र्‍यापबाट झस्किने समाज, तर्सिने राज्य

र्‍याप–भाषा र र्‍यापरको पहिरनमाथि नेपाली समाजको सदा एउटै प्रतिक्रिया छ– बर्बाद भो, खत्तम भो! गीतमा शालीनता र संस्कार खोज्ने ‘भलादमी’ का लागि र्‍याप केवल ‘समाज बिगारिरहेको अश्लील शब्दहरूको थुप्रो’ हो । सभ्यता जोगाउन भन्दै राज्य झन् डन्डा नचाउन अघि सर्छ ।

असार २८, २०८२

दीपक सापकोटा

A society that shakes from rap, a state that craves

काठमाडौँ — समाजका ‘सभ्य’, ‘शिष्ट’ र ‘शालीन’ मानिस मात्रै होइन, बेलाबेला ‘स्ल्याङ’ प्रयोगको आरोपमा सत्ता पनि र्‍यापरलाई ‘डिस’ हानिरहेको हुन्छ र ‘भिटेन’ हरूलाई पक्राउ गरिरहेको हुन्छ । राज्य बुझ्दैन– ‘स्ल्याङ’ नै संसारैभर र्‍यापको गहना हो । तर, र्‍यापको सीमा हुन सक्छ– शब्द प्रयोग र सन्देश । 

संगीत–सम्पदा र्‍यापलाई युवा–लस्करले प्रेम गरिरहेको छ । तर, राज्य र ‘भलादमी’ समाजले तिरस्कार ! राज्य र्‍यापरलाई मिच्न, पेल्न, दमन गर्न उद्यत प्रणाली हो । यो समयको सत्य यही हो । 

र्‍यापर आपराधिक गतिविधिमा संलग्न छ र समाजमा उसका कृतिले घृणा फैलाउँछ भने ऊ पक्राउ पर्नु अस्वाभाविक विषय होइन । तर, र्‍याप गीत गाएकै आधारमा समातिनुचाहिँ राज्यले ऊमाथि गरेको अपराध हो । र्‍यापरले पनि बुझ्नुपर्छ– ऊ समाजमा भएका विभेद, असमानता र अन्यायको विरोधमा बोल्ने नायक हो ! र, सर्वोत्कृष्ट र्‍याप जन्माउन अधकल्चो साहित्य, ‘नन–क्रिएटिभ’ म्युजिकले एकछिन् त काम गर्ला तर त्यो स्थायी हुँदैन । 

विभेद, अन्याय र असमानताले भरिपूर्ण समाजमा केवल र्‍यापर होइन, सम्पूर्ण कलाकार र कविहरू पनि विद्रोही हुन्छन् । तिनले र्‍याप र स्वतन्त्रताका नाममा जीवनै उत्सर्ग गरेका छन् । 

न्युयोर्कको अँध्यारो द ब्रोंक्स काउन्टीको गल्ली–सडकमा सन् १९७० को दशकमा जन्मेको र्‍याप अर्थात् हिप–हपले जन्मैदेखि ‘अश्लीलता’ को भव्यतम प्रहार खेपिरह्यो । तर गरिबी, अन्याय र विभेदविरुद्ध दह्रो–खरो उभिइरह्यो । सत्ताले विरोध गरोस्, समाजका ‘शिष्ट’ हरू घृणा गरून् त के भयो ? युवाको ठूलो पंक्तिमाझ असाध्यै लोकप्रिय छ– र्‍याप ! जस्तो भिटेनकै ‘हामी यस्तै त हो नि ब्रो’ गीत हेरौं, जसले युट्युबमा ३५ लाख भ्युज कमाएको छ– 

थरीथरी चुरोट खान्छु, थरीथरी रक्सी, 

थरीथरी खैरे भेट्छु, अन्तर्राष्ट्रिय हब्सी

पुलिस चौकीभित्र गर्छु दारु खाँदै मस्ती, 

करोडौंको लोन दिएँ शाहरूख खानलाई अस्ति 

र्‍यापर भीडभन्दा अलग हुन्छ । आफू हुर्केको गल्ली, भीरपाखा, मित्रता र दुश्मनी, संगत र प्रभाव, सामाजिक र राजनीति र्‍यापका कथा–व्यथा हुन्छन् । ती गीतमा शिष्टता, शालीनता र संस्कार खोज्ने ‘असल सामाजिक प्राणी’ का लागि र्‍याप केवल ‘समाज बिगारिरहेको अश्लील शब्दहरूको थुप्रो’ हो ।

तिनीहरू हरदम–हरपल र्‍याप र र्‍यापरको तेजोवध गरिरहेकै, र्‍याप–लिरिक्सको धज्जी उडाइरहेकै भेटिन्छन् । पश्चिममा र्‍यापको भाषा, शैली र प्रस्तुतिको स्वरूप जस्तो छ, त्यही शैलीको प्रतिबिम्ब नेपालमा पनि छ । र्‍याप–भाषा, र्‍यापरको ‘ल्याङफ्याङ’ पहिरनबारे नेपाली समाजको सदा एउटै प्रतिक्रिया हुन्छ– बर्बाद भो, खत्तम भो, यिनले समाज बिगारे...। ती ‘शालीन’ हरूलाई गीतमार्फतै असरदार प्रश्न गरेका छन् ‘सडक–गायक’ भिटेनले– ‘के फाइदा मलाई बिग्रिसकेको समाज बिगारेर ?’ 

र्‍यापरको जिन्दगी–कथामाथि मास्टरपिस फिल्म बनेको छ– ‘गल्ली ब्वाई’ । फिल्मको मूल प्रश्न हो– र्‍यापरलाई समाजले हेर्ने आँखा कस्तो छ ? के समाज तिनलाई स्वीकार गर्छ ? यो काल्पनिक कथा होइन, स्ट्रिट र्‍यापरहरू डिभाइन र नाजीको जीवनमा आधातिर फिल्म हो । फिल्मको केन्द्रमा छ– एक गरिब पिताको छोरा मुरद अहमदले र्‍याप गाउन थालेपछि घरमा थपिएका तनावहरूका शृंखला, बाबु–छोराको टकराव, जातीय–वर्गीय असमानता र सामाजिक तिरस्कार ! 

किन ५ दशकदेखि समाजको नजरमा ‘अश्लील’ छ र्‍याप ? के र्‍यापको रङ फन्नी मात्रै छ ? यसमा गम्भीर सामाजिक चेतनाको मिश्रण पनि हुन्छ कि हुँदैन ? नेपाली समाजको र्‍यापलाई हेर्ने नजरिया के हो ? त्यो नजर अब बदलिनुपर्छ कि पर्दैन ?

A society that shakes from rap, a state that craves

र्‍याप–गीतबारे ‘कान्तिपुर’ सँग बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए, ‘कुनै पनि र्‍यापरलाई गीत–सिर्जनाका आधारमा कारबाही गरेको छैन, गर्नु हुँदैन । तर, तिनले सामाजिक र मानवीय मर्यादाको सीमा नाघ्नु पनि हुँदैन, यसमा सचेत हुनुपर्छ । संगीतमा आजको पुस्ताको रुचिको म कदर गर्छु, त्यसैले म उनीहरूलाई भेट्छु, सुन्छु । उनीहरूका सिर्जना पनि कालजयी होऊन्, भद्दा नहोऊन्, अबको सय वर्षपछि पनि जीवन्त होऊन् ।’ 

ओलीको विचारमा सर्जक स्वयंले सौन्दर्य र अश्लीलताको भिन्नता बुझ्नुपर्छ । ‘सौन्दर्यले समाजलाई शीतल मनोरञ्जन दिन्छ, आनन्दित बनाउँछ, अश्लीलताले उत्तेजना, विवेकहीनता र मूल्यहीन अवस्थामा पुर्‍याउँछ,’ ओलीले भनेका थिए, ‘हाम्रो संस्कृति सर्वजन हिताय, सर्वजन सुखायमा आधारित छ । सिर्जनाहरू यसैमा केन्द्रित हुनुपर्छ । निन्दा, भर्त्सना सधैं बाँच्दैन, विवेक मात्रै सधैं बाँच्छ । म गीत–संगीतमा सौन्दर्य र विवेकलाई हेर्छु ।’ प्रधानमन्त्रीले ‘र्‍यापरलाई गीत–सिर्जनाका आधारमा कारबाही गरेको छैन’ भने पनि गीत गाएकै आधारमा राज्यले र्‍यापरलाई पक्राउ गरेकामा बुद्धिजीवी र र्‍यापपारखी दुःखी छन् । 

जीवनको सौन्दर्य र प्रिय जीवनको आत्मकथा गाएका छन् र्‍यापरहरूले । त्यो ‘रिदम एन्ड पोएट्री’ मा जीवनको आन्तरिक ऊर्जा भरेका छन् । ती गीतले भन्छन्– जीवनमा आनन्दभन्दा बढी पीडा छ । मान्छेका आ–आफ्नै कथा छन् । ती तीता छन्, मीठा पनि । त्यो कथाभित्र छ– आँसु, हाँसो, पीडा र आनन्दका अनेकन प्लट । छ– आवेश र प्रेरणा, सन्तोष र असन्तोष ।

र्‍यापका असली पारखी जेन–जी हुन्, जसले र्‍याप–गायक बालेनलाई सेलेब्रिटी बनाइदिए, राजधानी महानगरको मेयर जिताइदिए । र्‍यापर, बालेन र र्‍यापमाथिको अनुभूति–बुझाइ विशिष्ट छ– लेखक/विश्लेषक विष्णु सापकोटाको । उनको र्‍याप–अनुभवमा प्रवेश गरिहेरौं ।

‘सफल’ हुन ‘ज्ञानी, भलादमी’ हुनुपर्छ भन्ने समाजमा हुर्किएका हुन् उनी । उनको युवाकालमा ‘डिस्को’ वा ‘ब्रेक डान्स’ गर्नेहरू बिग्रेको समूहमा पर्थे । जब युवाकाल बितेको धेरै वर्षपछि विष्णु अञ्जानमै कुनै र्‍याप सुनेर आकर्षित भए, उनलाई लाग्यो– उनी बिग्रिए । र, ‘बिग्रिँदा’ उनको छोरा नै ‘टीनएजर’ भइसकेको थियो । उनलाई लाग्छ, ‘बिग्रने’ समयको सीमा नहुँदो रहेछ । त्यसपछि उनी निष्कर्षमा पुगे– ‘भलादमी’ बन्नुपर्छ भन्ने सामाजिक प्रेसरले मेलै आफ्ना रुचिहरू जबर्जस्ती दबाएको रहेछु ।

समाजले ‘भलादमी बन्’ भन्नुको अर्थ ‘खुरुक्क चुप लागेर जे छ त्यसैलाई स्विकारेर बस्, बागी नबन्’ भनेको हो । ‘भलादमी समाजले र्‍यापर मन पराउँदैन । राज्य भन्ने चिजलाई त्यस्तै भलादमीहरूले नै कब्जा गरेका हुन्छन् । खाइपाई आएका समूह, जसले जे ‘स्थापित’ नियम छन्, सबै तिनलाई चुपचाप मानेर बस् भन्ने चाहन्छन् । ताकि तिनीहरूको एकछत्र पहुँच कायम रहिरहोस्,’ विष्णु भन्छन्, ‘र्‍याप जन्मिएको कारण नै यही हो । त्यसैले राज्यले र्‍यापरलाई मन पराउँदैन । म आफूलाई भलादमी ठान्दिनँ, मलाई र्‍यापर मन पर्छन् ।’ 

काठमाडौं मेयरको मतगणना हुँदै गर्दा रोमाञ्चले भरिएर विष्णुले पनि र्‍याप गाएका थिए, जीवनमै पहिलो पटक– आफू बालेन भएर चुनाव जितेपछि पहिलो पटक कर्मचारीलाई सम्बोधन गर्न गएको दृश्यमा ! अप्रकाशित लेखकजस्तो, उनी घरभित्र र्‍यापर भएका थिए । विष्णुका छोरा केही वर्षदेखि न्युयोर्कमा बस्छन् । आगामी मंसिरमा त्यहाँ पनि एक र्‍यापर (जोह्रान मम्दानी) मेयर हुने सम्भावना छ । उनी सोचिरहेका छन्– त्यतिबेला हामी बाबुछोरा दुवैका सहरका मेयर र्‍यापर हुनेछन् । 

A society that shakes from rap, a state that craves

बालेन उनलाई अझै एक ‘रहस्य’ लाग्छ । ‘पहिलेका विद्यासुन्दर कति निरस, कति उराठ थिए । बालेनले जति गरेका छन्/गर्न खोजेका छन्, ठिकै छ । कहिलेकाहीं सन्किन्छन्, सन्किउन् । मलाई सदाबहार भलादमी देखिने मान्छे झन् खतरनाक लाग्छ । किनकि मानिस प्राकृतिक स्वभावको रूपमा त्यस्तो हुँदैन,’ विष्णु भन्छन् । 

पुराना संगीतमा मात्रै मग्न हुनेहरू भन्छन्, ‘र्‍यापरले गीत बिगारे ।’ तिनलाई विष्णुको प्रश्न र सुझाव छ– के संगीत तिमीहरू जन्मिँदा ल्याएको तिम्रो निजी सम्पति हो र अरूले बिगारे भन्ने ? जस्तो तिम्रो संगीत तिम्रो लागि ‘संगीत’ हो, र्‍यापरका लागि त्यही उसको संगीत । 

जीवनको लय एउटै मात्र हुँदैन, यसका संगीत अनेक हुन्छन् । त्यसैले समाजमा संगीतका अरू विधा पनि छन्, र्‍याप पनि । कवि श्रवण मुकारुङको बुझाइ छ– र्‍याप संगीत विद्रोही वा उन्मुक्त शैलीको भएकैले राज्यलाई यसको प्रस्तुति असहज लाग्छ । श्रवणको बोध छ– कलाकारको अभिव्यक्ति–स्वतन्त्रताको रक्षा राज्यले गरिदिए मात्रै लोकतन्त्र बलियो हुनेछ ।

‘नेपाली समाजमा यो संगीत शैली कुनै अभियान वा मुद्दासित जोडिएर नभई फेसन वा मनोरञ्जनका रूपमा आएकाले यसलाई आत्मसात् गर्ने सन्दर्भमा समाज विभाजित हुनु स्वाभाविक हो,’ मुकारुङ भन्छन्, ‘नेपाली समाज जति खुल्ला र उदार छ, त्यति नै ढोंगी र रुढ पनि । त्यसैले कहिलेकाहीं यसको प्रस्तुतिमा असामान्य परिस्थिति उत्पन्न हुने गरेको हुन सक्छ । र, स्तरीय सिर्जना, सुसंस्कृत उपभोक्ताको कमीले पनि नेपाली र्‍याप संगीत पटक–पटक विवादित भएको हुन सक्छ ।’

गीत–मेलोडीमा नसमेटिएका विषय र्‍यापमा समेटिन्छन् । समाजका अनेकन पक्ष–विपक्षलाई रिदमिक–वेबाट बाहिर निकाल्ने शैली पनि हो– र्‍याप । रैथाने संगीतकी अभियन्ता, गायक/संगीतकार झुमा लिम्बूको विचार छ– र्‍यापलाई ठ्याक्कै गीत भनिन्न । ‘एकदमै धेरै आक्रोश पोखिन्छ र्‍यापमा, राम्रो कुरा पनि पोखिन्छन् नै । र्‍याप संस्कृतिमा दुई–चार गाली नौलो विषय नै होइन, सामान्य हो । यो संस्कृतिको विकास नै त्यसरी भएको छ । र्‍याप–संस्कृति नबुझी सरकारले र्‍यापरमाथि गरेको व्यवहार परिर्वतन हुनुपर्छ, र्‍यापरहरू क्रिएटिभ मानिस हुन्,’ झुमा भन्छिन् । 

र्‍यापरलाई तिनका ‘लिरिक्स’ कै कारण जेलको हावा खुवाउने हो भने दोहोरी साँझमा पनि पुलिस पसे भइगो नि भन्छिन् झुमा । किन ? ‘दोहोरीमा झन् कम्ती फोहोरी बोलिँदैन’, उनी भन्छिन्, ‘दोहोरी गीतमा जिस्काजिस्की चलिहाल्छ, समाजले फोहोर भनेको शब्द फुत्किन्छ नै, त्यो स्वाभाविक हो । त्यसैले र्‍यापलाई पनि त्यसरी नै लिँदा हुन्छ ।’ 

हिप–हप संस्कृतिको विशिष्ट हिस्सा र्‍यापमा जबर्दस्त ‘राइमिङ’ र ‘वर्ड गेम’ समेटिन्छ । फ्लो अर्थात् शब्द र धुनबीचको लय नै र्‍यापको जीवन हो । बिट, बार, हुक, भर्स, डिस, फ्री–स्टाइल, पञ्च लाइन, ट्विस्ट यसका अवयव । र, तुकबन्दी, ताल, बोलीचालीको भाषा र्‍यापका प्राण हुन् । 

गीत/संगीत र साहित्यमाथि आलेख लेखिरहेका, समीक्षक र संगीत–व्यसनी राजकुमार बानियाँको बुझाइमा र्‍याप ‘कहानी भन्ने सम्मोहक कला’ हो । ‘श्रोता–दर्शकलाई भावनात्मक रूपमा बाँध्ने यो संगीतको लोकप्रिय शैली हो । यसमा हृदयको काव्यिक उद्गार नै आउनुपर्छ, अमूर्त, अधुरा वा कृत्रिमतालाई कुनै ठाउँ छैन,’ बानियाँ भन्छन्, ‘त्यसैले यसमा कथित सामाजिक अनुशासनको सीमा भंग हुन सक्छ । तर, नेपाली जनमानसलाई हिपहप संगीत अर्थात् र्‍यापबारे सामान्य साक्षरता नै छैन, र्‍यापरको जादूयी दुनियाँबारे बेखबर छ ।’ 

हिप–हप गायकलाई राज्यले दिएको दुःख र पक्राउ गरेको घटनाले दुःखी छन् बानियाँ । ‘यो त उत्पीडित संगीत हो । यसका कतिपय शब्द अश्लील मानेर म्युट गरिन्छन् । र्‍यापर अपराधी होइनन्, गुन्डा–नाइके होइनन् । तर, अराजक र बागी अवश्य हुन् । तसर्थ र्‍यापलाई असामाजिक मान्नुमै दृष्टिदोष छ,’ बानियाँको विचार छ । 

र्‍यापर निर्णय श्रेष्ठको अनुभवमा युवापंक्तिले र्‍यापरलाई एक संगीतकर्मी वा सचेत गायकलाई झैं व्यवहार र सम्मान गर्छन् । भन्छन्, ‘म र मेरा गीतलाई मान्छेहरूले प्रेम गरेका छन् ।’ तर, गीत गाएकैले आफूलाई पक्राउ गरेर ‘अपराधी’ को व्यवहार प्रदर्शन गरको सत्तासँग भिटेनको चित्त दुखेको छ । भिटेनको प्रश्न छ, ‘के गीत गाउनु पनि अपराध हुन्छ नेपाली समाजमा ?’ 

फिल्म निर्देशक नवीन सुब्बा सोचिबस्छन्– नेपाली समाजमा र्‍यापमाथिको बुझाइ गलत छ र र्‍यापलाई गम्भीर होइन, हल्काफुल्का र कमसल विधा ठान्नेहरूको बोलवाला कडा छ । ‘र्‍यापमा र्‍यापरले समाजकै क्राइसिस, मनोविज्ञान र कुण्ठा अभिव्यक्त गरिरहेको हुन्छ ।

त्यसैले र्‍यापलाई ध्यानले पर्गेल्न सके त्यहाँ युवा पुस्ताको मनोविज्ञान, तनाव, सुख–दुःख र सपना बुझ्न सकिन्छ,’ सुब्बा भन्छन्, ‘शासकको मन–मस्तिष्कमै र्‍यापलाई निषेध, नियन्त्रण गर्नुपर्छ भन्ने बुझाइ छ । र्‍याप गीतलाई हामी छाडा सोच्छौं, गायकलाई जेल कोच्छौं, यसरी त हामी कहाँ पुग्छौं ?’

असलमा परम्परा, यथास्थिति र जीवनका अनेक बाध्यताबाट मुक्ति खोजिरहेका वा स्वतन्त्रता र आत्मनिर्णय रोजिरहेका र्‍यापरहरू गीतहरूमा विसंगतिपूर्ण दासताबाट बाँधिएको समाजको गाथा गाउँछन् । परम्परित मान्यताविरुद्ध र समाजका कुरूपताविरुद्ध उभिएका र्‍यापरहरू विद्रोह–विम्ब हुन्, जसले समाजलाई भनिरहेका हुन्छन्– यहाँ सम्झौताको कुनै जरुरतै छैन ।

इतिहासका पानामा अभिलेखित छ– अफ्रिकी र पश्चिमा देशहरूमा र्‍यापको रिदमिक–काव्यात्मक भाषाको प्रयोग विरोध जुलुसहरूमा गरिएको, जुन अझै अभ्यासमा छँदै छ । त्यसैले ‘विद्रोह–विम्ब’ र्‍यापरलाई पक्राउ गर्नु, दुःख दिनु उसको सांगीतिक शैलीका कारण होइन, कडा आलोचनाले राज्य तर्सेर हो भन्छन्– संगीतकार आभास । ‘हाम्रा र्‍यापरले पनि आफ्नै शैलीमा राज्यको आलोचना गर्छन् । मलाई संगीतको रिदमिक शैलीले राज्य झक्झक्याउन नारा लगाएको मनपर्छ, तर म विरोधको शैली अश्लिल होइन, काव्यात्मकचाहिँ हुनुपर्छ भन्छु,’ आभास भन्छन्, ‘राज्यले आलोचना सहन छाड्नु निरंकुशताको अभ्यास हो । हाम्रो राज्य पनि र्‍यापरदेखि अरू खाले आलोचकलाई दुःख दिँदै छ भने हामीले राज्य निरंकुश बन्दै छ भन्ने बुझ्नुपर्छ ।’

मान्छेका सपना, खुसी, दुःख, पीडा, सकस, विश्वास–अविश्वास र उसले पहिल्याएका सत्य र्‍याप–रिदमका कन्टेन्ट हुन् । मान्छेको ‘सत्य’ र ‘विश्वास’ सधैं उस्तै नरहन सक्छ । एक र्‍यापरको ड्रम र बेस–बिटबाट निस्केको पार्श्व धुनले उसको खल्बली सुनाइरहेको हुन्छ । त्यो धुन हो– अगाडि, पछाडि वा बीचमा अनुप्रास मिलाउँदै ड्रम–बिटको तालमा ढुकचुक–ढुकचुक, ढ्याङ–ढ्याङ गर्दै गाइने संगीतको पारा/भाका । यो विरोधको भाका बन्यो र ग्याङस्टर्स पारामा पनि हिँड्यो । 

र्‍यापको ‘डिस’ हान्ने भाका नै नेपालमा बढी प्रचलित हो, भन्छन् मानवशास्त्री डम्बर चेम्जोङ । ‘पुलिसले दुःख दिएपछि र्‍यापर भिटेनले पुलिसलाई विपक्षी बनाएर हानेको र्‍याप ‘डिस’ हो । र्‍याप शैलीको छेडखानी, गफगाफ र अन्त्यमा अनुप्रास मिलाउँदै, लयात्मक पाराले गफ जोत्ने नेपाली र्‍याप उहिले पनि थियो, अहिले पनि छ,’ चेम्जोङ भन्छन् । 

बेलाबेला र्‍यापको भाका श्लोकमा, दोहोरीमा छेडछाड–हानाहान परेजस्तो (उसिनेको आलु खान्छस्–धाक लाउँछस् पेडाको–भित्रचाहिँ ब्वाँसो होस् तँ, छाला ओड्छस् भेंडाको) पनि सुनिन्छ । नेपालमा गुरुङ–रोदी बस्दा प्रश्नोत्तर गरेझैं वा लिम्बूले ख्याली खेल्दा ‘सागबारी साग छ, माया पो लाग्छ, रक्सीको बाहान, अर्काको जहान’ भनेजस्तो वा क्षेत्री–बाहुनको बिहेमा सिलोकमा ‘दुलहा आए बेउली लिन, जन्ती आयौ किन ?’ लाई नेपाली र्‍याप भन्छन् चेम्जोङ । 

नेपालीले र्‍यापरलाई कुन आँखाले हेर्छन् भन्ने विषय पुस्तान्तरणसँग पनि सम्बन्धित छ । जस्तो युवा पुस्ता र्‍याप–मोहमा छ, पुरानो पुस्तामा उत्ति मोह छैन (कतै नकारात्मक तहमै छ) । ‘पुरानो पुस्ताले कलाकर्मीलाई नै साधारणतः कर्के नजर लाउने, कुरा काट्ने चलन देखिन्छ, र्‍यापर असामाजिक हुन् भन्ने बुझेको देख्छु,’ चेम्जोङ भन्छन्, ‘कला के हो भन्ने सुझबुझ नहुनु, समाज बुझ्ने–हेर्ने दृष्टिकोण पुरातन हुनु र समाज परिवर्तनको पक्षलाई आत्मसात् नगर्नुका कारण र्‍यापरलाई पुरानो पुस्ताले नकारात्मक रूपले हेरेको देख्छु । जब कि पुराना पुस्ताका नेपाली आफैं पनि आफ्नै खाले र्‍यापमा रमाइरहेकै थिए ।’ 

यी मानवशास्त्रीको बुझाइ छ, राज्याधिकारीहरू अग्रगामी र परिवर्तनकारी हुँदैनन् । ‘किनभने परिवर्तनले उनीहरूलाई सत्ताच्युत गरिदिन्छ । राज्यले भिटेनलाई भौतिक डिस हान्छ, भिटेनले राज्यलाई र्‍यापे डिस । श्लील–अश्लीलको परिभाषा निर्धारण राज्याधिकारीहरूले गर्छन्, जुन नयाँ पुस्तालाई ढोङ लाग्छ । राज्यको चरित्र र स्वभाव संसारैभर उस्तै हुन्छ ।’ 

भिन्नाभिन्नै सामाजिक आकार, आयतन र संवेदनाको एकल स्वर हो– र्‍याप । हो यो– भावनाको उडान र आस्थाको आवाज, जहाँ जीवित भेटिन्छ– जीवनप्रतिको जिजीविषा । तर, शिक्षा सदन, शिक्षासेवी र शिक्षा नीतिमा संलग्नले जीवनमा संगीत, कला र साहित्यको महत्त्वपूर्ण योगदान छ भन्ने बुझेका छैनन् । समाजका अधिकांशले बुझ्न अझै बाँकी छ ।

गीतकार, संगीत विश्लेषक विप्लव प्रतीक राम्रो संगीतको सधैं प्रशंसक हुन्– चाहे त्यो र्‍याप होस्, शास्त्रीय होस् या नेपाली आधुनिक संगीत ! ‘संगीत र कलाको कुनै पनि प्रकारलाई स्वीकार वा अस्वीकार गर्ने कसैलाई अधिकार हुँदैन । हामीले संसारमा अस्तित्वमा आएका सबै कुरालाई सम्मान र स्वीकार गर्नुपर्छ,’ प्रतीक भन्छन्, ‘र, सबैले याद राख्नुपर्ने कुराचाहिँ के हो भने, र्‍याप गाउन सजिलो छैन । संगीतको आफ्नो खालको नियममा नबसी र आफूले गाइरहेको रिदम र मेलोडीको आधारभूत ज्ञानबिना र्‍याप गाउन सम्भव छैन ।’ 

प्रतीकको विचारमा नेपालीहरू आफ्नै बलबुतामा संगीत बुझ्छन्, उनीहरू संगीतका मामिलामा जजमेन्टल छन् र ‘क्रिटिकल एनालिसिस’ कमैले गर्न सक्छन् । ‘किनभने अधिकांश नेपालीलाई विद्यालयमा म्युजिक अप्रिसिएसन गर्न सक्ने शिक्षा आजसम्म दिइएको छैन– न साहित्य, न कला, न सिनेमा,’ विप्लव भन्छन्, ‘त्यसैले नेपाली आधुनिक संगीत नै लावारिस भएको मुलुकमा र्‍याप र हिपहपको अवस्था कस्तो छ, आफैं सोच्नुहोला । र, अलि आक्रामक तरिकाले आफ्ना कुरा प्रस्तुत गर्दा त्यो विद्रोही सुनिन्छ भने त्यसमा कसैले पनि चिन्ता व्यक्त गर्नुपर्दैन ।’ 

गीतलाई कविताझैं तालमा गाउने प्रत्येक र्‍यापरहरू समाजको आँखामा उभिइरहेकै छन्– प्रश्नहरूको गुजुल्टोले घेरिएर । उसको भूगोल र क्यानभास साँच्चै बेग्लै छ । ती बेग्लै सुनिन्छन् र किनारामै छन् । यदि र्‍याप गाउनुलाई ‘युवाहरूको कुण्ठा–विसर्जन’ मान्ने हो भने पनि त्यो कुण्ठा युवा–मनोविज्ञानको एक ऐना हो । समाजलाई विशिष्ट सन्देश दिनु नै र्‍याप हो, जहाँ समाजकै प्रतिविम्ब छ । र्‍याप र समाज समानान्तर रेखामा जानुपर्छ, कुनै बिन्दुमा त्यो चोइटिनु दुवैलाई हानिकारक छ ।

दीपक कला, साहित्य र सामाजिक विषयमा लेख्ने सापकाेटा कान्तिपुर दैनिककाे साप्ताहिक परिशिष्टाङक काेसेलीका संयाेजक हुन् ।

Link copied successfully