श्री ३ को शासन १९५१ मा ढल्यो, तर बाघ–गैंडा ढाल्ने काम रोकिएन, राजा त्रिभुवनका छोरा महेन्द्र पनि श्री ३ हरूजस्तै सिकारका सौखिन थिए, व्यापकै सिकार गर्थे, राणाबाट सिकार राजामा सरेको थियो
उन्नाइसौं शताब्दीको सुरुवातताका । मीनपचासका सबैभन्दा जाडा ५० दिन सुरु हुनेबेला काठमान्डुमा श्री ३ महाराजको दरबारमा व्यस्तता एकाएक बढ्थ्यो । काठमान्डुवासी जाडो कटाउन बन्दोबस्ती मिलाउँदै गरेका हुन्थे भने दरबारका कर्मचारीचाहिँ महाराजाको दक्षिण–यात्रा तयारीमा धुम्मरधुस लागिरहेका हुन्थे । उता तराईका फाँटमा ओरालो लागेको तापक्रमसँगै औलो सार्ने लामखट्टे पातलिँदै जान्थे ।
लामखुट्टेका क्रियाकलाप सुस्ताउँदा भने महाराजा जाग्थे र सुरु हुन्थ्यो– भव्य सिकार वा बाघको वधयात्रा । लामखुट्टे हराउँदा र तापक्रम ओरालो लाग्दा बाघ–गैंडाहरूको भने काल नजिकै आउँथ्यो । महाराजाहरूको बन्दुकको नाल र हात्तीको चालबाट त्यो कालले सालका जंगल प्रवेश गर्थ्यो । सयौं हात्ती तयार हुन्थे, सयौं माउते र हजारौं सहयोगी । यस्तो भव्य वधयात्रा सुरुवात गरेका थिए, श्री ३ महाराज जंगबहादुर राणाले ।
यस्ता बाघको वधयात्रा छिमेकी भारतमा भने धेरैअघिदेखि नै भइरहेको थियो । भारतमा बेलायती शासनको चर्काचर्की थियो भने नेपालमा राणाहरूको । भारतका विभिन्न राज्यका राजा–महाराजालाई एकअर्काविद्ध लडाएरै बेलायतीले शासन बलियो बनाउँदै थिए ।
बेलायती शासनका नाइकेसँग को बढी नजिक हुने भन्नेमा स–साना राज्यका राजा/महाराजाहरूको होडबाजी थियो । उनीहरू सिकारमा मस्त हुन्थे र बेलायती नाइकेहरूलाई बेलाबेला सिकारमा आमन्त्रण गर्थे । बेलायती नाइकेहरू नियमित सिकार गर्थे नै, धेरैजसो त नामुद सिकारी नै थिए ।
खानाका लागि सिकार त मान्छेले हजारौं वर्षदेखि गरेकै हो, तर सौख र सानका लागि सिकारको चरम रूप बेलायतले विश्वका विभिन्न देशहरू कब्जा गर्न थालेबाट देखिएको थियो । बेलायतीहरूले पहिले एसिया र अफ्रिकाका देशहरू कब्जा गरे, त्यसपछि व्यापक सिकार गरेर कैयौ वन्यजन्तु सखाप पारेका थिए, बाघ–गैंडा त्यसको सिकार भएका थिए ।
सिकारको तह कत्रो थियो भने सन् १८८० देखि सन् १८८४ सम्म भारतको भिसरोय बनेका बेलायती लर्ड रिपोनले उनको जीवनकालका विभिन्न चरणमा पाँच लाख ५६ हजार ८ सय १३ जनावर मारेका थिए, जसमा नेपालमा राणाहरूको निम्तोमा आउँदा मारिएका नौ बाघ र दुई गैंडा पनि पर्छन् । कुन महाराजाले बढी सिकार गर्ने भन्ने होडबाजी चलिरहेको हुन्थ्यो भारतमा ।
त्यतैको सिको गर्दै यता नेपालमा पनि श्री ३ महाराजहरूले हरेक वर्ष लामो सिकार यात्रा गने थाले । राजा–महाराजाले पहिलेदेखि नै सोखका लागि सिकार त गर्थे, तर जंगबहादुरको पालादेखि भने राणाहरूले मीनपचासको समयमा सिकार अनिवार्य जस्तो बनाए । त्यो एउटा परम्पराकै रूपमा स्थापित गरियो ।
सन् १८१७ मा जन्मेका जंगबहादुरले सन् १८४६ देखि सन् १८७७ सम्म नेपालको सत्तामा हालीमुहाली गरे । किताबी ज्ञानमा खासै चासो नभएका जंगबहादुरलाई शारीरिक रूपमा चलायमान हुनुपर्ने सबै कुरा मन पर्थे– खेलकुददेखि सिकारसम्म । हरेक वर्ष मीनपचासको समयमा तराईमा सिकार गर्न जाँदा जंगबहादुरले मात्रै ३१ वटा मीनपचासमा ४०० बढी बाघ मारेका थिए ।
त्योभन्दा पहिले पनि राजा/महाराजाहरू सिकार खोज्न निस्किन्थे, तर जंगबहादुरले नयाँ प्रचलन सुरु गरे अर्थात् अरूले खोजेर ठिक्क पारेको सिकारलाई सकेसम्म चाँडै मार्ने । त्यसले मारिने जनावरको संख्या ह्वात्तै बढायो । उनले सिकारमा ‘नेपाली घेरा’ नामक नियम ल्याए । जंगेको नियममा के गरिन्थ्यो भने पहिले बाघ भएको कुनै स्थानमा पाडो वा राँगो लगेर बाँधिन्थ्यो, जसका कारण बाघ आकर्षित हुन्थे ।
त्यसपछि तीन सय बढी हात्तीले दुई किलोमिटर आसपासको क्षेत्रमा गोलो घेरा बनाएर घेर्थे । बिस्तारैबिस्तारै ती हात्तीले घेरा साँघुर्याउँदै लैजान्थे भने घेराभित्रका बाघ पेलिँदै जान्थे । सिकार हात्तीमा सवार महाराजाहरूले त्यसैबेला घेराभित्रका बाघ मार्थे । भनिन्छ, कुनै–कुनै घेराभित्र त ६ वटासम्म बाघ भेटिन्थे । त्यसलाई सिकार–भोज अर्थात् हन्टिङ पार्टी भनिन्थ्यो ।
जंगबहादुरले सन् १८७६ मा बेलायतका प्रिन्स अफ वेल्स इडवार्ड सातौंलाई निम्त्याएर पश्चिम नेपालको शुक्लाफाँटामा बाघको सिकार गराएका थिए । सन् १९११ मा इडवार्डका छोरा जर्ज पाँचौंले चितवनमा एक साता लामो सिकार यात्रा गरेका थिए, चन्द्रशमशेरका पालामा । त्यसको १० वर्षपछि सन् १९२१ मा जर्जका छोरा इडर्वाडले पनि चन्द्रशमशेरकै पालामा चितवनमै सिकार गरेका थिए ।
चितवन खासमा सिकारको राजधानी थियो । त्यसमध्येको सबैभन्दा भव्य सिकार–यात्रा भने जर्ज पाँचौंको थियो, सन् १९११ मा । जर्ज पाँचौं दिल्लीमा भारतका सम्राट्को मुकुट लगाएर सिकारका लागि नेपाल पसे । तर, त्यसैदिन नेपालका राजा पृथ्वी वीरविक्रम शाहको मृत्यु भयो । राजा नै मरे पनि बेलायतका राजाको सिकार–यात्रा नरोक्ने निर्णय श्री ३ महाराज चन्द्रशमशेरले गरे ।
सन् १९११ को डिसेम्बर १८ तारिख अर्थात् मीनपचासको एक दिन ! ठोरीको विकनास्थित क्याम्पबाट रिउ खोलाले बनाएको उपत्यकामा उनकै भ्रमणका लागि बनाइएको १३ माइल लामो बाटोमा कार चढी सिकारमा निस्किएका जर्जलाई चन्द्रशमशेरका छोरा बबरशमशेरले साथ दिएका थिए । साँझ साढे पाँच बजे राप्तीको दक्षिण किनारमा आइपुगेका राजाको भ्रमणबारे क्याम्ब्रिज विश्वविद्यालयमा संग्रहित त्यो बेलाको फिल्ड नोटमा लेखिएको छ ।
‘त्यो सिकार यात्राका लागि ६ सय हात्ती, १२ हजार भरिया र दुई हजार सेवक प्रयोग भएको थियो । बाटोमा राजाले दुई बाघ मारे, जसलाई हात्तीहरूको झुन्डले उनैको सिकारका लागि घेरेर राखेका थिए । त्यसपछि १९ माइल मोटर–यात्रापछि लर्ड डुह्रामले एक बाघ र एक गैंडा, राजा जर्जले दुई गैंडा र लर्ड एनालीले एउटा गैंडा मारे । तीन बाघ र तीन गैंडा मारेपछि उनीहरू बिहानको खानामा सरिक भए,’ विश्वविद्यालयको सो कागतपत्रका आधारमा किइस रुकमाकरले छापेको अनुसन्धानपत्रमा लेखिएको छ ।
डिसेम्बर २० बुधबारका दिन ठाउँ–ठाउँमा पाडा राखिएको थियो, बाघलाई आकर्षित गर्न । तीनवटा टोली खटाइएको थियो, दुई टोली बाघका लागि, एउटा गैंडाका लागि । पहिलो घेराभित्र फसेकी एक बघिनीलाई राजाले मारिहाले । दोस्रो घेरामा एउटा गैंडा र उसको बच्चा थियो । गैंडाले आफूलाई घेरिरहेका हात्तीमाथि आक्रमण गर्न थाल्यो र त्यो घेरा तोडेर भाग्न सफल भयो । तेस्रो घेरामा भने कम्तीमा चार बाघ थिए, जो मुटु छेडिएलाजस्तो आवाजमा कराइरहेका थिए ।
ती बाघले पनि हात्तीलाई आक्रमण गरिरहेका थिए भने माहुतेहरू चिच्याइरहेका थिए । त्यही माहोलमा राजा जर्जले बन्दुक तेर्स्याए र चार बाघ ढलाए । जर्जको टोलीले आफ्नो ११ दिने बसाइका क्रममा ३९ बाघ, १८ गैंडा र चार भालु मारेका थिए । त्यस्तै, सन् १९३९ को अर्को एउटा सिकार–यात्रामा त एकैपटक १२० बाघ मारिएको थियो भने सन् १८५० मा जंगबहादुर राणा एक्लैले चितवनमा एउटै सिकार–यात्रामा ३१ बाघ मारेका थिए ।
महाराजा जुद्धशमशेरले मात्रै सन् १९३३ देखि १९४० को बीचका सात वर्षमा ४३३ बाघ मारेका थिए, जुन अहिले नेपालमा रहेको बाघको कुल संख्याभन्दा पनि धेरै हो । नेपालभन्दा भारतमा विकराल थियो, बाघ हत्याको शृंखला । सन् १९३० देखि १९५५ बीच भारतको जयपुरबाट २५० माइल दक्षिणमा रहेको उदइपुरका महाराजाले १,००० बाघ मारेका थिए भने मध्यभारतको सुरगुजाका महाराजाले त्यसै समयमा १७१० बाघ मारेका थिए ।
एकातिर राजा–महाराजाहरूले बाघ–गैंडाको सिकार गरिरहेका थिए । अर्कोतिर पश्चिमा देशका धनीले पनि सौखका लागि विश्वका विभिन्न देशमा पैसा खर्चेर सिकार खेल्न जाने र जनावर लिएर फर्कने अर्थात् हन्टिङ ट्रफी जम्मा गर्ने काम
बढ्दो थियो, खासगरी पहिलो विश्वयुद्धपछिको समयबाट । त्यस्तो काम गराउन कम्पनी नै खोलेर लागेका एक जना गोराले राणाशासनकै बेला पनि नेपालमा केही विशेष सिकार यात्रा गराउँथे । त्यसरी पैसा कमाउने उद्देश्यले जंगली सिकार गराउने पहिलो गोरा थिए, अमेरिकी सिकारी चार्ल्स कोटार । इतिहास अध्येता मार्क लिचीको एक अध्ययनपत्रमा उनले लेखेका छन्, कोटार सन् १९१० मा बेलायती शासन चलिरहेका बेला पूर्वी अफ्रिका आएका थिए ।
धनी अमेरिकी गोरा सिकारीलाई सिकार गराउने उद्देश्यले उनले सन् १९१९ मा कोर्टास् सफारी सर्भिस् स्थापना गरे, अफ्रिकामा । त्यो निकै चलेपछि कोटार नेपाल आए र तत्कालीन राणा–महाराजाहरूसँग दोस्ती बढाए । महाराजाले कोटारका सिकारी ग्राहकहरूका लागि दरबारसमेत प्रयोगका लागि उपलब्ध गराइदिन्थे भनेर लिचीको अध्ययनमा भनिएको छ । सन् १९२२ मा त कैशरशमशेर राणाले रु. ३५,००० अर्थात् त्यो बेलाको १२,६०० डलरमा दुई वटा गैंडा अमेरिकाको एउटा चिडियाखानाका लागि बेचेका थिए । यसरी सफारीमार्फत सिकार गराएर सिक्का आर्जन गर्न राणाहरूले धनी अमेरिकी गोरा सिकारीबाट सिकेका थिए ।
श्री ३ हरूको शासन १९५१ मा ढल्यो, तर पनि बाघ–गैंडा ढाल्ने काम रोकिएन । प्रजातन्त्र आएको चार वर्षमै सन् १९५५ मा राजा त्रिभुवन मरे । उनका छोरा महेन्द्र नेपालका राजा भए । उनले प्रजातन्त्र मासेर पञ्चायती व्यवस्था लादे । महेन्द्र पनि श्री ३ हरूजस्तै सिकारका सौखिन थिए, व्यापकै सिकार गर्थे । राणाबाट सिकार राजामा सरेको थियो ।
एकातिर राजा–महाराजाहरूले सिकार गरिरहेका थिए भने अर्कोतिर दोस्रो विश्वयुद्धपछि उरालिएको अर्थतन्त्रमा धनी हुँदै गएका अमेरिकी गोरालाई सिकार गराउने व्यवसाय व्यापक बन्दै थियो । अफ्रिका र एसियाका बाघ, गैंडा, सिंह जस्ता ठूला जनावर सिकार गराउने कम्पनी नै खोलेर व्यापार गरिरहेका थिए । नेपालमा पनि गोराहरू आउने क्रम बढ्यो । बेलायती त छँदै थिए, अमेरिकीहरूको आगमन पनि बाक्लिन थाल्यो । राणाहरू सेलाएका त थिए, तर सिकारको सौख भने कायमै थियो । सिधै सत्तामा नभए पनि राजाको वरिपरि उनीहरूकै हालीमुहाली थियो ।
कोटारको सिकार सफारीपछि भने अरूले नेपालमा सिकारको व्यापार नै चलाएका भने थिएनन् । तर, राणाहरू हटेर शाहहरू आएपछि खासगरी महेन्द्र र उनका भाइ बसुन्धराको आडभरोसामा सिकार सफारीका लागि दुई गोरा चितवन पसे । ती गोरा थिए– अमेरिकी जोन कोपम्यान र आइरिस पिटर वार्यन । महेन्द्र कोपम्यानको प्रशंसक थिए भने बसुन्धराका प्रिय पात्र थिए पिटर ।
महेन्द्र राजा भएको तीन वर्षमै सन् १९५८ मा नेपालमा रोयल नेपाल सिकार कम्पनी खोले । कोपम्यानभन्दा पहिले नै बसुन्धराको आदेशमा पिटरले सिकारको लाइसेन्स पाइसकेका थिए– सन् १९५३ मा । कोपम्यानले भने सन् ६० को दशकमा अमेरिकाका दुई धनी व्यापारी हर्व क्लेइन र टोडी ले वाइनेलाई नेपाल ल्याए । दुवै व्यापारी सिकारका सौखिन थिए । उनीहरूले चितवनमा पहिलो हन्टिङ लज खोले– टाइगर टप्स ।
राणाहरू पछिको सबैभन्दा भव्य सिकार–सवारी महेन्द्रले गराएका थिए, चितवनमै । उनले पनि बेलायतकी महारानीलाई नेपालमा सिकार गराउने कार्यक्रम मिलाए । चितवन फेरि भव्य सजियो । जर्ज पाँचौंले बाघ मारेको ५० वर्षपछि आइपुगेकी थिइन् उनकी नातिनी बेलायतकी महारानी एलिजावेथ द्वितीय । पहिले त सडक मात्र बनाइएको थियो, तर महारानी एलिजावेथका लागि ४ हजार फिट लामो जहाजको रनवे नै नेपाली सेनाले मेघौलीमा बनायो, एक महिनामै । हजारौं मानिसलाई काममा खटाइएको थियो, दिनरात नभनी काम भइरहेको थियो । सेना, कर्मचारी, प्रहरी सबै लागेका थिए ।
एक महिनामै दुई वर्ग माइलको क्षेत्रफलमा क्याम्पिङ र सिकार टेन्टको बस्ती नै तयार गरिएको थियो । दुबो बिछ्याएर सम्म मैदान बनाइएको थियो । भरतपुरबाट मेघौली जोड्ने बाटो बनेको थियो । त्यो बाघ सिकारका लागि चितवनका जंगलमा ३७६ हात्ती तैनाथ गरिएको थियो, जसले दुई माइल लामो लाम बनाएका थिए । सिकारमा जाँदा ६ वटा हात्तीलाई त बारका रूपमा प्रयोग गरिएको थियो, जहाँ महारानी एलिजावेथ र राजा महेन्द्रको टोलीलाई वाइनदेखि बियर सर्भ गरिएको थियो । तर, सिकार कार्यक्रममा सहभागी भए पनि महारानीले सिकार भने गरिनन् ।
बेलायतलगायत पश्चिमा देशहरूमा त्यसरी बाघ–गैंडा लगायतका जनावर मारेकामा विरोध भइरहेको थियो । तर, एलिजावेथले राजा महेन्द्रको भव्य सिकार सवारी–यात्राको अनुरोध अस्वीकार गर्न सकिनन्, सिकार गर्न पनि चाहिनन् । एलिजावेथका श्रीमान् प्रिन्स फिलिपले त नाटक गर्न बन्दुकको ट्रिगर चलाउने औंलामा ब्यान्डेज लगाएर राजा महेन्द्रलाई आफूले सिकार गर्न नसक्ने बताएका थिए । त्यसपछि उनको सिकार टोलीका अरू सदस्यले जनावर मारेका थिए । यसरी बिस्तारैबिस्तारै विश्वभरि नै बाघमारा अभियानमा राजा–महाराजाहरूको मोहको विरोधमा अभियन्ता र सञ्चारमाध्यम लाग्न थालेपछि राजा–महाराजा नै त्यस अभियानमा सरिक हुन थालका थिए । एलिजावेथ र फिलिप पनि त्यो अभियानमा सहभागी भइसकेका थिए । बेलायतका पत्रिकाहरूमा लेखिएको थियो, ‘महारानीले बन्दुकले होइन, क्यामराले सफारीको आनन्द लिइन् ।’
महेन्द्र पनि बाघ–गैंडा संरक्षण गर्नुपर्छ भन्ने अभियान चलाएका संस्थाहरूले स्विट्जरल्यान्डमा आयोजना गरेको सम्मेलनबाट भर्खरै फर्केका थिए । बेलायती राजपरिवारको त्यसमा सहभागिता थियो । महेन्द्रले पनि उनीहरूको अरुचि बुझे र बिस्तारै नेपालमा पनि वन्यजन्त संरक्षण अभियान सुरु भयो । तर, महेन्द्र त सन् १९७२ मा चितवनमा सिकार गर्ने यात्रामा रहँदैताका बितेका थिए । उनी मरेपछि भने नेपालमा बाघ–गैंडा सिकार नै प्रतिबन्धित गरियो । सिकारले निरन्तरता पाउन छाड्यो । महेन्द्र मरेको एक वर्षपछि अर्थात् सन् १९७३ मा नेपालले पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज स्थापना गर्यो । त्यहाँबाट ‘बाघ मारन होइन बाघ हेरन’ को यात्रा आरम्भ भयो ।
जंगल सफारी बन्दुकको नालबाट क्यामराको लेन्समा सर्यो । तर, आक्कलझुक्कल बाहिर थाहा नदिइकन महाराजाहरू सिकार चाहिँ गर्थे । वि.सं. २०३५ मा समेत राजा वीरेन्द्र्रलाई पितृ तर्पण गराउन भाले गैंडा खोजिदिने जिम्मा पाएका वन्यजन्तु संरक्षणविद् हेमन्त मिश्रले आफ्नो किताब ‘अ सोल अफ राइनो’ मा दिनैभर दूरबिनले गैंडाको लिङ्ग पहिचान गर्दा थाकेर लखतरान परेको उल्लेख गरेका छन् ।
अन्ततः उनले फेला पारेको भाले गैंडालाई राजा वीरेन्द्रले गोली हानेर मारेका थिए । मिश्रले लेखेका छन्, ‘क्याम्पमा लगेपछि त्यो गैंडाको भुँडीबाट अंगहरू एकएक गरी बाहिर झिकेर बाल्टिनहरूमा राखियो । चारै खुट्टा आकाशतिर ठडिने र ढाड भुइँमा अडिने गरी गैंडाको शरीरलाई अड्याइयो । फूल–अक्षताले गैंडाको शरीरमा पूजा गरेपछि राजा गैंडाको शरीरभित्र प्रवेश गरे । उनी गैंडाको पेटभित्र उभिए र दुवै आँखा बन्द गरे । गैंडाको रगतले भरिएका दुवै हात जोडेर उनले आफ्ना पितृलाई तर्पण दिए ।’
तर, पछि त्यो चितवनको हन्टिङ लज सन् १९७२ मा बेलायती नागरिक जिम एडवार्डले किने र अर्का साथी चक म्याकडगललाई मिसाएर ‘बाघ मार्ने होइ, बाघ हेर्ने’ लजका रूपमा स्थापित गराए । बाघको ‘मरनबाट हेरनको यात्रा’ सुरुवात एकातिर सरकारले सन् १९७३ मा चितवनलाई पहिलो राष्ट्रिय निकुञ्ज घोषणा गरेर गर्यो भने धनीमानी विदेशीका लागि ‘बाघ हेरन’ को यात्रा गराउने कामको सुरुवात टाइगर टप्सले गर्यो । सफारी त्यसपछि बन्दुकबाट क्यामरामा सर्यो, राजा–महाराजाबाट पर्यटकमा पनि पुग्यो ।
