भैरहवा — वन जंगलको मनोरम वातावरण, वन्यजन्तु, चरा, ल्यान्डस्केप र जैविक विविधतालाई नजिकबाट नियालेर प्राकृतिक सुन्दरताको आनन्द लिन जंगल सफारी गरिन्छ । खासगरी चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सफारीका लागि लोकप्रिय छन् ।
प्रायः गाडी, हात्तीमार्फत वा पैदल नै जंगल सफारी गरिन्छ । हात्ती सफारी महँगो हुने हुँदा गाडी र पैदल सफारी बढी प्रचलनमा छ । गाडी सफारी ७५ प्रतिशतले गर्छन् भने पैदल सफारी गर्ने २५ प्रतिशत मात्र छन् । छिटो फर्कन चाहने, हिँड्न नसक्ने र धेरै घुम्न खोज्नेहरू गाडी सफारी गर्छन् । जंगलभित्र हिँडाइको आनन्द लिनेहरू ‘जंगल वाक’ गर्दै सफारी गर्छन् । गाडी सफारीबाट पनि वन्यजन्तु, चरा, स्तनधारी र उभयचर देख्न सकिन्छ । सफारीका गाडीसँग वन्यजन्तुको जम्काभेट भए पनि आक्रमणको डर कम हुन्छ । तर, कतिपय अवस्थामा गाडीको आवाजले वन्यजन्तु तर्सेर झनै जोखिम बढ्ने पनि हुन्छ । सफारीको खास आनन्द भने ‘जंगल वाक’ भएको बर्दियाका नेचर गाइड पवन थापा मान्छन् ।
‘प्रत्येक पाइलामा जंगल भाइब्स पाइन्छ,’ उनले थपे, ‘प्राकृतिक आनन्दको सीमा हुँदैन । जंगलका खोलानालाको कलकलाउँदो आवाजसँगै वन्यजन्तु हेर्न धोको पूरा हुन्छ । फोटो/भिडियो खिच्दा थप रोमाञ्चक भइन्छ ।’ जंगल वाकले चराका सुमधुर आवाज, वन्यजन्तुका पदचापको पनि नजिकबाट महसुस गर्न पाइन्छ । यसले वन्यजन्तुको चाल र बासस्थान थाहा पाउन सकिन्छ । र, नदेखेको भए खोजेर हेर्न सहयोग पुर्याउँछ ।
‘यसले छुट्टै एक्साइटमेन्ट हुन्छ,’ नेचर गाइड थापाले भने, ‘छुट्टै खुसी, आनन्द र सन्तुष्टि मिल्छ । जंगल वाकमा जाँदा वनको स्वच्छ हावा पनि पाइन्छ । जसले शारीरिक स्फूर्ति र आनन्दित बनाउँछ । सामान्यतया दैनिक सूर्योदयदेखि सूर्यास्तसम्मै सफारीको समय हुन्छ । बाघ हेर्न बढी सफारी चैतदेखि जेठसम्म हुन्छ । बर्खाको दुई महिना (असार–साउन) सफारी प्रायः बन्द हुन्छ । जंगल वाक दैनिक १५ देखि २० किमि गरिन्छ ।



