‘लस्ट एन्ड फाउन्ड’ ले बुद्धकालीन समाजको पूर्वपीठिकामा वर्तमानको जटिलता चियाएको छ, जहाँ पात्रहरू आफैँलाई खोज्न भौँतारिइरहेका छन्।
काठमाडौँ — बुद्धत्वको खोजीमा सिद्धार्थले दरबार त्यागे। भूमिले स्वतन्त्रताका लागि ‘समाज’ लाई परै छाडी। सागर पत्नी छाड्दै छ। र, शान्तिको खोजीमा आइपुगेको छ– बुद्ध जन्मस्थल लुम्बिनी।
हरेक मान्छे कुनै न कुनै संकटबाट गुज्रिरहेको छ। पारिवारिक, सामाजिक वा राज्यले निर्माण गरिदिएको संकट ! भूमिलाई ‘पहिचान’ को संकट छ, सागरलाई सम्बन्धको । शिल्पी थिएटरमा जारी नाटक ‘लस्ट एन्ड फाउन्ड’ ले बुद्धकालीन समाजको पूर्वपीठिकामा वर्तमानको जटिलता चियाएको छ, जहाँ पात्रहरू आफैलाई खोज्न भौँतारिइरहेका छन् ।
इतिहास–वर्तमानको दशगजामा उभिएर भूमिले यशोधरा र आमा रजनीको कथा मात्रै भनिरहेकी छैन, अनागरिकको छटपटी र आक्रोश ओकलिरहेकी छे । एकल आमाले जन्म दिई हुर्काएका कैयौँ सन्तान नागरिकताविहीन छन्, उच्च शिक्षा पढ्न पाएका छैनन् र जागिरबाट वञ्चित हुनुपरेको छ ।
नाटकको सुरुवात क्याफे प्लस बारको दृश्यबाट सुरु हुन्छ, जहाँ पारिवारिक विघटनको संघारबाट भागेर शान्तिको खोजीमा क्यानडादेखि नेपाल आएको सागर छ, अनि टुरिस्ट गाइड भूमि । पहिलो भेटमै अन्तरङ्ग कुराकानी गर्न सक्ने उनीहरूको विगत पनि खुल्दै जान्छ ।
वैवाहिक जीवनप्रति असन्तुष्ट सागर अनि पारिवारिक जटिलतामा गुज्रिएकी भूमिबीचका तर्क–वितर्कले सम्बन्ध र समाजको धेरै आयाम खोतल्छ । बुद्धको जीवन र दर्शनबारे बहस हुन्छ । दुःख सत्य, समुदाय सत्य, निरोध सत्य र दुःख निरोध–मार्ग सत्यजस्ता बुद्ध दर्शनका आधारभूत चार आर्य सत्यलाई आधार बनाइएको नाटकमा पात्रहरूको भावनात्मक/मनोवैज्ञानिक ऐँठन महसुस गर्न सकिन्छ ।
वर्तमान त देखिने/भोगिने कथा भइहाल्यो । नाटकको पूर्वकथाले भने सोचमग्न बनाउँछ । सागर–भूमिका कुरा सुन्दा सुन्दै हामी एकाएक २६०० वर्षअगाडि पुग्छौँ । यशोधरा र सिद्धार्थबीचको अन्तर्द्वन्द्व, सन्तान प्राप्तिका लागि दरबारको दबाब, अनागरिक हुनुको पीडा र एकल आमाका सन्तानप्रति राज्यले गर्ने विभेद लगायतका विषयमा कथा घुमेको छ ।
बुद्धलाई अनेक कोणबाट पढ्यौँ, बुझ्यौँ र चिन्तन गर्यौँ । लेखक/निर्देशक घिमिरे युवराजले नाटकमा लैङ्गिक समानतावादी कोणबाट यशोधरालाई पुनर्व्याख्या गरेका छन् । उनको यो विनिर्माण–कला सशक्त र प्रभावी लाग्छ । १३ वर्षसम्म सन्तान प्राप्ति नहुँदाको मानस–दबाब अनि सिद्धार्थले छाडिगएका उजाड दिनमा कसरी गुज्रिइन् होला यशोधरा ? तर, नाटकमा यशोधरा अकिञ्चन छैनन् । न उनमा हतासा देखिन्छ, न त कुनै चिन्ता । ‘छाडेर तिमीले जान लागेका हौ सिद्धार्थ, म किन दुःखी हुनु ?’ घिमिरेले यशोधरालाई आत्मविश्वासी र निडर देखाएका छन् ।
‘हरेक पुरुषलाई ऊ हुनुको महत्त्व बताइराख्नुपर्छ । उसले गरेको पुरुषार्थ र कर्मको प्रशंसा गरिरहनुपर्छ । तर, हामी त काम र योगदानको हिसाब–किताब नगरी जिन्दगी बिताइदिन्छौँ,’ यशोधरा सिद्धार्थका आँखामा आँखा जुधाएर भन्छिन्, ‘हामी भएर पनि देखिँदैनौ । बोलेर पनि सुनिँदैनौँ । तिमी गएपछि मलाई कसैले देख्नेछैन । मलाई तिम्रो छोराकी आमाको रूपमा मात्रै चिन्नेछन् । यस्तो डरलाग्दो पितृ सत्तामा बाउले नस्वीकारेको सन्तानको अस्तित्व कमजोर हुनेछ । यो सन्तानलाई नाम त दिउँला, तर मलाई डर छ– तिमीपछि उसको अस्तित्व विलीन हुनेछ ।’
यता भूमिलाई समाज, राज्य र कुनै बन्धनको डर छैन । तर, ऊभित्र अनागरिक हुनुको आक्रोशसँगै लडाइँ पनि जारी छ । यशोधराबाट साहस जुटाउँदै आमा रजनीको प्रेम सँगालेर पाइला चालिरहेकी छे ऊ । थाहा छैन भूमिलाई बाबु को हो ? तर, ‘स्व’ को खोजीमा रहेकी ऊ अनेक अभाव र रिक्तताबीच पनि आफ्नै स्वप्निल संसार खडा गर्न चाहन्छे । पुरुष र प्रेममा उसलाई रत्तिभर विश्वास छैन, तर आमा ठूलो विश्वास हो । एकै राज्यका मानिसलाई नागरिक र अनागरिक बनाउने षड्यन्त्र उसलाई ठिक लागिरहेको छैन । भूमि कथित सिमाना भत्काउन चाहन्छे र गाउँछे जोन लेननको गीत— इम्याजिन देयर इज नो कन्ट्रिज्...।
संकटको जोखिमले पहिचानको खोजी तीव्र निम्त्याउने रहेछ । सागर विदेशमा कैयौँ वर्ष बस्यो, तर पारिवारिक संकटपछि ऊ नेपाल फर्किएको छ । ऊ पछुतोमा छ, यत्तिका वर्ष बुद्ध जन्मभूमि नआएकामा । ऊ आफ्नो माटोको कुरा गर्छ, चाडबाड र संस्कृतिले उसलाई तानेको छ ।
भावनात्मक पीडाले यी दुवै पात्रलाई कोतरिरहेको छ, बुद्ध दर्शनमा टेकेर यसलाई हामी दुःखको हिस्साका रूपमा हेर्न सक्छौँ । त्यसैले त अर्को दुःख निरोध मार्गको यात्रामा उनीहरू अघि बढ्न चाहिरहेका छन् । जीवनको असन्तुष्टि र बेचैनीबाट शान्ति र मुक्तिको खोज उनीहरूको उद्देश्य बनेको छ ।
भूमि बाठी छे । जीवनका गहिरा प्रश्नमा घोत्लिने ऊ आध्यात्मिकताबारे चासो राख्छे । सागरको अशान्त मनलाई दिशा बोध गराउन एक हदसम्म ऊ सहायक बनेकी छे । सागर अध्यात्मको यात्रामा छ भने भूमि भौतिकवादी ।
‘तीन-तीनवटा बुद्ध यहीँ जन्मेका रहेछन्, बुद्ध वाज बर्न इन इन्डिया रे,’ सागरमा राष्ट्रवादको रगत तात्छ । बुद्ध भूमिको माटो लगेर हरेक बिहान टीका लगाउनेसम्म कुरा गर्छ । तर, भूमि बेवास्ता गरिदिन्छे । ‘बुद्धलाई नागरिकता दिनु आवश्यक छैन । सीता न लवकुशलाई नागरिकता चाहिएको छ,’ ऊ अझ चर्को बोल्छे, ‘यही भूमिमा जन्मिएका कैयौँ युवालाई नागरिकता चाहिएको छ, जसलाई राजनीति र कानुनले अनागरिक बनाएको छ ।’
राज्य त आम नागरिकको समूह हो । तर, किन त्यही राज्यले आफ्नै देशभित्र जन्मिएका मानिसलाई अनागरिक करार गर्न सक्छ ? के कानुन निर्माण गर्ने विधायकहरूले सुन्लान् भूमिको आवाज ?
उसलाई त बुद्धलाई भगवान् बनाएको मन परेको छैन । भन्छे, ‘शाक्यमुनि बुद्धले मान्छेको ईश्वरप्रतिका अन्धविश्वास र अज्ञानता चिरे, तर मान्छेले अनिश्वरवादी बुद्धलाई ईश्वर बनाइदिए ।’
बुद्ध भूमिमा किन बगिरहन्छ रगत ? लुम्बिनी वरिपरिकै बस्ती किन अशान्त छ ? यहाँका अधिकांश बालबालिका नै स्कुल पुग्न सक्दैनन् भने कसरी बुद्ध भूमिमा ज्ञानको ज्योति बल्छ ? यही देशमा किन नेताहरूका अनेक भ्रष्टाचार काण्ड बाहिरिइरहेका छन् ? ‘लस्ट एन्ड फाउन्ड’ प्रश्न हराएको समयमा प्रश्नको खोजी पनि हो ।
वेट्रेस सुजाताको श्रीमान् जेलमा छ । ऊ सानी छोरी बोकेर गाउन थाल्छे—
एउटा अवैध सपना छ मसँग
सपना रोएको कहिल्यै सुनेका छौ ?
के कलिली आमाले गाएको गीत सुनेका छौ ?
जसको काखमा एउटा कलिलै सपना छ
जो कोही आई सोध्छ– यसको नाउँ के हो ?
छोरीलाई नाम दिन नसकेकी सुजातालाई भूमि आँट भरिदिन्छे, ‘तिमी नै हौ उसको क्रिएटर । जन्मदाता, ईश्वर । तिमीबाहेक कसैसँग छैन उसको नाम राख्ने अधिकार । जसरी मेरी आमाले राखिदिइन् मेरो नाम । उनैले सिकाइन् मलाई सपना देख्न । यो जमिनमा बलियोसँग टेक्न ।’
भूमि आमा र यशोधराको मनोदशामा चेपिएकी छे । ऊ बेलाबेला काँप्दै बक्न थाल्छे अतीत र आफूलाई विरेचनको तहमा पुर्याएर शान्त हुन्छे । ‘मल्टिपल पर्सनालिटी डिसर्डर’ उसका लागि समस्या होइन अतीत कहने माध्यम पनि बनेको छ ।
भूमि या यशोधरा शक्तिशाली, वाचाल र आत्मविश्वासी लाग्छन् । चरित्रमा तीन तहको मिश्रण गर्न निर्देशकको निकै मेहनत देखिन्छ । फ्ल्यासब्याक र चरित्रको ‘ट्रान्सफर्मेसन’ यति सहजै गरिएको छ कि कुनै रिक्तता महसुस हुँदैन । छरितो सेट डिजाइनले मञ्च सुन्दर बनेको छ । मल्टिमिडियामार्फत पृष्ठभागमा लुम्बिनीका दृश्य र अंग्रेजी सबटाइटलले नाटकलाई प्रयोगधर्मी बनाएको छ ।
मौलिक नाटकको खडेरी परेको नेपाली रंगमञ्चमा ‘लस्ट एन्ड फाउन्ड’ महत्त्वपूर्ण कृति बन्नेछ । पुस्तकका रूपमा समेत आउनु त अर्को उपहार । पवित्रा खड्का (भूमि) को अभिनय यति माझिएको छ, जहाँ खोट लगाउने कुनै कारण छैन । सुमित भण्डारी (सागर) निपुण लाग्छन् । गोविन्द ओली (वेटर) र सुहाना आचार्य (वेट्रेस) ले नाटक अवधिभर दर्शकलाई निराश बनाएका छैनन् ।
