म सरकारी भजनमार्गी लेखकमा परिना, पार्टीभक्त लेखकमा परिना, कुनै शक्तिपीठको पवनपुत्र परिना, गुट कहिल्यै बनाइनँ । त्यसैले मृत्युपछि मेरो अबिच्युअरी लेखिने कुरै भएन । त्यसैले आफैं आफ्नो अबिच्युअरी उर्फ मृतक–चरीचर्चा लेखिरहेको छु ।
What you should know
असी वर्ष ! थोरैतिनो समय होइन असी वर्ष । जीवन बाँचेका यावत् दिन गन्दा मलाई गाँठ्ठे, एकबारको जुनी बाँच्नुसम्म पो बाँचेँ त भन्ने हर्षानुभूति हुन्छ । आफन्त वा परिचित कोही वृद्ध वयमा जब मर्छ, मेरो चित्तको भित्तोमा आफ्नो पालो कहिले आउला भन्ने असहज कल्पनाको तरंग उठ्छ ।
बाँचिबर्ती रहेका आफ्नो वरिपरिका थोरै पठित वृद्धमध्ये कोही विस्मरणमा गए, कोही ढाड कुप्रो पार्दै लौरो टेकेर हिँड्ने भए । कसैका आँखा अशक्त भए, कसैको श्रवणशक्ति शेष भयो । कोही त ओछ्यानको अशक्त कैदी भएका छन् । जब तिनको दुर्दशा देख्छु, मेरो पनि दिशा त्यतै र निकट भविष्यको दशा त्यस्तै त होला नि भन्ने लाग्छ ।
अमरत्व मानिसको नैसर्गिक चाहना हो । मृत्युपछि जीवितहरूले गर्ने मृतकको चरीचर्चा अमरत्वको झिनो त्यान्द्रो हो । अमरत्वको यही त्यान्द्रो समातेर मृत्युउप्रान्त कतिपय सार्वजनिक व्यक्तित्वको अबिच्युअरी अर्थात् मृतक चरीचर्चा कथिन्छ । आत्ममोहमा धेरथोर लिप्त नाथे मनमा आफ्नो अबिच्युअरी लेखिएला कि नलेखिएला भन्ने तृष्णायुक्त खुल्दुली पैदा हुनु अस्वाभाविक हो र ? आफू सरकारी भजनमार्गी लेखकमा परिनँ । त्यताबाट मेरो अबिच्युअरी लेखिने कुरै छैन । आफू पार्टीभक्त लेखकमा परिनँ । त्यताबाट मेरो अबिच्युअरी लेखिने कुरै छैन । आफू कुनै शक्तिपीठको पवनपुत्र परिनँ ।
त्यताबाट मेरो अबिच्युअरी लेखिने कुरै छैन । आफूले गुट कहिल्यै बनाइनँ । हुँदै नभएको गुटबाट मेरो अबिच्युअरी लेखिने कुरै भएन । बाबु, साहु, पोलिटब्युरो चिफ, सत्तासीन शासक, शक्तिपीठका स्वामीहरूदेखि लिएर ईश्वरसम्म सबैलाई प्रश्नका तीर र आलोचनाका क्षेप्यास्त्र प्रहार गर्न बाँकी राखिनँ । छाँटले कतैका कसैबाट मेरो अबिच्युअरी नलेखिने निश्चित छ । तसर्थ अहंमन्य धृष्टताका लागि लोकसँग क्षमायाचना गर्दै आफैं आफ्नो अबिच्युअरी उर्फ मृतक चरीचर्चा लेख्न बसेको छु म । मेरो सुन्दर वा कुरूप जीवनकथा जे छ, यो मूलतः मेरो आफ्नै निर्मिति हो । मलाई देख्ने आँखा र मेरो जीवनवृत्तको परख गर्ने दृष्टि अरूका हुन्, केवल यो अबिच्युअरी लेख्ने हात मेरो हो ।
आखिरमा खगेन्द्र संग्रौलाले मर्त्यलोकको एकबारको जुनी बिसाए । यो नश्वर जगत्मा समय जति बलवान् आखिर छ नै के र ? खगेन्द्रको मै हुँ भन्ने हठी अहं पनि बलवान् समय मुखेन्जी लत्रिन विवश भयो । खगेन्द्र, उनका आफ्नै शब्दमा, भौतिकवादी र नास्तिक थिए । तिनमा स्वर्ग जान पाइएला भन्ने आश र नर्कमा खसिएला भन्ने त्रास सायद नहुँदो हो । त्यसैले, ती स्वयंले उद्घोष गरेझैं, लौकिक जीवनको अवसानपछि ती सायद पञ्चमहाभूतमा विलीन भए ।
खगेन्द्रको इच्छापत्रमा मृत्युपछिका तिनका कामनाहरू लिपिबद्ध छन् । इच्छामरण तिनको उत्कट कामना थियो । शरीर जराजीर्ण र मन गलित भई आफ्ना लागि र अरूका लागि जीवनको उपयोगिता जब निख्रिन्छ, घिटिघिटी बाँचिरहनु व्यर्थ छ । तसर्थ इच्छामरण आफ्नो र प्रियजनहरूको दुःख घटाउने जुक्ति हो । यो थियो इच्छामरणको पक्षमा खगेन्द्रको तर्क । दुःखको कुरो, नेपालमा इच्छा मरणको कानुनी व्यवस्था छैन । त्यसैले जीवनको अन्त्यकालमा आफ्नो कामनविपरीत तिनले र तिनका प्रियजनले निकै दुःख पाए । तिनकै इच्छापत्रका शब्दमा व्यर्थको र अनर्थ दुःख थियो त्यो ।
आफ्नो मृत्युपछि रूढिगत कर्मकाण्डको पूर्ण परित्याग खगेन्द्रको घोषित इच्छा थियो । तिनकी श्रीमती परिन् तमु । तिनको सिउँदोमा सिन्दुर र गलामा पोते थिएनन्, न त तिनका हातमा चुरा नै थिए । त्यसैले नभएका ती चीज पुछ्ने, चुँडाउने र फुटाउने लेठो भएन । मृतकको इच्छाको सम्मान गर्दै छोराको कपाल मुण्डन, देहमा श्वेत वस्त्र धारण, कोराको कैद कटान र ‘गरुड पुराण’ को वाचन आदि भएन होला सायद । शोकको बह मत्थर भएपछि प्रियजनले मृतकको सम्झनामा टोलछिमेकका बालबालिकाका निश्छल हातमा रुचिकर पुस्तक र सुस्वादु मेवामिष्ठान्न राखिदिऊन् भन्ने तिनको सामान्य चाहना त अवश्यै पूरा होला ।
आफ्नो शवमा झन्डा नओडाइयोस् भन्ने खगेन्द्रको इच्छा विल्कुल अर्थहीन प्रतीत हुन्छ । शवमा झन्डा ओडाइन तदनुरुप योग्यता चाहिन्छ । तिनमा त्यो योग्यता कहाँ थियो र ? ती शासक महलका कृपापात्र थिएनन् । त्यसैले तिनले तिनलाई किन ओडाऊन् राष्ट्रिय झन्डा ? ती पार्टी महलक प्रियपात्र थिएनन् । त्यसैले तिनले तिनलाई किन ओडाऊन् पार्टीको झन्डा ? मृतकको यो अर्थहीन इच्छामा तिनको मनोविज्ञानको अन्तरमा कतै झन्डा ओडाइए हुन्थ्यो भन्ने गुप्त इच्छा लुकिबसेको पो थियो कि !
घुँडाबाट आँसु चुहाउँदै गरिने अधिकतर ढोंगी बखानहरू बटुलेर आफ्नो स्मृतिग्रन्थ नछापियोस् भन्ने मृतकको इच्छा पनि कसोकसो अर्थहीन लाग्छ । आफ्ना कर्मले त्यो छापिदिने जन आर्जन गरेकै छैन त त्यो छापिन्छ कसरी ? यहाँ पनि मृतकको मनोविज्ञानको अन्तरमा कतै स्मृतिग्रन्थ छापिए हुन्थ्यो भन्ने सुषुप्त इच्छा पो थियो कि !
लाग्छ, मृतक खगेन्द्रको जीवन असंगति र विरोधाभासको जन्जाल हो । जन्मले ती बाहुन थिए, जनै तिनले कहिल्यै लाएनन् । ती कथित उच्च जातका थिए, तिनले कथित मध्यम जातकी तमुसँग बिहा गरे । एकाघरका ठूलाबडा देवी नामक पत्थरको पूजा गर्थे, चुलबुले बाल्यकालमा तिनले देवीको पत्थर–निर्मित प्रतिमामा तुर्क्याइदिए । बाबुबाजे देववाणी ठानेर ‘गरुड पुराण’ श्रवण गर्थे, तिनले त्यसको लिखित धज्जी उडाए । महेन्द्र रत्न जेहेनदार छात्रवृत्तिमा बीए पढे, महेन्द्रीय शासनविरुद्ध तिनले शब्दका अगणित तीर चलाए ।
मास्टर भएर दिउँसो–दिउँसो अबोध किशोर–किशोरीका मस्तिष्कमा ‘महेन्द्र माला’ मार्काका पाठ थोपरे, राति–राति तिनै किशोरकिशोरीका मस्तिष्कमा महेन्द्रीय सत्ताको जग उधिन्ने जागरणका झिल्का फिँजाए । लाल विद्रोही गणका सर्वोच्च कमान्डरले तिनको वध गर्ने उद्घोष गरे, पछि तिनले तिनै कमान्डरको चुनावी एजेन्डा बोकेर भाषण गरे । ती नित्य कम्निस्ट आन्दोलनको किनारैकिनार हिँडे, भोटचाहिँ बहुधा कांग्रेसलाई दिए । स्थूल दृष्टिमा डीपी भण्डारी उग्र कम्निस्टविरोधी थिए, उनै भण्डारीसँग खगेन्द्रको अनन्य मित्रता थियो ।
कुमार नगरकोटी खगेन्द्रादिलाई लक्षित गरी यिनको ‘सामाजिक यथार्थवादले साहित्यलाई ध्वस्त पार्यो’ भन्थे । उनै नगरकोटीलाई भाषाशैलीका ‘विरलाकोटी’ शिल्पी भनी तारिफ गर्दै खगेन्द्र नोटबुक र कलम सप्रेम उपहार दिन्थे । वाम दृष्टिमा ‘अहंकारी बुर्ज्वा’ मानिने विजयकुमार पाण्डे खगेन्द्रका निकट मित्र थिए । ‘बुर्ज्वा’ पाण्डेका अन्तर्वार्ता लिइने अति सीमित पात्रमा वाम खगेन्द्र पर्थे । प्रदीप गिरी अटल कांग्रेस थिए, कहिल्यै कांग्रेस हुन नसक्ने खगेन्द्र प्रदीपका प्रिय मित्र थिए । एक समय थियो जब गिरिजाप्रसाद कोइराला खगेन्द्रको कठोर उपहासको निसाना बने । अर्को समयमा, खास गरेर गणतन्त्रको उद्घोषपछि, उनै गिरिजा खगेन्द्रका अति आदरणीय राजनीतिकर्मी भइदिए ।
जीवन–दर्शनमा खगेन्द्र शून्यवादका विरोधी थिए । तर, विचार ग्रहण र विचार परित्यागको जटिल प्रक्रियामा उनी स्वयं शून्यवादीतुल्य दृष्टिगोचर भए । युवा वयमा उनी जन्ड राष्ट्रवादी थिए । उनको एक हातमा लाल विचारको झन्डा थियो, अर्को हातमा थियो– महेन्द्रीय राष्ट्रवादको झन्डा । पछि जीवन–व्यवहारबाट प्राप्त यथार्थ ज्ञानले भन्यो— महेन्द्रमुखी कम्निस्ट पाठशालाले बलात् थोपरेको विकृत शिक्षाको प्रतिफल थियो त्यो । उनकै शब्दमा, त्यो थियो विचार जगत्को दुई विपरीत झन्डे गाईजात्रा ।
आफ्नै अनुभवको ऐना हेर्दै जाँदा समयक्रममा राष्ट्रवाद उनलाई ढोंगी, द्वेषयुक्त र कुरूप लाग्यो । सहदेशवासीको कल्पित तुच्छतामा आफ्नो श्रेष्ठता अनुभूत गर्ने र सहबासी मानवको ‘अनेपालीत्व’ मा आफ्नो उच्च ‘नेपालीत्व’ महसुस गर्ने राष्ट्रवादमा उनले सामाजिक विखण्डनकारी तत्त्व देखे । र, उनले उद्घोष गरे— नेपाली समाज सामाजिक–सांस्कृतिक रोगहरूको संग्रहालय हो । यिनमा सबैभन्दा घातक दुईवटा रोग छन् । ती हुन्— राष्ट्रवाद र जातीय छुवाछूत ।
यी दुई रोगलाई खगेन्द्रले ‘मनोरोग’ को संज्ञा दिए, जसबापत् राष्ट्रवादी र कर्मकाण्डी बन्धुहरूद्वारा उनको अखण्ड निन्दा भयो । सारांशमा, राष्ट्रवाद ग्रहण माइनस राष्ट्रवाद परित्याग बराबर शून्यवाद प्रतीत भयो । राष्ट्रवादको अन्धवेगी नशाले लठ्ठिएका बेला खगेन्द्रले मधेशीलाई विदेशी भने, आयातीत भने, भतुवा भने, मर्स्या भने, धोती भने, काले भने ।
अन्यद्वेषी राष्ट्रवादीहरूका मुखबाट जे–जे सुनेका थिए उनले सुँगाशैलीमा त्यो सबै भने । पछि राष्ट्रवादी महलबाट ‘दशगजापारिबाट वारि नेपालमा ढुंगा हान्ने’ आरोपलाई आमन्त्रण गर्दै उनै खगेन्द्र मधेशीहरूका समान हक र गरिमाका पक्षमा ऐक्बद्धता प्रकट गर्न मधेश झरे । जीवनको कठोर यथार्थबाट आर्जित अनुभवद्वारा रूपान्तरित मनोदशामा खगेन्द्रका नजरमा मधेशी आफूजस्तै मान्छे, आफूजस्तै नेपाली ठहरिए । यहाँ पनि उनै मान्छे विदेशी मधेशे माइनस उनै मान्छे आफूजस्तै नेपाली बराबर शून्यवाद प्रतीत भयो । मृत खगेन्द्र पुनःजीवित भई धरामा अवतरण गर्न पाए यो तर्कको प्रतिवादमा के भन्दा हुन् कुन्नि !
खगेन्द्रको अखबारी गर्जनको ठाडो र कठोर स्वर जीवनको विराट् वृत्तमा यत्रतत्र फैलियोे । उनको साहित्यको सूक्ष्म र कलात्मक स्वर भने जीवनको साँगुरो वृत्तमा सीमित भयो । त्यसैले खगेन्द्रको साहित्यिक व्यक्तित्व अखबारी खगेन्द्रको छायामा पर्यो । जो–जो अखबारी खगेन्द्रको उपहास र कटाक्षको तारो भए, उनी त्यस महलका स्वामी र भक्तहरूको उग्र कोपभाजनमा परे । तिनले उनलाई ‘छुच्चो लेखक’ भने, ‘गाली शिरोमणि’ भने, ‘नकारात्मकताको उस्ताद’ भने । यी आरोपकारीहरूको श्राप लाग्ने भए खगेन्द्र, उनकै शब्दमा, निकै अघि सयौं–पटक मरिसक्थे । फेरि पनि, उनकै शब्दमा, विचारको प्रतिवाद विचारले गर्न असमर्थ दुःखीहरूले खगेन्द्र उपर घृणाको वर्षा गरे । तिनले
‘ट्वाके’ उनका नामको पर्याय बनाए । अटुट ‘ट्वाक’ लगाउन तिनले खगेन्द्रतिर लैनचौरबाट भारुको खोलो बगाए, आईएलओ सिक्स्टी नाइनबाट डलरको वृष्टि गरे । तिनले ‘ट्वाके’ खगेन्द्रलाई यति धेरै ट्वाक पिलाए, त्यतिबिघ्न ट्वाक पचाएर उनी यतिका वर्ष बाँच्नु आठौं आश्चर्य हो ! हास्यरसको कोणबाट सोच्दा उदारमना मनुष्यहरूले खगेन्द्रलाई नित्य ट्वाक आपूर्ति गरेर ठिकै पो गरेछन् कि झैं लाग्छ । खगेन्द्र ट्वाकसहित जति बाँचे, ट्वाकरहित भए सके त्यसको डबल बाँच्दा हुन् । विचरा खगेन्द्रका लागि त्यो ट्वाकरहित बचाइ कति निरस र पट्यारलाग्दो हुँदो हो !
खगेन्द्रका उग्र आलोचना र निर्मम कटाक्षयुक्त अखबारी गर्जन पढ्दा जोकोहीका मानसमा उनको एउटा झयावह चित्र अंकित हुँदो हो– कठोर, त्रूर र निर्मम चित्र । तर, जब ऊ खगेन्द्रका वचन र प्रवचनमा उनको समीप हुन्थ्यो, उसका दृष्टिसामु उनको अर्कै अवतार उदाउँथ्यो । कोमल, शिष्ट र विनम्र तसर्थ चित्ताकर्षक अवतार । जसले मदिराको टेबुलमा खगेन्द्रसँग सत्संग गर्थ्यो, त्यहाँ पनि उनको अर्कै अवतार दृष्टिगोचर हुन्थ्यो ।
शान्त र भद्र, सुस्त गतिमा चुस्कीको भरपूर आनन्द लिने, मसिनो स्वरमा बोल्ने र गहन विमर्शमा रुचि राख्ने । अथवा दृष्टिसामुका मित्रजन र स्वयंप्रति आलोचना, उपहास र कटाक्षयुक्त उद्गारमा रमाउने । ख्वामितलाई रिझाएर स–साना स्वार्थ पूर्ति गर्न सतत यत्नशील विभिन्न महलका अरिंगाल सेना, जो प्रतिदिन खगेन्द्रलाई ‘ट्वाके’ भनी बद्नाम गर्ने धन्दमा लिप्त हुन्थे, मरिदाको टेबुलमा उनीसँग हुँदा हुन् त आश्चर्यचकित भई ती सोच्दा हुन्— यो नक्कली खगेन्द्र हो, सक्कली खगेन्द्र खसोखास उही अविरल ‘ट्वाके’ हो ।
अनेक शक्तिकेन्द्रका प्रभुले आफूप्रति लक्षित भण्डाफोरकारी कटाक्षयुक्त शब्दवाणबाट छुटकारा पाउन खगेन्द्रको मुख थुन्न खोजे । कहिले तिनलाई हनुमानढोकामा बोरामा कोचेर तिनको निम्छरा नितम्बमा बुटले हाने । कहिले वीरगन्ज जेलमा थुनेर जिब्रोमा करेन्ट लगाएको किस्सा रचे । कहिले ‘विष्णुका औतारविरोधीमाथि म एक्सन गर्छु’ भन्ने ऋषि देवकोटाका हत्यारालाई अघि सारे । कहिले विद्रोही माओवादीले कतै भरुवा बन्दुक पड्काउँदा, राजधानीमा उनलाई पक्राउ गरी बेपत्ता पार्न खोजे । तर, खगेन्द्रको बक् बन्द भएन । न त उनको लेखनीले नै मौनव्रत धारण गर्यो । सराहनाकारीहरूले मुक्तकण्ठले बखान गरे— वाह, क्या
साहस ! क्या शौर्य ! क्या दुर्दान्त मनोभाव ! तर, स्वयंबारे खगेन्द्रको कथन अर्कै थियो । स्वीकारोक्तिको भाकामा उनी भन्थे— साहस, शौर्य र दुर्दान्त मनोभाव केवल कल्पित कुरा हुन् । हो, हरेक दमन र यातनापछि पनि मैले सत्य र न्यायको पक्षमा बोल्न खोजिरहेको, तर सधैं डराउँदै !
विचारको कम्निस्ट महलमा खगेन्द्रको स्थिति विचित्रको थियो, न मित्र न शत्रु टाइपको । उक्त महलमा कतिपय कुरामा उनी बाध्यात्मक रूपले स्वीकारयोग्य थिए, कतिपय कुरामा थिए घृणास्पद रूपले त्याज्य । कम्निस्ट ढोङको छलकारी वस्त्र उतार्न उनले नित्य चेष्टा गरे । जप्ने कम्निस्ट जनवाद, आचरण गर्ने कम्निस्ट हैकमवादको उनले चर्मछेदन गरे । कम्निस्ट संगठनको अनुशासन नामक पिन्जरामा थुनिन उनी कहिल्यै राजी भएनन् ।
आफूलाई सर्वांग शुद्ध, सद्दे एवं कञ्चन ठान्ने पार्टीआबद्ध कम्निस्ट कमरेडहरूले खगेन्द्रलाई ‘मध्यपन्थी मिहिन संशोधनवादी’ को पगरी गुथाइदिए । खगेन्द्र माओका दार्शनिक कृतिका उल्थाकार थिए । उनले रुस र चीनका थुप्रो लाल साहित्य पनि उल्था गरेका थिए ।
उनका मौलिक सिर्जनामा पनि जगजागरणकारी र विप्लवी चेतका फाटफुट झिल्का थिए । खगेन्द्रका यी यावत् कर्म र कृतिका कारण वाम वृत्तमा उनी एक प्रकारको घाँडो भएका थिए । तारिफ गरून्, उनी ‘गद्दार’ ट्राट्स्कीको बखान र कमरेड स्टालिनको आलोचना गर्थे, निन्दा गरून्, उनले कतिपय नकार्नै नसकिने सत्कर्म पनि गरेका थिए । कमरेडहरूलाई बखान र निन्दाको सन्तुलन मिलाउन सधैं सकस परिरह्यो ।
तैपनि खुलस्त वा छद्म रूपले तिनले तिनको नित्यजसो बद्ख्वाइँ नै गरिरहे । जब खगेन्द्र सामाजिक न्याय र मानवीय गरिमाको अभियानमा लौरो टेकेर कहिले नवराज विकको रगत बगेको भेरी नदीको किनारमा, कहिले थारूजनको बक्हरण गरिएको टीकापुरमा र कहिले न्यायमुखी विद्रोहको ज्वाला दन्केको जनपुरमा प्रकट हुन्थे, आफ्नो घरको सुरक्षित कौसीमा बसेर रमिता हेरिरहेका कतिपय ‘सदावहार क्रान्तिकारी’ कमरेड बडो अप्ठ्यारो मान्थे ।
चिन्तन र निष्ठाको वागी मोर्चामा जीवनभर टिक्न सक्नुको रहस्य केही छ कि भनी यदाकदा खगेन्द्रलाई सोधिन्थ्यो । प्रत्युत्तरमा उनी भन्थे— त्यस्तो गूढ रहस्य खास केही छैन । लोभी मुद्रामा लाभ हेतु कहिल्यै कसैसँग हात नपसार्नु, लोभ्याएर झुकाउन र आफ्नो अन्धभक्त बनाउन खोज्नेसँग जोगिनु— बस्, यति गर्न सके कुनै पनि प्रलोभनकारी, शासनकारी र दमनकारी तत्त्वसँग हाकाहाकी आँखा जुधाउन सकिन्छ । दुरुह जीवनमा वागी बन्न र बनिरहन स्वयं र प्रियजनहरूप्रति हर्दम निर्मम रहन सक्नुपर्छ । भन्न जति सजिलो छ, गर्न यो त्यति सजिलो छैन ।
खगेन्द्रको शब्दभण्डार उन्नत थियो । उनमा सम्यक् र सूक्ष्म अभिव्यक्ति कौशल पनि नभएको होइन । तर, अभिव्यक्तिको कूटनीतिक कलाको उनमा सर्वथा अभाव थियो अथवा त्यो कला भएर पनि त्यसको प्रयोग नगर्न उनले नित्य जिद्दी गरे । नतिजा जे भयो, निकै कष्टकर भयो । उनी तालतालका निन्दकहरूका जत्थाद्वारा पलपल घेरिइरहे ।
आफूलाई कसैले ‘एक्लो वृहस्पति’, ‘अराजक’, ‘हठी’ वा ‘एकला चलो’ यात्राको दुःखी पथिक भनोस्, खगेन्द्रले एकरत्ति पर्वाह गरेनन् । आफ्नो अन्तस्करणको आदेश मानेर उनी आफ्नै सर्तमा, आफ्नै सुरले, ढंगले वा बेढंगले, आफ्नै रोजाइको जीवन बाँचे ।
अभौतिक आत्माको अस्तित्व र अमरत्व खगेन्द्रको विश्वासमा कतै थिएन । तिनको विश्वासमै नभएको चीजले ‘चिरशान्ति प्राप्त गरोस् भनी’ कसरी भनूँ ?
अलबिदा खगेन् ब्रो !
