दैनिक जीवनमा जोडिएका ग्रामोफोन, क्यासेट प्लेयर, श्यामश्वेत टेलिभिजन, रोटरी फोन, फ्याक्स मेसिन, एनालग क्यामरा हुँदै पछिल्लो प्रविधिमध्ये पेजर, सीडी, क्यासेट चक्का, फ्लपीडिस्क, आइपड, अलार्म घडीजस्ता कुनै बेलाका ‘विलासी’ प्रविधि अहिले हराए
काठमाडौँ — आज फाइलहरू क्लाउडमा सुरक्षित छन्, फिल्म मोबाइलमै हेर्न मिल्छ अनि तस्बिर एकै क्लिकमा सम्पादन हुन्छ । गीतहरू स्ट्रिमिङ एपमा छन् । घडीदेखि क्यामरा, रेकर्डर, क्याल्कुलेटर सबै एउटै मोबाइल स्क्रिनमा भएकाले दसथोक बोक्नै परेन । तर, जमाना यस्तो पनि थियो, जब फिल्म रिलमा खिचिन्थ्यो, क्यासेटमा गीत रेकर्ड हुन्थे, फ्लपी डिस्कमा फाइल ओसार–पसार गरिन्थ्यो, गीत सुन्न विभिन्न छाँटकाँटका अत्याधुनिक ‘वाकम्यान’ हरू थिए अनि पेजरमा छोटो–मिठो सन्देश आउँथ्यो– यस नम्बरमा कल गर्नु है ३६१४...!
अहिलेका उन्नत रोबट, एआई र इन्टरनेट अफ थिङ्स (आईओटी) देख्दा हामीलाई लाग्न सक्छ, प्रविधिजति हाम्रै पालामा बनेको हो । तर, सञ्चार र प्रविधि क्षेत्रको लामो अनुभव बटुलेका व्यक्तिहरूको विगत खोतल्दा थाहा हुन्छ, प्रविधिको लहरले कैयौं चिज ल्यायो, फेर्यो अनि हरायो पनि । दैनिक जीवनसँग जोडिएका ग्रामोफोन, क्यासेट प्लेयर, श्यामश्वेत टेलिभिजन, एन्टिना, रोटरी फोन, फ्याक्स मेसिन, एनालग क्यामरा हुँदै पछिल्लो प्रविधिमध्ये पेजर, सीडी, क्यासेट चक्का, पेन ड्राइभ, आइपड, अलार्म घडीजस्ता कुनै बेलाका ‘विलासी’ प्रविधि अहिले विस्थापित भएका छन् ।
फिल्म सम्पादनदेखि थ्रीडी एनिमेसन, सफ्टवेयर विकास, मिडिया र कला क्षेत्रको प्रविधि विकासमा सधैं होमिएका करुण थापा विगत सम्झँदा रिलको गन्ध सम्झिन्छन् । सिनेमा छायांकनका सुरुवाती दिनमा प्रयोग हुने लमतन्न रिल, प्रोजेक्टर, क्ल्याप बोर्ड र अलग–अलग रूपमा रेकर्ड गर्नुपर्ने अडियो, भिडियोको त्यो युग– सबै अहिले प्रविधिको नवीनतम संस्करणमा विलय भएको उनले देखेका छन् । कतिपय प्रविधि विस्थापित गर्न उनी आफैंले पनि भूमिका खेले । जस्तै– नेपाली फिल्म सम्पादनको परम्परागत एनालग प्रविधिलाई डिजिटल रूपान्तरण गर्ने उनको पहललाई फिल्म क्षेत्रले कदरै गरेको छ ।
‘पहिले फिल्मका भिडियोहरू १६ एमएम, ३५ एमएमका रिलमा रेकर्ड हुन्थे, अडियो र भिडियो अलगै रेकर्ड गर्नुपर्थ्यो, सम्पादन गर्ने बेला क्ल्याप बोर्डको आवाजमा साउन्ड सिङ्क गरिन्थ्यो,’ थापा भन्छन्, ‘प्रोजेक्टरमा रिल राखेर फिल्म देखाइन्थ्यो । पछि घरमा फिल्म हेर्न भीएचएस चक्का र डेक भाडामा लिने चलन आयो । सीडी, डीभीडी हुँदै पेन ड्राइभमा फिल्म स्टोर गर्न सकिने भयो । अहिले त सबैखाले फाइल क्लाउडमै राखिन्छ ।’
मोबाइल युगको आगमनअघि थापा कम्मर–पेटीमा पेजर बाँधेर हिँड्थे । कुनै नम्बरबाट म्यासेज आउँथ्यो, विस्तृत विवरण बुझ्न उनी फोन खोज्दै भौंतारिन्थे । ‘फोन’ भनेको अहिलेको स्मार्टफोनको त कुरै भएन, पुरानो बार फोन पनि होइन, रोटरी टेलिफोन । जुन फोन लिन उनले तत्कालीन दूरसञ्चार संस्थान (हालको नेपाल टेलिकम) मा निवेदन दर्ता गरेर ६/७ वर्षसम्म पालो कुर्नुपरेको थियो । फोन लिन ६/७ हजार रुपैयाँ डिपोजिट पनि गर्नुपर्थ्यो, त्यो पैसाले आधा तोला सुन आउँथ्यो, पोखरेली चामलको मूल्य प्रतिक्विन्टल ४ सय रुपैयाँ थियो ।
आजभन्दा ४३ वर्षअघि, सन् १९८२ मै थापाले आफ्नो पहिलो कम्प्युटर किनेका थिए– एप्पल टु । त्यसपछि सिनक्लेयर स्पेक्ट्रम जेडएक्स–८१ चलाए । बेलायती कम्पनी, सिनक्लेयर रिसर्चले निर्माण गरेको सो कम्प्युटर टीभीमा जोडेर चलाउनुपर्थ्यो । त्यो बेला कसले सबैभन्दा सस्तो मूल्यमा कम्प्युटर बनाउने भनेर एप्पल, टीआरएस–८०, कमोडोरजस्ता कम्पनी र ब्रान्डहरूबीच होडबाजी चलेको थियो । त्यहीबीच बेलायती उद्यमी सर क्लिभ सिनक्लेयरले ‘सिनेक्लेयर’ ब्रान्डको पसर्नल कम्प्युटर निर्माण गरेर बजारमा ल्याए । त्यो बेला १ हजार पाउन्डभन्दा कम मूल्यमा कम्प्युटर बेच्ने पहिलो कम्पनीका रूपमा यो चर्चित बन्यो ।
सन् १९८० को दशकको मध्यतिर कम्प्युटर बजारमा व्यापक प्रतिस्पर्धा बढिरहेका बेला कमोडोर, एमर्स्ट्याड र विशेषगरी आईबीएमजस्ता कम्पनीहरूले ग्राफिक्स, साउन्ड र युजर एक्सपेरियन्स सुधार गर्दै शक्तिशाली कम्प्युटरहरू सार्वजनिक गरे । खासै नवीन सुविधा ल्याउन नसकेपछि सिनक्लेयर भने त्यो प्रतिस्पर्धामा पछि पर्यो । पसर्नल कम्प्युटरहरू मनोरन्जनबाट काम र उत्पादनशीलतातिर ढल्किँदै गए । सिनक्लेयरका कम्प्युटरहरू मुख्यतया गेम खेल्नका लागि लोकप्रिय भए पनि, व्यावसायिक प्रयोगकर्ताहरूका लागि आवश्यक पर्ने सुविधा र सफ्टवेयर यसमा थिएनन् । त्यसैबीच आईबीएम पीसीले व्यावसायिक बजारमा प्रभुत्व जमायो ।
कम्प्युटर मात्रै होइन, प्रविधिविज्ञ थापाले कुनै पनि डिजिटल फाइल एक कम्प्युटरबाट अर्को कम्प्युटरमा लैजान प्रयोग हुने फ्लपी डिस्कको आकारसँगै समयको रूपान्तरण देखे– ८ इन्च, ५.२५ इन्च, ३.५ इन्च हुँदै अन्ततः सीडीले फ्लपीलाई विस्थापित गरिदियो । पेन ड्राइभ आएपछि सीडी मासिए । क्लाउड स्टोरेजको सहजतासँगै पेन ड्राइभको पनि आवश्यकता घट्यो । क्लाउडपछि के आउने हो, अहिले भन्न गाह्रो छ । तर, कतिपयले एज कम्प्युटिङको भविष्यवाणी गरेका छन् । प्रविधिमा यस्तै हो, उन्नत भर्सन र प्रणाली भित्रिँदै जाँदा, विद्यमान प्रणाली विस्थापित भइरहन्छन्, त्यो पनि असाध्यै द्रुत गतिमा ।
थापाको प्रविधि–यात्रा कम्प्युटरमा सीमित थिएन । उनी इलेक्ट्रोनिक टाइपराइटर, फ्याक्स मेसिन र डट म्याट्रिक्स प्रिन्टर चलाउने पुस्ताका हस्ती हुन् । डट म्याट्रिक्स प्रिन्टर अझै पनि बैंक, वित्तीय संस्था, सरकारी कार्यालयहरूमा प्रयोग भइरहेकै छ । ‘क्यार क्यार गर्दै बिल छाप्छ यसले,’ थापा भन्छन्, ‘मसँग पनि छ पुरानो यस्तो प्रिन्टर ।’ सामान्यतया कार्यालयहरूमा अहिले लेजर, इंकजेटजस्ता प्रिन्टरहरू राखिएका हुन्छन् । ट्वाक्क थिचेर आधा फन्को घुमाउनुपर्ने रोटरी फोन, पछाडि ठूलै जुरो उठेका सीआरटी मनिटर, क्यार-क्यार आवाज निकाल्ने डट म्याट्रिक्स प्रिन्टर, ८.५ इन्चका फ्लपी डिस्क, टाइपराइटर, क्रोम क्यासेट चक्का, सीडी प्लेयर, डीभीडी प्लेयरजस्ता ‘लिगेसी’ प्रविधि थापाले घरमा संगृहित गरेका छन् ।
‘आगो लाग्यो दिलैमा, दमकल बोलाइदेऊ..’ जस्ता गीतमा पनि प्रविधिकै माग गर्ने थापाले क्यामरा, क्यासेट, कम्प्युटरको प्रगति नापेझैं वरिष्ठ पत्रकार किशोर नेपालले पनि ऐतिहासिक म्याकिन्टसदेखि सिमेन्स फोन हुँदै झन्डै सुटकेसजत्रो अडियो रेकर्डर र टाइप गरिसकेपछि फर्किएर एडिट गर्न नमिल्ने टेलिप्रिन्टरको युग भोगेर आएका छन् । उनले सिसाकलमले समाचार लेखे, लेटरप्रेसमा सम्पादन गरे अनि नेपालमै पहिलो पटक प्रयोगमा ल्याइएका यन्त्रहरूसँग साक्षात्कार पनि । २०२४/२५ सालतिर, समाचार लेख्न र छाप्न लेटरप्रेस र फ्ल्याटप्रेस प्रयोग हुन्थ्यो । संवाददाताले हातले लेखेका समाचार कम्पोजिटरहरूले लेटरप्रेसमा कम्पोज गर्थे । साना–साना धातुका अक्षरहरू एक–एक गरी उठाउनुपर्थ्यो र तिनलाई काठ वा धातुको ‘कम्पोजिङ स्टिक’ मा मिलाएर शब्द, वाक्य र अनुच्छेद बनाउनुपर्थ्यो । धातुका अक्षरहरूमा हुने सिसाले औंला काटेर हात छियाछिया हुन्थ्यो, कागज राताम्मे, समाचार छापिन्थ्यो, ब्ल्याक एन्ड ह्वाइटमा...।
पत्रकार नेपाल त्यही वातावरणमा हुर्किए, कुनै समाचारमा ‘श्री ५’ लेख्दा टाइप–केसबाट ‘५’ अक्षर खसेर ‘श्री महाराजाधिराज’ बन्ने जोखिम हुन्थ्यो । त्यस्ता ‘सिल्ली’ त्रुटिमा समेत सम्पादकहरू ‘पञ्चे’ को कारबाहीमा परेको सम्झिएर नेपाल अहिले विरक्तिको हाँसो हाँस्छन् । २०३६ सालको जनमत संग्रहपछि नेपालमा ठूला आकारका साप्ताहिक पत्रिकाको विस्तार भयो । अन्तर्वार्ता लिँदा हातैले उतार्न भ्याउने पत्रकार नेपाललाई ‘साप्ताहिक मञ्च’ मा पदम ठकुराठीले सानो टेप रेकर्डर थमाए । ‘त्यसअघि माइक्रो टेप नभएर ठूला टेप बोक्नुपर्थ्यो, रेडियो नेपालकाहरू सुटकेसझैं बोकेर हिँड्थे,’ उनी सम्झन्छन्, ‘मलाई रेकर्डर चाहिँदैन थियो, म त हातैले टिपिसक्थें ।’
२०३९ सालमा स्ट्यान्फोर्ड विश्वविद्यालयमा छात्रवृत्ति पाएर अमेरिका गएका उनले त्यहाँ पहिलो पटक म्याकिन्टस देखे, स्टिभ जब्सको अनौपचारिक डेमोसहित ! सिलिकन भ्याली र कम्प्युटर विज्ञानको विकासमा स्ट्यान्फोर्डको योगदान विशेष मानिन्छ । यस विश्वविद्यालयलाई कतिपयले सिलिकन भ्यालीको जन्मदाता भन्ने गरेका छन् । यहाँका प्राध्यापक, रिसर्चर र विद्यार्थीहरूले कम्प्युटर र प्रविधि क्षेत्रमा अनेक आविष्कार गरेका छन् । जब्सले सन् २००५ मा यस विश्वविद्यालयको दीक्षान्त समारोहमा दिएको भाषण निकै चर्चित छ, यसको भिडियो विश्वविद्यालयको युट्युब च्यानलमा हेर्न सकिन्छ । आफ्नो सफलता राम्ररी चाख्न नपाई ५६ वर्षको उमेरमै स्टिभ जब्स बितेर गए, पत्रकार नेपाल यसमा दुःख–मनाउ गर्छन् , ‘जब्सले एप्पलको खास सफलता अनुभव गर्न भ्याएनन् ।’
वि.सं. २०२० को दशकको पूर्वार्द्धमा महाँकालथानको टाइपिङ सेन्टरमा किबोर्ड चलाउने तालिम लिएका पत्रकार नेपाललाई स्ट्यान्डफोर्डका आईबीएम कम्प्युटरमा हात बसाल्न गाह्रो भएन । उनी अमेरिकाबाट फर्केर रोयटर्समा काम थाल्दा टेलिप्रिन्टरमार्फत समाचार पठाउने जमाना आयो । त्रिपुरेश्वरको दूरसञ्चार संस्थानको कार्यालयमा पाँच वटा टेलिप्रिन्टर क्याबिन थिए, उनी एउटा न एउटा क्याबिनमा छिर्थे । त्यो बेला विदेशको कार्यालयमा समाचार पठाउने एकमात्र आधुनिक साधन नै टेलिप्रिन्टर थियो । यो टाइपराइटरजस्तै देखिने एउटा इलेक्ट्रो–मेकानिकल डिभाइस थियो, जसले एउटा डिभाइसमा टाइप गरिएका अक्षरहरू अर्को टेलिप्रिन्टर डिभाइसमा प्रिन्ट गरिदिन्थ्यो । यता टाइप गरिएका समाचार हजारौं किलोमिटर टाढा प्रिन्ट हुन्थे । यसमा ब्याक गएर सम्पादन गर्न मिल्दैन थियो । चित्र, ग्राफिक्स केही पनि पठाउन सम्भव थिएन ।
‘मैले त्रिपुरेश्वरमा लेखेका शब्दहरू रोयटर्सको लन्डन वा दिल्ली कार्यालयमा प्रिन्ट हुन्थे,’ पत्रकार नेपाल सम्झन्छन्, ‘त्यसको खट, खट आवाजसँगै मेरा समाचारहरू विश्वभर फैलिन्थे । राजनीतिक–आर्थिक विषयमा म रिपोर्टिङ गर्थें, हिमाल आरोहणको समाचार एलिजाबेथ हलीले गर्थिन् । रोयटर्सले उनलाई छुट्टै टेलिप्रिन्टर दिएको थियो, त्यो उनकै घरमा थियो ।’ त्रिपुरेश्वरको टेलिप्रिन्टर चलाउन रोयटर्सले नै शुल्क तिरिदिन्थ्यो । एपी, एफपीजस्ता अन्तर्राष्ट्रिय समाचार एजेन्सीमा आबद्ध भोला राणा, विनोद गुरुवाचार्यजस्ता पत्रकारहरूले पनि सुरुमा त्यहींको टेलिप्रिन्टर क्याबिन प्रयोग गर्थे, पछि कतिपयले घरमै यो डिभाइस राखेको नेपाल बताउँछन् ।
हिजोका यस्ता कैयौं प्रविधि आज छैनन्, न त तिनको खास आवश्यकता नै छ, किनभने तिनै प्रविधिको उन्नत भर्सन अहिले हामीसँग छ । जाँतोको सट्टा विद्युतीय ग्राइन्डर भएजस्तै ! तर, शिक्षा, सञ्चार र समग्र मानव जीवनकै प्रगतिको जग बसाल्न पुराना प्रविधिले पुर्याएको योगदान चटक्कै बिर्सिन मिल्दैन । कतिपय प्रविधि अहिले दिग्गजहरूको सम्झनामा मात्रै बाँकी छन्, केही भने संग्रहालयमा पनि भेटिन्छन् । सके त सबै प्रविधिका केही नमुना जोगाएर राखे, विगत चियाउन सजिलो हुन्थ्यो ।
त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार विभागमा ऐतिहासिक कोलम्बियन ह्यान्ड प्रेस जोगाएर राखिएको छ । यो मोडलको प्रेसलाई अमेरिकाकै पहिलो फलामे प्रेस मानिन्छ, जुन सन् १८१३ मा जर्ज क्लाइमरले निर्माण गरेका थिए । सन् १९०८ मा जंगबहादुर राणाले बेलायतबाट फर्किंदा ल्याएको नेपालको पहिलो छापा, गिद्दे प्रेस पनि छाउनीस्थित राष्ट्रिय संग्रहालयमा छ । यो निकै गह्रौँ भएकाले उचाल्नु परे दुई/तीनजना मान्छे चाहिने संग्रहालयका सूचना अधिकारी नवराज अधिकारी बताउँछन् ।
छापासँगै ध्वनि प्रविधिमा पनि थुप्रै फेरबदल आएका छन् । पहिलेको अकस्टिक युग, इलेक्ट्रिक, म्याग्नेटिक हुँदै अहिले डिजिटलमा छ । संगीतकार राजु सिंह म्याग्नेटिक युगको सम्झना गर्दै स्पुलमा रेकर्डिङ गर्दाको मिठास वर्णन गरेर थाक्दैनन् । उनलाई स्पुल रेकर्डिङ ताप्केमा झानेको दालजस्तै स्वादिलो लाग्छ । त्यसरी नै बनेका ६/७ हजारवटा क्यासेट चक्काहरू त उनले धूलो नजम्ने गरी दराजभित्र जम्मा गरेर राखेका छन् । ती प्ले हुँदैनन्, तर सम्झनाका अभिलेख बनेर बसेका छन् । उनले देखेका छन्, संगीत कसरी वान ट्र्याक रेकर्डिङबाट फोर ट्र्याक, एट ट्र्याक हुँदै अहिलेको एचडी र इम्मर्सिभ विधिसम्म आइपुगेको छ ।
‘फोर ट्र्याक प्रविधि आउँदा पिङपङ बाउन्सिङ गरेर एउटा ट्र्याकलाई अर्कोमा सारेर, फेरि अर्कोमा मिलाएर नयाँ स्वाद सिर्जना गरिन्थ्यो,’ सिंह भन्छन्, ‘एनालग रेकर्डिङमा स्पुल प्रयोग हुन्थ्यो । त्यो रेकर्डिङको गहिराइ आजको डिजिटलमा छैन । ठूलो गज भएको त्यो स्पुलमा ध्वनि मात्रै होइन, भावना र मर्म कैद हुन्थे ।’ संगीतकार सिंह अहिले एआईले बनाउने गीतमा ‘भाइब’ भए पनि ‘भावना’ नभएको टिप्पणी गर्छन् । त्यसकारण, अहिलेको हाई–टेक जमानासमेत विश्व संगीतका कतिपय अभियन्ता भावना र गहिराइको खोजीमा पुनः एनालग र भिनायल रेडर्ड्सतर्फ फर्किंदै गरेको उनी औंल्याउँछन् । यसको सानो झलक त हामीकहाँ नै गायक सुगम पोखरेलले प्रस्तुत गरेका छन् । उनले ‘सोलो ट्र्याक’ को जमानामा ९ वटा गीत संग्रहित पूर्ण कदको एल्बम हालै निकालेका छन्, त्यो पनि क्यासेट चक्काको डिजाइनमा । सुगम आफ्ना श्रोतालाई ‘नोस्टाल्जिक’ बनाउने प्रयत्नमा छन् ।
यो सांगीतिक दुनियाँको कथा थियो, जहाँ आज ध्वनिभित्र भावनाको खोजी भइरहेको छ । कुनै बेला शब्द, संगीत र स्वरहरू स्पुलमा रेकर्डिङ हुँदै गर्दा, डेटा र डायल–अप कनेक्सनजस्ता प्रविधि पनि काठमाडौंका गल्लीहरूमा ‘टु टु टु, टि टि टि...’ जस्तो रोबोटिक आवाजमा गुञ्जिँदै थिए । त्यही बदलिँदो परिवेशमा गुणकेशरी प्रधानको प्रविधिसँगको यात्रा सुरु हुन्छ । ‘त्यो बेला किलोबाइट पनि ठूलो लाग्थ्यो, आजको गिगाबाइट र टेराबाइट त सोच्न पनि सकिँदैन थियो,’ नेपालको पहिलो महिला कम्प्युटर इन्जिनियर भनेर चिनिने प्रधान भन्छिन्, ‘सन् १९८० मा तत्कालिन सोभियत संघ गएपछि मैले कम्प्युटर इन्जिनियरिङ भन्ने विषयबारे पहिलोपल्ट सुनेकी थिएँ । सुन्नासाथ त्यही विषय पढेँ ।’
सन् १९८६ मा स्नातकोत्तर सकेर नेपाल फर्किंदा यहाँ भर्खर कम्प्युटर सेन्टरहरू खुल्दै गरेको उनी सम्झिन्छिन् । मानिसहरू एक महिनादेखि एक वर्षसम्मको कम्प्युटर ट्रेनिङ लिन्थे । उनी तत्कालिन दूरसञ्चार संस्थानमा आबद्ध भइन् । त्यहाँ बिल प्रोसेसिङ गर्ने प्रणाली थिएन, नेसनल कम्प्युटर सेन्टरमा प्रोसेस गर्न पठाउनुपर्ने र ५/६ महिनापछि मात्रै बिल फिर्ता आउँथ्यो । ‘त्यो हालत थियो, हामीले टेलिकममा माइक्रो कम्प्युटर ल्याएर बिलिङ एन्ड कस्टमर केयर सर्भिसको सुरुवात गरेका थियौं,’ प्रधान भन्छिन्, ‘इन्टरनेट चाहिँ हामीभन्दा पहिले मर्कन्टाइललगायत निजी सेवा प्रदायकले नै सुरुवात गरिसकेका थिए । हामीले डायल–अप इन्टरनेट भित्र्याउँदा कतिपयले खिसी पनि गरे ।’
अहिले विस्थापित भइसकेको डायल–अप इन्टरनेट प्रविधि आम मानिसलाई इन्टरनेटको स्वाद चखाउने पहिलो माध्यम थियो । नेपालमा डायल–अपको आगमनसँगै साइबर क्याफेहरूको लहर आयो, अहिले त ‘साइबर क्याफे’ भनेकै नबुझ्ने पुस्ता हामीसँग छ । बुझाइहालौं– प्रयोगकर्ताहरू प्रतिघण्टा शुल्क तिरेर त्यहाँ इन्टरनेट चलाउँथे । डायल–अप इन्टरनेटमा कम्प्युटरमै टेलिफोनको लाइन र मोडेम जोड्नुपर्थ्यो । त्यसपछि युजर नेम र पासवर्ड हालेपछि एक किसिमको रोबोटिक ध्वनि निस्किन्थ्यो– टुँ टुँ, क्रिक, क्रिक... यस्तै–यस्तै ! त्यसपछि बल्ल इन्टरनेट जोडिन्थ्यो । इमेल चलाउन याहु, हटमेललगायत प्रयोग हुन्थे। याहु र एमएसएन म्यासेन्जरको च्याट रुमबाट अरूसँग कुरा गर्न मिल्थ्यो । त्यो बेलाको सोसल मिडिया भनौं ! अलि पछि हाई फाइभ भन्ने पनि आयो ।
प्रधानको सम्झनामा अझै ताजा छ, डायल–अप इन्टरनेटको आवाज अनि टेलिफोनको लाइन लिन त्रिपुरेश्वरदेखि थापाथलीसम्म लाइन लागेका ग्राहकको अनुहार । त्यो केबल उपकरणको कथा थिएन, प्रविधिमा हाम्रो समाजले चालेको पहिलो पाइला थियो ।
