पत्र मञ्जूषासँगै लोप भए पत्रमित्रहरू

म्यागेजिनहरूमा राशिफलपछि सबैभन्दा लोकप्रिय स्तम्भ नै पत्रमित्र थियो, कवि भावेश भुमरीको दार्जिलिङकी युवतीसित प्रेम र विवाह नै पत्रमित्रतामार्फत भएको थियो, हालै उनीहरूले प्रेमपत्र संग्रहको किताब निकालेका छन्

असार ७, २०८२

अभय श्रेष्ठ

Patramitras disappeared with Patra Manjusha

काठमाडौँ — भौतिक रूपमा बितेका दिन फर्किंदैनन्, तर हावाको विपरीत दिशातिर फ्याँकिएको कागजजस्तै सम्झनामा ती फर्की–फर्की आइरहन्छन् । म त्यो पुस्ताको मान्छे हुँ, जसले प्रविधिमा अन्नपिसानीका लागि घट्टदेखि अत्याधुनिक कलसम्म देख्यो, जसले सञ्चारमा सक्रिय हुलाकदेखि अत्याधुनिक विद्युतीय सञ्चारसम्म साक्षात्कार गर्‍यो ।

अटोकापीको युग

राजधानीका हलहरूमा नवीन चौहानको फिल्म ‘ऊनको स्वेटर’ अहिले पनि चलिरहेछ । त्यसमा फूल गुरुङ धरणी काफ्लेलाई आफ्नो अटोकापीमा केही लेखिदिन आग्रह गर्छे । पछि फूल गुरुङ सम्झनाका शब्दभन्दा धरणीले त्यसमा प्रेमपत्र लेखिदिएको गुनासो गर्छे । खासमा अटोकापीको असलियत नै त्यही थियो । भर्नेले कुनै न कुनै रूपमा प्रेम, मित्रता, करुणा वा हार्दिकता प्रकट गरेको हुन्थ्यो । यस हिसाबले यो पढालिखा सामान्य मान्छेको साहित्य वा अभिव्यक्ति कलाको सानदार माध्यम थियो । ‘ऊनको स्वेटर’ हेर्ने ‘जेन–जी’ पुस्ताले यो देखेर अनौठो मान्ला । 

अटो धेरै अघिदेखि प्रचलनमा थियो । म सानै छँदा दाइ, दिदीले साथीहरूको अटोकापी घरमा ल्याएको देख्थेँ । त्यसलाई उनीहरू सकेसम्म गोप्य ठाउँमा राख्थे । तर, जहाँ सुत्ने कोठा नै बेग्लै हुँदैनथ्यो, त्यहाँ गोप्य के रहन सक्थ्यो ! उनीहरूको अनुपस्थितिमा म ती अटोकापी हेर्थें । तिनमा विभिन्न व्यक्तिका तस्बिर र तिनका कोमल प्रेममय अभिव्यक्ति हुन्थे । अटोकापीका तिनै भावप्रधान अभिव्यक्ति पढेर मभित्र साहित्यको बीजारोपण भएको थियो । अनि त म धान, गहुँ र पिठाका घ्याम्पाहरूमा चकले आफ्ना बेफिक्री कोर्काली साहित्य कोर्थें ।

स्कुल पढ्ने जमानामा कहिले को कहाँ पुग्छ, को अर्को स्कुलमा जान्छ, ठेगान हुँदैनथ्यो । अझ एसएलसी नजिकिँदा कक्षा ९ र १० मा लगभग सबैजसोले ‘अटो भराउने’ चलन थियो । मैले पनि भराएको थिएँ । छात्राहरूले अटो भर्न स्विकार्दा र तिनले अटो भर्न दिँदा फ्रायड महोदय नै निःशब्द हुने गरी खुसी प्रकट गर्न मुटु छाती फोडेर निस्कुँलाझैं गर्थ्यो । पछिल्लोपल्ट २०५१ सालमा त्रिचन्द्र क्याम्पसमा बीए दोस्रो वर्ष पढ्दा मैले आशा शर्मा नामकी महिला मित्रको कापीमा अटो भरेको थिएँ । त्यसमा बौद्धिकता झल्काउन मैले अंग्रेजीमा अनेक लेखेको थिएँ । एउटा अहिले पनि सम्झन्छु, ‘एभ्री एन्ड अफ जर्नी इज द अनादर बिगिनिङ ।’ आशा कहाँ छिन्, थाहा छैन । आज ३१ वर्षपछि भन्छु, मैले त्यो वाक्य वानिरा गिरीको उपन्यास ‘कारागार’ बाट उडाएको थिएँ । अटोकापी र आफ्ना पुराना साहित्यको ढड्डा मैले पछिसम्म सुरक्षित राखेको थिएँ । ०७२ सालको महाभूकम्पमा ती सबैजसो सहिद भए ।

हुलाकबाट पत्र

हाम्रो स्कुल र कलेजको जमानामा हुलाक निकै प्रचलनमा थियो । २०४६ सालको कुनै महिनाको ‘मधुपर्क’ मा मनु ब्राजाकीको गजल संरचनासम्बन्धी लेख पढेपछि म संसार भुलेर गजल लेखनमा होमिएँ । उत्पातै उत्कृष्ट गजल लेख्छु भन्ने भ्रम थियो । तीमध्ये एउटा गजलको दुई शेर अहिले पनि सम्झन्छु–

हिँड्दा हिँड्दै बाटोमुनि खुट्टा मेरो खस्क्यो ।

पाठो देखी ब्वाँसोले हरियो घाँस पस्क्यो ।

गालाभरि चेपागाँडा झुन्डिएछन् तिम्रा,

तिम्रो श्रीमान् मलाई देख्दा नचिनेझैं मस्क्यो । 

पूर्वप्रेमिकालाई धेरैपछि भेट्दाको कल्पनामा मैले यस्तो लेखेको थिएँ । सम्झँदा अहिले आफैंलाई खित्का छुट्छ । दिनकै २५–३० वटा गजल लेख्थेँ । कहिले त रातैभरि लेख्थेँ, भर्दा डोकै भरिन्थ्यो होला । अनि ‘गोरखापत्र’, ‘मधुपर्क’, ‘गरिमा’, ‘समीक्षा’, ‘दृष्टि’, ‘प्रकाश’ लगायत राजधानी र बाहिरका विभिन्न पत्रिकामा हुलाकबाट अनवरत पठाइरहन्थेँ । ती छापिँदैनथे, सोझै डस्टबिनमा पुग्थे होलान् । सम्पादक र पत्रकारहरूसँग चिनजान थिएन । हरेकजसो पत्रिकामा असम्भार पत्रहरू ओइरन्थे । सम्पादकले विरलै पढ्न भ्याउँथ्यो । २०५२ सालमा ‘दृष्टि’ साप्ताहिकको कार्यालयमा देखेर मैले यो थाहा पाएको थिएँ । त्यसअघि रेडियो नेपालमा गीत फर्माइस गर्न कति पत्र पठाउँथे ! त्यसमा पनि मेरो नाम आउन्नथ्यो । वीरगन्जबाट गहवा अन्सारी, कुर्बान अन्सारीलगायतको नाम भने दिनदिनै आउँथे । 

त्यसैताका रेडियो नेपालमा समाचार वाचकका रूपमा हाम्रो गाउँका दाइ माधव घिमिरे जागिरे भएका थिए । उनलाई भनेपछि बल्ल मेरो नाम फर्माइस गीतमा बजेको थियो । उनले चलाउने ‘युवा संसार’ मा २०४८ सालमा पहिलोपल्ट मेरो गजल प्रसारण भएको थियो । त्यसबापत् सय रुपियाँ पारिश्रमिक पाएको थिएँ । लेखेर पहिलोपल्ट पैसा पाउँदा मेरा खुट्टा भुइँमा थिएनन् । अहिले मलाई लाग्छ, हुलाकबाट पठाइएका मेरा रचना नछापिनु स्वाभाविक थियो । ओइरो लागेका पत्रहरू सम्पादक र कार्यक्रम सञ्चालकले पढ्नै भ्याउँदैनथे । कालिकास्थानस्थित ‘समीक्षा’ साप्ताहिकको कार्यालयमा सम्पादक विनोदमणि दीक्षितले पत्रको ओइरो देखाएर मलाई यही भनेका थिए । चिनजान नहुँदै हुलाकबाट पठाएको भरमा मेरो रचना छाप्ने पहिलो साहित्यिक पत्रिका थियो, ‘अनुराग’, सम्पादक थिए– ललिजन रावल । त्यसपछि हुलाकबाटै पठाउँदा निरन्तर छापिरहने अर्को साहित्यिक पत्रिका थियो– ‘नवकविता’ । सम्पादक हरि शर्मा थिए ।

हवाईपत्रमा साहित्य

त्यति नै बेला साहित्यिक हवाईपत्र निकै प्रचलनमा थियो । सुरुवात कहाँबाट कसले गर्‍यो, थाहा छैन । ठूला पत्रिकाले रचना नछापेपछि आफ्नो र आफूजस्ता अरूको रचना छाप्ने उद्देश्यसहित यसको सुरुवात भएको हुनुपर्छ । त्यतिखेर नाटककार कृष्ण शाह ‘यात्री’ द्वारा सम्पादित ‘ज्योति’ हवाईपत्र मेरो ठेगानामा नियमित आउँथ्यो । बिस्तारै अरूका पनि आउन थाले । छत्र क्षितिजले अर्को हवाईपत्र निकाल्थे, काशीराम विरसले अर्को । ठूला पत्रिकाले रचना नछापेको तोडमा म पनि ठुटे सम्पादक बन्ने होडमा लागेँ । त्रिचन्द्र क्याम्पसमा बीए पहिलो वर्ष पढ्दै गर्दा २०४९ सालमा म पनि ‘दर्पण’ हवाईपत्रको सम्पादक भएँ । 

गाउँकै अरू तीन जना सम्पादक मण्डलमा रहे । हामी गाउँकै साथीभाइका रचना परिष्कार गरेर छाप्थ्यौँ । बाहिरबाट पनि रचना आउँथे । बेलाबेला गजल विशेषांक निकाल्थ्यौँ । हरेकजसो अंकमा विश्व सिनेमाबारे म जानकारीमूलक लेख लेख्थेँ । हामी विज्ञापन लिन विभिन्न गाविस, सिनेमा हल र विद्यालय पुग्थ्यौँ । पत्रिकाबाट आएको भनेपछि मानिसहरू भेट्न उत्सुक हुन्थे । हवाईपत्र देखाएपछि भने ती हाँस्न थाल्थे । तैपनि तिनले र गाउँकै केही व्यक्तिले थोरैतिनो आर्थिक टेवा दिएर मेरो सम्पादक बन्ने रहर र पत्रकार बन्ने जग उठाउन सहयोग गरे भन्ठान्छु । 

पत्रिका निस्केको केही दिन हाम्रो व्यस्तता हेर्नलायक हुन्थ्यो । हामीले केही ग्राहक बनाएका थियौँ । तिनकहाँ पुर्‍याउन जाने, मान्छेको समूह, चिया पसल र अन्य पसलमा पुगेर बेच्न हामी व्यस्त हुन्थ्यौँ । हामीलाई देख्नेबित्तिकै मान्छेहरू ‘सम्पादकहरू आए’ भनेर उडाउँथे । हामी मक्ख पर्थ्यौं । गाउामा बेच्न ग्राहककहाा पुर्‍याइसकेपछि नाम चलेका लेखक अनि ‘युवामञ्च’ को पत्रमित्रता स्तम्भ पल्टाएर साहित्यमा रुचि भएका व्यक्तिको ठेगाना टिपेर हामी जिल्ला हुलाक कार्यालय भक्तपुर पुग्थ्यौँ । हुलाकले छाप लगाएर पठाउने प्रक्रियामा राख्थ्यो । त्यतिखेर भक्तपुर र काठमाडौँका जिल्ला हुलाक कार्यालयमा टेक्ने ठाउँ हुँदैनथ्यो ।

पत्रमित्र

त्यतिखेर पत्रमित्रताको प्रचलन पनि उधुमै थियो । म्यागेजिनहरूमा राशिफलपछि सबैभन्दा लोकप्रिय स्तम्भ नै त्यही थियो । कवि भावेश भुमरीको दार्जिलिङकी युवतीसित प्रेम र विवाह नै पत्रमित्रतामार्फत भएको थियो । हालै उनीहरूले तिनै प्रेमपत्र संग्रह गरी पुस्तक निकालेका छन् । पत्रपत्रिकामा रचना छापिन थालेपछि मलाई पनि पत्रहरू आउन थाले । उनीहरूलाई जवाफ पठाउनु र सम्पादकलाई खुसी पार्ने खालका चिठीसहित रचना पठाउनुबाहेक मलाई भने पत्रमित्र बनाउने जाँगर चलेन । हो, बरु दसैँ, तिहार र नयाँ वर्षमा प्रिय साथीहरूलाई हुलाकबाट शुभकामना कार्ड धेरै पठाएँ । जवाफचाहिँ थोरैको मात्र आउँथ्यो । पूर्ण ठेगाना नहुँदा चिठी नै ठाउँमा पुगेन होला ।

नेपाल टेलिभिजनमा हास्य कलाकार गोपालराज मैनालीले चलाउने बाल कार्यक्रमबाट मैले चिठी पठाउने तरिका सिकेको थिएँ । यसरी मैले पहिलोपल्ट पठाएको चिठी बबिता नामकी सहपाठीलाई थियो । दधिकोटस्थित अरनिको माविमा कक्षा ४ मा पढ्दा ‘सपकिपर’ को हिज्जे र माने भन्न सक्ने म मात्र थिएँ । अंग्रेजी पढाउने नवराज सरले नआउने जति सबैलाई बेन्चबाट उठाएका थिए । तिनका कान पक्रेर गाला चड्काउनुपर्नेमा मैले चड्काएजस्तो मात्र गरेँ । बबिताको पालामा त उसको गाला मुसारेजस्तो मात्र भएछ । सबै जना हाँसे । यी सब नियालिरहेका नवराज सरले ‘चड्काउने त्यसरी होइन, यसरी’ भन्दै देब्रे गाला दाहिनेतिर पुग्ने गरी मलाई नै चड्काइदिए । मैले चड्कन खाएकोमा हाफटाइमपछि एक बथान केटीहरूले मप्रति सहानुभूति प्रकट गरे । त्यसमा बबिता पनि थिई । ऊ केही बोलिन, तर उसको हेराइ मनमा मुरली बजाउने खालको थियो । बस्, मैले उसलाई भावुक चिठी लेखेर हुलाकमार्फत पठाएँ । ठेगानामा उसको नाम, थर र गाउँ राखिदिएँ । पूर्ण ठेगाना थाहा थिएन । त्यो चिठी उसकहाँ पक्कै पुगेन होला किनभने त्यसबारे उसले मलाई कहिल्यै कुनै प्रतिक्रिया दिइन । 

अन्त्यमा,

पत्रमित्रता, अटो, चिठीजस्ता कुरा अब त एकादेशका कथा भए । तै, सरकारी कामकाजमा चिठीको प्रचलन अहिले पनि छ । त्यसैले झिँगा धपाउँदै बस्नुपरे पनि हुलाक कार्यालयहरू अझै अस्तित्वमा छन् । सन् १९८६ जनवरी १ मा इन्टरनेट सुरु भयो भने हटमेल १९९६, याहु १९९७ र जीमेल २००४ मा । बिस्तारै कम्प्युटर युग सुरु भयो । लेखकहरूले कम्प्युटरमा लेख्न थालेको पनि धेरै भइसक्यो । प्रदीप नेपाल, अभि सुवेदी र खगेन्द्र संग्रौला नेपालमा कम्प्युटरमा लेख्न सुरु गर्ने लेखकका रूपमा चिनिन्छन् । इमेल सुरु नहुँदा फ्याक्सको जमाना थियो । अखबारका पृष्ठ सम्पादक र अपरेटरहरू फ्याक्सबाट आउने मधुरा अक्षर नबुझेर हैरान हुन्थे । इमेल आएपछि फ्याक्स पनि बिदा भयो । 

पत्रपत्रिकामा हुलाकमार्फत मैले हस्तलिखित धेरै गजल र कविता पठाएँ । पछि लेख पनि पठाएँ । ‘किशोर’, ‘पर्दा’, ‘मनोकामना’, ‘रोशनी’, ‘कामना’, ‘साधना’, ‘स्टार’ जस्ता पत्रिकामा हुलाकबाटै पठाएका मेरा लेख छापिन्थे । पछि आफैँ गएर सम्पादकलाई भेट्न थालेँ । त्यसले सम्पादकसँग चिनजान भयो र छापिन गाह्रो परेन । २०६० सालमा कम्प्युटरमै लेख्न र इमेल चलाउन थालेपछि त अर्कै युगमा प्रवेश गरियो । 

अभय श्रेष्ठ साहित्यकार हुन् ।

Link copied successfully