अहिले पनि रेखा थापालाई सुपरस्टार लेख्न धेरैको हात काँप्छ । दुई वटा फिल्म खेलिरहेका पुरुषलाई सुपरस्टार भनिन्छ, महिलालाई भनिन्न । रेखा थापा नेपालको फिल्म इतिहासमा पहिलो सुपरस्टार हो भनेर लेख्न कसैले हात कमाउनुपर्दैन । कसैले १० वर्षसम्म फिल्म नखेले पनि महानायक ? किन ? कारण ऊ पुरुष हो ।
What you should know
एक साँझ साथीहरूसँग खेलिरहेकी थिएँ । एक जना साथीले अचानक भन्यो– मरिन्छ रे नि त ! मरिन्छ भन्ने चेत त्यतिबेला मगजमा घुसिसकेको थिएन । ‘मरिने रहेछ’ भन्ने पहिलो पटक थाहा हुँदा छक्क परें । मान्छे मर्छ ? अबुई किन मर्ने ? मरेर कहाँ पुगिन्छ ? थुप्रै प्रश्न मनमा अचानक खेल्यो, तनाव भयो । आखिर एक दिन मर्नु नै छ भने किन खेल्नु ! किन झगडा गर्नु ! बाल मानसमा पहिलो पटक यसरी पसेको थियो– मृत्युको झिल्को ।
त्यो झिल्को फेरि फर्कियो– २३/२४ वर्षको उमेरमा, बुबा बित्नु हुँदा । बुबालाई आफ्नै हातले दागबत्ती दिएर घर फर्कंदाको त्यो अनुभव, अहो सम्झिनु नपरे हुन्थ्यो भन्ने लाग्छ । बुबाको सुत्ने कोठामा बुबाका सबै सरसामान थिए, तर बुबा हुनुहुन्थेन । त्यो घटनाले मलाई बढी संवेदनशील र बलियो बनायो ।
त्यसपछि जीवन–जगत्लाई नजिकबाटै चिन्ने अवसर प्राप्त गरें– समाजका नियम, आदेशहरू मिथ्या लाग्न थाले । त्यसपछि मभित्रको मोहको अन्त्य भयो । गुमाउनुको डर वा पाउनुको आशक्ति रहेन, सबै कुरालाई सहजै स्वीकार्न सक्थें । अहिले पनि केही कुराले आँसु तरक्कै झर्ला, तर त्यहाँ मोहको क्लेस, आकर्षण र प्राप्तिको महत्त्वाकांक्षा छैन । त्यसपछि मैले फिल्म खेल्न कम गरेर बाँकीे समय आफैंलाई दिन थालें ।
हामीले मृत्युबारे खुब सोच्नुपर्छ, यसले मान्छेलाई यथार्थवादी बनाउँछ, बलियो बनाउँदै लैजान्छ । ‘मरेर लैजानु के छ र ?’ भन्ने सोचियो भने आक्रोश, घमण्ड, रिसराग आफैं हट्छ । त्यसैले बेलाबेला मृत्यु चिन्तन गर्दा घाटा हुँदैन । साँच्चै यो संसारमा सत्य केही छ भने त्यो मृत्यु नै हो ।
मर्नुअघि राजनीतिमा एकपल्ट केही परिवर्तन गर्न मन छ– ०८४ मा नभए ०८९ मा राजनीतिमा आउँछु । नेपाली जनतालाई भन्नु छ– ‘रेखा थापा रिलमा मात्रै होइन, रियलमा पनि हाम्रै लागि सोच्छे ।’ राजनीतिमा इतिहास बनाउनु छ । म आफ्नै समाज, देश र जनताका लागि सोचिरहेकी छु । अहिले समाजमा फन्डाबाजी गर्ने र भाइरल मान्छेलाई पत्याउने कु–संस्कार बस्यो । यो संस्कारको अन्त्य हुन्छ, हुनैपर्छ ।
जीवन र जगत्लाई सूक्ष्म बुझ्न थालेको २० वर्ष कटेपछि मात्रै हो । अहिले ४० लाग्नै लाग्दा बल्ल जीवन सुरुवात भएझैं लाग्छ, बल्ल केही गर्ने जोस छ, अब त होस पनि छ– के सही के गलत छुट्याउन सक्ने उमेरमा छु । मान्छेहरू भन्छन्– जीवन संघर्षमय छ । तर, म सोच्छु– जीवन त सरल छ । लाग्छ, म अब जीवनको ठूलो विश्वविद्यालयमा छु । हरेक भाव, घटना–परिघटना सुन्दर लागिरहेका छन् । जीवनलाई निराकार सोच्छु, भव्य सोच्दिनँ । जीवन बुझ्ने उत्सुकता अझै थपिएको छ ।
यो आवरण अर्थात् मेरो सौन्दर्य, जन्मिसकेपछिको नाम, सफलता पाइसकेपछिको उपनाम– सबै मिथ्या हुन् ।
खासमा म को हुँ ? म आत्मा हुँ, तर शरीरले पाएको रूप फरक होला ।
मान्छेहरू भन्छन्– ‘म राम्री छु, चर्चित छु ।’ यी सब त भौतिक कुरा न हुन् । यसले मान्छेलाई फगत अहंकारी बनाउँछ, भ्रममा राख्छ । आत्मा सधैं साक्षी भावमा बस्छ । जब तिमी आत्मा चिन्छौ तब तिम्रा कर्म, नाम, सौन्दर्यलाई साक्षी भावले हेरिरहेका हुन्छौ । कहिले सफलता हासिल भयो होला, कहिले असफलता ! तर तिम्रो आत्मा छुने हिम्मत कसैसँग छैन । त्यसैले जान्नेहरू भन्छन्, आफ्नो आत्मा चिन । शरीर एउटा हो, आत्मा एउटा ।
कुनै पनि कुरा स्थायी छैन, सबै अस्थायी छन् । भौतिक सुखसुविधा, दुःख, पीडा, सौन्दर्य– सबै अस्थायी हुन् । हामीभित्रै आत्मा र शरीरबीच महाभारत चलिरहेको हुन्छ । आज कलियुगमा हरमानवभित्र महाभारत चलिरहेकै छ । मलाई यी चीजले अब छुँदैन । आत्मा चिन्नुहोस्, त्यसका लागि साधना गर्नुपर्छ, साधु बन्नुपर्छ । मान्छे निरन्तर एकै क्षेत्रमा लाग्नु नै एउटा साधना हो । हिरोइनको आयु पर्दामा ७–८ वर्षको मात्रै हुन्छ, मेरो त २५ वर्ष पुगिसक्यो । सायद यो पनि मेरा लागि एउटा साधना नै हो । लिड हिराइन नै भएर २५ वर्षसम्म राज गर्नु के जोक हो ?
कुनै समय निकै व्यस्त सेड्युलमा काम गर्थें, दिनमा ५/७ वटा फिल्मका सुटिङसम्म । रातभरि सुटिङ गरेर, दिउँसो डबिङ गर्न पुग्थें । त्यसरी व्यस्त भइरहँदा लाग्थ्यो, यो हो त मेरो खुसी ? पक्कै होइन । कहाँ छ त खुसी ? आत्मा चिनेको मान्छेलाई हरठाउँमा खुसी छ । मेरो कौतूहलता र जिज्ञासु स्वभावले नै मैले आत्मा चिनेकी हुँ ।
संसार स्थायी छैन, यो त कर्म हो, एउटा गन्तव्य पुग्न हामी ‘ट्रान्जिट’मा छौं । यति बुझ्न सकियो भने कोही पनि दुःखी हुनुपर्दैन । आफ्नो शरीरलाई नियालेर हेर्न सक्दैनौं भने दुनियाँ कसरी नियाल्छौं ? देश बनेन, समाज बनेन, फलानो भएन भनेर निराश भइरहनुभन्दा पहिले शरीरभित्रका कोषिका कतिपल्ट जन्मिँदो रहेछ भनेर महसुस गरौं । दौडेका–दौडेकै छौं, आखिर पुग्ने कहाँ हो ? कहीं पनि त होइन । पुग्ने एउटै ठाउँ हो भने किन हतारो ? बिस्तारै गए हुन्न ?
राजनीतिमा पनि मोह, भ्रम र मूर्ख बनाइने खेल देखेपछि मेरो वितृष्णा जाग्यो । चुनावमा उठिरहँदा पनि जनताको आशा र नेताहरूको सम्झौता पूरै उल्टो देखें । मैले जहिल्यै सत्य बोलें त्यता पनि । खासमा यो देशमा सत्य र तथ्यमा आधारित हुनेहरू जहिल्यै पछि परिरहन्छन् । झूटको खेती गर्ने, फन्डा गर्ने र भ्रम छर्नेहरू नै केन्द्रविन्दुमा छन् । झूट बोलेर शक्ति आर्जन गर्नेहरू खासमा शक्तिहीन मान्छे हुन् । म जानीजानी मूर्ख बन्न राजनीतिमा गएँ ।
यो भौतिक शरीर छोडेर जानैपर्छ । तर, कतिबेला शरीर छोड्ने ? त्यो मान्छेकै हातमा छ, त्यो निर्धारित छ । मान्छेभित्रकै इन्जिनियरिङले निर्धारण गर्छ । मनले जे आदेश दिन्छ, त्यही हुँदै जान्छ । यो आत्मा ब्रह्माण्ड हो, ब्रह्माण्डमा जे सोचेर कार्य गर्छौं, त्यही हुन्छ ।
दुःखलाई निम्तो दिए दुःख नै आउँछ, सुखलाई निम्तो दिए सुख । मेरो मृत्युपछि मानिसले मलाई यसरी सम्झिदिउन् भन्ने सोच्न अझै समय बाँकी छ । तर, फिल्म क्षेत्रमा मैले जे रूपान्तरण गरें, देशकै लागि पनि गर्नु छ । देशका लागि योगदान दिइसकेपछि जसरी योगमायालाई मानिसले सम्झन्छन्, मलाई पनि त्यसरी नै सम्झिदिऊन् । मेरो मृत्युपछि गलत, अन्याय र अत्याचारविरुद्ध आवाज उठाउने पात्र भनेर चिन्छन् होला मलाई मान्छेले, सम्झिउन् वा बिर्सिउन् केही फरक पर्दैन । तर, म चाहिँ त्यस्तो व्यक्ति हुँ ।
अहिले पनि रेखा थापालाई सुपरस्टार लेख्न धेरैको हात काँप्छ । तर, हिजो दुई वटा फिल्म खेलिरहेको पुरुषलाई सुपरस्टार लेखिन्छ, महिलालाई लेखिन्न । ‘रेखा थापा नेपालको फिल्म इतिहासमा पहिलो सुपरस्टार हो’ भनेर लेख्न हात कमाउनु हुन्न । कसैले १० वर्षसम्म फिल्म नखेले पनि महानायक ? किन ? कारण ऊ पुरुष हो । फिल्ममा योगदानका हिसाबले मेरो भूमिका धेरै छ ।
म त आफू मात्रै बनिनँ, हरेक फिल्मबाट नयाँ हिरो, कलाकारदेखि प्राविधिकसम्म ल्याएकी छु, निर्देशक बनाएकी छु, रोजगारी दिएकी छु । आफू डुबेर हुन्छ कि उकासिएर, फिल्म बनाएकै छु । त्यो पुरुष कलाकारले गरेको के छ ? मैलेझैं काम गरेको भए ती पुरुषलाई मानिसले ‘भगवान्’ बनाइसक्थे । म फिल्म निर्माता मात्रै होइन, जीवनको पनि निर्माता हुँ, नेतृत्वको अर्थ आफू मात्रै बन्ने होइन, आफूजस्तै अरू नेता जन्माउनु पनि हो । मलाई राजनीतिमै पनि यो गर्नु छ । म रूपान्तरणका लागि एउटा बिम्ब र खम्बा भएर उभिने पात्र हुँ ।
होला म योगमायाको समयमा जन्मिनँ । योगमायाभन्दा कठिन थिएन मेरो संघर्ष पनि ! पुरुषहरूसँग झगडा गरें, समाजसँग पैंठेजोरी खेलें । एउटी महिलालाई परेको पीडामा बोलें/बोल्छु । त्यसरी बोल्दा विभिन्न आक्षेप लगाइन्छ, व्यक्तिगत चरित्रहत्या हुन्छ ।
योगमायाको समय र अहिले समय फरक होला । तर, पीडा र संघर्ष उस्तै छ । त्यो बेला बालविवाहको विषयमा योगमायाले लडाइँ लडिन्, अहिले पनि म ‘दोस्रो अध्याय’ शीर्षकको भिडियो अन्तर्वार्तामा सधैं बालविवाहको विषय उठाउँछु । योगमायाको जस्तै लडाइँ रेखा थापाले निरन्तर लडिरहेकै छे, तर म हिरोइन भएर मान्छेहरू देख्दैनन्, मेरो हिरोइनको आवरणमा नै अड्किन्छन् ।
ममा नेतृत्वको स्वभाव पहिल्यैदेखि थियो । यदि म हिट छु भने म सँगसँगै अरू पनि हिट हुनुपर्छ भन्ने सोच थियो । आफू सँगसँगै अरूलाई पनि हिट बनाएँ, निर्मातालाई बचाएँ । मेरो वरिपरिका सबै स्थापित भइसके । जाजरकोटमा टीभी नदेखेकी किशोरीलाई ल्याएर फिल्म खेलाएकी छु । तर, ती पुरुष महानायकको योगदान के ? समाजलाई के दिए ? समाजले ममाथि गर्व गर्नॅपर्ने होइन र ? कम्तीमा तिम्रो देशमा तिम्रा छोरीहरूलाई प्रभावित पार्ने रेखा थापा त छ ! मैले निरन्तर १० वर्ष ‘ब्याक टु ब्याक हिट फिल्म’ दिइरहें । फिल्मको पोस्टरमा मेरो अनुहार चाहिन्थ्यो–चाहिन्थ्यो । थुप्रै फिल्मका पोस्टरमा मेरो मात्रै फोटो छ ।
मेरो समयका हिरोहरू अहिले बाउको भूमिकामा खेलिरहेका छन्, म त अझै हिरोइनकै भूमिकामा छु । अस्ति भर्खरै ‘मीरा’ नाटकमा १८ वर्षकी किशोरी बनेर खेलें । आगामी फिल्म ‘भाइटीका’ मा विपिन कार्कीकी बहिनी बनेर खेल्दै छु । तर, अझै पनि मलाई किन भन्दैनन् सुपरस्टार ? नेपाली फिल्म क्षेत्रको इतिहासमा यति लामो पर्दाको आयु हिरोको पनि छैन । मसँगै आएका हिरो–हिरोइन नै कहाँ पुगिसके, तर म निरन्तर त्यही ताजगी र तीव्र गतिमा छु । अहिले पनि म लिड भूमिकामै छु, हिरोइन नै बनिरहेकी छु । फिल्म खेल्ने, निर्माण गर्ने, कलाकार ल्याउने अरू को छ ?
जन्मिनेबित्तिकै अभिभावकले नाम दिए । कर्म गरें, समाजले चिन्यो । तर, म को हुँ ? मैले आफूलाई चिन्नु छ । आत्माले मलाई झस्काइरहेको हुन्छ । कसैलाई एक थप्पड हानिहाले पनि आत्माले सोध्छ– किन थप्पड हानिस् ? आत्मासँग दोहोरो कुरा हुन्छ, अन्तरद्वन्द्व चलिरहन्छ । आफूलाई चिन्न आफैंभित्र प्रवेश गर्नॅपर्छ । एकान्तमा बसेर मात्रै ध्यान हुँदैन, भीडमै पनि विपश्यना गर्न सक्छु म ।
