नेपालको पहिलो जितको कथा

लगातारको जितका कारण नेपाल र बंगलादेशले स्वर्णका लागि खेल्ने तय भयो, नेपाल र बंगलादेशबीचको लिगको अन्तिम खेलको नतिजा भने फुटबल समर्थकका लागि अनपेक्षित रह्यो

जेष्ठ १७, २०८२

हिमेश

The story of Nepal's first victory

काठमाडौँ — पत्रकार हिमेशको हालै प्रकाशित पुस्तक ‘स्वर्णकथाः नेपाली फुटबलको’ ले फुटबल–वृत्तान्त भन्छ । नेपाली खेलकुदबारे कम पुस्तक लेखिएको छ, ठ्याक्कै नेपाली फुटबलबारे मात्रै लेखिएको त पुस्तकै छैन कि ? यसै पुस्तकको एक अंश :

सन् १९५४ को विश्वकप फुटबल । स्विट्जरल्यान्डले विश्वकपको त्यस पाँचौं संस्करण आयोजना गरेको थियो । अब्बल दर्जाको फुटबलका लागि त्यो विश्वकपलाई अहिलेसम्म पनि सम्झिने गरिन्छ । त्यसै विश्वकपबाट जर्मनीले अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो गहिरो छाप छोड्न सुरु गरेको थियो । पश्चिम जर्मनीले जितेको यो पहिलो विश्वकप हो । विश्वकप इतिहासमा सबैभन्दा राम्रो प्रदर्शनको आँकडा भएको टिममा पर्छ, जर्मनी ।

त्यति बेला भने पश्चिम जर्मनी । यो सफलताले पूरा जर्मनीमा नयाँ फुटबल संस्कृतिका जन्म भएको थियो । केही वर्ष अगाडि नेपाल आएका पुराना प्रशिक्षक जोन फिगीले भनेका थिए, ‘जर्मनी त्यसै फुटबलमा बलियो भएको होइन, जर्मनीको रगतमा फुटबल बग्ने गर्छ ।’ त्यो दाबीमा गर्व थियो । अहंकार पनि । नेपाली फुटबललाई आधुनिक ढाँचा दिने जस धेरै अर्थमा यिनै जर्मनहरूलाई जान्छ । नेपाली राष्ट्रिय फुटबलले पाएका धेरै विदेशी प्रशिक्षकमध्ये जर्मनहरूको बाक्लो उपस्थिति छ ।

अझ विशेषतः सुरुआती दिनका अधिकांश प्रशिक्षक जर्मन नै । यसैमा एक हुन्, फिगी पनि । उनको जन्म सन् १९४७ मा भएको थियो । पश्चिम जर्मनीले जितेको त्यो विश्वकप हुँदा उनी सात वर्षको छेउछाउमा थिए । उनले सायद राम्रोसँग फुटबल बुझेका पनि थिएनन् । तर, त्यो विश्वकपले ल्याएको तहल्काले फिगी आफैं पनि अछुतो रहेनन् । त्यसयता जर्मनीमा तयार भएको फुटबल संस्कृतिमा उनी हुर्केका हुन् । उनले आखिरमा फुटबललाई आफ्नो जीवन बनाए ।

The story of Nepal's first victory

खेलाडीका रूपमा उनको गणना कतै हुन्न । सायद औसतभन्दा धेरै तल थिए । तर, प्रशिक्षक राम्रै निस्के । त्यो भन्दा पनि उनी प्रशिक्षकका पनि प्रशिक्षक भने राम्रा बने । खासमा उनी बायर्न म्युनिकका जबरदस्त समर्थक रहेछन् । बायर्नलाई विश्वकै सबैभन्दा राम्रो क्लब पनि मान्छन् । अचेल फिगी फिफा/एएफसी इन्स्ट्रक्टरका रूपमा काम गर्छन् । विभिन्न देश घुमेर फुटबल प्रशिक्षकलाई प्रशिक्षण दिन्छन् । यो काममा उनलाई महारथ प्राप्त छ, भनिन्छ ।

फिफा/एएफसी इन्स्ट्रक्टरका रूपमा उनी धेरै अगाडि नेपाल पनि आए । त्यही भूमिकामा सन् २०१६ को अक्टोबरतिर उनी दोहोर्‍याएर नेपाल आए । त्यति बेला उनले नेपालमा तयार भइरहेको नयाँ पुस्ताका प्रशिक्षकलाई प्रशिक्षण दिए । फिफा एमए एलिट कोर्स नाम दिएको त्यस कार्यक्रममा उनले सुरुमै भनेका थिए, ‘म त्यो प्रशिक्षक हुँ, जसले नेपाली फुटबललाई पहिलो सफलता दिलाएको थियो । सन् १९८४ मा नेपालले दक्षिण एसियाली खेलकुदको फुटबलमा स्वर्ण जित्दा प्रशिक्षक म नै त हुँ ।’

उनले यो घोषणा गर्दा उही रवाफिलो जर्मन पारा प्रस्ट देखिन्थ्यो । यस्तो घोषणा गर्दा उनी खुबै मज्जा पनि लिइरहेका थिए । त्यो कार्यक्रममा सहभागी हुनेमा बालगोपाल महर्जनदेखि उपेन्द्रमान सिंह र मृगेन्द्र मिश्र पनि थिए । नेपाली फुटबललाई धेरै सघाउनेमा, वास्तवमै तत्कालीन पश्चिम जर्मनी अगाडि पर्छ । सन् नब्बेतिर उसले नेपालमा एक से एक प्रशिक्षक पठाएको थियो । त्यति बेला पश्चिम जर्मनीबाट आएका प्रशिक्षकसामु अहिलेका विदेशी प्रशिक्षक केही पनि होइन, भन्ने धेरै छन् ।

विशेषतः त्यति बेलाका पुराना खेलाडीहरू । यस्तै अब्बल दर्जाका एक प्रशिक्षक हुन्, फिगी । सन् १९५४ को विश्वकप प्रसङ्ग किन भन्दा उनी त्यसलाई सन् १९८४ को त्यो पहिलो नेपाली सफलतासँग जोड्न चाहन्छन् । सन् पचासको दशकको सुरुमा विश्व फुटबलमा हंगेरीको दबदबा थियो । हंगेरीबाट फ्रेन्क पुस्कास जस्ता खेलाडी खेल्थे । पुस्कासलाई विश्व फुटबलले पाएका अहिलेसम्मकै सबैभन्दा राम्रा खेलाडीमा गनिन्छ । त्यति बेला हंगेरी वास्तवमै गज्जबको टिम थियो र उसलाई सम्भावित विजेता मानिएको थियो ।

हंगेरीलाई त्यति बेला ‘गोल्डेन टिम’ भनिन्थ्यो । सुरुआती चरणमा हंगेरी पश्चिम जर्मनीकै समूहमा थियो । लिग खेलमा हंगेरीले पश्चिम जर्मनीलाई ८–३ ले हरायो । जर्मनीका लागि यो साह्रै नमज्जाको हार थियो । बासेलमा भएको त्यस खेलमा जर्मन प्रशिक्षक सेप हरबर्गरले आफ्ना सबै पहिलो रोजाइका खेलाडी उतारेका थिएनन् । यो उनको रणनीतिकै एक भाग थियो । हंगेरीले लिग चरणको अर्को खेलमा दक्षिण कोरियालाई ९–० ले हराएको थियो ।

त्यसयता हंगेरीले फाइनल पुग्न अगाडि ब्राजिल र उरुग्वेलाई हराएको थियो । यसैले अनुमान गर्न सकिन्छ, हंगेरीको टिम कस्तो थियो भनेर । पश्चिम जर्मनी पनि फाइनल पुग्यो । त्यस अगाडि उसले प्ले अफमा टर्कीलाई हरायो । नकआउट चरणमा भने उसले युगोस्लाभिया र अस्ट्रियालाई पन्छाएको थियो । फाइनलमा जब यी दुई टिम भिड्ने भए, सबैले अनुमान गरे, हंगेरीले फेरि अर्को ठूलो अन्तरको जित निकाल्ने भयो । तर होइन, त्यस्तो भएन् ।

फाइनलमा जर्मनी ३–२ ले विजयी रह्यो । हंगेरी मात्र होइन, पूरा विश्वकपका लागि यो स्तब्धपूर्ण नतिजा थियो । तर जर्मन प्रशिक्षक हरबर्गरलाई भने फाइनल नतिजा स्वाभाविक लागेको थियो । उनले पहिलो खेलमा कमजोर टिम उतारेर हंगेरीलाई आफ्नो टिमबारे बुझ्ने अवसर नै दिएनन् । जति बेला जर्मनीले फाइनलमा आफ्नो वास्तविक पहिलो रोजाइको टिम उतारेको थियो, त्यति बेला हंगेरीले त्यस टिमलाई वास्तवमै बुझ्न नै सकेन ।

The story of Nepal's first victory

खासमा जर्मनीको यो रणनीतिक सफलता थियो । फिगी भन्छन्, ‘नेपालले सन् १९८४ मा फुटबलतर्फ स्वर्ण जित्दा हाम्रो रणनीति पनि उस्तै थियो । मैले त्यही विश्वकपबाट प्रेरणा लिएर नेपाली टिमलाई उतारेको थिएँ र त्यस्तै सफलता पनि प्राप्त गरें ।’ त्यति बेला फुटबलमा चार देशको मात्र सहभागिता रहने भएपछि प्रतिस्पर्धा राउन्ड रोबिन लिगका आधारमा चल्ने भयो । सहभागी टिमका आधारमा नेपाल र बंगलादेशबीच नै प्रतिस्पर्धा चल्ने तय थियो ।

सेप्टेम्बर १८ मा भएको पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४–० ले हराएर राम्रो सुरुआत लिन सफल रह्यो । त्यही दिन बंगलादेशले पनि भुटानलाई सजिलै २–० ले हरायो । त्यसको भोलिपल्ट नै बंगलादेशले पनि माल्दिभ्सलाई समान ५–० ले हरायो । नेपालले भने 

आफ्नो दोस्रो खेलमा भुटानलाई ५–० ले पन्छायो । लगातारको जितले नेपाल र बंगलादेशले स्वर्णका लागि खेल्ने तय भयो । नेपाल र बंगलादेशबीचको लिगको अन्तिम खेलको नतिजा भने फुटबल समर्थकका लागि अनपेक्षित रह्यो ।

नेपाल त्यस खेलमा ५–० ले पराजित रह्यो । यो हारलाई लिएर त्यति बेला काठमाडौंमा ठूलो तहल्का मच्चिएको थियो । एन्फा अध्यक्ष रहेका कमल थापालाई पनि यो हार पचेन । यसलाई लिएर उनले प्रशिक्षक फिगीसँग झगडा नै गर्न खोजेका थिए । पछि काठमाडौं आएका बेला यो घटनालाई लिएर उनी आफैं दंग देखिन्थे । उनी भन्थे, ‘बिचरा अध्यक्षले मेरो रणनीतिबारे बुझ्नै सकेनन् ।’ तर प्रतियोगितामा यस नतिजाले केही पनि फरक पारेन ।

फाइनल नेपाल तथा बंगलादेशबीच नै हुने तय भयो । खालि कति भने लिग चरणको समाप्तिमा बंगलादेश अंक तालिकाको शीर्ष स्थानमा रह्यो । त्यति बेला एक जितको दुई अंक थियो । बंगलादेशको छ अंक रह्यो । नेपाल चार अंकमै सीमित रह्यो । फाइनल सेप्टेम्बर ९ को त्यो ऐतिहासिक दिनमा भएको थियो । दशरथ रंगशालामा त्यो फाइनल हेर्न कीर्तिमान ३० हजार दर्शक उपस्थित थिए । टिममा डिफेन्सको जिम्मा राजुकाजी शाक्यले पाए ।

यसरी नेपाली राष्ट्रिय टिमबाट उनले डेब्युको अवसर पाए । नेपालले पाँचौं मिनेटमा अग्रता लिएको थियो र त्यो बंगलादेशको आत्मघाती गोल थियो । अहमदले बंगलादेशका लागि ३५ औं मिनेटमा बराबरी गोल फर्काए । पहिलो हाफको समाप्तिमा खेल १–१ को रोमाञ्चक बराबरीमा थियो । दोस्रो हाफ सुरु भयएता नेपालले दुई मिनेटको अन्तरमा दुई गोल गरेको थियो र यसले खेल नेपालको पक्षमा मोडिएको थियो । वाईबी घलेले ५१ र सुरेश पन्थीले ५३ औं मिनेटमा गोल गरे ।

घलेले नै ६८ औं मिनेटमा आफ्नो दोस्रो तथा टिमको चौथो गोल पनि थपे । यस्तोमा नेपालको जित निश्चित देखिएको थियो । अहमदले ८५ औं मिनेटमा फेरि एक गोल फर्काए । यस्तो फाइनलको नतिजा नेपालको पक्षमा ४–२ रह्यो । नेपालले दक्षिण एसियाली खेलकुदको त्यस संस्करणमा जितेको यो चौथो स्वर्ण पनि थियो । उनी थप्छन्, ‘बंगलादेश नै हाम्रो मुख्य प्रतिद्वन्द्वी थियो । बंगलादेशी खेलाडी भने शारीरिक रूपमा बलिया थिए । अग्ला पनि थिए ।’  

‘मैले काठमाडौं आएयता बंगलादेशी टिमको खेल हेरेको थिएँ,’ उनी भन्छन् । बंगलादेशविरुद्धको खेल अगाडि नै नेपाल फाइनल पुगिसकेको हुनाले उनले त्यस्तो रणनीति तयार पारे, जसले बंगलादेशी खेलाडी अचम्ममा परुन् । बंगलादेशविरुद्धको अन्तिम लिग खेलमा उनले आफ्ना प्रमुख खेलाडीलाई आराम दिए र रिजर्भ टिम उतारे । त्यो खेल जितेर बंगलादेशी खेलाडी घमण्डी बने । उनीहरूले फाइनललाई हल्का रूपमा लिन सुरु गरे । ठीक यही बेला फिगीले बिछ्याएको जालमा बंगलादेशी टिम फस्यो । 

हिमेश

Link copied successfully