इनर मंगोलियाको समृद्ध कथा

तपाईंमध्ये कसैको मनमा इनर मंगोलिया उजाड, पिछडिएको वा टाढाको सहर भन्ने चित्र छ भने त्यो बुझाइ केवल भ्रम हुनेछ 

जेष्ठ २४, २०८२

राजाराम गौतम

The rich story of Inner Mongolia

के तपाईंहरूमध्ये कसैले यसअघि इनर मंगोलिया भ्रमण गर्नुभएको छ ? यदि छैन भने, कस्तो होला भन्ने कल्पना गर्नुहुन्छ ?’ चाइना डिप्लोमेसी एसोसियसनका अध्यक्ष वु हाङलाङले औपचारिक भाषणको बीचमै यस्तो प्रश्न तेर्स्याएर केही सेकेन्ड ‘पज’ लिए ।

गत मे महिनाको दोस्रो साता विश्वका २३ देशका कम्तीमा हामी दुई दर्जन पत्रकार चाइना डिप्लोमेसी एसोसियन र चिनियाँ मिडिया कम्पनी ग्लोबल टाइम्सको निम्तोमा इनर मंगोलिया घुम्न राजधानी होहट पुगेका थियौं । त्यसक्रममा आयोजित औपचारिक स्वागत कार्यक्रममा वु हाङलाङ बोल्दै थिए । लामै ‘पज’ लिएर जवाफका लागि उनले पत्रकारतर्फ हेरिरहे । जवाफ नआएपछि भने, ‘तपाईंहरूमध्ये कसैको मनमा इनर मंगोलिया उजाड, पिछडिएको वा टाढाको सहर भन्ने चित्र छ भने यो भ्रमणले तपाईंहरूको त्यो इम्प्रेसन भ्रम भएको पुष्टि गर्नेछ ।’

उनले यति भनेपछि चाहिँ एक जना पत्रकारले जवाफ फर्काए, ‘म त्यस्तो भ्रम लिएर होइन कि, मनोरम घाँसे मैदानहरूको सहर हेर्न आएको हुँ ।’ 

त्यसपछि वु हाङलाङ मुस्कुराए । र, थपे, ‘इनर मंगोलिया चिनियाँ सभ्यताको एउटा महत्त्वपूर्ण भाग हो, जहाँ घाँसे मैदान र कृषि सभ्यताहरू एकअर्कासँग घुलमिल भएका छन् । विशाल घाँसे मैदानहरूमा घोडा, गाईबस्तु र भेडाका बथानहरूको दृश्य हेर्न लायककै हुन्छ ।’ चिनियाँहरू न्यानो आतिथ्य सत्कारका लागि प्रख्यात छन् । र, अचेल उनीहरू आफ्ना उपलब्धि र सफलताका कथाहरू बाहिरियासँग बाँड्न पनि उत्तिकै उत्साहित हुन्छन् । यस मानेमा वु हाङलाङको उत्साह स्वाभाविकै थियो । यद्यपि, उनी केही बढी नै हौसिएका थिए । कारण, धेरैजसो समय बेइजिङ बस्ने यी उच्चपदस्थ चिनियाँ अधिकारीको यो गृहनगर थियो । उनी इनर मंगोलियाको उलानकाबका बासिन्दा हुन् । स्वागत कार्यक्रम सकिएपछि भन्दै थिए, ‘यस पटक विदेशी सञ्चारकर्मी साथीहरूसँग म आफ्नै सहर घुम्दै छु । त्यसकारण पनि म उत्साहित छु र यो मेरा लागि नयाँ अनुभव हुनेछ ।’

उही सहरका बासिन्दा हाङलाङ त नयाँ अनुभव लिँदै थिए भने मजस्ता बाहिरियाका लागि समृद्धिको उकालो उक्लिरहेको इनर मंगोलिया यात्रा नौलो हुने नै भयो । नौलोपनको त्यो अनुभूति भ्रमणको पहिलो दिनबाटै गरियो, जब पुगियो– होहटस्थित ‘यिली मोडर्न इन्टेलिजेन्ट हेल्थ भ्याली’ । 

यिली मोर्डन इन्टेलिजेन्ट हेल्थ भ्याली होहटको त्यो महत्त्वाकांक्षी परियोजना रहेछ, जसले दूध उत्पादनमा ठूलै फड्को मारेछ । विश्वमै उम्दा डेरी कम्पनीमध्ये होहटका दुई दूध डेरीहरू यिली र मेन्ग्निउ पनि पर्दा रहेछन् । यिली मोर्डन इन्टेलिजेन्ट हेल्ट भ्याली अन्तर्गतको राष्ट्रिय प्रविधि नवप्रवर्तन केन्द्र (नेसनल सेन्टर अफ टेक्नोलोजी इनोभेसन) का महाप्रबन्धक जियानले बताए अनुसार, दक्षिणपूर्वी एसियाली बजारमा दबदबा भएको प्रख्यात डेरी यिलीले दूध, दही, चिजलगायत एक हजारभन्दा बढी प्रकारका दुग्धजन्य उत्पादन गर्ने गर्छ । त्यहाँ पुग्दा मेरा लागि नौलो, मुख्य आकर्षण र हाइलाइट्स थियो– दुग्ध उत्पादनहरू आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोगबाट भइरहेका थिए । गाईपालन, त्यसबाट दुग्ध उत्पादन, प्रशोधन अनि प्याकेजिङका काममा एआई रोबोटको प्रयोग कृषि र पशुपालनमा प्रविधिको उच्चतम प्रयोगको अनुपम उदारहण थियो । 

एक हजारभन्दा बढी दूधजन्य उत्पादन गर्न कति गाई पाल्नुपर्छ होला ? जिज्ञासाले भरिएर मैले महाप्रबन्धक जियानलाई सोधेँ, यिली दुग्ध उत्पादन कम्पनीका आफ्नै गाईहरू पनि छन् ? छन् भने कति छन् ? उनले अनुमानित दस लाख गाईहरू होहटका विभिन्न फर्महरूमा रहेको बताए । फर्महरूमा प्रत्यक्ष गाईपालन हेर्ने अवसर त मिलेन । तर, यिली दुग्ध उत्पादन कारखाना अवलोकनका क्रममा एउटा भिडियो देखाइएको थियो, जहाँ हजारौंको संख्यामा फार्ममा पालिएका गाई थिए । तिनका टाट्नाहरूमा स्वचालित रोबटहरूको सहयोगबाट दाना–पानी राखिँदो रहेछ र तिनको भकारो पनि सफा गरिँदो रहेछ । 

गाईपालन, त्यसबाट दूध निकाल्नु, संकलन, प्रशोधन हुँदै प्याकेजिङसम्मका काममा जसरी प्रविधिको उच्चतम प्रयोग भएको ‘यिली मोडर्न इन्टेलिजेन्ट हेल्थ भ्याली’ मा देखियो, त्यो अद्भुत थियो । जियान भन्छन्, ‘यो महत्त्वाकांक्षी परियोजनाले दुग्ध उद्योगभित्र पूर्ण शृङ्खला विकासलाई बढावा दिने, स्मार्ट सिटी इनिसियटिभ्सहरूलाई सशक्त बनाउँदै अत्याधुनिक डिटिजल आविष्कारहरूको लाभ उठाउने कुरामा केन्द्रित छ ।’ उनले अझ थपे, ‘प्राविधिक प्रगतिहरूसँग ग्रिन इनिसियटिभ्समार्फत होहटले दिगो र एकीकृत मोडल स्थापनाको लक्ष्य राखेको छ । अब हाम्रो यात्रा विश्वकै सबैभन्दा उम्दा डेरी उत्पादन कम्पनी बन्न हो र हामी ‘डेरी सिलिकन भ्याली’ निर्माणको अवधारणामा बढेका छौं ।’ उनका अनुसार, यो परियोजनाले आगामी दिनमा आर्थिक, सामाजिक लाभहरू बढाउँदै सन् २०३५ सम्ममा थप साढे तीन लाख मानिसलाई रोजगारी दिने लक्ष्य राखेको छ । 

इनर मंगोलियाको राजधानी होहट भ्रमणको दोस्रो दिन अलि चापाचाप छ । कारण, कम्तीमा ५ भिन्न ठाउँ घुमाउने योजनामा छन् आयोजक । भाषा अनुवादक आइरिस ठाउँहरूबारे जानकारी दिन तयार भइसकेकी छिन् । उनले सहरको परिचय दिँदै भनिन्, ‘चीनको यो उत्तरी प्रान्त इनर मंगोलियाको राजधानी होहट नीलो र हरियो रंगहरूको सम्मिश्रण हो । ‘खुलेको नीलो आकाश र निख्खर हरिया घाँसे मैदानले यो सहरको सौन्दर्यलाई जीवन्त बनाएको छ,’ आइरिसले भनिन्, ‘तपार्इं हाम्रो होहटलाई नीलो सहर पनि भन्न सक्नुहुन्छ ।’

अघिल्लो दिन चिनियाँहरू होहटलाई ‘दूधको राजधानी’ भनिरहेका थिए । सायद यसका धेरै विशेषता भएकाले होला, आज ‘नीलो सहर’ भन्दै छन् । नीलो सहरको मनोरम अनुभूति लिन हामी पुग्यौं, चिलेचुआन घाँसे मैदान । यो घाँसे मैदान होहट सहरको बाओहेशाओ टाउनको येमातु गाउँमा छ । सहरबाट सबैभन्दा नजिकको यो घाँसे मैदानलाई ‘नीलो सहर पछाडिको बगैंचा’ पनि भनिँदो रहेछ । यहाँको मुख्य विशेषता हो– विशाल हरियाली चरन क्षेत्रको अवलोकन । ‘अरू याममा त यहाँ धेरै घोडा, भेडा र अरू पशुपालनको ठूलै लर्को देखिन्थ्यो । सायद यो मौसममा कम हुने रहेछ,’ आइरिसले भनिन् । चरन क्षेत्रमा दुई–चार घोडा चरेको मात्रै देखियो, त्यस दिन । 

त्यसपछि पुगियो– ‘एम ग्रास’ । झट्ट नाम सुन्दा अर्को घाँसे मैदान भन्ने लागेको थियो । तर, रहेछ– उच्च गुणस्तरका घाँसको बीउ उत्पादन गर्ने कार्यालय । यसले उच्च गुणस्तरका घाँसका बीउ उत्पादन गर्ने र नवीन प्राविधिक सेवा दिने रहेछ । एम ग्रासले राष्ट्रिय वन तथा घाँसे मैदान प्रशासन र त्यसअन्तर्गत हावा कटान र मरुभूमीकरण नियन्त्रणका लागि राष्ट्रिय इन्जिनियरिङ प्रविधि अनुसन्धान केन्द्रसँगको सहकार्यमा काम गर्ने सम्बद्ध अधिकारीले जानकारी दिए । त्यस्तै यसले कृषि तथा ग्रामीण मामिला मन्त्रालयअन्तर्गत कृषि चरण इकोटोनमा खेती गरिएको भूमि उर्वरता संरक्षण र सुधारका लागि प्रयोगशालासहित ३० भन्दा बढी राष्ट्रिय, तर प्रान्तीय वैज्ञानिक असन्धाना प्लेटफर्महरू सञ्चालन गर्ने रहेछ । ७० भन्दा बढी अनुसन्धान संस्थान, विश्वविद्यालय र उद्यमसँग सहकार्यमा राष्ट्रिय घाँस उद्योग नवप्रवर्द्धन केन्द्रको स्थापना पनि गरेको छ । 

नयाँ–नयाँ प्रजातिका घाँसको अध्ययन–अनुसन्धान गर्न चीनले गरेको संस्थागत प्रयास र त्यसका उपलब्धि बुझिसकेपछि हाम्रो अर्को गन्तव्य बन्यो, होहट अन्तराष्ट्रिय मूर्तिकला पार्क । यो पार्कले वास्तुकला र प्रकृतिको सामञ्जयस्यपूर्ण संयोजनमार्फत उत्तरी सीमान्त संस्कृतिको सारलाई मूर्तरूप दिइरहेको बताए, पार्कसँग सम्बद्ध अर्का एक चिनियाँ अधिकारीले । उनले भने, ‘पार्कमा राखिएका यी वास्तुकलाका डिजाइनले सोचविचारपूर्वक प्राकृतिक भूभागमा अनुकूलन गर्छ । निर्मित संरचनाहरू वरपरको परिदृश्यबीच एक निर्बाध बन्धन सिर्जना गर्छ ।’ निख्खर हरियाली देखिने यो पार्क ३७ हजार वर्ग मिटरमा फैलिएको छ । पार्कमा रहेका भवनहरूमा घाँसको छानाहरू यसरी सजाइएको छ, मानौं ती घाँसे–मैदान नै हुन् । टाढाबाट हेर्दा भवनहरू घाँसे मैदानको प्राकृतिक विस्तारको रूपझैं लाग्छन् । दोस्रो दिन भ्रमणका क्रममा पुगिएको युङगु अन्वेषण पोर्ट र इनर मंगोलिया डाटा सेन्टरमा प्रविधिको उच्चतम अभ्यासका नमुनाहरू हेर्न अवसर मिल्यो । 

युङगु अन्वेषण पोर्ट होरिन्जर नयाँ क्षेत्रभित्र डाटा टाउनको मुटुमा अवस्थित एउटा आकर्षक डिजिटल प्रदर्शनी स्थल हो । ८ हजार वर्गमिटरको विशाल क्षेत्रफल ओगटेको यो भविष्यवादी बन्दरगाहले इमर्सिभ अनुभवहरू र डिजिटल पर्यटनमार्फत एयरोस्पेस र राष्ट्रिय रक्षासहित विभिन्न क्षेत्रको हाइलाइट गर्छ । संस्कृति र प्रविधिको अन्तरसम्बन्धले कसरी गतिशील शैक्षिक अवसर सर्जना गरिरहेको छ र उपभोक्ता अनुभवलाई समृद्ध बनाउँदै छ भन्ने अवलोकन गरिरहेका थिए पत्रकारहरू । त्यस्तै इनर मंगोलिया डाटा एक्सचेन्ज सेन्टर सरकार अनुमोदित डाटा ट्रेनिङ प्लेटफर्म हो । उक्त कम्पनीका एक अधिकारी भन्छन्, ‘यसले डाटा रजिस्ट्रर, त्यसको व्यापार र कम्प्युटिङ स्रोत लेनदेन जस्ता सेवाहरू प्रवाह गरेर डिजिटल अर्थतन्त्रलाई बढावा दिइरहेको छ । यसले नवप्रवर्तनलाई इन्धन दिइरहेको छ ।’

होहटपछिको अर्को गन्तव्य थियो, उलानकाब, जो चाइना डिप्लोमेसी एसोसियसनका अध्यक्ष वु हाङलाङको गृहनगर पनि थियो । यो इनर मंगोलियाको राजधानी होहटसँग जोडिएको अर्को जिल्ला हो । स्वच्छ, सफा मात्रै होइन, खाद्य सुरक्षाका दृष्टिले पनि पुरस्कृत भएको यो जिल्लालाई ‘राष्ट्रिय बगैंचा’ को उपाधि दिइएको छ । यसको अर्को उपनाम आलुको राजधानी पनि हो । दहीका लागि पनि उत्तिकै प्रख्यात भएकाले दहीको राजधानी पनि भनिँदो रहेछ, जो चिजका लागि प्रसिद्ध छ । त्यसको पछाडि राजधानी जोडिदिएर प्रचार गर्ने चिनियाँ शैली गज्जबकै लाग्यो । 

यो सहरमा हामीले कृषिमा प्रविधिको उच्चतम प्रयोग के कसरी गरिएको रहेछ, त्यो हेरौं । त्यसका लागि पुगियो, सन् २०१२ मा स्थापना भएको चिसो सहनशील तरकारी केन्द्र । यो उलानकाबमा स्थापना भएको पहिलो तरकारी अनुसन्धान केन्द्र हो । यसका अध्यक्ष गुआन हुइमिङले भने, ‘हामी तरकारी खेतीलाई एआई नियन्त्रण प्रणालीको प्रयोग गर्छौं । विशेषगरी यसमा पानी प्रक्रियालाई स्वचालित गर्न सेन्सर र कम्प्युटर चिप्सहरूको प्रयोग गरिएको हुन्छ । सेन्सरहरूले बिरुवाहरूलाई कति पानी चाहिन्छ भनेर पत्ता लगाउँछन् र संकेत प्राप्त गरेपछि कम्प्युटरले स्वचालित रूपमा पाइपका भल्भहरू नियन्त्रण गर्छन् । सरल शब्दहरूमा भन्दा हामी यसलाई स्मार्ट पानी संरक्षण भन्छौं, जुन स्मार्ट कृषिको अंश पनि हो ।’

त्यस्तै पर्यटनको विकास हेर्न उलानहाद ज्वालामुखी क्षेत्र पनि पुगियो । केही वर्षअघि चीनको छेन्दु जाँदा त्यहाँ भूकम्पबाट प्रभावित पूरै गाउँलाई म्युजियम बनाएर कसरी प्रतिकूलता अवस्थालाई पनि अनुकूल बनाउन सकिन्छ भनेर चिनियाँले गरेको प्रयोग देखेको थिएँ । यहाँ पनि ज्वालामुखी क्षेत्रमा पर्यटन–विकासको त्यही मोडल अपनाएको देखियो, जहाँ दिनमै हजारौंको संख्यामा चिनियाँ पुग्दा रहेछन् । त्यसबाहेक पनि हामीले होहटमा जस्तै विभिन्न पर्यटकीय र सांस्कृतिक पार्क, उच्च प्रविधि विकास क्षेत्रहरूको भ्रमण गर्‍यौं । 

जहाँ–जहाँ भ्रमण गरियो, आफ्ना कुरालाई प्रस्तुत गर्ने चिनियाँ शैली चाहिँ अनुकरणीय लाग्यो । आफ्ना कुराहरूलाई आकर्षण सोकेस गर्न चिनियाँहरू खप्पिस छन् । तपाईं चाहे म्युनियम पुग्नुस् वा कुनै व्यापारिक गृह ! त्यहाँ सम्बन्धित विषयको अर्काइभ गहिरोसँग गरिएको हुन्छ र त्यसलाई आकर्षक हिसाबले देखाइन्छ । जस्तो कि, चिप्सहरू बनाउने आलु कम्पनी साइडु पुग्दा त्यस्तै अनुभव भयो । त्यहाँ चिप्सका प्याकेटहरू बन्दै त थिए नै, सँगै थियो– आलुको इतिहास । चिनियाँहरूले कहिलेदेखि र कस्ता आलुहरू चीन भित्र्याए ? विश्वमा आलु कहाँ–कहाँ कस्तो–कस्तो पाइन्छ ? कसले कति उत्पादन गर्छ ? आदि इत्यादि विषय समावेश गरेर आलु म्युजियम नै बनाएका रहेछन् । 

पाँचदिने इनर मंगोलिया भ्रमणका यस्ता थुप्रै झाँकी मनमा लिएर फर्कंदै गर्दा मैले उलानकाबमा बाल्यकाल बिताएर अहिले चिनियाँ सरकारको उच्च पदस्थ बनेका वु हाङलाङलाई सोधें, ‘तपार्इं चाहिँ इनर मंगोलियाको यो समृद्धिलाई कसरी हेर्नुहुन्छ त ?’ उनले संक्षिप्तमा भने, ‘म १९ वर्षसम्म यही सहर बसेको हुँ । मेरो घर अहिले जहाँ छ, त्यहाँ खेतबारी थियो र अहिले जे जति प्रगति यो सहरले गरेको छ, त्यो देख्दा आज पनि म आश्चर्यचकित हुन्छु । आफ्नो जीवनकालमै सहरले गरेको यो समृद्धि देखेर म गद्गद् छु ।’

राजाराम कान्तिपुर मिडिया ग्रुप अन्तर्गतको 'साप्ताहिक' र 'नारी' मासिकको सम्पादक भएका राजाराम कान्तिपुरमा समसामयिक बिषयमा लेख्ने गर्छन् ।

Link copied successfully