ट्वाइलेट पेपरमा उपन्यास !

नगुगीले देश छाडे तर उनको कलमले अफ्रिकी माटो छोडेन, अफ्रिकी आदिम कथालाई जीवन्त बनाएर बिदा भए उनी ।

जेष्ठ २४, २०८२

उपेन्द्रराज पाण्डेय

A novel on toilet paper!

कहिलेकाहीँ लेखकहरूसँगको भेट निकै नै रोचक र अप्रत्याशित हुने गर्छ । आफूलाई मनपर्ने लेखक आमने–सामने भेटिए त अहोभाग्य नै भयो । तर, कहिलेकाहीँ उनीहरूसँग भेट अप्रत्यक्ष पनि हुने गर्छ । कहिले कुनै पुस्तकालयमा, कहिले कुनै फुटनोटमा त कहिले कुनै किताबी पानामा पनि भेटिन्छन् लेखक । मैले पहिलोपल्ट नगुगी वा थियोंगोको नाम लेखक सञ्जीव उप्रेतीको ‘सिद्धान्तका कुरा’ मा पढें । 

झन्डै १० वर्षअघि एमएको थेसिस लेख्नका लागि सामग्री खोज्दै थिएँ, त्यत्तिकैमा एक पंक्तिमा नगुगी वा थियोंगो देखें । म त्यहीँ अडिएँ । गुगल गरें, उनका किताबहरू देखें । अन्तत: उनको ‘अ ग्रेन अफ ह्विट’ मा थेसिस लेख्ने निधो गरें । यसरी नेपाली पुस्तकमै भएको थियो मेरो भेट नगुगीसँग ।

पछि अन्य उपन्यास र संस्मरणहरू पढेपछि थाहा भयो नगुगी वा थियोंगो अफ्रिकी साहित्यका एक दिग्गज रहेछन् । अफ्रिकी साहित्यका योद्धाका रूपमा परिचित उनै नगुगी गत मे २८ मा ८७ वर्षको उमेरमा अस्ताए । 

नगुगी वा थियोंगो सन् १९३८ मा केन्याको लिमुरुमा जन्मिएका थिए । उनी दोस्रो विश्वयुद्ध सुरु हुनुभन्दा केही समयअघि जन्मिएका थिए । उनका बुबा थियोंगो वा नडुकुले प्रथम विश्वयुद्धका प्रभाव प्रत्यक्ष भोगे । विश्वयुद्धमा सहभागी हुनुपर्छ भनेरै नडुकुले स्वास्थ्य जाँचका लागि जाँदा जडीबुटी चपाइरहन्थे ताकि शरीरको तापक्रम बढोस् ।

बाल्यकालमा बुबाआमासँगको सम्बन्ध र तीतामीठा भोगाइ नगुगीले ‘ड्रिम्स इन अ टाइम अफ वार : अ चाइल्डहुड मेमोयर’ मा पोखेका छन्, ‘सयौं अफ्रिकी बेलायतविरुद्धको जर्मन इस्ट अफ्रिकी अभियानमा मारिए । मेरा बुबा पनि गएको भए त्यसैको सिकार हुन्थे होलान् । र, सायदै म जन्मिन्थें होला ।’

बेलायती उपनिवेशवादविरुद्ध संघर्ष चर्कंदै जाँदा नगुगी उच्च शिक्षाका लागि युगान्डाको कम्पाला पुगे । उनले माकेरेरे विश्वविद्यालयबाट स्नातक तह सके । त्यस्तै लिड्स विश्वविद्यालयबाट स्नातकोत्तर गरे । उनले नैरोबी, नर्थवेस्टर्न, यल हुँदै क्यालिफोर्निया विश्वविद्यालयसम्म प्राध्यापन गरे ।

केन्याली संस्कृति र ब्रिटिस उपनिवेशवादविरुद्धको केन्याली संघर्षकै सेरोफेरोमा उनले थुप्रै कृति लेखेका छन् । चर्चित उपन्यास ‘विप नट चाइल्ड’ मा केन्याली स्वतन्त्रताका लागि माउमाउ विद्रोहका दौरान एउटा गिकुयु परिवारले गरेको संघर्ष चित्रण गरिएको छ । यसलाई पूर्वी अफ्रिकी लेखकबाट अंग्रेजीमा लेखिएको पहिलो उपन्याससमेत मानिन्छ । त्यस्तै ‘रिभर विट्विन’ मा धार्मिक द्वन्द्वले बिछोडिएका प्रेमीका कथा छन् । 

‘अ ग्रेन अफ ह्विट’ सन् १९६७ मा छापिएको नगुगीको तेस्रो उपन्यास हो । केन्या स्वतन्त्रताका लागि लडिरहेका बेला थबाई गाउँको परिवेशमा आधारित उपन्यास हो । एउटा गिकुयु गाउँ उहुरु (स्वतन्त्रता) उत्सवको तयारीमा हुन्छ । उपन्यासका घटनाक्रम जम्मा ४ दिनका भए पनि नगुगीले सन् १९५० र ६० को दशकका राजनीतिक र सामाजिक परिवेश समेटेका छन् ।

उपन्यासको मुख्य पात्र किहिका काल्पनिक हो । तर, जोमो केन्याता भने वास्तविक पात्र हुन् । त्यस्तै माउ–माउ विद्रोह पनि वास्तविक नै हो । यथार्थ र कल्पना मिश्रित यस उपन्यासमा केन्याली पहिचान र सांस्कृतिक मूल्य मान्यता स्थापित गरिएको छ । केन्या १२ डिसेम्बर १९६३ मा बेलायती औपनिवेशिक शासनबाट स्वतन्त्र भएको थियो । 

सन् १९८६ मा नगुगीले ‘अ ग्रेन अफ ह्विट’ को पुनर्लेखन गरे । २००२ को संस्करणमा साहित्यकार अब्दुलरजाक गुर्नाहले ‘इन्ट्रोडक्सन’ लेखेका छन् । तान्जानियामा जन्मेका उनै गुर्नाहले २०२१ को नोबेल साहित्य पुरस्कार पाए । ‘अ ग्रेन अफ ह्विट एउटा राजनीतिक आख्यान हो । यो राजनीतिक छ किनकि यसले एउटा यस्तो चेतनाको इतिहासको विकासक्रम देखाउँछ,’ गुर्नाह लेख्छन् । 

A novel on toilet paper!

जेल–जीवन र निर्वासन 

युवा नगुगीका लागि जोमो केन्याता नायक थिए । गिकुयुहरूको भूमि अधिकारका लागि लडेका थिए । तर, स्वतन्त्रतापछि जब केन्याको प्रथम राष्ट्रपति बने, केन्याताले आफ्ना वाचा बिर्सिए । त्यसैले त सरकारको कडा आलोचना गर्दै नगुगीले सन् १९७७ मा ‘पेटल्स अफ ब्लड’ लेखे । तर, त्यसै साल अर्कै कृतिका कारण उनी जेल परे । 

नगुगी वा मिरीसँगको सहकार्यमा लेखिएको ‘नगाहिका नदेन्दा’ (आई विल म्यारी, ह्वेन आई वान्ट) नाटक लेखेकै कारण दुवै जनालाई जेल हालियो । कामिरिथु एडुकेसनल एन्ड कल्चरल सेन्टरमा मञ्चित उक्त नाटकमा स्वतन्त्रतापछि पनि कायम औपनिवेशिक अवशेष र केन्याली जनताले पाइरहेको दु:ख देखाइएको थियो । सरकारले बन्द नगराउन्जेल निरन्तर ६ हप्ता मञ्चन भएको थियो त्यो नाटक । दुवैलाई डिसेम्बर १९७७ देखि डिसेम्बर १९७८ सम्म जेलमा राखिएको थियो । जेलबाट छुट्नेबित्तिकै दुवै जना निर्वासनमा गए, नगुगी वा मिरी जिम्बाब्वेतिर भागे ।

नगुगी वा थियोंगो पहिले बेलायत अनि अमेरिकातिर लागे । उनीहरूलाई नैरोबीस्थित उच्च सुरक्षायुक्त कामिती जेलमा राखिएको थियो । पहिचानकै लागि लडेका नगुगीको जेलमा कुनै नाम थिएन । उनी चिनिन्थे केवल संख्याले । उनी आफ्नो जेल संस्मरण ‘रेस्लिङ विथ द डेविल : ए प्रिजन मेमोयर’ मा भन्छन्, ‘यहाँ मेरो कुनै नाम छैन ।

फाइलको एउटा नम्बर मात्र त छ, के–६, ७७ ।’ हुन पनि आधुनिक शासन प्रणाली र कर्मचारीतन्त्रले नागरिकलाई संख्याले मात्र चिन्छ । चाहे त्यो नागरिकता नम्बर होस्, वा राहदानी । संख्या नै मान्छेको पहिचान बनाइएको छ । डब्लू एच अडेनले सन् १९४० मै यसै विषयवस्तुमा आधारित भएर ‘अननोन सिटिजन’ लेखेका थिए । उनको कविताको सार हो– आधुनिक राज्य व्यवस्था व्यक्तिको पहिचान उसको मानवता वा भावनात्मक जीवनबाट नभई आँकडा, रेकर्ड र सामाजिक अनुशासनबाट निर्धारण गर्छ ।

नगुगीकै जेल जीवनतिर फर्कौं, उनले जेलमा ट्वाइलेट पेपरमा उपन्यास लेख्न थाले । नगुगीले गिकुयु भाषाको आफ्नो पहिलो उपन्यास ‘कैतानी मुथराबा–इनी’ (डेभिल अन द क्रस) लेखे । जेलमा गिकुयुमा लेख्दा शब्द नआएर दु:ख पाएको उनले ‘पेरिस रिभ्यु’ सँग २०२२ को एउटा अन्तर्वार्तामा सुनाएका छन् । 

मार्क्स र एंगेल्सबाट प्रभावित नगुगी भूमिगत साहित्यिक आन्दोलन ‘डिसेम्बर ट्वेल्भ मुभमेन्ट’ (डीटीएम) मा सरिक भए । डीटीएम राज्यविरुद्धको एउटा बौद्धिक संघर्ष थियो, जसले सरकारविरोधी पर्चा र साहित्य छापेर देशभर बाँड्ने काम गर्‍यो । केन्याताको मृत्युपछि उपराष्ट्रपति ड्यानियल आराप मोई राष्ट्रपति बनेपछि छुटेका थिए नगुगीलगायतका राजनीतिक बन्दी । सुरुमा उदार देखिए पनि ड्यानियल पनि तानाशाही शैलीमै अघि बढे ।

A novel on toilet paper!

नगुगी १९८२ पछि २००४ मा मात्र केन्या फर्किएका थिए । त्यतिबेला मोईले राजीनामा दिइसकेका थिए । उनी ‘विजार्ड अफ द क्रो’ को विमोचनका लागि आएका थिए । केन्यामा भव्य स्वागत भयो उनको । तर, दुई हप्ताको बसाइमा उनले कहिल्यै नबिर्सने गरी चोट सहनुपर्‍यो । एउटा सशस्त्र समूहले उनीमाथि आक्रमण गर्‍यो । श्रीमतीमाथि त बलात्कार नै भयो । त्यो आक्रमणबारे उनी भन्छन्, ‘यो सामान्य लुटपाट होइन । पुरानै शासनको अवशेषबाट हामीलाई हतोत्साही पार्न घटाइएको घटना थियो ।’

भाषिक पहिचानका लागि संघर्ष

भाषाबारे नगुगी अलि कडै छन् र त भन्छन्– गोली शारीरिक दासत्वको माध्यम हो भने भाषा आध्यात्मिक दासत्वको माध्यम । भाषिक दासत्व स्वीकार गर्न नचाहेकै कारण विश्वमा युद्ध नै भएका छन् । फ्रान्सेली साम्राज्यवादबाट अल्जेरियाको स्वतन्त्रता–आन्दोलन होस् वा पाकिस्तानबाट उर्दू लादिएपछि बंगलादेशको मुक्ति–संघर्ष, भाषिक पहिचानकै उपज हुन् ।

साम्राज्यवादविरुद्धको लडाइँमा भाषिक एकता एउटा मजबुत साधनका रूपमा खडा भएको थियो । यसरी नै केन्यालीहरूले पनि स्वतन्त्रताका लागि अंग्रेजी भाषा मात्र नभई, शैक्षिक प्रणाली र चाडबाडसमेत बहिष्कार गर्न थाले । ह्यारी थुकु, मणिलाल देसाईहरूले केन्याली स्वतन्त्रता संग्राममा डटेर लडे ।

भाषिक एकताले जस्तोसुकै लडाइँ पनि जित्न सकिनेमा नगुगीको पनि विश्वास थियो । साम्राज्यवादविरुद्धको लडाइँमा अफ्रिकीहरू एक हुनुपर्नेमा दृढ विश्वास थियो । उनी भन्थे– एकताबद्ध जनतालाई कहिल्यै हराउन सकिन्न । 

नगुगी लेखनमा मात्र होइन, नाममै पनि अफ्रिका फर्किएका हुन् । सुरुमा जेम्स नगुगीका नामबाट उनका थुप्रै पुस्तक प्रकाशित छन् । सन् १९७७ मा पहिलोपल्ट नगुगी वा थियोंगोको नाममा प्रकाशित भएको पुस्तक हो ‘पेटल्स अफ ब्लड’ । यस उपन्यासमा शिक्षालाई मुक्तिको माध्यम मानिएको छैन । नगुगीको तर्क छ कि, ‘पढे लेखेका अभिजात वर्ग नै जनतासँग विश्वासघात गर्छन् ।’

सन् १९८६–८७ मा प्रकाशित ‘डिकोलोनाइजिङ द माइन्ड : द पोलिटिक्स अफ ल्यांग्वेज इन अफ्रिकन लिटरेचर’ मा नगुगीको एउटा ‘स्टेटमेन्ट’ छ । जहाँ उनी भन्छन्, ‘पेटल्स अफ ब्लड’ पछि नाटक, उपन्यास र कथा लेखनमा अंग्रेजी भाषालाई मैले ‘अलबिदा’ भनें । तर यो पुस्तकचाहिँ मेरा सबैखाले लेखनबाट अंग्रेजीलाई ‘फेयरवेल’ हो । अबदेखि म गिकुयु वा स्वाहिलीमा लेख्नेछु ।’ 

अंग्रेजी भाषामा लोकप्रिय भइसकेका नगुगी गिकुयुभाषीमा सीमित हुन्छन् भनेर धेरैले चिन्ता व्यक्त गरे । जेम्स करी संस्मरण ‘अफ्रिका राइट्स ब्याक’ मा लेख्छन् : नगुगी ती अफ्रिकी लेखकहरूमा पर्थे, जसले शब्दकै माध्यमबाट जीविका चलाउने प्रयास गरे । आफ्ना पाठकलाई केवल गिकुयुभाषीमा सीमित गर्नु व्यावसायिक दृष्टिकोणबाट आत्महत्या जस्तै प्रतीत हुन्थ्यो ।

नगुगीको निधनको खबरको अर्को दिन म नाइजेरियाली लेखक एवं जर्जिया कलेज एन्ड स्टेट युनिभर्सिटीमा क्रिएटिभ राइटिङकी सहप्राध्यापक चिका उनिग्वेसँग भाषा र अफ्रिकी साहित्यबारे संवाद गरेको थिएँ । उनले नगुगी, अफ्रिकी साहित्य र स्थानीय भाषाबारे आफ्ना अनुभव सुनाइन् ।

‘अंग्रेजी उपनिवेशित समाजका मानिसहरूका लागि एउटा बोझका रूपमा थोपरिएको भाषा हो । तर, हामीले त्यो बोझलाई शक्तिका रूपमा बदल्यौं । यो हाम्रो बोलीचालीको भाषा मात्र होइन, यसैमार्फत हामी बाँकी दुनियाँसँग संवाद गर्न पनि सक्छौं । अंग्रेजी हाम्रो ‘सौतेनी मातृभाषा’ हो र यसलाई हामीले हाम्रैअनुसार बदल्यौं ।’ 

केन्याली लेखक केरी बाराकाले २ वर्षअघि क्यालिफोर्नियास्थित घरमा ३ दिन बसेर नगुगीसँग संवाद गरेका थिए । उक्त संवादका आधारमा बाराकाले ‘गार्जियन’ मा लामो आलेख लेखेका छन्, जसमा नगुगीलाई सोधिएको छ, ‘आजकल केन्याली अंग्रेजी वा नाइजेरियाली अंग्रेजी भनेर चर्चा हुने गरेको छ नि !’ नगुगीको जवाफ छ, ‘अंग्रेजी अफ्रिकी भाषा होइन । फ्रेन्च र स्पेनिस पनि होइनन् । केन्याली र नाइजेरियाली अंग्रेजी भन्नु बकवास हो । सामान्यीकृत असमान्यताको सटीक उदाहरण हो यो ।’

सन् १९६४ मा ‘द अफ्रिकन राइटर एन्ड द इंग्लिस ल्यांग्वेज’ शीर्षकको मन्तव्यमा चिनुवा अचेबेले भनेका थिए, ‘के यो ठीक हो एक व्यक्ति मातृभाषा त्यागेर अरू कसैको भाषा अपनाउनु ? यो एउटा भयानक विश्वासघातजस्तो पनि लाग्छ । साथै अपराधबोध पनि हुन्छ । तर मसँग कुनै विकल्प थिए । मलाई यो भाषा दिइयो र म यो भाषा प्रयोग गर्न रुचाउँछु ।’

तर, अचेबेको यही भनाइमा विरोधाभास देखिएको नगुगीको भनाइ छ । भाषाका बारेमा अचेबे र नगुगीबीच मतभेद भई नै राख्यो । नगुगी भन्थे, ‘मैले अचेबेलाई कहिल्यै पनि व्यक्तिगत रूपमा आक्रमण गरेको छैन । लेखकका रूपमा म उनलाई प्रशंसा गर्छु । तर, अफ्रिकी पात्रहरूले कसरी ‘पर्फेक्ट इंग्लिस’ बोल्न सक्छन् भन्ने त प्रश्न हो नि !’ आफूले आलोचना गरेकै कारण अचेबेले पुस्तकबाट आफ्नो उद्धरण हटाएको पनि नगुगीको आरोप छ । 

उनिग्वे भने अचेबेकै मतमा सहमत छिन् । ‘जब म अंग्रेजीमा लेख्छु, अचेबेले एकपल्ट भनेझैं, म वास्तवमा ‘इग्बो भाषा’ को अंग्रेजीमा लेखिरहेको हुन्छ । मेरा वाक्य रचना, शब्द–चयन सबै इग्बोमै ढल्किएको हुन्छ । चिकोदिल्ली एमेलुमाडुको उपन्यास ‘ड्याजलिङ’ अंग्रेजीमा त लेखिएको हो तर त्यो अंग्रेजी इग्बो बोल्ने जोसुकै व्यक्तिलाई पनि इग्बोझैं लाग्छ,’ उनले लेखन–अनुभव सुनाइन् ।

भविष्यमा आ–आफ्ना भाषामा लेख्ने भन्ने कुरामा नगुगीसँग उनी कहिल्यै पनि सहमत हुन सकिनन् । ‘नाइजेरियामा मात्र ३ सयभन्दा बढी भाषा छन् । हामीले यस्तो गर्न पनि सक्थ्यौं होला, तर उपनिवेशवादकै कारण भन्नुपर्छ पहिले नै हाम्रो देशका राम्रा विद्यालयहरूमा स्थानीय भाषालाई हतोत्साहित गरिएको छ । यसकारण कुनै व्यक्ति मज्जाले इग्बो बोल्न त सक्ला, तर त्यही स्तरमा उसले लेख्न सक्दैन,’ उनी भन्छिन् ।

आफूहरूमाथि थोपरिएको भाषालाई आफूअनुसार नै ढालेर लेख्नु नै व्यावहारिक र क्रान्तिकारी तरिका हुने पनि उनिग्वेको मत छ । स्थानीय भाषालाई प्रवर्द्धन गर्ने कुरामा भावुक थिए नगुगी । र, उनका आफ्नै तर्क थिए । तर, उनिग्वे भने स्थानीय भाषामा प्रकाशन अत्यन्तै कठिन काम हो भन्छिन् ।

‘प्रकाशनको पनि त्यस्तै समस्या छ । कहाँ छन् स्वदेशी भाषामा किताब छाप्न तयार प्रकाशक ? तपाईंलाई म नाइजेरियाकै उदाहरण दिन्छु, हाम्रोमा इग्बो अखबारसम्म छैन । इग्बोमा कसैले छाप्नै चाहन्नन् । उपनिवेशवादकै देन भन्नुपर्छ जो इग्बो पढ्छन्, उनीहरू आम रूपमा अंग्रेजी नै राम्रोसँग पढ्न सक्छन् । यस्तोमा कुन प्रकाशकले पर्याप्त पाठकको सुनिश्चित नभई किताब छाप्न चाहन्छ ।’

A novel on toilet paper!

त्यसो त सन् २०१८ मा नगुगीको गिकुयु भाषामा महाकाव्यात्मक पद्य कथा ‘केन्दा मुइयुरु : रुगानो वा गिकुयु ना मुम्बी’ प्रकाशित भयो । गिकुयु समुदायको लोककथा, मिथक र सांस्कृतिक कथा काव्यात्मक लयमा प्रस्तुत यो पुस्तक इस्ट अफ्रिकन एजुकेसनल पब्लिसर्सले छापेको हो । लागोसका कुनै पुस्तक पसलमा गिकुयु भाषाको यो पुस्तक नपाएको उनिग्वेको भनाइ छ । उनले सुनाइन्, ‘इस्ट अफ्रिकनले आफूलाई अफ्रिका सबैभन्दा ठूलो प्रकाशक दाबी गर्छ । तर, लागोसका कुनै बुकस्टोरमा मैले यो पुस्तक भेटिनँ ।’ 

यही पुस्तक सन् २०२० मा पेन्गुइन र्‍यान्डम हाउस, यूकेबाट ‘द पर्फेक्ट नाइन : द इपिक अफ गिकुयु एन्ड मुम्बी’ नाममा अंग्रेजीमा छापियो । नगुगी आफैंले यसलाई अंग्रेजीमा अनुवाद गरेका थिए । २०२१ मा अन्तर्राष्ट्रिय बुकर पुरस्कारको ‘लङलिस्ट’ मा पनि पर्‍यो, अन्तर्राष्ट्रिय बजारमा राम्रै बिक्यो पनि । गिकुयुमा किताब नपाउने अवस्था छ तर अंग्रेजीमा राम्रै बिक्यो ।

बिक्री र सफलताभन्दा पहिले पहिचानलाई प्राथमिकता दिए नगुगीले । उनिग्वेकै भनाइमा– नगुगी यसकारण स्थापित भए कि उनले आफ्नै सपनालाई पछ्याउने साहस गरे । नगुगीले केही वर्षअघि प्रकाशित पुस्तक ‘सेक्युर द बेस’ मा भनेका पनि छन्, ‘५० लाख जनसंख्या भएको डेनिस भाषा र ६० लाख गिकुयु भाषामा कति किताब लेखिएका छन् । डेनिसमा असंख्य छन् तर गिकुयुमा नगण्य । योरुबाभाषी झन्डै ४० लाख छन्, स्विडिस ९० लाख तर बौद्धिक उत्पादनमा आकाश–जमिन फरक छ ।’ राजनीतिक र आर्थिक क्षेत्रमा अफ्रिका ज्ञान–उत्पादनको ठाउँ भए पनि लेखकहरूले स्थानीय लेखकले नजरअन्दाज गरेकामा उनी गुनासो गर्छन् ।

सधैं नोबेल–चर्चा

नोबेल पुरस्कार जितेपछि चर्चा हुनु त स्वाभाविक नै भयो । तर, नोबेल नपाई पनि हरेक वर्ष धेरैको चर्चा हुने गर्छ । तीमध्येका एक हुन केन्याली लेखक नगुगी वा थियोंगो । नगुगीले किन नोबेल पाएनन् भनेर पनि समीक्षकहरूका टिप्पणी प्रकाशित छन् । केहीको तर्क छ कि– नगुगीको राजनीतिक प्रतिबद्धताले कहिलेकाहीँ उनको लेखनलाई कमजोर बनाउँछ ।

नाइजेरियाली समीक्षक अडवाले माजा–पियर्स भन्छन्, ‘गिकुयु भाषामा लेख्ने निर्णयले नगुगीले भारी मूल्य चुकाउनुपर्‍यो ।’ युगान्डाकी उपन्यासकार जेनिफर माकुम्बी त झन् नगुगीको लेखन प्रचारबाजीबाट माथि उठ्न नसकेको आरोप लगाउँछिन् । जसले जे भने पनि नगुगी अफ्रिकी साहित्यका महान् साधक हुन् । केरी बाराकाले भनेझैं उनले किन नोबेल पुरस्कार पाएनन् भन्ने कुरा स्विडिस एकेडेमीलाई मात्र थाहा छ । 

६ दशकदेखि अनवरत लेखनमा सक्रिय नगुगीलाई केही वर्षदेखि भने रोगले गलाएको थियो । उनी बाहिरफेर त्यति हिँड्दैनथे । सन् १९९५ मै उनलाई प्रोस्टेट क्यान्सर भएको थियो । डाक्टरहरूले भनेका थिए– ३ महिनाभन्दा बढी बाँच्दैनौ । सन् २०१९ मा मुटुको बाइपास सर्जरी गर्नुपर्‍यो । त्यत्तिकैमा मिर्गौला पनि फेल भयो । हप्तामा तीनपटक डायलसिस गराउनुपर्थ्यो । त्यसैले केही वर्षदेखि उनी क्यालिफोर्नियास्थित घरमै स्वास्थ्यलाभ गरिरहेका थिए ।

कसैलाई भेट्नु वा अन्तर्वार्ता दिनुपर्‍यो भने कि त घरमै बोलाउँथे कि टेलिफोनमा कुराकानी । घरबाटै सेमिनारहरूमा सहभागी हुन्थे । बेलायती औपनिवेशिक शासनकालदेखि नै केन्याली भूमि छाडेर यताउति गर्न बाध्य भए पनि उनको लेखाइमा केन्या र अफ्रिका कहिल्यै छुटेन । देश छाडे तर नगुगीको कलमले अफ्रिकी माटो छाडेन । अफ्रिकी आदिम कथालाई जीवन्त बनाएर बिदा भए उनी । 

उपेन्द्रराज पाण्डेय १० वर्षदेखि पत्रकारिता गर्दै आएका छन् । उनी हाल इकान्तिपुरमा सहायक वरिष्ठ उप-सम्पादकका रूपमा कार्यरत छन् ।

Link copied successfully