जमानाको काठमाडौं सहर, फर्की हेर्ने रहर

पद्मशमशेरको पालामा फाट्टफुट्ट घर–घरमा चिया पाक्थ्यो । पाहुना आउँदासमेत मान्छेहरू पसलमै पुगेर, चिया किनेर, कुनै भाँडोमा थापेर घर ल्याउँथे । ००७ सालतिर बीपी कोइराला गुप्त रूपमा धरहराको माइला साहूको पसलमा चिया खान पुग्थे । १९५० को दशकसम्मै पनि पसलमा गएर चिया खानु ‘नौलो’ मानिन्थ्यो । 

असार २१, २०८२

दीपक सापकोटा

Kathmandu city of old, longing to look back

काठमाडौँ — संसारको रीत हो– परिवर्तन । तर, हरेक परिवर्तन उति नै सुन्दर वा उति नै कुरूप हुन्छ भन्ने छैन । त्यो त परिवर्तनको सुरुवाती दिशाले तय गरेको बाटोले दिने अन्तिम परिणाम हो । जस्तो कि, काठमाडौं पनि परिवर्तित छ, जसरी परिवर्तित छन्– संसारका राजधानीहरू । तर, परिवर्तित काठमाडौंमा के छ, के छैन ?

स्पष्ट छ, बदलिएको काठमाडौंमा पहिलेको जस्तो कलकलाउँदो बागमती र यसको किनारको सभ्यता छैन, उपत्यकाका तीन प्राचीन सहरलाई चारैतिरबाट घेर्ने विस्तारित हरिया फाँटहरू छैनन् र छैन– यसको रैथाने जीवन । 

काठमाडौंका अँध्यारा–उज्याला सडक र गल्लीहरू अहिले पनि छन् । जहाँ लुकेका छन्– अनेकन कथा–किम्वदन्ती, जो कुनै समय एक जीवित संसारको अविराम हिस्सा थियो । ती हराए कतै, जसरी हरायो बागमतीमा कलकल पानी । जसरी हरायो, ‘त्रिपुर’ लाई घेरिबसेको खाली जमिन र जसरी हरायो–यहाँको रैथाने जीवन । 

ती कतिपय नदेखिएका छन्, कति खोतलिन बाँकी । हरेक सहर निर्मित हुन्छन्– बेनाम पात्रहरूबाट । र, कत्ति पात्रका नामचाहिँ सहरका अग्ला घर–बंगला र दरबारका सियालमा केही समय कुँदिन्छन् र केही बेनाम पात्रझैं बिलाउँछन् । 

२००७ सालपछि बदलिएको काठमाडौंको सभ्यता बुझ्न ज्ञानका ठेलीले भरिएका पुस्तकालयका अमूल्य ग्रन्थ होइन, ‘कोर’ काठमाडौंको सांस्कृतिक जीवन पढ्नुपर्छ, जसले डोर्‍याउने छन् इतिहासका डोबहरूमा । 

काठमाडौंको ‘कोर’ एरिया (केन्द्र वा भित्री बस्ती) अर्थात् इन्द्रचोकलाई मध्य पारेर ठहिटीदेखि असनचोक, असनदेखि झोंछे, भोटाहिटी वा मखनटोल, मखनदेखि टेकुसम्म ! विसं २००७ को प्रजातन्त्र प्राप्तिपछि काठमाडौं ‘कोर’ को सांस्कृतिक ल्यान्डस्केप र जीवनशैलीमा आएको बदलाव दृश्य–कथा नियालौं असनमा उभिएर । यो असन–फ्ल्यासब्याक काठमाडौं–जीवनशैलीतिर फर्किने एउटा ‘मेमोरी म्युजियम’ हो । असन–गल्लीका मट्मैलो रङका आख्यानले पुरानो समयतिर यहाँ डुलिहिँड्ने व्यापारीको वाणिज्य–संसारतिर पुर्‍याउँछ । 

सिसा टल्किएका अग्ला घरहरूतिर हेर्दा आँखै खाने घाम छ असनमा । वर्षामासमा पनि आकाश नीर छरेझैं निख्खर छ । कमलप्रकाश मल्लले लेखेकै छन्, ‘काठमाडौंको आकाश खासै धुम्मिएको र विरक्तलाग्दो हुँदैन । दिनको निश्चित समय र घामको दिशाअनुरूप बदलिरहन्छ परिदृश्य । सुन, चाँदी, माणिकजस्ता चुचुराहरू स्नानरत देखिन्छन् पृष्ठभूमिमा ।’ 

Kathmandu city of old, longing to look back

मान्छेको लर्को तन्केको छ– असन छिर्ने सातै नाकाहरू (बांगेमुढा, इन्द्रचोक, महाबौद्ध, भोटाहिटी, ज्याठा, कमलाक्षी, ठहिटी) मा । बहुप्रख्यात असंभलु अजिमा (अन्नपूर्ण मन्दिर) अघिको खुला स्थानमा मध्याह्न १२ बजे व्यापक भीड छ । ‘भीडभाड’, ‘ठेलमठेल’ को विराट विम्ब बनेर उभिएको छ– असन । जस्तै: भीड जनाउन उसै भनिन्छ– ‘असनको जस्तो भीड’ । 

यो भीडमा कुनैबेला थिमितिरबाट खर्पन बोकेर चामल, चिउरा, दाल लिई आउने थोक व्यापारीहरू मिसिएका हुन्थे– यहाँ ती सामान बेच्थे र नुन, तेल, मसला लिएर थिमि फिर्थे । ऊबेला काठमाडौंको बजार–भाउ असनले निर्धारण गर्थ्यो ।

असन असलमा एक आदिम बजार हो, जसले सैयौं वर्षको सहरी नेपाली आर्थिक इतिहास बताउन सक्छ । शताब्दीऔं पुरानो बजारको सान र वैभव बोकेर टाढाबाट सौदा गर्न आइपुग्ने पुराना मान्छेका कथा वाचन गर्दै उँघिरहेछ असन । जस्तो असनको यो ‘भीडभाड’ चोकबाट केलटोल जाने बाटोको दाहिनेतिर लस्करै उभिएका मसला पसलमध्येको एक वीरेन्द्र तुलाधरको पसलले दुई सय वर्षदेखि ग्राहकको दुःख–सुख देखेको छ, अनुहारको थकान पढेको छ, तीसँग खासखुस गरेको छ । 

उहिले–उहिले रुपैयाँ थिएन मान्छेसँग । थियो त केवल पैसा । ग्राहक एक पैसा, दुई पैसा, पाँच पैसाका सामान किन्थे–फर्किन्थे । पैसा भन्नु तामा–पित्तलको ढ्याक हुन्थ्यो । २००७ साल आसपास असनका ढल्ला–ढल्लाझैं उभिएका जीर्ण घरहरूमा राँगाको मासु मात्रै किन्न पाइन्थ्यो, खसी यदाकदा । कुखुराको मासु सबैभन्दा महँगो हुन्थ्यो, सस्तोचाहिँ राँगा । 

ऊबेला घरको ‘माथि चोटा’ वा ‘बुइँगलमा’ भट्टी पसल चलाइन्थ्यो, जसलाई ‘सुलिँ’ भनिथ्यो । पछि सुलिँ पसलहरू ‘तल’ भुइँतल्लामै झर्न थाले । त्यहाँ लोकल रक्सी, थ्वँ (छ्याङ) र केही सितन पाइन्थ्यो । सुलिँ भुइँतल्लामा झरेपछि भट्टी पस्नेहरूको संख्या पनि बढ्न थाल्यो । तिनै भट्टी अहिले ‘अपग्रेड’ हुँदै बार–रेस्टुरेन्टमा बदलिएका छन् ।

Kathmandu city of old, longing to look back

२००७ साल अघिसम्म काठमाडौंमा स्कुल प्रतिबन्धित थियो । खुल्ला स्कुल नभए पनि केही शिक्षाप्रेमीहरू घरमै विद्यार्थी जम्मा गरी लेखपढ सिकाउँथे । त्यो चलन टोल–टोलमा व्यापक थियो । त्यस्ता कोठे स्कुलहरू ढोकाबहाल, गणबहाल, इन्द्रचोक, बांगेमुढा, न्हैंकन्तला, न्ह्योखा टोलहरूमा विद्यमान थिए । ००७ सालको जनक्रान्ति र प्रजातन्त्र प्राप्तिपछि तिनै कोठे–स्कुल प्रभात मावि, शान्ति शिक्षा, नेपाल आदर्श, विश्व–निकेतन नामहरूमा अस्तित्वमा आए ।

०००

राजदरबारमा रानी कान्ति राज्यलक्ष्मी देवी शाहको उपचार निम्ति २००५ सालमा नेपाल ल्याइएकी थिइन्– थेरापिस्ट चिकित्सक एरिका ल्युकट्याग । उनको आँखामा कैद भएको काठमाडौंको भू–दृश्य यो कंक्रिट–काठमाडौंसँग मेल खाँदैन । एरिकाको आँखामा चित्रित काठमाडौंको तस्बिर कस्तो थियो ? 

चन्द्रागिरि भन्ज्याङतर्फको बाटोमा सुन्दर पुतलीहरू गुराँसमाथि नाचिरहेका हुन्थे । ...उपत्यकामा तीनवटा नदी थिए । सुरुमा पग्लिएको नौनीजस्तो रङ र पछि घामको छाया परेका ठाउँहरूमा गाढा नीलो रङको देखिने ती नदी अत्यन्तै चित्ताकर्षक देखिन्थे । उपत्यकामा तीनवटा सहर थिए– एकआपसमा जोडिएका र घामको प्रकाशमा सुनौला र मणि–माणिक्यका मालाजस्ता । मैले लाल झिँगटीका छाना र सुनका गजुरहरू देखें । ...थानकोटबाट ओरालो बाटो लगभग पैदलै पार गरेँ । हाम्रो लागि एउटा भिन्टेज अमेरिकी कार अडिएको थियो ।...पत्थरको खस्रो सडक हुँदै हामी काठमाडौंतर्फ लाग्यौं । ...रूखहरू पहरेदारझैं थिए र त्यसका छायामा खेत देखिन्थे । बाक्लो कालो माटोमाथि मनग्य तरकारी उब्जनी भएको देखिने सानो बस्तीबाट हामी अगाडि बढ्यौं ।...मैले उपत्यकालाई नयनमार्फत मनमा कुँदें,’ (एरिका एन्ड द किङ) । एरिकाले २००५ सालमा वर्णन गरेको ‘मणि–माणिक्यको’ सहर काठमाडौं अब सिमेन्टको थुप्रो बन्यो ! यो सहरको त्यो भू–दृश्यमा पूरै बदलाव आयो । 

कमलप्रकाश मल्लको एउटा मर्मस्पर्शी निबन्ध छ, ‘काठमाडौं तिम्रो काठमाडौं’, जहाँ उनले यस सहरको बदलिँदो भू–दृश्यमाथि अर्थपूर्ण चिन्तन गरेका छन्, ‘धेरै हरिया भेग उजाड बन्दै छन्, खुल्ला ठाउँ अतिक्रमणमा पर्दै छन् । काठमाडौंको भौतिक सम्पन्नता उजाडिँदै छ । इँटामा सिमेन्ट लेपिएका र थरीथरीका भद्दा रङ पोतिएका कथित स्मार्ट भवनले भरिएको उपनगर क्षेत्रमा पनि काठमाडौंको वैभवता निरीह छ ।’ 

Kathmandu city of old, longing to look back

काठमाडौंको भू–दृश्यमा जे बदलाव आयो, त्यो परिर्वतन–कहानी आज अनौठो कथा लाग्छ । आजको यो सहभित्रका स्थानहरू २०२५–३० सालसम्मै पनि ‘सहरबाहिर’ का ठाउँ थिए । जस्तो कवि शैलेन्द्र साकारको स्मृतिमा बानेश्वर वा कोटेश्वर यो ‘बानेश्वर’, यो ‘कोटेश्वर’ झैं थिएन, काठमाडौंबाट ‘सुदूरका बस्ती’ थिए । साकार २०१८ सालको मध्यमा भोजपुरबाट काठमाडौं आइपुगे र नक्साल भगवती बहालमा बसे । पाउरोटी पहिलो पटक देखे–खाए, खुब स्वादिलो माने । उनी ०२६ सालतिर बानेश्वर सरे । ‘अहिलेको संसद् भवनको ठाउँमा आर्मी ब्यारेक थियो, बाटोमा सुंगुर हिँड्थे । बानेश्वरमा हिलो वा धूलो वा फोहोर व्याप्त थियो । बानेश्वर बस्ती निक्कै सानो थियो, जहाँ स–साना झुप्रामा मान्छे कपडा सिलाउने व्यवसाय गर्थे ।’ 

सन् १९७७ मा रिङरोड निर्माण सुरु हुँदाका पनि साक्षी हुन् साकार । ‘काठमाडौं’ बाहिरै बनाइयो रिङरोड । ‘त्यस बेलासम्म काठमाडौंमा लमतन्न फैलिएको हरियो फाँटै देखिन्थ्यो’, साकार भन्छन् । साकार बानेश्वरबाट हिँड्दै–हिँड्दै न्युरोड पुग्थे । हिप्पीहरूसँग पनि उनले थोरै संगत गरिहेरे, जो आफूलाई ‘फ्लावर–चिल्ड्रेन’ भन्थे । ‘मैले पनि तीसँग गाँजा–चुरोट खाएँ कहिलकाहीं,’ साकार भन्छन्, ‘हिप्पीहरू वसन्तपुर चोकतिर वा मरु गणेशतिर वा स्वंयम्भूको डाँडामा छरिएका हुन्थे ।’

०००

प्रख्यात दरबार हाई स्कुल चल्तीका दुई सडकबीच पर्छ– बायाँ बाटो भोटाहिटीतिर जान्छ, दायाँ कमलाक्षीतिर । कमलाक्षीबाट असनतिर जाँदा कुनाय् टोल मोडिने कुनामा एउटा साइकल पसल छ– ‘पञ्चनारायण/अष्टनारायण’ ! ‘कोर’ काठमाडौंको सांस्कृतिक जीवनमा आएको परिवर्तन–कथाको एउटा साक्षी हो कमलाक्षीको यो साइकल पसल । 

यो पसलको आदिम कथाले काठमाडौंको सडक, यातायात र उहिलेको सवारी–कथा वाचन गर्छ । राणाकालीन समाज, ००७ सालको प्रजातन्त्रपछिको खुल्ला नेपाली समाज र त्यस बेलाका मान्छेका जिन्दगी–लय वा जीवनशैली सुनाउँछ । यो साइकल पसल राणाकालीन बर्बर दिनहरू र प्रजातान्त्रिक आन्दोलनको उज्यालोको साक्षी हो, जसले साइकलको घन्टी बजाउँदै आफ्नो समयको रहस्यमयी र तिलस्मी जीवन–कथा भन्छ । 

Kathmandu city of old, longing to look back

काठमाडौंको समाजमा आइरहेको परिवर्तनको जीवन्त इतिहास हुन सक्छ यो साइकल–कथा, जुन मान्छेहरूको पुरानो समयको कहानी मात्रै होइन, सहरी नसा र धमनीको जीवन्त दस्ताबेज पनि हो ।

यो पसलको जीवन उज्यालो, अँध्यारो, तनाव, खुसी–दुःख मिलेर निर्मित छ– एउटा मान्छेजस्तै । निशाचरझैं राति अबेरसम्मै सडकमा साइकल–डाइनामोको पातलो उज्यालोको डोरोमा गुड्दै सहर घुम्ने ‘अष्टनारायण’ र ‘अष्टनारायण’ हरू बाँचेको समय इतिहासको पानामा कसरी पुरिएको थियो ? पसलको–स्मृतिले भन्छ ।

स्थानीय पञ्चनारायणका छोरा अष्टनारायण मानन्धरले खोलेका हुन्– ‘पञ्चनारायण/अष्टनारायण’ साइकल पसल । संस्कृति अध्येता सुरेश किरणका अनुसार, यो नेपालकै पहिलो साइकल पसल हो । अष्टनारायण–तीर्थनारायण– त्रिरत्न हुँदै तिरेक मानन्धरले यो साइकल पसल चलाइरहेका छन् ।

मोटरको सपनै देखेको थिएन काठमाडौंले, जतिबेला राजा–महाराजा चार घोडाले तान्ने बग्गीमा गुड्थे । सवारी भन्नु कि हात्ती थियो कि बग्गी, जसको उपयोग कुलीनहरूले मात्रै गर्थे । हुन त काठमाडौंमा मोटर–बाटो पनि थिएन । भीमफेदी हुँदै चन्द्रागिरि पर्वतको बाटोबाट भरियालाई बोकाएर एक–दुई मोटर काठमाडौं भित्रेको कथा ऊबेला प्रख्यात थियो । मोटरबारे यसो भनिन्थ्यो– घोडा नचाहिने बग्गी ! 

Kathmandu city of old, longing to look back

विसं. १९६० को समय हो यो, जतिबेला सोखिन राणाहरू भारतबाट एक–दुई साइकल ल्याएर आफ्नो सोख पूरा गर्थे । विसं. १९८५ तिर आँखाभरि सपना भरेर व्यवसाय गर्न अष्टनारायण कलकत्ता गए, आधा दर्जन साइकल लिएर आए । र, आफ्नै घर कमलाक्षीमा साइकल पसल चलाए । ती साइकल थिए– बेलायतको हर्कुलस कम्पनीका । अष्टनारायणले ती साइकल मुसलमानहरूको पसल हसाबी एन्ड कम्पनीबाट किनेका थिए । साइकल रक्सौलदेखि अमलेखगन्जसम्म नेपालको रेल हुँदै ल्याइएको थियो । त्यहाँबाट लहरीमा भैंसे, भैंसेबाट धोरसिंगको रोपवे, रोपवेबाट काठमाडौंको टेकु भन्सार ! 

हर्कुलस साइकल सय रुपैयाँमा बेचिन्थ्यो, रेली ९० मा । बिस्तारै कमलाक्षी टोलै साइकल–बजार बन्यो । तीर्थनारायण मानन्धरले आफ्नो किताब ‘काठमाडौं : उहिले र अहिले’ मा त्यो पुरानो साइकल–कहानी लेखेका छन् । यो साइकल पसलले नेपाली समाज बाँचेको अतीतको विशिष्ट अन्तरंग हिस्सा सुनाउँछ । नेपाली यातायात–संस्कृतिको पहिलो अध्यायका रूपमा पनि यो पसललाई लिन सकिन्छ । काठमाडौं उपत्यकाको दुःख के थियो भने जहाँ जानुपरे पनि हिँड्नुपर्थ्यो, काठमाडौं–पाटन, पाटन–भक्तपुर ! २००७ पछि नै अजिंगर गतिमै सही बाटोघाटो र यातायातको सुविधा विस्तार भयो । दूरी अब ‘दूर’ रहेन । 

Kathmandu city of old, longing to look back

सन् १९५० को दशकमा त्रिभुवन राजपथमार्फत काठमाडौं जोडिनु ‘मोडर्न’ काठमाडौंको कोसेढुंगा थियो । त्यसपछि अष्टनारायणझैं ‘बास बस्दै’ भीमफेदीको बाटो हुँदै काठमाडौं छिर्नुपर्ने अवस्था रहेन । मधेस र नेपालका अरू भागसँग वा संसारसँगैको दूरी घट्यो । 

‘त्यसपछि काठमाडौंमा सामाजिक, सांस्कृतिक परिवर्तन र विकासले झनै गति लियो । काठमाडौं ‘मोर्डनाइज’ हुने गति पनि बढ्यो,' काठमाडौंमाथि अध्ययन/अनुसन्धान गरिरहेका सामाजिक इतिहास अनुसन्धाता प्रवास गौतम भन्छन् । 

०००

२००७ सालको प्रजातन्त्र प्राप्तिपछि २०८२ सम्म आइपुग्दा यो ७५ वर्षमा काठमाडौंले अनेकौं बदलाव देख्यो– राजनीतिक, आर्थिक, सामाजिक रूपमा । नयाँ श्रम–बजार र सहरी जीवनतिर पसिरहेका छन् मान्छेहरू । सधैं केन्द्र रह्यो काठमान्डौं, जहाँ आँखाभरि सपना भरेर सुदूरदेखि भर्भराउँदा मानिस ओइरिए । तिनैले सहरको नयाँ संस्कृति–संस्कार निर्माण गरे । आफैं गरिखान, नयाँ उत्पादनमाथि स्वामित्व बनाउन मान्छेहरू काठमाडौंमा तल्लीन छन् । जीविकोपार्जन सहज बनाउन मानिस सहरको नसाभित्र कठोर संघर्षमा सामेल छन् ।

कमलप्रकाश मल्लले काठमाडौंलाई ‘एउटा विसंगत सहर’ भनेका छन्, ‘राजधानी काठमाडौंको विसंगति भौतिक र पराभौतिक दुवै खालको छ । एकातिर यहाँ सुन्दर प्राकृतिक परिदृश्य छ त, अर्कोतिर मानव बसोबासले निम्त्याएको कुरूपता ।’ 

यो सहर कसरी ‘विसंगत’ भयो ? क्रान्तिले निर्माण गरेको यो ‘साँघुरो कचौरा’ अर्थात् काठमाडौं उपत्यकामा विशिष्ट रूपमा के फेरिए ? हाम्रो समुदायको जीवनशैली, रहनसहन, मनोरञ्जनका साधनका बदलिँदा स्वरूप कस्ता थिए ? 

दोस्रो विश्वयुद्धको अन्त्य, डिकोलोनाइजेसन र ग्लोबलाइजेसनलाई सहर परिवर्तनको पनि प्रमुख संकेत मान्ने हो भिन्न–भिन्न कालखण्डमा घटेका यी विशिष्ट घटनाको प्रभाव यो सहरमा पनि पर्‍यो । यो सहरमा सम्भवतः सन् १९९७ पछि हो– अनियन्त्रित सहरीकरण सुरु भएको । 

Kathmandu city of old, longing to look back

अनुसन्धाता प्रवास गौतमका विचारमा विश्वव्यापी घटनाको असरले सन् १९४० को दशकमा काठमाडौंमा पनि राजनीतिक मात्रै होइन, सामाजिक र सांस्कृतिक परिवर्तन टड्कारो देखापर्न थाले । ‘त्यो दशकमा सुरु भएका परिवर्तनका संकेत १९५०, १९६० को दशकमा विस्फोट भए । जस्तो चिया पसल, रेस्टुरेन्टजस्ता सार्वजनिक वृत्त, सिनेमा संस्कृति आदि,’ प्रवास भन्छन्, ‘काठमाडौंमा चिया पसल, रेस्टुराँजस्ता सार्वजनिक स्थलको मात्रा क्रमिक रूपमा सन् १९५०, १९६०, १९७० मा बढ्दै १९८०, १९९० को दशकदेखि व्यापक हुँदै गएका हुन् ।’

चिया पसलहरू सहर जीवन्त बनाउने, जागरण र चेतना निर्माण गर्ने स्थानीय थलोहरू हुन् । चिया पसल वा होटलमा बसेर गफ गर्ने चलन सुरु हुनु सहरको सुन्दर संस्कृति थियो, जसले सार्वजनिक वृत्त पनि निर्माण गर्‍यो ।

चेतना मलिलो बनाउने त्यो फराकिलो सार्वजनिक वृत्त निर्माण गर्न डिल्लीबजारको लप्टनको होटलको असाध्यै महत्त्वपूर्ण गुण छ, जहाँ पहिल्यै पद्मकन्या कन्या स्कुल स्थापना भइसकेको थियो । डिल्लीबजारको पुरानो नाम माघडोल हो । ‘डिल्लीबजार’ नामचाहिँ कर्नेल डिल्लीबहादुर बस्नेतको नामबाट रहन गयो । 

डिल्लीबजार ओह्रालोमा रहेको लप्टनको होटल २००४ साल आसपास खुलेको थियो, जहाँ महाकवि लक्ष्मीप्रसाद देवकोटको सानिध्यमा थिए– जनकलाल शर्मा, श्यामदास वैष्णव, हृदयराज शर्मा, मोहन कोइराला, शंकर लामिछानेहरू । त्यस होटलका मालिक थिए– लप्टन कृष्णबहादुर खत्री क्षेत्री । आर्मीबाट रिटायर्ड भएपछि उनले त्यो होटल खोलेका थिए । होटलको नाम देवकोटाले नामकरण गरिदिएका थिए– लप्टनको होटल । 

‘देवकोटासँग चिया खाएर बस्थ्यांैं, पाँच पैसामा चिया पाइन्थ्यो,’ डिल्लीबजारका लेखक अरबिन्द रिमाल (९२) भन्छन्, ‘प्रजा परिषद् र प्रोग्रेसिभ स्टडिज सर्कलका मान्छे त्यहाँ चिया–खाजा खान आइपुग्थे । ००४ सालको जयन्तु संस्कृतम् आन्दोलनका मान्छेहरू पनि आउँथे । राहुल साङ्कृत्यायन, टंकप्रसाद आचार्य, ऋषिकेश शाह, डिल्लीरमण रेग्मी, कीर्तिनिधि विष्ट, यादवप्रसाद पन्तहरूले त्यो होटलको दुध चिया खाएका छन् । गौरवको समय थियो त्यो । महेन्द्र शाहले ‘त्यहाँ चिया खान नजानू’ भनी आदेश नै दिएका थिए ।’ 

‘डिल्लीबजारको लप्टनको होटल’ किताबका लेखक अरबिन्द–स्मृतिमा सम्भ्रान्तका घर डिल्लीबजारमै थियो । २००७ आसपास हाफ पाइन्ट, फोल्डिङ पाइन्ट वा कमिज–सुरुवालमा हिँडिरहेका हुन्थे पुरुष । अक्सर साडीमा हुन्थे महिला । हत्तपत्त मोटर नदेखिने त्यो जमानामा महिला कहीँ जानु परे ताम्दान बोलाउँथे । 

धरहरानजिकै थियो अर्को चिया पसल । मान्छे भन्थे, ‘धरहराको माइला साहूको पसलमा चिया खान जाने ।’ ००७ सालतिर बीपी कोइराला गुप्त रूपमा त्यहाँ चिया खान बरोबर पुगिरहन्थे । पद्मशमशेरको पालामा फाट्टफुट्ट रूपमा घर–घरमा चिया पाक्थ्यो । पाहुना आउँदासमेत मान्छेहरू पसलमै पुगेर, चिया किनेर, कुनै भाँडोमा थापेर घर ल्याउँथे । १९५० को दशकसम्मै पनि पसलमा गएर चिया खानु ‘ज्यादै नौलो’ मानिन्थ्यो । 

काठमाडौंको चियाजस्तै छ– सिनेमा संस्कृतिको गति र लय पनि । सन् १९५० को दशकदेखि नै काठमाडौंमा रञ्जना, विश्वज्योति र पाटनमा अशोक सिनेमा हलहरूको निर्माणले गति पायो । बलिउड काठमाडौंको ‘मेनस्ट्रिम’ बन्यो । बलिउड स्टार्स, हिन्दी गीत मान्छेका चर्चाका केन्द्र बने । बलिउड–क्रेज कस्तोसम्म थियो भने काठमाडौंका ठिटाहरू काठमाडौंमा प्रतिबन्धित धर्मेन्द्रका सिनेमाहरू हेर्न ट्रकै चढेर रक्सौससम्म पुग्न थाले । 

२०४० सालतिर मखनटोल भिडियो फिल्मका कारण प्रख्यात वा कुख्यात थियो । यो गल्लीका भिडियो फिल्मसँग सुरेश किरणको ठूलो लगाव थियो । ‘मखनटोलको सय मिटर लामो गल्लीमा करिब दुई सय भिडियो स्क्रिन थिए, जहाँ बलिउडका नयाँ फिल्म प्रदर्शन हुन्थे । प्रत्येक घरका प्रत्येक तल्ला एक–एक सिनेमा हलजस्तै थिए, जहाँ ३० देखि ५० मानिस कोच्चिएर फिल्म हेरिरहेका हुन्थे,’ सुरेश भन्छन् । 

प्रवास गौतमको बुझाइमा जातपात र छुवाछूतको चलनमा पनि धीमा गतिमा परिवर्तन सुरु भयो २००७ सालपछि । ‘चिया पसलहरूमा कसैको जातभन्दा पनि व्यक्तिले चिया किन्न सक्ने क्षमता राख्छ कि राख्दैन भन्ने कुराको माइने हुन्थ्यो । यसरी एउटै चिया पसलमा तथाकथित ठूलो जात र तथाकथित सानो जात चिया खान्थे । यस्ता विषयले विस्तारै जातपातकै कारण हुने छुवाछूतलाई च्यालेन्ज गर्‍यो,’ प्रवास भन्छन् । र, यसरी काठमाडौंको सामाजिक इतिहासको लामो शृंखलामा बदलाव आयो । 

०००

'कोर’ काठमाडौंको सांस्कृतिक परिर्वतनमा झोंछेको बेग्लै रङ छ, रंगीन फ्ल्यासब्याक छ । झोंछे अर्थात् अति प्रख्यात एक ओसिलो गल्लीको यो कथाले हामीलाई धूवाँमय काठमाडौंका साँघुरा गल्लीतिर विचरण गराउँछ । राजा महेन्द्र शाहको ‘कु’ पछि विसं. २०१७ देखि २०२७–२०३० सम्म यो गल्लीले अन्तर्राष्ट्रिय सान–मान कमायो, जब हिप्पीहरूले यसलाई आफ्नो प्रिय थलो बनाए । विश्व मानचित्रमा यो गल्लीको नामकरण भयो– फ्रिक स्ट्रिट ।

कचौरा स्वरूपा काठमाडौंलाई ‘चिसो एस्ट्रे’ भन्ने भूपि शेरचनले हिप्पी र फ्रिक स्ट्रिटमाथि कविता लेखेका थिए–

‘ट्रिप’ मा मग्न हिप्पीकुमारको अंगालोमा 

अर्धनग्न पीताम्बर साडी–ब्लाउजमा

फ्लावर बेबी हिप्पी मैयाँ नयाँ सडकमा हिँड्छे

नयाँ सडकका तमाम आँखाहरूलाई 

आफ्नो नाइटोमा खोपाएर

हिप्पीहरू मैलो र्ह्वालाङ्गे कपडामा सहर घुम्थे, अक्सर ती गाँजा तानिरहेका भेटिन्थे, मन लागेका गल्लीहरूमा सुतिदिन्थे, तिनका कपाल पशुपतितिरका चिलिम तानेर लठ्ठ साधुझैं लट्टा परेका हुन्थे । ती ‘फ्री लाइफ’ का पक्षधर थिए । भजन गाएरै रात बिताइदिन्थे– हरे शिव, हरे शिव..! पर्यटकका लागि काठमाडौं एउटा मिथकीय सहर थियो– पश्चिमा जगत्को तुलनामा शान्तिले भरिपूर्ण । मार्क लिक्टी लेख्छन्, ‘हिप्पी नाम नेपालीले नै दिएका हुन् । उनीहरू आफ्नै लागि त हिप्पी कसरी हुन्थे ? ....उनीहरू जेसुकैमा रमाउँथे, खुसी हुन्थे । त्यसैले ‘ह्याप्पी ह्याप्पी’ भन्दाभन्दै हिप्पी भयो,’ (हिप्पीका पालामा : सन् १९६० र १९७० को दशकका पर्यटकबारे नेपालीको बुझाइ) । 

‘युद्ध होइन, प्रेममा विश्वास गर’ भन्दै नेपाल छिरेका ती पश्चिमेली युवा शान्तिको गीत गाउँथे । तिनैले तानेको गाँजामा लठ्ठ थियो– फ्रिक स्ट्रिट । 

Kathmandu city of old, longing to look back

स्वयम्भू–डाँडामा घाम डुबिरहँदा हिप्पीहरू गितारको धून, गाँजा र ह्यासिसमा मग्न–मग्न रहन्थे । ‘यहाँ ह्यासिस पाइन्छ’ लेखिएको साइनबोर्ड त्यसबेला काठमाडौंको ‘सान’ थियो । 

हिप्पीकै कारण काठमाडौंमा ‘वेस्टर्न म्युजिक’ फैलियो । हिप्पीहरू ‘खर्च टार्न’ साथै ल्याएका सामान वसन्तपुरमा काठमाडौंवासीलाई बेच्थे– जिन्स, क्यासेट–रेकर्डर...। ‘हिप्पी–ट्रेल’ हुँदै युरोपबाट काठमाडौंसम्म हिप्पीहरू जुन गाडीमा आउँथे प्रायःले बसाइ सकिएपछि देश फिर्दा गाडी पनि बेच्थे । ‘त्यसरी काठमाडौंवासीले किनेका कयौं गाडी सार्वजनिक यातायातका रूपमा भक्तपुरदेखि काठमाडौंसम्म चल्थे । सायद आज पनि भक्तपुरबाट बागबजारसम्म चल्ने केही गाडी हिप्पी–समयकै छन्,’ प्रवास भन्छन् । 

ओमबहालमा खुलेको ‘होटल इडन’ ह्यासिस–होलसेलर बन्यो । इडन–रेस्टुरेन्टमा ह्यासिसका चिया–कफी पाइन्थ्यो । स्म्याक, ब्राउन सुगर पनि प्रवेश गर्‍यो । र...त्यसपछि ? ‘जंकीहरू’ समातिन थाले । विस्तारै ‘फ्रिक स्ट्रिट’ बाट हिप्पीहरू हराउँदै गए । 

हिप्पीहरूको जीवन र फरक संसारमाथि बलिउडका अभिनेता देव आनन्दले ‘हरे रामा, हरे कृष्णा’ फिल्म बनाए, जसको केही अंशको सुटिङ ‘फ्रिक स्ट्रिट’ मै भयो । त्यो एक दशकको धूवाँमय वैभवको मोहमा ‘फ्रिक स्ट्रिट’ झन् रंगीन बन्दै छ । 

Kathmandu city of old, longing to look back

ऊबेला ‘मुक्त मन लिएर बाहिरबाट आएका युवाहरूको संगत गर्ने’ बेग्लै उत्साह र चाह थियो– प्रोफेसर अभि सुवेदीसँग । हिप्पीहरू स्वतन्त्र, अराजक र शान्तिवादी थिए, जोसँग अथाह मानवता–भाव थियो । संगीत तिनको नशा थियो, किताब तिनको साथी । ती पश्चिमी युवासँग हाम्रा प्रिय प्रोफेसरले संगत गरे । ‘संगतको प्रभाव मलाई धेरै पर्‍यो नि भाइ,’ फ्रिक स्ट्रिट नजिकै ठमेलको हिमालयन जाभामा अमेरिकानो सिंगल सट पिउँदै अभि सरले टाढा–टाढा पुगिसकेका हिप्पी र तिनका नोस्टाल्जिया याद गरिहेरे, ‘हिप्पीसँगको संगतको अन्तर्य साहित्य नै थियो । मैले उनीहरूसँग कविताबारे छलफल गरें । उनीहरूले ल्याएका किताब पढें ।’

‘न्युरोड’ (पुरानो नाम पाको पुखुद्यां) को ब्ल्याक–एन्ड ह्वाइट कहानी नभनी काठमाडौंको बदलाव–कथा अधुरो–अधुरो हुनेछ । जति बेला साइकल थिएन, न्युरोडमा मोटरसाइकल भाडामा दिइने पसल थियो । नेपालकै पहिलो पत्रिका ‘गोरखापत्र’ को प्रेस न्युरोडमै थियो, राष्ट्रिय संवाद समिति (आज राष्ट्रिय समाचार समिति) को कार्यालय पनि यहीँ थियो । 

नयाँ रोडहरू खुब बने, तर न्युरोड ‘नयाँ सडक’ नै रह्यो । यहीँको पीपलबोटमा जमघट भएका कवि–लेखकले जागरणका अनेकन कविता–कथा लेखे, जहाँ राजनीतिदेखि, सामाजिक–आर्थिक विषयमाथि घन्टौं विमर्श चल्थ्यो । २००७ को प्रजातन्त्रपछि २०८२ सम्मको ‘कोर’ काठमाडौं–बदलावको असली साक्षी हो– न्युरोड, जुन खटप्वालबाट हाम्रो समाजको खास चित्र र चरित्र चियाउन सकिन्छ ।

चोभारमा मञ्जुश्रीले प्रहार गरको खड्गको डोबको कथा यो सहरले असाध्यै धेरैपटक ‘रिभिजिट’ गरिसक्यो, तर पीपलबोट र बन्द भइसकेको इन्दिरा रेस्टुराँछेउ बुट पलिस गर्नेहरूबारे ‘बेखबर’ छ । 

Kathmandu city of old, longing to look back

२००७ पछिको काठमाडौं–जीवनशैलीमा मन्दिर, बिहार, पाटी–पौवा, वासः पसल र गल्लीसँगै थपिएका छन्– मल, मल्टिप्लेक्स सिनेमा–घर, लाउन्ज, रात्रि–क्लब....। खाना–अध्यायको मेनुमा बारासँगै पिज्जा, बर्गर प्रवेश गरेको छ । ग्ल्यामर थपिएको छ– कफी हाउसदेखि चिया पसलसम्म ।

अब विराट् रूपमा बदलिएको छ– ‘कोर’ काठमाडौंको सांस्कृतिक ‘ल्यान्डस्केप’ ! मान्छेहरूले काठमाडौंलाई बदले कि काठमाडौंले मान्छेहरूलाई ?

दीपक कला, साहित्य र सामाजिक विषयमा लेख्ने सापकाेटा कान्तिपुर दैनिककाे साप्ताहिक परिशिष्टाङक काेसेलीका संयाेजक हुन् ।

Link copied successfully