के म चटक्कै बिर्सिइनेछु ?

मेरो प्रकाश निभ्नुको अर्थ यो होइन– म चटक्कै बिर्सिइनेछु । यत्ति हो, म नहुँदाको अँध्योरोपन अरू कसैले पूर्ण गरिदिनेछ । सबैसँग आ–आफ्नै प्रकाश हुन्छ, कसैको मधुरो, कसैको तेज । विडम्बना, उसलाई आफ्नो प्रकाशबारे थाहै हुँदैन । 

श्रावण ३, २०८२

अनिल केशरी शाह

Will I soon be forgotten?

What you should know

मलाई सधैं लाग्यो, मेरो जीवन कोठामा झुन्ड्याइएको एउटा बिजुली बत्तीजस्तै हो । हरेक साँझ बत्ती बाल्छु, सुत्नुअघि बन्द गर्छु । तर, हरेक पटक बत्तीको स्विच थिच्दा मलाई थाहा हुँदैन– त्यो नबल्न पनि सक्छ । कुनै दिन बत्ती बलेन भने म भन्छु, ए यो त जलेछ ! मेरो जिन्दगी पनि त्यस्तै त रह्यो ।

एक सामान्य दिन, कोठाको बत्ती फ्याट्ट जलेझैं म पनि अकस्मात् निभेर जाऊँला । मेरो जिन्दगीको बल्ब कहिले निभ्छ भन्ने कुरा कसैलाई थाहा छैन । हामी कसैलाई पनि हाम्रो बल्ब जल्ने मिति थाहा हुँदैन र यत्ति एउटा कुराले हामीलाई जिउन प्रेरित गर्ने रहेछ ।

जब हाम्रो कोठाको बल्ब जल्छ, चारै कुना अँध्यारो छाएकोमा हामी अलिकति चिन्तित हुन्छौं । तर, चिन्तै–चिन्ता गरेर बस्दैनौं, बल्ब फेर्छौं र कोठा फेरि उज्यालो बन्छ । मलाई राम्ररी थाहा थियो, मेरो जीवनको प्रकाश निभेपछि जिन्दगी, संसार वा ब्रह्माण्ड अँध्यारो हुने छैन ।

मेरो ठाउँमा अर्को बल्ब झुन्ड्याइन्छ र त्यसले आफ्नो ल्याकतको उज्यालो छरिहाल्छ । मेरो परिवार, इष्टमित्र र शुभचिन्तकलाई नयाँ बल्बको उज्यालोले अलि धेरै समय प्रकाशको आभास नदेला, तर त्यो प्रकाश धेरै समय धुमिल रहिरहन सक्दैन । नयाँ बल्बको उज्यालोमा मेरा आफ्नालाई पनि क्रमशः बानी पर्दै जानेछ । (पर्दै जाओस् भन्ने मेरो चाहना पनि हो ।) 

मानौं– आज म छैन । तर, मेरो प्रकाश निभ्नुको अर्थ यो होइन कि म चटैक्कै बिर्सिइनेछु । यत्ति हो, म नहुँदाको अँध्यारोपन अरू कसैले पूर्ण गरिदिनेछन् । सबै मानिससँग आ–आफ्नै प्रकाश हुन्छ, कसैको मधुरो होला, कसैको तेज । विडम्बना, सबैलाई आफ्नो प्रकाशबारे थाहा हुँदैन । मानिसहरू आफैंसँग प्रकाश हुन्छ तर, अरूसँग उज्यालो मागिरहेका हुन्छन् ।

मसँग पनि कत्तिले ‘दाइ, अँध्यारो भयो बत्ती बाल्दिनुस्, अँध्यारोबाट बचाइदिनुस्’ भने । मैले आफूसँग भएको प्रकाश बाँड्न सकेसम्म कन्जुस्याइँ गरिनँ । केचाहिँ ख्याल गरें भनें, मानिसहरू अक्सर आफ्नो प्रकाश लुकाउँदा रहेछन्, मानौं बाँड्यो भने घट्छ π 

तर, आफूसँग भएको प्रकाश बाँडिएन भनेचाहिँ क्रमशः त्यो खेर जाने रहेछ, बिजुलीजस्तै । यसै पनि एक दिन, हामी सबै निभेरै जाने हौं । त्यसपछि हामी अन्धकारमा हुन्छौं ।

आफूसँग प्रकाश छउन्जेल, लोभिएर कसैलाई नबाँड्दा, आफ्नो प्रकाश निभेपछि अन्धकार मात्र बाँकी रहनेछ किनभने त्यसरी लोभ गर्नेलाई अरूले पनि प्रकाश दिँदैनन् । तर, जीवित छँदा प्रकाश बाँडेको छ भने देहावसानपछि पनि अरूको प्रकाशले आफूलाई उज्यालो दिने रहेछ । मलाई आज यस्तो लाग्छ, म त्यस्तो मान्छे थिएँ, जसले आफ्नो पेसा होस् वा व्यक्तिगत जीवनमा, आफूले सिकेका कुरा, आफूसँग भएको प्रकाश अरूलाई सेयर गर्न गरिरह्यो । यसमा मलाई सन्तोष छ । 

म नहुँदा पनि मैले आफ्नो प्रकाश बाँडेका बत्तीहरू बलिरहनेछन् । मान्छेहरूले ‘त्यो अनिल शाह भन्नेले धेरैलाई मैनबत्ती बालिदिएर उज्यालो दिएको छ’ भनेको म सुनिरहेको छु । त्यस कारण, म आफूलाई जीवित मानिसका रूपमा सम्झिँदा बलिरहेको मैनबत्तीजस्तो देख्छु, यस्तो मैन, जुन अरूका बत्ती बाल्न पनि उपयोगी भयो ।

मजस्तै बैंकर, मभन्दा धनी मानिस, अझै धेरै ज्ञान एवं विज्ञता भएका र मेरोभन्दा ठूलो प्रकाश भएका प्रशस्तै मानिस समाजमा थिए । तर हेर्नुस् त, आज मेरो आलेख छापिएको छ, अवकासपछि पनि मेरो खोजीनीति भएको छ, मेरा कुरा सुनिएका छन् । अरूका लागि बत्ती बालेकै कारण यो नाम, इज्जत र ब्रान्ड बनेको हो ।

केही दिनअघि मात्रै एक जना भाइ मलाई भेट्न आए । उनलाई सन् २०१९ मा याक एन्ड यती होटलको एउटा उद्यमशीलता सम्मेलनमा चिनेको थिएँ । त्यो बेला विद्यार्थी थिए, अहिले दुबईमा सुनको व्यापार गर्दा रहेछन् । उनले मलाई भेट्नुको एक मात्र कारण मलाई ‘धन्यवाद दाइ’ भन्नु रहेछ ।

‘तपाईंका शब्दहरूले मेरो दिमागमा बत्ती बालिदिएको थियो, म पनि गर्न सक्छु भन्ने आँट आयो र आज यहाँसम्म आइपुगेको छु, गर्न बाँकी त धेरै छ’ भने । उहाँका कुरा सुनेपछि मलाई लाग्यो– करोडौं रुपैयाँ कमाउनुभन्दा बढी समृद्धि यसमा पाएँ ।

प्रकाश छर्न चाहने, सिकेको कुरा सिकाउने मेरो जन्मजात बानी थिएन । सन् १९८३/८४ तिर अमेरिका पढ्न जाँदासम्म मृदुभाषी थिएँ । त्यहाँका प्रोफेसरहरूले यसरी मौन बस्यौ भने तिमी दीक्षित हुँदैनौ, तिम्रो कम्युनिकेसन स्किल बढाउनुपर्छ भने । त्यसपछि मैले बोल्ने प्रयास गर्न थालें । नेपाल फर्किएर इसिमोडमा आबद्ध भएपछि मैले आफ्नो सीमित सर्कलमा नलजाईकन कुरा राख्न थालें ।

तत्कालीन ग्रिनलेज बैंकमा १३ वर्ष काम गरुन्जेल मलाई कसैले चिन्दैन थियो तर त्यस बैंकले मलाई बैंकिङ सिकायो । नबिल बैंकले ३८ वर्षको उमेरमै मलाई सीईओ नियुक्त गर्‍यो र हामीले यसलाई नम्बर वान बैंक बनाउन जुन मिहिनेत गर्‍यौं, त्यसले मलाई सार्वजनिक पहिचान दिलायो । त्यसपछि मात्रै हो, मेरो प्रकाश चम्किलो भएको ।

बैंकिङ करिअर छोडेपछि मलाई कतिपयले ‘अब तपाईं बिलाउनुहुन्छ’ भने । नबिलाऊँ भनेर त होइन तर आफ्नो सीप र अनुभव बाँडौं भनेर मैले ‘लिड नेपाल इंक’ स्थापना गरें । यसको उद्देश्य भनेकै नेतृत्व विकास थियो । मलाई लाग्यो, नेपालमा एउटै चिजको अभाव छ– नेतृत्व क्षमता ।

नेपाली युवाले मलेसिया, कतारमा पसिना बगाउन सक्छन्, अस्ट्रेलिया र अमेरिकामा बौद्धिक क्षमता देखाउन सक्छन् तर त्यही परिश्रम र बौद्धिक क्षमता नेपालमा खन्याउन पाएका छैनन् । यसको कारण नेतृत्व क्षमता कमजोर भएर हो । राजनीति मात्रै होइन, हरेक क्षेत्रमा नेतृत्व कौशलको अभाव छ । मैले बैंकिङ करिअरमा नेतृत्व क्षमता सिकेको थिएँ, यो सीप अरूलाई बाँडेन भने पापै लाग्छ भनेर यतातिर लागें । 

नेतृत्व विकासको यात्रामा लागेपछि मेरा प्रशंसक बैंकिङ क्षेत्रमा मात्र सीमित नभएर झनै फराकिलो बन्यो । लोमाङथाङ जाँदासमेत भाइ–बहिनीहरू मलाई चिनेर सेल्फी खिच्न आए । केही दिनअघि एक जना राजदूतको घरको पार्टी थियो, खाना सर्भ गर्ने दाजु–भाइहरू मलाई चिनेर बोल्न आउनुभयो । मेरो विरादरीको मान्छेले त मलाई चिनिहाल्थे, अन्यले पनि मलाई चिनेकोमा गर्व लाग्यो । नेतृत्व क्षमताकै कारण हाम्रा छिमेकी देश गरिबीबाट माथि उठेर विश्वका ठूला अर्थतन्त्र बन्ने होडमा छन् । साढे १ अर्बभन्दा धेरै जनसंख्या भएको देशमा त कुशल नेतृत्वले फरक पार्न सक्छ भने हाम्रोमा परिवर्तन ल्याउन समस्यै छैन । 

विकसित देशमा एक–अर्काका लागि र समाजका लागि बत्ती बाल्ने मानिसहरू धेरै हुन्छन् । हाम्रोमा चाहिँ आफूले जानेको चिज अरूलाई सुनायो भने ‘उसले मेरो कुर्सी खाइदेला’ भन्ने डर देखिन्छ । मैले करिअर सुरु गर्दाका दिनमा पनि ‘अरूलाई सिकायो भने मभन्दा राम्रो गर्देला’ भन्ने पीर मानिसमा थियो, अहिले पनि छ । यो सोच कमजोर आत्मविश्वासको मानक हो । मलाई मेरो बलियो पक्ष नै मेरो आत्मविश्वास हो भन्ने लाग्छ । म ‘मेरो मैनबत्ती कहिल्यै निभ्दैन’ भन्नेमा सधैं ढुक्क थिएँ । जिन्दगीमा एकथोक नभए अर्को थोक सिक्न वा गर्न सक्छु भन्नेमा आफूप्रति पूर्ण विश्वास रह्यो । 

मैले जीवनमा खुसी रहन प्रत्येक जन्मदिनमा अपडेट गर्नुपर्ने ‘ह्याप्पनेस फर्मुला’ बनाएको थिएँ । त्यसमा ५ वटा तत्त्व थिए– परिवार एवं साथीभाइ, पैसा, स्वस्थ्य, पावर स्टाटस र समाजसेवा । यी पाँच चिजमा हरेक मान्छेका फरक–फरक प्राथमिकता हुन्छन् । जन्मदिनका दिन म यी पाँच चिज कपीमा लेखेर १०० पूर्णाङ्कमध्ये जुन तत्त्वलाई जति अंक दिने हो, त्यति हाल्दै जान्थें ।

युवा छँदा पैसाले खुसी बनाउँथ्यो, त्यसलाई ६० अंक दिन्थें । बाँकी चारवटालाई ४० अंक बाँकी रहन्थ्यो । परिवार र साथीभाइसँग समय बिताउँदा बढी खुसी हुन्छु भन्ने लाग्दा त्यसमा ५० अंक हाल्थें । यसरी आफ्नो चाहना, उद्देश्य र लक्ष्य पहिल्याउन मलाई सहज भयो । जिन्दगीको यात्रामा जेले खुसी बनाउँछ, त्यो थाहा नपाई दौडेको दौड्यै गरेमा भित्रभित्रै खोक्रो भइन्छ ।

खुसीको फर्मुला बोकेर हिँड्दा पनि ममा अधुरा चाहना भने सधैं बाँकी रहिरहे । चाहनाहरू पूरा भइदिएको भए, उहिल्यै खरानी धसेर पशुपतितिर बरालिन्थें । चाहनाहरू अपूरा भइदिनाले म ‘सकारात्मक रूपमा अशान्त’ रहें । आफ्ना लागि, समाजका लागि, देशका लागि, परिवारका लागि केही गर्न बाँकी छ भन्ने हुटहुटी मनमा रहिरह्यो । हरेक सफलतामा उत्सव मनाएँ तर फेरि अर्को सफलताको चाहना भइरह्यो । क्याम्पसमा छँदा जति धेरै अधुरा चाहना थिए, बैंकर हुँदा र त्यसपछिको करिअरमा पनि त्यत्तिकै धेरै चाहना अधुरै रहे । अहिले पनि परिवारसँग घुम्ने, छोरी आर्याको बिहेमा नाच्ने, युवाहरूलाई कुशल नेता बनाउने चाहनाहरू मनमा फनफनी घुमिरहेका छन् ।

अघि मैले पशुपतिमा भौंतारिने कुरा गरें, यसो सम्झन्छु, म र मेरो भाइलाई कुलतमा फसेर बिग्रँदासमेत अपजस नआउने माहोलमा हामी हुर्किएका थियौं । मेरो बुबा डा. नारायणकेशरी शाह विश्व स्वास्थ संगठनका लागि दिल्लीमा काम गर्नुहुन्थ्यो, मुमा बिन्दाश्वेरी शाह राजदूत भएर बंगलादेश जानुभएको थियो ।

जिन्दगीभर उहाँहरू सँगै कहिल्यै हुनु भएन, कामले गर्दा । भाइ र मैले ९ वटा स्कुल फेर्‍यौं, त्यस्तो अस्थिरता थियो । त्यसकारण, ड्रग वा मदिरामा लठ्ठिएर हामी दुई कुनै कुनामा ढलेको भए मान्छे भन्थे होलान्, ‘बाउ–आमा करिअर मात्रै हेर्ने, छोराहरू निकम्मा नभए के हुन्थे π’ हामीलाई बिग्रिन कत्रो ठूलो छुट थियो । तर, म र मेरो भाइले सानैमा के निर्क्योल गर्‍यौं भने, यो अस्थिरता नै हाम्रो स्थिरता हो ।

दुई/तीन वर्षमा नयाँ ठाउँ, नयाँ खाना, नयाँ साथीभाइ बनाउने अवसर जो कसैलाई कहाँ मिल्छ π यसरी हामीले अस्थिरतालाई सकारात्मक रूपमा लियौं । त्यो स्वीकार्यताले मलाई जीवनभर कुनै पनि ‘परिवर्तन’ सँग सजिलै भिज्न सिकायो । मेरो जग नै ‘परिवर्तन’ मा भयो । न्युयोर्कमा फाइन डाइन गर्नेदेखि भीरकोटमा ढिँडो खाँदासमेत मलाई फरक परेन, दुवै स्वीकार्य भए ।

यसका लागि म मेरा अभिभावकलाई श्रेय दिन्छु । उहाँहरूले कहिल्यै आफ्नो पेसा छोड्नु भएन । मुमाका कारण मलाई सबै महिलाहरू अफिस जान्छन् भन्ने लाग्थ्यो । धेरै पछि पो थाहा भयो, ९५ प्रतिशत आमाहरू घरै बस्दा रहेछन् । मुमाले नै गर्दा मलाई महिला र पुरुषको कार्यक्षमता फरक हुन्छ भन्ने सोचै कहिल्यै आएन । मैले सधैं महिलाका पक्षमा बोलें ।

मेरो मुमा भान्साको काम गरिबक्सिँदैन थियो । तर, आज मेरी छोरीले पकाएको देख्दा दंग पर्छु । मुमा भइबक्सेको भए, उहाँ पनि दंग परिबक्सिन्थ्यो होला । मेरी श्रीमती रति राज्यलक्ष्मी, मभन्दा धेरै जान्ने–बुझ्ने, मोर्डन महिला छिन् । दिल्ली विश्वविद्यालयमा टप फोरमा आएको मान्छे त्रिभुवन विश्वविद्यालयको राजनीतिशास्त्रमा अहिलेसम्म सबैभन्दा धेरै अंक ल्याएर उत्तीर्ण गरेकी छन् । उनले घरै बस्ने रोजिन् । उनले गर्दा मैले जिन्दगीमा करिअरबाहेक अर्थोकको चिन्ता लिनु परेन । मैले लगाउने लुगादेखि घरको सम्पूर्ण व्यवस्थापन रतिले सम्हाइदिइन् । 

मैले पहिलो पटक बैंकमा जागिर खाँदा ३ हजार ५ सय रुपैयाँ तलब थियो । हाम्रो बिहे हुँदा तलब २८ हजार रुपैयाँ भयो । अवकास लिने बेला लाखौँ रुपैयाँ कमाएँ । यो पैसा भनेको चाहिँ जतिले पनि नपुग्ने रहेछ । घर चलाउने जिम्मा रतिले सम्हालेको हुँदा मलाई पैसा म्यानेज गर्ने चिन्ता कहिल्यै भएन ।

रमाइलोचाहिँ, मानिसहरू मलाई भन्थे, ‘अनिलजी, धन उत्पादन कसरी गर्ने हो, हामीलाई पनि सिकाइदिनुस् ।’ जो मानिस जिन्दगीभर हजुरबाले बनाएको घरमा बसेको छ र मोटरको ऋण तिरिरहेको छ, उसले धन कमाउने तरिका कसरी सिकाउने π म भन्छु– त्यो मान्छेसँग धन कमाउने तरिका सिक्नुस्, जो गाउँमा जन्मिएर सरकारी स्कुल पढेर, काठमाडौं आई परिश्रम गरेर तीनवटा घर बनाएको छ, विदेशमा फ्ल्याट छ र दुइटा रेन्ज रोभर छन्, ऊसँग सिक्नुस् ।

मेरा ठुल्ठूला ग्राहकको निधन हुँदा म कयौंचोटि घाटमा गएको छु । चिता जलिरहेको छ, मलामीहरू भनिरहेका छन्– धर्तीको बोझ, ट्याक्स चोर मरेर गयो, राम्रै भयो । लास बनी रेन्ज रोभरमा आएको छ, शरीर भष्म भइसकेको छैन, मानिस त्यसो भन्छन् । पैसा कमाइहाल्यो, जसले जेसुकै भनोस् भन्ने लाग्छ भने ठीकै छ । तर, मलाई चाहिँ कमसेकम ‘सराकात्मक सोच दिने व्यक्ति थियो’ भनून् भन्ने चाहना छ । 

मैले अकस्मात्का मृत्यु देखेको छु । मेरो बुबा ७५ वर्षको उमेरमा हृदयाघातले बित्नुभयो, ४२ वर्षको उमेरमा मेरो भाइ उज्ज्वल शाहलाई हृदयाघात भयो । मुमाचाहिँ लामो समय बिरामी पर्नुभयो । मैले गुरु मान्ने मेरो कजन दाइ अनुप राणाको पनि हृदयाघातले निधन भयो । आफ्ना मान्छे गुमाएपछि मैले जीवनलाई हल्का रूपमा लिन छोडें । तथापि, मृत्युसँग नडराई, परिवारप्रति समर्पित, युवालाई प्रोत्साहन र देशलाई माया गर्ने मानिस भएर मैले आफ्नो जीवन बाँचे ।

अनिल केशरी शाह

Link copied successfully