‘श्रीमतीभन्दा नजिकको साथी अर्को नहुने रैछ’

जेष्ठ २४, २०८२

कान्तिपुर संवाददाता

”There is no other friend closer than wife”

गणेश रसिक (२००४–२०८२) त्यस्ता स्रष्टा हुन्, जसलाई साहित्यप्रेमीले जति मन पराउँछन्, संगीतका पारखीले पनि त्यति नै मनमा राख्दै आएका छन् । पाठक र श्रोतामाझ उत्तिकै रुचाइने स्रष्टा नेपालमा अरू सायदै होलान् । भोजपुरमा जन्मेका रसिक काठमाडौँ र इलामतिर बाँडिइरहे, अन्त्यमा काठमाडौँ खाल्डोलाई नै मुकाम बनाए ।

जताजता पुगे पनि उनले साहित्य र संगीत सिर्जन–कर्मलाई चाहिँ कहिल्यै सुस्ताउन दिएनन् । दुइटै विधामा निरन्तर समान रूपले औँला चलाइरहे । रसिकले बुवाआमा मात्र होइन, छोरा र तीन जना भाइको असमयको वियोग भोग्नुपरेको थियो । उनी एक किसिमले वियोगान्त सम्बन्धहरूको पहाडले थिचिएका थिए । उनको लेखन र गायनमा त्यो वेदना भोजपुरे टेम्के डाँडाको उचाइ र पिखुवा खोलाको कलकल अनि इलामेली चियाबारीको हरियालीकै तहमा अनुभव गर्न सकिन्छ । उनै रसिकलाई अलि फरक कोणबाट बुझ्न सहायक हुन सक्ला भन्ने अपेक्षासाथ प्रस्तुत छ, उनको मृत्युभन्दा केही महिनाअघि पारस नेपालले गरेको अन्तर्वार्ताको सम्पादित अंश :

दाजुको अहिलेसम्मको अनुभवमा जीवन भनेको के रहेछ ?

जीवन भनेको सपना रैछ । जति सपना देखिन्छ, त्यतिन्जेल बाँचिन्छ, जीवन रहन्छ । जुन दिन सपना देख्न छोड्छ मान्छेले, त्यस दिन जीवन सकिन्छ । निश्चित समयभित्र मान्छेले गर्ने व्यवहार र अनुभव, भोग्ने भोगाइ, उतार–चढाव, सुखदुःख, हाँसोखुसी, समाजमा गर्ने योगदान — त्यसमा कति कुराहरू आफ्ना प्रतिकूल पनि हुन्छन् — सबै जीवन । सपनाले गर्दा नै हामी चलायमान हुन्छौँ । 

तपाईंले कत्तिको सपना देख्ने गर्नुभएको छ ?

सपना देखिराख्छु म । अझै केही काम गर्न सक्छु भन्ने लाग्छ । मलाई थाहा छ, मैले केही गर्न सक्ने अवस्था छैन अहिले, तर सपनाहरू छन् । मैले एउटा संस्था खोलेको छु— गणेश रसिक फाउन्डेसन । तीन–चार वर्षदेखि त्यसले विभिन्न व्यक्ति र संस्थालाई पुरस्कृत गर्दै आएको छ । त्यसबाट कोशी प्रदेशको साहित्यिक अभिलेख निकालेको छु । त्यसकै माध्यमले अरू काम गर्ने मन छ । म फिक्कलमा लगभग ३० वर्ष बसेँ ।

त्यहाँ सय जनाजति अट्ने थिएटर र संग्रहालय बनाउने, मेरा जति पनि पुरस्कार र सम्मानका प्रमाणपत्रहरू छन् त्यहीँ लगेर थन्क्याउने, लोकल स्रष्टाहरूका त्यस्ता प्रमाणपत्रहरू राख्न पनि एउटा कोठा उपलब्ध गराउने मेरो भित्री इच्छा छ । त्यो गर्न भ्याउँछु कि भ्याउँदिनँ, थाहा छैन मलाई । म बाँचेकै बेला त्यो गर्नुपर्ने हुन्छ । अहिले प्रदेश र केन्द्रले पनि त्यस्तो काममा सहयोग गर्ने भएकाले पैसाको खाँचो हुँदैन, त्यो परिकल्पना र सोचलाई साकार बनाउन दुई–चार जना खट्ने मान्छेचाहिँ चाहिन्छ ।

अर्को, मलाई नोभल लेख्न मन छ । खास गरी यो बदलिँदो परिस्थितिमा युवा र पुरानो पुस्ताबीचको एउटा ग्याप, परिवारको ग्यापलाई लिएर । जस्तो, यो घरमा हामी तीन पुस्ता बस्छौँ । म ट्रेडिसनल टाइपको छु । बुहारीको एक किसिमको बिन्दास लाइफ छ । नातिनी बाह्रै घण्टा मोबाइलमा झुन्डिएकी हुन्छ । कहिलेकहिले आमा–छोरीको बीचमा द्वन्द्व चल्छ । अहिलेको पुस्तालाई आफूबाहेक अरूको मतलब हुँदैन रैछ । सम्बन्ध के हो, मतलबै छैन । म यस्तो नसक्ने हुँदा पनि नरनाता कसैले बोलाएको ठाउँमा जाने गर्छु, तर मपछि यो रिलेसन ब्रेक हुने देख्छु । 

दुई–तीन वर्षदेखि मैले पत्रात्मक निबन्धहरू लेख्न थालेको छु, जसमा व्यक्तिगत सम्बन्धका कुराहरू राखेको छु ।

सम्बन्ध भनेको के रहेछ त ?

सम्बन्ध भनेको जीवनलाई सन्तुलनमा राख्ने उपाय रैछ । जीवन कतातिर बगेको छ, सम्बन्ध त्यही अनुसारको हुने रैछ । तर, समय र परिस्थितिअनुसार सम्बन्धहरू फरकफरक हुँदै जाँदा रैछन् । चाहेर पनि एकै किसिमको हुन नसक्ने रैछ । मेरा कैयौँ पुराना सम्बन्धहरू सब ब्रेक भएर गए । कति सम्बन्ध समयसँगै साँघुरिँदै जाँदा रैछन् ।

सम्बन्धको मामिलामा म भाग्यमानी रहेँ । कुन अर्थमा भने, श्रीमती एकदम बुज्झकी पाएँ । उनले समझदारी नदेखाएको भए हाम्रो घरपरिवार उहिल्यै उजाडिइसक्थ्यो । मैले त्यस्ता गल्तीहरू गरेको थिएँ । घरबाहिरको सम्बन्धमा म इमानदार रहिनँ श्रीमतीसँग । यो कुरा उनलाई पनि थाहा थियो, तर घर भाँडिन दिइनन् उनले । 

कलाकारको जिन्दगीमा केटीहरू आउँछन् भनेर मन बुझाउँदै लगिन् । 

मैले त्यस्तो गल्ती नगर्नुपर्थ्यो, तर गरेँ । बारम्बार गरिराखेँ । धेरै केटीले मन पराउँथे, चिठी लेख्थे । मैले पनि के गर्न सक्थेँ र ? हामी लोग्नेमान्छेको कमजोरी । लोग्नेमान्छेमा आफ्नै किसिमको इगो हुन्छ । कति कुरामा श्रीमतीलाई हर्ट गरिराखेँ मैले । श्रीमतीलाई धेरै धोका दिएँ । यही पछुतोले पनि मलाई निकै गाह्रो भो, श्रीमती बितेको एक–डेढ वर्षसम्म । प्रायः हरेक रात सपनामा देखिराख्थेँ । हामी सँगै हुन्थ्यौँ, कतै जान आँटेका हुन्थ्यौँ, कतै खाना खाइराखेका हुन्थ्यौँ । तर बिस्तारै कमकम हुँदै गयो, अहिले पाँच–छ महिनै भो होला उनलाई सपनामा नदेखेको । एक–डेढ वर्षसम्म त उनको फोटो हेर्दा पनि रुन मन लाग्ने । (सुँकसुँकाउँदै र आँसु पुछ्दै) जीवनमा श्रीमतीभन्दा नजिकको साथी अर्को नहुने रैछ । उनी बितेको चार–पाँच वर्ष भो, अझै पाँच–सात वर्ष अरू बाँचिदिएको भए हुन्थ्यो भन्ने लाग्छ ।

हामीबीच कति द्वन्द्व हुन्थ्यो, हाम्रा कति कुरा मिल्दैनथे, तर अन्तमा उनी मेरो कुरा मान्थिन् । मेरो मान राख्थिन् । उनी काठमाडौँबाट इलाम जानै चाहेकी थिइनन् । मेरो बाध्यताले मात्रै त्यता गएकी थिइन् । काठमाडौँको सिफलमा हाम्रो घर थियो, उनको नाममा । उनको माइतीले पनि दिएको थियो पैसा, त्यसमा थपथाप गरेर हामीले बनाएका थियौँ त्यो घर । परिस्थितिवश त्यो घर बेच्यौँ र मेरै करमा इलाममा जग्गा किन्यौँ, १३९ रोपनी । चिया खेती गरेर बस्ने भयौँ । तर पैसा छैन, बैँकबाट लोन लिएँ । चियाबाट सोचेजस्तो आम्दानी भएन । लोन तिर्न नसक्ने स्थिति भएपछि आधी जग्गा बेच्नुपर्ने भो । ५० रोपनीभन्दा तल जग्गा बेचेँ । 

२०७६ सालतिर मलाई प्रोस्टेटमा क्यान्सर भेटियो, प्रोस्टेट बढेको पहिलेदेखि नै थियो । एकदमै गाह्रो हुन थालेपछि जँचाएँ, थर्ड स्टेजको क्यान्सर भइसकेको रैछ । अब निद्रा लाग्न छोडिगो । म त मरिहाल्छु, परिवार के गरी बाँच्ला भन्ने चिन्ता हुन थाल्यो । श्रीमती पहिलेदेखि नै फिजिकल्ली कमजोरी, त्यसमाथि उनलाई पनि क्यान्सर थियो । श्रीमती मभन्दा नौ वर्ष कान्छी, उनी मभन्दा धेरै बाँच्छिन् भन्ने लाग्यो अनि इलामको जग्गा बेचेर काठमाडौँमा एउटा घर बनाइदिने, ३०–४० लाख रुपैयाँ उनको नाममा राखिदिने विचार गरेँ । मलाई केही गरी तलमाथि भइहाल्यो भने पनि यति भएपछि उनी बाँच्न सक्छिन्, बुहारी र नातिनी छन् भन्ने लाग्यो । त्यसभन्दा अगाडि इलामको जग्गा बेच्ने कुरा उठ्दा हामीबीच जहिल्यै झगडा हुन्थ्यो । म नबेच्ने भन्ने, उनी बेच्नुपर्छ भन्ने । तर, यसपल्ट मैले नै बेच्ने कुरा गर्दा उनी छक्क परिन् । त्यस बेला मलाई १ करोड रुपैयाँ लोन थियो ।

त्यत्रो ऋण चिया खेतीकै लागि मात्र लिनुभएको थियो ?

होइन नि । जागिर थिएन । महिनाको ३०–४० हजार घरखर्च मात्रै थियो । थकाली ससुराली, थकालीहरूको समाज धेरै, बिहेबटुलो जानुपर्ने, यताउता गइराख्नुपर्ने । आफ्नो स्ट्यान्डर्डमा हिँड्नैपर्‍यो । लोन मात्र १ करोड, त्यसको ब्याज छुट्टै । आफ्नो आम्दानी छैन । त्यत्रो हुँदा पनि मेरी श्रीमतीले कहिल्यै गुनासो गरिनन् होउ । मलाई अपजस दिइनन् । सधैं मोरल सपोर्ट दिइराखिन् । अनि इलामको ३२ रोपनी जग्गा ३ करोड ३० लाखमा बेचेँ । घरअगाडिको साढे १० रोपनी जग्गा पनि बेचिदिएँ । फिक्कलमा घरवरिपरि साढे तीन रोपनी र मास्तिर १३–१४ रोपनी चियाबारीचाहिँ राखेँ । लोन तिरेर उब्रेको पैसाले बालकोटमा यो घर किनेँ श्रीमतीको नाममा, २ करोडमा । उनको नाममा २५ लाख रुपैयाँ पनि राखिदिएँ । तर, उनले त्यसको त्यति भोग गर्न पाइन् । गइहालिन् ।

म केमा चाहिँ साह्रै खुसी छु भने, ‘ऋणमुक्त भइयो, मेरो नाममा घर छ, बैंक ब्यालेन्स छ’ भनेर श्रीमती ढुक्कले मर्न पाइन् । त्यो आत्मसन्तुष्टि पनि ठूलो कुरो हो । 

अहिले म यसो विचार गर्छु, म पहिले मरेको भए श्रीमतीले धेरै दुःख पाउँथिन् ।

किन र ?

मेरा पो साथीभाइ धेरै छन्, श्रीमतीको त सर्कल सीमित थियो । उनका नरनाता, दिदीबहिनीहरू कति आइरहन सक्थे होलान् र ? महिना दिनमा एकपल्ट ? काम हुँदैनथ्यो, उनलाई कहीँ जानुपर्दा सहारा दिने मान्छे हुँदैनथ्यो । एउटा खुट्टा त्यति ठीक थिएन । मैले त उनलाई मान्छेलाई बोकाईबोकाई रारा तालसम्म पनि लिएर गएँ नि । तर पाथीभरा लान, उनको माइती गाउँ टुकुचे र मुक्तिनाथ लान सकिनँ । बुद्धिष्ट थिइन् उनी, लुम्बिनी लगेर बत्ती बाल्न लगाउँछु भन्ने थियो, यी तीनटा इच्छाचाहिँ मैले पूरा गर्न सकिनँ । श्रीमती नरहेपछि आफैँ गएँ पाथीभरा, अर्को मान्छेको ढाडमा बोकिएर । उनको नाममा पाती चढाएँ । अब मरिगइएन भने मुक्तिनाथ र लुम्बिनी जाने मन छ ।

मृत्युलाई कसरी हेरिरहनुभएको छ ?

मृत्युलाई सहज रूपमा लिइराखेको छु । विकल्प पनि छैन । जिन्दगी जिउन गाह्रो छ भन्थ्यौँ, तर थाहै नपाई सिद्धिने रैछ । एउटा कुरा, हामी जस्तो बिरामीलाई सरकारले इच्छामरणको अधिकार दिनुपर्छ, ताकि बिरामीले आफूलाई सजिलोसँग लान सकोस् । हामी बाँचिरहनु भनेको अस्पताललाई पैसा खुवाउनु मात्रै हो । बाँचुन्जेल पनि सुखसँग बाँचिँदैन । मलाई यस्तो पीडा हुन्छ कहिलेकहिले, मरिहाल्न पाए पनि हुने भन्ने लाग्छ । मलाई पैसाले यति समयसम्म बँचायो । त्यो पनि धेरै दिन छैन । 

तर, मेरो लासलाई एकेडेमी–सेकेडेमीमा लगेर झिँगा भन्काएर नराखियोस् । योगेश वैद्यको पार्थिव शरीर संगीत नाट्य एकेडेमीमा लगेर राखे, उहाँकी छोरी बिचरा बुवाको मायाले पंखा हम्केर झिँगा धपाउँदै बसेकी छन्, छोरा पर बसेका छन्, बाह्र–पन्ध्र जना कलाकार भेला भएका छन्, कोही ‘सपना भुलाई सारा’ गीत गाउनुपर्छ भन्छन्, कोही के भन्छन्, त्यो लास जतिसक्दो चाँडो घाट पुर्‍याउनुपर्ने चिन्तै छैन कसैलाई । म मरेपछि त्यहाँ लगेर राखे भने मेरो हालत पनि त्यही त हो । त्यसैले, म मरेको डिक्लेयर हुनासाथ जति जना मान्छे आउँछन्, तिनैले घाटमा लगिदिऊन् । मरेपछि मेरो लागि त्यस्तो गाईजात्रा गर्नु पर्दैन । 

म हिँड्दाहिँड्दै, बोल्दाबोल्दै, खाँदाखाँदै आनन्दले जान पाऊँ । मेरो वैराग्य होइन है फेरि यो । मैले भोग्नुपर्ने नियति नै हो, यथार्थ हो, सत्य हो ।

कान्तिपुर संवाददाता

Link copied successfully