लामो समय टिक्नु नै कुनै महोत्सवको उपलब्धि हो ? २२ औं संस्करणसम्म आइपुग्दा ‘किम्फ’ को स्वरूप कस्तो हुनुपर्थ्यो ? के यसको गरिमा हिमालमा हिउँ पग्लिएझैं पग्लियो ?
नेपालमा लामो समयदेखि टिक्न सफल कुनै महोत्सव छ भने त्यो हो– काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) । किम्फले गत साता मात्रै २२ औं संस्करण पूरा गर्यो । निरन्तरताकै हिसाबले हेर्ने हो भने किम्फ नेपालमा हुँदै आएका फिल्म महोत्सवमध्ये पुरानोमा पर्छ । हुन त डकुमेन्ट्रीसम्बन्धी महोत्सव ‘फिल्म साउथ एसिया’, मानव अधिकारको मुद्दा उठाउने ‘नेपाल अन्तर्राष्ट्रिय मानव अधिकार फिल्म फेस्टिभल’, व्यावसायिक फिल्म समेट्ने ‘नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ जस्ता महोत्सव सक्रिय आयोजना भइरहेकै छन्, तर यी महोत्सवले कति औं संस्करणसम्मको यात्रा तय गर्ला ? यसबीच ‘आदिवासी जनजाति फिल्म फेस्टिभल’ र ‘एकादेशमा’ जस्ता आस गरिएका महोत्सवले बीच बाटोमै यात्रा टुंग्याए ।
आखिर भइरहेका यी महोत्सव पनि कहिलेसम्म हुने हुन् ? फिल्म महोत्सवले भोगिरहेको आर्थिक चुनौती सोच्दा निर्देशक मीन भामको दिमागमा यही प्रश्न घुम्छ ! आर्थिक पक्षमा विस्तारै प्रवेश गरौं, पहिले किम्फको २२ वर्षे यात्रा नियालौं ।
सन् १९९७ मा सुरु भएको नेपालको पहिलो महोत्सव फिल्म साउथ एसिया (एफएसए) हो । त्यसपछि सन् २००० मा सुरु भयो– ‘किम्फ’ । सन् २००५ सम्म यी दुई महोत्सव हिमाल एसोसिएसनअन्तर्गत हुन्थ्यो, त्यो संस्थाको तत्कालीन कार्यकारी निर्देशक थिए– वसन्त थापा । दुई वर्षको अन्तरालमा हुँदै आएको किम्फ २००७ देखि बर्सेनि हुन थाल्यो । यसबीच किम्फले सन् २००७ बाटै नेपाल प्यानारोमामार्फत युवा फिल्मकर्मीलाई प्लेटफर्म दिन थाल्यो । थुप्रै नेपाली फिल्मकर्मी यही प्लेटफर्मबाट जन्मिए । कुनै बेला यही प्लेटफर्मका लागि फिल्म बनाउन फिल्मकर्मी हानाथाप गर्थे । मीन भामको ‘बाँसुल्ली’ होस् या दीपक रौनियारको ‘चौकठी’, मीन दीपकदेखि केसाङ छेतेनहरूका लागि पहिलो प्लेटफर्म किम्फ नै बन्यो । खास अर्थमा किम्फ उमेरकै हिसाबले किशोर अवस्था पार गरेर लक्का जवान भइसक्यो । तर, के जवान किम्फको जोस/जागर, ऊर्जा र उद्देश्य अहिले पनि सुरुवाती दिनमा झैं छ ? युवा उमेरमा प्रवेश गरिरहँदा किम्फमा फक्रँदै आएको परिपक्वता के ? के लामो समय टिक्नु मात्रै कुनै महोत्सवको उपलब्धि हो ? यो समयसम्म आइपुग्दा किम्फको स्वरूप कस्तो हुनुपर्थ्यो ? यो महोत्सव कति गुणाले फराकिलो बन्नुपर्थ्यो ? अथवा बृहत्तर र गुणस्तरमा किम्फको उचाइ कति अग्लो बन्यो ? २२ औं संस्करणमा आइपुग्दा किम्फको उचाइ अग्लियो कि छोटियो ? कि यसको गरिमा हिमालमा हिउँ पग्लिएझैं पग्लियो ? समीक्षा जरुरी छ ।
लामो समय महोत्सवको निर्देशक रहेका वसन्त थापा किम्फ सोचेजस्तो बृहत्तर र गुणस्तरीय बन्न नसकेको स्विकार्छन् । ‘जुन किसिमको बृहत्तर र गुणस्तरीय महोत्सव सोचेको थिएँ, त्यो भइरहेको छैन । क्वालिटीको दृष्टिले होस् या दर्शकको सहभागिताका हिसाबले, ठूला सेलिब्रेटीलाई आकर्षित गर्ने महोत्सव हुन जरुरी छ । काठमाडौंमा हुने महोत्सवमा जानैपर्छ भन्ने भाष्य विश्वमा पुर्याउन सक्नुपर्छ । हामीले कलाको यो सफ्ट पावरलाई विश्व बजारमा बेच्न सक्छौं,’ उनले हालै भनेका थिए ।
फिल्म : बिटविन द माउन्टेन एन्ड द स्काई
खासमा उनले भनेझैं अहिलेसम्म किम्फले विश्वका प्रतिष्ठित फिल्म महोत्सव कान्स, भेनिस र बर्लिनझैं विश्व बजारलाई आकर्षित गर्नुपर्थ्यो । संसारका फिल्मकर्मीमा ‘किम्फमा जसरी पनि पुग्नुपर्छ’ भन्ने भाष्य निर्माण हुनुपर्थ्यो । काठमाडौंलाई दक्षिण एसियाकै सशक्त महोत्सव हुने हबका रूपमा चिनाउनु पर्थ्यो । औंलामा गन्न सकिने मात्रै होइन, अहिलेसम्म थुप्रै प्रतिभालाई प्लेटफर्म दिँदै हुर्काउनुपर्थ्यो । प्रतिभालाई प्लेटफर्म त किम्फले दिँदै आएको छ, तर ती प्रतिभा हुर्काउने अभ्यास भएको देखिन्न । बर्लिन, लोकार्नोहरूमा फिल्मकर्मी मात्रै नभई फिल्मसँग सम्बन्धित थुप्रै विधासँग आबद्ध प्रतिभालाई हुर्काउने, मेन्टरसिप र ‘एक्सपोजर’ दिने ‘ट्यालेन्ट’ देखि ‘एकेडेमी’ जस्ता प्लेटफर्म छन् । तर, नेपालमा बर्सेनि हुँदै आइरहेका महोत्सवमा नेपाली प्रतिभा हुर्काउने भिजन नहुनु दुःख नै हो । हुन त किम्फले युवा फिल्मकर्मी लक्षित गर्दै ‘नेपाल प्यानारोमा’ त सञ्चालनमा ल्याउँदै छ । तर, त्यो प्लेटफर्मबाट एकपटक फिल्म देखाइसकेका फिल्मकर्मीलाई मेन्टरसिप दिने अथवा फलो–अपको जिम्मा कसको ? निर्देशक दीपेन्द्र लामा यस किसिमको महोत्सवले फिल्मकर्मीको काम र गतिविधिको फलोअप गर्दै यो क्षेत्रको विकास गर्नुपर्ने धारणा राख्छन् । सन् २०१५ तिर किम्फमा फिल्म देखाएका युवा निर्देशक भन्छन्, ‘हामीले त्यतिबेला वास्तवमै किम्फकै लागि डकुमेन्ट्री बनाएका थियौं । हाम्रो डकुमेन्ट्रीले राम्रै प्रतिक्रिया पायो, किम्फले हाम्रा लागि प्लेटफर्म दियो । तर त्यसपछिको हाम्रो यात्रा के ? किम्फले हामीलाई फलोअपसमेत गरेन ।’
खासमा किम्फले प्लेटफर्म दिने मात्रै होइन, विश्व बजारसँग पनि फिल्मकर्मीलाई जोडिदिनुपर्छ । प्लेटफर्म मात्रै दिने अनि बजारसँग नजोडिदिने हो भने ती फिल्मकर्मी हराउँदै जान्छन् । कुनैबेला किम्फमा बलियो उपस्थिति जनाएका अधिकांश युवा फिल्मकर्मी कहाँ पुगे, उनीहरू के गर्दै छन् ? झट्ट हेर्दा किम्फ हिजो जस्तो थियो, त्योभन्दा केही माथि मात्रै उठेको देखिन्छ । वसन्तकै शब्द सापटी लिएर भन्न सकिन्छ– किम्फ बृहत्तर बन्नै सकेन । आखिर किम्फजस्तो महोत्सवलाई बृहत्तर बनाउन नसक्नु कसको कमजोरी ? राज्यको कि किम्फ अगुवाको ?
निर्देशक नवीन सुब्बाका अनुसार, किम्फले पहिल्यैदेखि पर्वतको विधा समायो र व्यावसायिक फिल्मसँगको दूरी बढ्यो । खासमा यो वर्षबाट किम्फले डकुमेन्ट्री पिच गर्ने ‘डकल्याब’ सुरु गर्यो । तर, किम्फले यसै किसिमको कार्यशालाहरू खडा गर्दै अहिलेसम्म पर्वतकै विधामा उहिल्यैदेखि फिल्मकर्मी जन्माउन सक्थ्यो । तर, हामीकहाँ पर्वतकै विधामा कथा भन्ने निर्देशक/विज्ञ/जनशक्ति २२ वर्षमा कति जन्मिए त ? हिमालसँग जोडिएका शेर्पादेखि थुप्रै जनशक्तिलाई तालिम दिँदै पर्वत विधाका फिल्मकर्मीका रूपमा स्थापित गर्न सकिन्थ्यो । तर, त्यतातिर खासै किम्फको चासो देखिएन । दक्षिण एसिया लक्षित गर्दै सुरु गरिएको ‘डकल्याब’ यो वर्ष किम्फकै ठूलै उपलब्धि हो । दक्षिण एसियाका फिल्मकर्मीले यो पटक यो प्लेटफर्ममा डकुमेन्ट्री पिच गर्ने अनि अवार्ड जित्ने प्लेटफर्म निर्माण गर्नु किम्फको सकारात्मक पाटो हो । डकल्याब झैं पर्वतकै विधामा फिल्म निर्माण गर्ने फिल्मकर्मी जन्माउने कार्यशाला किम्फले पहिल्यै सुरु गर्नुपर्थ्यो । तर, ‘ढिलो आयो कडा आयो’ शैलीमा ‘डक ल्याब’ सुरु हुनु सुखद् पक्ष हो ।
अन्तर्राष्ट्रिय विधामा यो पालि सशक्त फिल्महरू छानिएका थिए । नेपाल प्यानारोमामै पनि आशा लाग्दा नेपाली फिल्मकर्मीका फिल्म देखाइए । ‘बिट्विन द माउन्टेन एन्ड दि स्काई’ जस्तो सशक्त डकुमेन्ट्रीलाई उता अमेरिकाको हलमा प्रदर्शनरत रहँदै महोत्सवमा देखाउनु सबल पक्ष रह्यो । डकुमेन्ट्रीमा सीएनएन हिरो म्यागी डोयनको समाजसेवादेखि व्यक्तिगत अनुभूतिमार्फत परिवार, प्रेम, एकता र मेलमिलापका विभिन्न पक्ष खोतलिएका थिए । भारतबाट छनोट भएको ‘कोटुकल्ली’ होस् या फ्रान्स/पाकिस्तानको ‘सोफी लभौद’, यी फिल्ममा मानिसले आफ्नो सपना, प्रेम र चाहनाहरूमा बाँच्नका लागि कस्ता पहाडहरू उक्लनुपर्छ भन्ने बलियो अर्थसहितको प्रभावकारी कथा देखाइएका थिए । नेपालको अनकन्टार कुनै गुफामा ४७ दिन बिताएर जीवनको याचना गरिरहेको ‘आफ्टर द स्नोमेल्ट’ होस् या ‘टेन्टिगो’ मार्फत देखाउन खोजिएको लाज, मान मर्यादाभित्र लुकेको जीवन, यो पटक किम्फले समातेको ‘खण्डित आवाज, निर्मित भाष्य’ नाराजस्तै फरक आवाजसहितका फिल्महरू देखाएको थियो । ‘सवारी साहित्य’ होस् या ‘सङ्स अफ लभ एन्ड हेट’, नेपाली प्रतिभाहरूका भिन्नै आवाज र प्रयोगको साक्षी बन्यो– किम्फ । यति हुँदाहुँदै पनि किम्फ किन अझै बृहत्तर हुन सकेन त ?
किम्फले आफ्नो ‘मोडल’ प्रस्ट गर्न नसक्दा महोत्सवको बृहत्तर स्वरूप नदेखिएको निर्देशक सुब्बा थप्छन् । नेपाली फिल्म महोत्सवले आफूलाई बृहत्तर नै बनाउनुपर्ने बताउँछन् उनी । ‘अफ्रिकन एउटा भनाइ छ नि, बिरालोले बाघ बन्ने चाहना राख्ने हो भने मुसा खान छाड्नुपर्छ रे ! त्यसैले बजेट र जनशक्तिको अभाव होला । तर, संसारकै प्रतिष्ठित महोत्सव जत्तिकै बन्ने सपना यहाँका फिल्म फेस्टिभलले देख्नुपर्यो,’ सुब्बाले भने,’ किम्फलाई ठूलो बनाउने महत्त्वकांक्षा र त्यहीअनुरूपको रणनीति बनाउनुपर्छ ।’
किम्फले आफूलाई बृहत्तर बनाउन नसक्दा यसको प्रभावकारिता जहींको त्यहीं रहेको धारणा राख्छन्, यो वर्ष नेपाल प्यानोरोमा अन्तर्गत नेपाली फिक्सन फिल्मको अवार्ड जितेका निर्देशक सौरभ घिमिरे । ‘जबदेखि नेपाली फिल्ममा लागियो, तबदेखि हामीले किम्फको प्रभावकारिता देख्दै आयौं । त्यतिबेला किम्फमा फिल्म हेरौं, किम्फकै लागि फिल्म बनाउँ भन्ने भएको थियो,’ घिमिरे सुनाउँछन्, ‘तर, जसरी २२ वर्षमा कुनै महोत्सवको वृद्धि विकास हुन सक्थ्यो, त्यो चाहिँ नभएकै हो ।’ यो वर्ष किम्फले नयाँ कामको थालनी पक्कै गरेको हो । पाँच महिला फिल्मकर्मीले आफ्ना फिल्मलाई कटकथाको लाइभ पिचमा सुनाउन पाए । त्यसमध्ये तीन महिलाले फिल्म निर्माणका लागि प्रि–प्रोडक्सन खर्चदेखि सहयोग पाए । ती फिल्मकर्मीका लागि किम्फ ठूलो ’‘एक्सपोजर’ बन्यो । किम्फ प्लेटफर्म त बन्यो, तर बजारसँग ती प्रतिभालाई जोडिदिने कसरी ? खासमा कान्स, भेनिस र बर्लिनजस्ता संसारका मुख्य फिल्म महोत्सवमा निर्माणाधीन फिल्मकै लागि बजार खोजिदिने थुप्रै बजारसँग सम्बन्धित प्लेटफर्म हुन्छन् । जहाँ संसारभरका फिल्मकर्मीले आफ्ना फिल्मका लागि बजार खोज्न सक्छन्, फिल्म निर्माणका लागि को–प्रोडक्सन खोज्न सक्छन् । महोत्सवले फिल्मकर्मी र बजारलाई एकै ठाउँमा ल्याउँदै सहकार्यको विकल्प देखाइदिन्छ । तर, नेपाली फिल्म महोत्सवहरू अझै पनि बजारकै सवालमा कमजोर देखिन्छ । त्यसो हुँदा विश्वका फिल्मकर्मीलाई किम्फ होस् निफ ? नेपालका कुनै महोत्सवमा हस्याङफस्याङ गर्दै आउनैपर्ने बाध्यता किन होस् ?
नेपालमा महोत्सवले भोग्दै आएको ठूलो चुनौती नै आर्थिक स्रोत हो । फिल्मको अभिभावकीय संस्था ‘चलचित्र विकास बोर्ड’ ले सहयोगका नाममा केही रकम त छुट्याइदिन्छ, तर त्यो पनि ‘हात्तीको मुखमा जीरा’ सावित हुँदै आर्थिक अभावकै कारण पनि महोत्सवलाई बृहत्तर बनाउने नसकिएको महोत्सव आयोजना गर्दै आइरहेका आयोजकको भनाइ छ । आर्थिक पक्षकै कारण यो पटक किम्फ टिबेटको विवादमा तानियो । खासमा यो वर्ष किम्फले चीनसँग सहकार्य गर्दै जिझाङ प्यानारोमा सुरु गर्दा थुप्रै टिबेटियन संस्थाले यो प्यानारोमा नै हटाउनुपर्ने भन्दै विरोध गर्यो । खासमा चलचित्र विकास बोर्ड, सञ्चार मन्त्रालय, काठमाडौं महानगरपालिका र अन्य निजी क्षेत्रबाट पर्याप्त आर्थिक सहयोग प्राप्त गरेको भए, २२ औं वर्षमा किम्फलाई यस किसिमको प्यानोरोमा सुरु गर्नुपर्ने आवश्यकता नै हुँदैनथ्यो । यति भन्दैगर्दा फन्डिङकै कारण यस्तो सहकार्य गर्दा किम्फ सचेत नभएको देखिन्छ । ‘फ्यामिली म्यान’ बाट अडियन्स अवार्ड जितेका कलनी ग्याकन, किम्फले यस्तो विषयमा शान्ति कायम गर्न सक्नुपर्ने धारणा राख्छन् । ‘यस किसिमको महोत्सवको परिचयले निकै महत्त्व राख्छ । यस्तो महोत्सवले शान्ति कायम गरिराख्न सक्नुपर्छ । यस पटक जुन विवाद भयो त्यसमा पनि शान्ति कायम राख्नुपर्थ्यो,’ उनले भने ।
