चरासम्बन्धी सूचना, ज्ञान विस्तार र नयाँ रेकर्डका लागि ठूलो जमात तयार भइसकेको छ । ‘बर्ड वाचर’ ले चरा संरक्षणमा मात्र टेवा पुर्याएका छैनन्, पर्यटन प्रवर्द्धनमा पनि सघाएका छन् ।
काठमाडौँ — वैशाख पहिलो साता ‘कंक्रिटको जंगल’ छाडेर हामी पुगेका थियौं, चितवन । उद्देश्य थियो– जंगल सफारी । चितवन राष्ट्रिय निकुञ्जको ‘प्राकृतिक जंगल’ छिरेपछि क्लान्त शरीरमा ऊर्जा थपियो । धापिएको शरीरमा शीतल छरियो । आँखा र कानलाई चनाखो बनाएर जिपमा सुस्तरी लम्किइरहेका थियौं, नेचर गाइड विकास लिम्बूले चालकलाई इसारा गरे ।गाडी रोकियो । घाँसे मैदानमा जोडी मयूरका टाउका देखिए, हामीलाई पल्याकपुलुक हेरेर तिनीहरू झाडीभित्र छेलिए ।
अलि पर देखापर्यो– गैंडा, जुन बिहानको कलिलो घाम ताप्न निस्किएको थियो । हामीलाई देख्नासाथ दुवै कान हल्लायो र आफ्नै चर्यामा मग्न रह्यो । चित्तल, बँदेल, रातो बाँदर, रतुवाका गतिविधि र कालिज, हलेसो, लहाँचे, काकाकुललगायत अनेक चराको आवाजले हामीलाई अर्कै संसारको आभास दिलाइरहेको थियो ।
विदेशी पर्यटकको हूल कोही जंगल वाकमा त कोही जिप सफारीमा देखिन्थ्यो । अधिकांशको काँधमा झुन्डिएको बाइनाकुलर रूखका हाँगातिर कि त घाँसे मैदानमा सोझिएका थिए । आखिर तिनीहरू चरामा के देखिरहेका छन् ?
‘बर्ड वाचिङ टुरिजमका लागि खास प्रजातिको चरा भयो भने झनै राम्रो,’ चराविद् हेमसागर बराल भन्छन्, ‘विदेशीहरू हिमाल वा मध्यपहाडमा पाइने चरा हेर्न यहाँ आउँछन् । तराई क्षेत्रमा पाइने तर अरू देशमा नदेखिने चरा खोज्नु पनि उनीहरूको अर्को उद्देश्य हो । नेपालमा मात्रै पाइने काँडे भ्याकुरमा त धेरैको रुचि हुन्छ ।’ कम्तीमा दुई साताभित्र चराका ४ सय प्रजाति देख्न सकिने उनी बताउँछन् ।
नेपालमा पाइने ९ सय प्रजातिमध्ये करिब ७२ प्रतिशत अर्थात् ६५० भन्दा बढी प्रजातिका चरा चितवनमा पाइन्छन् । नेपालमा संरक्षित ९ वटा पन्छीमध्ये राजधनेश, कालो गरुड, सानो खरमुजुर, खरमुजुर, सेतोकण्ठे गरुड र सारस यहीँ छन् । भुँडीफोर गरुड, रातो जुनबकुल्ला, कालो तित्रा, ठूलोकण्ठे तोरीगाँडा, सुन्तले चाँचर, रातो मुनियाँ, चखेवा, किङफिसर लगायतका चरा यहीँ विचरण गरिरहेका हुन्छन् । सिमसार आश्रित धेरै चराको बासस्थान चितवन हो ।
‘चिनियाँ, जापानी र ब्रिटिस पर्यटकमा चराप्रतिको चासो बढी हुने रहेछ । उनीहरू बर्ड वाचिङ मुख्य उद्देश्य राखेर आउँछन्,’ सिद्धार्थ भिलासा वनबासका प्रबन्ध निर्देशक प्रकाश न्यौपाने भन्छन्, ‘चितवन नेपालमै चराका लागि धेरै राम्रो ठाउँ बनिसक्यो । यो चराको हब हो । विदेशी मात्रै होइन, चराप्रति आन्तरिक पर्यटकको पनि चासो बढ्दो छ ।’
ठूलो माटीकोरे । तस्बिर : मनोज पौडेल/कान्तिपुर
सिद्धार्थले त आफ्ना कोठाको नामकरण नै चराबाट गरेको छ । जस्तो– हर्नबिल, किङफिसर, फिस इगल, ब्राउन फिस उल इत्यादि । पानीचरा संरक्षणको काम पनि गरिरहेको न्यौपानेले बताए । ‘कन्जर्भेसनको थिममा हामीले २२ महिनाअघि सुरुवात गरेका हौं । दुई सय प्रजातिका रूख हामीसँग छन्, तीमध्ये ५० वटा त चराले खान मिल्ने फलफूलका मात्रै,’ उनले भने, ‘पोखरीमा हालिएका माछा चराकै आहाराका लागि हुन् ।’ यहाँ ५० देखि सय प्रजातिका चरा देख्न सकिने उनले दाबी गरे ।
चितवनका धेरैजसो होटल–रिसोर्टले ब्रेकफास्टपछिको प्याकेजमा ‘बर्ड वाचिङ’ छुटाउँदैनन् । निकुञ्ज र आसपास मात्रै होइन, चितवनको भूगोल र वातावरण नै विशेष गरी चराका लागि ‘स्वर्ग’ हो । निकुञ्ज र आसपासको संरक्षित क्षेत्रसँगै अन्यत्र पनि चरा अवलोकन गर्ने ‘बर्ड वाचर’ को संख्या बढ्दो छ, जसले चरा संरक्षणमा मात्र टेवा पुर्याएका छैनन्, पर्यटन प्रवर्द्धनमा पनि सघाएका छन् । विभिन्न जिल्लामा रहेका चरा सम्बन्धित संघसंस्था, स्वतन्त्र चरा खोजकर्ताको क्रियाशीलता लोभलाग्दो देखिन्छ ।
संरक्षण संस्थामा लाग्नेहरूसँगै स्वतन्त्र बर्ड वाचर र फोटोग्राफरको भूमिका महत्त्वपूर्ण देखिएको बराल बताउँछन् । ‘चरालाई नै बहाना बनाएर देश–विदेश घुम्ने, रमाउने चलन बढ्दो छ,’ भन्छन्, ‘चरासम्बन्धी सूचना, ज्ञान विस्तार र नयाँ रेकर्डका लागि ठूलो जमात तयार भइसकेको छ । कुनै नयाँ जानकारी लिनुपर्यो भने हामीलाई उनीहरूले सहयोग पुर्याइरहेका छन् ।’
नेपाल पर्यटक–चराको पनि गन्तव्य बनेको छ । यहाँ हिउँदमा मात्रै १५० भन्दा बढी प्रजातिका चरा बसाइँ सरेर आउँछन् भने ६५ प्रकारका ग्रीष्मकालीन चराले यतै बच्चा कोरल्छन् । घना जंगलदेखि घाँसै मैदान, सिमसार, तालतलैया, नदी–पोखरीको उपलब्धताले नेपाल दुर्लभ चराका लागि समेत स्थायी बासस्थान र ‘ट्रान्जिट प्वाइन्ट’ हो ।
विश्वमा पाइने करिब ११ हजार चरामध्ये नेपालले ८ प्रतिशतभन्दा बढी हिस्सा लिएको छ । उत्तरी गोलार्द्धमा चिसो बढेपछि साइबेरियादेखि चराको आगमन नेपालतिर हुने गरेको छ । हिमालयको फेदीदेखि पहाड र तराईका फाँट, तालतलैया र सिमसारमा रमाउने यस्ता चरा अवलोकनमा पर्यटनलाई जोड्न सकिने चराविज्ञ बताउँछन् ।
संरक्षणकर्मी वासु ढुंगाना पर्यटनमा ‘बर्ड वाचिङ’ लाई राम्रो अवसर ठान्छन् । विशेष गरी विलासी पर्यटक र बर्ड वाचर लामो समय बस्ने भएकाले उनीहरूको खर्च बढ्ने र त्यसले पर्यटन क्षेत्रका लागि फाइदा पुर्याउने उनको भनाइ छ ।
६ सय प्रजाति चरा यहीँका रैथाने छन् । यस्ता चरा ५ हजार मिटर उचाइसम्म पाइन्छन् । हामीकहाँ ७४ प्रजातिका फिरन्ते चरा छन् भने भारत, पाकिस्तान, श्रीलंका र अफ्रिकासम्म पुग्ने बटुवा चरा ५० हाराहारी छन् । साइबेरिया, मंगोलिया, किर्गिस्तान, कोरिया, तिब्बत, पूर्वी युरोप र भारतका विभिन्न ठाउँबाट समेत नेपालसम्म आइपुग्ने चराको अद्भुत संसार देख्न पाउँदा को खुसी नहोला र ! तर, के हामीले चरा पर्यटनमा काम गर्न सकिरहेका छौं त ?
चराविद् बरालका अनुमानमा वार्षिक १ हजार ५ सयदेखि २ हजार विदेशी विशेषगरी चरा हेर्नकै लागि भनेर आउँछन् । ‘नेपालमा भित्रने कुल पर्यटकमध्ये करिब १५ प्रतिशतले चरा पनि हेर्ने गरेका छन्,’ उनी भन्छन्, ‘पर्यटनमा चरा महत्वपूर्ण छ है भनेर यही तथ्यले देखाएन र ?’
चरालाई कतैबाट ल्याएर राख्नुपर्दैन, मात्र तिनको बासस्थान संरक्षण गरिदिएर पर्यटनसँग जोड्ने हो भने स्थानीयस्तरमा रोजगारको सम्भावना बढ्छ । तर, यसका लागि प्रचारप्रसार नै महत्त्वपूर्ण ठान्छन्, चरा अनुसन्धाता देवेन्द्र खरेल ।
‘ठूलो लगानी नगरीकनै तत्काल आयआर्जन गर्न सकिने क्षेत्र चरा पर्यटन हो । पूर्वी नेपालमा चरा पर्यटनको सम्भावना रहे पनि त्यसमा काम हुन सकेको छैन,’ उनी भन्छन्, ‘कोशीटप्पुभन्दा पूर्व कहीँ पनि चरा संरक्षित क्षेत्र छैनन् । यहाँ दुर्लभ चरा मात्रै होइन, महत्त्वपूर्ण वन्यजन्तुको बासस्थान पनि छ । चरामै नयाँ रेकर्ड पूर्वबाटै थपिएका छन् ।’ झापाको मेचीनगर नगरपालिकाभित्र मात्रै ३ सय ५४ प्रजातिका चरा भेटिएको उनको भनाइ छ ।
खरेलले गत फागुन ७ मा मेचीनगर–६ काँकडभिट्टा क्षेत्रमा नयाँ चरा फेला पारेका थिए, ‘बैजनी ढाडे बुंगेचरा’ (पर्पल रम्प्ड सनबर्ड) । २०७७ मंसिरमा उनले नै मेचीनगरमा ‘हरित परेवा’ (ग्रीन इम्पेरियल पिजन) फेला पारे । मुस्ताङपछि झापामा दोस्रो पटक देखिएको थियो, फुस्रो सारौं (ह्वाइट चिक्ड स्टार्लिङ) ।
खरेल नेपालबाटै लोप भएका ठानिएको ‘हङरायो’ (रुफस नेक्ड हर्नबिल) पनि भेट्न सफल भए । २०७८ पुस ६ मा उनले इलामको सूर्योदय नगरपालिका–१ सीमधाप वन क्षेत्रमा एक जोडी ‘हङरायो’ देखेका हुन् ।
चरा अनुसन्धानकर्ता ब्रायन हड्सनले सन् १८२९ ताका नेपालमा यसको अभिलेख गरेका थिए । ‘त्यसयता अग्रज चराविद्हरूले नेपालबाट लोप भइसकेको बताउँदै आए पनि फेला पर्नु यस क्षेत्रका लागि ठूलो उपलब्धि हो,’ उनी भन्छन् ।
यस्ता रेकर्ड र उपलब्धिले पनि पूर्वमा बर्ड सेन्चुरी (पन्छी आरक्ष) को माग जरुरी रहेको बताउँछन् उनी । यतिबेला ‘कोशी पर्यटन वर्ष २०८२’ चलिरहेको छ । यही मौकामा सबै सरोकारवालाले बर्ड सेन्चुरीका लागि दबाब दिन सके त्यो पर्यटन प्रवर्द्धनमा कोशेढुंगा हुने उनको भनाइ छ । खरेलका अनुसार, भारतबाट आउने पर्यटक अघोषित रूपमा यहाँका वन क्षेत्र छिर्छन् र फोटो खिचेर जान्छन् । कतिपयले त ‘भारतमा भेटिएको चरा’ भनेर प्रकाशन गरेका छन् । त्यसैले यस्ता सम्भावित ठाउँमा राज्यको निकायबाटै बर्ड सेन्चुरी घोषणा गरिदिने हो भने राजस्वमा समेत फाइदा हुने उनले बताए ।
‘कालिका तथा बाँसबारी सामुदायिक वन र हडिया खोला जोडेर मेचीनगरमा बर्ड सेन्चुरी घोषणा गर्न सकिन्छ । अलिमाथि इलामको कुटिडाँडादेखि हर्कटेसम्मको जंगल क्षेत्रमा विशेष खालका चरा पाइन्छन्, त्यो अर्को सम्भावित क्षेत्र हो,’ उनको सुझाव छ, ‘उत्तरी इलामको जमुना, हाँगेथाम, कैयाँकट्टा, सन्दकपुर क्षेत्र पनि बर्ड सेन्चुरीका लागि उपयुक्त स्थान हो ।’
राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र तथा रामसार बाहेकका ठाउँमा पनि चरामा चासो बढ्नु संरक्षणकर्मीका लागि सुखद पक्ष हो । सँगसँगै पर्यावरणीय सन्तुलन र जैविक विविधता जोगाइराख्न चराको महत्व र यसप्रतिको बुझाइ अझ बढ्न जरुरी छ । ‘स्वदेशी वा विदेशी मुद्रा आर्जन गर्न पर्यटनको महत्वपूर्ण पाटो चरा पर्यटन हो,’ खरेल भन्छन्, ‘यो सम्भावनालाई फाइदामा बदल्न नयाँ ठाउँलाई पनि राज्यले संरक्षित क्षेत्र तोक्न अब ढिलाइ गर्नु हुँदैन ।’
चरा पर्यटनको सुरुवात
नेपालमा चरा पर्यटनको इतिहास झन्डै ५५ वर्ष लामो छ । सन् १९७० को सुरुवातदेखि चरा पर्यटनले जग हालेको बताउँछन्, चराविद् हेमसागर बराल । उनका अनुसार, त्यसबेला युरोपेली पर्यटक विशेषगरी ब्रिटिस युवाको आगमनसँगै चरामा नेपालीको चासो बढ्न थालेको हो । २०/२५ वर्षका ब्रिटिस युवा काँधमा दूरबिन र क्यामरा झुन्ड्याएर फकिर शैलीमा देशका विभिन्न ठाउँ पुग्दा त्यसले बेग्लै तरंग ल्याएको उनी सम्झन्छन् ।
तस्बिर : रमेशकुमार पौडेल/कान्तिपुर
ठूला होटलको विकास नभइसकेको अवस्थामा उनीहरू कम खर्चालु त थिए, सामान्य ठाउँमा पनि बस्थे । बिस्कुट, फलफूल खाँदै हिँड्थे । ‘सय पाउन्डमा ६ महिना बस्ने ब्याकप्याकिङ टाइपको थियो उनीहरूको जीवनशैली,’ बराल भन्छन्, ‘चरा अवलोकन गर्ने, फोटो खिच्नेजस्ता गतिविधिले नेपालमा पनि चराले ध्यान खिच्न सक्छ भनेर सन्देश फैलाउने काम गरे ।’ यो क्रम सन् १९९० सम्मै चल्यो । अरू विदेशी पर्यटक र नेपालीमा पनि चराप्रति कौतूहल बढ्न थाल्यो ।
यहीबीच एडभेन्चर ट्राभल, यती ट्राभल्सजस्ता ठूला कम्पनीको आगमन भयो । तिनले खर्चालु पर्यटक भित्र्याएर गुणस्तीय सेवा दिन थाले । सन् १९८० देखि भित्रिएका यस्ता कम्पनीले सन् ८० को मध्यदेखि राम्रो आम्दानी गरे । नेचर ट्रेक कम्पनीले त विशेषगरी चरा पर्यटनमा ठूलो योगदान पुर्याएको सम्झन्छन्, बराल ।
तस्बिर : रमेशकुमार पौडेल/कान्तिपुर
‘सन् ९० को मध्यतिर नेचर ट्रेकमार्फत वार्षिक ८ सय पर्यटक नेपाल आउँथे, विशेष चरा हेर्नकै लागि,’ उनी भन्छन्, ‘त्योसँगै वन्यजन्तु र हिमाली भेगतिर विभिन्न वनस्पति र फूल हेर्ने त भइहाल्यो ।’
१९९० को दशकपछि भने विदेशीले ‘एक्स्प्लोर’ गर्ने क्रम कम हुन थाल्यो, वाइल्डलाइफको क्षेत्रमा सक्रिय बरालहरू यसमा जोडिए । किनकि पर्यटकलाई चरा र वन्यजन्तु देखाउने काममा उनी ‘फ्रिल्यान्सर’ का रूपमा प्रवेश गरिसकेका थिए । जब सरकार–माओवादीबीचको द्वन्द्व चर्किंदै गयो, सन् २००० देखि नेचर ट्रेक सेलाउँदै गयो । त्यसयता उदाएका अन्य एजेन्सीले भने यसमा भरपुर काम गरिरहेका छन् । सन् १९७० को दशकमा कोरलिएको चरा पर्यटनले यति बेला पखेटा हालिसकेको छ । यसलाई बिनाअवरोध उडान भर्न दिने र ‘गुँड’ लाई सुरक्षित बनाइदिने जिम्मा तपाईं–हाम्रै हो ।
