६ दशकअघि भारतबाट बाकसमा चक्कासहित फिल्म ल्याइन्थ्यो, एउटा फिल्मका दुई/तीन वटा चक्का हुन्थे, ‘इन्टरभल’ को मौका छोप्दै दुई हलमा चक्का साटासाट गरेरसमेत फिल्म चलाइन्थ्यो
काठमाडौँ — नेपालमा ‘फिल्म हल’ को सुरुवात कुनै व्यापारिक उद्देश्यले नभएर दरबारिया मनोरञ्जनको माध्यमका रूपमा भएको थियो । राजपरिवार र राणापरिवारले काठमाडौंका दरबार परिसरमा आफ्ना लागि बनाएका सिनेमाघर २००६ सालपछि बिस्तारै सर्वसाधारणका लागि खुला गरिए।
नेपालकै पहिलो फिल्म हल भनिने ‘काठमाडौं सिनेमा भवन’ वा ‘जनसेवा हल’ बसन्तपुर दरबारछेउ, न्युरोडमा थियो । जय नेपाल हल नारायणहिटीछेउ, हात्तीसारमा र विश्वज्योति जमलको सेतो दरबारमा थिए । दरबार हुँदै आम घरपरिवारको पहुँचमा पुगेका हलहरूले प्रविधि, सेवासुविधा, आधुनिकता, विविधतामा फड्को मारेका छन् ।
२६ मंसिर २००६ मा ‘रामविवाह’ फिल्मको प्रदर्शनसँगै काठमाडौं सिनेमा भवन सार्वजनिक हलका रूपमा उद्घाटन भयो । मार्टिन चौतारीका अध्येता लोकरञ्जन पराजुलीको लेख ‘पहिलो सिनेमा घरको कथा : फस्ट सोमा सधैं राजा’ मा उल्लेख भएअनुसार काठमाडौं सिनेमा भवनमा टिकट बेचेर सिनेमा देखाउने प्रबन्ध भएको थियो ।
‘प्रारम्भमा श्रेणी हेरी ५० पैसादेखि पाँच रुपैयाँसम्म सिनेमाको टिकट दर तोकिएको थियो, जुन अहिलेभन्दा महँगो हो,’ उनले लेखेका छन्, ‘पहिलोदेखि चौथोसम्म र बक्ससहित पाँच श्रेणी थिए । बक्सचाहिँ राजपरिवार, राणा परिवार तथा उच्च तहका कर्मचारीका लागि मात्र थियो ।’
२००९ सालमा जय नेपाल, २०१४ मा ‘रञ्जना’ हल सञ्चालनमा आए । त्यसपछि विश्वज्योति, पाटनको अशोक हल र भक्तपुरको नवदुर्गा हलजस्ता सिनेमा घर स्थापना भए । हलमा २०२२ सालसम्म हिन्दी र अंग्रेजी फिल्म चल्थे किनभने नेपाली फिल्म बनेकै थिएनन् । कलकत्ताका निर्माताको लगानीमा ‘सत्य हरीशचन्द्र’ बनाएर जनसेवा हलमा देखाइएको कतिपय जानकार बताउँछन् ।
पशुपति दर्शनका लागि २०१३ सालमा काठमाडौं आएका गरिबनाथ सराफ जमलस्थित सेतो दरबार परिसरमा जीर्ण हल बन्द हुने खबर सुनेपछि यतै बसेका थिए । भारतमा फिल्म वितरण व्यवसायमा संलग्न उनले नेपालमा हल व्यवसायको सुनौलो भविष्य देखे । ‘बुबाले हल भाडामा लिएर मर्मत–सम्भार गर्नुभयो, भारतबाटै सिट र प्रोजेक्टर मगाउनुभयो,’ आठ वर्षको छँदा बुबासँगै नेपाल आएका मोहन सराफ सम्झन्छन्, ‘त्यसपछि पहिलोपल्ट सम्मी कपुरको वसन्त भन्ने फिल्म देखाइएको थियो । फिल्मको चक्का भारतबाटै भाडामा ल्याउनुपर्थ्यो र फिल्म देखाइसकेपछि फिर्ता गरिदिनुपर्थ्यो ।’
गरिबनाथले २०१७ सालमा देवेन्द्रशमशेर जबराबाट जमलको २ रोपनी जग्गासहित ४ लाख रुपैयाँमा विश्वज्योति हल खरिद गरेको ७० वर्षीय मोहन बताउँछन् । त्यो बेला फिल्म भारतबाट बाकसमा चक्कासहित ल्याइन्थ्यो । एउटा फिल्मका दुई/तीन वटा चक्का हुन्थे । ती चक्का कहिलेकाहीं ‘इन्टरभल’ को मौका छोप्दै दुई हलमा साटासाट गरेर चलाउनुपर्ने अवस्था थियो । ‘हलमा गेटकिपर, टिकेट सेलर, म्यानेजर गरी १५ जनाजति कर्मचारी राख्ने गरिन्थ्यो,’ मोहनले सुनाए ।
फिल्म प्रविधि सेलुलोइड हुँदै एनालग, त्यसपछि भिडियो अनि डिजिटलपछि अहिले लेजर, फोरके डिजिटलसम्म आइपुगेको छ । फिल्म हलको साउन्ड सिस्टम पनि मोनो साउन्ड, स्टेरियो हुँदै डल्बी डिजिटल र अब त डल्बी एटमससम्म आइपुगेका छन् । नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जनका अनुसार अहिलेका मल्टिप्लेक्स हलहरूले हलिउडस्तरको अनुभव दिन सक्छन् । रिक्लाइनर सिट, प्रिमियम इन्टेरियर, एटमस साउन्ड र डिजिटल प्रोजेक्टरहरूले ‘लक्जरियस’ बनाइदिएका छन् । ‘मैले २०५०/५१ सालमा पुरानो एनालग प्रविधिमा सिंगल थिएटरबाटै सिनेमा हलको व्यवसाय प्रारम्भ गरेको हो,’ महर्जन भन्छन्, ‘प्रविधि अपग्रेड गर्दै अहिले मल्टिप्लेक्स सञ्चालन गरिएको छ ।’
मल्टिप्लेक्समा पार्किङ, फास्ट फुड, साउन्डप्रुफ, सोफा, एसीदेखि आकर्षक इन्टेरियर डिजाइन, सेल्फी स्पटजस्ता सुविधा छन् । मोहन सराफका अनुसार पहिले हलमा लोकल सोडा मात्रै बेचिन्थ्यो । हलबाहिर मःम र खुवाको बरफ पसल हुन्थे । जनसेवा हलका पसल कवलमा पानसुपारी, खाने मसला, चुरोट, सलाई, दूध, चिया, बिस्कुट, मिठाई, रोटी, सोडा, मीठा पानी, सिरप आइसक्रिम लगायत बजार दरमा नबढाई बिक्री गर्न दिइएको २७ मंसिर २००६ को गोरखापत्रको ‘काठमाडौंमा सिनेमा उद्घाटन’ समाचारमा उल्लेख भएको छ, यसको विवरण पनि अध्येता पराजुलीले खुलाएका छन् ।
अहिले हलभित्रै रेस्टुरेन्ट सञ्चालन गरिएको हुन्छ । ‘हलको आधा आम्दानी फुड काउन्टरबाटै हुन्छ,’ धरान र बुटवलमा ‘फ्रेन्ड्स सिनेमाज्’ सञ्चालन गरेका आशिष तामाङ भन्छन्, ‘हललाई अम्युजमेन्ट पार्कजस्तो बनाउने अभ्यास पनि भइरहेको छ । नेपालगञ्जको रोयल सिने यस्तै प्रकृतिको छ, त्यहाँ पानीको फोहरा, झुमरहरू राखिएका छन् ।’ उनका अनुसार काठमाडौं बाहिरका पुराना हाई–भिजन हलहरू बन्द भइसके । ‘डिजिटाइजेसन महँगो भएपछि अपग्रेड सम्भव भएन,’ उनी भन्छन्, ‘एउटै हल डिजिटाइज गर्न ३/४ करोड रुपैयाँ लाग्छ । त्यत्रो लगानी गरेर पनि मुनाफा सुनिश्चित हुने अवस्था अहिले छैन ।’
कवि अभय श्रेष्ठको सम्झनामा उतिबेला हलहरूमा ६ थरी टिकट हुन्थे– ड्रेस सर्कल, बाल्कोनी, स्पेसल, फर्स्ट, सकेन्ड र थर्ड क्लास । ‘हलभित्र साह्रो न साह्रो सिट हुन्थ्यो,’ नेपाल चलचित्र निर्माता संघको ‘सिनेमा विशेषांक’ मा उनले लेखेका छन्, ‘फिल्म चल्दाचल्दै झ्यारझ्यार आउने, ध्वनि नआउने, दृश्य गायब हुने, बत्ती जाने त सामान्य भइहाले । तैपनि फिल्म हेर्नुको मजासामु यी साना समस्या केही थिएनन् ।’
हल व्यवसायमा ७ दशक बिताएका मोहन सराफ पहिले हल सञ्चालनको सबैभन्दा ठूलो चुनौती ‘क्राउड व्यवस्थापन’ र ‘पिक्चर सप्लाइ’ रहेको स्मरण गर्छन् । त्यसको उदहारण दिँदै पाटनको तत्कालीन अशोक हलमा ‘सिन्दूर’ फिल्म चलाउँदाको प्रसंग उनी सुनाउँछन्, ‘अशोक हल त्यो फिल्म एक्लै चलाउँछु भनेर लागिपरेको थियो । क्राउड यति धेरै भयो, क्राउडले तोडफोड नै गरेपछि १५ दिनसम्म हल बन्द गर्नुपरेको थियो ।’ उनी आफैंले पनि २०४२ सालमा दर्शक धेरै ओइरिएपछि विश्वज्योतिको सिट क्षमता विस्तार गर्न नयाँ हल बनाएका थिए । पहिले ५ सय ४३ सिटको हललाई १ हजार १ सय ५७ सिटको बनाएर मल्टिस्क्रिनको अभ्यास आफूले थालनी गरेको उनी दाबी गर्छन् । साथै, बक्स अफिसको चलन पनि विश्वज्योतिबाटै प्रारम्भ भएको उनको भनाइ छ ।
सराफका अनुसार सुरुवाती दिनमा फिल्म हल चलाउन जेनेरेटर चलाउनुपर्ने अवस्था थियो । विद्युत् प्राधिकरणको बिजुलीले हलको उपकरण धान्दैनथ्यो । त्यसैले ब्याकअपका लागि मात्रै बिजुली काम लाग्थ्यो । २०२३ सालतिर त्रिशूली जलविद्युत् परियोजनाको बिजुली काठमाडौं ल्याएपछि मात्र सहज भयो,’ उनले भने ।
फिल्म हल चलाउन अञ्चलाधीशबाट लाइसेन्स लिनुपर्ने व्यवस्था २०२८ सालमा सञ्चार मन्त्रालय स्थापना भएपछि हट्यो । चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ बमोजिम मन्त्रालयबाट लाइसेन्स लिनुपर्ने भयो । २०३८ सालमा उद्योग तथा वाणिज्य मन्त्रालय स्थापना भएपछि हल व्यवसायले उद्योगसरह मान्यता पाएको सराफ बताउँछन् ।
वि.सं. २०५० का आखिरी वर्षहरूमा मनकामना, तारा, हिरारत्न, अशोक, चामुन्डा, नागार्जुन, रञ्जना, शिवदर्शन, गोपी, गुण, विश्वज्योतिजस्ता परम्परागत ‘स्ट्यान्ड अलोन’ हलहरू राम्रै चलिरहे । सुविधाका हिसाबले हलहरू गतिला नभएको समयमा नकिम उद्दिन, भास्कर ढुंगाना र राजेश सिद्दीको समूहले क्यूएफएक्स सुरु गर्यो । जय नेपाल हलको व्यापक स्तरोन्नति गरी डिजिटल प्रविधिमार्फत फिल्म देखाउने परिबन्ध मिलाएर उनीहरूले ‘क्यूएफएक्स ब्रान्ड’ सञ्चालनमा ल्याएका थिए ।
‘त्यो बेला मनकामना, विश्वज्योति, हिरारत्न, गोपी सबै हल राम्रो चलिरहेका थिए, हामी त स्टार्टअप थियौं । टिकटको चलिरहेको मूल्य ५० रुपैयाँबाट बढाएर १७५ रुपैयाँ राख्दा यिनीहरू डुब्छन् भन्थे मान्छेले,’ केही समयअघि कान्तिपुरसँग भाष्करले भनेका थिए, ‘तर त्यति बेलाका हलले एक जमातको ग्राहकलाई मात्र सेवा दिइरहेका थिए, अलि सुविधा खोज्नेहरूका लागि हल नै थिएन । भेन्टिलेसन राम्रोसँग थिएन । फोहोर शौचालयबाट रोग नै फैलिने त्रास हुन्थ्यो । जय नेपालमा हामीले सुविधासँगै अग्निनियन्त्रक साधन, एक्जिट प्यासेजजस्ता सुरक्षा प्रबन्ध राखेर स्पाइडर म्यान देखाउँदा हल खचाखच भरियो ।’ क्यूएफएक्सले बिस्तारै डिजिटलबाहेकका फिल्म नचलाउने भनेपछि फिल्म निर्माण पनि डिजिटल फर्म्याटमा हुन थाल्यो ।
‘बिग सिनेमाज्’ (हाल बिग मुभिज) ले सपिङ मलमै माघ २०६६ देखि सिनेमा हल सञ्चालन गरेर नयाँ प्रयोग थाल्यो । एकभन्दा बढी स्क्रिनसहित भारतीय कम्पनी रिलायन्स वर्क्स लिमिटेडले त्यो हल सुरु गरेको थियो । त्यसबेला नेपालका धेरैजसो फिल्महल डिजिटल प्रविधिमा रूपान्तरण भइसकेका थिए । सुरुमा अंग्रेजी मात्रै देखाउने गरी सञ्चालनमा आएको क्यूएफएक्समा पनि हिन्दी हुँदै नेपाली फिल्म देखाउन थालियो । अहिले त हिन्दी र अंग्र्रेजी फिल्म हेर्ने दर्शक नै घटेको हल व्यवसायीहरू बताउँछन् ।
युवा पलायन, ओटीटीको सहजताले अहिले भने हलमा दर्शक घटिरहेको व्यवसायीहरूको भनाइ छ । अंग्रेजी फिल्म हेर्ने गतिलो हल नभएर क्यूएफएक्स जय नेपालमा सुरु गरेका नकिम उद्दिनहरूको समूहले जय नेपाल हल बन्द गरिसकेको छ । अहिले नेपाली फिल्महरूले नै आर्थिक रूपमा हलहरू टिकाइरहेको फ्रेन्ड्स सिनेमाका तामाङको अनुभव छ । ‘नेपाली फिल्महरू यत्तिको नबनेका भए धेरै हल बन्द भइसक्थे,’ उनी भन्छन्, ‘तर, नेपाली फिल्मको प्राविधिक स्तर अझै पनि हलको स्तरसँग मेल खाँदैन । हलमा डल्बी एटमस भए पनि फिल्म त्यो साउन्डमा बनेका छैनन् ।’
स्थापनाको ६० वर्षपछि मोहन सराफले २०७९ सालमा विश्वज्योति हललाई समेत मल्टिप्लेक्समा रूपान्तरण गरेर ‘विश्वज्योति सिनेप्लेक्स’ सञ्चालनको जिम्मा आफ्ना दुई छोरा रोहन र रिवाजलाई हस्तान्तरण गरेका थिए । यहाँ अब व्यवस्थित पार्किङ, आधुनिक लिफ्ट, हेयर सलुन, फ्यान्सी पसलदेखि फास्टफुड रेस्टुरेन्टसम्मको सुविधा थपिएको छ । यस परिवर्तनलाई स्वाभाविक ठानेका सराफ कहिलेकाहीं भने प्रश्न गर्छन्, ‘कतिपय हलले सुतेर हेर्ने मिल्ने, मदिरा सर्भ गर्ने र ढाड मसाज गर्ने कुर्सीको व्यवस्था गरेका छन् । हलमा यो सब किन ? सुतेर कसरी फिल्म हेर्नु ? हलमा त सिनेमाको पो स्वाद लिने हो त ।’
