गोल हान्ने र गोल जोगाउने लडाकु 

महिला फुटबलले एसिया–कप मात्रै होइन, विश्वकपकै सपना देख्न सक्छ, दक्षिण एसियाकै उत्कृष्ट खेलाडी हुन्- सावित्रा भण्डारी, एन्जिला तुम्बापो र प्रीति राई

श्रावण १०, २०८२

हिमेश

A goal-scoring and goal-keeping fighter

What you should know

सावित्रा भण्डारी अचेल ठ्याक्कै फेरिएकी छन् । साँच्चैकी ‘साम्बा’ भएकी छन् अर्थात् सबै अर्थमा फुटबलसँगै जोडिएकी । ‘अब प्रशिक्षण बढी चाहियो, जोडदार ‘वार्म–अप’ हुनुपर्‍यो, यो खानु भएन, त्यो खानु भएन,’ उनको मुखबाट यस्तै–यस्तै सुन्न पाइन्छ । 

सन् २०१४ मा नेपालका लागि अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दा साम्बा कहाँ यस्तै थिइन् र ? उनले नेपालका लागि उमेर समूहको फुटबल खेल्दै खेलिनन् । सबैभन्दा पहिले एपीएफसँग जोडिइन् अनि सरासर राष्ट्रिय टिममा पुगिन् । पुगिन् मात्र होइन, श्रीलंकाविरुद्धको आफ्नो पहिलो खेलमै गोल गरिन् । त्यसपछि त उनले फर्केर हेर्नै परेन । र, नेपाली फुटबल मन पराउनेका लागि उनी हिरो भइन् । 

साम्बालाई राष्ट्रिय टिममा पहिलोपल्ट खेलाएका प्रशिक्षक हुन्, कुमार कटुवाल । उनी पुराना दिन सम्झिन्छन्, ‘सुरुमै साम्बामा केही थियो । हेर्नेबित्तिकै लाग्थ्यो, यी खेलाडीले केही गर्न सक्छिन् । नभन्दै यस्तै भएको छ । उनी एक युगमा एकपल्ट आउने खेलाडी हुन् ।’ जत्तिले उनको खेल नजिकबाट हेरेका छन् र साम्बासँग जोडिएर जति तथ्यांक अगाडि आउँछ, ती प्रशिक्षकको कुरामा सहमति जनाउनैपर्छ । उनको सुरुआती दिन सम्झने हो भने अहिलेसम्मको यात्रालाई अचम्मै मान्नुपर्छ । 

आफ्नै कथाकी नायिकासमेत हुन्, एन्जिला । साम्बाको कथाजस्तै उनको अहिलेसम्मको यात्रा पनि कोही कसैलाई प्रेरित गर्न पर्याप्त छ । १५ वर्षमै राष्ट्रिय टिमबाट डेब्यु गरेकी प्रीति पनि लामो रेसकी घोडा हुन् ।पामचोक गाउँ हो उनको । यो पर्छ– लमजुङको मर्स्याङ्दी गाउँपालिकामा । सानैदेखि किन हो, साम्बामा फुटबलप्रति मोह थियो, साथीभाइ बटुलेर खेल्न मात्रै ध्यान दिन्थिन् । काम छलेरै फुटबलमा रमाउँथिन् । गाउँमा थोरै भए पनि फुटबलको माहोल त थियो, तर एउटा समस्या पनि थियो– आफूजस्तै फुटबल खेल्ने केटी साथी थिएनन् । बुबा थमन र आमा मुनाले फुटबल मात्रै खेली भनेर गाली नगरेको कहाँ हो र ? अझ कुटाइ पनि खाइन्, पुराना दिन सम्झँदा साम्बालाई आजभोलि हाँसो उठ्छ । 

आर्थिक रूपमा सामान्य थियो उनको परिवार । दुःखमै हुर्किइन् साम्बा– घाँसपात–मेलापात गरेरै । सानो छँदा साम्बालाई अर्को एउटा समस्या पनि थियो, ढंगको बल थिएन । अरू धेरैले जस्तो उनले पनि मोजाकै बलबाट खेल्न सिकिन् । खेल्दा आफ्नै टिमको मात्रै होइन, विपक्षीतिर पनि केटा खेलाडी नै हुन्थे । साम्बाले बारम्बार भनेकै छिन्, ‘ठूला दाइहरूसँग खेलेर नै फुटबल सिकें ।’ अनि गाउँघरतिर हल्ला चल्थ्यो नै– छोरी बिग्रिई । 

अब दिनहरू बदलिएका छन् । तिनै कुरा काट्नेहरू प्रशंसा गर्ने भएका छन् । यी दिनका लागि साम्बाले १० वर्षभन्दा बढी समय फुटबल यात्रा गरिसकेकी छन् । त्यसमा अनेक उतारचढाव पनि रहे । अझ चोटले साम्बालाई नराम्रोसँग थलाएको पनि छ । तर, फुटबल भनेपछि जस्तोसुकै परिस्थितिमा पनि एक पाइला अघि सर्छिन् र लगाउँछिन्– अर्जुनदृष्टि । त्यसैले त हो, उनकै नाममा साम्बा–चोक निर्माण भएको छ, साम्बा स्तम्भ तयार भएको छ, त्यो पनि उनकै लमजुङको खुदीबजारमा । सारा कथा सिनेमा जत्तिकै छैन र ? 

...

नेपाली फुटबलमा साम्बाको एउटा असाध्यै मिल्ने साथी छिन्– एन्जिला तुम्बापो सुब्बा । उनी त झन् सिनेमाकै नायिकासमेत भइसकेकी छन्, कथा पनि आफ्नै । त्यस कथामा खेल्ने पात्र पनि आफैं । साम्बाको कथाजस्तै एन्जिलाको अहिलेसम्मको यात्रा पनि कोही कसैलाई प्रेरित गर्न पर्याप्त छ । साम्बा र एन्जिलाले एपीएफबाट सँगसँगै फुटबल मात्रै खेलेनन्, राष्ट्रिय टिममा पनि पछिल्लो दस वर्षदेखि लगातार जोडिएका छन् । साम्बा कप्तान हुनुअघि लामै समय नेपाली टिमको नेतृत्व सम्हाल्ने पनि एन्जिला नै एक थिइन् । 

सिनेमा सिनेमा नै हुन्छ । एन्जिलाको आफ्नै नाममा बनेको त्यस सिनेमाबाटै पनि उनको फुटबल यात्राबारे धेरैथोक थाहा पाउन सकिन्छ । तर, सबथोक भने होइन । उनको कथा त्यो सिनेमा भन्दा अझ ठूलो, फरक र मन छुने खालको छ । एन्जिलाकै शब्दमा अहिलेसम्मको यात्रा तय गर्न के–के मात्र गरिनन् । ‘मैले साँच्चै आफ्नो जीवनमा के मात्र गरिनँ होला ?’ आफैं अचम्म पर्ने गरी भन्छिन् उनी, ‘सानै उमेरदेखि काम गरें, काम पनि अनेकथरीका गरें । अहिले जे जस्तो छु, त्यसमा खुसी छु, गर्व पनि लाग्छ ।’ 

एन्जिलाको जन्मथलो हो, पाँचथरको विकट फmात्तेब गाउँ । उनकै भाषामा भन्दा विगत साँच्चै कठिन थियो, अझ कहालीलाग्दै थियो । दुःखका पहाड उनको अगाडि रह्यो, त्योविरुद्ध संघर्ष गर्दै उनी खारिएकी हुन् । सानैमा उनको परिवारमा कलह भयो, बुबाले दोस्रो विवाह गरे । त्यसपछि त दुःखका दिन सुरु भइहाले । आमाले पनि दोस्रो विवाह गरिन् । आफ्नो जीवनमा नयाँ बुबाको प्रवेशपछि केही सजिलो हुन थालेको थियो । एउटा तथ्य निश्चित थियो, दुःखले उनलाई बलियो र निडर भने बनाएको थियो । 

A goal-scoring and goal-keeping fighter

‘बगानतिर चिया पनि टिपें, तर कम उमेरकै कारण त्यो पनि गर्न पाइनँ,’ उनी भन्छिन् । अरूलाई जस्तो एन्जिलालाई पनि सानैदेखि फुटबलप्रति भयानक लगाब थियो । पाँचथरबाट इलाम झरेपछि लगाबले एउटा आकार ग्रहण गर्‍यो । घरमा जत्ति गाली खानुपरे पनि फुटबल खेल्न भनेपछि उनी अघि बढिहाल्थिन् । 

धेरैलाई थाहा नहुन सक्छ, एक पटक भीरमा खसेको बल लिन जाँदा उनको हात भाँच्चिएको थियो । कम्तीमा पूर्वमा फुटबलको माहोल राम्रो छ, एन्जिलाका लागि अगाडि बढ्न ठ्याक्कै गाह्रो भने भएन । 

सुरुआती दिनमा उनी गोलरक्षक थिइनन् । एकपल्ट पाँचथरमा एउटा प्रतियोगिता हुँदा एन्जिलाको जिम्मेवारी फरवार्डको थियो, तर खेल्नुपर्‍यो गोलरक्षक भएर । भयो के भन्दा टिमकी गोलरक्षक अन्तिम क्षणसम्म पनि आइपुगिनन्, एन्जिला आफैंले पोस्ट सम्हाल्नुपर्ने भयो । त्यसपछि के भयो ? यो आफैंमा इतिहास भयो । ‘गोलरक्षक हुन कहाँ सजिलो छ र ? बल लागेको लाग्यै हुन्छ, पूरा शरीर दुख्छ,’ उनी कहिलेकाहीं अबोध भएर गुनासो पनि गर्छिन् । 

गोलरक्षकमै उनको प्रदर्शन राम्रो हुन थालेपछि काठमाडौं झरिन् र एपीएफसँग जोडिइन् । जागिर पनि भयो । यो सबैका लागि एपीएफकै प्रेम श्रेष्ठलाई जस दिनुपर्ने हुन्छ । सुरुसुरुमा एपीएफमा छँदा पनि सजिलो थिएन । पछि गोलरक्षककै रूपमा राम्रो गर्न थालिन् । उनले पहिलो पटक नेपालका लागि खेलको सन् २०१६ को दक्षिण एसियाली खेलकुदमा हो । लगातार पहिलो रोजाइको गोलरक्षकमा रहनु मात्रै होइन, उत्तिकै लामो समय राष्ट्रिय टिमको पनि नेतृत्व गर्न पाउनु उनको खेल जीवनको सार हो । 

...

अब पालो प्रीति राईको । साम्बा र एन्जिलाभन्दा अलि फरक नै छिन्, यी खेलाडी । प्रीतिलाई उदयमान खेलाडी भन्दा हुन्छ । उनका लागि साम्बा र एन्जिला दिदीहरू हुन् । यी दुई दिदीले नेपाली राष्ट्रिय टिमको कप्तानी सम्हालिसके । अब कुनै बेला पालो प्रीतिकै हुनेछ, नेतृत्व लिने । उनले १५ वर्षकै उमेरमा राष्ट्रिय टिमबाट डेब्यु गरेकी थिइन्, त्यसैले उनीसामु धेरै लामो खेल जीवन 

बाँकी छ । उनीसँग उमेर समूहको टिमको नेतृत्व सम्हालेको अनुभव पनि छ । त्यसैले उनी साँच्चै लामो रेसकी घोडा हुन् । 

प्रीतिको खेलको सबैभन्दा ठूलो विशेषता उनको छोटो कदमा लुकेको छ । यसको जति बेफाइदा छ, उत्तिकै फाइदा पनि छ । यही छोटो कदको शरीरका कारण प्रीति दर्शकको मन तान्ने खेल प्रदर्शन गर्न सक्षम छिन् । उनको जिम्मेवारी मध्यपंक्तिमा हो । यसै भूमिकामा उनी मीठा पासहरू निकाल्न सिपालु छिन्, त्यो पनि नापेर तौलेर । उनको पासमा निस्केका गोलहरू कहिलेकाहीं आफैंमा राम्रो त हुन्छ नै, तर त्यो गोलभन्दा उनकै पासको बढी चर्चा हुने स्थिति पनि बनेका छन् । 

A goal-scoring and goal-keeping fighter

त्यसो त उनको परिवारको कुल–घर सोलुखुम्बु हो, तर प्रीति जन्मिइन्–हुर्किइन् काठमाडौंमा । कपन उनको कर्मथलो । परिवार मध्यमवर्गीय । बुबा ज्ञानप्रसाद राई ट्रेकिङ क्षेत्रमा काम गर्छन् भने आमा ज्ञानमाया राई चिया पसल चलाउँछिन् । कपनकै शारदा एकेडेमीबाट एसएलसी दिएकी प्रीतिमा सानै उमेरदेखि फुटबलको प्रतिभा देखिएको थियो । सानै उमेरमा उनले फुटबल खेल्न थालेकी थिइन् । उनले पनि त्यो बेला आफूभन्दा ठूला दाइसँग फुटबल खेलेकी थिइन् । 

वर्ष ०७४ को कुरा हो, नेपाली यू–१४ टिम तयार पार्न खुल्ला आह्वान गरिएको थियो । प्रीति त्यसमा सहभागी भइन् र छनोट पनि । अरू सबै घटनामा जस्तै त्यसपछि के भयो ? त्यो इतिहास भयो । त्यसपछि साँच्चै उनले पछाडि फर्केर हेर्नुपरेको छैन । साउदी अरेबियामा भएको हाफ च्याम्पियनसिपमा उनको प्रदर्शन विशेषतः राम्रो रह्यो । उनकै लोभलाग्दो गोलको मद्दतले नेपाल प्रतियोगिताको फाइनलसम्म पुगेको थियो । लेबनानविरुद्धको त्यो गोलको प्रायः अहिले पनि चर्चा हुने गर्छ । 

नेपाली फुटबल समर्थकमाझ उनी असाध्यै लोकप्रिय पनि छिन् । इलाममा एउटा प्रतियोगिता खेल्ने क्रममा जसरी उनी र उनको खेल हेर्न दर्शक झुम्मिए, जसरी समर्थकले उनलाई घेरे र जसरी उनलाई सुरक्षा घेरामा हाल्नुपरेको थियो, यसले नेपाली महिला फुटबल साँच्चै कति धेरै लोकप्रिय छ, देखाउँछ । 

उनलाई सबैभन्दा बढी पिरोलेको सायद चोटले हो । उनी चोटहरूले ग्रस्त भइसकेकी छन् । उनी आफैं भने ती चोटहरूले अझ परिपक्व खेलाडी बन्न मद्दत गरेको मान्छिन् । उनको व्यक्तित्वको अर्को पाटो हो, पढाइमा अब्बल । फुटबल मात्र होइन, उनी पढाइलाई पनि उत्तिकै महत्त्व दिन्छिन् । भन्छिन्, ‘खेल र पढाइलाई जति सँगसँगै अगाडि बढाउन सकिन्छ, त्यत्ति राम्रो हुन्छ ।’ उनी नयाँ खेलाडीलाई एउटै सन्देश दिन चाहन्छिन्– फुटबलसँगै पढाइलाई अगाडि बढाउनुपर्छ । यही कारण उनी नेपाली राष्ट्रिय टिमकी एक बौद्धिक खेलाडी हुन् । उनीसँग एकछिन कुराकानी गर्नुपर्छ, यस्तै अनुभव हुन्छ । 

A goal-scoring and goal-keeping fighter

उनको भनाइ छ, ‘महिला विश्वकप खेल्ने हामी सबैको सपना हो । मेरो आफ्नै पनि । त्यसो त हामीले अहिलेसम्म साफ च्याम्पियनसिप पनि जित्न सकेका छैनौं । अहिलेसम्म कुनै ठूलै जित्न नसकेको नमीठो इतिहास पनि छ । त्यसैले धेरैलाई लाग्दो हो, यो अलि धेरै नै महत्त्वाकांक्षी कुरा भयो । तर, हामीले राम्रोसँग योजना बनाउने हो र त्यसलाई सही ढंगले कार्यान्वयन गर्ने हो भने त्यो असम्भव छैन । नेपाली महिला फुटबलका सम्भावनाहरू साँच्चै धेरै छन् । यत्ति बुझे पुग्छ ।’

हिमेश

Link copied successfully