरक छ 

श्रावण १०, २०८२

सविना कार्की

”Golden Girls” in the race of distant destinations

What you should know

यो स्टोरीका लागि संवाद हुँदा अमेरिकाको कोलोराडो पुगेकी थिइन्– मीरा राई, रेसमा भाग लिन । खासमा मीरा राई चट्टानमा फुलेकी फूल हुन्, जसलाई खेलमा फर्किन धेरै संघर्ष गर्नुपर्‍यो । दुःख र पीडाका पहाडले मीरालाई कति थिच्यो, थिच्यो । तर, उनले हार मानिनन् । कैयौं पटक लडिन्, फेरि उठिन् । मीरालाई थाहा थियो– जित उसैको हुन्छ, जसले हिम्मत हार्दैन । 

भोजपुरको पौवा दुङ गाउँपालिकामा जन्मिएकी हुन, मीरा । उनको एक जना दाइ छन्, त्यसपछि दुई भाइ र दुई बहिनी । मीराको बाल्यकाल सहज थिएन । आमासँगै हिले, पाख्रीबासतिर खुर्सानी, फलफूल बेच्न जान्थिन् । दस वर्षकी भएपछि मीरा एक्लै भोजपुर–हिले गर्न थलिन्, ठूलाठूला पहाड छिचोल्दै । स्कुल पढ्दै गर्दा देशमा माओवादी युद्ध चलिरहेको थियो ।

उनले चिनेजानेका आफन्त देश परिवर्तन गर्न भन्दै माओवादीमा आबद्ध भएका थिए । एक दिन स्कुलमा कार्यक्रम थियो, चिनेका एक जना आफन्त आए अनि उनी सँगै अरू धेरै बालबालिकालाई लिएर गए । उनीसँग गएका साथी सबै भागे । तर, मीराले त्यहीं बस्ने निर्णय लिइन् । किनकि उनीसामु घर फर्किनुको कारण थिएन । आर्थिक अवस्था एकदमै कमजोर थियो, पढ्ने वातावरण थिएन । माओवादीमा जाँदा उनी कक्षा ८ पढ्थिन् । मीरालाई लाग्यो, माओवादी क्याम्पमै अवसर पाइन्छ होला ।

दिनहरू बित्दै गए, शान्ति सम्झौता भयो । देश अब शान्त हुन्छ भन्ने खबरले मीरालाई असाध्यै खुसी दियो । उमेर नपुगेको भन्दै मीराले पाउने सेवासुविधा केही पनि पाइनन् । सिन्धुलीको माओवादी क्याम्पमा गइन् पढ्न । छात्रवृत्ति प्राप्त गरिन्, विभिन्न तालिम लिइन् । जे गरे पनि उनी आफ्ना सपना नजिक पुगेकै थिइनन् । त्यसैले मीराले मलेसिया जाने निर्णय लिइन् ।

भिसा आयो, फ्याक्ट्रीमा काम गर्ने भनिएको थियो । सबै प्रक्रिया पूरा पनि भयो । क्याम्पमा रहँदा उनकी साथी थिइन् अनुपमा मगर । करातेका प्रशिक्षक ध्रुवविक्रम मल्ल बेलाबेला सिन्धुलीको क्याम्प जान्थे खेलाडी खोज्न । अनुपमाले कराते खेल्न सुरु गरिन् ।

उनै अनुपमाले १९ औं दक्षिण एसियाली खेलकुदमा नेपालका लागि स्वर्ण पदक जितिन् । अन्तिम समयमा मीरालाई विदेश जानबाट रोक्दै अनुपमाले ‘कराते खेलौं’ भन्ने सल्लाह दिइन् । मीराको जीवनले यहींबाट मोड लियो । करातेमा मीराले ब्ल्याकबेल्टसम्म प्राप्त गरिन्, तर उनको मन खुसी थिएन । 

”Golden Girls” in the race of distant destinationsसन्तोषी श्रेष्ठ

उनलाई कुद्नमै शान्ति मिल्थ्यो । बिहानै उठ्यो, कुद्यो । यसैगरी मीरा आफ्नो दैनिकी बिताइरहेकी थिइन् । रोड रेस, ट्रेल रनिङ के हो ? मीरालाई केही थाहा थिएन । उनले रंगशालामा पनि केही समय अभ्यास गरिन् । तर, रंगशाला जान–आउन बस भाडा नभएपछि मीरा बालाजुका डाँडाहरूमा कुद्न थालिन् । ‘दौडेर केही गर्न सक्छु’ भन्ने लाग्न थाल्यो । कुदिरहँदा एक दिन एक जना धावक फुल्चोकीमा गेट पार गर्दै जंगलभित्र छिरे ।

मीराले उनैलाई पछ्याइन् । पछि थाहा भयो– उनी आर्मीका हेम गुरुङ थिए । उनलाई अर्को शनिबार आउन भनियो । ‘ट्रेनिङ होला’ सोचेर गएकी थिइन् । ५० किलोमिटरको हिमालयन आउटडोर फेस्टिभल रहेछ । नेपाली महिला धावक मीरा मात्रै थिइन् । ४२ किलोमिटर पुगेपछि मीरालाई रिंगटा लाग्यो । किन रिंगटा लाग्यो ? थाहा भएन । अर्को चेकपोस्टमा हेम गुरुङले पैसा छोडिदिएका रहेछन् । उनले तातोपानीमा चाउचाउ हालेर खाइन् अनि पो थाहा भयो, भोकले रहेछ । दौडिँदा के सामान बोक्नुपर्छ ? के खानुपर्छ ? तयारी के गर्नुपर्छ ? उनलाई थाहा थिएन । तर, रेस पूरा गरिन् ।

त्यो रेस ट्रेल रनिङ नेपालका संस्थापक रिचर्ड बलले आयोजना गरेका थिए । त्यसपछि मीराको खोजी भयो, रेस पूरा गर्ने केटी हो ? रिचर्ड, मीरालाई खोज्दै रंगशाला आइपुगे । अंग्रेजी नजान्ने मीराले हाउभाउले रिचर्डसँग गफ गरिन् । रिचर्डले सोधे– ट्रेल रनिङ गर्ने हो ? उनले ‘एस’ भनिन् । अनि सुरु भयो मीराको ट्रेल रनरको यात्रा । सन् २०१५ मा मीराले फ्रान्समा हुने मोन्ट ब्लाङ्क ८० किलोमिटर दौडमा पहिलो स्थान प्राप्त गरिन् । त्यसपछि मीराबारे नेपालमा चर्चा हुन थाल्यो । विश्वमा लोकप्रिय रहे पनि नेपालमा ट्रेल रन चिनाउने मीरा नै हुन् । त्यसपछिको मीराको कथा त संसारलाई थाहै छ । 

अहिले मीरा राई इनिसिएटिभ ट्रेनिङ सेन्टरमार्फत नयाँ खेलाडी उत्पादनमा व्यस्त छिन् । सुनमाया बुढा, प्रिया राई, अनिता राई, रसिला तामाङ मीराकै पद पछ्याउँदै छन् । ‘आफूमाथि विश्वास भयो भने दुःखका अत्यासलाग्दा पहाड पार गर्न सकिन्छ भन्ने उदाहरण हुन्’ मीरा । ट्रेल रनिङका लागि नेपाल उत्कृष्ट मानिन्छ । तर, अव्यस्थित बस्तीहरूले ट्रेल मासिँदै गएकोमा चिन्ता छ उनलाई । ट्रेल रनिङमार्फत आर्थिक समृद्धि सँगै देशलाई विश्वमाझ चिनाउन सकिन्छ भन्ने कसैले नबुझेकोमा मीराको चित्तदुखाइ छ ।

...

‘छोरी मान्छे भएर जन्मिनु भनेको त खच्चड जस्तै रहेछ । भारी बोक्ने काम त्यो पनि– बिना गुनासो, बिना आराम ! न कसैले पीडा बुझ्छ, न कसैले ठीक छौं भनेर नै सोध्छ । तर, म यो जीवन बाँच्न चाहन्न । मलाई यहाँबाट जसरी पनि बाहिर निस्कनु छ, आत्मनिर्भर बन्नु छ । आफ्ना लागि बाँच्नु छ,’ कुनैबेला राजपुरा पछाईको मनमा यो तरंग उठिरहन्थ्यो । 

जुम्लाको कनकासुन्दरी गाउँपालिकामा हुर्कंदै गरेकी बालिकाको मनमा यस्तै यस्तै कुरा खेलिरहन्थे । खान–लाउन कुनै दुःख थिएन । दुःख गरेअनुसार बिहान–बेलुका खान र एक जोर लुगा लगाउन गाह्रो थिएन । आमा–बुबाको होटल थियो । त्यसमा काम सघायो, घाँस–दाउरा गर्‍यो । त्यसलाई उनी खासै दुःख मान्दिनन् । किनकि त्यो उनको दैनिकी थियो । पीर थियो त महिलाका लागि समाजले बनाइदिएका नियम र सीमाहरूको । 

राजपुराले जीवनलाई राम्ररी नबुझ्दै आफ्नो लक्ष्य निर्धारण गरिसकेकी थिइन् । उनलाई नेपाल प्रहरी बन्नु थियो । प्रहरीले लगाउने पोसाकप्रति छुट्टै लगाव थियो । त्यसैले राजपुरा स्कुल जाँदा कहिल्यै हिँडिनन् । सधैं कुदेरै स्कुल जाने–आउने गर्थिन् । बिस्तारै जाँदा–आउँदा समय पनि लाग्ने, त्यसैले । उनलाई ‘प्रहरी हुन कुद्नुपर्छ’ भन्ने थाहा थियो । त्यसैले उनको पाइला छिट्टो अघि बढ्थे । बिहानै उठेर कुद्न जान्थिन्, आएपछि होटलको काम अनि स्कुल । यसरी नै उनको बाल्यकाल बित्यो । 

राजपुरालाई एथ्लेटिक्स के हो, दौड के हो ? अत्तोपत्तो थिएन । किनकि राजपुरा त भलिबल खेलाडी थिइन् । उनको पहिलो माया भलिबल हो, जुन आज पनि कायमै छ । पहिलो माया कहाँ भुल्न सकिन्छ र ? औपचारिक रूपमा दौडिनुअघि राजपुरा भलिबलको क्षेत्रीय खेलाडी बनिसकेकी थिइन् । स्कुलबाट उनले दौड विधामा राष्ट्रपति रनिङ सिल्डमा भाग लिइन् । दाङमा भएको राष्ट्रपति रनिङ सिल्ड छनोटमा राजपुरा १५ सयमा दोस्रो र ५ किलोमिटरमा पहिलो भइन् । त्यहाँबाट छनोट हुँदै राजपुरा २०७२ सालमा राष्ट्रिपति रनिङ सिल्डको फाइनल चरण खेल्न पोखरा गइन् । त्यहाँ पनि राजपुराले उही नतिजा निकालिन् । १५ सयमा रजत र ५ किलोमिटरमा स्वर्ण । 

”Golden Girls” in the race of distant destinationsराजपुरा पछाईं

त्यो बेलासम्म राजपुराले प्रहरीमा नाम निकालिसकेकी थिइन् । प्रहरीमा नाम निस्किएपछि राजपुराको दौडने काम बन्द भयो । उनी प्रहरीको तालिममा सहभागी भइन् । सातौं राष्ट्रिय खेलकुदमार्फत राजपुरा पुनः दौडमा फर्किएकी हुन् । प्रहरी हुन दौडिन सुरु गरेकी राजपुरा जागिरे भएकै कारण खेलाडी बनिन् । अभ्यासका क्रममा दौडिँदा पहिलो भएको देखेपछि नेपाल पुलिस क्लबले राजपुरालाई एथ्लेटिक्समा जान सुझायो, दौडिन लगायो । राजपुरा पनि क्लबले भने जसरी नै अघि बढिरहिन् । 

सातौं राष्ट्रिय खेलकुदमा भाग लिँदा राजपुरा पासआउट भएको ७ दिन मात्रै भएको थियो । उनले १५ सय मिटरमा भाग लिएकी थिइन्, पाँचौं स्थान प्राप्त गरिन् । यसले राजपुरालाई विचलित बनाएन । उनलाई आफ्नो तयारी थाहा थियो । प्रहरीको ११ महिनाको तालिमबाट फर्किएर ‘मैले गर्न सक्ने यत्ति नै थियो’ भन्ने उनले बुझेकी थिइन् । उनको एथ्लेटिक्स करिअरको भने यो ठूलो ब्रेक–थ्रु थियो ।

त्यसपछि भने राजपुराले नियमित अभ्यास गरिन् । आठौं राष्ट्रिय प्रतियोगितामा म्याराथनमा स्वर्ण र १० हजार मिटरमा रजत जितिन् । २०१९ मा काठाडौंमा भएको दक्षिण एसियाली खेलकुदमा भने राजपुराको प्रदर्शन राम्रो भएन । पदककै लागि कुदिरहेकी राजपुरा ३८ किलोमिटर पुगेपछि ढलिन् । चिकित्सकले उमेर कम भयो भन्ने सुनाए । तर, राजपुरालाई कारण अहिलेसम्म थाहै छैन । त्यसपछि उनले म्याराथनमा भाग लिएकी छैनन् । उनी फेरि म्याराथनमा फर्कन चाहन्छिन् । 

दुई वर्षअघि नेपालमै भएको एसिएन क्रस कन्ट्रीमा राजपुराले १० किलोमिटरमा रजत हात पारिन् । राजपुरा सम्मिलित यही टिम इभेन्ट्समा नेपाल दोस्रो भएको थियो । २०७९ राजपुराका लागि विशेष रह्यो । त्यो वर्ष एसिएन क्रस कन्ट्रीसहित राजपुराले भाग लिएका प्रायः सबै प्रतिस्पर्धामा पदक हात पारिन् । 

कान्तिपुर हाफ म्याराथन राजपुराको अर्को सफलता हो । यसमा उनले ह्याट्रिक गरिसकेकी छन् । जुम्लादेखि सुरु भएको राजपुराको दौड दक्षिण एसियाली खेलकुद, एसिएन क्रस कन्ट्री च्याम्पियनसिप, एसिएन च्याम्पियनसिप, बंगबन्धु हाफ म्याराथन हुँदै अन्य थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितासम्म जारी छ । 

अहिले राजपुरा चोटकै कारण आराम गरिरहेकी छन् । फिट भएर ट्र्याकमा फर्कने दिन कुरिरहेकी राजपुरालाई पछिल्लो समय कञ्चनपुरमा छाउपडी बस्दा सर्पले टोकेर एक महिलाले ज्यान गुमाएको घटनाले साह्रै मन पोलेको छ । राजपुरालाई थाहा छ, छाउपडी बस्दाको अत्यासलाग्दा रातहरू । तर, उनले चाहिँ छाउपडी गोठमा बस्दा आफ्नै उमेर समूहका केही साथीको साथ पाएकी थिइन् । डरचाहिँ छँदै थियो ती दिनमा– जबर्जस्ती करणीको सिकार भइने हो कि ? सर्पले खाने हो कि ? कसैले केही पो गर्छ कि ? ती डरका रात राजपुरालाई सम्झिन मन छैन । 

‘ज्यान भन्दा पनि ठूलो देवता हुन्छन् र ?,’ उनको आग्रह छ सरकार, आफ्नो समाजसँग र परिवारसँग, ‘छोरीहरूलाई आफ्नै घरमा राखौं । महिनावारी हुनु भनेको फूल फुल्ने प्रक्रिया हो, म जस्तै धेरै राजपुराहरूलाई फक्रिन दिनुस् । विश्वभरका ट्र्याक एन्ड फिल्डमा स्वतन्त्र भएर दौडन दिनुस् ।’

...

सन्तोषी श्रेष्ठको कानमा गुन्जिइरहने एउटा वाक्य छ, हजुरआमाको– मेरी नातिनी चरा जस्तै छ, उडेर जान्छे, उडेर आउँछे । धादिङमा जन्मिएकी सन्तोषीलाई सानैदेखि दौडिँदा अर्कै किसिमको आनन्द मिल्थ्यो । त्यसैले उनी कुदेरै पसल जान्थिन्, कुदेरै आउँथिन् । बाटोमा कसैले बोलाए पनि नसुनी छिटोछिटो हिँड्थिन् । यसैले हजुरआमाले सन्तोषीलाई चरा भनेकी हुन् । 

जे काम पनि अरूभन्दा पहिल्यै गर्नुपर्ने, घाँसको भारी पनि अरूले भन्दा ठूलो बनाउनुपर्ने । खेतमा काम गर्दा, मल बोक्दा सन्तोषीलाई नै पहिलो हुनुपर्ने । भारी बोक्दा हल्का भयो भने फेरि थप्थिन् । हजुरआमासँग हुर्किएकी सन्तोषीको बाल्यकालमा भौतिक सुविधा थिएन, तर माया थियो । गाली उनले कहिल्यै खाइनन्, तारिफ नै हुन्थ्यो । धादिङबाट पढ्न दाइभाइ सँगै सन्तोषी काठमाडौं स्वयम्भू आइन् ।

”Golden Girls” in the race of distant destinationsसन्तोषी श्रेष्ठ

सानैदेखि उनलाई लाग्थ्यो, सबै काम आफैं गर्नुपर्छ, अरूलाई के दुःख दिनु ? पानीको लाइन बसेर, खाना पकाएर स्कुल जान सधैं ढिलो हुन्थ्यो । कुदेर स्कुल जानुको विकल्प थिएन । उनी पढ्ने स्कुलमा खेलकुदका इन्डोर इभेन्ट्स मात्र हुन्थे, आउट डोर त्यति नहुने । ममी र अंकललाई सन्तोषीले नृत्य गरोस् भन्ने इच्छा थियो । सन्तोषीलाई नाच्नै नआउने, मन पनि नलाग्ने ।

नृत्य मन नपर्ने भएकाले लहैलहैमै स्कुलमा उनले दौडमा भाग लिइन् । भाइले उनलाई नदौडिन सुझाव दिए । अरूमा पहिलो–दोस्रो हुने दिदीको दौडिन नसकेर कुरा काट्छन् भन्ने पीर थियो भाइलाई । सन्तोषीलाई पनि दौडबाट आफ्नो नाम फिर्ता लिन मन लाग्यो– ‘विष्णुमतीको किनारमा दौडिनुपर्ने, मान्छेले हेर्छन्, लाज लाग्छ’ सोचेर । र, नाम फिर्ता लिन गइन् । सबै छात्राहरूले नाम फिर्ता लिइरहेका थिए । मावि, निमावि र प्राविबीच प्रतिस्पर्धा थियो । सबैले ‘नखेल्ने’ भन्न थालेपछि शिक्षकले भने, ‘नाम फिर्ता लिए २ सय जरिवाना तिर्नुपर्छ ।’ सन्तोषी झसङ्ग भइन्– दुई रुपैयाँ त छैन, कसरी २ सय तिर्नु ? त्यसैले दौडिनुको विकल्प रहेन । 

दसैंमा किनिदिएको सट र ट्राउजर अनि च्यारच्यारे चप्पल लगाएर कुदिन्, पहिलो भइन् । उनले फिनिसिङ लाइन क्रस गर्दा उनका भाइ छक्क परे, विश्वास गर्नै सकेनन् । सन्तोषीले जीवनमा पहिलो पटक स्टेज देखिन् । उनको सेक्सनमा पहिलो पुरस्कार जित्ने सन्तोषी मात्रै भइन् । आफ्नो कारण सर पुरस्कार लिन स्टेज उक्लिए । त्यसपछि सन्तोषीले प्रतियोगिताहरूमा भाग लिन थालिन् ।

सन्तोषीलाई दौडिन अभ्यास चाहिन्छ भन्ने थाहा थिएन । उनले काठमाडौंमा हुने विभिन्न रेसमा भाग लिइन्, पोजिसन ल्याए पनि कसैले नपत्याउने । विभागबाट आएका खेलाडीको प्रशिक्षक टिम हुन्थ्यो । सन्तोषी ‘म दोस्रो भएको हो, तेस्रो भएको हो’ भन्थिन्, कसैले सुन्दैनथ्यो उनको आवाज । सन्तोषी मनमनै भन्थिन्– एक दिन पहिलो भएर देखाउँछु, त्यसपछि कसो मेरो नाम आउँदैन होला ? 

एसलएसी पछि सन्तोषीले केही दिन आर्मीको मैदानमा अभ्यास गरिन्, जहाँ हरि रिमाललगायतका एथ्लेटिक्सका स्टार खेलाडी भेटिन्थे । केही सिनियरले सन्तोषीलाई ‘एथ्लेटिक्समा लागेर केही हुन्न, नखेल’ भनेर पनि सुझाव दिए । त्यहाँ पनि उनले अभ्यासको खास अर्थ थाहा पाइनन् । 

प्लस टुमा साइन्स लिएर पढिन्, खेलाडी नै बन्छु भन्ने सपना थिएन । ब्याचलर पुगेपछि उनलाई दौडिन मन लाग्यो । तर, घरको जिम्मेवारीले रोक्यो । खानेकुरा पनि खासै हुँदैनथ्यो । तर, उनी काम गर्दै कुदिरहिन् । बिदाको दिन टाढा पुग्थिन्, रुखमा केही कोर्थिन्, चित्र बनाउँथिन् । सोचिबस्थिन्– अर्को पटक आउन प्रेरणा मिलोस् । अर्को पटक मैले बनाएका चित्रहरू हेर्न भए पनि त्यहाँसम्म कुद्नुपर्छ भनेर सन्तोषी आफैंमा प्रेरणा भर्थिन् ।

”Golden Girls” in the race of distant destinationsमीरा राई

कान्छीमाया कोजू र विश्वरूपा बुढाबाहेकलाई सन्तोषीले बिनाअभ्यास जित्न थालिन् । ‘अभ्यास गर्‍यौ भने त कान्छीमायालाइ पनि जित्छौ’ भन्थे साथीहरू । तर, उनी मैदानमा आउँदा कान्छीमायाले खेल्न छोडिसकेकी थिइन् । 

०७२ मा उनी ब्याचलर पढ्दै थिइन्, सिनियर स्तरमा सानो पहिचान बनिसकेको थियो सन्तोषीको । ब्याचलर सकिएपछि खेल्दिनँ भन्ने सोच्थिन् सन्तोषी । ‘२५ वर्षपछि बूढो भइन्छ, ३० वर्ष हुँदा पीएचडी गर्छु’ भन्ने योजना थियो । विभागभन्दा बाहिर बसेर खेल्दा सन्तोषीले धेरै अन्याय भएको महसुस पनि गरिन् । 

आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सन्तोषीले चार इभेन्ट्समा भाग लिएकी थिइन् । १० किलोमिटरमा तेस्रो स्थान प्राप्त भयो । ‘१५ सय मिटरचाहिँ खेल्दिनँ,’ सोचिन् । तर, आमाले स्पाइक किनिदिएकी थिइन्, उनी त्यही स्पाइक देखाउन दौडिइन् । त्योभन्दा अघिसम्म उनले स्पाइक लगाएकी थिइनन् । ओलम्पिक खेलिसकेकी सरस्वती भट्टराईभन्दा मिलिसेकेन्डले उनी दोस्रो भइन् । 

दुई दिनको ग्यापपछि ५ हजार मिटरमा स्वर्ण जितिन्, रिलेमा चौथो । पहिलो राष्ट्रिय प्रतियोगितामा सन्तोषी पहिलो, दोस्रो, तेस्रो र चौथो भइन् । तर, आठौंमा सन्तोषीको विषयमा विभिन्न विवाद आए । ‘ट्र्याक गन्न गल्ती भयो’ लगायत विषयमा विवाद भएको थियो । नेसनल च्याम्पियन विथ ग्राजुएट एथ्लिट बन्ने लक्ष्य थियो सन्तोषीको । त्यो उनले पूरा गरिन् । त्यसपछि एथ्लेटिक्स छोड्ने निर्णय गरिन् । 

‘पढ्दै खेल्न सकिन्छ’ भन्ने उदाहरण दिनु थियो, अब पूरा भयो । वर्षौंदेखि देखेको सपना पूरा हुँदा पनि सेलिब्रेट गर्न पाइनन् । त्यसैले उनले एथ्लेटिक्सबाट बिदा लिने निर्णय लिइन् । रानीबारीमा अभ्यास गरिरहँदा गुरु रघुराज वन्तलाई सन्तोषीले भनिन्, ‘एथ्लेटिक्समा जस्तो खराब मान्छे कोही रहेनछ, अब म यो फिल्डमा बस्न सक्दिनँ ।’ प्रशिक्षक वन्तले जवाफ दिए, ‘सुनिल राजवंशी जस्ता राम्रा मान्छे पनि छन् एथ्लेटिक्समा ।’ राजवंशी खेलाडीलाई निकै सहयोग गर्थे । वन्तले भनेका थिए, ‘संसार तिमीले देखेजस्तो, सोचेजस्तो मात्रै पनि हुन्न, फूल मात्रै हुँदैन काँडा पनि हुन्छन् ।’ सन्तोषीले भनिन्, ‘म मेरो संसारमा बाँच्न चाहन्छु ।’ 

नियन्त्रणमा भएको कुरा मिलाउन सकिन्छ, आफ्नो हातमा नभएको कुरामा तनाव लिनु हुन्न भन्ने बुझिन् सन्तोषीले । मानसिक रूपमा बलियो भइन् अनि फर्किइन् ट्र्याकमा । १९ औं दक्षिण एसियाली खेलकुद नेपालमा आयोजना भयो ।

सन्तोषीले १० हजार मिटरमा कीर्तिमानी स्वर्ण पदक जितिन् । एथ्लेटिक्समा नेपली महिला खेलाडीले सागमा जितेको त्यो पहिलो स्वर्ण थियो । त्यसपछि सन्तोषी बनिन्– नेपाली एथ्लेटिक्सको फेस । युवा खेलाडीले आइडियल खेलाडीका रूपमा सन्तोषीलाई पाए । लामो समयपछि एथ्लेटिक्सले स्टार खेलाडी पायो ।

एथ्लेटिक्स नै छोड्ने निर्णय लिइसकेकी सन्तोषीले पेरिस ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरिन् । ओलम्पिकमा म्याराथनमा प्रतिस्पर्धा गरेकी थिइन् । उनले अहिलेसम्म तीन म्याराथन दौडिइन् । नेपालभित्र हुने हाफ म्याराथन र रोड रेसमा सन्तोषी जहाँ कुद्छिन् त्यहाँ पहिलो हुन्छिन् नै । एक सयभन्दा बढी उपाधि उनले जितिसकेकी छन् । 

उनको एउटै लक्ष्य छ– अब आउने पुस्ताले मानसिक रूपमा कुनै पनि किसिमको तनाव नलिई दौडिन सकुन् । नयाँ पुस्ताका लागि सजिलो ट्र्याक बनाउन चाहन्छिन् सन्तोषी ।

सविना

Link copied successfully