मण्डपमा दुई पक्षका पण्डितबीच शास्त्रार्थ हुने, रत्यौली खेल्ने, देउडामा प्रतिस्पर्धा गर्ने ! बिहेमा पहिलाको जस्तो गाउँ–गाउँबीच प्रतिष्ठाको प्रतिस्पर्धा त हुँदैन, तर अन्य सामाजिक रितिरिवाज भने कायमै छन् ।
काठमाडौँ — ‘भात मिठो भतेरकै!’ खानाको स्वादबारे कुरा हुँदा गाउँघरमा आम मानिसको मुखबाट फ्याट्टै निस्किने भनाइ हो यो । यसपटक एक दशकपछि मलाई पनि भतेरमा जाने मौका मिल्यो । केही टाढाको आफन्तको बिहेमा निम्तो थियो ।
‘ओ हो आज त बारीको पाटामा दाउरा विच्छ्याउँदै सैयौंको समूहमा हातको कुहिनासम्म रस चुहिनेगरी खसीको मासुको झोल, बाक्लो दाल र मार्सी चामलको भात!’ एसएलसीपछि गाउँघरमा हुने कुनै पनि भोज भतेरमा सहभागी हुने मौका मिलेन । त्यसैले पनि बालपनको स्वाद फेरि लिन उत्सुक थिएँ । तर त्यहाँ पुगेपछिको माहोलले मनै खिन्न बनायो ।
रंगीचंगी त्रिपालभित्र शहरका होटलजस्तो क्याटरिङ, पुलाउको व्यवस्था रहेछ । गाउँको बिहे भोज होइन, शहरको तारे होटलको पार्टीमा सहभागी भएको महशुस भयो । न पञ्चेबाजा, न बाहुन भान्से, न गाउँका युवाहरु पाहुनाहरुलाई भोज खुवाउन तयारी अवस्थामा केही थिएन । कात्तिकको ठिहिर्याउने त्यो चिसोमा नजिकै राखिएको साउन्ड सिस्टममा बजिरहेको ‘हाय गर्मी’ वाला गीतमा झुम्मिरहेका थिए जन्तीहरु । प्लेटमा अलिकति पुलाउ र मासुका केही चोक्टाहरु राखेर कुनातिरको कुर्सीमा बसेँ ।
घर फर्किँदै गर्दा तल्लो घरका दाईसँग बिहेबारे कुराकानी भयो । ‘साँझपख जन्ती आउने, जन्तीलाई सालीहरुले पानी खन्याएर स्वागत गर्ने, गोठमा जग्य बनाएर रातभर दुवै तर्फका भलाद्मीहरुको उपस्थितिमा बिहे गर्ने, बाहिर खाली पाखामा अगेठा (दाउराको धुम पारेर बालिएको आगो) वरिपरी माइती पक्ष र जन्ती पक्षले देउडा खेल्ने र भोलिपल्ट दिउँसो बारीको पाटामा दाउरा बिच्छ्याएर गोलबद्ध बस्दै भोज खाने यी दिन त अब रहेन्’ मेरो कुरा सुनेपछि दाईले भन्नुभयो, ‘अब त यहाँ पनि शहर छिर्यो नि भाई ।’
पहिलेपहिले तीन गाउँ पारी कसैको बिहे हुँदासमेत थाह हुन्थ्यो । अहिले यत्ति हो आफन्तबाहेक अन्यको बिहे सामाजिक सञ्जालमा तस्बिर पोस्टिएपछि ‘ए फलानाको पनि बिहे भएछ नि’ थाह हुन्छ । तर सबै क्षेत्रमा माथि उल्लेखित गरिएजस्तो परिवर्तन भने भइसकेको छैन । अहिले पनि बिहेबारे कुरा हुँदा पुराना रोचक कहानीहरु गाउँमा प्रचलित छन् । ‘फलानाको बिहे कस्तो थियो?’ भनेर सोध्ने चलन अझै छ । तर आशय भने परिवर्तन भएको छ, ‘बेहुलीलाई कति गहना दिए, बेहुला कत्तिको हुने खाने रहेछ, दाइजो कति दिए, मासु, रक्सीको व्यवस्था थियो कि थिएन ।’
बिहेको रौनकबारे कुरा गर्नुपर्दा कर्णालीमा प्रचलित एक कथा रोचक छ । त्यसबेला माइती पक्ष र बेहुला पक्षबीच सम्बन्ध गाँसिने मात्र होइन, कसको सामथ्र्य कति छ भनेर सामाजिक तहमा प्रतिस्पर्धा हुन्थ्यो । सामूहिक रुपमा कसको बुद्धि कति र व्यवस्थापनको क्षमता कति छ भन्नेबारे प्रतिस्पर्धा नै हुन्थ्यो ।
एक जन्तीलाई एक खसी
‘केही समयअघि एक जना प्रधानले आफ्नी छोरीको बिहे पक्का गरे । लगन पक्का गरेपछि बेहुलाका बुबा कति जन्ती ल्याउने भनि बेहुलीका बुवासँग सल्लाह गर्न आए । तर बेहुलीका बुवाले केही नबोली एक मुठी मार्से (कर्णालीमा पाइने अन्न) हातमा थमाइदिए । यसको अर्थ त्यो मुठीमा जति दाना मार्से छन् त्यति नै जन्ती ल्याउनु भन्ने हो । अर्को सर्त पनि राखे जन्तीमा सबै युवा नै हुनुपर्ने ।
घर फर्किएपछि बेहुलाका बुवालाई आपत् पर्यो । एक मुठीमा कम्तिमा पनि दुई तीन हजार दाना हुन्छन् । त्यतिका जन्ती कसरी मिलाउनु! गाउँका बुढापाकासँग सल्लाह गरे । एकजना अनुभवी वृद्धले उपाय सुझाए, ‘जन्ती लिएर जाँदा सगुन लैजाने डोकोमा मलाई पनि लुकाएर लैजानु।’ तीन चार गाउँका सबै युवालाई लिएर बेहुलीको घरमा पुग्यो जन्ती । तर त्यहाँ पुगेपछि माइती पक्षले अर्को सर्त राखे । ‘यति धेरै जन्तीलाई पकाउने भान्से हामीसँग छैनन् । सबै सरसामान मिलाइदिएका छौं । अब पकाएर आफैं खानुहोस्’ भनेर हरेक जन्तीका लागि एक एक खसी, एक एक माना चामल, सोही अनुसारको नुन, तेल, खुर्सानी जिम्मा लगाइदिए ।
दाल चामलसम्म त ठीकै हो । तर एकै रातमा एक जनाले सिंगै खसी खाइसक्नु असम्भव भयो । जन्तीहरुमा खैलाबैला भयो । इन्कार गरौं त बेहुलीबिना जन्ती फर्किनुपर्ने, स्वीकारौं, एक जिउले एक खसी एकै रातमा खाइसक्न असम्भव । त्यसैबेला डोकोभित्र लुकाइएका वृद्धसँग सल्लाह लिन गए । एकछिन विचार गरेपछि ती वृद्धले उपाय गर्न सुझाए ।
त्यसपछि जन्तीहरुले बेहुली पक्षसँग दाउरा मागे र ठूलो आगो बाले । वृद्धले सुझाएजसरी उनीहरुले सबै खसी एकैपटक नभइ एक एक गर्दै काटे र पोल्न थाले । एक खसी दुई तीन हजार जन्तीका लागि भाग लगाउँदा एक÷एक चौटा पनि परेन । रातभर त्यसरी नै सबै खसी, दाल, चामल र अन्य खानेकुरा बाँडेर खाइसके । भोलिपल्ट त्यो देखेपछि माइती पक्ष लज्जित हुँदै माफी मागेर बेहुलीलाई स–सम्मान बिदाई गरे ।
यो कथाले उतिबेलाको बिहेको तडकभडकलाई जनाउँछ । यस्ता रोचक प्रशंगहरु धेरै छन् । बिहे मण्डपमा दुई पक्षका पण्डितबीच शास्त्रार्थ हुने, रत्यौली खेल्ने, देउडामा प्रतिस्पर्धा गर्ने अनेक ! गाउँमा हुने बिहेमा पहिलाको जस्तो गाउँ–गाउँबीच हुने प्रतिष्ठाको प्रतिस्पर्धा त हुँदैन, तर अन्य सामाजिक रितिरिवाज भने कायमै छन् ।
मैले उल्लेख गरेको प्रशंगहरुले देशभरको प्रतिनिधित्व भने गर्दैनन् । तर कर्णालीमा अझै पनि केही रिवाजहरु छन् जो देशका अन्य ठाउँबाट हराइसकेका छन् ।
राति विवाह
देशका सबै क्षेत्रमा राति विवाहको प्रचलन हराउँदा कर्णालीमा भने अझै पनि राति नै विवाह हुन्छ । यो प्रचलन कहिले र किन भयो भन्ने यकिन नभए पनि यो अभ्यास शहरी क्षेत्रबाहेक कर्णालीका ग्रामीण क्षेत्रमा अझै जिवितै छ । भौगोलिक दूरी, सुरक्षा र व्यवस्थापनको सहजताका लागि राति विवाह गर्ने प्रचलन सुरु भएको हुनसक्ने संस्कृतिविद् रमानन्द आचार्य बताउँछन् ।
‘विवाह सम्पन्न भइसकेपछि बेहुली घरमा राख्न हुँदैन, बिहान आएका जन्ती बेलुका फर्किन समस्या हुने, बाटोमा लु्टपाट आदी कारणले पनि राति विवाहको प्रचलन बसाइएको हो’, उनी भन्छन्, ‘रातिको विवाहले दुवै पक्षलाई समय व्यवस्थापन र माइती पक्षले गर्नुपर्ने अन्य व्यवस्थापनका लागि पनि सहज हुन्छ ।’
कर्णालीका साविक पाँच जिल्लामा अहिले पनि जन्ती आएको राति नै विवाह हुन्छ । भोलिपल्ट दिउँसो भोज खाएपछि मात्र बेहुली लिएर जन्ती फर्किन्छन् । यस्तै अर्को प्रचलन पनि छ कर्णालीमा सायद देशका अन्य क्षेत्रमा कतै छैन । यहाँ जन्तीलाई गाउँलेले एकछाक अनिवार्य खुवाउने चलन छ । अघिल्लो साँझ बेहुलीकै घरमा जन्तीका लागि खानाको व्यवस्था हुन्छ । भोलिपल्ट भोज दिउँसो हुने भएका कारण बिहानको खाना गाउँलेले जन्तीलाई भाग लगाएर खुवाउँछन् । जन्तीको संख्या हेरेर नजिकका आफन्तले अलिक धेरै र गाउँलेले एक/एक जना लगेर घरमै खाना पकाएर खुवाउँछन् ।
मानापाथी उठाउने
छोरीको बिहेमा सन्तान र गाउँलेले आर्थिक सहयोग उठाउने र त्यसको हिसाब राख्ने चलन देशका धेरै ठाउँमा छ । माइती पक्षलाई आर्थिक भार नपरोस् र पछि आफ्नो छोरीको बिहेका लागि पैँचो होस् भन्नका लागि यस्ता प्रचलन चलाइएका छन् । तर जुम्ला लगायत, मुगु, हुम्ला, कालिकोट, डोल्पा र जाजरकोटका केही क्षेत्रमा छोरा होस र या छोरी दुवैको बिहेमा मानापाथी उठाउने चलन छ ।
नजिकका सन्तानले गक्षअनुसार उठाउने गरे पनि गाउँलेका लागि निश्चित मात्रा तोकिएको छ पहिल्यै देखि । छोरीको बिहेमा एक पाथी (चार माना), र छोराको बिहेमा एक नाली (आठ माना), सोही अनुसारको दाल, नुन, खुर्सानी र तेलसमेत । यो अनिवार्य हो ।
विवाह नितान्त दुई परिवाका दुई जनाबीचको सम्बन्ध भए पनि यी सामाजिक रिति रिवाज र संस्कारले समाजमा एक अर्काप्रतिको आपसी सहयोगको भावनालाई बचाइराख्ने आचार्य बताउँछन् । ‘विवाह दुई परिवारबीचको सम्बन्ध गाँस्ने मात्र होइन, यसले त एक समाज र अर्को समाजलाईसमेत जोड्छन् । यसका लागि हाम्रा केही सामाजिक रितिहरु बचाइराख्न जरुरी छ’ उनी भन्छन् ।
यस्तै सामाजिक अभियान्ता माधव चौलाईको बुझाइमा यस्ता परम्परा हराउँदै जानुमा बाह्य प्रभावलाई प्रमुख कारण हो । सूचना प्रविधिको पहुँच, बढ्नो शहरी बसाइँ र सभ्रान्त वर्गले अपनाउने विधिका कारण पनि तल्लो तहसम्म परिवर्तन आएको उनी बताउँछन् । ‘सिनेमादेखि सिरियलसम्म शहरी र विदेशी संस्कृति अपनाउनेलाई नै रोल मोडलका रुपमा प्रस्तुत गरिनुले पनि त्यसको प्रत्यक्ष प्रभाव समाजमा परेको छ, ’ उनी भन्छन्, ‘तर हाम्रा मौलिक रितिहरुको आफ्नै महत्त्व छ । सामाजिक सदभाव देखि आपसी सहयोगको भावना बोकेका हुन्छन् । यी प्रचलनहरु जोगाउन राज्यले नै प्राथमिकता दिनुपर्छ ।’
प्राध्याक तथा भाषाविद् माधवप्रसाद पोखरेल मौलिक रितिरिवाज हराउँदै जानुमा शिक्षा प्रणालीलाई दोष दिन्छन् । ‘जसरी औपनिवेषिक कालमा भारतमा त्यहाँको संस्कृति मास्ने उदेश्यले अंग्रेजी शिक्षा लादियो, त्यसकै प्रभाव अहिले नेपालसम्म पनि परेको छ’, उनी भन्छन्, ‘हाम्रो शिक्षा प्रणालीले हामीलाई हाम्रा संस्कृतिप्रति नै हीन भावना जगायो । त्यसकै फलस्वरुप विवाह, ब्रतबन्धमा जुन सामाजिक जिम्मेवारी, आपसी सदभाव देखिन्थ्यो त्यो अहिले केवल कसैलाई देखाउने प्रतिस्पर्धामा सिमित बन्यो ।’
केही ठाउँमा अझै यस्ता मौलिक रितिहरु बच्नुको कारण उनी बचाउने उद्देश्य नभई दुर्गमताको बाध्यता उनी बताउँछन् । ‘अहिले पनि ग्रामीण क्षेत्रमा यस्ता परम्परा चलिराखेका छन् । तर ती जोगाउने उद्देश्यले होइन । त्यहाँ जुनदिन विकास निर्माण र अहिलेको आधुनिक भनिएको पश्चिमा शिक्षाको पहुँच विस्तार हुन्छ, विस्तारै त्यहाँबाट पनि लोप हुन्छन् ।’
विशेषगरी माओवादी द्वन्द्वका कारण रातिको विवाह हराउँदै गएको उनको बुझाइ छ । ‘त्यतिबेला राति विवाह मात्र होइन, आठ/दश जनाको समूह पनि हिँड्न दिँदैन थे,’ उनी भन्छन्, ‘युद्ध चरम भएका बेला मानिसहरुले आफ्ना कुनै पनि सामाजिक संस्कार खुलेर गर्न पाएनन् ।’ लामो समयसम्म अभ्यास गर्न नपाएपछि त्यस्ता संस्कृतिहरु आफैं विस्तारै कम हुँदै जाने र कालान्तरमा लोप हुने अवस्थामा पुग्ने पोखरेल बताउँछन् ।
