परिवर्तनको छहारी : पीपलबोट

राणाकालदेखि प्रजातन्त्र, पञ्चायत, बहुदल हुँदै गणतन्त्रकालसम्म पीपलबोट हरेक परिवर्तनको साक्षी बनिरह्यो । अहिले पनि पीपलबोट त यहीँ छ, तर बदलिएको छ समय । फेरिएको छ, कवि–लेखकको जमघटस्थल । बुट पालिस गर्न वा पत्रिका पढ्नकै लागि पीपलबोट धाइरहनु पर्दैन । अबको पचास वर्षपछि पीपलबोटले कस्तो कथा सुनाउला ?

असार २१, २०८२

फणीन्द्र संगम

Changeling: PeopleBot

काठमाडौँ — लेखक–पत्रकार किशोर नेपालको मस्तिष्कमा पीपलबोटको जराजस्तै गडिएको छ, न्युरोड–नोस्टाल्जिया । यो त्यही पीपलबोट हो, जुन बौद्धिक जागरणको एउटा केन्द्र थियो । 

गोरखापत्र प्रकाशनको मुख्यालय र पत्रपत्रिकाको उपलब्धताका कारण कवि, लेखक, पत्रकार र राजनीतिकर्मीका लागि भेटघाटको थलो यही थियो । नेपाल त आफ्नो राजनीतिक चेतनाको बीज नै पीपलबोटबाट सुरु भएको बताउँछन् । ‘राजनीतिक दलहरू प्रतिबन्धित रहेको अवस्थामा पनि न्युरोड अग्रज–अनुजको जमघट हुने ठाउँ थियो,’ उनी भन्छन्, ‘यहाँ प्रजातन्त्रको दियो कहिल्यै निभ्न पाएन ।’

त्यसो त राजनीतिकर्मीको अखडासमेत पीपलबोट भएकाले राज्यको नजर पर्ने नै भयो । यहींबाट गिरफ्तारका कैयौं घटना भएको उनी सम्झन्छन् । सीआईडी–सुराकी तैनाथी अवस्थामै रहन्थे । राजनीतिक, साहित्यिक आन्दोलनको सुरुवाती योजना यहींको जमघटबाट बन्ने गर्थ्यो । 

खासमा राणाकालदेखिकै न्युरोड एक केन्द्र बनिसकेको थियो । राणा शासनविरुद्ध खोलिएको संगठन नेपाल प्रजा परिषद् नजिकै ओमबहालमा थियो, जहाँ धर्मभक्त माथेमा बस्थे । यसरी पीपलबोट बौद्धिक जमातको भेटघाट थलो बन्दै गयो । पुरानादेखि नयाँ पुस्तासम्मका साहित्यकारको मिलनबिन्दु बन्यो ।

त्यसबेला लेखकहरूको सायङ्कालीन जमघट समय कटाउने मेलो मात्रै थिएन । तिनै मित्रमण्डलीबाटै साहित्यका अनेक आयाम विस्तारित हुन पाए । विचारधाराका हिसाबले त्यसबेला पनि लेखकहरू प्रगतिशील र प्रजातान्त्रिक धारमा थिए तर अहिलेको जस्तो चर्को ध्रुवीकरण थिएन भन्छन्, नेपाल । उनको सम्झनामा त्यसबेला सर्वाधिक प्रभावशाली कवि थिए– मोहन कोइराला र भूपि शेरचन । कोइराला प्रजातान्त्रिक धारका, शेरचन प्रगतिशील ।

Changeling: PeopleBot

पीपलबोटनजिकै इन्दिरा रेस्टुराँ खुलेको थियो । सम्भ्रान्त हैसियतका कवि–लेखक रेस्टुराँ छिर्थे । नेपालका अनुसार रूपरेखा मासिकका सम्पादक उत्तम कुँवर, भूपि, द्वारिका श्रेष्ठ, कृष्णभक्त श्रेष्ठ, अमेरिकी दूतावासमा काम गर्ने जगदीश माथेमालगायत नाम चलेका बुद्धिजीवी, साहित्यकार र पत्रकारहरूको नियमित सायङ्कालीन बैठक इन्दिरामै जमेको हुन्थ्यो । 

मोती महल अर्को अड्डा थियो । हरेक साँझ यहाँ पनि साहित्यकार, राजनीतिकर्मीको उपस्थिति हुन्थ्यो । त्यो भीडबीच हुन्थे– शैलेन्द्र साकार, ध्रुवचन्द्र गौतम, उपेन्द्र श्रेष्ठ, हरिभक्त कटुवाल, नारायण ढकाल, हरि अधिकारी, भवानी घिमिरे, ध्रुव सापकोटा, कविताराम, मोहन घिमिरे, अशेष मल्ल, कणाद महर्षि, तोया गुरुङ, ओममणि शर्मालगायत । ‘लेखनमा जोस भएका कवि–लेखकबीच यहीं घण्टौं साहित्य लेखन र जीवन लगायतका विषयमा विमर्श चल्थ्यो,’ नेपाल भन्छन् ।

कवि–लेखकको भेटघाट गर्ने थलो अम्बर गुरुङ निवास पनि थियो । बागबजार छिर्ने टुकुचाको पुलको उत्तरपट्टि सानो घर भाडामा लिएर उनी बस्थे । गुरुङ निवासमै नेपालले केही समय शंकर लामिछाने, भूपिसँग संगत गर्ने अवसर पाएका थिए ।

इन्दिरा मात्रै होइन रञ्जना गल्लीको डाँफे रेस्टुरेन्ट, आम्रपाली, नेपाल बैङ्लोर हाउस, नेपाल कफी हाउस, आरसी मोमो, गणेश मानन्धरको पसल, कवि विजय बजिमयको पसलमा साहित्यिक माहोल जमिरहन्थ्यो । 

साहित्यिक र समसामयिक संकलनका साथै भारतीय पत्रपत्रिकासमेत पाइने भएकाले लेखकहरू पीपलबोट पुगेकै हुन्थे । रञ्जनागल्लीको मुखैमा थियो, सन्देश गृह । यहाँ टाइम्स अफ इन्डिया, हिन्दुस्तान टाइम्स, स्टेट्सम्यान, नेसनल हेराल्ड, नवभारत टाइम्स, अमृतबजार, हिन्दुस्तान स्ट्यान्डर्ड, धर्मयुग, दिनमानजस्ता पत्रिका आउँथे । सारिका, कादम्बिनी, नवनीतजस्ता साहित्यिक पत्रिका आउने भएकाले लेखकहरूको भीड लाग्ने गरेको नेपाल सम्झन्छन् ।

कवि शैलेन्द्र साकारको सम्झनामा पीपलबोट भन्नेबित्तिकै याद आउने पात्र हुन्, भूपि शेरचन । सम्भ्रान्त परिवारका भूपि टाई सुटमा ठाँटिएर न्युरोड आइपुग्थे । ‘इन्दिरा रेस्टुराँको अघिल्तिर उभिएर सडकका मान्छे नियाल्दै चुरोट तानिरहेका भूपिको चित्र अहिले पनि मेरो दिमागमा छ,’ साकार भन्छन्, ‘उनी केहीबेर त्यहाँ उभिन्थे । पछि शंकर लामिछाने, तुलसीनाथ ढुंगेल, कृष्णभक्त, उपेन्द्र श्रेष्ठहरू आएपछि रेस्टुराँ उक्लिन्थे, हामीचाहिँ मल्होत्राको चिया पसलतिर छिर्थ्यौं ।’ त्यहाँ हुन्थे नारायण ढकाल, विमल निभा, सन्तोष भट्टराईहरू ।

२०१८ सालको अन्तिमतिर काठमाडौं आएका साकारले धेरै पटक भूपि र सिद्धिचरणलाई पीपलबोट आसपास देखिरहे । उनलाई रोचक घिमिरे र भैरव अर्यालले गोपालप्रसाद रिमाललाई चिनाइदिए । रिमाल भने कहिलेकाहीं मात्र पीपलबोट आउँथे । ‘उनी आउनासाथ अरू कविले पागल आयो भनेर जिस्काउँथे । रिमाल अस्थिर खालका थिए, केके बर्बराउँदै हिँड्थे,’ साकार सम्झन्छन्, ‘मैले कैयौंचोटि बुझ्न खोजेँ के भन्दा रहेछन् भनेर तर बुझ्न सकिनँ ।’

पीपलबोट चौतारोमा पत्रपत्रिका फिँजाएर विक्रेता बसेका हुन्थे । आफ्नो पेसासँगै उनीहरूको चासो लेखक–पत्रकारबीच हुने बहस–विमर्शतिर पनि हुन्थ्यो । यहीं जुत्ता पालिस गर्नेहरू काठको ससाना बाकस लिएर लहरै बसेका हुन्थे । ‘जुत्ता पालिस गर्ने ठाउँ अरूतिर थिएन, पत्रपत्रिका यहाँबाहेक नपाइने,’ साकारले पीपलबोट केन्द्र बन्नुको कारण खुलाए, ‘इन्डियन पत्रिका पनि यहीं आउँथे । गोरखापत्र त भूगोलपार्कमा टाँसेको हुन्थ्यो, हामी त्यहीं पढ्थ्यौं ।’

Changeling: PeopleBot

पत्रकार प्रकाश गुरागाईं नयाँ सडकको कथालाई पुस्तक ‘जङसन पीपलबोट’ मार्फत यसरी सुनाउँछन्, ‘विजय मल्ल पीपलबोटमुनि उभिएर पाँच सय पचपन्न चुरोट तानिरहेका हुन्थे । मोहन कोइराला प्रायः अरूकै कुरा सुनिरहेका भेटिन्थे । सन्तोष भट्टराई ‘अराजक’ औंलो हल्लाएर रूढि विचार र समकालीन मान्यताहरूको आलोचना गरिरहन्थे । पोषण पाण्डे कविता सुनाइरहेका हुन्थे । पीपलबोटमुनि साहित्यकारका अनेक झुन्ड उभिएका भेटिन्थे । अनेक भावभंगी हुन्थ्यो । गोपालप्रसाद रिमाल, सिद्धिचरण श्रेष्ठ, गोविन्द मल्ल ‘गोठाले’ यही सडक भएर आवतजावत गर्थे । साँझ करिब चार बजेदेखि सात बजेसम्म पीपलबोटमा जता फर्किए पनि साहित्यकार, राजनीतिकर्मी, पत्रकार र जासुस भेटिन्थे ।’

लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, वासु पासा, दौलतविक्रम विष्ट, पुरुषोत्तम बस्नेत, नगेन्द्र थापा, मदन 

रेग्मी, रत्नशमशेर थापा, पुण्य सुवेदी, चित्तरञ्जन नेपाली, रमेश विकल, मनु ब्राजाकीसम्म पुग्ने थलो यही थियो । डोरबहादुर विष्ट, भीमदर्शन रोका, दमननाथ ढुंगाना, लोकराज बराल पनि कहिलेकाहीं पुगेकै हुन्थे । अभि सुवेदी, पुरुषोत्तम सुवेदी, विमल निभा, राजव, नारायण ढकाल, शार्दूल भट्टराई, श्यामल, अविनाश श्रेष्ठ, नयनराज पाण्डेहरू अहिले पनि पीपलबोटमा भेटिइरहन्छन् ।

अभि सुवेदीले त इन्दिरा रेस्टुराँमै पहिलो पटक कफीको स्वाद लिन पाएका हुन् । ‘मैले पीपलबोटको त्यो केन्द्रवर्ती थलोलाई मेरो नागरजीवनको सबैभन्दा महत्त्वपूर्ण अभिव्यञ्जना उजागर गरिदिने स्रोत ठानेको छु । त्यसलाई आधार राखेर यताका र पश्चिमका नारदर्शन र साहित्य रचनाका आधार भेटेको छु,’ सुवेदीले आफ्नो निबन्ध ‘पीपलबोट’ मा लेखेका छन् ।

डिल्लीबजारस्थित लप्टनको होटलमा विशेषगरी महाकवि देवकोटा गइरहन्थे । नजिकै घर भएकाले पनि उनी मासु–चिउरा खान होटल छिर्थे । कतिसम्म भने ट्युसनका विद्यार्थीलाई पनि त्यहीं लगेर पढाउने गरेको इतिहास–अध्येता प्रवास गौतमले पत्रकार सुधीर शर्माको पोडकास्ट ‘अनि अब’ मा सुनाएका छन् । शंकर लामिछाने, विजय मल्ल, भूपि शेरचन, धर्मराज थापाहरू यहीं भेटघाट गर्थे । 

नक्सालस्थित शम्भुनाथ पाण्डेको घरमा २०१० सालमा खुलेको मनोरञ्जन पुस्तकालय होस् या न्युरोडको अमेरिकन वा ब्रिटिस लाइब्रेरी, चेतना विस्तारमा तिनको आफ्नै भूमिका थियो । वसन्तपुरस्थित नेपाल–भारत सांस्कृतिक केन्द्रमा कवि गोष्ठी भइरहन्थ्यो । एक पटक केन्द्रको पुस्तकालय अध्यक्ष बनेका थिए, शंकर लामिछाने । त्यसकारण पनि लेखकहरूको अर्को भेटघाट थलो थियो, सांस्कृतिक केन्द्र ।

ब्रिटिस लाइब्रेरीमा त सिनेमा पनि देखाइन्थ्यो । काठमाडौंको समाजमा अंग्रेजी सिनेमाप्रतिको बढ्दो रुचि र चाहना बुझेर बेलायती दूतावासले चर्चित अंग्रेजी सिनेमाको साप्ताहिक प्रदर्शन व्यवस्था मिलाएको पत्रकार किशोर नेपाल बताउँछन् । ‘काठमाडौंका युवायुवतीमा अंग्रेजी भाषाको मोह बढ्दै थियो । सिनेमा र संगतका माध्यमले अंग्रेजी भाषा सिक्न मद्दत पुग्ने हुँदा हुने खाने परिवारका सदस्यको त्यसप्रति आकर्षण बढेको थियो । आधुनिक जीवनशैलीमा रमाउने युवतीहरूको संख्या निकै कम थियो । लो कट ब्लाउज, जिन्स सर्ट वा मिनी स्कर्टमा देखिने युवती त झनै कम थिए । अंग्रेजी सिनेमामा रुचि भए पनि सोसाइटीको सदस्यता लिन सक्ने आर्थिक हैसियत मेरो थिएन,’ आफ्नो पुस्तक ‘मेरो समय’ मा उनले लेखेका छन् ।

पञ्चायतविरुद्ध साहित्यकार

पञ्चायतविरुद्ध कवि–लेखकको संयुक्त आन्दोलनका रूपमा चैत ३ चर्चित छ । २०४६ चैत ३ गते त्रिचन्द्र क्याम्पसको सरस्वती सदनमा मुखमा कालोपट्टी बाँधेर गरिएको बौद्धिक विद्रोह थियो त्यो ।

पारिजातदेखि कमलमणि दीक्षित, आनन्ददेव भट्ट, युद्धप्रसाद मिश्र, कृष्णचन्द्रसिंह प्रधान, खगेन्द्र संग्रौला, कृष्णसेन इच्छुक, रामेश, रायन, अरुणा उप्रेती, शारदा शर्मा, अञ्जु दीक्षित, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, अशेष मल्ल, गोविन्द वर्तमान, आहुतिलगायत आन्दोलनमा सहभागी थिए ।

प्रदर्शनकारीलाई प्रहरीले ट्रक र भ्यानमा कोचेर लगे पनि पारिजातलाई भने उनीहरूले पक्राउ गरेनन् । ‘उहाँ पलेँटी कसेर बस्न नसक्ने भएकाले मुढाको व्यवस्था गरिदिएका थियौं । त्यही मुढामा बसेर पारिजात दिदीले मुखमा कालोपट्टी बाँध्नुभयो,’ हरिगोविन्द लुइँटेलले सन्धान डटकममा लेखेका छन् । 

Changeling: PeopleBot

कवि स्नेह सायमीका अनुसार लुइँटेलको सक्रियतामा २०५४ फागुन २६ गते ‘सिर्जना चैत ३ साहित्यिक अभियान’ घोषणा भयो । जसमा लुइँटेल र सायमीसहित गोविन्द वर्तमान, राजकुमार केसी र राजेन्द्रप्रसाद अधिकारी थिए । २०५६ फागुन २० गते पुनर्गठनपछि नारायण ढकाल, विमल निभा, राजेन्द्र महर्जन र सुरेश किरण थपिए । खगेन्द्र संग्रौला र रामेश श्रेष्ठ सल्लाहकार रहे । सायमीको कविता संग्रह ‘पुल र पर्खालहरू’ सिर्जना चैत ३ कै नामबाट प्रकाशित भएको थियो ।

पञ्चायविरुद्धको विद्रोहका रूपमा २०२६ मै जन्मिएको थियो, ‘अमलेख’ । द्वारिका श्रेष्ठ, कृष्णभक्त श्रेष्ठ, भूपि शेरचन, मोहन कोइराला, मदन रेग्मी, ध्रुवचन्द्र गौतम, रत्नशमशेर थापा, भुवन ढुंगानालगायत यो आन्दोलनमा जोडिए । त्यसबेला उनीहरू ‘सिउँडी’ साहित्यिक प्रकाशन निकाल्थे । ‘इन्दिरामा चिया खानेहरूले अमलेख सुरु गरेछन्, हामीलाई पछि थाहा भयो,’ कवि साकार हाँस्दै भन्छन्, ‘हामीले पनि अस्वीकृत जमात सुरु गर्‍यौं ।’

पीपलबोट आसपासमै २०३१ सालमा जन्मिएको अर्को अभियान थियो, ‘योङ राइटर्स फ्रन्ट’ । जसमा साकारसहित मोहन घिमिरे, ध्रुव सापकोटा, भाउपन्थीलगायत आबद्ध थिए । त्यसबेला सरकारले साहित्यका सबै सामयिक संकलन/प्रकाशनमा रोक लगाइसकेको थियो । ‘चारैतिर पञ्चायत र महेन्द्रबाहेक सुनिँदैनथ्यो । लेटरप्रेसमा छापेको पत्रिका अञ्चलाधीशले सेन्सर नगरी ल्याउनै नपाइने,’ पत्रकार नेपाल सुनाउँछन्, ‘अभिव्यक्ति स्वतन्त्रता नभएको देशमा सबै विचारधारका लेखकबाट विरोधको संकेतस्वरूप बुट पालिस आन्दोलन जन्मिएको हो ।’

त्यही योजनास्वरूप सुरुमा साकार, कविताराम श्रेष्ठ, ध्रुव सापकोटा र मोहन घिमिरे बुट पालिसका लागि न्युरोड पुगेका थिए । अचानक बालकृष्ण सम पनि आइपुगे । उनले जुत्ता पालिस गराएबापत एक–एकका ५ वटा नयाँ नोट दिएको साकार सम्झन्छन् ।

२०३६ सालको जनमत संग्रह घोषणापछि पीपलबोटबाटै जन्मियो, ‘सडक कविता क्रान्ति’ । भवानी घिमिरेले नेतृत्व गरेको यो आन्दोलन पाटन, भक्तपुर हुँदै उपत्यकाबाहिर विराटनगर, तनहुँ, पोखरालगायत ठाउँसम्म पुग्यो ।

यसरी पीपलबोट हरेक परिवर्तनको साक्षी बनिरह्यो । राणाकालदेखि प्रजातन्त्र, पञ्चायत, बहुदल हुँदै गणतन्त्रकालसम्म । अहिले पनि पीपलबोट यहीं छ, तर बदलिएको छ समय । फेरिएको छ, कवि–लेखकको जमघटस्थल । बुट पालिस गर्न वा पत्रिका पढ्नकै लागि पीपलबोट धाइरहनु पर्दैन । अबको पचास वर्षपछि पीपलबोटले कस्तो कथा सुनाउला ?

फणीन्द्र फिचर र साहित्य लेखनमा सक्रिय संगम ईकान्तिपुरमा कार्यरत छन् । उनी डेढ दशकभन्दा लामाे समयदेखि पत्रकारिता, लेखन र सम्पादनमा क्रियाशील छन् ।

Link copied successfully