र्यापर जोडी गिरीश खतिवडा र प्रणिल तिमल्सिना (जीपी) ले खनेको नेपाली र्याप संगीतको बाटो पछ्याउँदै एनएसके, नेपसाइडज, म्याडजोन, एम्सी फ्लो र युनिक पोइटहरू अघि बढे । यम बुद्धले र्यापलाई नेपाली युवामाझ लोकप्रिय बनाए । उनले खनेको र्याप राजमार्गमा यति बेला बालेन, लाहुरे, ईजी टुवेल्भ, कविजी, साकारहरू कुदिरहेका छन् ।
काठमाडौँ — र्यापर बालेन शाह काठमाडौं महानगरको मेयर बन्दा ‘नेपसाइडज’का मानस घलेले भनेका थिए, ‘बालेन मेयर बन्नु नेपहप नै सिस्टममा छिर्नु हो । अब देशले हाम्रो विधालाई माया गर्न थाल्छ होला !’ हिपहप संगीतमा ‘लुरे’ उपनामले चिनिने मानस, बालेनको जितले र्याप विधाप्रतिको दृष्टिकोण बदल्दै आदरसत्कार बढ्नेमा ढुक्क थिए ।
लुरेले भनेझैं अहिले र्यापलाई ‘बुझ्ने’हरू बढेका छन् । त्यसको श्रेय केवल मेयर बालेनको पोल्टामा मात्र पर्दैन । तीन दशकदेखिको नेपाली र्याप संगीतको इतिहासमा यो विधामाथि निरन्तर लागिपरेका र्यापर, उनीहरूका संगीत र त्यसको छाप नै परिवर्तनका कारक हुन्, जसले र्याप ‘छाडा’ मात्रै हुँदैन, यो समाजभित्र गुम्सिएर बसेको भावना
पस्कने माध्यम पनि हो । र्याप संगीत सामाजिक, राजनीतिक अनि आर्थिक विसंगति उठाउने बोली हो, सीमान्तकृतको स्वर हो भन्ने भाष्य बन्यो । त्यसैले आज हामी त्यस्ता र्यापरलाई यहाँ सम्झँदै छौं, जसले र्यापलाई मूलधारको संगीतमा सशक्त विधाका रूपमा उभ्याउँदै यहाँसम्म ल्याइपुर्याएका छन् ।
र्याप अहिले सांगीतिक राजमार्गमा आइपुगेको छ । तर, र्यापलाई यहाँसम्म ल्याउन सुरुवाती बाटो कसले खन्यो ? अग्रपंक्तिमा दुई नाम आउँछन्, गिरीश खतिवडा र प्रणिल तिमल्सिना (जीपी) । खासमा गिरीशले कक्षा ८ पढ्दैताका सन् १९९२ तिर ‘मिनिङलेस र्याप’ रेकर्ड गरेर सार्वजनिक गरेका थिए । त्योबेला म्युजिक कम्पनीलाई नयाँ स्वादको र्याप गीतले तान्यो । त्यसपछि उनीहरूले नै गिरीशलाई एल्बम निकाल्न हौस्याए । १९९४ मा एसएलसी दिएपछि प्रणिलसँग मिलेर ‘मिनिङलेस र्याप’ शीर्षकमै गिरीशले एल्बम निकाले ।
नो मिनिङ र्याप, यो हो मिनिङलेस र्याप
नो मिनिङ र्याप, इट्स अ मिनिङलेस र्याप
नो मिनिङ र्याप, यो हो मिनिङलेस र्याप
त्यो बेला राग गाउने, संगीतमा साधना गर्नेलाई मात्रै गायक मानिन्थ्यो । र्यापलाई त बिल्कुलै बेग्लै मानिन्थ्यो । त्यसैले कतिले त्यो बेला गिरीशलाई गायक मान्थेनन् । पहिलो पटक उनका र्याप सुन्नेहरू भन्थे, सहरमा नयाँ ‘मोर्चा’ आयो । ‘भाषण गाएको हो ?’ कतिले गिरीशलाई भन्थे । त्यतिबेला प्रचारका सामग्री मात्रै त्यो शैली भेटिन्थ्यो, गिरीश र प्रणिलले आफ्ना र्यापमा त्यही शैली अपनाए ।
‘र्यापमा त कविता हुन्छ, त्यही कवितालाई राइममा हाल्दा कतिलाई भाषणजस्तो लाग्यो त्यतिबेला,’ गिरीश सुनाउँछन् । त्यसपछि उनले २००२ मा ल्याएको ‘ब्याक अगेन’ एल्बम त व्यापक हिट भयो । हुन त जीपीको पहिलो एल्बमपछि सांगीतिक फाँटमा लामो समय र्यापमा ग्याप देखियो । नयाँ स्वरका र्याप सुनिन पाएको थिएन । नेपसाइडज (किरण श्रेष्ठ, मानस घले, ग्यानोन चित्रकार) ले त्यतिबेला अंग्रेजीमा र्याप सुरु गर्यो । ‘ब्याक अगेन’ बाट ‘म यस्तो छु, म त्यस्तो छु, जस्तोसुकै भए पनि दामी छु...’ चलेपछि पुनः नेपालीमा र्याप गर्ने बढे । यो गीतले नेपालमा र्याप विधालाई नै स्थापित गराइदियो ।
गिरीशको ‘सि इज द बम’ पनि व्यापक चल्यो । यो गिरीश एन्ड दि युनिटीले ल्याएको र्याप गीत थियो । त्यसलगत्तै ल्याएको ‘मेड इन नेपाल’ एल्बमको ‘छुँदैन तिम्रो मायाले’, ‘माया ओ माया’ लगायतका गीतले र्याप संगीतलाई उचाइमा पुर्याइदिए । ‘हामी शब्द चयनमा चेतनशील थियौं,’ गिरीश त्यसताक र्याप संगीतलाई दर्शक/श्रोताले रुचाउनुको कारणबारे भन्छन् ।
हुन त सुरुवाती दिनमा रतन सुवेदीले सन् १९९१ मा ‘बत्ती बालेर’ बोलको र्याप ल्याएका थिए । रतन यसैलाई पहिलो नेपाली र्याप दाबी गर्छन् । तर, कति र्यापर रतनको ‘बत्ती बालेर’लाई र्याप कम, ‘प्यारोडी’ ज्यादाको रूपमा हेर्छन् । ‘यदि रतनलाई र्यापरकै समूहभित्र राख्ने हो भने उनी नै पहिलो र्याप रेकर्ड गर्ने व्यक्ति हुन् । तर, र्याप मात्रै हेर्ने हो भने गिरीश र प्रणिल नै नेपालका पहिलो र्यापर हुन्,’ लुरे (मानस घले) भन्छन् ।
युवा र्यापर ओएमजी थप्छन्, ‘रतन दाइले र्यापको केही शैली पक्रेर गाउनु भएको चाहिँ हो, उहाँलाई पनि क्रेडिट दिन बिर्सनु हुँदैन ।’ जे होस्, पहिलो र्याप गीत कुन हो ? भन्ने बहसभन्दा पनि गिरीश र प्रणिलको र्याप अनि उनीहरूले समाएको यो बाटोले नेपालमा हिपहप संगीत कसरी स्थापित भयो भन्ने विषय महत्त्वपूर्ण हो । गिरीश र प्रणिलले त्यतिबेला यो यात्रा नथालिदिएको भए, नेपालको र्याप संगीत मूलधारसम्म आइपुग्थेन ।
जीपीपछि नेपाली हिपहपमा एनएसके (निर्णय श्रेष्ठ) को इन्ट्री भएको हो । हिपहपको इतिहास उनीबिना अधुरै देखिन्छ । एनएसकेको ‘दिन पनि बित्यो’, ‘हाम्रो गाउँले जीवन’लगायतका र्यापदेखि रेडियो कार्यक्रम ‘ब्रिङ द हाउस डाउन’ मार्फत र्यापलाई आम दर्शकबीच फैलाउन गरेको योगदान अमूल्य छ । अमेरिका हुँदै १९८९ तिर एनएसकेले र्याप गाउन थालिसकेका थिए । १९९८ मा नेपाल फर्केर रेडियोमार्फत ‘ब्रिङ द हाउस डाउन’ कार्यक्रम चलाए, जहाँ हिपहप संगीत बज्थ्यो । हिमहप/र्यापलाई युवा दर्शकमा पुर्याउन यो कार्यक्रमले भूमिका खेल्यो ।
‘त्यतिबेला यो कार्यक्रमको श्रोता सबै युवा मात्रै थिए । तर, उनीहरूलाई देशमा के भइरहेको थियो भन्ने चासो थिएन,’ एनएसके सुनाउँछन्, ‘त्यतिबेला यहाँ हिपहप संगीत सुन्ने माध्यम थिएन । यही कार्यक्रमले र्याप संगीतलाई युवा दर्शकमाझ पुर्यायो ।’ तत्कालीन अवस्था समेट्दै रेडियो कार्यक्रमको नामबाटै एनएसकेले गीत रेकर्ड गराए । ‘त्यतिबेला माओवादी द्वन्द्व चलिरहेको थियो । मेरो श्रोतालाई त्यसबारे जानकारी गराउन त्यो गीत रेकर्ड गरिएको थियो,’ एनएसके विगत सम्झन्छन् । उनको ‘ब्रिङ द हाउस डाउन’ ठिकै चल्यो ।
त्यसपछि ‘र्यापर्स युनियन’ सुरु भयो । चारजना र्यापरको यो समूहले ‘फोर यु अल’ भन्ने एल्बम निकाले । एनएसकेका अनुसार सुरुवाती दिनमा ‘ब्रिङ द हाउस डाउन’मा बजाइएका संगीत युवाका लागि पनि निकै नौलो थियो । आफूले २६ वर्षदेखि सञ्चालन गर्दै आएको रेडियो कार्यक्रमबाटै र्यापको दोस्रो पुस्ता जन्मिएको एनएसके दाबी गर्छन् ।
‘नेपसाइडज, म्याडजोनहरू त्यो कार्यक्रमबाट नै आएको हो जस्तो लाग्छ । नयाँ र्यापर जन्माउन यो कार्यक्रमले धेरै ठूलो भूमिका खेलेको छ,’ उनले भने । अंग्रेजीमा र्याप गरिरहँदा एकदिन एनएसकेलाई कसैले सोध्यो, ‘नेपालले ग्रामी अवार्ड कहिले जित्ला ?’ यो प्रश्नले युवा दर्शकबीच र्याप पुर्याउन नेपालीमा र्याप गर्नुपर्छ भन्ने एनएसकेलाई लाग्यो । त्यसपछि उनले ‘दिन पनि बित्यो’ र्यापमा वैदेशिक रोजगारीका पीडालाई समेटे । ‘यसमा र्याप र लोक शैलीलाई मिसाइदिएँ । यो गीत आम युवामा पुग्यो,’ एनएसके भन्छन्, ‘यो गीत चल्दा थुप्रै युवाले मेरो पहिरन नक्कल गर्नुहुन्थ्यो । खोटाङमा बाटो नपुग्दै हेलिकोप्टर चढेर म यो गीत प्रस्तुत गर्न त्यहाँ पुगेको थिएँ ।’
गिरीश र एनएसकेहरूले र्याप गरिरहँदा नेपसाइडजको आगमन भयो । सुरुवातमा नेपसाइडज अन्डरग्राउन्ड र्याप गर्थ्यो । मानस साथीहरूसँग मिलेर र्याप कभर पनि गर्थे । तर, बिस्तारै नेपहप डटकममा बोलेर, लेखेर र्याप ब्याटल गर्न थालेसँगै नेपसाइडजमार्फत र्याप सुरु गरेको मानस सम्झन्छन् ।
त्यतिबेला उनीहरूले हिपहपलाई नेपालीमा नामकरण गरे– नेपहप । ‘नेपहप भन्ने शब्द डिजे एजे र मैले मिलेर सुरु गरेका हौं । १९९९ तिर ब्याटल गर्नेहरू हामीलाई अंग्रेजी बोल्न आउँदैन भनेर सोच्थे । त्यो ब्रेक गर्न हामीले पनि हिपहप गर्न सक्छौं भनेर नेपहप शब्द सुरु गर्यौं,’ मानसले कान्तिपुरलाई भने, ‘नेपहप अर्थात् नेपाली हिपहप । यो टर्मिनोलोजीमा अझै विवाद छ । अन्डरग्राउन्ड र्यापरहरूले नेपहपलाई कमर्सियल मान्छन् । बिबोइङ गर्नेहरूले अझै पनि हिपहप नै प्रयोग गरिरहेका छन् ।’
नेपसाइडजपछि ‘बीएट’हरू आइपुगे । नेपसाइडजले ‘मेडइन नेपाल’ गरेलगत्तै म्याडजोनको ‘केटी तिमी कति राम्री देखेको’ निकै चलेको थियो । यसबीच नोर्बु शेर्पा, अपार गुरुङ, स्यामी, हाकिमहरू आए । त्यसपछि रिमिक्स गीतको ट्रेन्ड सुरु भयो । अनि ‘डिजिटल’ युग सुरु भएसँगै युट्युबमा पहुँच बढ्यो । यही युगले नेपाली र्यापका ‘आइकन’ यम बुद्ध चिनायो । नेपसाइडजपछि र यमअघिको नेपाली र्याप संगीत बामे सर्दै थियो । यमको प्रवेशले नेपालमा र्यापले काँचुली नै फेर्यो ।
अहिले र्यापको अग्रपंक्तिमा देखिने अधिकांश नेपाली र्यापरहरू यमले हिपहप संगीतमा गरेको हस्तक्षेपकै कमाल मान्दा हुन्छ । गिरीश पनि यमले नै नेपाली र्यापलाई भिडियोतर्फ मोड्दै युवामाझ र्याप फैलाउन ठूलो भूमिका खेलेको मान्छन् । ‘यम बुद्धको समयलाई नेपाली र्यापको राम्रो समय मान्छु । नेपाली युवाले अभ्यास गरेको हिपहप संस्कृति हो नि र्याप ।
र्याप त अल्पसंख्यकबीच सुनिन्थ्यो । तर, यमले र्यापमाथि म्युजिक भिडियो नै बनाइदिए । त्यसपछि यो धेरै दर्शकमा फैलियो । यसअगाडि एम्सी फ्लो र युनिक पोइटले र्याप गरेकै थिए । तर, त्यतिञ्जेल म्युजिक भिडियो थिएन,’ गिरीशले भने ।
यमले नै ‘रअ बार्ज’बाट र्याप ब्याटल सुरु गरे । बालेन, युनिक पोइट, लाहुरे, इजी टुवेल्भ, साकार, कविजीलाई यही प्लेटफर्मले चिनायो । ‘यो प्लेटफर्मले नयाँ प्रतिभालाई स्थान दियो । रअ बार्ज रअ नै थियो, यहाँ मुख पनि छाड्न पाइने भयो । त्यहाँ रमाइलो थियो, सिर्जना थियो । अवाजपछि त र्यापले द्रुत गति समात्यो,’ गिरीश भन्छन् । ‘रअ बार्ज’मार्फत नयाँलाई ल्याउने मात्रै होइन, र्यापमै ‘ट्रेन्डसेटर’ बनिदिए, यम ।
उनले र्यापमा समसामयिक विषयदेखि सामाजिक विषयवस्तु उठाइदिए । यमको ‘साथी’ले त हिपहप संगीतमा तरंग ल्यायो । छोरा र छोरीबीचको विभेद होस् या बालविवाह, मानव बेचविखनजस्ता ठूल्ठूला मुद्दा समेट्दै र्याप गाए । आमाको बखान गर्दै ‘आमा’ लेखे । प्रतिलिपिका अधिकार उठाइदिए । नयाँ प्रतिभालाई प्लेटफर्म दिनेदेखि उनीहरूलाई एकत्रित गर्ने यही स्वभावले पनि यमलाई बिर्सन खोज्नेले पनि बिर्सन सक्दैनन् ।
नेपालको र्याप इतिहासमा उनी ‘आइकन’ नै हुन् । ‘यममा र्यापरहरूलाई एक गराउने दर्शन थियो । रअ बार्जले लोकतन्त्रलाई अभ्यास गर्यो । रअ बार्जले युवालाई स्वतन्त्र भएर आफ्नो कुरा अभिव्यक्त गर्न सिकायो । पञ्चायतकाल र राजाको शासन नदेखेका लोकतान्त्रिक युवालाई रअ बार्जले जन्माइदियो,’ ओएमजी सुनाउँछन् । युवाले र्यापमा आफूलाई भेट्ने हुँदा पनि अहिले र्याप राजमार्गमा आइपुगेको धारणा राख्छन्, र्यापर सुरज क्षेत्री ‘भ्योमा’ । ‘यो विधाले त आफूलाई चित्त नबुझेको, दबिएको कुरा निकाल्न मद्दत गर्छ । त्यसैले पनि व्यक्त गरिएका भावमा युवाले आफूलाई भेटे,’ भ्योमाले भने, ‘हिपहप अहिले विश्व संगीतमै पनि मूलधार बनिसक्यो ।’
बालेन, लाहुरे, साकार, भिटेन, युनिक पोइट, जी–बब, दिमितृ, ओएमजी स्पार्कहरू यमपछिका पुस्ता हुन् । यो पुस्ताको र्यापमा बेग्लै स्वाद रहेको धारणा राख्छन्, र्यापर ओएमजी । ‘युवा दर्शकले पनि हिपहप सुनिदिनुभयो । त्यसैले पनि र्याप अहिले फस्टाएको छ । हिपहप आफैंमा पप कल्चर हो,’ उनले भने । र्यापले युवाका भावना समेट्छ, उनीहरूका बोली बोल्छ । त्यसैले पनि युवाहरूले आफ्नो आवाज ‘र्याप’मा भेटेको तर्क गर्छन्, ओएमजी । हालै ‘बबाल’ बोलको र्याप बजारमा ल्याएका ओएमजीले भने, ‘र्यापमा युवाले आफ्नो बोली भेटे, त्यसैले उनीहरू र्यापमा ढल्किए ।’
बालेनले आफ्ना र्यापमा सामाजिक मुद्दा, विसंगति र राजनीतिक आलोचना मिसाइदिए । सन् २०१२ मा ल्याएको सडक बालबालिकाको विषय समेटिएको ‘सडक बालक’ होस् या ‘आम नेपाली बुबा’, ‘तथ्य’, ‘ओइ बूढा सरकार’, ‘नेपाल हाँसेको’, ‘मन यो उड्यो’ मार्फत देशको समस्या देखाउँदै सरकारको आलोचना गर्यो, प्रश्न गर्यो । यी र्यापरले समाजलाई नै आफ्ना र्यापमा प्रतिनिधित्व गराइरहेको ओएमजीको विश्लेषण छ ।
‘हामी कलाकार समाजको ऐना हौं, समाजमा जे छ त्यही देखाउँछौं । म मेरो संस्कृतिलाई लिएर गर्व महसुस गर्छु, मेरो र्यापमा त्यही कुरा हुन्छ,’ उनले भने । खासमा उनले भने झैं र्यापरले आफू हुर्केको समाज, देशको पीडा र दुखाइलाई नै र्यापमा प्रस्तुत गर्दै आए । र्यापबाट युवा दर्शकको मन जितेका बालेनले उनीहरूको मनसँगै मत पनि जिते । अनि मेयर नै बने । भ्योमा बालेनका र्याप बढी कवितात्मक हुने बताउँछन् ।
‘लाहुरे’ पनि डिजिटल युगपछिको सशक्त र्यापर हुन् । ‘मेरो सोल्टा’मा लाहुर जानेहरूको बाध्यता समेट्दै लाहुरेले पल्टनको कथा समेटिदिए । त्यसपछिका ‘लाहुरे’, ‘हाउडे’, ‘तीतो सत्य’, ‘नेपहपको बाटो’ देखि ‘बिरामी’ लगायतमा सामाजिक समस्या र मुद्दा उठाउँदै उनले र्याप गाए ।
‘उहाँको र्यापमा गाउँमा बोलिने शब्द नै भेटिन्छ,’ भ्योमाले भने । बोलीचालीको सामान्य शब्दकै प्रयोग नै लाहुरे चिनाउने र्याप हो । युनिक पोइटका ‘मेरो देश बिरामी’मा देशको चिन्ता भेटिन्छ । ‘कालो’, ‘मा कस्सम’ लगायतका र्यापमा पोइटको बेजोड लेखन छ । यमपछि र्याप लेखनमा युनिकको पकड बलियो भएको बताउँछन्, गिरीश । ‘यमपछि युनिक पोइटले एकदमै चेतनशील विचारलाई र्यापमा पस्किरहेको छ,’ उनले भने ।
भिटेन थुप्रै संघर्षबाट माथि उठेर र्यापमा आइपुगे । भिटेनले देखेको समाज नै उनका र्यापमा भेटिन्छन् । ‘गल्ली सडक’, ‘कथा’, ‘यात्रा’लगायतमा उनले देखेको समाज, जटिलता भेटिन्छ । एनएसके भिटेनको ‘कथा’मा बेग्लै ताकत भएको धारणा राख्छन् । ‘धेरैलाई भिटेनको चलेको गीत याद होला । तर, कथा एकदमै सशक्त छ,’ एनएसकेले भने । भिटेनका र्यापमा ‘स्ट्रिट’का शब्द मिसिएका हुन्छन् । आफूले भोगेर आएका भोगाई समेट्दा त्यसै किसिमको शब्द र्यापमा समेटिन्छ । भिटनेको कथालाई हेरौं !
आज म जसोतसो पेट पालिराछु
पुरानो गाउँ, पुर्ख्यौली खेतबारीमा छु
डाँडापारि जान्छु, दाउरा भारी हाल्छु
जसरी भए पनि दुःख गरी बाँचीरा’छु
