पछिल्लो समय नेपाली फिल्महरूमा अर्थपूर्ण दृश्यहरूको प्रयोग बढिरहेको छ, कमर्सियल वा आर्ट जुनसुकै सिनेमामा आए पनि यस्तो प्रयोगले सिनेमाको भाषालाई समृद्ध बनाइरहेको छ
दृश्य १ हर्षजितले जार काट्न पाउँछ । श्रीमती ठूलीलाई रुद्रमानले प्रेम गरेको छ । ऊ नै हर्षजितको जार हो । काट्ने भनेर निश्चित गरेको दिन रुद्रमान हर्षजितभन्दा नौ पाइला पहिले उभिन पाउँछ । हर्षजितले हातमा खुकुरी बोक्न पाउँछ । मुखियाले काट् भनेपछि जार भाग्न पाउँछ । उसले खेदाउन पाउँछ ।
रुद्रमान दौडिन्छ । हर्षजित खेदाउन थाल्छ । दौडिँदै–दौडिँदै उनीहरू जंगल पस्छन् ।
भाग्ने मान्छे लगातार कति नै भाग्न सक्छ र ? खेदाउने मान्छेले लगातार कति नै खेदाउन सक्छ ? केहीबेरमा उनीहरू लखतरान हुन्छन् । हुन त उनीहरू पुरुष नै हुन् । एउटी महिलामाथि हक जमाउनका लागि लड्न, भिड्न ठीक परेका पुरुष ! उनीहरू पुरुष भएकाले नै जार काट्ने नियम बसेको हो ।
पुरुष भएकैले जार बन्ने र काट्ने अधिकार पाएका हुन् । ती दुवै कुरा हुनुमा महिला चरित्रको कुनै ठूलो भूमिका छैन । न त उनीहरूलाई भाग्ने र काट्ने बनाउने निर्णयमा कुनै महिलाको भूमिका थियो । हर्षजितलाई जार काट्छस् कि के गर्छस् भनेर सोध्ने पनि पुरुष नै थिए ।
तर, ठूलीले गरेको प्रेमचाहिँ साँचो थियो । उसले रुद्रमानलाई प्रेम गर्थी । भलै त्यो प्रेम सामाजिक नियमले बिथोलियो । रुद्रमान र उसकी बहिनीले आपसमा मीत लगाइदिए । कथामा ‘ट्विस्ट’ आउन ठूलो कुरा चाहिँदैन । इन्द्रबहादुर राई यसका ‘मास्टर’ नै हुन् ।
बिहेपछि पूर्वप्रेमी ठूलीलाई पछ्याउँदै आयो । त्यो ठूलीले चाहेको कुरा थिएन । वा थियो भने पनि उसलाई थाहा थिएन । ऊ त्यसले बिथोलिई । त्यसैले त एउटा दृश्यमा ऊ भन्छे, ‘हामी कसैको पनि आफूले चाहेजस्तो जीवन हातमा नहुने रहेछ, कताकताबाट कसै–कसैले बिगारिदिँदो रहेछ । अरूले घरीघरी बिगार्दै लग्यो, बिगार्दा–बिगार्दा अन्तमा जीवन बन्छ । जीवन त्यही नै रैछ ।’
बाह्य परिस्थितिले हाम्रो समाजमा बिग्रिन त पुरुष र महिला दुवैका जीवन बिग्रिन्छन् । तर, त्यसमा पनि महिलाको जीवन बिगार्ने संरचना धेरै छन् । महिलाको शरीरमाथि अरू धेरैले निर्णय गरिदिन्छन् । तर, जार काट्ने बेला दुई पुरुष दौडिएको दृश्य हेर्दै गर्दा मैले अर्कै कुरा देखें । उनीहरू दौडिरहेका छन् यही पितृसत्ताका कारण ।
उनीहरू गाउँलेको रमिता बनेका छन् । उनीहरू थाकेका, भिडेका, सबै यही पितृसत्ताकै कारण । दुई जना जवान पुरुष, उनीहरूले चाहे यो कुरा मान्दिन भन्न सक्थे । तर नाइँ, उनीहरू अभ्यस्त छन् । ठूलीको श्रीमान्ले भनेको थियो, उसका लागि काफर नहुनु नै जीवन हो । उनीहरू काफर हुन सकिरहेका छैनन् यही पितृसत्ताका कारण ।
न त कसैले ठूलीको मनको खास कुरा सोधे । उसलाई केही भन्नु पो छ कि ? उसले भेट्न आएको पूर्वप्रेमी रुद्रमानलाई पहिला चक्कु किन हानी ? के ऊ बिहे गरेर खुसी थिई ? उनीहरू एकअर्कालाई काट्न तयार हुन सक्छन् तर यति प्रश्न सोध्न सक्दैनन् । पितृसत्ताले महिलालाई त लखतरान पारेको छ नै, त्यसले पुरुषलाई पनि उस्तै पारेको छ । तर, यो कुरा समाजका पुरुषले बुझिरहेका छैनन् । ‘जार’ फिल्मका निर्देशक फुर्वा छिरिङ लामाले उनीहरू भाग्दाभाग्दै लथ्रक्कै परेको दृश्यमार्फत यही गहन कुरा भन्दिए ।
दृश्य २
विष्णुबहादुर केसी भुटानको राष्ट्रिय खेलाडी थिए । तर, शरणार्थी भए । शरणार्थी हुनलाई ठूलो कारण चाहिन्न ।
आफ्नो देशले घरबाट निकालिदिए पुग्छ ।
विष्णुको समय हेर्दाहेर्दै उल्टियो । उनी जे भएर जन्मिएका थिए, जुन भाषा बोल्थे, त्यही उनलाई देशबाट धपाउन पर्याप्त भयो । हुन त उनले भुटानको जर्सी लगाएर त्यही देशका लागि फुटबल खेलेका थिए । तर, आफैं फुटबलझैं भए । उनलाई भुटानले लात्ताले हान्यो । उनी नेपालको झापामा शरणार्थी भएर खसे । पछि पुनर्वासले पुनः अर्कोपल्ट लात्ती हान्यो । उनी अमेरिकामा खसे ।
तर, जहाँ पुगे पनि मान्छेको मनले आफू जन्मिएको ठाउँ खोज्छ । उनी अमेरिकामा छन् । तर, उनको मन हरेकपल्ट चिठी खस्ने पोस्ट बक्समा बस्छ । ‘त्यहाँ चिठीको जवाफ आयो कि ?’ यही प्रश्न मात्र सोध्छ । उनको मनको एउटा कुना हरेकपल भुटान सम्झिएर मात्र चल्छ । अमेरिकी भइसके । घुम्नै भए पनि भुटान जाने रहर छ । रहरलाई सुनेर भुटानले आउने निम्तो पो दियो कि ? आखिर एउटा राज्य पूर्वनागरिकसँग कति समयसम्म दुःखी भइरहन सक्छ ?
तर, अहँ संसारकै ‘खुसी देश’ दावी गर्ने भुटान उनको खुसी फर्काउने कुरामा टसमस भएन । उनी पनि भुटान जाने सपनाबाट ब्युँझिएनन् । उनले त्यसका लागि सबैथोक गरे । भेट्न सक्नेलाई भेटे । सुनाउन सक्नेलाई सुनाए । उनी उतैको हुन खोजे । उतैको भाका गाउन खोजे । क्रिस्चियन भएर पुनर्जन्म लिइहेरे । तर अहँ, अहँ कसैगरी भुटान जान लायक भएनन् । कसैगरी उनको रोग निको भएन । कुनै रोग निको हुँदैन । किनकि निको बनाउन खोज्नेलाई त्यसको प्रभाव कति गहिरो पर्छ, थाहा हुँदैन ।
फिल्ममा बाँचेर पनि पटकपटक मरिरहेको एउटा यस्तो चरित्रको मृत्यु देखाउनुपर्यो भने कस्तो दृश्य चाहिएला ? के सास गएको कुनै दृश्य मात्र पर्याप्त होला ?
‘भूठान’ फिल्मका निर्देशक विनोद पौडेल र उनको टिमले त्यो कुरा भन्न शक्तिशाली दृश्य भाषा रचे । विष्णुबहादुरले अमेरिका पुग्दा पनि फुटबल सँगै लगेका थिए । उनी बेलाबेला त्यसलाई बाकसबाट निकाल्थे, सुमसुम्याउँथे । भुटान फर्किने आशा हुन्जेल फुटबल सलामत नै थियो । तर, जब आशा सकियो, उनले फुटबल चक्कुले काटे । हावा निस्किएको टाटेपाटे फुटबल उनको टाउको बन्यो । त्यो उनको अनुहार बन्यो । उनको अनुहार अब हावा निकालिएको फुटबल बन्यो । अनि फुटबलको पनि एउटा छुट्टै न्यारेटिभ बन्यो ।
भुटान जाने आशा उनी बाँचुन्जेल उनको शरीरमा थियो । त्यो मृत्युपछि मात्रै मर्यो । अनि उनको टाउकोमा काग बस्यो । काग अर्थात् नराम्रो खबर सुनाउने बिम्ब । शक्तिशाली पार्श्व ध्वनिसहित आउने त्यो बाहिरको दृश्यमा उनको पछाडि काग नै काग उडे । त्यस्तो अवस्था भोग्ने उनी एउटा मात्रै मान्छे होइनन् । उनको कथा उनको मात्र होइन । उनको कथा सुनाउन एउटा काग मात्रै पर्याप्त छैन ।
बिर्सन नहुने कुरा, त्यो दृश्यमा विष्णुले भुटानको राष्ट्रिय पोसाक लगाएका छन् ।
दृश्य ३
सरस्वती आफूले अपहरण गरेको बच्चालाई आफ्नै बच्चालाई जसरी नुहाइदिँदै छिन् । उनको पेटमा भएको बच्चा त्यही बच्चाको आमा सविताकै कारणले तुहिएको थियो । स्कुलको प्रधानाध्यापक रहेकी सविताको हातमा शक्ति थियो । उनले मधेशी सभासदसँग बिहे गरेकी थिइन् । त्यसैको भरमा उनले आफूले गरेको गल्ती पनि लुकाइन् । आफ्नो कारण बच्चा तुहेको कुरा बाहिर ल्याइनन्, बरु डाक्टर नै किनेर उनलाई अर्कै रोग भएको सत्य बनाइदिइन् ।
सरस्वती सानो मान्छे थिइन् । हरेक साना मान्छेको सत्य जसरी उनको सत्य पनि गुमनाम भयो । तर, अपहरणको केस सुल्झाउन काठमाडौंबाट आएकी एक जना महिला प्रहरी पूजा सरले उनको पीडा बुझिन् । हरेक राजनीतिक वाचा काठमाडौं आएपछि बिलाउँछन् । उनी काठमाडौंबाट तराई जानु पनि सांकेतिक छ । पूजाले सरस्वतीसँग शक्ति प्रयोग गरेर होइन, कुरा गरेर नै उनको हातबाट बच्चा फिर्ता पठाउन सफल भइन् । मधेशको मुद्दा शक्ति प्रयोग नगरी सुन्ने प्रशासन विरलै छ । बच्चा पठाउनुभन्दा पहिला सरस्वतीले मागेको एउटा मात्र कुरा थियो, उनीमाथिको अन्याय सार्वजनिक गरिदिनु । आफ्नो बच्चालाई जे भएको थियो, काठमाडौंको पत्रिकाले जस्ताको तस्तै लेखिदिनु । जे भएको हो त्यो नदबाइदिनु ।
उनी त्यसैले बच्चालाई फिर्ता पठाउन नुहाइदिँदै छिन् । उनको पनि सायद त्यसरी नै आफ्नो बच्चालाई नुहाइदिने सपना थियो, त्यो तुहियो । तर, आफूलाई रुवाउनेकै बच्चालाई पनि माया गरेर नुहाइदिँदै छिन् ।
नुहाएर सफा भएको बालक घर फर्किन्छ । उसलाई फिर्ता ल्याएकामा पूजा सरको चर्चा हुन्छ । पूजा सरको त के भनौं, उनको वरपरका पुरुष प्रहरीको चर्चा हुन्छ (वा भनौं चर्चा उनीहरूले खोस्छन् ।) । भोलिपल्ट बिहानै सरस्वती पत्रिका किन्छिन् । आफ्नो समाचार छापिएको छ कि भनेर खोज्छिन् । तर, छापिएको हुँदैन । उनको अनुहारको रङ उड्छ । उनको अनुहार पढेका श्रीमान् उनलाई के भयो भन्दै सोध्छन् । उनी त्यहाँ आफ्नो कथा नभएको भन्छिन् । श्रीमान् भन्छन्, ‘कहिले लेखिएको थियो र ?’
यो दृश्यमार्फत निर्देशक दीपक रौनियारले मधेशलाई हेर्ने नेपाली समाजको एउटा गहन सोचलाई प्रश्न गरेका छन् । मधेशलाई नेपालमा यसरी नै धोका दिइएको छ । सरस्वतीले विश्वास गरे जसरी नै मधेशमा बस्नेले इतिहासदेखि नै धेरै मान्छेलाई विश्वास गरेका छन् । आफ्नो कुरा सुनिन्छ, बुझिन्छ ठानेका छन् । तर, धोका पाएका छन् । सिमाना बनेर तराईमा उभिएका छन् । तर, पटक–पटक भारतीय भनिएको अपहेलना सहेका छन् ।
सरस्वतीको कथा नछापिनु मधेशको समाजको एउटा वास्तविकता नछापिनु हो । वा फिल्ममा सरस्वतीलाई होलसेलमा अपहरणकारी महिला बनाइएजस्तै कम्तीमा एउटा मात्र कुरा लादिनु हो । उनीभित्र भएको आक्रोशको स्वर कसरी आयो, नखोजिनु हो ।
अनि त्यसो गरेको नस्विकारिनु पनि हो । कम्तीमा पूजाको अनुहारमा त्यसको बोझ छ । सरस्वती पक्राउ परेपछिको दृश्यमा उनीसँग आँखा जुधाएर हेर्न सक्दिनन् । तर, बाँकी पुरुष अफिसरको अनुहारमा त सरस्वतीलाई धोका दिएकामा कुनै ग्लानिसमेत देखिन्न ।
...
सिनेमालाई धेरै दृश्य र चरित्रले बनाउँछन् । माथि भनिएजस्ता दृश्यमार्फत तिनले फिल्ममा धेरै वटा कुरा गरिरहेका हुन्छन् । कसैले कथालाई अगाडि बढाइरहेका हुन्छन् । कसैले चरित्रको भित्री मनमा के चलिरहेको छ भन्छन् । अनि कसैले लेखक वा निर्देशकको कथा भन्ने तरिका वा कथा भन्नुको उद्देश्य चिहाउन दिन्छन् ।
मलाई गहिराइ भएका यस्ता दृश्यहरूले छुन्छन् । तिनले कुनै सर्जकले आफ्नो कलामाथि कति समय खन्याएको छ वा कति सोचेको छ भन्ने कुरा देखाउँछन् । आफू पनि लेखक भएको कारणले एउटा दृश्य बनेर आउन कति समय लाग्न सक्छ भन्ने पनि थाहा छ ।
पछिल्लो समय नेपाली फिल्महरूमा यस्ता अर्थपूर्ण दृश्यहरूको प्रयोग बढिरहेको छ । कमर्सियल वा आर्ट जुनसुकै सिनेमामा आए पनि यस्तो प्रयोगले हाम्रो सिनेमाको भाषालाई समृद्ध बनाउँछ । सोच्ने ठाउँ दिन्छ । यस्ता दृश्य कति महत्त्वपूर्ण हुन् भनेर हेर्नलाई म बेलाबेला तिनलाई ती दृश्यबाट हटाएर हेर्छु । यदि तिनलाई हटाउने हो भने फिल्ममा कत्रो खाडल पर्छ ? ‘भूठान’ फिल्ममा त्यो दृश्य हुन्थेन भने के हुन्थ्यो ? ‘राजागन्ज’ मा त्यो दृश्य हुन्थेन भने के हुन्थ्यो ?
फिल्म पनि एउटा मान्छेजस्तै हो । जसरी एउटा मान्छेलाई बुझ्न वा चिनाउन त्यसका केही बानीहरू चाहिन्छ, यस्ता दृश्यहरू ती बानीहरू हुन् । ती दृश्यमार्फत नै हामीले फिल्मसँग परिचय गर्छौं । किनकि एउटा समयपछि फिल्मको सबै कुरा होइन, केवल यस्तै दृश्य मात्र याद हुन्छन् । त्यस्ता दृश्यलाई पछिसम्म पनि केलाइरहन सकिन्छ । त्यस्ता दृश्यलाई पटकपटक हेरेर नयाँ अर्थ लगाउन सकिन्छ । कविताका पंक्तिजस्ता दृश्य ।
अहिले पनि सिनेमा हलमा बासी कथाको कमी छैन । प्रेमलाई देखाउने एउटै तरिका । संघर्ष देखाउने एउटै तरिका । हिरो उस्तै । ‘हिरोनी’ उस्तै । फिल्म बनाउनेहरू धेरैले सिनेमालाई बचाउने कुरा त्यसको नयाँपन हो भन्ने बुझिरहेका छैनन् । जसरी हाल चलिरहेको ‘उनको स्वीटर’ फिल्मले गोठको छानोबाट जुन देखिने गरी एउटा प्रेमिल दृश्य खिच्यो । त्यो कैयौं पटक हेरिएका प्रेमका दृश्यभन्दा पृथक् थियो । त्यसले धेरैलाई छोयो । त्यस फिल्ममार्फत निर्देशक नवीन चौहानले देखेको प्रेम हेर्न पाइयो ।
दुई फरक ठाउँमा उभिएर हेर्यो भने हरेक वस्तु अलग देखिन्छ । सुन्धाराबाट हेर्दाको धरहरा र स्वयम्भूबाट हेर्दाको धरहरा अलग देखिन्छ । धरहरालाई धरहराबाहेक अन्य स्वरूपमा हेर्न खोज्यो भने कस्तो देखिन्छ ?
म चाहन्छु, नेपालमा हरेकखाले फिल्म बनाउनेले आफ्नो कथालाई मान्छे जस्तो सोचून् । उसको आवाज सुनून् । पटकपटक भनिएको कुनै कुरालाई जस्ताको तस्तै दोहोर्याउनुभन्दा त्यो विषयमा उनीहरूको हेराइ के हो भनून् । त्यो कुरामा आफू खोजून् । भन्दिएजस्तो नगरून्, खासमै केही भनून् ।
