आजको डिजिटल संसारमा सन्देश पुर्याउनु र प्राप्त गर्नु तत्काल र सहज छ (एक क्लिक टाढा), कागजको आवश्यकता छैन, पर्खाइ छैन, अनुष्ठान छैन तर, सुविधा प्राप्त गर्दा हामीले सायद गहिराइ गुमायौं
त्यो एक समय थियो— धेरैको स्मृतिमा अझै ताजा हुनुपर्छ— जब गाउँहरूमा फोन थिएन, टेलिभिजन थिएन र पक्कै पनि इन्टरनेट थिएन । गाउँमा भर्खर–भर्खर विद्यालय जाने प्रचलनको आरम्भ हुन थालेको थियो । देशका ती शान्त कुनाहरूमा, जहाँ बिजुलीको नामोनिसान थिएन ।
पिपलको बोटमुनि बसेर पढ्नुपर्थ्यो वा कतै भइहाल्यो भने विद्यालयका छानाहरू प्राय: फुस वा ढुंगाका हुन्थे । केटीहरू विरलै विद्यालय जान्थे र जो जान्थे तिनीहरू प्राय: कक्षाको पछाडि चुपचाप बस्थे, परिवार र परम्परा दुवैको निगरानीमा । त्यस्तो अवस्थामा प्रेममा पर्नु गाह्रो मात्रै थिएन— खतरनाक पनि थियो । अघोषित प्रतिबन्धजस्तो ! केटा र केटीबीच खुल्ला रूपमा वा सार्वजनिक रूपमा बोलचाल हुनुलाई अनुचित मानिन्थ्यो, यदि पूर्ण रूपमा निषेध भने गरिएको थिएन ।
त्यो अभाव र मौनताको बाबजुद एउटा शक्तिशाली, अप्रत्याशित, सूक्ष्म र संवेदनशील पाठ्यक्रमको विकास भयो– प्रेम पत्रको अभ्यास, जसले प्रेमको जोखिमपूर्ण सञ्चार मात्रै गरेन, भर्खरै सिकेको साक्षरतालाई पनि नयाँ जीवन दियो । प्रेमले साक्षरताको बाटो खोज्यो । साक्षरताले प्रेमलाई बलियो माध्यम दियो ।
मौनताको समयमा प्रेम
त्यो संसारमा, हृदयसम्म पुग्ने कुनै छोटो बाटो थिएन । फोनहरू गाउँमा त के देशभित्रै आइसकेका थिएनन् । छापिएका किताबहरू अत्यन्त दुर्लभ थिए । हुनेका घरमा धार्मिक किताब वा पाठ्यपुस्तक हुन्थे, जो धेरै ढिलो गरी गाउँमा पुग्थे । रेडियोले सरकारी समाचार वा भक्ति गीतहरू गुन्गुनाउँथ्यो र अखबारको त कुनै नामोनिसान थिएन । काठमाडौं फर्केर कसैले ल्याएका ‘गोरखापत्र’ का केही पानाहरू यदाकदा भेटिन्थे । विद्यालयहरू साना कोठामा सीमित थिए, रटन्ते पढाइमा केन्द्रित ।
शिक्षण–सिकाइ प्राय: शिक्षकले ब्लाकबोर्डमा बुझ्नै नसकिने अक्षरमा लेखेका पाठहरू सार्नमा सीमित थियो । भनेको के भने साक्षरता विस्तारका लागि जुन वातावरण चाहिन्छ, त्यो तयार भइसकेको थिएन । तैपनि, यी सीमितताहरूको बीचमा कतै, केही उल्लेखनीय भयो : केटाहरूले पत्र लेख्न थाले— प्रेमपत्र ।
सातौं कक्षा पुग्दा/नपुग्दै वा त्योभन्दा पहिले नै मेरो कक्षाका केही केटाहरू मोहको रहस्यमय, रोमाञ्चक यात्रामा होमिन थालेको अनुभव हुन्थ्यो । तर, उनीहरू कसरी आफूले चाहेको केटीसँग कुरा गर्न सक्लान् ? यो त अत्यन्त जोखिमपूर्ण काम थियो । कम से कम उनीहरूसँग भर्खरै आर्जन गरेको एउटा सीप थियो– साक्षरता ।
त्यसैले लेख्ने साहस गरे । काँपिरहेका हात र आशावादी हृदयका साथ, यी युवा लेखकहरूले आफ्नो जीवनका सबैभन्दा इमानदार, अनाडी, काव्यात्मक र भावनात्मक रूपमा चार्ज गरिएका पाठहरू रचना गर्न थाले । कहिलेकाहीँ, उनीहरूले एउटा पत्र सिध्याउन पूरै रात बिताउँथे । आफ्नो भावनाको तीव्रताले गर्दा सिध्याई नछोड्ने अठोट गरेका हुन्थे उनीहरूले । अभिभावकलाई लाग्दो हो– बच्चाहरू होमवर्क गर्दै छन् ।
लुकेको साक्षरताको जन्म
प्रेमपत्र लेख्नु केवल एक रोमान्टिक इसारा थिएन । यो साक्षरताको संसारभित्र एक गोप्य प्रवेश थियो । लेभ भिगोत्स्की जस्ता शिक्षाविद्हरूले अर्थपूर्ण सामाजिक अन्तर्क्रियामा सम्मिलित हुँदा सिकाइ गहन हुने विषयमा जोड दिएका छन् ।
प्रेमपत्र लेख्ने प्रक्रिया– यद्यपि सुपरिवेक्षणविहीन र अनौपचारिक थियो– सिकाइ र सामाजिक अन्तर्क्रियाको रूप लियो । यसको पनि उद्देश्य, भावना, दर्शक र परिणाम स्पष्ट थिए । यो अनौपचारिक, तर प्रभावशाली सिकाइ वातावरणलाई शिक्षाशास्त्रीहरू प्राय: ‘अदृश्य पाठ्यक्रम’ भन्छन्— औपचारिक कक्षा बाहिर हुने एक अनौपचारिक शिक्षा । प्रत्येक शब्द महत्त्वपूर्ण थियो । प्रेमपत्रको हरेक शब्दमा अर्थ हुन्छ ।
फिलिप ज्याक्सन भन्ने अमेरिकी शिक्षाशास्त्री तथा पाठ्यक्रमविद्ले सन् १९६८ मा कक्षाकोठाहरूको सूक्ष्म र लामो अध्ययन गरेर भनेका थिए– औपचारिक रूपमा शिक्षकले दिने पाठहरूका अतिरिक्त कक्षाकोठाभित्रका अनौपचारिक, अलिखित रूपमा विकसित हुने प्रचलित व्यवहार, आशा, प्रत्याशा, अघोषित नियम, सामाजिक सम्बन्ध आदि पनि सिकाइका अभिन्न अंग हुन् र यी कुराहरूलाई नकार्न सकिन्न । वास्तवमा कक्षाकोठाबाटै बालबालिकहरूले आज्ञाकारिता, घृणा, सदाचार, सामाजिक भेदभाव, माया–प्रेमजस्ता कुराहरू सिक्छन् । केटाकेटीहरू एक अर्काप्रति आकर्षित हुने प्रक्रिया पनि कक्षाकोठाभित्रको स्वाभाविक प्रक्रिया हो ।
वास्तवमा प्रेमपत्र लेखन पाठ्य उत्पादनको एक महत्त्वपूर्ण माध्यम हो । धेरै देशहरूमा बालबालिकाहरूले लेखेका पाठ्यसामग्रीहरू शिक्षण–सिकाइमा प्रयोगमा ल्याउने गरिन्छ । आधुनिक ‘वयस्क शिक्षा’ र ‘पठन शिक्षण’ मा अध्ययन गर्नेहरूले सिकारुहरूद्वारा तयार पारिएका सामग्रीहरू शिक्षण–सिकाइमा प्रयोगमा ल्याउने कुरा कुनै नौलो भएन । यो अवधारणा लोकप्रिय र प्रभावकारी भए तापनि यी युवा प्रेमीहरूले सिर्जना गरेका पाठहरू पूर्णरूपमा फरक घटना हुन् ।
प्रेमपत्र लेखन एक भूमिगत गतिविधि थियो, जुन शैक्षिक डिजाइनबाट नभई व्यक्तिगत चाहना र सामाजिक बाध्यताबाट जन्मिएको हुन्थ्यो । कथाका किताबहरू वा साहित्यमा पहुँच नभएको त्यस अवस्थामा, धेरै केटाहरूले लेखेको प्रेमपत्र पहिलो वास्तविक ‘पाठ’ बन्यो । र, यो सजिलो काम थिएन । स्नेह व्यक्त गर्न सही शब्दहरू खोज्न भावनात्मक साहस मात्र होइन, भाषामाथि पनि पकड आवश्यक थियो । हिज्जे महत्त्वपूर्ण भयो, व्याकरणको महत्त्व भयो र रूपकहरूको अर्थ भयो ।
भाषा कक्षामा ध्यान दिन संघर्ष गर्ने केटाहरूले अब एउटै अनुच्छेद संशोधन गर्न घण्टौं बिताउँथे । कागज त्यतिबेला दुर्लभ र मूल्यवान् भएकाले, कुनै बेला यदि पत्रले अर्थ नदिएमा लेखेर फाल्ने विलासिता थिएन । लेखकहरूले ठूलो मानसिक तयारी गर्नुपर्थ्यो, सावधानीपूर्वक आफ्ना विचारहरूलाई एउटा सानो, बहुमूल्य कागजको टुक्रामा निचोर्नुअघि कलम चलाउने हिम्मत गर्थे । मनभित्रको अदृश्य भावनालाई शब्दमा उतार्नु सजिलो थिएन । त्यस्तो क्षमता राख्नेहरूलाई प्रकृति, नदी, ढुंगा, पहाड, देउता वा अरू कुनै पनि विषयमा कलम चलाउन औपचारिक अवसर दिइयो भने विद्यालयमा पाठ्यसामग्रीको सम्भवत: अभाव हुने थिएन ।
प्रेमपत्रहरू कहिलेकाहीँ सहजै बुझ्न सकिने पाठ्य होइनन् । खासगरी बाहिरी व्यक्तिलाई प्रेमपत्रको पाठ्य पूर्ण रूपमा बुझ्न गाह्रो हुन्थ्यो । प्रेमी–प्रेमिकाहरूले प्रयोग गर्ने भाषा प्राय: समाजशास्त्री बासिल बर्नस्टाइनको सीमित कोडसँग मिल्दोजुल्दो हुन्छ । यस्तो भाषामा कुरा गर्दा धेरै कुरा खुलाएर भन्नुपर्दैन, किनभने उनीहरूबीचको साझा अनुभव, स्मृति र भावनाले नै अर्थ प्रकट गर्छ । एउटै नजर, कुनै विशेष उपनाम वा अधुरो वाक्य पनि उनीहरूका लागि निकै गहिरो अर्थ राख्न सक्छ । जस्तै— ‘उही ठाउँ, उही समय ?’, ‘तिमी फेरि त्यही कुरा...’, ‘सम्झन्छौ नि त्यो रात ?’— यी वाक्यहरू अरूलाई सामान्य लाग्न सक्छन्, तर प्रेमीहरूका लागि ती अत्यन्त अर्थपूर्ण हुन्छन् ।
तर, प्रेमको भाषा केवल सीमित कोड होइन— यसमा भावनात्मक गहिराइ, रूपक, स्वनिर्मित शब्दहरू र निजी संकेतहरू पनि हुन्छन् । यसकारण, कतिपय भाषाविद्हरूले यसलाई आत्मीय कोड वा भावनात्मक कोड भनेर चिनाउने गर्छन्, जुन विश्वास र मायाभित्रको विशेष सम्बन्धले निर्माण भएको हुन्छ ।
मैले माथि बासिल बर्नस्टाइनको कुरा उठान गरें । प्रेमपत्र र सीमित कोडबीचमा हुने थोरै सम्बन्ध दर्शाउन मात्रै । खासमा बर्नस्टाइनले सामाजिक वर्गअनुसार भाषा प्रयोगमा देखिने फरकलाई स्पष्ट पार्दै दुई प्रकारका भाषा कोड— सीमित र विस्तृत कोड— को अवधारणा दिएका छन् ।
उनका अनुसार, कामदार वर्गले प्रयोग गर्ने भाषा सन्दर्भमा–आधारित, छोटो र अस्पष्ट हुन्छ । यसलाई सीमित कोड भनियो, जबकि मध्यम वर्गले प्रयोग गर्ने भाषा– विस्तृत कोड– स्पष्ट, औपचारिक र विस्तारित हुन्छ । विद्यालयले प्राय: औपचारिक भाषालाई मूल्य दिन्छ, जसले कामदार वर्गका बालबालिकालाई शैक्षिक असमानतामा पार्न सक्छ । बर्नस्टाइनले बेलायतको शिक्षा प्रणालीको अध्ययनपश्चात् यो कुरा उल्लेख गरेका हुन् ।
नेपालका विद्यालय तह र विश्वविद्यालय तहका परीक्षाका उत्तरपुस्तिकामा प्रयोग भएका भाषाको अध्ययन गर्दा पनि विविधताहरू प्रशस्त पाइन्छ । नेपालको सन्दर्भमा बर्नस्टाइनको अवाधरणाबारे अध्ययन हुनु शैक्षिक–सामाजिक दृष्टिले उपयोगी हुने नै छ, तर मलाई के लागिरहेको छ भने प्रेमपत्र लेखनका माध्यमद्वारा व्यक्तिको सीमित कोड विस्तारित कोडतर्फ रूपान्तरण हुन्छ, जहाँ सरल, सन्दर्भ–आधारित अभिव्यक्तिबाट विकसित हुँदै गहन, भावनात्मक र परिष्कृत सञ्चार शैलीको विकास हुन्छ ।
प्रेमपत्रको कुरा गर्दा त्यसबेला प्रेमपत्र लेख्नु भनेको लघु अनुसन्धान गर्नु सरह नै हो । प्रेमपत्र लेखकहरूले आफ्नै सानो खोजबिन गर्थे । उनीहरूले नेपाली वा हिन्दी गीतहरू ध्यानपूर्वक सुन्थे, नाटकीय फिल्मका संवादहरू सम्झन्थे, वयस्कहरूले प्रयोग गरेका काव्यात्मक पंक्तिहरू दोहोर्याउँथे र प्रकृतितर्फ पनि प्रेरणा खोज्थे— चराचुरुङ्गी र जनावरहरूबीच प्रेम कसरी प्रकट हुन्छ भनेर अवलोकन गर्थे । यी रूपकहरूले उनीहरूलाई आफ्ना चाहनाहरू वर्णन गर्न मद्दत गर्थे । यो प्रक्रियाले उनीहरूलाई केवल लेखक होइन, आफ्नै जीवनका विद्यार्थी–कविहरूमा रूपान्तरण गर्न मद्दत पुग्थ्यो ।
र, जब शब्दहरू अपर्याप्त लाग्थे, उनीहरू प्रेरणाका अन्य स्रोतहरूतिर फर्कन्थे । अलि सम्पन्न परिवारका केटाहरू, जसको घरमा कुनै पुराना उपन्यास या फिल्मी म्यागेजिनहरू हुन्थे— उनीहरू ती सामग्री खोज्न लाग्थे । यस्ता उपन्यासहरू प्राय: अति नाटकीय र भावनात्मक हुन्थे, तर तिनमा मन चोर्ने वाक्यहरूको खजाना हुन्थ्यो ।
कुनै केटाले कथाको सम्पूर्ण अर्थ नबुझ्ला, तर उसले कुनै यस्तो वाक्य सम्झन्थ्यो, जसले उसलाई छोएको हुन्थ्यो— जस्तै ‘जलिरहेको मुटु’ वा ‘गहिरा नदीझैं आँखाहरू’— र, त्यसलाई आफूले मन पराएको केटीलाई प्रभावित पार्न प्रयोग गर्थ्यो । प्राचीन समयदेखि नै नारीलाई फूलको कोमलता र चन्द्रमाको उज्यालोसँग तुलना गरिएको छ । यी उपमाहरूले नारीको सुन्दरता, रहस्य र आभा व्यक्त गर्छन् । ती उपमाहरू खोज्न र प्रयोग गर्न यी केटाहरू पनि चुक्दैनथे ।
यो केवल नक्कल थिएन— यो रचनात्मक अनुकूलन थियो, अन्तरपाठ्य सिकाइको एक रूप । थाहै नपाई, केटाहरूले साहित्यिक प्रविधिहरू अभ्यास गरिरहेका थिए : कुनै एउटा सन्दर्भबाट भाषा उधारो लिने, परिमार्जन गर्ने र अर्कोमा संश्लेषण गर्ने । यी कार्यहरूले साक्षरताका विद्वान्हरूले भनेझैँ ‘रूपान्तरणकारी साक्षरता अभ्यासहरू’ भनेर चिनाउने कुरालाई प्रतिबिम्बित गर्छ, जहाँ सिक्नेहरूले आफूले नसिकी नहुने पाठहरूलाई दोहोर्याउँछन् र पुनर्मूल्यांकन गर्छन् ।
साक्षरता : अभिव्यक्तिको आधार
साक्षरता भनेको पढ्न र लेख्न सक्ने क्षमता हो, तर यो त्यति मात्र होइन— यो बुझ्न, सम्प्रेषण गर्न र विचारहरू निर्माण गर्ने मार्ग पनि हो । जब कसैले पहिलो पटक साक्षरता सिक्छ, उसका शब्दहरू सरल, संकोचपूर्ण, तर कार्यमूलक हुन सक्छन् । समयसँगै, साक्षरता प्रवाहमा परिणत हुन्छ, जसले विचारहरूलाई अझ गहिरो र परिष्कृत बनाउँछ । नवसाक्षर किशोरहरूका लागि, प्रत्येक शब्द एक नयाँ खोज हो, प्रत्येक वाक्य सम्प्रेषणको मास्टरीतर्फ एक कदम हो । उनीहरूको लेखन सिधा, कच्चा र अपूर्ण हुन सक्छ— तर यसमा अभिव्यक्तिको रोमाञ्चकता हुन्छ ।
साहित्यिकता : भाषाको कला
साहित्यिक लेखन भनेको केवल जानकारी दिने माध्यम होइन— यो सौन्दर्य, भावना, लय र गहिराइ खोज्ने प्रयास हो । यो भाषासँग खेल्छ ताकि प्रतीकात्मकता निर्माण गर्न, भावना उत्पन्न गर्न र सतहभन्दा पर रहेका सत्यहरू व्यक्त गर्न सकियोस् । साक्षरतालाई कलात्मक बनाएर साहित्यिकता सिर्जित हुन्छ । रोचक कुरा के छ भने नवसाक्षर लेखकहरूले अनायासै साहित्यिक सौन्दर्य सिर्जना गर्छन् ।
उनीहरूका शब्दहरूले सरल र इमानदार, कवितात्मक गुण लिन सक्छन् । एउटा किशोरले लेख्न सक्छ : ‘तिमीसँग केही छ, जसलाई म वर्णन गर्न सक्दिन । तर, म प्रयास गर्छु ।’ यो साहित्यिक क्षण हो— साक्षरताबाट जन्मिएको । सोच, जसले भावनालाई समेट्छ र रूपकका लागि प्रयास गर्छ, जबकि लेखक आफैं लेखनको संरचना सिक्दै छ ।
साक्षरताले साहित्यिक अभिव्यक्ति सम्भव बनाउँछ । सुरुमा अभिव्यक्त शब्दहरू, जतिसुकै हिच्किचाहट भरिएको किन नहोस्, कलात्मकतातर्फको पहिलो पाइलो हो । नवसाक्षर लेखकहरूको कच्चा, अनिश्चित आवाजले भावनालाई सिधै व्यक्त गर्छ, जसले शक्तिशाली साहित्यिक क्षणहरू जन्माउँछ ।
गोप्य रूपमा पढ्ने केटी
पक्कै पनि, पत्र प्राप्तकर्ता कक्षाकोठाको एउटा कुनामा दुई/चार जना केटीहरूको झुन्डमा बस्ने केटी नै हुन्थी । त्यो समयमा, धेरै कम केटीहरूले केटाहरूसँग कुराकानी सुरु गर्थे । सामाजिक नियमहरूले उनीहरूको आवाजलाई मौन पारेको हुन्थ्यो । तर, पत्र प्राप्त गर्नु फरक कुरा थियो । त्यो पत्र पढ्नु— गोप्य रूपमा, प्राय: अबेर रातमा, कहिलेकाहीँ ढुकढुकी बढेको हृदयका साथ— एक गहिरो अनुभव हुन्थ्यो ।
यो चुपचाप, पढाइको एक पाठ पनि थियो । प्रेमपत्रका माध्यमद्वारा केटीहरूले पनि औपचारिक पाठ्य–पुस्तकहरूसँग कुनै सम्बन्ध नराखी साक्षरताका उन्नत र जटिल सीप सिकिरहेका थिए । यी पत्रहरूलाई सावधानीपूर्वक व्याख्या गर्नुपर्थ्यो ।
पत्रका एकएक शब्दहरू केलाएर अर्थ्याउनु चानचुने कुरो थिएन । त्यसमा गम्भीरता छ वा चञ्चलता ? उधारो लिएका सस्ता रूपकहरू थिए वा इमानदार ? के उसले साँच्चै आफूले लेखेको कुराको अर्थ राखेको थियो ? कति कठिन– पढ्ने कार्य तहगत, भावनात्मक र व्याख्यात्मक बन्यो— समझदारी र भावनात्मक बुद्धि लुकेको पाठ्यक्रम ।
महत्त्वपूर्ण कुरा, त्यो केटीले पत्र पढ्नु वा त्यसमा प्रतिक्रिया जनाउनु उसको जीवनमा स्वतन्त्र रूपमा केही सोच्ने वा निर्णय लिने एक दुर्लभ मौका थियो । जहाँ अरूले उसलाई जे गर भन्थे, त्यही नै गर्नुपर्थ्यो । यसअघि सायद उसले आफ्नै इच्छाले केही गरेकी थिइनँ, असाधारण र महत्त्वपूर्ण कुरा समेतमा आफ्नो अधिकार हुन्नथ्यो, जहाँ केटीहरूलाई मनको कुरा बोल्न वा चाहनाहरू व्यक्त गर्न विरलै प्रोत्साहन दिइन्थ्यो, प्रेमपत्रले उनीहरूलाई ऐना प्रदान गर्यो ।
पहिलो पटक उनीहरूलाई कसैले ख्याल गर्यो, ध्यान दियो, चाह्यो भन्ने कुराको आभास भयो र प्राय: महत्त्वपूर्ण सामाजिक बाधाहरूका विरुद्धमा पनि, आत्म–चिन्तन र छनोटका लागि एक निजी ठाउँ प्रदान गर्यो । धेरैका लागि, यो पहिलो पटक थियो जब उनीहरूलाई अर्को व्यक्तिको कल्पनाले सीधा सम्बोधन गरेको थियो । अर्काको अधीनमा रहेको व्यक्ति पनि कल्पनाशीलतामा आफ्नो अधिकार सुरक्षित राख्छ ।
केटीहरू कहिलेकाहीँ आफ्ना प्रतिक्रियाहरूमा बढी भावनात्मक रूपमा अभिव्यक्त हुन्थे । कोही तीक्ष्ण पर्यवेक्षक थिए, नाजुक रूपकहरू र हिन्दी शायरी (दोहा) पनि प्रयोग गरेर आफ्ना भावनाहरू व्यक्त गर्थे । कोहीले नम्रतापूर्वक प्रतिक्रिया दिएर सम्बन्धलाई प्रोत्साहन दिए ।
अरूहरू तथापि, सामाजिक सिमाना र उनीहरूले सामना गर्ने भावनात्मक जोखिमहरूलाई प्रतिबिम्बित गर्ने कडा भाषा प्रयोग गर्दै कुराकानीलाई अचानक समाप्त गर्थे । तर, ती कार्यहरू पनि दृढता, छनोट र व्याख्यामा शक्तिशाली पाठहरू थिए । त्यो कार्यका लागि पनि साक्षरता र साहित्यिकता दुवैको साथ लिनु जरुरी थियो, जसबाट या त कथाको स्नेहपूर्ण अन्त्य होस् वा सावधानीपूर्वक यात्रा जारी रहोस् ।
सन्देशवाहक : त्रिकोणको तेस्रो कुना
त्यसपछि सन्देशवाहक थियो— तेस्रो र प्राय: बिर्सिएको, यो गोप्य शिक्षामा सहभागी । सामान्यतया भाइ–बहिनी, भतिजा–भतिजी, विश्वसनीय मित्र वा कक्षाको अलि सोझो केटा– सन्देशवाहकलाई अत्यन्त सावधानीपूर्वक छानिन्थ्यो । ऊ बफादार, विवेकी र पत्रलाई केटीको हातमा— वा कम्तीमा उसले भेट्टाउने ठाउँमा— पुर्याउन पर्याप्त साहसी हुनुपर्थ्यो ।
कहिलेकाहीँ, प्रलोभन धेरै बलियो हुन्थ्यो । सन्देशवाहकले पत्र खोल्थ्यो, पढ्थ्यो र त्यसो गर्दा, यो अनपेक्षित कक्षाकोठाको अर्को लाभार्थी बन्थ्यो । उसले कठिन शब्दहरूमाथि दिमाग खियाउँथ्यो, रोमान्टिक अतिशयोक्तिमा हाँस्थ्यो र अर्को पटक के हुन्छ भनेर अनुमान गर्न पनि थाल्थ्यो । यो त्रिकोणमा— लेखक, पाठक, सन्देशवाहक— तीनै जनाले केही सिक्थे । प्रेमबारे मात्र होइन, भाषाबारे पनि ।
यो घटना पाउलो फ्रेरेको ‘शब्द र संसार पढ्ने’ अवधारणासँग मेल खान्छ । फ्रेरे, एक ब्राजिलियन शिक्षाविद् र दार्शनिक, जो तर्क गर्थे कि साक्षरता कहिल्यै तटस्थ हुँदैन— यो वास्तविकताको व्याख्या गर्न, नयाँ सम्भावनाको कल्पना गर्न एक उपकरण हो । यी पत्रहरू त्यसैले केवल भावनात्मक दस्तावेज थिएन । तिनीहरू भावनात्मक अभिव्यक्ति र महिला साक्षरतालाई निरुत्साहित गर्ने संसारविरुद्ध प्रतिरोधका साना कार्यहरू थिए ।
प्रयोग : नदेखिएको सिकाइको प्रमाणीकरण
यी सैद्धान्तिक अन्तर्दृष्टिहरूलाई वास्तविक जीवनको अनुभवमा प्रमाणित गर्न मैले एक अनौपचारिक ‘प्रयोग’ गरें, ६० वर्ष धेरै अघि नाघेका व्यक्तिहरूको समूहसँग अन्तर्वार्ता लिएर । हुन त धेरै अघिको कुरा हो, तर कुरा गर्दै जाँदा थाहा भयो कि उनीहरू आफ्नो स्कुल–जीवनमा के घटना घट्यो भन्न सक्ने अवस्थामा थिए । तिनीहरूमध्ये आधाले प्रेमपत्र लेखनलाई साक्षरता वृद्धि गर्ने गतिविधिमा प्रयोग गरेको स्वीकार गरे, यसको गहिरो प्रभाव पुष्टि गर्दै ।
यी सबै पुरुष थिए र उनीहरूले आफ्ना अनुभवबारे खुलेर कुरा गरे । दसमध्ये चार जनाले केटीहरूलाई प्रेमपत्र लेखेको कुरा धक मान्दै स्वीकार गरे, तीन जनाले कहिलेकाहीँ र दुई जनाले कहिल्यै गरेका थिएनन् । चाखलाग्दो कुरा, दसमध्ये एक जनाले सन्देशवाहकका रूपमा सेवा गरेका थिए र यसलाई ‘संसारको सबैभन्दा खतरनाक काम’ भनेर वर्णन गरे ।
प्रेमपत्र लेखन अभ्यास गर्नेहरू अहिले कि त शिक्षक छन् वा सरकारी भूमिकामा काम गरिरहेका छन् । अन्तर्वार्ताका क्रममा, पत्र लेख्दा उनीहरूले आफूले प्राप्त गरेका साक्षरता सीपहरू बलियो बनाउन कसरी मद्दत गर्यो भनेर प्रतिबिम्बित गरे ।
वर्तमान शैक्षिक अनुसन्धानले यसलाई समर्थन गर्छ : साक्षरतालाई सुदृढ गर्न नियमित अभ्यास आवश्यक छ । प्रेमपत्र लेखनले उनीहरूको हस्तलेखन सुधार गर्यो, शब्दावली विस्तार गर्यो र मुख्यत: आफूलाई मनमा लागेका कुराहरू अभिव्यक्त गर्ने, सूचनालाई संगठित गर्ने, थोरै शब्दमा धेरै कुरा भन्न सकिने उपाय खोज्ने खुबी सिकायो । सन्देशवाहकले पनि– आफू स्वयं लेखक नभए पनि– लाभ उठायो । आफूले बोकेका पत्रहरू पढेर उसले पनि नयाँ शब्दहरू, विचारहरू र भावनाहरूसँग परिचित हुने मौका पायो ।
प्रेम र भाषाको विज्ञान
संज्ञानात्मक न्युरोसाइन्सले बढ्दो रूपमा देखाएको छ कि भावनाले स्मृति र प्रेरणा बढाउँछ । जब कुनै कार्य भावनात्मक रूपमा चार्ज हुन्छ, मस्तिष्कले डोपामाइन र अक्सिटोसिन, प्रोत्साहन, भावनात्मकता र ध्यानसँग सम्बन्धित रसायनहरू छोड्छ । व्यावहारिक रूपमा भन्नुपर्दा, यसको अर्थ आफूले ख्याल गर्ने व्यक्तिलाई लेख्ने केटाले आफूले लेखेको कुरामा ध्यान केन्द्रित गर्ने, संशोधन गर्ने र सम्झने सम्भावना बढी हुन्छ । यसरी प्रेमपत्र साक्षरताका लागि एक न्युरोलोजिकल इन्जिन बन्छ ।
यस प्रकारको अनुभवलाई साक्षरता अनुसन्धानकर्ताहरू ‘भावात्मक साक्षरता’ भनेर व्याख्या गर्छन्— अर्थात् भावात्मक संलग्नता भाषा विकासको एक ‘साइड इफेक्ट’ मात्रै नभई एक चालक हो । आधुनिक कक्षाकोठाहरूले प्राय: यो महत्त्वपूर्ण तत्त्वलाई छुटाउँछन्, बरु भावनाहीन लेखनका रूपहरूमा केन्द्रित हुन्छन् । भावनाको माध्यमद्वारा, यी प्रेमपत्रहरूले यति शक्तिशाली रूप देखाएझैँ, अनिच्छुक सिक्नेहरूलाई भावुक लेखकहरूमा रूपान्तरण गर्न सकिन्छ । वास्तविक भावनात्मक संलग्नता सिकाइको सबैभन्दा प्रभावकारी चालक हो ।
धेरै उद्देश्यको पाठ
यी पत्रहरू केवल स्नेहको अभिव्यक्ति थिएनन् । तिनीहरू पहिचानको वार्तालाप पनि थिए । एक केटीलाई प्रभावित पार्ने प्रयासमा, एक केटाले आफ्ना विभिन्न संस्करणहरू अन्वेषण गर्थ्यो: कवि, सज्जन, दार्शनिक बन्ने सपना देख्ने । उसले संशोधन गर्न, आत्म–सम्पादन गर्न र अर्को व्यक्तिको विचार र भावनाहरूको कल्पना गर्न सिक्न सक्थ्यो । यो प्रक्रियाले उसको श्रोता वा पाठकप्रतिको जागरुकतालाई तिखार्यो, जसले गर्दा उसले आफ्ना शब्दहरू आफूले पुग्न खोजेकी केटीले कसरी प्राप्त गर्नेछन् र बुझ्नेछन् भनेर विचार गर्न प्रेरित गर्यो ।
उसले जोखिम उठाउन पनि सिक्यो । पठाइएको हरेक पत्र एक जुवा थियो । के उनले पढ्नेछिन् ? के उनी मुस्कुराउनेछिन् ? च्यात्नेछिन् ? कसैलाई बताउनेछिन् ? भावनात्मक जोखिमहरूले लेख्ने कार्यलाई अत्यन्त अर्थपूर्ण बनायो— कुनै पनि विद्यालयको गृहकार्यभन्दा बढी ।
र केटीका लागि, पत्र पढ्नु आफैंलाई फरक ढंगले हेर्ने एक तरिका पनि थियो । जहाँ संसारले उसलाई कम शब्दहरू दिन्थ्यो । पत्रले उसलाई ध्यान, अर्थ र कहिलेकाहीँ, शक्तिको भावना दिन्थ्यो ।
पर्खालविहीन कक्षाकोठा
यदि शिक्षाले सम्पूर्ण व्यक्तिलाई विकास गर्ने हो भने, यी प्रेमपत्र आदानप्रदानहरू एक प्रकारको वैकल्पिक पाठ्यक्रम थिए । तिनीहरूले युवाहरूलाई कसरी सञ्चार गर्ने, कसरी भावनात्मक जिम्मेवारी लिने र कसरी अर्को व्यक्तिको भित्री संसारको कल्पना गर्ने भनेर सिकाए । अझ महत्त्वपूर्ण कुरा, तिनीहरूले साक्षरतालाई जीवित अनुभवको रूपमा सिकाए ।
जेम्स पल गी जस्ता नयाँ साक्षरता अध्ययनका विद्वान्हरू तर्क गर्छन् कि साक्षरता एउटा सीप मात्र होइन, तर सामाजिक अभ्यासहरूको संग्रह हो । फोन नभएको गाउँमा लेखिएको प्रेमपत्र विद्यालयको निबन्धजस्तै वैध साक्षरता घटना हो । वास्तवमा, यो बढी प्रभावकारी हुन सक्छ— किनभने यो बढी अर्थपूर्ण हुन्छ ।
पत्रको भौतिकताले पनि महत्त्व राख्थ्यो । कागजको बनावट, मसीको रङको छनोट, पट्याइएका कुनाहरू— यी सबै विशेषताहरूले इन्द्रियहरूलाई संलग्न गराउँथे । यो मूर्त साक्षरता, हरेक चाउरी र हतारको लेखोटमा स्पष्ट, डिजिटल सञ्चारले नक्कल गर्न सक्दैन ।
हामीले के गुमायौं ?
आजको डिजिटल संसारमा सन्देश पुर्याउनु र प्राप्त गर्नु तत्काल र सहज छ (एक क्लिक टाढा) । कागजको आवश्यकता छैन, पर्खाइ छैन, अनुष्ठान छैन । तर, सुविधा प्राप्त गर्दा हामीले सायद गहिराइ गुमायौं । प्रेमपत्रले हामीलाई रोकिन, प्रतिबिम्बित गर्न, कलात्मक बन्न प्रेरित गर्थ्यो । यसले हामीलाई सिकाएको थियो कि लेखन भक्तिपूर्ण कार्य हो । आजको जमानामा भाषा ‘डिस्पोजेबल’ छ । ‘आई लभ यु’ टाइप गर्न दुई सेकेन्ड लाग्छ र लगभग कुनै विचार लाग्दैन ।
यसबाहेक, आजको डिजिटल साक्षरतामा प्राय: भावनात्मक गम्भीरताको कमी हुन्छ । इमोजीले रूपकको ठाउँ लिन्छ । लाइकले पत्रको ठाउँ लिन्छ । भावनात्मक रूपमा लगानी गरिएको सञ्चारमार्फत हुने सिकाइ अब बिट्स र पिक्सेलमा छरिएको छ, प्राय: सूक्ष्मताविहीन । यसको अर्थ आधुनिक प्रेममा अर्थको कमी छ भन्नु होइन । तर, पुरानो तरिकामा के प्राप्त भयो— र के पुन: प्राप्त गर्न लायक हुन सक्छ— सम्झनु महत्त्वपूर्ण छ । साक्षरताविद्हरू के भन्छन् भने अबको डिजिटल संसारमा साक्षरताको परिभाषासमेत फेर्नु जरुरी भइसक्यो ।
निष्कर्ष : प्रेमको रूपमा साक्षरता, मुक्तिको रूपमा साक्षरता
फोन नभएका दिनहरूमा प्रेमपत्र लेख्ने र पढ्नेहरू केवल प्रेमीहरू थिएनन् । तिनीहरू आकस्मिक कविहरू, गोप्य सिक्नेहरू र भाषाको एक शान्त क्रान्तिका सहभागीहरू थिए । औपचारिक स्रोतहरूको अभावमा— फोन थिएन, कथाका किताबहरू थिएनन्, अनुमति थिएन— उनीहरूले भावना, रूप र अभिव्यक्तिको एक भूमिगत विद्यालय निर्माण गरे ।
प्रेमपत्र, एक विश्वसनीय सन्देशवाहकको हातबाट पास हुँदै, रोमान्स र शिक्षा दुवैको माध्यम बन्यो । यसले युवाहरूलाई कसरी महसुस गर्ने मात्र होइन, आफूले के महसुस गरेका छन् भन्ने कुरा कसरी व्यक्त गर्ने भन्ने पनि सिकायो । र, त्यो नाजुक, पट्याइएको कागजको टुक्रामा, उनीहरूले शब्दहरूको जादू— र, थाहै नपाई, साक्षरताको शक्ति— पत्ता लगाए ।
आज शिक्षाविद्हरू र समाजहरूले साक्षरतालाई कसरी राम्रोसँग पालनपोषण गर्ने भनेर चिन्तन गर्दा, यी पत्रहरूको कथाले हामीलाई सम्झाउँछ : सबैभन्दा राम्रो सिकाइ तब हुन्छ, जब यो वास्तविक जीवनमा आधारित हुन्छ, भावनाले भरिएको हुन्छ र मानिसहरूबीच साझा हुन्छ । मौनतामा पनि, गोप्य रूपमा पनि, युवा हृदयहरू सिकिरहेका थिए— र, प्रेममार्फत, उनीहरू संसारमा आफ्नो बाटो लेखिरहेका थिए ।
