नेपालमा झैं संसारका विभिन्न भेगमा आफ्नै रैथाने शैली र स्वादका र्यापर छन्, जो समाजको बेथिति र अन्यायमाथि आगो ओकल्छन्, आक्रामक भएर राजनीतिक–सामाजिक मुद्दामा किञ्चित संकोचबिनै बोल्छन्
काठमाडौँ — के हुन्छ एउटा नाराले, त्यो सपनाको सहारालेके भन्न पो बाँकी छ, बुद्ध नै साक्षी छ ?कोपिला मास्दा के फुल्छ त्यो डालिमा ?आँसु र रगत लुकेको छ लालिमा
मे २०२३ मा चर्चित अमेरिकी मिडिया, न्युयोर्क टाइम्सले र्यापरबाट इन्जिनियर हुँदै युवा मेयर बनेका भनेर बालेन्द्र शाह अर्थात् बालेनको लामो ‘प्रोफाइल स्टोरी’ छापेको थियो । उनको यो चामत्कारिक राजनीतिक उचाइमा संगीतको राम्रै देन छ । माथि उल्लेखित शैलीका सिधा र निर्भीक राजनीतिक प्रश्नलाई गीति शैलीमा प्रस्तुत गरेर युवामाझ आफ्नो कद बढाएका बालेनले त्यही उचाइलाई राजनीतिक रङ दिए ।
अहिले पनि बालेनका सामाजिक सञ्जाल हुन् वा सार्वजनिक अभिव्यक्ति, उनका कुरामा र्याप शैलीकै कथावाचन, पञ्च लाइन र शब्दजाल हुन्छन् । नेपालकै ठूलो महानगरको प्रमुख हुँदा र अन्तर्राष्ट्रिय ख्याति पाउँदा पनि उनको रहनसहन, शैली, लवाइ र प्रस्तुतिमा र्यापरवाला स्वाग कायम देखिन्छ ।
नेपालको राजनीतिमा यी युवा र्यापरले तरंग ल्याइरहँदा र्यापरहरूको अभिव्यक्ति, शैली, प्रस्तुति र मृत्युमा समेत राजनीतिक खिचातानी र बहस हुनु नौलो विषय भने होइन । मे २०२२ मा पन्जाबमा रहेको आफ्नै घरछेउ झन्डै २५ गोलीको सिकार भएका चर्चित भारतीय र्यापर शुभदीप सिंह सिधु अर्थात् सिधु मोसेवालाको मृत्युबारे अहिले बीबीसीमा खोज समाचार प्रकाशित छ ।
सन् २०२१ मा भएको पञ्जाब विधानसभा चुनावमा भारतीय राष्ट्रिय कंग्रेसका तर्फबाट उनले चुनाव लडेका थिए । सिधुको हत्यामा संलग्न भएको मानिएका क्यानाडा बस्ने भारतीय ग्यांग्स्टर गोल्डी ब्रारले बीबीसीसँगको कुराकानीमा पञ्जाबी र्यापरले आफ्नो राजनीतिक पहुँच प्रयोग गरेर विपक्षी ग्याङहरूलाई सघाएकाले हत्या गर्नुपरेको प्रतिक्रिया दिएका छन् ।
तिमी परै बस,
दिल्ली परै बस, रिसाहा पञ्जाबीहरूबाट
मेरो बारेमा बुझ्न मन लागे,
राजा अब्दलीसँग सोध
(मोसेवालाको गीत ‘पन्जाब’ बाट साभार)
सिधु साधारण गाडी, मदिरा वा पार्टीको कुरा हुने पञ्जाबी शैलीका गीतहरूभन्दा पर, माथि भनिएजस्तो राजनीतिक रूपमा चुनौती दिने गीतहरू गाउँथे । पन्जाबी किसानहरूले आयोजना गरेको किसान मार्चमा सक्रिय सहभागीसमेत भए । उनले खुला रूपमै किसानका मागहरूलाई समर्थन मात्रै गरेनन्, सामाजिक सञ्जाल र सार्वजनिक अभिव्यक्तिमार्फत किसान आन्दोलनलाई सघाए ।
उनका गीतहरू सामाजिक मुद्दा, पन्जाबको ग्रामीण भेग र राजनीतिक प्रश्नहरूका कारण विवादित र चर्चित बन्ने गरेका थिए । ड्रेक, बर्ना ब्वाईजस्ता चर्चित संगीत हस्तीहरूसँग सहकार्यसमेत गरेका सिधुले आफ्नो छोटो जीवनमै राजनीति र सामाजिक मुद्दामा हात हाल्न भ्याएका थिए ।
बाबा सेहगल पहिलो पुस्ताका भारतीय र्याप गायकका रूपमा चिनिन्छन् । ९० दशकमा उनका गीतहरूले राम्रै चर्चा कमाएका थिए । पछिल्लो समय दक्षिण भारतका रफ्तार, पन्जाबकै यो यो हनी सिंह र बादशाहजस्ता र्यापरहरूले पार्टीमा चल्ने गीतहरूमार्फत् आफ्नो पहिचान बनाए पनि सामाजिक–राजनीतिक मुद्दामा समेत गीत गाउने र अभिव्यक्ति दिने गरेका छन् । यस्तै, पूर्णरूपमा र्यापर नभए पनि र्याप संगीतमा समेत राम्रो पकड रहेका दिलजित दोसान्झ सामाजिक राजनीतिक मुद्दाहरूमा खुलमखुल्ला धारणा राखेर विवादमा आउने गरेका छन् ।
अन्य विधाका संगीतकर्ती वा कलाकारभन्दा र्यापरहरू आफ्ना सिर्जना र व्यक्तिगत जीवनमा समेत ‘भोकल’ रहँदै आएको देखिन्छ । सत्ता र शक्तिलाई निरन्तर प्रश्न गर्नु र्यापरहरूको मानौँ, दायित्व हो !
र्याप संगीत र राजनीतिक विचारधारा वा र्यापरहरू राजनीतिसँग प्रत्यक्ष जोडिने विषय किन पनि नौलो होइन भने सन् १९७० को दशकमा यस विधाको जन्म नै एक सामाजिक–राजनीतिक आन्दोलनका रूपमा भएको थियो । न्युयोर्कस्थित साउथ ब्रोंक्समा लयबद्ध गरिएका कवितात्मक शैलीको विचार प्रस्तुति तथा कथावाचनलाई पिछडिएका र विशेषगरी अफ्रिकी–अमेरिकी नागरिकको विचार व्यक्त गर्ने उपायका रूपमा चलाउन थालियो । कालान्तरमा त्यसले संगीतको एक विधाका रूप लिन पुगेको थियो ।
डिजे कुल हर्क, ग्रान्डमास्टर फाइभ, सुगरहिल ग्याङ, पब्लिक इनेमीसँगै भारतीय र्यापर डिभाइनलगायतले र्यापलाई राजनीतिक अभिव्यक्ति र राज्यसँगको असहमति पोख्ने साधन बनाउन थाले । अन्ततः र्याप संगीतको नसामा नै राजनीतिक विषयवस्तु बन्न पुगेको छ ।
सन् ८० को दशकको अन्त्य र ९० को दशकभरमा र्याप संगीत अझै राजनीतिक बन्दै गयो । यसको प्रभाव पनि अत्यन्तै विश्वव्यापी बन्यो । टुपाक सकोर, डक्टर ड्रे, एमिनेमजस्ता कलाकारहरूले ९० को दशकको र्याप संगीतलाई अत्यन्तै प्रभावशाली बनाए । ग्यांग्सटर र्याप भनिने गरेको उक्त जमानाको संगीत मुख्यतः अमेरिकाको पश्चिमी तट (वेस्ट कोस्ट) केन्द्रित थियो । पछिल्लो शताब्दीको सुरुवातमा भने जे–जी, आउटकास्टहरूसँगै एमिनेमजस्ता कलाकारहरूले र्यापलाई विश्वव्यापी बजारीकरण गर्न उल्लेख्य योगदान गरे । स्ट्रिमिङ प्लाटफर्महरूको सहजतासँगै र्याप संगीतमा थप उछाल र विविधता देखियो ।
कान्ये वेस्ट, ड्रेक, लिल वेन, केन्ड्रिक लमार, निकी मिनाज, डोजा क्याट, जे कोल र ट्रभिस स्कटसम्म आइपुगेका र्यापरहरू अहिले धनाढ्य र अर्बपतिको सूचीमा पर्छन् । केहीलाई छोडेर र्याप विधाका कलाकारहरूले निरन्तर गर्दै आएको राजनीतिक टिप्पणी विश्वव्यापी अभियानजस्तै बनेको छ । नेपालमा झैं संसारका विभिन्न भेगमा आफ्नै रैथाने शैली र स्वादका र्यापरहरू निस्केका छन् । उनीहरूले समाजका विभिन्न विषयसँगै राजनीतिलाई गीतको विषय बनाउँदै आएका छन् ।
बेलायतका क्लास्नेकफ, फ्रान्सका एमसी सोलर, जमाइकाका पेरिस, क्यानाडाका स्लाई एन्ड द फ्यामिली स्टोन, बेलायतकै लोकी र लिटल सिम्जजस्ता अंग्रेजीभाषी र्यापरहरूले व्यवस्थापनविरुद्ध आगो ओकल्ने गरेका छन् । बोस्निया हर्जगोभिनाका एडो माज्का र फ्र्याङ्की, पोर्चुगलका भ्यालेट, नेदरल्यान्ड्सका डेफ पी, घानाका ओब्राफर र सार्कोडी, अल्बानियाका नोइजी, लेबनानका एल रसजस्ता कलाकारहरूले पनि सामाजिक, व्यावसायिक र राजनीतिक मिश्रणसहितका र्याप संगीत सिर्जनामा योगदान गरेका छन् ।
प्यालेस्टिनीहरूमाथिको निरन्तर अत्याचार,
गाजा र त्यसका बासिन्दामाथिको घेराबन्दी,
नागरिकहरूको नरसंहार, हड्डीसमेत
बाँकी नराख्ने, दैनिक अत्याचार
सन् २०११ मा बेलायती र्यापर लोकीले गाएको ‘प्यालेस्टाइन जिन्दावाद’ शीर्षकको यस गीतमा अनगिन्ती यस्ता पंक्तिहरू छन् जसलाई गाउनु अहिले पनि राजनीतिक रूपमा विवादास्पद हुन सक्छ । नयाँ शैलीको साम्राज्यवादको विरोध गर्दै घानाका सार्कोडीले ‘ब्ल्याक एक्सिलेन्स’ गीतमा भनेका छन्, ‘तिनले हाम्रो सुन चोरे, हीरा चोरे, हामीलाई दुःख मात्रै छोडेर गए ।’
यसरी र्यापरहरू अन्याय र बेथितिविरुद्ध बोल्न हिच्किचाएका छैनन् । श्रीलंकाका एमाईएले सन् २००७ मा गाएको ‘वारियर्स’ गीतमा राखिएको तमिल भावना झल्काउने ‘तिनीहरूले हामीलाई आतंकवादी भन्छन्, तर हामी त बाँच्न मात्रै खोजेका हौँ,’ सन् २०१८ मा नाइजेरियाका फाल्जले गाएको ‘दिस इज नाइजेरिया’ गीतमा रहेको ‘चर्च र मन्दिर झगडा गर्छन्, गरिबको दुःख त उस्तै नै छ’ जस्ता र्याप पंक्तिहरू विवादित बनेका थिए ।
गीत मात्रै नभएर र्यापरहरूका कामले पनि राजनीतिक सन्देश र विवाद दुवै निम्त्याउने गरेको छ । सन् २०२२ को अमेरिकी सुपरबल कन्सर्टको बीचमा एमिनेमले ‘ब्ल्याक लाइभ्स् म्याटर’ अभियानको समर्थनमा आयोजकहरूको सल्लाहविपरीत घुँडा टेकेका थिए ।
सन् २००५ मा कान्ये वेस्टले ‘जर्ज बुसलाई काला जातिका मान्छेहरूको वास्ता छैन’ भन्ने गीत गाए । केन्ड्रिक लमारले आफ्नो सुपरबल कन्सर्टमा अमेरिकी राष्ट्रपति ट्रम्पकै अगाडि खुल्ला रूपमा विभेदका विरुद्ध बोले । सन् २०१२ को सुपरबलमा आफ्नो गीतको बीचमा एमआईएले माझी औंला देखाएको घटना नै किन नहोस्, र्यापरहरू सधैं राजनीतिक अभिव्यक्ति दिने कुरामा निडर र निर्धक्क देखिने गरेका छन् ।
सन् २०१३ मा बाराक ओबामा दोस्रो पटक शपथ लिँदाको समारोहमा ‘वर्ड्स आई नेभर सेड’ गाउन पुगेका लुप फियास्कोले तत्कालीन अमेरिकी राष्ट्रपतिको युद्ध नीति, ड्रोन आक्रमणलगायतको आलोचना गर्न सुरु गरेपछि उनलाई मञ्चबाटै ओरालिएको थियो । र्यापर कान्ये वेस्टले त आफ्ना नाजी र डोनाल्ड ट्रम्प समर्थक सन्देशसँगै दिने उग्रराजनीतिक र सामाजिक टिप्पणीले उनलाई निरन्तर विवादमा राख्दै आएको छ ।
राजनीतिक सन्देश मात्रै नभएर प्रत्यक्ष राजनीतिमै घुस्ने र सफल हुने र्यापरका पनि उदाहारण टन्नै छन् । बालेन र सिधुजस्तै संसारका विभिन्न भागमा र्यापरहरूले निर्वाचनमा भाग लिएका छन् । सन् २०१० मा ‘म राष्ट्रपति भएको भए’ भन्ने गीतसँगै र्यापर वाइक्लेफ जिनले हाइटीको राष्ट्रपतीय पदमा लड्ने घोषणा गरे पनि उनी अयोग्य घोषित भएका थिए ।
सन् २०२० मा उत्तर अमेरिकी देश बेलिजमा र्यापर साइन संसद्मा निर्वाचित भए । ह्युस्टन सिटी काउन्सिलको चुनाव लडेका अमेरिकी र्यापर स्कारफेस, सिकागोमा चुनाव लड्न भ्याएका राइमफेस्ट, नेवार्क सिटी काउन्सिलमा निर्वाचित डुप्रे केली, २०१६ को बर्नी स्यान्डर्सको राष्ट्रपतीय अभियानका
एक हस्ती किलर माइक, २०२३ मा कमला ह्यारिसको राष्ट्रपतीय अभियानका एक हस्ती क्वाभोजस्ता र्यापरहरू सक्रिय राजनीतिमा होमिएका केही उदाहारण हुन् । कतिसम्म भने ‘बर्थ–डे पार्टी’ नामक अभियान नै चलाएर सन् २०२० को अमेरिकी राष्ट्रपतीय उम्मेदवार बनेका र्यापर कान्ये वेस्टले १२ राज्यबाट लगभग ७० हजार भोटसमेत ल्याएका थिए । त्यसयता भने उनी निरन्तर डोनाल्ड ट्रम्पका समर्थक बनेर बसेका छन् ।
त्यसैगरी, अफ्रिकी मुलुक युगान्डाको राजधानी काम्पालामा जन्मिएका जोहरान क्वामे मम्दानी, जो यति बेला अमेरिकाको महाशक्ति महानगर न्युयोर्कको मेयरका लागि उम्मेदवार पनि हुन्, हिप–हपका प्रशंसक हुन् । अमेरिकाका आप्रवासी मुस्लिम समुदायका उनले र्याप संगीत रचना र उत्पादन गरेका छन् । २०१६ मा योंग कार्डामम उपनामबाट उनले युगान्डाका र्यापर ह्याबसँग ‘नो गोइङ ब्याक टु द भिलेज’ का लागि सिद्धा मुक्यालो शीर्षकको र्यापमा सहकार्य गरेका थिए ।
२०१९ मा उनले फेरि ‘मिस्टर कार्डामम’ उपनाममा ‘नानी’ शीर्षकको एकल र्याप गीत रिलिज गरेका थिए । ‘कुकबुक’ लेखिका तथा अभिनेत्री मधुर जाफ्रीले उनको ‘नानी’ र्यापको म्युजिक भिडियोमा मम्दानीको हजुरआमा बनेरसमेत खेलेकी छन् । मम्दानीले भारतकी विख्यात फिल्ममेकर आमा मीरा नायरको २०१६ को फिल्म ‘क्वीन अफ कटवे’ का लागि साउन्डट्र्याक क्युरेट गरिदिएका थिए । जसबाट उनी २०१७ को ‘गिल्ड अफ म्युजिक सुपरभाइजर्स अवार्ड’ मा समेत मनोनीत भएका थिए ।
चुनाव र प्रत्यक्ष राजनीतिकै सेरोफेरोमा र्यापरहरू विश्वका विभिन्न भागमा भएका सामाजिक अभियान र आन्दोलनमा सक्रिय सहभागी हुने गरेका छन् । सिधु मोसेवाला भारतको किसान आन्दोलनमा पुगेजस्तै अमेरिकाका विभिन्न चर्चित र्यापरहरू सन् २०१३ यता चल्दै आएको ‘ब्ल्याक लाइभ्स म्याटर’ अभियानको हिस्सा बन्दै आएका छन् । किलर माइक, जे कोल, लिल बेबीजस्ता र्याप आर्टिस्ट यस अभियानमा जोडिएका छन् । क्यानाडा र अस्ट्रेलियाको आदिवासी अधिकार आन्दोनलमा पनि त्यहाँका र्यापर सँगसँगै हिँडेका छन् । लोकी, एमआईएजस्ता र्यापरले साहसपूर्वक प्यालेस्टिनी ऐक्यबद्धता अभियानमा भाग लिने गरेका छन् ।
र्याप संगीत अरूभन्दा बढी आक्रामक रूपमा राजनीतिक र सामाजिक मुद्दामा किन बोल्छ भन्ने विषयमा धेरैको आफ्नो मत हुन सक्छ तर यसका पारखीहरूले यो विधाको प्राकृतिक, धक नमान्ने र पिछडिएको वर्गबाट जन्मिएको पृष्ठभूमिका कारण त्यस्तो भएको मत राख्छन् । विशेषगरी सिधु वा बालेनजस्ता युवाहरूका लागि विद्रोही मत राख्न र अन्य विधाका संगीतमा खासै स्वीकार्य नहुने मतलाई अघि सार्न पनि यो विधा उपयोगी हुने गरेको छ । आफ्नो एउटा धुन र कथा भएका कुनै पनि युवा वा वयस्कका लागि सामाजिक टिप्पणीदेखि राजानीतिक प्रश्न, व्यंग्य, आलोचना र कतिपय अवस्थामा गालीगलौजसमेत अटाउने भएकाले पनि पछिल्लो पुस्ताले बढीभन्दा बढी केन्ड्रिक लमारहरूलाई सुन्ने गरेका छन् ।
अझ र्यापमा हुने भाइभ, इनर्जी, गाली, अश्लील शब्द, भाइरल बिट र असन्तुष्टि जनाउने माध्यमले यसका पारखी थप्दै लगेको छ । ‘म यस्तो छु’ ‘हामी धेरै साना छौं’ जस्ता र्यापमार्फत नेपालमा र्याप संगीत स्थापित गराउन भिडेका नेपालकै पहिलो र्यापर गिरीशले प्रनिल र डीए सिक्स्टिनाइन (सुदिन) सँग मिलेर डेढ दशकअघि नै यो विधाको संगीत सुन्ने पुस्तालाई राजनीतिक आलोचनाको स्वाद यसरी चखाइसकेका थिएः
गाँस छैन, बास छैन, कपासको आस छैन,
काम छैन, काज छैन, खाने बेलामा लाज छैन,
बाटो छैन, घाटो छैन, कतै केही छैन,
सुख छैन, शान्ति छैन, अमन चैन छैन,
तँलाई भोट दिऊँ, कसरी तँलाई भोट दिऊँ ?
म नेता भएको भए...
र्यापमा सामाजिक यथार्थ चित्रण गर्ने परम्परा विश्वभर रहेको र नेपाल पनि त्यसबाट अछुतो नरहेको र्यापर निर्णय श्रेष्ठ ‘एनएसके’ को भनाइ छ । समाजमा जे चलिरहेको छ, त्यसलाई अभिव्यक्त गर्ने माध्यमका रूपमा र्याप विधा रहँदै आएको उनले बताए । अमेरिकामा अश्वेत समुदायको आवाज बनेर र्यापको उदय भएको सन्दर्भ दिँदै उनले नेपालमा पनि र्याप विधाले सामाजिक मुद्दा उठानमा भूमिका खेलेको बताए ।
राजनीतिक नेताको भूमिका आफूले पाएको भए समृद्धिको नारा मात्रै होइन, शान्तिको कार्यान्वयनमा आफू केन्द्रित निर्णयको भनाइ छ । ‘अहिले नेताहरू समृद्धिको कुरा गर्छन्, म भएको भए शान्तिका लागि काम गर्थेँ,’ उनी भन्छन्, ‘हरेक मान्छेलाई खुसी बनाउनु मेरो प्रमुख उद्देश्य हुन्थ्यो ।’ आफू सत्तामा भएको भए कुनै निहित स्वार्थ नराखी समाज सुधारमा लाग्ने उनले सुनाए । युवा र्यापर स्यामी द रियल जी पनि हिपहपको मूल भाव, अभिव्यक्ति स्वतन्त्रलाई आत्मसात् गर्दै अगाडि बढिरहेकी छन् । आफू आवाजविहीनहरूको आवाज बन्ने प्रयत्नमा रहेको बताउने उनी भन्छिन्, ‘र्यापमा बोल्न मिल्ने र नमिल्ने भन्ने सीमा हुँदैन, त्यसैले हामी निर्भीक भएर अन्याय, कुरीति र विभेदको विरुद्धमा बोल्छौं ।’
राजनीतिक नेताको हैसियतमा उनी लैंगिक समानता र यौन अपराधसम्बन्धी मुद्दालाई प्राथमिकतामा राख्ने बताउँछन् । ‘म अहिले नेता वा मन्त्री भइदिएको भए लामो समयसम्म नटुंगिएका बलात्कारका मुद्दा निष्कर्षमा पुर्याउँथेँ,’ उनी भन्छिन्, ‘महिलालाई न्याय दिनु मेरो पहिलो प्राथमिकता हुन्थ्यो ।’ त्यसैगरी, गाँजालाई अवैधको सूचीबाट हटाउँदै यसको व्यावसायिक उपयोगलाई प्रवर्द्धन गर्ने योजना पनि स्यामीले प्रस्तुत गरिन् । ‘गाँजाबाट कागज, कपी, झोला, लुगा बनाउन सकिन्छ,’ उनी भन्छिन्, ‘नेताहरूले यसलाई खराब चिजका रूपमा मात्रै देखेका छन्, म त्यसको उपयोगितामूलक पक्ष देखाउँथेँ ।’
अर्का र्यापर ओएमजी स्पार्कले भने आफू नेता भएको भए संगीत क्षेत्रकै उत्थानका लागि पहल गर्ने मनसाय सुनाए । ‘प्रतिलिपि अधिकारका मुद्दामा काम गर्थेँ,’ उनले भने, ‘हिपहप क्षेत्रमा लागू पदार्थ दुर्व्यवसनका समस्या छन् । राम्रो सुधार केन्द्र खोल्थेँ ।’ उनले नेपाल सरकारको खेर गएको कुनै जग्गामा आर्ट सेन्टर स्थापना गरेर कलाकारहरूको प्रवर्द्धनका लागि काम गर्ने बताए । ‘तर यो सबै त म नेता नभए पनि गर्न सक्छु,’ उनले अन्त्यमा भने, ‘भविष्यमा यी सबै योजना पूरा गर्नेछु ।’
