टाइगर टप्स : नेपाल चिनायो, नेपालले चिनेन

प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गे तथा एडमन्ड हिलारी, अमेरिकी राष्ट्रपति जिम्मी कार्टर, भारतीय प्रधानमन्त्री राजीव गान्धी, पाकिस्तानी प्रधानमन्त्री बेनिजिर भुट्टोदेखि ‘पाइरेट्स अफ क्यारेबियन’ का अभिनेता अर्लान्डो ब्लुम, टेनिस प्लेयर मार्टिना हिङ्गिस र सञ्चारकर्मी डेभिड एटेनवर्गसम्मलाई नेपाल ल्याउने निकुञ्जभित्रको टाइगर टप्स लज स्मृतिमा सीमित

जेष्ठ ३१, २०८२

दीपक सापकोटा

Tiger Tops: Nepal recognized, Nepal did not recognize

काठमाडौँ — टाइगर टप्सको आँगनमा उसैगरी उभिएकै छन्– साल, भेल्लर, जामुन, करम र टाँटरीका रूख । जंगली हात्ती ध्रुवे रात–साँझ यिनै रूखको छेउ भएर हिँड्छ । ध्रुवेका दुई ‘केटाकेटी’– ४ वर्षीय कैलाशप्रसाद र ८ वर्षीया रूपकली, टाइगर टप्सका तिनै रूखका सियालमुनि हुर्किरहेका छन् । पुरानो अराजक छविलाई ध्रुवेले अहिले सुधारेको छ ।

भूतबंगला प्रतीत हुने टाइगर टप्सअघि कहिलेकाहीँ बाघ देखिन्छ त कहिले कराएको सुनिन्छ । गैंडा, चित्तल, बँदेल, भालु देखिनु नियमितका दृश्य हुन् । 

अचेल झ्याउँकिरी र जंगली जनावरका एकोहोरो आवाजबाहेक मान्छेको आवाज हत्तपत्त सुनिँदैन, टाइगर टप्समा । यो त्यही जंगल सफारी लज हो, जहाँ विशेष दिनहरूमा भव्य पार्टी हुन्थ्यो । र, वन्यजन्तुमाथि विमर्श चल्थ्यो । 

अब त सुनसान छ— टाइगर टप्स ।

झ्याउँकिरीको आवाज सुन्नु दैनिकी बनेको छ, यो भग्नावशेष लज कुरिबसेका हात्ती र माउतेहरूको । अब टाइगर टप्समा केही छैन, सिवाय बितेका दिनहरूको स्वर्ण कथा ! के फेरि फर्केला ती दिन ? लाग्छ– टाइगर टप्स केही पर्खिरहेको छ । 

जंगल लजका पुराना संरचना त छन् तर ती पूर्ववत् छैनन् । नेपालको पर्यटन इतिहासको सांस्कृतिक सम्पदा भए पनि मक्किएरै उभिइरहेका ती संरचना लथालिंग छन्, भताभुंग छन् । हिजो सानले उभिएका विशिष्ट डिजाइनका घरहरू भत्केका छन् । हावा–पानी–घाम र धमिराले खाइरहेकै छ, यसका पुराना काठहरू, जो अब कुहिने चरणमा पुगेका छन् । टिनको छानो चुहिएको छ । गाह्रो जीर्ण छ । खर कुहिएर नष्ट भइसक्यो, मान्द्रो धमिराले खाइसक्यो । धमिरा धपाउन मालाथिन पाउडर छर्किनु दैनिकी बनेको छ– टाइगर टप्स कुरुवाको ।

Tiger Tops: Nepal recognized, Nepal did not recognize सन् १९९५ मा कर्मचारीसँग तत्कालीन अमेरिकी प्रथम महिला हिलारी क्लिन्टन। तस्बिर सौजन्य : टाइगर टप्स

ती अवशेषमाथि टेकेर टाइगर टप्सका प्रबन्ध निर्देशक ज्याक एडवर्ड ती दिनतिर स्मृति–रमण गरिरहेका छन् । सानो छँदा उनी अक्सर टाइगर टप्स जंगलकै लजमा बस्थे, घना जंगलभित्र घुम्थे– हात्ती सफारीमा । शान्त बगिरहेको राप्तीमा डुंगा सयर गर्थे, नेचर गाइड र हात्तीसारे उनका साथी थिए ।

‘वनको मान्छेजस्तै थिएँ म । अहिले पनि लाग्छ– दौडेर पुगूँ र हेरूँ चितवनको त्यही जंगल र बसिरहूँ त्यहीँ,’ ज्याक जंगलको गुल्जार त्यही समय सम्झना गर्छन्, ‘धेरै माया लाग्छ त्यस जंगलको । भग्न टाइगर टप्सअघि पुग्दा थचक्क त्यहीँ बसी रुन मन लाग्छ । सपनामा पनि ती दिन आइरहन्छन् । त्यो सुन्दर ठाउँका सम्झनाहरू उस्तै छन् । टाइगर टप्स परिवारजस्तो थियो, जंगलभित्रै एउटा गाउँजस्तो थियो ।’

Tiger Tops: Nepal recognized, Nepal did not recognize

आफ्नै अन्दाज र हाउभाउमा आफू बाँचेको तिलस्मी संसारको जादुगरी कथा वाचन गर्छ– दक्षिण एसियाकै पहिलो वन्यजन्तु लज टाइगर टप्सले । उबेलाको ब्ल्याक एन्ड ह्वाइट संसारमा नेपालको चिनारी भनेकै सगरमाथा थियो । त्यसपछि विदेशीका लागि नेपाल ‘गोर्खाहरूको देश’ बन्यो ।

अनि, टाइगर टप्सका लागि पनि चिनिन थाल्यो– नेपाल । नेपालको पर्यटन उद्योगको ऐतिहासिक पहेलीमा बाँचिरहेको यसको कथा संसारभित्र पसिहेर्दा देखिन्छ– त्यो पुरानो समयका मुग्धकारी दिनहरू । विश्वमै प्रख्यात थोरै नेपाली ब्रान्डमध्ये एक टाइगर टप्स असलमा थियो– निकुञ्जको अँध्यारो जंगलबाट बाहिरी दुनियाँतिर चियाइरहेको समयको साक्षी, जोसँग थिए– केही रुमानी सपना र गुल्जार स्वर्णिम साँझहरू ।

टाइगर टप्सको त्यो आनन्दमयी (पछि संकटग्रस्त) जीवन–पोट्रेटले भन्छ– संसारकै ख्यातिप्राप्त पर्यटन गन्तव्यको पहिचान बन्नु कति दुःखद थियो ! सुखहरूको साम्राज्यबाट एउटा ‘सान’ र ‘ब्रान्ड’ कसरी मामुली र सामान्य बन्छ ? त्यो कथा टाइगर टप्समाथि घुमिरहेको समय–चक्रले सुनाउँछ । जीवनमा केवल वैभव होइन, विपत्ति पनि आइरहन्छ भन्छ– टाइगर टप्सको जीवन वृत्तले । मृत टाइगर टप्सको जीवन लीला कारुणिक छ । Tiger Tops: Nepal recognized, Nepal did not recognizeटाइगर टप्स स्थापनाको वर्ष सन् १९६४ मा खिचिएको तस्बिर । तस्बिर सौजन्य : टाइगर टप्स

निकुञ्जभित्रको पश्चिम चितवनमा शेष छ– टाइगर टप्सको भग्नावशेष । मानौं यो किनारामा उभिइरहेको एक सीमान्त मान्छे हो, जो असिना–पानी र घामको निरन्तर प्रहारले थिलथिलिएको छ । 

पुरानो समय र घना जंगलको कथा भन्ने टाइगर टप्सको त्यस आँगनमा बितेका केही विशिष्ट सुखानुभूति सुरक्षित छन्, मानिसका स्मृतिमा । मान्छेको मस्तिष्कमा टाँस्सिएका केही स्मृति अमूल्य बनिदिन्छन्, जब त्यससँग जोडिएका कुनै महत्त्वपूर्ण पात्र वा वस्तु इतिहासमा छोपिन्छ । अब त्यो तिलस्मी संसार सम्झाउने टाइगर टप्सको ‘सानदार’ समय इतिहासमै छुटिसकेको छ । मान्छेका झैं अँध्यारा–उज्याला, थकान र दुःख छन्– टाइगर टप्सको जीवनमा पनि । 

नेपालको पहिलो निकुञ्ज चितवन राष्ट्रिय निकुञ्जमा ४७ वर्ष बिताएका रामप्रित यादवलाई टाइगर टप्स बन्द भएपछि विरक्त लागेको छ । उनलाई जंगल नै आफ्नो ‘घर’ लाग्छ ।

‘यो अनकन्टार जंगललाई गुल्जार बनाउने टाइगर टप्स बन्द हुनु अति दुःखलाग्दो घटना हो । वाइल्डलाइफ बिजिनेसको अवधारणा टाइगर टप्सले नै ल्याएको थियो । यसले संसारमा नेपाल चिनाएको थियो, संरक्षणमा निकै काम गरेको थियो र त्यहाँ धेरै नेपालीले काम पनि पाएका थिए,’ रामप्रित भन्छन्, ‘यो लज बन्द भएपछि प्रशस्त पैसा लिएर नेपाल आउने पर्यटक भड्किए । त्यहाँ पुग्दा त्यो सुनसान लाग्छ, दिक्क लाग्छ, दुःख लाग्छ ।’ 

Tiger Tops: Nepal recognized, Nepal did not recognizeटाइगर टप्सका हात्ती । तस्बिर सौजन्य : टाइगर टप्स

अमेरिकी प्रथम महिला हिलारी क्लिन्टनदेखि प्रसिद्ध अभिनेता लियोनार्डो डि क्याप्रियोसम्मले टाइगर टप्स परिक्रमा गरेका थिए । विश्वमा फैलेको यहाँको तरंगबाट विस्मित भएर ती ख्यातिप्राप्त मानिस यहीँ आइपुगेका थिए । इतिहास भन्छ– सन् १९८१ मा भारतकी प्रधानमन्त्री इन्दिरा गान्धीले टाइगर टप्स भ्रमण गरेपछि नै भारतले महसुस गरेको थियो– नेपालबाट जंगल रिसोर्ट व्यवस्थापन सिक्नुपर्छ । त्यसपछि हो, भारतमा जंगल सफारी व्यवसाय फस्टाएको । 

टाइगर टप्सको कथा भन्नु एक बेलाको एकलास जंगल चितवनको मात्रै होइन, त्यस समयका धनाढ्य, ‘हाई प्रोफाइल’ र ‘एलिट’ हरूको जीवनशैली पनि सँगै भन्नु हो । टाइगर टप्सको भ्रमण–डायरीमा संसारका प्रख्यात सेलेब्रिटीको लस्कर छ– राजीव गान्धी, सोनिया गान्धी, बेनिजिर भुट्टो, जिम्मी कार्टर, तेन्जिङ नोर्गे, एडमन्ड हिलारी, प्रिन्स फिलिप, प्रिन्सेस एन, मिक जागर, रिंगो स्टार, रोबर्ट रेडफोर्ड, हेनरी किसिन्जर, मार्टिना हिङ्गिस, राजकुमार बर्नहार्ड, जोन जे केनेडी जुनियर, डेभिड एटेनवर्ग, अर्लान्डो ब्लुम, क्यामरुन डियाज, इभा मेन्डिस... । 

अभिनेता राजेश हमालले सन् १९८६ नोभेम्बरमा टाइगर टप्समा नेचुरिस्टको ट्रेनिङ लिएका थिए । ‘म २ महिनाजति टाइगर टप्समा नेचुरिस्ट भएर बसेको थिएँ,’ राजेश भन्छन् । 

Tiger Tops: Nepal recognized, Nepal did not recognize‘पाइरेट्स अफ क्यारेबियन’ का अभिनेता अर्लान्डो ब्लुम जंगल सफारीमा (सन् २००८) ।

‘वनको मान्छेजस्तै थिएँ म’ भन्ने ज्याक एडवर्डका पिता बेलायतका जिम एडवर्ड थिए– कुनै बेलाका टाइगर टप्सका सञ्चालक, जो स्वेडिस ब्रान्डको ‘साव कार’ चलाएर नेपाल आएका थिए, १९६३ मा । तर, त्यस जंगल लजको विचार बीजारोपण भएको थियो– क्यानडाका जोन कोपम्यानको मस्तिष्कमा ।

उनी थिए– साहसिक काम गरिबस्ने मानिस, जो केन्याको हिल्टन होटलमा कुनै बेलाका म्यानेजर थिए । नेपाल आएपछि घना जंगल र जनावरहरूको राजधानी चितवनमा उनको मन अडियो । र, कोपम्यानले अमेरिकाको टेक्सासबाट आएका दुई सिकारी टोडी ली वाइने र हर्ब क्लेइनसँगको पार्टनरसिपमा त्यहाँ जंगल हन्टिङ लज खोले । लज खोल्न उनलाई राजा महेन्द्रले चितवनको जंगलका केही भाग ‘लिज’ मा दिएका थिए । 

‘वन्यजन्तुको संरक्षण र टाइगर टप्सको सम्झना’ लेखमा सागरशमशेरले लेखेका छन्, ‘कोपम्यान मार्केटिङको बृहत् अभ्यास लिएर आएका थिए र जंगली जीवजन्तुका नयाँ–पुराना रोचक कथाबाट मान्छेलाई आकर्षित गर्ने कला थियो उनमा ।’ 

खासमा कोपम्यानको कल्पनामा टाइगर टप्सको स्वरूप केन्या र तान्जानियामा पहिल्यै निर्माण भएका सफारी–पार्क र लजहरूकै जस्तो थियो । अफ्रिकन सफारी लज ट्री–टप्सको मोडलमा कोपम्यानले टाइटर टप्सका भवनहरू डिजाइन गरे– अग्ला खम्बा र गोलाकार आकारका छानासहितका झुपडीहरू । सायद बोरिसको ‘याक एन्ड यती’ बारबाट प्रेरित भएर कोपम्यानले मुख्य भोजन र विश्राम कक्षमा ठूलो गोलाकार चुलो स्थापना गरे, जहाँ चिम्नी भुइँतिर झुकेको थियो ।

Tiger Tops: Nepal recognized, Nepal did not recognizeमेघौली विमानस्थल ।

लजका भवन निर्माण गर्न बिहारबाट काठका कारिगर आएका थिए, पूरै भवनमा स्थानीय सामग्री प्रयोग गरिएको थियो । लज सुरु हुँदा जम्मा चार वटा पाहुना कोठा थिए (मार्क लिक्टी/जंगबहादुर कोपसिंह ः जोन कोपम्यान, हन्टिङ एन्ड द ओरिजिन्स अफ एडभेन्चर टुरिजम इन नेपाल) । टाइटर टप्सको श्यामश्वेत दिनका तस्बिरहरूमा बगिरहेको राप्ती, त्यसमाथि जंगल, काला पहाडी भूभाग र अन्नपूर्ण हिमालका चुचुरा छन् । सन् १९६७ मा टाइगर टप्समाथि ‘टाइम’ म्यागेजिनले लेखेको थियो, ‘नयाँ पर्यटक होटलमध्येको सबैभन्दा रोमाञ्चक ।’

तर, सन् १९७१ को भारत–पाकिस्तान युद्धको असरले लज छाडेर कोपम्यान भारततिर भासिए । त्यसै साल त्यस लजमा जोडिए जिम एडवर्ड । जिमले आफ्ना मित्र, बाघको चालचलन र सिकारका विज्ञ चार्ल्स (चक) म्याकडुगलसँग मिलेर त्यो लज किने । र, नाम फेरे– टाइगर टप्स, जुन १०० बिघा जमिनमा फैलिएको थियो । तिनै जिम एडवर्डको २०६५ सालमा नेपालमै मृत्यु भयो । 

‘छालबाटो’ पुस्तकमा लेखक रमेश भुसालले लेखेका छन्, ‘जिमले त्यस लजलाई सिकार खेल्न होइन, वन्यजन्तु देखाउन प्रयोग गर्ने निधो गरे ।’ त्यही किताबमा टाइगर टप्सबारे जिमका छोरा ज्याकले भनेका छन्– आजकाल मानिस जंगलमा सहर खोज्छन् तर हामी यहाँ जंगल नै देखाउँछौं र सहर बिर्सन अनुरोध गर्छौं । ‘चितवनको पर्यटकीय चिनारी’ किताबका लेखक डा. ढाकाराम सापकोटा भन्छन्, ‘चितवनमा पर्यटन विकासमा पुर्‍याएको सहयोगका दृष्टिले हेर्दा होटल टाइगर टप्सलाई कोसेढुंगा नै मान्नुपर्छ । जंगली जनावर देखाएर पर्यटक तान्ने कुरा कुनै बेला एकादेशको कथा थियो, त्यही कालखण्डमा जंगल पर्यटनको भिजन सुखद थियो ।’ 

 Tiger Tops: Nepal recognized, Nepal did not recognizeसन् १९८८ मा टाइगर टप्स पुगेका बेला तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यसँग जिम एड्वार्डसँग ।

नेपालमा ‘ट्रेकिङ’ शब्द नै टाइगर टप्सअन्तर्गतको माउन्टेन ट्राभलले आविष्कार गर्‍यो, कर्णेल जिमी रोबर्ट्स थिए, यस शब्दको जननी । नेपाली पर्यटनमा टाइगर टप्सको अति–विशिष्ट महत्तालाई सबैले स्वीकार गरेका छन् । भनिन्छ, यसकै आँगन हो– एसियाको जंगल सफारी सभ्यताको उद्गम । नदी र जंगल पर्यटनदेखि संरक्षणसम्मका अनेक ज्ञान, थेसिस र अभ्यास रिउ र राप्ती किनारकै टाइगर टप्समा भए । यो लज संसारमै नेपाल चिनाउने ‘चकचकी’ को प्रतीक पनि रह्यो ।

६१ वर्ष बितेछ, टाइगर टप्सले पर्यटनको मृदुल चेतना बाँडिरहेको र आत्मकथा वाचन गरिरहेको । टाइगर टप्स पर्यटन इतिहासको सर्वोत्कृष्ट साक्षी हो, जसले आफू उभिएको जंगल र त्यसका पात्रहरूको कथा भन्छ । कुनै बेलाका ती पात्र थिए– राणा र शाह राजाहरू । असलमा जनावरहरूको राजधानी थियो– चितवन, जसलाई राणाहरूले सिकारको मुकाम बनाएका थिए ।

जंगबहादुर राणा चितवनमा महिनौं वन–विचरण गर्थे, सिकार गरेरै । त्यसपछिका शासकले पनि चितवनका घना जंगललाई ‘हन्टिङ डेस्टिनेसन’ बनाइरहे । ठीक त्यही समय स्थानीय चेपाङ काँधमा धनुवाण भिरेर महाभारत लेकतिर चरा सिकार गरिहिँड्थे र दनुवार–माझीहरू नारायणी वा राप्तीको भेलमा हेलिन्थे माछा मार्न । एक बेलाको औलोग्रस्त चितवनमा गैंडा चर्ने समथर मैदान छ, महाभारत पर्वतका अग्ला टाकुरा पनि छन् । राजाहरूको दरबार पनि छ ।

अनि, छन्– थारू–चेपाङका पुराना समय सम्झाउने छाप्राहरू पनि । मकवानपुरको कुलेखानीबाट बग्दै–बग्दै राप्ती चितवन पुग्छ, जसले चितवन उपत्यकाको पूर्वी भेग सिञ्चित गरेको छ । राप्ती नदी किनारका बस्तीहरूको प्राचीन कथा वाचन गरिरहन्छ– चितवन । पश्चिम चितवनको रिउ नदी किनारमा अवस्थित टाइगर टप्स लजले चाहिँ चितवनको गौरवको कथा सुनाउँछ । 

Tiger Tops: Nepal recognized, Nepal did not recognizeज्याक (दायाँ) र टिम एडवार्ड हात्ती सफारीमा ।

टाइगर टप्स सन् १९६४ मा स्थापना भयो, जति बेला चितवन राष्ट्रिय निकुञ्जको स्थापना भएकै थिएन र राष्ट्रिय निकुञ्ज ऐन बनेकै थिएन । र, त्यो टाइगर टप्स नै थियो, जसले सन् १९७२/७३ मा चितवन राष्ट्रिय निकुञ्ज स्थापना गर्न सरकारलाई सघाएको थियो, संरक्षणकेन्द्रित पर्यटन नीतिहरू बनाएर । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन (२०२९) र चितवन राष्ट्रिय निकुञ्ज नियमावली (२०३०) अनुसार सरकारी अनुमति लिएर निकुञ्जभित्रै सञ्चालन गरिएको थियो, यो लज ।

नेपालको पुरानो वैदेशिक लगानी भएको टाइगर टप्सको मुनाफाबाटै ‘टाइगर टप्स कर्णाली लज’ (बर्दिया), ‘टाइगर टप्स थारू लज’ (नवलपरासी) र ‘टाइगर माउन्टेन लज’ (पोखरा) पनि खोलिएका थिए । यसका सहसंस्थाहरू ‘माउन्टेन ट्राभल नेपाल’ (एसियाकै पहिलो पदयात्रा कम्पनी) र ‘हिमालयन रिभर एक्स्प्लोरेसन’ (नेपालकै पहिलो जलयात्रा/र्‍याफ्टिङ कम्पनी) ले पनि बेग्लै ब्रान्ड बनाएका छन् । चितवन मेघौलीमा प्रत्येक वर्ष विश्व हात्ती–पोलो प्रतियोगिता आयोजना गर्थ्यो टाइगर टप्सले, जुन करोडौं डलर पर्यटन आम्दानीको स्रोत थियो । वार्षिक ८ हजार महँगा पर्यटकको यो प्रिय ‘लोकेसन’ मा २० कोठा र ६० बेड थिए ।

Tiger Tops: Nepal recognized, Nepal did not recognize

यथार्थमा टाइगर टप्स दिगो पर्यटन अवधारणाको प्रवर्तक थियो भन्छन् वातावरणविद् र ‘नेपाल नदी संरक्षण संस्था’ का अध्यक्ष मेघ आले । उनी हिमालयन रिभर एक्स्प्लोरेसनमार्फत टाइगर टप्ससँग जोडिएका थिए, सन् १९८५ मा– ट्रेनी रिभर गाइड भएर । त्यहीँ सिके रिभर गाइडिङ । उनको विचारमा वाइल्ड–लाइफ टुरिज्मलाई संसारैभर टाइगर टप्सले ब्रान्डिङ गर्‍यो । ‘नेपालमा जंगल सफारी नै टाइगर टप्सले आविष्कार गर्‍यो । त्यति ठूलो संस्थालाई सरकारले ध्वस्त पार्‍यो,’ मेघ भन्छन्, ‘टाइगर टप्सले सिकाएको पर्यटनबाटै नेपाल माथि उठ्यो तर माकुराले माउ खाएजस्तो नेपालले टाइगर टप्स नै खाइदियो ।’ 

मेघको स्मृतिमा ती दिनमा टाइगर टप्समा पाहुना भएर जान पर्यटकले ३ वर्षअघि नै बुकिङ भइसक्नुपर्थ्यो र प्रतिव्यक्ति एक रातको ३ सय ५० देखि ४ सय डलरसम्म तिर्नुपर्थ्यो । र, वार्षिक १ करोड रुपैयाँभन्दा बढी रोयल्टी बुझाउँथ्यो टाइगर टप्सले । जंगल लज सञ्चालनमा ३ सयभन्दा बढीलाई रोजगारी दिएको थियो, पूरै समूहभित्र १ हजारभन्दा बढी कर्मचारी थिए । 

Tiger Tops: Nepal recognized, Nepal did not recognize

सन् १९७१ देखि संरक्षणमैत्री पर्यटन अवधारणालाई नेतृत्व गरेको हो– टाइगर टप्सले । ‘वातावरणकेन्द्रित इको–टुरिज्मदेखि उत्तरदायी संरक्षण पर्यटनसम्म यसको योगदान रह्यो,’ मेघ भन्छन् ।

२०६९ सालमा चितवन राष्ट्रिय निकुञ्जभित्रको टाइगर टप्स बन्द गरियो– ‘जंगली जनावरको सुरक्षामा ठूलो असर परेको’ निष्कर्ष निकाल्दै । राष्ट्रिय निकुञ्जभित्र होटल/लज सञ्चालन रोक्न सर्वोच्च अदालतमा मुद्दा दायर भएको थियो । त्यसबेला सर्वोच्चको आदेशमा निकुञ्जभित्रका ७ वटा लज बन्द भएका थिए । 

लेखक/पत्रकार वसन्त थापाको स्मृतिमा टाइगर टप्स रहस्यमय र तिलस्मी थलो थियो, जुन उसबेलाको भव्य संसार थियो । वाइल्ड–लाइफ पारखीमाझ पहिल्यै यसको प्रख्याति बढेकै थियो । सन् १९७७ फेब्रुअरीमा उनी पहिलो पटक टाइगर टप्स पुगेका थिए, जुन बेला उनी पर्यटनमा प्रवेश गरिसकेका थिए, टुरिस्ट गाइड ट्रेनिङ लिएर । उनले निःशुल्क प्रवेश पाए– टाइगर टप्समा । लजको चुलिएको ख्यातिबाट उनी त्यहाँ पुग्न उत्साहित थिए । जंगलमा पाँचतारे स्तरको लज खुलेको थियो, मान्छेहरूमा कौतूहल र जिज्ञासा भव्य थियो । 

Tiger Tops: Nepal recognized, Nepal did not recognize

काठमाडौंबाट चितवन सोझै सडक सञ्जालमा जोडिएको थिएन । मुग्लिन–नारायणघाट सडक खण्ड बनेको थिएन, टिस्टुङ–पालुङ–हेटौंडा (सात घुम्तीको बाटो) हुँदै पुग्नुपर्थ्यो चितवन वा अर्को थियो हवाईमार्ग– काठमाडौंदेखि भरतपुरसम्म । ती दिन भरतपुर र गोरखामा पनि हवाई सेवा चल्थ्यो । 

सन् १९६१ मा बेलायतकी महारानी एलिजाबेथ र राजकुमार फिलिप नेपाल आउँदा चितवन सिकारमा लैजान मेघौलीमा विमानस्थल निर्माण गरिएको थियो । केही विशिष्ट पर्यटक कहिलेकाहीँ तत्कालीन शाही नेपाल वायुसेवाको चार्टर्ड विमानबाट पनि मेघौली पुगिरहन्थे । त्यो थियो– कच्ची चौरको एयरपोर्ट । एयरपोर्टको दक्षिण सालघारीले घेरिएको थियो । एयरपोर्टबाट टुरिस्टलाई हात्तीमा चढाएर टाइगर टप्ससम्म पुर्‍याइन्थ्यो । जिप सेवा पनि सञ्चालनमा थियो । राप्ती नदी तर्नुपर्थ्यो, हात्तीले नै तार्थ्यो, रिउ खोला पनि तर्नुपर्थ्यो । 

रिउ खोला किनारमै थियो– टाइगर टप्स । हात्तीले ढाडबाट पर्यटकलाई मचानमा ओराल्थ्यो र मचानबाट भर्‍याङ हुँदै ओर्लिनुपर्थ्यो । टाइगर टप्सको आँगनमा थिए– दुई वटा ठूला लज, एक–एक तलाको । लज–भवनमा काठ र स्थानीय वस्तु प्रशस्तै प्रयोग गरिएको थियो । वसन्त थापाको सम्झनामा ट्वाइलेटमा कम्मोड, तातोपानी, सोलार प्यानल र सावरको सुविधा थियो ।

त्यो जंगल बसाइ एडभेन्चर थियो– सुविधाजनक बिछ्यौना, सफासुग्घर पनि । सालको रूख नकाटीकन त्यसलाई लजको एक ‘पार्ट’ बनाइएको थियो– ट्री–टप कोठा, रूख नै भवनको प्रमुख हिस्सा । आँगनबीच ठूलो गोलघर थियो, फुसको छानाले बनाइएको । त्यहीँ थियो– डाइनिङ रुम, रेस्टुरेन्ट र बार, जहाँ राति सानदार जमघट हुन्थ्यो । त्यहीँ थियो– हात्तीसार र झुप्रा कटेज, जहाँ माउते (फनित) बस्थे । जंगल सफारी कि बिहान कि बेलुकी मात्रै चल्थ्यो र बर्खामा बन्द हुन्थ्यो । तीन थरीको जंगल सफारी चल्थ्यो– हात्तीमा, जिपमा र पैदलै । Tiger Tops: Nepal recognized, Nepal did not recognize

अरू दुई ठाउँमा पनि बस्ने व्यवस्था थियो– टाइगर टप्स लजमा । एक थियो– ‘टेन्टेड क्याम्प’ । टाइगर टप्सको पूर्वपट्टि जंगलबीच थियो– दुई वटा पलङ र एट्याच बाथरुमसहितको सफारी टेन्ट । 

नारायणी नदी किनारमा थियो– सफारी क्याम्प, नारायणीका दुई भँगालो फाटेको ठाउँमा । टाइगर टप्सबाट हिँडेर र राप्ती पुल तरेर त्यो क्याम्प पुगिन्थ्यो । त्यही क्याम्पमा एकै पटक २ वटा बाघ देखेको सम्झना छ वसन्तसँग । त्यहाँ बाघ निम्त्याउन भैंसीको पाडो बाँधेर राखिन्थ्यो मचानमा फोकस लाइटसहित । बिस्तारै बाघ पसेको र पाडोलाई लुछेर खान थालेको दृश्य हेर्न पर्यटकको भीड लाग्थ्यो । पर्यटकहरू अग्लो ठाउँबाट त्यो दृश्य हेर्थे । पाडो बाँध्ने त्यो परिपाटी पछि हट्यो । बाघको आहाराका लागि पाडो राखिएजस्तै चितुवाका लागि बाख्रा राखिन्थ्यो । बाघ कहिले एक सातासम्म पनि आउँदैनथ्यो, कहिले नियमित आउँथ्यो । 

Tiger Tops: Nepal recognized, Nepal did not recognizeचितवनको मेघौली एयरपोर्ट ।

हिलारी क्लिन्टन आएर टाइगर टप्समा सुतेको पलङ कसैले वसन्तलाई देखाएको थियो । वसन्तको बुझाइमा संसारमै टाइगर टप्सको भव्यतम् छवि निर्माण हुनुमा नेपालको सांग्रिला–छवि हो । ‘त्यो बेला टाइगर टप्स सञ्चालन गर्नु उच्च चुनौतीको विषय थियो । त्यसको अनौठो र अद्भुत आकर्षण थियो । नेपाल जादुमय आकर्षणको थलो थियो,’ वसन्त भन्छन्, ‘त्यो बेला थोरै पर्यटक मात्रै नेपाल आउँथे, जो धनी थिए र टाइगर टप्स पुग्थे, रमाउँथे ।’ 

यसरी संसारका पैसावाल पर्यटकलाई स्तरीय सफारी सेवा दिने कामको सुरुवात टाइगर टप्सले गर्‍यो । ती पर्यटकलाई उसले बाघ देखायो र बाघ संरक्षणको यात्रामा निरन्तर सहयोगी र सहभागी रह्यो । त्यसअघि नेपालमा बाघ हत्याको शृंखला निरन्तर थियो । सन् १९७२ मा राजा महेन्द्रको मृत्युपछि मात्रै नेपालमा बाघ सिकारमा आधिकारिक प्रतिबन्ध लाग्यो । १९६० को दशकको सुरुवातमा चितवनमा ठूला सिकारहरू भए । फेब्रुअरी १९६१ मा बेलायतकी महारानी एलिजाबेथ र राजकुमार फिलिपको राजकीय भ्रमण क्रममा महेन्द्रले तिनको सम्मान खातिर तराईमा सिकार पार्टीहरू आयोजना गरे । 

मार्क लिक्टीले लेखेका छन्, ‘त्यसबेला फिलिप दुविधामा थिए । खेल सिकारको स्पष्ट विरोध गर्ने र वन्यजन्तु संरक्षण संस्थाहरूको प्रमुख सदस्यका रूपमा फिलिप न महेन्द्रको निमन्त्रणा अस्वीकार गर्न सक्थे, न त लोपोन्मुख जनावरलाई मारेकै देख्न सक्थे ।’ 

Tiger Tops: Nepal recognized, Nepal did not recognizeसन् १९९५ मा टाइगर टप्स घुम्न आएकी अमेरिकी प्रथम महिला हिलारी क्लिन्टनसँग जिम एड्वार्ड ।

टाइगर टप्सको आँगनमा निरन्तर बाघ झुल्किइरहने पुरानो समयको रोमाञ्चक कथा लेखेका छन्, हेमन्त मिश्रले ‘श्री ५ को सेवामा’ र ‘बाघको अस्तु’ किताबमा, ‘एउटा औंला बांगो भएको बांगे भाले बाघले दुई वर्षसम्म टाइगर टप्सको पश्चिमपट्टिको ढाक्रे नाला वरिपरिको क्षेत्रमा प्रभुत्व जमाएको थियो, ऊ त्यहाँ दुइटा बघिनीसित बस्थ्यो । सन् १९८४ को अन्त्यतिर बांगेको शासित क्षेत्रलाई अर्को नयाँ बाघले अतिक्रमण गर्‍यो ।’ 

रामसिंह गुरुङ (६३) टाइगर टप्सका प्रशासन प्रमुख हुन्, जो अहिलेको भग्नावशेष कुरिबस्छन्, चार दशकदेखि टाइगर टप्समा काम गरिरहेका छन् । सन् १९९५ को अप्रिल १ मा हिलारी क्लिन्टन टाइगर टप्स भ्रमणमा आउँदा रामसिंह यहीँ थिए । उनैले मेघौली एयरपोर्टबाट ड्राइभमा र राप्तीमा डुंगा चढाएर हिलारीलाई रिउ खोला किनारको टाइगर टप्स पुर्‍याएका थिए ।

Tiger Tops: Nepal recognized, Nepal did not recognize

३० जनाको समूहमा आएकी उनी २ रात, ३ दिन त्यस लजमा बसिन्, हात्ती सफारी गरिन्, लजका सञ्चालक जिम एडवर्डसँगै जंगल ड्राइभ गरिन्, टेनी क्याम्प गइन् र नारायणीमा बोटिङ गरिन् । हिलारीसँग खिचेका फोटाहरू अहिले पनि हेर्छन् र ती दिनतिर फर्किन्छन् रामसिंह । ‘हिलारी सरल र सबैसँग मिल्ने स्वभावकी थिइन्,’ रामसिंह भन्छन्, ‘शान्त जंगलमा आनन्द लिइन् उनले ।’ राजा वीरेन्द्र, ज्ञानेन्द्र, दीपेन्द्रलाई पनि रामसिंहले देखे टाइगर टप्समा । 

‘हरेक रात पार्टी हुन्थ्यो, अब त यो सुनसान छ । झ्याउँकिरी र जंगलको आवाज सुनेरै दिन काट्नुपर्छ, ती दिन सम्झेर र अहिलेको अवस्था देखेर विरक्त लाग्छ,’ रामसिंह भन्छन्, ‘ती दिन फर्किए हुन्थ्यो भन्ने लाग्छ । त्यो रौनक अब त केही पनि बाँकी छैन ।’ 

लज बन्द भएपछि अर्थात् ०६९ देखि यहाँ १३ जना कुरुवा छन् । हात्तीलाई घाँस–पानी गर्दै तिनको दिन बित्छ । टाइगर टप्सकै ४ वटा हात्ती रेखदेख गर्ने ८ जना छन्– जगत मगर, गुनबहादुर कुमार, रामबहादुर बोटे, शक्ति कुमालहरू । सफारी बिलकुल बन्द छ । 

Tiger Tops: Nepal recognized, Nepal did not recognizeसन् १९८६ मा टाइगर टप्समा बेलायती राजकुमार फिलिपसँग जिम एड्वार्ड ।

टाइगर टप्सका पूर्वमेनेजर डीबी चौधरीले सन् १९९८ देखि २००६ सम्म क्याम्प इन्चार्ज भएर काम गरे । उनको विचारमा टाइगर टप्सले वातावरण संरक्षणमा ठूलो योगदान पुर्‍यायो । ‘जनावरलाई डिस्टर्ब नगरी तिनलाई हेर्न, तीसँग दूरी बनाउन पर्यटकले यहाँबाट सिके,’ उनी भन्छन्, ‘घुम्न कहाँ जाने भन्ने प्रश्नमा पर्यटकले नेपाल भन्दैनथे, टाइगर टप्स भन्थे ।’

सन् १९९० सम्म टाइगर टप्सको निर्देशक तथा लगानीकर्ता पनि थिए– लेखक सागरशमशेर । त्यो समय उनका लागि एक अद्वितीय अनुभव थियो । ‘टाइगर टप्स र चितवन निकुञ्जको धुन मेरा लागि बेग्लै र सुन्दर थियो । त्यो लजमा बसेर सन–सेट हेर्दा स्वर्गमा छु भन्ने अनुभूति हुन्थ्यो,’ सागर भन्छन्, ‘टाइटर टप्स भग्नावशेष भएपछि पनि हेर्न गएँ, रुन मन लाग्यो । नेपालको त्यस्तो सम्पत्तिलाई हामी आफैंले बिगार्‍यौं । टाइगर टप्सले पर्यटन मात्रै होइन, वातावरण संरक्षणमा पनि उल्लेखनीय योगदान गरेको थियो । आज चितवन निकुञ्जभित्र टाइगर टप्ससरह जिम्मेवार केही लजहरू जीवित रहेको भए त्यो ठाउँ तस्करहरूका लागि स्वर्ग बन्ने थिएन ।’ 

Tiger Tops: Nepal recognized, Nepal did not recognizeजिम एड्वार्ड र उनका व्यापारिक साझेदार बाघविज्ञ चक म्याकडुगल ।

जंगलको झ्याङमा राति एकनास कराइरहेका झ्याउँकिरीका आवाज रामसिंहलाई टाइगर टप्सकै दुःखका गीतझैं लाग्छ । र, ती रात–साँझ केवल मौन लाग्छन् । 

अनेकौं रमाइला सम्झना र कथाहरू बोकेर बाँचिरहेको भग्नावशेष टाइगर टप्सले नेपाललाई संसारमा चिनायो तर नेपालले उसलाई चिनेन । टाइगर टप्स आउँदो पुस्तालाई पर्यटन–संस्कृति सिकाउने स्कुल हो, जसको भग्न स्वरूपलाई आँधीबेहरीमय वर्षाले दिन–रातै प्रहार गरिरहेकै छ, जसरी यसलाई व्यवस्थाले प्रहार गर्‍यो । टाइगर टप्स आज संघर्ष, सुख र दुःख बोकेर उँघिरहेको खण्डहर भएको छ, जसले कुनै समयको सुन्दर सुदूर अतीतलाई सम्झाइरहेको छ ।

Tiger Tops: Nepal recognized, Nepal did not recognizeटाइगर टप्स भ्रमण क्रममा हात्ती सफारीमा अमेरिकी संगीतकार मिक जागर ।

०००

‘धनी ग्राहकले नेपाल भ्रमण गर्न छाडे’

Tiger Tops: Nepal recognized, Nepal did not recognizeज्याक एड्वर्ड, प्रबन्ध निर्देशक, टाइगर टप्स लज

टाइगर टप्सले चितवन निकुञ्जभित्र कसरी स्थान पायो ? 

टाइगर टप्स जंगल लज सन् १९६४ मा स्थापना भएको थियो, जसमा दुई अमेरिकी सिकारीले पर्यटन उद्योगमा नेपालको पहिलो विदेशी लगानी कम्पनीहरूमध्ये एकका रूपमा स्थापना गरेका थिए । राष्ट्रिय निकुञ्ज बन्नुभन्दा धेरै अघि यो होटल चितवनको जंगलमा निर्माण गरिएको थियो ।

मेरा बुबा जिम एडवर्ड, जो पहिलो पटक सन् १९६२ मा नेपाल आएका थिए । उनले १९७१ मा अमेरिकीबाट कम्पनी खरिद गरेका थिए । कम्पनीमा खराब व्यवस्थापन थियो, जसले गर्दा घाटामा देखिन्थ्यो । मेरा बुबाले जनावरहरूको सिकार गर्नु उचित देखेनन् तत्पश्चात् वन्यजन्तु अवलोकनमा मात्रै ध्यान केन्द्रित गर्ने निर्णय गरे । टाइगर टप्सले १९७३ मा चितवन राष्ट्रिय निकुञ्जको स्थापनाकालमा ठूलो संलग्नता देखाएको थियो र सरकारलाई संरक्षणमा केन्द्रित रहने पर्यटन अभ्यासका नीति बनाउन पनि मद्दत गर्‍यो ।

सरकारले महसुस गर्‍यो कि पर्यटन प्रवर्द्धन हुनुमा राष्ट्रिय निकुञ्जको सही व्यवस्थापन हो, आम्दानी र प्रवर्द्धनको महत्त्वपूर्ण हिस्सा हो । थुप्रै अफ्रिकी देशले धनी पर्यटक आकर्षित गर्न ‘लिज मोडेल’ अपनाएका थिए जबकि जनावरलाई बाधा नपुगोस् भनेर पार्कमा प्रवेश गर्ने मानिसको संख्या सीमित गरिएको थियो । ‘लिज मोडेल’ निकुञ्जका जंगलभित्र थोरै संख्यामा होटल निर्माण गर्न र निजी सफारी सञ्चालन गर्न सकिने भन्ने हो । यो मोडेल अफ्रिकामा धेरै सफल भएको पाइन्छ ।

मेरो बुबाले नेपालका लागि यो नीति अपनाउन सरकारलाई मनाए । सरकारले मेरो बुबाको कुरा सुन्यो र विश्वस्त भयो । अन्तत : टाइगर टप्सलाई राष्ट्रिय निकुञ्जभित्र सञ्चालन जारी राख्न अनुमति दियो, जस अर्थमा नेपाल एसियामै यो अवधारणा अपनाउने पहिलो देश बन्यो । भारत, थाइल्यान्ड र अन्य लोकप्रिय पर्यटनको गन्तव्य मानिएका देशभन्दा अगाडि बढ्यो नेपाल । ४० वर्षसम्म नेपालमा यो सफल मोडेल बन्न पुग्यो । सन् २०१२ मा टाइगर टप्स बन्द भयो ।

वन्यजन्तु संरक्षणमा टाइगर टप्सको भूमिका के छ ?

कसैले तर्क गर्न सक्छन्, टाइगर टप्सले वन्यजन्तु संरक्षणमा केन्द्रित दिगो पर्यटनको अवधारणा स्थापित गर्ने एक अग्रणी भूमिका निर्वाह गर्‍यो । सन् १९७१ तिर नेपालमा कसैले पनि पर्यटन उद्योग र वातावरण संरक्षणबारे सोचिरहेका थिएनन् । मेरो बुबा र उनका व्यापारिक साझेदार चक म्याकडुगलले पाहुनाहरूलाई सफारीमा लैजाँदा जंगलको संरक्षणमा ध्यान केन्द्रित गर्ने निर्णय गरे । उनीहरूले कोठाको संख्या सीमित गरे, जसमा फोहोर व्यवस्थापनमा ध्यान केन्द्रित थियो ।

चितवनका जनावर जोगाउन धेरै अनुसन्धान र संरक्षण परियोजना सुरु गरे । टाइगर टप्सले १९७४ मा पहिलो दीर्घकालीन बाघ अनुगमन परियोजना सुरु गरेको थियो, जुन आफैंमा गर्वको विषय हो । त्यो पहल आज पनि चलिरहेकै छ । टाइगर टप्सले पहिलो घडियाल प्रजनन परियोजना स्थापना गर्न र गैंडा संरक्षणका लागि घाँसे मैदान व्यवस्थापन गर्ने प्रयास गर्‍यो । चोरी–सिकारीविरोधी पुरस्कार योजना र सिकार रोक्न गुप्तचर योजना सुरु गर्न थालियो । टाइगर टप्सले राष्ट्रिय निकुञ्ज विभागसँगै स्मिथसोनियन इन्स्टिच्युट, डब्लूडब्लूई, जेढएसललगायत अन्य अग्रणी संरक्षण संस्थासँग हातेमालो गरेर काम गर्‍यो ।

त्यसै समयदेखि टाइगर टप्सले वातावरणीय व्यवस्थापन, सफारी सञ्चालन, फोहोर व्यवस्थापन, आदिसम्बन्धी नीतिहरू लेखेको छ । अन्तर्राष्ट्रिय सरकारलाई पर्यटनको संरक्षणका लागि उत्कृष्ट अभ्यास थालनी गर्न सल्लाह दिएको छ । टाइगर टप्सले ३ सय न्दा बढी मानिसलाई रोजगारी प्रदान गरेर समुदायलाई मद्दत गरेको थियो । यसअन्तर्गतका कम्पनीहरूमा १ हजारभन्दा बढी मानिस रोजगार थिए ।

प्रायः कर्मचारी मेघौली, माडी र अमलटारी नजिकैका गरिब गाउँबाट आएका थिए । हामीले गाउँहरूमा इनार, कुवा निर्माण जस्ता पूर्वाधारमा पनि लगानी गरेका थियौं । अमलटारीमा एउटा परोपकारी विद्यालय सुरु गर्‍यौं, जुन आज पनि चलिरहेकै छ । टाइगर टप्सले चितवनमा सुरु गरेको पर्यटन उद्योगकै कारण आज यी गाउँहरू समृद्ध छन् । 

टाइगर टप्सलाई निकुञ्जबाहिर निकाल्ने सरकारको निर्णयलाई कसरी लिनुहुन्छ ? 

२०१२ मा सरकारले नेपालमा ‘लिज मोडेल’ बन्द गर्ने निर्णय गर्‍यो । बन्द भएपछि टिकट काट्ने मोडेल अपनाएको छ, जसमा आगन्तुकको संख्यामा कुनै प्रतिबन्ध छैन । प्रत्येक पर्यटकले धेरै/थोरै रकम तिर्ने गर्छन् । चितवनमा अहिले धेरै सवारी साधन छन्, प्रायः जनावर वरिपरि नै भीड हुन्छ ।

पार्कभित्र फोहोर फ्याँकिन्छ । पार्कभित्र को प्रवेश गरिरहेको छ ? त्यसको निगरानी गर्न अहिले गाह्रो छ । जनावर–सिकार अझै चलेकै छ, तर टाइगर टप्स जस्ता होटलले थप सुरक्षा प्रदान गरेकाले निगरानी कम प्रभावकारी भएको थियो । भारतीय राष्ट्रिय निकुञ्जमा धेरै भिडियो र तस्बिर छन्, जहाँ बाघलाई घेरेर २० भन्दा बढी सवारी साधनले ठूलो तनाव दिने गरेका छन् । चितवनमा पनि चाँडै त्यस्तै अवस्था आउने देख्छु, जुन दुःखद हो । तर, टाइगर टप्स बन्द भएपछि धनी ग्राहकले नेपाल भ्रमण गर्नै छाडे ।

निकुञ्जभित्र फेरि टाइगर टप्स स्थापना गर्ने योजना छ ?

हामीलाई लाग्छ, २०१२ मा सरकारले गरेको निर्णय गलत थियो । मलाई अझै विश्वास छ, सरकारले त्यो गल्ती पक्कै महसुस गरेको छ र सच्याउन खोजिरहेको छ । हालैको बजेटमा उच्चस्तरीय पर्यटन प्रवर्द्धनमा फेरि ध्यान केन्द्रित गराएको प्रस्ताव छ । संरक्षित क्षेत्रभित्र होटल भाडामा उपलब्ध गराउने सम्भावना प्रबल छ । दिगो तरिकाले कानुनअनुरूप मापदण्ड बनाई सीमित संख्यामा पारिस्थितिक पर्यटनमा होटल केन्द्रित भए यसलाई सरकारको सकारात्मक कदम मानिन्छ । टाइगर टप्स फेरि खोल्न इच्छुक छु ।

१३ वर्षमा हामीले मुख्य होटल संरचनालाई सुरक्षित राख्ने प्रयास गरेका छौं । राष्ट्रिय निकुञ्ज विभाग र सेनालाई चोरी–सिकारीविरोधी, घाँसे मैदान व्यवस्थापन, वन्यजन्तु अनुगमन र परोपकारी परियोजना सञ्चालन गर्न भनेका छौं । हामी त्यो प्रतिष्ठित होटल फेरि सुरु गर्न सक्छौं, जसले नेपाललाई एसियामा वन्यजन्तु पर्यटन उद्योगको शीर्षमा फर्काउन मद्दत गर्नेछ ।

बुबा जिम र टाइगर टप्सबारेका सम्झना सुनाइदिनुस् न !

सन् २००९ मा मेरो बुबाको निधन हुनुअघि उहाँले मलाई भन्नुभएको थियो– संसारको सबैभन्दा सुन्दर देशमा मर्न पाउँदा म खुसी छु । यदि मेरो बुबा अझै जीवित हुनुहुन्थ्यो भने उहाँ अहिले पनि त्यही कुरा भन्नुहुन्थ्यो । बुबाको सबैभन्दा राम्रो सम्झना टाइगर टप्स मात्र होइन, विगतका ६० देखि ८० को दशकमा नेपालको तराईमा गरेका साहसिक कार्यहरू पनि हुन् । चाहे त्यो चितवन, नवलपरासी, पोखरा र बर्दियामा लजहरू निर्माण होस् वा त्रिशूली र कर्णाली नदीमा माछा मार्ने र र्‍याफ्टिङ गर्ने होस् । उहाँले सम्पूर्ण देशलाई ठूलो उत्साहका साथ अन्वेषण गर्नुभएको छ ।

उहाँ नेपाली जनतालाई आफूभन्दा बढी माया गर्नु हुन्थ्यो । मेरो सबैभन्दा ठूलो सम्झना टाइगर टप्स जंगल लजमा बाल्यकाल बिताउनु हो । म काठमाडौंभन्दा जंगलमा बढी सहज अनुभूत गर्थे । राष्ट्रिय निकुञ्जभित्र सफारीमा जानु, हाम्रा हात्तीहरूसँग समय बिताउनु वा कर्मचारीबाट वन्यजन्तुबारे सिक्नु मेरा सबैभन्दा ठूला सम्झना हुन् । आज पनि म जंगलभित्र सकेसम्म धेरै समय बिताउने गर्छु ।

मेरो परिवारका लागि ३० देखि ४० वर्षभन्दा बढी समयदेखि काम गरेका धेरै बफादार कर्मचारीसँग मेरो राम्रो सम्बन्ध बन्यो । हाम्रो परिवार त्यहाँका स्थानीय मानिसप्रति सदा ऋणी छ, जसले टाइगर टप्सलाई एसियाको सबैभन्दा प्रमुख वन्यजन्तु लजका रूपमा विकास गर्न मद्दत गरे । मेघौली विमानस्थलमा अवतरण गर्नु र हात्ती पोलो खेल्नु मेरो अविस्मरणीय क्षण थियो । 

टाइगर टप्समा आएका विदेशी राष्ट्रप्रमुख र अन्य आगन्तुकका केही विशेष सम्झना छन् ? 

टाइगर टप्स विश्वव्यापी रूपमै मान्यता प्राप्त ब्रान्डमध्ये एक हो । धेरै विशिष्ट पाहुनाले यहाँ भ्रमण गरेका थिए । मलाई याद छ, भारतीय प्रधानमन्त्री राजीव गान्धी, अमेरिकी प्रथम महिला हिलारी क्लिन्टन, राजकुमार फिलिप, संयुक्त अधिराज्यकी राजकुमारी एनीले वर्षौंदेखि फरक–फरक समयमा टाइगर टप्स भ्रमण गरेका थिए । अन्तर्राष्ट्रिय सेलिब्रेटीहरूमा मिक जागर, रिंगो स्टार, लियोनार्डो डि क्याप्रियो, ओर्लान्डो ब्लुमहरूसमेत भ्रमणमा आए । नेपालमा हामी प्रायः शाही परिवार र प्रधानमन्त्रीहरूलाई टाइगर टप्समा स्वागत गर्थ्यौं ।

दीपक कला, साहित्य र सामाजिक विषयमा लेख्ने सापकाेटा कान्तिपुर दैनिककाे साप्ताहिक परिशिष्टाङक काेसेलीका संयाेजक हुन् ।

Link copied successfully