दुःख नगरी खान पुग्ने अवस्था थिएन । चितवन सरेपछि मैले भैंसी चराउँदै, साँझ–बिहान बाआमालाई खेतीपातीमा सघाउँदै दुई वर्ष बिताएँ । बल्ल २०२१ मा स्कुलमा भर्ना हुन पाएँ ।
What you should know
मान्छेको मृत्यु दुई प्रकारको हुन्छ– प्वाँखभन्दा हलुका र पहाडभन्दा ओजिलो । महान् उद्देश्य लिनेहरूको मृत्यु पहाडभन्दा ओजिलो हुन्छ । १० वर्षे जनयुद्धका क्रममा महान् उद्देश्यका लागि जो–जो सहिद भए, उनीहरूले ओजिलो मृत्युवरण गरे । मलाई सबैभन्दा बढी प्रभाव पार्ने तिनै सहिद हुन् ।
जनयुद्ध सुरु भएको एक वर्षपछि म रोल्पा, रुकुम र जाजरकोटको भ्रमणमा गएको प्रसंग सम्झन्छु । रामबहादुर थापामाथि भर्खरै अनुशासनको कारबाही भएको थियो । म असाध्यै उद्वेलित भएको थिएँ । त्यही सेरोफेरोमा प्रहरी चौकीमा कारबाही गर्न जाँदा रुकुमका विजय घले सहिद भएका थिए । उनका बाआमासँग भेट हुँदा म अत्यन्तै भावुक हुन पुगें । जनयुद्धमा मोर्चा जित्दा हाँस्ने, हार्दा र योद्धा सहिद हुँदा रुने गर्थ्यौं । हाँस्दाहाँस्दै रुने र रुँदारुँदै हाँस्ने अवस्था आउँथ्यो । जनयुद्धका क्रममा हजारौं योद्धाले मृत्युवरण गरे ।
जनयुद्ध सुरु गर्नुअघि नै रामवृक्ष यादवको हत्या भएको थियो । उहाँ असाध्यै मिल्ने साथी हुनुहुन्थ्यो । गोरखाका सहिद सुरेश वाग्ले, पहिलो सहिद दिलबहादुर रम्तेलप्रति सम्मान छ । मलाई असाध्यै माया र सम्मान गर्ने कोही योद्धा सहिद भए, कोही बेपत्ता छन् । जो देश र जनताका लागि सहिद भए, उनीहरू मरेर गए पनि सधैं जीवित रहन्छन् ।
सक्रिय राजतन्त्र या राजतन्त्रकालमा नेपालमा गरिब किसान, महिला, दलित, मधेशी, आदिवासी जनजाति, थारू, मुस्लिमलगायत शोषित वर्गमाथि अन्याय, दमन र अत्याचार थियो । त्यसविरुद्ध विद्रोह गर्नुको विकल्प थिएन । जनताले एकचोटि आफ्नो ताकत नदेखाई निरंकुशताको अन्त्य छैन भन्ने निष्कर्षमा पुगेपछि मैले पार्टी प्रमुख नेताको हैसियतले जोखिम उठाएको थिएँ । साहसिक निर्णय नगरी समाज रूपान्तरण गर्न सकिँदैन, विद्रोह नगरी शोषित, पीडित सबैलाई न्याय दिन सकिँदैन भनेर जनयुद्ध सुरु गरेको हो ।
...
२०५१ मा जनयुद्धको तयारी हुँदै थियो । चितवनको माडीमा भएको महाधिवेशनबाट म नेकपा एकता केन्द्रको महासचिव भएँ । त्यसपछि हामी छोराछोरीसहित नारायणघाट र त्यसपछि काठमाडौं सर्यौं । मलाई श्रीमती सीताको सधैं साथ भइरह्यो– पारिवारिक रूपमा मात्र होइन, राजनीतिक क्षेत्रमा अघि बढ्न पनि । हामी काठमाडौं सरेपछि मेरी ठूली छोरी ज्ञानु, सानी छोरी गंगा पाटनको सरकारी स्कुलमा पढ्न थाले । एसएलसीसम्म त्यहाँ पढे । जनयुद्ध सुरु भएपछि उनीहरूको पढाइ अघि बढ्न सकेन ।
श्रीमती सीतामा सैद्धान्तिक ज्ञान धेरै नभए पनि क्रान्ति गर्नुपर्छ भन्ने दृढता मनैदेखि थियो । अर्को कुरा, मप्रति उनको भरोसा यति थियो कि शब्दमा व्यक्त गर्न सकिन्न । ‘मेरा श्रीमान्ले नेपालको परिवर्तनमा प्रमुख भूमिका खेल्छन्’ भन्ने लाग्थ्यो उनलाई । त्यसैले कैयौं संकटमा सीता भन्थिन्, ‘तपाईंमा समाधान निकाल्ने क्षमता छ । कहिल्यै हार नखानुहोस् । परिवार, समाज र जनता साथमा छन् ।’ अहिले उनी छैनन् (सीताको असार २०८० मा निधन भएको थियो) तर उनको भरोसा कता–कता मनमा आइरहन्छ । दुःख–सुखमा साथ दिन उनी कहिल्यै पछि हटिनन् ।
सीतामा धीरता र निष्ठा बलियो थियो । जनयुद्ध सुरु भएपछि मेरी माइली छोरी रेणु मामाकहाँ बसेर पढ्दै थिइन् । पछि गंगा र रेणुको विवाह लखनउको एउटा होटलमा एकै पटक भयो । छोरा प्रकाशले सुरुमा काठमाडौंमा पढेको थियो । पछि रेणुका ससुरा टीबी पाठकको दिल्लीस्थित निवासमा बस्यो । प्रकाशले पढ्नभन्दा युद्धतिर रुचि राख्न थाल्यो र पछि जनयुद्धमा सहभागी पनि भयो । मंसिर २०७४ को चुनावको मुखमा प्रकाश पनि गयो ।
म कास्कीको ढिकुरपोखरीमा निम्न वर्गीय किसान परिवारमा जन्मिएँ । सात वर्षसम्म बाख्रा चराउँथें । घर फर्किंदा दाउराको बिटो ल्याउँथें । मामाहरूले मलाई घरमै अक्षर चिनाउनुभयो । खरिपाटीमा लेख्न सिकें ।
हामी २०१९ साल चितवनमा बसाइँ सर्यौं । पैत्रिक सम्पत्तिका रूपमा कास्कीबाट ल्याएको एक हजार दुई सय रुपैयाँ मात्र थियो । हाम्रो बुबा र ठूलो बुबा (हाल राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालको बुबा) को घर नजिकै थियो । ठूलो बुबा हामीभन्दा अलि पैसा भएको हुनुहुन्थ्यो ।
उहाँलाई भाइ (हाम्रो परिवार) लाई पनि सँगै राख्नुपर्छ भन्ने भएछ । उहाँले हाम्रो बुबालाई हजार हो कि १५ सय सापटी दिएपछि साढे दुई बिघा जग्गा किन्यौं । ठूलो बुबाले पनि त्यति नै जग्गा किन्नुभएको थियो । त्यस बेला चितवनमा एक हजार रुपैयाँमा एक बिघा जग्गा आउँथ्यो । हामी शिवनगरको भीमसेननगर भन्ने टोलमा बस्यौं । अहिले पनि हाम्रो बसाइ त्यहीँ हो । त्यसबेला दुःख नगरी खान पुग्ने अवस्था थिएन । चितवन सरेपछि मैले भैंसी चराउँदै, साँझ–बिहान बाआमालाई खेतीपातीमा सघाउँदै दुई वर्ष बिताएँ । बल्ल २०२१ मा स्कुलमा भर्ना हुन पाएँ ।
स्कुलमा गाउँकै शिक्षक हुनुहुन्थ्यो । स्कुल गएको दिन मलाई ‘हाम्रो साहित्य’ भन्ने किताब पढ्न लगाइएको थियो । मैले त्यो किताब खरर पढें । हेडमास्टर बोधराज भण्डारी खुसी हुनुभयो । एकैचोटि ३ कक्षामा भर्ना गरिदिनुभयो । मलाई लेख्न भने त्यति आउँदैनथ्यो । म पुसमा भर्ना भएको थिएँ, जेठमा अर्धवार्षिक परीक्षा हुन्थ्यो । १ र २ कक्षा नपढी एकैचोटि ३ कक्षामा भर्ना भएको हुनाले मलाई प्रश्न–उत्तरको मेलोमेसो भएन । नेपालीको दिन प्रश्नपत्र टोपीमा लुकाएर लुसुक्क स्कुलबाट भागेको थिएँ ।
त्यस बेला सबै अभिभावकलाई बोलाएर रिजल्ट सुनाउने चलन थियो । रिजल्ट आउने दिन हाम्रो बा पनि स्कुल जानुभएको थियो । परीक्षाफल सुनाउने क्रममा शिक्षकले छविलाल दाहाल भनेर नाम लिएपछि बाले मेरो मुखतिर हेर्नुभयो । शिक्षकले ‘फेल’ भनेपछि बाको अनुहार मलिन भयो । मलाई पीर पर्यो र रुँदैरुँदै घर आएँ । त्यसपछि मैले पढाइमा अलि ध्यान दिन थालें । नियमित स्कुल जान थालें । मंसिरको अन्तिम परीक्षामा पास भएँ । ४ कक्षामा दोस्रो हो कि तेस्रो भएको थिएँ । ५ कक्षामा दोस्रो भएँ । कक्षा फड्काएर मलाई ७ कक्षामा भर्ना गरिदिए । मैले १० कक्षासम्म नारायणी विद्या मन्दिर शिवनगरमा पढें ।
१० कक्षामा पढ्दै गर्दा मैले चीनमा कम्युनिस्टको शासन छ रे भन्ने थाहा पाएँ । गाउँका शिक्षक चन्द्रराज भुर्तेल कम्युनिस्ट हुनुहुँदो रहेछ । उहाँ ‘चीनमा कम्युनिस्ट व्यवस्था राम्रो छ, हामी पनि हुनुपर्छ’ भन्नुहुन्थ्यो । त्यसको अलिअलि प्रभाव ममा पर्यो । उहाँको भाइ पुष्पलाल र म एउटै कक्षामा पढ्थ्यौं ।
त्यसबेला ‘सचित्र चीन’ भन्ने पत्रिका स्कुल–स्कुलमा जान्थ्यो । माओको रातो किताब पनि गाउँ–गाउँ पुग्थ्यो । पुष्पलालले दिएको सचित्र चीन पत्रिकामै मैले पहिलो पटक माओको ठूलो फोटो देखें । माओ कस्तो क्षमताका होलान् भन्ने जिज्ञासा लाग्थ्यो । पछि नेपालमा कम्युनिस्ट आन्दोलन अघि बढाउँदै जाँदा माओकै नाममा पार्टी बनाएर दस वर्ष जनयुद्ध गरियो । माओकै प्रेरणाले नेपालमा यति ठूलो क्रान्ति र परिवर्तन गर्न सकियो । त्यसकारण ममा माओको अमिट छाप छ ।
शिवनगरमा नहरमाथि कांग्रेसको प्रभाव थियो भने हामी बसेको गाउँ नहरमुनि कम्युनिस्टको । म कहिलेकाहीँ सोच्छु, नहरमाथि घर भएको भए कांग्रेस हुन्थें कि कम्युनिस्ट ? कम्युनिस्ट बस्तीमा घर भएकाले मेरो झुकाव स्वतः कम्युनिस्टतिर भयो ।
मैले एसएलसी दिँदा बा घरमा हुनुहुन्थेन । अढाई बिघा जग्गाको उत्पादनले हामीलाई खाना पुर्याउन मुस्किल पर्थ्यो । परिवार ठूलो थियो । कास्कीबाट चितवन आउँदा पाँच सन्तान थियौं, चितवन आइसकेपछि तीन सन्तान जन्मिए । वर्षभरि खाना राम्रोसँग पुग्दैनथ्यो । २०२६ सालतिर बर्दियामा जग्गा खुलेको छ भनेर त्यता जानुभएको थियो मैले एसएलसी दिने बेला । म एसएलसीमा राम्रो गरी पास भएँ ।
म १० कक्षाको अर्धवार्षिकमा प्रथम भएँ । राम्रो विद्यार्थीले विज्ञान पढ्नुपर्छ भनिन्थ्यो । विज्ञान पढाउन सक्ने अवस्था घरको थिएन । बुबा एसएलसीपछि पढाउन सकिँदैन भन्नुहुन्थ्यो । आमा भने जसरी पनि पढाउनुपर्छ भन्नुहुन्थ्यो । २०२६ मा एसएलसी पास गरेपछि मलाई आईएस्सी पढाउन आमाले नातागोतासँग पैसा खोजेर तीन सय बनाउनु भएछ । म त्यही तीन सय रुपैयाँ लिएर काठमाडौं आएँ । अमृत साइन्स, त्रिचन्द्र क्याम्पसमा भर्ना बन्द भइसकेको थियो । पाटनमा भर्ना भएँ । आईएस्सी भर्ना हुन मेरो स्कुलका शिक्षक चन्द्रराज भुर्तेलले सहयोग गर्नुभयो ।
आईएस्सी पहिलो वर्षको परीक्षा दिएर घर गएका बेला थाहा भयो, छिमेकी धनबहादुर विश्वकर्मा कम्युनिस्ट हुनुहुँदो रहेछ । पहिले थाहा थिएन । उहाँले मलाई नेता भेट्नुपर्छ भनेर राति लुकाउँदै लिएर जानुभयो । उहाँले पूर्णलाल विश्वकर्माको घर पुर्याउनुभयो । त्यहाँ कम्युनिस्ट नेता रूपलाल विश्वकर्मा बस्नुभएको रहेछ । मलाई एक रुपैयाँ लिएर सदस्यता दिन ठिक्क पार्ने रणेन्द्र बराइली हुनुहुन्थ्यो । उहाँले नै निवेदन लेखिदिनुभयो । एक रुपैयाँ शुल्क लिएर मलाई रूपलालले कम्युनिस्ट पार्टीको सदस्य बनाउनुभयो । म २०२८ सालमा पार्टी सदस्य भएँ ।
त्यसबेला नेपालमा कति कम्युनिस्ट पार्टी छन् भन्ने थाहा थिएन । कम्युनिस्ट भनेको पुष्पलाल श्रेष्ठ, कांग्रेस भनेको बीपी कोइराला भन्नेचाहिँ मोटो रूपमा थाहा थियो । कम्युनिस्टभित्र पनि धेरै पार्टी छन् भन्ने ज्ञान थिएन । पार्टी सदस्य भएपछि बिस्तारै थाहा हुँदै गयो । रूपलाल पुष्पलाल समूहमा भएको हुनाले म त्यसकै सदस्य भएको रहेछु । म सदस्य भएको केही समयपछि पुष्पलाल समूहबाट रोहित (नारायणमान बिजुक्छे) र रूपलाल निस्किए । म पनि रूपलाल समूहको सदस्य भएँ ।
मेरो नजिकका चन्द्रलाल र पुष्पलाल भुर्तेलचाहिँ चौथो महाधिवेशन (मोहनविक्रम, निर्मल लामा) नजिक रहेछन् । म कुन कम्युनिस्ट सही हो भनेर सोच्न थालें । म, पुष्पलाल भुर्तेल, रामबहादुर थापा (बादल), खेम भण्डारी र मित्रराज दवाडीले नारायणी नदीको तीरमा गएर बैठक गर्यौं । कुनचाहिँ कम्युनिस्ट ठीक भनेर ‘अध्ययन मण्डल’ बनायौं ।
त्यसपछि चितवनको दिव्यनगरका अमिक शेरचनसँग हाम्रो भेट भयो । मित्रराज दवाडीमार्फत उहाँसँग भेट भएको हो । त्यो भेटमा म शेरचनबाट प्रभावित भएँ । क्रान्ति गर्नुपर्छ भनेर लागेका । घरमा बन्दुक पनि राखेका । म २०३२ साल अन्त्यतिर चौथो महाधिवेशनको सदस्य भएँ ।
बीएस्सी कृषि पूरा गरेपछि म पढाउन गोरखाको आरुघाट गएँ । लु सुनका साहित्य, मार्क्स, लेनिन, माओका किताब, नेपालका दस्ताबेज पढ्थें । सबै पढेर पचाउनुपर्छ भन्ने लाग्थ्यो । २०३४ सालसम्म आइपुग्दा म कम्युनिस्ट क्रान्तिबारे धेरै जान्ने भइसकेको थिएँ ।
मैले आरुघाट स्कुलमा पढाउँदा जनसम्पर्क बढाउन थालेको थिएँ । दिउँसो स्कुलमा पढाउने, बेलुका प्रौढ शिक्षा पढाउने, किसानलाई कम्पोस्ट मल बनाउन सिकाउने काम गरें । त्यस बेला म स्कुलको सबैभन्दा राम्रो शिक्षकका रूपमा गनिइसकेको थिएँ । म विज्ञान, गणित र अंग्रेजी पढाउँथें ।
मैले एक वर्ष पढाएपछि आठ विद्यार्थीले प्रथम श्रेणीमा एसएलसी गरे, अरू पनि धेरै पास भए । आरुघाटको हेडमास्टर रामकुमार श्रेष्ठ हुनुहुन्थ्यो । उहाँ पछि खिलराज रेग्मी नेतृत्वको मन्त्रिपरिषद्मा मन्त्री हुनुभयो । मैले नै उहाँलाई मन्त्री बनाएको हुँ । म पार्टीका दस्ताबेज स्कुलको दराजमा राख्थें, स्कुल सकिएपछि हामी शिक्षकहरू अध्ययन गर्थ्यौं ।
म आरुघाटमा भुवन र गणेश श्रेष्ठको घरमा डेरा बसेको थिएँ । गणेश श्रेष्ठ पनि आरुघाट स्कुलमा पढाउनुहुन्थ्यो । भुवन स्वास्थ्य क्षेत्रमा काम गर्नुहुन्थ्यो । त्यो परिवारको मलाई जबर्जस्त प्रभाव परेको छ । म पछि माथिको गाउँ आरुटारमा डेरा सरें ।
साढे दुई वर्ष पढाइसकेपछि मलाई पार्टीमा ‘होलटाइमर’ हुनुपर्छ भन्ने लाग्यो । मलाई ‘होलटाइमर’ हुन खम्बसिंह कुँवरले प्रेरित गर्नुभयो । उहाँ परार साल बित्नुभयो । खवास थरका एक नेता पनि हुनुहुन्थ्यो । मेरा सहकर्मी शिक्षकमा वासुदेव, योगबहादुर लामिछाने, ईश्वरी खनाललगायत हुनुहुन्थ्यो । सँगै खाने, बस्ने हुनाले उहाँहरूको सम्बन्धले मलाई अघि बढ्न सहज भयो ।
म बेहिसाब सक्रिय थिएँ राजनीतिमा । आरुघाटबाट पालुङटार राति हिँडेर कमिटी बनाइन्थ्यो । भर्खर जागिर खाएर कमाउन थालेको छोरा होलटाइमर राजनीतिमा लाग्यो भने अप्ठ्यारो पर्छ कि भनेर बाआमालाई चिन्ता थियो । कृषि विकास बैंकको मेनेजर हुनुपर्छ भनेर मलाई सल्लाह दिइन्थ्यो । मेरो भने राजनीतिमा हामफाल्ने मन थियो । आमालाई पनि नोकरी नछाडे हुन्थ्यो भन्ने थियो । तर म स्थायी जागिर छाडेर २०३६ मा चितवन फर्किएँ ।
चितवनका साथीहरूले तुरुन्तै राजनीतिमा हिँडिहाल भनेनन् । मैले चितवनको पार्वतीपुर स्कुलमा केही समय पढाएँ । त्यही बेला ‘होलटाइमर’ हुने निर्णय गरें । त्यसपछि पहिलो कार्यक्षेत्र चितवनको माडी र दोस्रो नवलपरासी (नवलपुर) भयो । त्यो २०३६ को आन्दोलनपछिको समय थियो । मोहनविक्रम सिंहसँग बुटवलमा मेरो भेट भयो । भेट अमिक शेरचनले मिलाउनुभएको थियो । मोहनजीलाई नेपालको माओ भनिन्थ्यो । निर्मल लामालाई चाओ भनिन्थ्यो । माओ र चाओ दुवै चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक नेता हुन् । चुतेहचाहिँ सिन्धुलीका ऋषि देवकोटा ‘आजाद’ लाई भनिन्थ्यो ।
‘होलटाइमर’ भएपछि म बेहिसाब काम गर्थें । त्यसले मलाई पार्टीभित्र लोकप्रिय बनायो । माघ २०३८ मा भारतको कुशीनगरमा भएको युवा भेलाबाट म युवक संघको अध्यक्ष भएँ । त्यसपछि मेरा लागि मैदान खुला भयो ।
पार्टीभित्र अन्तरसंघर्ष भयो । सुरुमा म मोहनविक्रमजीतिर थिएँ । उहाँको लाइन ठीक रहेनछ भनेर मैले मोहन वैद्य (किरण) जीलाई साथ दिने निर्णय गरें । काठमाडौंमा भएको सेक्टर काण्डमा ठूला नेताहरू पर्नुभयो । उहाँहरूको एक तह घटुवा हुने भएपछि मलाई किरणजीले पार्टी महामन्त्रीमा प्रस्ताव राख्नुभयो । म २०४६ को आन्दोलनअघि पार्टीको महामन्त्री भएँ ।
त्यसपछि पार्टी एकता भयो, फुट्यो । जनयुद्ध सुरु गर्यौं । मैले नै किरण, बाबुराम भट्टराई, रामबहादुर थापा, पोस्टबहादुर बोगटीलगायतको टिम बनाएपछि जनयुद्धमा प्रवेश गरेका थियौं । दसवर्षे जनयुद्ध २०६४ मा शान्ति प्रक्रियामार्फत अवतरण भयो । शान्ति प्रक्रिया, संविधानसभा, संविधान निर्माण हुँदै हाल मुलुक संघीय गणतन्त्र कार्यान्वयनमा गएको छ ।
जनयुद्ध, संविधानसभा निर्वाचन र संविधान निर्माणपछि उत्पीडित वर्ग र समुदाय धेरै हदसम्म अधिकारसम्पन्न भएका छन् । उनीहरूको आत्मसम्मान प्राप्त भएको छ । जनता सार्वभौमसत्ता सम्पन्न भएका छन् । मुलुकमा गणतन्त्र स्थापना भएको छ ।
यसका लागि ठूलो त्याग, बलिदान र कीर्तिमानी काम गर्ने पार्टी र त्यसको प्रमुख नेताका रूपमा भावी पुस्ताले मलाई सम्झियोस् भन्ने चाहन्छु । क्रान्ति र शान्ति स्थापनाका लागि मात्रै होइन, २००७ सालदेखिको एजेन्डा संविधानसभा कार्यान्वयन गर्ने अवसर पनि मैले पाएँ । संविधान लेख्दा नेतृत्व गर्ने अवसर पाएँ । सामाजिक न्याय, सुशासन र आर्थिक समृद्धिका लागि समाजवादको आधार निर्माण गर्न एउटै मान्छेको नेतृत्व र मुख्य भूमिका इतिहासमा विरलै हुन्छ । त्यो अवसर मलाई प्राप्त भयो । यसमा मलाई गर्व छ ।
